‘अब हामी भोलि नै यो शहर छोडेर टाढा जानु उत्तम हुनेछ ।’ नवीनले आफ्ना लत्ताकपडा, किताब र अन्य केही स-साना सामानहरू झोलामा राख्दै भन्यो ।

उसको साथी आभास मोबाइलमा गेम खेलिरहेको थियो । नवीनको कुरा सुनेर सोध्यो ‘के तिमीलाई विश्वास छ कि लडाइँ हुन्छ नै भन्ने ?’

‘हुन्छ, यसमा द्विविधा गर्ने कुरै छैन । रुसले सीमानामा लाखौँलाख सैनिक र बख्तरबन्द गाडीहरू ल्याएर राखेको समाचार दिनदिनै टेलिभिजनले प्रसारण गरिरहेको तिमीलाई थाहा छैन र ?’ नवीनले प्रतिप्रश्न गर्यो  ।

‘त्यो सबै कुरा मलाई थाहा छ । तर युद्ध नै भइहाल्दैन भन्नेहरू पनि छन् । उसले युक्रेनलाई तर्साउन तेसो गरेको हो भन्छन् ।’ आभासले शङ्का व्यक्त गर्दै भन्यो ।

‘तिमी यस्तै कुरामा विश्वास गर । शासकहरूको द्वैध चरित्र र व्यवहार बुझ्न सकिन्न । उनीहरूको महत्त्वाङ्क्षा र घमण्डकै कारण विगतमा पनि यस्ता लडाइँ धेरै भइसकेका इतिहास छन् । अब यहाँ पनि युद्ध नभई छोड्दैन । म त बस्दिनँ । भोलि नै यो शहर छोडेर पोल्याण्डको सीमानातिर जान्छु । मेरो ज्यान मलाईभन्दा पनि मेरो परिवारलाई बढी महत्त्वपूर्ण छ । बाले गाउँको जग्गाजमिन धितो राखेर चर्को ब्याजदरमा ऋण लिएर मलाई यहाँ पढ्न पठाएका हुन् । म सकुशल फर्कनु अनिवार्य छ ।’ नवीनले यतिभन्दै मिनरल वाटरको दुई घुट्को पानी पियो ।

नवीनको कुरा सुनिसकेपछि आभासलाई पनि कताकता डर लाग्यो । यदि साँच्चै नै युद्ध भैहाल्यो भने त यहाँ नै फसिन्छ । युद्धमा ज्यानको जोखिम हुन्छ । उसले मनमनै सोच्यो र भन्यो– ‘ठीक छ त्यसो हो भने म पनि जान्छु । यस बारेमा अरू साथीहरूलाई पनि खबर गर्नु पर्ला । उनीहरू पनि जान्छन् कि । समूहमा जान पाए सजिलो हुन्थ्यो ।’

‘यो सुझाव राम्रो हो । उनीहरूलाई पनि खबर गर्नै पर्छ । केही साथीहरूलाई तिमी खबर गर केहीलाई म खबर गर्छु ।’ नवीनले आभासको प्रस्तावलाई स्वीकार गर्यो । त्यसपछि उनीहरू दुवै जना साथीहरूलाई स्वदेश फर्कने विषयमा मोबाइलबाट कुराकानी गर्न थाले । केही समय त्यसैमा बित्यो ।

होस्टेलमा नवीन र आभासको कोठा सँगसँगै थियो । उनीहरू दुवै जना एउटै मेडिकल कलेजमा पढ्थे । कलेजमा दुवै जनाको चौथो वर्ष अर्थात् अन्तिम वर्ष चलिरहेको थियो ।

दिव्य गिरी

मोबाइलमा कुराकानी सकिएपछि नवीनले भन्यो, ‘जाऊँ अब तिम्रो सामान ठीक गरौं । भोलि बिहान हतार हुन्छ ।’ नवीन र आभास भएर सामानहरू झोलामा राखे । आभासको पनि झोला तयार भयो । जाडोको मौसम थियो । उनीहरू बसेको शेलिङ् शहरमा पनि वर्फ पर्न सुरु भैसकेको थियो । टेलिभिजनका समाचारहरूले जतिबेला पनि युद्ध सुरू हुनसक्ने शङ्केत दिइरहेका थिए ।

त्यही रात शहरभन्दा धेरै टाढा ठूलो विष्फोट भएको आवाज सुनियो । त्यस लगत्तै साइरनहरू बज्न थाले । नवीन उठेर झ्यालबाट बाहिरतिर हेर्न थाल्यो । उसले आफू बसेको ठाउँभन्दा निकै टाढा पूर्वतर्फको एउटा विशाल भवनको माथिल्लो तलाको एउटा कुनाबाट आगोको मुस्लो र कालो धुवाँ आकाशतिर उठेको देख्यो । त्यो देखेपछि उसलाई लाग्यो यो पक्कै पनि आक्रमण गरिएको हो ।

बिष्फोटको आवाजले आभास पनि ब्यूँझेछ  । ऊ दौडेर नवीनको ढोका ढकढकाउन पुग्यो । नवीनले ढोका उघारेर हेर्यो । उसको आफू अघिल्तिर डरले काँप्दै उभिएको आभासलाई देख्यो ।

‘तिमीलाई विश्वासै थिएन कि युद्ध हुन्छ भन्ने । ल हेर, युद्ध त सुरू भइहाल्यो । हामी अब युद्धमा फस्यौँ। हामीले कसरी सुरक्षित रूपमा यो शहर छोड्न सकिन्छ । तिमी विचार गर ।’ नवीनले भन्यो । आभासले केही जवाफ दिन सकेन । केवल नवीनको अनुहारमा एकनास हेरिरह्यो ।

रातभर बम बिष्फोटको आवाजले वातावरण कोलाहल र त्रासदीपूर्ण भइरह्यो । समाचार एजेन्सी र टेलिभिजनमा देखाइएका युद्धसम्बन्धी समाचार देख्दैमा भनायक थिए । रुसले युक्रेनमा जल, थल र आकाशबाट एकसाथ आक्रमण गरेको थियो । जताततै आगो बलेको र धुवाँको कालो मुस्लो आकाशतिर बढिरहेको देखिन्थ्यो । आक्रमण गरिएका ठाउँहरूका मानिसहरू आ–आफ्ना सरसामानलाई सकिनसकी बोकेर दौडिरहेका थिए । आइमाईहरू सानासाना केटाकेटी र नवजात शिशुलाई च्यापेर दौडिरहेका थिए । जो वृद्धावस्थाको कारण अशक्त थिए ती पनि सकिनसकी भीडमा हिँडिरहेका थिए । उनीहरूको साथमा घरपालुवा जनावर विशेष गरी साना कुकुर र बिरालाहरू पनि थिए । ती जनावरहरू मानिसहरूको भीडभित्र छिरेर यताउति गरिरहेका थिए ।

देशमा आक्रमण भएपछि युक्रेन सरकारले सबैलाई सुरक्षित रहनको निम्ति बङ्करमा आश्रय लिन सूचना जारी गर्यो । आफूखुशी स्वदेश फर्कन नसक्ने अवस्था देखेपछि नवीन र आभास बङ्करमा शरण लिन गए । बङ्करमा अन्य देशका छात्र–छात्राहरू पनि आ–आफ्ना झोला भुइँमा राखेर लहरै बसेका थिए । बाहिर बम विष्फोट भएको आवाज बङ्करभित्र पनि सुनिन्थ्यो । बङ्करमा छात्र र छात्राको सङ्ख्या झण्डैझण्डै बराबर थियो । डाक्टर र इन्जिनियरिङ्का विद्यार्थी धेरै थिए । नवीन र आभास पनि एम्.बी.बी.एस्.का छात्र थिए । दुवै जना एउटै मेडिकल कलेजमा पढ्थे ।

समय बित्दै जाँदा बङ्करभित्रका सबै विद्यार्थीहरूमा चिन्ता बढ्दै थियो । युद्धको कारण उनीहरूको मन मस्तिष्क विचलित भएको थियो । उनीहरू सबै त्रासमय, भयभीत र कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेका थिए । सबैको साझा चिन्ता थियो कि कसरी सुरक्षित रूपमा स्वदेश फर्कने । धेरैजसो विद्यार्थीहरू घर परिवारमा सम्पर्क गरेर मोबाइलबाट कुराकानी गरिरहेका थिए भने कोहीकोही युक्रेनस्थित आफ्नो देशको दुतावासमा सम्पर्क गर्न कोशिश गरिरहेका थिए ।

‘म केही खानेकुरा र पानी किनेर ल्याउँछु ।’ नवीनले आभाससँग भन्यो ।

‘म पनि तिमीसँगै जान्छु ।’ आभासले भन्यो ।

‘तिमी जानपर्दैन । एक जना यहाँ सामान हेरेर बस्नुपर्छ । म छिटोछिटो गएर आइहाल्छु ।’ नवीनले भन्यो । नवीनले त्यति भनेपछि आभास चुप लाग्यो ।

छिटै आउँछु भनेर गएको नवीन धेरै समयसम्म नफर्किएपछि आभाषले मोबाइलमा फोन गर्यो ।

‘म अभै पनि लाममा उभिएको छु । मभन्दा अगाडि अभै धेरै मानिसहरू छन् । अभै एक डेढ घण्टाको समय लाग्ला जस्तो देख्छु ।’ नवीनले आभासलाई स्थिति अवगत गरायो ।

समय निकै बित्यो । एक घण्टा, डेढ घण्टा गर्दै तीन घण्टा बितिसक्दा पनि नवीन फर्किएर आएन । यता सुरक्षा गार्डले सबैलाई त्यहाँबाट पोल्याण्डको सीमाक्षेत्रतर्फ लैजाने सूचना सुनायो । उसको सुचना सुनेपछि सबै विद्यार्थीहरूको अनुहारमा खुशी देखियो । उनीहरू बसेको ठाउँबाट उठेर आ–आफ्ना सामान सम्हाल्नतिर लागे । यता नवीन नआइपुगेकोमा आभास भने मलिन अनुहार पारेर बङ्करको ढोकातिर एकदृष्टि लगाइरहेथ्यो ।

त्यसपछि आभासले नवीनलाई लगातार मोबाइलबाट सम्पर्क गरिरह्यो । तर मोबाइलमा घण्टी बजे पनि उताबाट जवाफ आएन । तब आभास झन् आत्तियो । अनि उसले अर्को साथीसँग नवीनको बारेमा भन्यो । साथीले पनि नवीनको मोबाइलमा सम्पर्क गर्यो । मोबाइलमा लगातार घण्टी बजिरह्यो तर उताबाट कुनै जवाफ आएन । तब नवीनले यो कुरा सुरक्षा गार्डलाई भन्यो । सुरक्षा गार्डले भन्यो– ‘तिम्रो साथी आउँछ होला । यहाँबाट सबैजना निस्कन अभै केही घण्टा लाग्छ नै । तिमीहरू अन्तिम बसबाट जानू ।’

सबैजना बङ्करबाट बाहिर निस्किन लामबद्ध उभिए । युद्धको सङ्कटबाट मुक्त हुन पाएकोमा सबै खुशी थिए । आभास भने नवीनलाई मोबाइलमा फोन गर्दै बङ्करको ढोका छेउमा पर्खिरह्यो । अन्तिम बस जाने समयमा पनि नवीन नआएपछि सुरक्षा गार्डले नवीनलाई बसमा जान आदेश दियो । अब यतिबेला भने आभास धर्मशङ्कटमा पर्यो । उसले भन्यो– ‘मेरो साथी अभैसम्म आएकै छैन । उसको झोला पनि मसँगै छ । म उसलाई छोडेर जान सक्दिनँ ।’ यति भनिरहँदा आभासको आँखामा आँसु टिलपिलाइरहेको थियो ।

‘युद्धको बेला छ । आफ्नो ज्यानको पर्बाह गर्ने हो । तेरो साथीको अभैसम्म अत्तोपत्तो छैन । केही गरी ऊ आयो भने भोलि जान्छ । यो मौका नगुमाउनु बुद्धिमानी हुन्छ । मेरो विचारमा तँ जानु नै उत्तम हुन्छ ।’ सुरक्षा गार्डले भन्यो ।

सुरक्षा गार्डको कुराले ऊ द्विविधामा पर्यो । भोलिको दिन के कसो हो भन्न सकिन्न । अहिले जाने मौका आएको छ । उसले बसमा चढेका साथीहरूलाई हेर्यो । धेरैजसोले उसलाई बस चढन् भनिरहेका थिए । आभास भने अँध्यारो अनुहार पारेर धेरैबेरसम्म त्यहीँ उभिइरह्यो । उसको आँखामा नवीनको अनुहार झल्झली आइरहेथ्यो । नवीन यसरी नआउनुमा पक्कै पनि कुनै खास कारण हुनैपर्छ भन्ने लाग्यो ।

अन्ततः नवीनको झोला गार्डलाई जिम्मा लगाएर आभास बसमा चढ्यो । उसको मन रोइरहेको थियो । बस अभै गुडिसकेको थिएन । कतै नवीन आइआल्छ कि भन्ने आशमा उसले झ्यालबाट बाहिरतिर हेरिरह्यो । बस गुड्यो । सबै खुशीले रमाए । तर ऊ भने चुपचाप बसिरह्यो र नवीनको बारेमा अनेक शङ्का आशङ्का गरिरह्यो । बसभित्रको टेलिभिजनमा युद्ध सम्बन्धी समाचार आइरहेको थियो । ती समाचार मध्य एउटा समाचारको दृश्य थियो कि एक युवकको गोलि लागेर मृत्यु भएको खबर । सडक किनारामा रक्ताम्य भएर युवक लडेको थियो । उसको वरिपरि खानेकुरा, जस्तो कि बिस्कुट, पाउरोटी, पानीको बोतल आदि छरपष्ट छरिएका थिए । लासभन्दा अलिक पर एउटा मोबाइल पनि थियो । नीलो ज्याकेट र कालो पाइन्ट लगाएको त्यो युवक अरू कोही नभएर नवीन नै थियो । त्यो दृश्य देखेपछि आभास त्यहीँ बेहोस भयो । होसमा आउँदा ऊ अस्पतालको बेडमा थियो । उसको वरिपरि उभिएका डाक्टर र नर्सको एउटै प्रश्न थियो– ‘तिमीलाई अहिले कस्तो छ ?’

ऊ भने छुटेको साथीको सम्झनामा भित्रभित्रै तड्पिरहेको थियो । रोइरहेको थियो ।