Chovar Blues Mobile Size

उसले पुरानो डायरीको एक पानाबाट पढ्न थाली । मैले सुनिरहेँ ।

“आज म यस्तो अवस्थामा अस्वस्थ, प्रदूषित सास लिएर जिइरहेको छु । त्यो कस्तो अवस्था कस्तो हो ? खुट्याउन एकदम कठिन भइरहेको छ । मेरो विवेकदेखि टाढाको कुरा भएर पनि होला सोच्नसम्म नभ्याएको हुनसक्छ । छिप्पिएको रात छ । भित्ते घडीको सुइले दुर्इ बजाइ सकेको छ । महलमै त नभनौँ तर केही कोठाहरू भएका एउटा सानो घरको, एक सानो कोठामा म एक्लो छु । मेरो अनुमति नलिइकन निद पनि कहाँ घुमफिर गर्न गएको होला ? कुन्नि ।”

“तिमीले खास कसको डायरी पढेकी ?”

“मेरो बाबाको हो नि । धेरै वर्ष अघिको ।”

उसले फेरि मजाले, मीठो गरी पढ्न थाली । मैले पनि मजाले, मीठो गरी सुनिरहेँ ।

“रातको मध्याह्नपछिको समयलाई बिहान भनिए पनि, भनिए जस्तो बिहान भएकै छैन । एकदम निस्पट्ट अँध्यारो छ बाहिर । भित्र कोठामा लोडसेडिङ् हुन हुन लागेको बिजुली बत्ती, जसोतसो प्राण बचाउने सुरसार गरिरहेको छ । बादलले आँसुसरी, झारेको झरीका आवाजहरू, बाहिरबाट आएर मेरो कर्णपटको पर्खालमा ठ्याक–ठ्याक गर्दै ठक्कर खाइरहेछ । ‘अखियों के झरोखे से’ बोलको पुरानो कालजयी हिन्दी गीत मेरो मनमुटुमै छुने गरी गाइदिएको छ, मेरो ल्याप्टपले,  मेरै निम्ति । यो एउटै गीत कति पटक दोहोरियो होला ? यकिन छैन । कता–कता छुचुन्द्राहरू विलौना गरेको आवाज पनि हावाको हल्का तालमा नाचिरहेछ । म दक्षिण तर्फ फर्केको छु । टेबलमा ल्याप्टप अनि कुर्सीमा म छु ।  हामी भलाकुसारी गर्दै एकोहोरो हेराहेर गरेर बसिरहेछौँ । मेरा खुट्टातिर लामखुट्टेहरू बाँच्ने आशमा, बाँचिखान भाग्न अटेर गर्दै घुमी–घुमी उडिरहेछन् । के गर्नु ? उनीहरूलाई पनि बाँच्न पाउने स्वतन्त्रता छ । खाऊन् जे मन लाग्छ, त्यही खाऊन् ।”

“तिम्रो बाबाले हिन्दी गीत निक्कै सुन्नुहुन्थ्यो हो ?”

“हो नि । हिन्दी गीत भनेपछि उहाँ क्रेजी नै हुनुहुन्थ्यो ।”

मैले सुनिरहेँ । अझै सुनिरहुँ जस्तो लाग्यो ।

“अहिले मसँग मेरो शरीर मात्र छ । मेरो मन मसँग छैन । ऊ कहीँ कतै परीकथाको देशमा राजकीय भ्रमण गर्दै होला । मेरो आत्मा पनि मसँग छैन । ऊ  पनि कहीँ कतै लोककथाको एक गाउँमा लोकदोहरी गाउँदै होला । मेरो निद पनि मेरो साथ छैन । ऊ पनि कहीँ कतै घाम फुल्ने देशमा न्यानो गरी निदाइरहेको होला । कहाँ गएका हुन् ? मेरो मन, मेरो आत्मा,  मेरो निद ? सायद उनीहरूले मलाई एक्ल्याएर टाढैबाट भए पनि मेरो बैराग्य र विरहमा रमिता हेर्न चाहन्छन् । म आखिर झिनो सास भरिएको मूढो हुँ । बरु पोल्न लायकको मूढो नै बनिदिउँला । अहिले जलेर खरानी बनिदिउँला ।”

मलाई झन् झन् सुन्न मन लागिरह्यो ।

उनले पढिरहिन् ।

हिमाल ‘ओसिरिस’

“धेरै अनि धेरै नै यादहरूका पनि यादहरूले, मलाई अहिले एकै पटक दबाब दिएर, धनुबाणले झैँ गतिलो प्रहार गरिरहेका छन् । ती प्रहारहरूका दबाबले मेरो हृदय रक्ताम्य हुने गरी चोटै चोट लागेको छ । युद्धका सामग्री हाइड्रोजन बम्, एटम् बम्, बायोलोजिकल बम् र न्यूक्लियर बम् एकै पटक विस्फोट भए जस्तै भएको छ, मेरो चेतनाको अगाध,  अतल गहिराइमा । यादका विशाल विशाल क्षेप्यास्त्रहरू खाल्टो पार्ने गरी बजारिएर मभित्र ब्लाष्ट भएको छ । म खाल्टै खाल्टा भएको छु । क्षतविक्षत भएको छु । मेरो निम्ति विशाल संसार भए पनि ब्रह्माण्डको निम्ति अति नै सूक्ष्म संसारमा म एक्लिएर सूक्ष्मिएको छु । हुन त एक्लै जन्मेको मान्छे एक्लै नै रहनु पर्ने रहेछ । कुनै समय, परिस्थिति र कालले अप्रत्याशित रूपमा एक्लाउँदो रहेछ । गहिरो अनि गाढा रातमा त प्रेतात्माहरू हिड्छन् भन्थे । खोइ त ? यति बेला कहाँ गए प्रेतात्माहरू ? मानिसले साथ नदिएको खण्डमा कमसेकम प्रेतात्माले साथ दिन आएको भए पनि म अलि अलि मुसुमुसु मुस्कुराउने त थिएँ ।”

“तिमीले सुनिरहेछौ नि ?”

“अँ, सुनिरहेको छु नि । पढ्दै गर न । तर यहाँ एउटा कुरा भन्न मन लाग्यो । क्षेप्यास्त्र भनेको त अङ्ग्रेजीमा मिसाएल भनेको होइन र ? अहिले रसिया र युक्रेन पनि युद्धमा सामेल भएर मिसाएल हानाहान् गर्दैछन् । यसले त विध्वंस नै गर्छ नि । याद पनि त्यति साह्रै विध्वंस मच्चाउने एउटा मिसाएल क्षेप्यास्त्र जत्तिकै हुने रहेछ है ।”

“होला नि । त्यही  भएर त उहाँले यस डायरीमा यादलाई क्षेप्यास्त्रसँग दाँज्नुभएको होला ।”

उनले फेरि पढ्न शुरु गरिन् ।

“मैले के मिस् गरेँ ? मैले अरूलाई कि,  अरूले चाहिँ मलाई मिस् गरे ? म पो सबैदेखि सबैभन्दा टाढा भएँ कि ? अरू सबै चाहिँ मदेखि टाढा भएका हुन् ? के थाहा ? केही थाहा नपाइ मानिसको जिन्दगी त्यसै त्यसै बितिजाँदो रहेछ । कर्कलाको पातमा अडिएको पानीको थोपा जस्तै हो क्यारे, यो जिन्दगी । केही तीतो हुँदा–हुँदै अनि केही मीठो हुँदा–हुँदै बिलुप्त भइजाने, जिन्दगी । व्यर्थै भनूँ भने पनि बहुमुल्य छ, जिन्दगी । बहुमुल्य भनूँ भने व्यर्थै छ, जिन्दगी ।”

उनले निरन्तर पढिरहिन् ।

मैले पनि अक्षुण्ण सुनिरहेँ । सुनि नै रहेँ ।

“मलाई यस धर्तीमा ल्याउनु हुने मेरी आमा खोइ ? उहाँले कति ठूलो तपस्या र त्यागलाई सङ्गाल्दै आफनो मायाको सागरमा चुर्लुम्म डुबाएर, मलाई हुर्काउनु भएको थियो । अनि मेरो बाबा खोइ ? जसले आफ्नो कर्तव्यको अनुशासनमा मलाई बढाउनु भएको थियो । उनीहरू धेरै टाढा “विदेश” भनिने मुगलानमा आफ्नै कार्य व्यस्ततामा संलग्न छन् । अनि खोइ त भाइबहिनीहरू ? हामी परिवारमा एक समय सधैँ सँगसँगै हुन्थ्यौँ । अहिले सबै आआफनै कामको सिलसिलामा आफ्नै बाटो लागेका छन् । खोइ त मसँग एक हुन आएकी मेरी जीवनसाथी ? उनी पनि मुगलानमै आफ्नो दुखी जीवन जिइरहेकी छिन् । अनि खोइ कहाँ छिन् मेरी जनम जनमको साथी ? उनीसँग केही साल अघि भेट भएको हो । दुवै जना मायाको खाडलमा अचानक भासिएको पनि धेर समय भएको छैन । हामी एक आपसमा जति नजिक छौँ । त्यति नै टाढा पनि छौँ । किनकि सायद हामी भर्चुअलिटीमा एक भए पनि रियालिटीमा कहिल्यै एक हुन सक्तैनौ । एक हुने चाह त नभएको हैन । तर त्यो चाहलाई बाध्यताको बन्चरोले रुख ढाले झैँ ढाल्नु बाहेक अरू विकल्प केही छैन । बल्ल बल्ल होम स्वीट होम भनेर खुशी भर्इ कतैबाट घर आइन्छ । घरमा भने कोही नभएर एक्लो हुनुको पीडा नै अचाक्ली हुनेरहेछ । सबैको याद मात्रै आइरहनेरहेछ । त्यै पनि क्षेप्यास्त्रको रूपमा ।”

“यहाँ चाहिँ तिमीलाई विषेश एउटा प्रश्न गर्न मन लाग्यो । तिम्रो बाबाको जीवनसाथी अनि जनम जनमको साथी भनेर सुने नि । के हो त्यस्तो ?”

“हो नि ! म चाहिँ खास उहाँको जनम जनमको साथी तर्फको छोरी हुँ ।”

“हँ ? आज त तिम्रो नयाँ कुरा पो थाहा भोयो त ।”

उनले पढिरहिन् । मैले सुनिरहेँ ।

“धेरै अनि धेरैको यादहरूले आज मलाई समाएर, सताएर अनि मताएर बेहोशी तुल्याएको छ । मलाई बैराग्य बनाएको छ । म यादहरूका गह्रौँ भारी थेग्नै नसक्ने गरी जबरजस्त बोकिराछु । स्वास प्रस्वासमा नै अवरोध खडा भइदिएको छ । निकै भारी हुँदो रहेछ । देख्न नसकिने अदृश्य निराकार याद पनि । किन प्रहार हुन्छन् ? यादका क्षेप्यास्त्रहरू ? जीवनलाई खाल्टै खाल्टा पार्ने गरी । किन विस्फोट हुन्छन् यादका ज्वालामुखीहरू ? जीवनलाई खरानीको कालो बादलले ढाक्ने गरी । मासुका चोक्टा–चोक्टा झैँ मेरो हृदयसहित म पूर्ण रूपले चोक्टिएको छु । चोक्टाहरू आँसुका आँगनमा यत्रतत्र पौडिरहेका छन् । सान्त्वनाका गिद्ध आएर खाइदिए हुन्थ्यो भन्ने आश पनि जागिरहेको छ ।”

“मेरो बाबाले लेख्नुभएको लेखाइका भावहरू तिमीलाई कस्तो लागिरहेछ ?”

“मलाई त अघिदेखि बबाल लागिरहेछ । पढ्दै जाऊ न ।”

“अँ ! अब त अन्तिम अन्तिमतिर आइपुगेकी छु है ।”

“हे ! मेरो निद, तिमी चाहिँ कहाँ छौ ? जहाँ भए पनि आउन यार्, म तिमीसँग निदाउन चाहन्छु । सुख चैनले । आरामले । आनन्दले । बरु मलाई मेरो मन चाहिएन । मेरो आत्मा पनि चाहिएन । तर तिम्रो खाँचो छ मलाई । तिमी नआए त यहाँ म यादका क्षेप्यास्त्रहरूको शिकार बनिरहने छु । हे ! मेरो निद, तिमी जहाँ छौ त्यहीँबाट तुरुन्तै फर्किएर आऊ । म रातभरि प्रेत झैँ जागिरहन सक्तिनँ । म यादका असह्य बोझ सहिरहन सक्तिनँ । प्लिज आऊ न ।”

उनले पढिरहिन् । पढिरहिन् । मैले सुनिरहेँ । सुनिरहेँ ।

“मेरो निद कति बेला सुटुक्क आएर मलाई सम्मोहन गरेर मीठो निन्द्रामा सुताएछ, कुन्नि । कुनै ज्ञात नै भएन । तर अहिले म ओजस्वीसाथ ब्यूँझिएको छु । स्वच्छ बिहानी मेरो वरिपरि स्वर्गकी नर्तकी झैँ नाचिरहेकी छे । ताजा बिहानीसँगै म पनि ताजाको राजा भइदिएको छु । नौलो दिनसँगै म पनि नौलिएको छु । सुनौलो दिनसँगै म पनि सुनौलिएको छु । ती यादहरू अहिले मस्त निन्द्रामा निदाइरहेछन् । ऽऽऽऽऽ!!! चुप लाग्नूस् है, तिनीहरूलाई ब्यूँझाउनु हुन्न । सुतिरहून् ।”

अनि पढिसकेपछि एउटा थोत्रो पुरानो पुर्ख्यौली डायरी उनले बन्द गरिन् । अनि मलाई सोधिन्, “तिमीलाई मन पर्यो त ? कस्तो लाग्यो ?” अनि मैले भनेँ, “अघि नै भने नि एकदम बबाल लाग्यो । तर मलाई चाहिँ तिमीले पढेदेखि नै तिम्रो बाबाको डायरीमा भएका मिठासपूर्ण शब्दहरूभन्दा तिम्रो मन्त्रमुग्ध बनाउने स्वर नै ज्यादै मीठो लागिरहेथ्यो । सधैँ अनि जहिल्यै सुनिरहुँ जस्तो ।” अनि उनी हल्का मुस्कुराइन् ।

त्यो मुस्कानमा यादका धेरै धेरै क्षेप्यास्त्रहरू लुकेका हुनुपर्छ ।  सायद ।