एक युवक धेरै दुःखी थिए । एकदिन उनी एक जना साधुको नजिक गए र आफ्नो दुःखको कुराहरू सुनाउन थाले । आफ्नो सबै कथा सुनाइसकेपछि उक्त युवकले साधुसँग दुःख हटाइदिन आग्रह गर्न थाले । ती युवकको आग्रह सुनेपछि साधुले आफ्नो कुटीभित्र लिएर गए र एक गिलास पानी भरेर ल्याउन आदेश दिए । युवकले पानी ल्याएपछि त्यो पानीमा पाँच चम्चा नुन राखेर घोल्न लगाए । नुन घोलिएको पानी युवकलाई पिउन आग्रह गरे ।

आफ्नो सम्पूर्ण दुःख निवारण हुने ठानेर युवकले सकिनसकी त्यो गिलासको सबै पानी पिए । त्यसपछि साधुले युवकलाई ‘गिलासको पानीको स्वाद कस्तो थियो ?’ भनेर सोधे । युवकले ‘गिलासको पानी निकै नुनिलो र खानै नसकिने खालको रहेछ’ भनेर जवाफ फर्काए । युवकको जवाफ सुनिसकेपछि साधुले फेरि ती युवकलाई आफ्नो पछिपछि आउन भने र कतै निस्किए । जाँदाजाँदै उनीहरू एउटा ठूलो पोखरीमा पुगे । त्यहाँ साधु टक्क रोकिए । साधुले फेरि ती युवकलाई अघि जस्तै पाँच चम्चा नुन उक्त पोखरीमा राखेर चम्चाले चलाउन आदेश दिए । साधुको आदेशअनुसार युवकले पोखरीमा नुन हालेर चम्चाले चलाए । साधुले पोखरीको पानी पिउन आग्रह गरे । युवक सबै कुरा खुरुखुरु मानिरहेका थिए ।

अब साधुले पुनः सोधे, ‘यो पानी कस्तो छ ?’

युवकले भने ‘पानी त निकै मिठो छ गुरु।’

युवकको जवाफ सुनिसकेपछि साधुले मुस्कुराउँदै भन्न थाले, ‘बालक, हाम्रो दुःख भनेको पनि त्यो पाँच चम्चा नुन जस्तै नै हो । त्यसलाई सानो गिलासमा राख्यो भने पिउनै नसकिने नुनिलो र नमिठो हुन्छ । तर विशाल पोखरीमा राख्यो भने त्यो नुन त्यसभित्रै बिलाएर जान्छ । त्यसैले हामीले आफ्नो मनलाई सानो पारेर आफ्नो दुःखको बारेमा मात्र निरन्तर सोचिरहनु हुँदैन । बाहिरको संसार पोखरीजस्तै विशाल छ । त्यो संसारको अगाडि हाम्रो दुःखको कुनै अर्थ छैन । आफ्नो दुःखबाट बाहिर निस्केर वरिपरिको संसारलाई नियालेर हेर्ने गर्नुपर्छ । संसारको सुन्दरता देखिनेछ ।’