

सीता अञ्जान
‘दिदी नमस्कार ! हजुरको घर खोज्दाखोज्दै आज दिन बित्यो’ भन्दै शशिकला टुप्लुक्क मकहाँ आइपुगिन् । एक्कासी उनलाई मेरा अगाडि देख्दा अनि उनले प्रस्तुत गरेको अभिव्यक्ति सुन्दा म झस्केँ र प्रश्न गरेँ–‘किन नि ?’
उनले एकछिन मलाई नियालिन् र हाँस्दै भनिन्– ‘हजुरलाई बधाई छ ।’ मैले पनि ‘धन्यबाद !’ भन्दै उनलाई भित्र बोलाएँ । एकअर्काको सन्चोबिसन्चोको कुराकानीपछि उनले आश्चार्य मान्दै प्रश्न गरिन्– ‘दिदी तपार्इँले यो उमेरमा आएर किन विवाह गर्नुभो ?’
‘कथाले मागेपछि’ भन्ने उत्तर दिएँ मैले । ‘कथाले त पहिले नै मागिसकेको थियो नि होइन र ? जब तपार्इँ एक्लै हुनुभो ?’ पत्रकार शशिले प्रतिप्रश्न गरिन् ।
‘त्यस बखत मेरो काँधमा ठुलो जिम्मेवारी थियो । बाबुनानी सानै थिए । उनीहरूको पालनपोषण गर्ने, सही गलत बाटो निर्देश गर्ने । त्यही भएर म त्यतातिर लीन भएँ ।’
‘उसो भए अहिले चाहिँ तपार्इँ जिम्मेवारीबाट मुक्त भएर आफ्नो बारेमा सोच्नुभको हो त ?’ उनले मलाई व्यङ्ग्य गरिन् ।
‘म आमा हुँ, जहिले पनि म उनीहरूको अभिभावक नै भइरहन्छु । मैले छोराछोरीलाई बेवास्ता गरेर यो काम गरेको हुँदै होइन, दुवै जाना बुझ्ने भइसकेका छन्, दिनदिनै ठूला हुँदै छन् । सधैँ मसँग बसेर जीवन निर्वाह पनि हुँदैन, कर्मका लागि गुँड छोड्ने बेला भयो । त्यसबखत म एक्लै हुनेछु भनेर उनीहरूकै सल्लाह अनुसार नै मैले विवाह गरेकी हुँ ।’ मैले उनको जिज्ञासा तृप्ति गर्ने प्रयत्न गरेँ ।
‘समाजले त तपार्इँलाई बाटो बिराउनुभो भन्छ नि त ?’ मुसुक्क हाँस्दै ‘कसरी ?’ मैले प्रश्न गरेँ ।
‘छोराछोरीको विवाह गर्ने बेलामा आमाले पो गरिछे ? अब त्यसका छोराछोरीको विवाह कसरी हुन्छ ? बच्चाहरूको विवाहमा त बाबु चाहिन्छ, त्यहाँ बाबु कसरी जान्छ ?’ यस्तैयस्तै थुप्रै प्रश्न तपार्इँलाई गरिएको छ ।
‘हेर्नुस् बहिनी, समाजमा सबै खालका मानिस बस्छन् । कोही सकरात्मक सोच भएका त कोही नकरात्मक सोच भएका, एउटै कार्यलाई कसैले सही त कसैले गलत भन्छन् । सबैका आअफ्ना दृष्टिकोण हुन्छन् । दृष्टिकोण अनुसारको तर्क निर्माण हुन्छन् । तिनै तर्कमा टेकेर बहस गर्छन् । त्यसमा किन टाउको दुखाउनु र ? मलाई बाटो बिराएँजस्तो लागेको छैन किनभने न मैले कुनै नारीको अपमान गरेकी छु, न कुनै बालबालिकाको खुशी नै खोसेकी छु । मैले त केवल मजस्तै पुरुषलाई साथी बनाएकी छु र आफ्ना सन्तानलाई बाबुको माया प्राप्त गराउने प्रयत्न गरेकी छु । हिजो बाबुले कलिला मुनालाई सडकमा अलपत्र पारेर दोस्रो विवाह गरिरहँदा किन उसलाई कसैले प्रश्न गरेन तैँले बाटो बिराइस् भनेर ? सबै साथीहरूका बाबा छन् । उनीहरू बाबासँग घुम्न जान्छन् । बाबाले उनीहरूलाई कति राम्राराम्रा खेलौना ल्यादिनहुन्छ तर हाम्रो बाबा त हामीलाई भेट्न कहिले पनि आउनुहुन्न त किन ममी ? तपार्इँ अर्को विवाह गर्नुन । हामी पनि बाबा भन्छौँ अनि बाबासँग रमाउछौँ भनेर बच्चाले प्रश्न गरिरहँदा अनि मैले उनीहरूको प्रश्नको उत्तर दिन नसकेर भक्कानिँदा किन कसैले उनीहरूको जिज्ञासा तृप्ति गर्न सकेन ?
आज मेरा बच्चा मेरो एक्लो छहारीमा हुर्केर बालिक भइसकेका छन् । उनीहरूको हरेक सुखदुःखमा म हिजो पनि साथमा थिएँ, आज पनि छु र भोलि पनि अर्थात् म रहेसम्म साथमा रहने छु । मेरा बच्चा सही र गलत छुट्याउन सक्ने भइसकेका छन् । मैले उनीहरूकै सल्लाहमा यो निर्णय गरेकी हुँ । सन्तानलाई बेवारिसे बनाएर मोजमस्तीमा लिप्त हुने बाबुलाई, तिम्रो कर्तव्य केहो भनेर प्रश्न गर्न नसक्नेहरूले, छोराछोरीको विवाहमा बाबु चाहिन्छ, बाबुबिना विवाह कसरी हुन्छ भनेर प्रश्न गर्न पनि सक्दैन भन्ने लाग्छ मलाई । त्यसैले यस विषयमा बहस गर्नु निर्थक ….. ‘



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

