काठमाडौँमा पढ्न गएको पाँच वर्ष भइसकेको थियो । दशैँ बिदामा घर आउँदा निक्कै नौलो लागेको थियो । पहिले बानी परेका बाटा घाटाहरू सबै फेरिएका झैँ लाग्थे । कतै सडक कालोपत्रे गरिएको थियो भने कति सडक केही चौडा भएझैँ लाग्थ्यो । कतै नयाँ पसल खुलेका थिए भने कतै पुराना खोकाहरू हटेका थिए । यी सबै परिवर्तनसँगै मानिसहरू पनि फेरिएका थिए । एक समयमा उही बाटाका उस्तै लाग्ने मान्छेहरू त्यसबेला नितान्त नौला देखिन थालेका थिए । धनगढी आएपछिको सँधै भेटिने साथी भनेको सरोज थियो । उसले मुख्य बजारमै किताब पसल खोलेको थियो । मलगायत कक्षाका धेरै साथीहरू एसएलसी सकेर काठमाडौँ हानियौँ । ऊ भने धगढीमै रह्यो । हामीले बाह्र सक्काउँदा ऊ साहुजी भइसकेको थियो । हामीले स्नातक सकेर काम खोज्ने तरखर गर्दा उसले पसलमा कामदार थपिसकेको थियो । अबको उसको कामहरू भनेको बितरकको थियो । काठमाडौँका प्रकाशकहरूसँग सम्पर्क बढाएर उसले केही पुस्तकहरूको बितरणको जिम्मा लिएको थियो । ठूलौ साहुजी भइसकेको थियो । हामी धनगढी आउँदा भने जसो तसो समय मिलाएर उसैको पसल अघि चिया पिउँदै, बाटामा हिँड्ने मान्छे हेर्दै समय बिताउँथ्यौँ ।
‘सहर त एकदमै बदलिएछ यार, बाटाका मान्छे चिन्नै गाह्रो हुन थाल्यो ।’ निकै समयसम्म बाटाका अपरिचित अनुहार चिन्ने कोसिस असफल भएपछि मैले भनेँ ।
‘त्यस्तै हो नि साथी । यहाँ बसी रहेको भए थोरै थोरै गरेर भएको परिवर्तनको भेऊ पाउनै गाह्रो हुन्थ्यो । अब वर्षमा एकचोटि पाइला टेक्नेका लागि परिवर्तन भएकै हो ।’ सराजले कुरा राख्यो ।
‘त्यो पनि हो है ! हेर्दा हेर्दै कस्तो भइसकेछ । अब त पुराना कुराहरू सम्झनामा मात्रै रहने भए ।’ पहिले आफू हिँडेका बाटाका स्वरूप मनमा खोतल्दै हाल आँखा अगाडिको दृष्यसँग दाँजी रहेको थिएँ ।
‘साले त पनि त धेरै बदलिएर आइस नि ! अनि आफू बदलिएको नदेख्ने खाली अरूको कुरा मात्रै गर्ने ।’ सरोजले अलि ठट्यौलो माहोल बनाउन खोज्यो ।
‘सरोज भाइ, यार दश रुप्पे देऊ न यार ।’ हामी गफमा भएकै बेला एउटा आवाजले हामीलाई बिथोल्यो ।
फर्केर हेर्दा चिरपरिचित अनुहार झैँ लाग्यो ।
‘छैन मसँग । कङ्गाली लागेर कस्तो भएको छ ।’ सरोजले अलि झर्केर जवाफ फर्कायो ।
‘कोसँग मागूँ यार दबाइ लिनु छ यार । एकदम चाहिएको छ यार ।’ त्यो मान्छे फेरि टाउको कन्याउँदै बिलौना गर्न लाग्यो ।
मलाई अलि अप्ठेरो लागेर मैले खल्तिमा हात मात्रै के हालेको थिएँ सरोजले टाउको हल्लाएर नदिने संकेत गर्यो । म वाल्ल परेर उसलाई हेरिरहेँ । एकछिन हामी त्यसै चुप रह्यौँ ।
‘ए रिक्सा भाइ रोक !’ अगाडिको रिक्सालार्इ हात खडा गरेर रोक्न भन्दै ऊ त्यहाँबाट गयो ।
‘चिनिनस् मुला ? दिवाकर दाइ के त !’ सरोजले मेरो खुट्टामा प्याट्ट हिर्काउँदै भन्यो ।
‘दिवाकर दाइ ? त्यो हाम्ले रोनाल्डो भन्ने दाइ ?’ मैले उसलाई प्रतिप्रश्न गरेँ ।
दिवाकर दाइ हाम्रो विद्यालयको फुटबल टिमको क्याप्टेन हुनुहुन्थ्यो । पहिले पहिले पाँच फिटमुनिका विद्यार्थीहरूको टिम बनाएर अन्तरविद्यालय व्यापी फुटबल प्रतियोगिताहरू हुने गर्थ्यो । हाम्रो विद्यालयले राम्रो खेल्थ्यो । तर जितेको भने कहिल्यै थिएन । सँधै अनुशासित टिमको उपाधि भने पाएकै हुन्थ्यो । हरियो र सेतो पाटे जर्सीमा विद्यालयका दाइहरू फुटबल खेल्दै गर्दा हामीहरू गला सुक्ने गरेर चिच्याएर उनीहरूको हौसला बढाउथ्यौँ । सेमी–फाइनलमा विद्यालय पुगेको बेलामा पूरै विद्यालय नै फुटबल हेर्न जान्थ्यो । हामी कक्षामा बस्नु नपरेकोमा साह्रै खुशी हुन्थ्यौँ र टिमले जितोस भनेर निकै आश गर्थ्यौँ ।
दिवाकर दाइको पालामा हाम्रो विद्यालय पहिलोचोटि फाइनलमा पुगेको थियो । हामी दुईचोटि क्लास छोडेर खुलामञ्चमा खेल हेर्न पुगेका थियौँ । त्यो दाइ जहिले पनि ९ नम्बरको जर्सी लाउनु हुन्थ्यो । कपाल पनि छोटो पारेर काट्ने र हाँस्दा अघिका दुई दाँत बाहिर आउने हुनाले हामी जैले त्यो दाइलाई रोनाल्डो दाइ भनेर बोलाउँथ्यौँ । त्यो दाइ पनि रोनाल्डो दाइ भनेर बोलाउँदा साह्रै मख्ख पर्नुहुन्थ्यो । तर दुःखको कुरा त्यो बेला हाम्रो विद्यालय पेनाल्टीमा हार्यो । त्यतिबेला त्यो दाइ खुब निरास भएको थियो । मैले विद्यालयाई जिताउन सकेन अबदेखि म फुटबल खेल्दैन भनेर त्यो दाइले फुटबल खेल्नै छोडिदिनु भयो । तर विद्यालयको हरेक गेम भने हेर्न जानु हुन्थ्यो । सरहरूले पनि क्लास छोडेर हेर्न गएको थाहा पाउँदा पनि केही भन्थेनन् ।
दिवाकर दाइ पढाइमा खासै राम्रो हैन । खेलमा राम्रो भएको कारणले सरहरूले राम्रै मान्थे । पछि खेल्न पनि छोडे, सरहरूले पनि अलि नराम्रो गर्न थाले । पहिले त कमसेकम खेल्छ भन्ने थियो । पछि त न खेल न पढाइ भएपछि सरहरूले पनि तारो बनाउन थाले । नौँ दशतिर पुग्दा विद्यालय जाने बाटैमा पुल हाउस खोलेको थियो । विद्यालयका धेरै दाइहरू विद्यालय आउन छोडेर त्यतै पस्न थाले । दिवाकर दाइको बास पनि प्रायः त्यतै हुन्थ्यो । कहाँ खुला मैदानमा खेल्ने दाइ पुलको सानो बोर्डमै बलहरू हिर्काएर रमाउन थाले । पुल हाउस त्यसताका कुख्यात थियो । धेरै केटाहरूले पहिलो पटक चुरोट खान सिकेको त्यहीँ थियो । दिवाकर दाइ पनि त्यहाँको पहिलो ब्याच थिए ।
दिवाकर दाइ दश कक्षासम्म पुग्दा विद्यालयको घाँडो भइ सक्नुभएको थियो । कति चोटि सरहरूले रक्सी खाएर क्लासमा आएको भनेर हेडसरकोमा लगिसक्नु भएको थियो । सरहरूसँग झगडा गर्ने, अरू विद्यालयमा गएर कुटेर आउने कहिले विद्यालयमै कुटाइ खाने त कति भए कति । निजी विद्यालय भएकाले फेल गरेर कक्षा दोहोर्याउन लगाउन सक्दैन थियो । त्यसैले एसएलसीमा विद्यालयको जान्ने विद्यार्थीसँग रोल नम्बर मिलाएर राखिदिएको थियो । त्यो दाइले सेकेण्ड डिभिजनमा भए पनि नियमित तर्फ नै एसएलसी पास गर्नु भयो । त्यसपछि आक्कल झुक्कल देखिने बाहेक खास त्यस्तो त्यो दाइको बारेमा केही थाहा हुन्थेन । कहिलेकाहीँ विद्यालय जाने बाटोको पुल खेल्ने ठाउँमा बसेको भेटिनु हुन्थ्यो । विद्यालय छोडिसकेको थियो के थियो र, सरका अगाडि चुरोटको सर्को लाउँदै हाँस्दै गर्नुहुन्थ्यो । सरहरू पनि गर्न केही सक्थेनन् ।
‘हो त्यै दाइ । अहिले त दुब्लाएर ख्याउटे भइसक्यो । साइको भइसक्यो मुला ।’ सरोजले मलाई पुराना दिनबाट फेरि वर्तमानमा फर्कायो ।
‘यो सब कसरी भयो ?’ मैले सरोजलाई उत्सुकता मेटाउन सोधेँ ।
‘लामो कहानी छ । कुनै दिन भनुँला नि !’ सरोजले कुरा लम्बिने डरले टार्न खोज्यो ।
‘भन न यार । बरु छोटैमा भन् ।’ मलाई छुकछुक लागी सकेको थियो ।
‘हामी विद्यालयमा छँदै यो दाइको लक्षण ठीक थिएन ।’ सरोजले चियाको सुर्को लाउँदै कथा सुरु गर्यो । ‘पछि एघार–बाह्र पनि खासै राम्रो गरेनन् । परिवारले नातपातको बलमा सशस्त्रमा छिराए । त्यतिबेला माओवादी समस्याको कारण भर्ना सजिलो पनि थियो । अनि त्यै त हो, बाहिर त्यस्तो खुला भएर हिँडेको मान्छे त्यस्तो अनुशासनमा अरूको खटनपटन सहेर कति बस्न सक्नु । एक दिन बुढा ड्युटीबाटै भागेछन् । परिवारले कति फर्काउन कोशिस गर्यो सकेन । अझ भएन भनेर बिहे पनि गर्देको थियो । सुध्रिन्छ कि भनेर गरेको झन् त्यो भाउजूको जिन्दगी बर्बाद भयो ।’
‘अनि ऐले भाउजूको के छ ?’ मैले सोधी हालेँ ।
‘के हुनु, एउटा छोरी छ । त्यै बाबु आमा हेरेर बस्नु भएको छ । दाइ चाहिँ पैसा चाहियो भनेर माग्न घर पस्छन् । घरकाले पनि आश मारिसके । पुगेका बेला खाना खुवाउँछन् त्यत्ति हो । पहिले पहिले घरमा बस्थे । दुई चार दिन पछि गायब हुन्थे । अनि थाहा हुन्थ्यो घरको एक थोक सामान त हराइ सकेछ । पछिपछि चनाखो हुन थाले । अनि यो दाइ पनि घर जान छोड्यो ।’
‘अचेल चाहिँ रोडमै ?’ मैले अचम्म मान्दै सोधेँ ।
‘अँ मुला । जो पायो त्यहीसँग पैसा माग्दै हिँड्नुहुन्छ । कहिले चोरी गर्दागर्दै मान्छेले समात्छन् । पहिले पहिले त घरमा पुग्थे । पछि घरकाले हामीले त्यसलाई त्यागी सक्यौँ जसरी असुल गर्नुछ त्यसैबाट गर । मारे मार हामीलाई चाहिँ माफ गर भन्न थाले । त्यसपछि तैले नै देखिहालिस् । यस्तै चल्दैछ ।’ सरोजले फेरि चियाको सर्को लियो ।
‘क्या यार कस्तो तनाब भयो यार । कस्तो मान्छे कस्तो भएछन् ।’ मलाई निकै नरमाइलो लाग्यो ।
‘त्यस्तै हो केटा बेलैमा ब्रेक लाएन भने गाडी चिप्लेको थाहा नै हुँदैन । चुरोट, रक्सी, गाँजा गर्दै सुइसम्म पुग्यो अब घरको न घाटको भयो ।’ सरोजले अलि गम्भीर भएर भन्यो ।
‘चुरोट त हामीले पनि तान्यौँ नि यार । त्यही पुल हाउसमै त हो नि । त्यो दिन दिवाकार दाइ नि त्यहीँ त हुनुहुन्थ्यो ।’ मैले पुल हाउसका यादहरू फर्काएँ ।
‘अनि मुला भोलिपल्ट सरले मार थर्काएको बिर्सिस् । पुल हाउस छिर्ने भइस भनेर लास्टै बेज्जत गर्देको हैन, त्यो पनि क्लासको अगाडि उभ्याएर ।’ सरोजले थप्यो ।
‘त्यो दिन त कहिल्यै बिर्सिन्न यार । अनि के त हेडसरले पछि हामीलाई अफिसमा बोलाएर एक बट्टा चुरोट अगाडि राखेर लौ खा चुरोट भन्दा त गोडाले झण्डै साथ छोडेको । धन्न बुढाले त्यो दिन कुटेनन् ।’ हेडसरको कोठामा गएर मार गाली खाएको कुरा सम्झँदै मैले थपेँ ।
‘मैले चाहिँ त्यसपछि कहिले पनि खाएन है । अचेल अलिअलि बियर चाहिँ चढाइन्छ । चुरोट त छोइएन ।’ सरोजले उसको अम्मलको राज खोल्यो ।
‘मैले चाख्न सबै चाखे पनि अम्मलै चाहिँ बन्न दिएन । एकचोटि चाखेपछि नाइनास्ती गर्न चाहिँ साह्रै गाह्रो हुँदो रैछ । तर यार दिवाकर दाइलाई यस्तो हालतमा देख्नु पर्ला भनेर त मैले सोचेकै थिएन । यो सहर साँच्चिकै फेरिइ सकेछ ।’ म फेरि दिवाकर दाइकै कथामो एकोहोरिए ।
दिवाकर दाइ दश कक्षामा पढ्ने बेला हो । विद्यालयमा एकदमै खैलालबैला मच्चिएको थियो । हल्ला के चलेको थियो भने दिवाकर दाइले कपडा भित्र देख्न सकिने सिसाको टुक्रो ल्याएको छ रे ! त्यसपछि त के थियो । केटीहरूका हुल अघि आयो, आँखा अघि त्यो टुक्रो लगायो अनि मरुञ्जेल हाँस्यो । दिवाकर दाइका आसोपासले ‘के देखिस् दिवाकर ?’ भनेर भन्ने बित्तिकै दिवाकर दाइ ‘सबै’ भन्दै कुटिल हाँसो हास्थे । केटीहरू लाजले भुत्तुक्कै हुन्थे । पछि पछि त केटाहरू समेत दाइका अघि पर्दा दुई हातले लाज छोपेर हिँड्थे । पछि हेडसरले थाहा पाएपछि दिनभर आफ्नो कार्यालय अघि कुखुरा बनाएर राखे ।
‘त्यो मानेमा सहर धेरै फेरिएको छ । साना साना खोकाहरूमा गाँजा–चरेस बेचिन थालेको छ । अझ कति त सुई लाउनेसम्म भएका छन् । दुर्व्यसनीको अवस्था देख्दा त नयाँ पुस्ताबाट आशै गर्न पनि डर लाग्छ ।’ सरोजले मलाई विगतबाट फर्काउँदै फेरिएको सहरको चित्र देखयो ।
‘भनेपछि दिवाकर दाइहरू अझै बन्दैछन् ।’ म फेरि घोत्लिएँ ।
दिवाकर दाइको प्रसङ्गले त्यो दिन नराम्ररी बिथोलियो । खासमा दिवाकर दाइ बदमासै भए पनि विद्यालयको आदर्श जस्तै थिए । हामी केटाहरूलाई दिवाकर दाइको जस्तै बन्ने खुब रहर हुन्थ्यो । जे जस्ता उट्पट्याङ्ग कामहरू गरेर भए पनि दिवाकर दाइ सँधै चर्चाको पात्र भइ रहन्थे । त्यो चर्चाले सबैलाई लोभ्याउँथ्यो । त्यसैले दिवाकर दाइ एक आदर्श बनेका थिए । कुनै दिन म पनि त्यो दाइ जस्तै बन्न चाहन्थेँ । अहिले आफूले आदर्श मानेको मान्छे सडकमा बहुला भएर हिँडेको देख्दा साह्रै मन खिन्न भयो ।
अलि झिसमिसे हुन थालेपछि सरोजकहाँ बिदा मागेर घरतर्फ लागेँ । बाटाभरि स्कुलका यादहरूमा रुमल्लिएर एकोहोरो हिँडी रहेको थिएँ ।
‘ओ भाइ यार के छ यार ’ पछिबाट परिचित स्वर आयो ।
‘अरे ..ठीकै छ । दाइले चिन्नु भो मलाई ?’ दिवाकर दाइ फेरि ठोक्किन आइपुगेका थिए ।
‘अरे यार भाइलाई नचिन्ने पनि हुन्छ ।’ हाँस्दै परिचित धाप मार्दै जवाफ आयो । म केही बोलिनँ ।
‘यार भाइ यार यस्तो तनाब भयो यार । सुन न तिमीसँग दस रुप्पे छ ? यार कस्तो यार मेरो पर्स ल्याउनै भुलेँ यार । यस्सो सापट देऊ न यार ! म तिमीलाई भोलि भेटेर जसरी भए पनि दिन्छु नि यार । भाइ यार …’
दिवाकर दाइ एकोहोरो बोलेको बोल्यै गर्न थाले । मेरो हात सोझै गोजीमा पस्यो । धेरै केही सोच्दै सोचिनँ । हातमा आएको बीसको नोट दिएँ । दाइ फेरि पैसा पछि फर्काउने बाचा कस्दै बाटो लागे । म पनि घोसमुन्टो लाएर घर फर्केँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।