भेटिने छुटिने त चलिरहेथे अनि चलिरहलान्, गुनासो त तिम्रो मौनताले अल्झाएर राखेका इशारा उपर रहेका छन्  । प्रिय तिमीले हजारौं हजार पटक दिएका इशाराहरू समयले सधैं एउटा संयोगको कहानी भित्र बाँधी रह्यो । अनि मैले ती संयोग भित्रका रहस्यहरूलाई केवल एउटा संयोग ठानिरहें कहिल्यै बुझ्न सकिनँ कम्तीमा बुझ्ने प्रयाससम्म पनि गरिनँ यार ।

झापा जाने दिन तिमी अचानक हिँड्यौ । मैले तिम्रो मामु बिरामी हुनु भएको कुरा पछि थाहा पाएँ । तिमीलाई म्यासेज गरें । सम्पर्क गर्ने माध्यम त्यति एउटा थियो । मैले निकै प्रतीक्षा गरें जबाफ पाउन । कुनै एक दिन जबाफ आयो,  मामु नरहनु भएको । त्यो म्यासेज मैले अबेर देखें । चिट्ठी लेखेर भावना साटेको जस्तै अनुभूति भयो । आधुनिकताले यति नजिक्याएको सम्बन्ध कठ्ठै झनै कति परको बनाइ दियो । आमा बित्नु भएको खबरले स्तब्ध बनायो मैले मनमनै भनें । तिमीले पढुनजेल एर्को एउटा हप्ताको समय सक्किसकेको रहेछ । सानो मान्छे कलिलो उमेर धित मारेर आमा भन्यौ भनिनौ ? समयले आमा भन्न पाउने अधिकार नै खोसिदियो । म स्तब्ध थिएँ तर पनि मैले हिम्मत निकाल्ने बाहेकको विकल्पै थिएन र अर्को म्यासेज लेखें अप्ठ्यारो मान्दिनौ भने तिम्रो नम्बर देऊ न सबिता । तेस्रो दिन जबाफ आयो, मामु जानू भएकोले म अलि डिस्टर्बमा छु, केही सम्हालिंदै पनि छु । परिवारहरूसँगै हुनुहुन्छ, फेरि तिनै कुराहरू दोहोर्‍याएर अर्थ पनि छैन । सम्झनु भयो, आत्मीयता पस्कनु भयो धन्यवाद हजुरलाई !!!

यो आत्मीयता शब्द मलाई यति भारी भएर आउँछ,  मैले सोचेकै थिइनँ  । साधारण हिसाबमा ग्रुपमासँगै होइन्छ । मन हुँदा बोलिन्छ नहुँदा बोलिँदैन,  विशेष ध्यान rt fav mention अनि ग्रुप सक्रिय बनाउनेदेखि अरू हुन्थेन । नम्बर माग्ने वातावरण पनि भएन माग्ने खास कारण पनि थिएन । हजारौँको भीडभाडमा नम्बर साट्न न उनले लजिक देखिन् न मैले । मलाई हमेसा पछुतो लागिरहने कुरा, कास त्यही दिनको काम चल्दै गर्दाको एक मिनेट मैले “सबिता, म पनि तिम्रो दुखमा सँगै छु यस्तै रहेछ नियति” भन्न पाइनँ । बाँकी आत्मीयताको परिभाषा त बोल्दै नबोली rt fav पडकाइ रहने त छ ।  अनि रहिरहने नै त छ । आत्मीयता लजिकले चल्दैन सायद हामीले निकै अबेर महसुस गर्यौं । कम्तीमा मैले निकै अबेर भए पनि थाहा पाएँ । तिमीले थाहा पायौ पाइनौ एकिन हुन सकिनँ ।

उनी काठमाडौं फर्किने दिन मैले अनलाइन देखें, अनलाइनमा के भन्ने ? तिमी कहिले फर्कने सबिता को उत्तर आएको देखें । अब के सोध्ने ?  मैले राम्रोसँग जानू बाहेकको शब्दै भेटिनँ । उत्तरमा १४ गते मामुको काम सकिन्छ १८/१९ गते फर्कन्छु होला लेखिएको थियो । मैले अलिकति थपेर “छिट्टै फर्कने र ? बसे भयो त एक दुई दिन”  लेखेको थिएँ सायद । उनले होइन अफिस भ्याउनु पर्छ धेरै दिन भयो, यहाँ जति बस्यो मामुको यादले सताउने मात्रै हो । काठमाडौँ भए कम्तीमा मामुको यादहरू घरभन्दा परको हुन्छ । म काठमाडौँको भीडभाडमा हराएँ भने सजिलो हुन्छ मलाई बिर्से जस्तै गर्न त्यसैले फर्कन्छु लेखिएको थियो । म्यासेज सिन भएको देखेर अलिकति हौसिएँ । गफ त गर्ने तर अब के कुरा गर्ने  ?  मैले कहाँ पुग्यौ ? सोधें उनले खै के ठाउँ हो यो भनिन् ।  मैले कुरा गर्ने सही शब्द फेला पारेछु, यति लामो बाटो पनि कोही रातिको यात्रा गर्छ त ? बिहान हिँडेको भए कम्तीमा साँझ पुगिने थियो सजिलो हुने थियो होला नि हैन र ?

राति अबेरसम्म नसुत्ने गरेको फाइदा भएछ आज  । उनी यात्रामा रहिछिन् त्यो पनि रातिको यात्रा । जति सुनसान मेरो बिस्तरामा थियो त्यति नै सन्नाटा त्यो बसको छतमुनि हुनु पर्छ । मेरो कानमा पुराना हिन्दी गाना बज्दै थियो । उनको कानले के सुन्दै थियो सोधिनँ । गाडीको घुवुवु आवज  मात्रै त काफी  नहुनु पर्ने । मसँग च्याट गर्दै थिइन्, यात्रा गर्दै थिइन् । मलाई थाहै छ त, के गर्दै छ्यौ सबिता सोध्ने कुरा पनि भएन । लजिक पनि थिएन । मैले गाडीमा वाइफाइ रहेछ कि नाई लेखें । उलने छ तर स्लो चल्दै छ लेखिन् । ट्वीटरका मान्छे खुब लजिकले चल्छन् । वाइफाइ एउटा लजिक थियो गफ गर्ने । मलाई पटक पटक मामुको कुरा गर्न उचित हुन्छ होला जस्तो लागेन फेरि त्यो भन्दा पहिले यसरी यति धेरै बेरसम्म च्याट गरेका पनि थिएनौं । मैले म्यासेज लेख्दै मेट्दै लेख्दै फेरि मेट्दै गरेँ । उताबाट म्यासेज आयो हजुर किन नसुत्नु भएको त यति बेलासम्म एक बज्यो त, हैन र ?

अनुप तिमिल्सिना

मोबाइलको घडी पुलुक्क हेरें नभन्दै एक बजिसकेछ । म यसै पनि यतिकै राति अबेरसम्म बस्ने मान्छे अझै आज त बहाना मिलेको छ । अब सुत्छु लेख्न खोजेथेँ लेखिनँ । अर्को म्यासेज आयो, अगाडि कसले झ्याल खोलेछ कुन्नि चिसो हावाले हान्यो । यस्तो जाडोमा पनि कस्तो हावा खान मन लाग्छ है मान्छेलाई अचम्म ! ‘मैले खाना घरै खाएर हिंडेकी’ लेखी सकेथेँ तर पठाइनँ ।

झ्याल बन्द गर्न भन्नू नि …

गर्ला आफैँ जाडो छ बोल्दिनँ होस् ।

मैले मुस्कुराएको इमोजी पठाइदिएँ अनि कहाँ पुगियो सोधें । उनले पूर्वतिरैको खै के ठाउँ भनिन् मैले  पहिले सुनेको थिएन त्यो ठाउँ र सम्झिन सकिनँ । हजुर सुत्नु मेरो त कहिले हो कहिले हो काठमाडौँ पुग्ने  । अर्को म्यासेज आयो,  ‘सुतौंला के छ र  ? निद्रै पुर्याउने न हो बिहान सुतौंला अलिक धेरै बेर’  लेख्दिएँ । अर्को लाइन फेरि  ‘आजसम्म सुतिरहेकै त छ,  जिन्दगी कति सुत्नु आधा उमेर सुतेरै गयो’ लेखें । यसपाली आँखा झिम्क्याएको इमोजी पनि साथैमा पठाएँ । उनले ङिच्च हाँसेको इमोजी पठाइन् । ‘अरू त त्यस्तै हो जाडोमा रातिको यात्रा गर्न नहुने’  मैले थपें ।  ‘त्यो त हो’  उनले थपिन् । ‘मजा त मजै हुन्छ  । राति सब सुतेका हुन्छन् गनगन हुँदैन’  अर्को म्यासेज गरें । दुइटा राक्षस जस्ता हाँसेका अनुहार स्क्रिनमा आयो मैले एउटा फर्काइदिएँ ।

घडीले एकबाट दुईको सुई छोइसकेको थियो । हामी केही फजुल गफ, केही ट्वीटका गफ केही जीवन दर्शनका गफ, केही मौसमका गफ, केही गाडीका कुरा अनि केही गीतका कुरा गर्दै थियौं । मलाई निद्रा पनि लाग्न थालेछ । उनलाई तिमी सुत आराम गर बाटो लामो छ भन्न पनि सकिनँ । अब त गफ पनि सुतेछन् जस्तो लायो ।  खास मैले उनलाई,  ‘अबका दिनहरू सजिलो  हुने छैनन् काठमाडौँमा । मामुले बेला बेला फोनमै भए पनि यसो गर उसो गर भन्नू हुन्थ्यो धेरै सजिलो हुन्थ्यो ख्याल गर्न  । उनी आफ्नो भाइसँग काठमाडौँ बस्थिन् । भाइको ख्याल गर्नु अब तिमी भाइको पनि आमा भएर हिँड्न सक्नु पर्छ बिस्तारै सबथोक ठिक, सब थोक पहिले जस्तै नभए पनि नयाँ ढ्ङ्गमा सबथोक मिल्दै आउँछन् । गाह्रो साह्रो पर्यो भने मलाई पनि सम्झनू, सकेको गर्ने छु’ लेख्न खोजेको थिंए । तर अहिले घाउ  ताजै छ अलिक दिनमा भनौंला जस्तो लाग्यो ।  ‘लौ त हजुर म चाहिँ सुत्नु पर्यो अब’ लेखें । उनले हस हुन्छ लेखिन्  ।  मैले कहाँ पुग्यौ लेखें । उनले खै जङ्गल जस्तै ठाउँ छ लेखिन् । मैले अब कतिबेर लाग्छ लेखें । उनले भरे साँझसम्म पुगिन्छ अरू थाहा छैन लेखिन् ।  मैले ए ए लेखें र इमोजी पठाएँ । मलाई निद्राले पेलिसकेको थियो । त्यत्रो मान्छे छन् गाडीमा म आत्तिन पर्ने नाटक गर्नै पर्दैन । फेरि केटी भर्खर त्यत्रो शोकबाट फर्केकी छ । मैले सोचेँ भन्दा निकै द्रह्रिली रहिछ ठानेँ । ‘म अनलाइनमै हुन्छु निदाए पनि मेरो वाइफाइ अनै हुन्छ म्यासेज गर्दै गर्नु म सुतें’ लेखें  । उनले ‘हस’ लेखिन् । मलाई फूल पठाउन मन थियो । मुस्कानको इमोजी पठाएँ । उनले दुई हातको हाइफाइफ पठाइन् । मैले फेरि म्यासेज गरिनँ । मनमा कुरा खेलाउन थालें, विचरा कलिलो उमेरमा पनि कति हिम्मत आएको । आमा बितेको १७/१८ दिन मै काममा फर्कन सकेकी जस्तो लाग्यो सोच्दा सोच्दै तेत्तिकै निदाएछु ।

हुन त ट्वीटर एउटा संजाल हो र यहाँ अनेकन स्वभावका मानिसहरूसँग अप्रत्यक्ष भलाकुसारी हुने गर्छ । जसरी म हजारौँ हजार मानिसहरूसँग एकै पटक ठोकिन्छु । त्यसरी नै हजारौं हजार मानिसहरू मसँग एकैपटक ठोकिन्छन् । हजारौंको भीडमा सय जनासँग मुस्किलले दैनिक ग्रुप या ट्वीटका माध्यमले भेट हुने गर्छ । सय मध्यका दस जनासँग कहिले काहीँ कुरा हुने गर्छ । दस मध्यमा कोही एक हुन्छन् जोसँग दैनिक गफ हुने हुने गर्छन् । जीवन र  जिन्दगीका कुरा हुने हुने गर्छन् ।

म को हुँ ? हुबहु मैले आफैँलार्इ चिन्दिनँ अरूलाई के चिनूँ  ? के चनाऊँ ? ऊ को हो ऊ आफैँले त चिन्दैन मैले कसरी चिन्ने । फेरि पनि हातका औंलामा गन्न सकिने जति मानिस परको भएर पनि आफ्नै बन्दिने रहेछन । सबिता त्यो परको आफ्नो मान्छे बन्दै थिइन् जसलाई म सबथोक भन्न सक्छु । अनि म सबिताको त्यो परको मान्छे बन्दै थिएँ जसलाई उनले सबथोक भन्न लेख्न सक्थिन् । हामीमा प्रेम थिएन, रहेन र पक्कै हुँदैन पनि ।  मित्रताको परिभाषा अलिक भिन्न देखेको छु मैले ।  उमेरले सानी थिइन् म भन्दा तर मलाई यही भनेर बोलाऊ कहिल्यै भन्थिनँ ।  केवल नामको सम्बन्धमा मैले केहील्यै विश्वास नै गरिन्  । उनलाई मैले नामको सम्बन्धमा कहिल्यै राखिनँ र म पनि नामको सम्बन्धमा कहिल्यै बस्न रुचाइनँ । म हरेक दिन आत्मीयताको कथन हालेर नथाक्ने मान्छे । मेरा ट्वीटहरू अधिकतम प्रेम बिछोड मानवीय गुण अबगुण र आत्मीयताको वरिपरि बसेर लखिएको हुने गर्थे र गर्छन । म लेखेरै भन्न त सक्दिनँ तर उनी र मबीचको सम्बन्ध यही आत्मीयताको कसीभित्र बाँधिएको पक्कै थियो ।  उनले कैयौँ पटक खुलेरै भन्ने गर्थिन् । मैले कयौँ पटक  खुलेर लेख्ने गर्थें । मैले जानेको आत्मीयताको नाम मध्ये एउटा नाम सबिता थिइन् । उनले जानेको आत्मीयताको नाम मध्येको एउटा नाम म थिएँ, र त मलाई उनी सधैं  ‘हजुर मेरो जीवनको खास मान्छे हुनुहुन्छ ।  मलाई भेट्न मन लागेको नाम  । हजुरको नाम मलाई सम्झी रहन मन लाग्ने  नाम हो’ भनिरहन्थिन् । संभवतः भनिरहने छिन् ।

उनी उड्न चाहान्थिन्, आकाशको बाटो भएर । संसार हेर्न अनि धर्तीको धुलो टेकेर जिन्दगीको अनुभव बटुल्ने कुरा गर्थिन् ।

हामीबीच न रातको अँध्यारो अप्ठ्यारो बनेर आयो न दिनको भीडभाड । उनलाई पनि मलाई जस्तै लेख्न मन लाग्थ्यो । उनी लेख्थिन् पोस्ट गर्नु अगाडि मलाई देखाउथिन् । म हरेक पल्ट यो भएन त्यो भएन मात्रै भनिदिन्थें । उनी रिसाएको इमोजी पठाउथिन् ।  मैले लेखेको कहिल्यै भयो भन्नु हुँदैन किन हो सोध्थिन् ।  म हाँसेको इमोजी पठाउँथें । ‘तिमी जिन्दगी लेख्दै गरेको मान्छे यत्तिमै खुशी हुनु हुँदैन । तिमी सय पल्ट लेख म हजार पल्ट भएन भनिदिन्छु अनि पो भेटिएला त  तिमीले लेख्ने भनेको जिन्दगीको गोरेटो’ भनिदिन्थें । उनी एउटा आँखाले मात्रै आँसु झारेको इमोजी पठाउथिन्  । म मुसुक्क हाँसेको इमोजी पठाउँथें । उनलाई जीवनकै उत्कृष्ट ट्वीट लेख्ने धोको थियो । तर मलाई के थाहा मेरो जस्तो ट्वीटमा उनी पल पलमा बाचेकी छन् भनेर । मलाई के थाहा उनले लेख्न खोजेको उत्कृष्ट ट्वीट भनेको के हो भनेर !!!

मैले आत्मीयता केवल शब्दमा मात्र सिमित हुने कुरा कहिल्यै ठानिनँ । मलाई थाहा थियो समय न कहिल्यै अधुरो थियो न रहनेछ ।  फेरि पनि कुनै एउटा  समय आउला र म फेरि उनीसँग  एक पल्ट नम्बर मागौंला सोचिरहन्थें । सायद म डराउँथेँ नम्बरको चक्करमा आत्मीयता गुमाउने छु भन्ठानेर । उनी मलाई आफ्नो खास मान्छे मान्थिन् । त्यो कुरा म बुझ्थेँ । तर पनि खास खास कुराहरूको महत्त्व झन् पहिल्यै उडेर जाने छन् हराएर जाने छन् । जुन कुरा देखेथेँ भोगेथेँ र सचेत बनी रहन्थें ।

सामान्य चिनजान हो भनौं भने उनको हरेक पोस्टहरूमा आउने शब्दको मालिक थिएँ म । भाव उनी ल्याउँथिन् शब्द म खोज्थें । ट्वीटर उनी चलाउथिन् ट्वीट म लेख्थें । उनी मलाई ‘हजुर ! मेरो जीवनको लेखक बन्नु पर्छ’ भन्थिन् । म हुन्छ भन्थेँ ।  डराउने कुरा केही थिएन । केवल मैले पाएको आत्मीयपनको सिमाना नाघ्दै पो छु कि भन्ने भ्रम थियो र एक दिन मैले आफ्नो भ्रम डर अनुशासन सबथोक चिरेर नम्बर माग्ने हिम्मत गरें । सबिता ! खै नम्बर पठाऊ  न तिम्रो, मैले म्यासेज गरें ।

यो दोश्रो पटक थियो मैले नम्बर मागेको । करिब चालिस मिनेटपछि म्यासेज सिन भएछ तत्काल जवाफ आएन । मैले म्यासेज सिन भएको देखेर अर्को म्यासेज लेखें ‘के भयो म्याडम रिप्लाई छैन त ?’ करिब एक मिनेटमा जवाफ आयो बिजी थिएँ । अफिसमा काम थियो  अलिकति । अरू बेला कति कति बिजी हुँदा पनि मसँग कुरा गर्न फुर्सद निस्कनेलाई मैले नम्बर भन्ने बितिक्कै  एकाएक बिजी भएछ्यौ है मलाई लेख्न यही मन थियो । टाइप गरें तर पठाइनँ ।  केबल ए ए लेखेर छोडें म्यासेज सिन भयो जवाफ आएन । मैले फेरि म्यासेज गरिनँ यार यो कस्तो अजीव कुरा है । म तिमीलाई कुनै एउटा नाम बिनाको सम्बोधनले बोलाउँछु, भन्न त तिमी  ‘म तिम्रो खास मानिस हो भन्छ्यौ अनि हामी शब्दकै दुनियाँमा मात्रै सपनाको घर बनाइ रहने हो र भन्या ?’ कस्तो मान्छे यार तिमी । मैले यति सम्मान र आदरले बोलाउँछु र पनि एउटा नम्बरको लागि यतिको नाटक किन हो ? के म तिमीसँग फ्लर्ट गर्न खोज्छु  ? र नम्बर मागेको हुँ जस्तो लाग्छ ? के म तिमीलाई गर्ल फ्रेन्ड बन भन्छु जस्तो लाग्छ ? यस्तै यस्तै धेरै रिस अनि धेरै चित्त दुखेको म्यासेज टाइप गरेको त थिएँ फेरि चित्त दुख्लान् जस्तो मानेँ पठाइनँ । नम्बर एउटा बहाना थियो आत्मीयको ।  हामी शब्दको दुनियाँमा परिचय भएकाहरू हौं मैले बिर्सनु हुँदैन थियो  । हामी शब्दमा मात्रै सिमित रहनु पर्ने हुन्छ मैले बिर्सनु हुँदैन थियो ।  तर मन भित्रको एउटा आवाजले अरू केही भनिरहेको थियो । हामी यसरी बोल्न थालेको पनि त अब एक साल हुन लाग्यो । मैले तिमीलाई चिनेको पनि त एक साल हुन लाग्यो ।  तिमीले मलाई चिनेको पनि त एक साल हुन लाग्यो । एक सालमा तीन सय पैंसट्ठी दिन हुन्छन् ।  सबिता ! तीन सय पैंसट्ठी दिन सजिलै कट्दैनन् । मैले तिम्रो हरेक दिन देखेको छु कम्तीमा महसुस गरेको छु । तिमीले मेरो हरेक रात देखेकी छ्यौ कम्तीमा एहेसास गरेकी छ्यौ । फेरि एउटा नम्बर !!! मैले ठिकै छ भन्ने सिबाए विकल्प पनि भेटिनँ ।  आखिर लजिक धेरै भएका ट्वीटरवालेसँग टाढिन सकिन्छ र ?

दुई चार दिन गफ हुन छोडे, मलाई घरीघरी म्यासेज गर्न मन लाग्थ्यो तर होस् घमन्डीलाई धेरै भाउ दिई राख्न जरुरी छैन जस्तो गर्थें ।  लेखेका म्यासेज डिलेट गर्थें । उनलाई के लाग्थ्यो र के गर्थिन् थाहा भएन । म तिनै सेरोफेरोमा बसेर ट्वीट गर्थें उनी  Rt गर्थिन् । ट्वीटको उस्तै सेरोफेरोमा मिल्ने प्रतिक्रिया लेख्थिन् । आफ्ना कारणले चित्त दुखेको भए माफी चाहन्छु लेख्थिन् । म पहिलेदेखि नै मेरो ट्वीटहरूमा कमेन्ट गर्ने गर त सबिता पनि भन्थेँ । मेरो ट्वीटको प्रसङ्ग जोडेर मेन्सन गरेका शब्दलाई म खासै मतलब गर्थिनँ । एक दुई दिन यस्तै चल्यो, एक दुई हप्ता यस्तै चल्यो । एउटा समय यस्तो आयो हामी एउटै ग्रुपमा त छौं तर बोल्दैनौँ ।  केवल rt मात्र ! rt fav बाट सुरु भएको आत्मीयता फर्केर rt fav मा मै पुग्न थाल्यो न उनको प्रयास भयो मसँग कुरा गर्ने न मेरो  । आयो गयो पोस्ट गर्यो मेन्सन गर्यो सक्कियो । कता कता दुख लाग्थ्यो । त्यत्रो समय त्यतिका गफ गर्ने गरेकी सबिता केवल rt fav mention हरूमा मात्रै देखिन थालिन् । मलाई मात्र दुःख लागेर पनि त भएन, उनी खुशी नै थिइन् होली र त म्यासेज पनि गरिनन् । फेरि ट्वीटरमा म एक्लै पनि त थिइनँ । उनको आत्मीयताको परिभाषाभित्र परेको । उनका आफ्नै ग्रुप हुन थाले साथी हुन थाले मैले थाहा पाउँथें सबिता ग्रुपमा सक्रिय नै हुन्छिन् भन्ने पनि । तर मैले कहिल्यै उनको ग्रुपमा जाने प्रयास पनि गरिनँ लैजाऊ पनि भनिनँ, जोड  पनि भनिनँ । म आफ्नो तालमा अलिक निष्क्रिय हुन थालेँ कारण सबिता थिइनन्, कारण मान्छेहरूबीचको सम्बन्धको थियो । मलाई अल्छी लाग्न थाल्यो । गफ,  ग्रुप, आत्मीयताको कथन सब फोकट लाग्न थाल्यो । म दिनभरिमा एउटा ट्वीट गर्थें rt गर्थें फर्कन्थेँ । बहुत मुस्किलले कसैसँग गफ गर्थें । केही काम छन्, प्रसङ्ग छन्, भने सोध्थें कसैलाई नत्र बोल्दै बोल्दैन थिएँ । मलाई आत्मीयताको परिभाषा यो होइन जो म केवल सबितासँगको कुराले मात्रै  गर्दैछु भन्ने थाहा थियो, र थाहा छ । तर पनि नजिक भएर छुटिन नपरोस यहाँ कोही न आफ्नो हुन आएका हुँन् न कोही पराई बन्न आएका । बस् यहीबीचको सम्बन्धलाई जे नाम दिन मिल्छ सकुन्जेल रहने हो भन्ने  महसुस हुन थाल्यो र प्रायः बाहिर बाहिर हुन थालें ।  रहन थालें ।

करिब तीन महिनापछि म्यासेज, आयो सन्चै हुनुहुन्छ ?

म्यासेज कहिले आयो दिन त यकिन भएन तर मैले भोलिपल्ट रिप्लाइ गरें हजुर जिउँदैछु । म प्रायः ‘सन्चै हुनु हुन्छ भनेर सोधिने सवालको जबाफमा जिउँदैछु’ लेखिदिन्थें । पहिले पनि उनी मुसुक्क हाँसेको इमोजी पठाँउथिन् । यसपाला म्यासेज चाँडै सिन भयो तर मुसुक्क हासेको इमोजी आएन । म्यासेज सिन भएको देखेर मैले  ‘सन्चै छ्यौ लेखें ?’  सिधा अनि औपचारिकता निभाउन लेखेको जस्तो ठुलो अक्षरको ‘सन्चै छ्यौ’ भएर गयो जस्तो लाग्यो र एउटा हाँसेको इमोजी पनि पठाइदिएँ । ‘मेरो पनि ठिकै छ ,काल आउँदैन रहेछ’ सजिलै जफाफ आयो । मैले ‘काल सजिलै आउँथ्यो भने दुनियाँ आधा रित्तो भई सकेको हुने थियो हजुर’ लेखें । उनले सायद सहमती जनाएको हुनुपर्छ अगाडि भएको भए टाउको हल्लाउँथिन् ।  च्याट बक्समा इमोजी भेटिनन् र मौन बसिन् । मैले तुरुन्तै सोधें ‘कता छ्यौ ?’ अल्लिबेरमा जफाफ आयो इन्डिया ! इन्डिया रे ! मैले थपें उनले छोटो उत्तर पठाइन् ..उम.. इन्डिया ! किन गएको नि ? घुम्न -उत्तर आयो । मैले मजा छ है जिन्दगी लेखें उनले मुस्कान भएको इमोजी पठाइन् ।  मैले पनि मुस्कान भएकै इमोजी पठाएँ । इमोजीले थोडी न बोल्छ रिस उठी उठी पठाएको हो,  है भनेर । किन गएको इन्डिया भन न ? मैले फेरि लेखें । अफिसले तालिममा पठाएको उनले लेखिन् । ए ए मैले लेखें । हाँसेको इमोजी उनले पठाइन् । कति दिनको टुर मैले लेखें,  १०/१२ दिन उनले लेखिन् । त्यत्रो ! मैले थपें । उम उनले थपिन् । यताबाट राजस्थान घुम्न जाने हो अनि फर्किने हो  फेरि थपिन् । मैले अहो ! जिन्दगी मजैमजामा चल्दै रहेछ त लेखें । उनले हाँसेको इमोजी पठाइन्  दुइटा । म उड्न चाहान्छु भन्थिन् । पन्छी हावामा रहिछिन् भनें मनमनै । इन्डियामा उनी दिनमा तालिममा हुन्छु राती मामाकोमा बस्छु । संयोगले मामाको घर यहीँ नजिकै छ । अरू होटेल जान्छन् म मामाको घर जान्छु भनिन् । मलाई अचम्म लाग्यो । संयोग जतासुकै संयोग बनी आउने   रहेछन् केटीलाई जस्तो लाग्यो । दिउसो कुरा हुँदैन थियो, राती अबेरसम्म कुरा हुन सुरु भयो । आफू अर्काको ठाउँमा भएर होला आफ्नो ठाउँको त टुइटे पनि आफ्नै हुँदो रहेछन् जस्तो लाग्यो । म यति बेला सुख दुखका भन्दा पनि अनुभवका कुरा गर्ने गर्थें । कस्तो हुँदैछ तालिम सोध्ने गर्थे । उनी फर्कने नफर्कने कुराले मलाई खासै फरक पर्ने वाला त थिएन तर पनि कहिले फर्कने हो सोधी रहन्थें ।

अब हामी नम्बर र फोनको कुरा नगरौं ल कहिल्यै पनि । मैले म्यासेज छोडेको थिएँ । एउटा आँसु झारेको इमोजीले मलाई कुरिरहेको रहेछ । मैले अर्को उस्तै इमोजी साथी पठाइ दिएँ । जे भए पनि केटी हो, म जत्ति नै परिचित भए पनि उनको लागि कोही होइन । केबल एउटा टुइटे हुँ । मसँग नबोल्न पाउनु उनको अधिकार हो, जसरी उनीसँग बोल्न पाउनु मेरो अधिकार हो भन्थें म । मुख्यतः उनीमा इच्छा नै नभएको कुरालाई मैले जबरजस्ती गर्दिने कुरा पनि त थिएन । मैले आफूलाई चित्त बुझाउनु सिवाय विकल्प पनि त थिएन । बरु हामी यो आत्मीयतालाई ट्वीटरभित्र अझै प्रगाढ बनाएर लैजाऊँ फेरि सक्रिय भएर लागौं, मेले यस्तै यस्तै भावनात्मक कुराहरू लेखेर पठाएँ  । उनले फेरि मुस्सुक्क हाँसेको इमोजी पठाइन् ।  मैले पनि मुस्सुक हाँसेको इमोजी पठाइ दिएँ ।  यो मुस्सुक्क हासेंको इमोजीले पनि उता गएर मैले भनेको चाहिँ होइन भन्नेवाला थिएन । मैले बुझेथें, कम्तीमा इमोजीले झुट प्रतिक्रिया पनि दिन्छन् । एउटा कुरा भनौं ?  म्यासेज आयो ।  भनन जफाफ गयो । म सायद छिट्टै विदेश जाँन्छु होला र खुशी भएको इमोजी सहित म्यासेज आयो । मैले बधाई छ लेखेर पठाईदिएँ । उनले अर्को हाँसेको इमोजी पठाइन् ।  मैले इमोजीको साथी पठाइ दिएँ ।  हाँसेकै इमोजी । उड्ने चाहना हुनुपर्दो रहेछ आकाश साँच्चै फराकिलो पाइने रहेछ जस्तो लाग्यो । मैले आफूलाई लागेको कुरा मलाई मात्र लाग्न दिइराखें । तिमीलाई कस्तो लाग्दै छ सोधिनँ ।

कहिले फर्कन्छ्यौ रे ? म्यासेज पठाएँ ।  सायद यो कहिले फर्कन्छ्यौ रे भनेर सोधिएको पांचौं छैटौं प्रश्न थियो । इमोजी मात्र जबाफ आयो । खासमा मलाई सोध्ने बोल्ने र भन्नु पर्ने कुरा के हो नै मेसो थिएन । म उनको विदेश जाने कुराले अलिकति दुखी बनेको थिएँ ।

मलाई थाहा थियो उनी एक्लै विदेश जान लागेकी थिइनन । उनी सँगसँगै, उनीसँग भेट हुने मेरो सपना पनि विदेश जाने वालामा थियो । मेरो फोनमा कुरा गर्ने रहर पनि विदेश जाने वाला थियो । अब यताबाट फर्केपछि एप्लाई गर्ने रे बाबाले भन्नू भएको । बाबा उतै हुनुहुन्छ, जबाफ आयो । मैले ए ए भनें । अरू के भन्ने ? फेरि भनेको जति कुरा बुझिहाल्दिने मानिस पनि त होइनन् उनी,  बेला बेलामा ।

विदेश जाने कुराले अलिकति भावनामा बग्न पुगेछु । मलाई खास फरक पर्ने कुरा केही थिएन । एकपल्ट फोनमा कुरा गर्ने इच्छा थियो जो नेपाल हुँदा सम्भव भएन । अब विदेश गएपछिको सम्भावना देख्दै देखिनँ ! हुन त फोन नगरे पनि हुने वाला केही थिएन तर पनि इच्छा केवल इच्छा हुने रहेछन् ।  इच्छा लागे पछि न त लजिक लाग्दो रहेछ न दिमाग । म हल्का उदास उदास जस्तै थिएँ र पनि उत्साह भरिएको भाव आउने तरिकाले म्यासेज गरें, ‘भनेपछि मेडम अब विदेश जाने हुनु भयो है, भाग्यमानी यस्तै हुन्छन् थाहा छ मलाई ।’ उनले हाँसेको इमोजी पठाइन् । मैले मेडमसँग फोनका कुरा अनि हामी भेटिने कुरा पनि सँगसँगै विदेश जाने भएछन् है लेखें  । उनले फेरि मुस्कुराएको इमोजी पठाइन् । मैले केही पठाइनँ, नजिकै हुन्थेम भनें आँखा आँखा जुध्थे होलान् ।  मैले भन्ने खोजेको कुरा उनका आँखाले सजिलै बुझ्थे होलान् तर त्सयो हुन सकेन । सक्ने कुरा नै भएन ।

म नेपाल आएपछि नम्बर दिन्छु कुरा गरौंला दश दिन पर्खनुस उनको म्यासेज आयो अनि दुइटा हाँसेको इमोजी पनि आयो । त्यो एउटा म्यासेज मात्र आएको थिएन हप्ता महिना सालभरिको इन्तजार आएको थियो, मेरो रहर आएको थियो, भावना आएको थियो । मैले लेख्दै  गरेको अनि उनले भन्दै गरेको आत्मीयता आएको थियो । मैले दुई चार पाँच इमोजी पठाइदिएँ, फेरि पठाएँ । फेरि पठाएँ । सायद इमोजी पहिलोपल्ट कतै बोलेको थियो भने त्यही बेला हुनुपर्छ । उनी  बीचचीमा घरी हाँसेको घरी रिसाएको इमोजी पठाउथिन् तर मलाई जे जे पठाए पनि केही फरक परेकै थिएन । उनले म गएँ अब लेखेको म्यासेज पढे पछि मैले कता लेखें । उनले सुत्न लेखिन् । मैले दुई मिनेट लेखें । उनले अनि हाँसेर मात्र बसिरहनेलाई केको दुई मिनेट लेखिन् । मैले होइन सिरियस दुई मिनेट लेखें  र टाउको झुकाएको इमोजी पठाएँ । उनले ओके छिटो निद्रा लाग्यो लेखिन् र मुस्कुराएको इमोजी पठाइन् । मैले चार मिनेटसम्म म्यासेज मात्रै लेखिरहेँ । पहिलो शब्द धन्यवाद थियो र अन्तिममा thank you बाँकी म्यासेज सम्झन सकिनँ । सायद धन्यवादलाई सही अर्थमा व्याख्या गरिएको थियो होला कि जस्तो लाग्छ । दुई मिनेट भएन र ? म्यासेज आयो फेरि इमोजी आयो बल्ल मेरो म्यासेज गयो सिन भयो ।  पढ्न दुई मिनेट लाग्यो । शब्द आएनन् इमोजी आए । म त्यत्तिमै खुसी भएँ ।  अर्को म्यासेज आयो म हजुरसँग फोनमा मात्रै कुरा गर्छु र बिनितालाई काठमाडौं गएर भेट्छु  । मलाई नेपाल आउन दिनोस् । मैले ओके लेखें । उनले इमोजी पठाइन् ।  गुड नाइट पठाइन् ।  मैले पनि गुडनाइट पठाएँ इमोजी पठाएँ ।

बिनितालाई पनि थाहा थिएन होला सायद सबिता भेट्न आउँदै छिन भन्ने । मलाई बेला बेला बिनिताले भनेकी थिइन् ‘सबिताले ट्वीटरका दुईजना मान्छे मात्र भेट्ने रे !’ मैले सोधेको थिएँ को को भनेर ।  उनले तिमी र म भन्थिन् । बिनिता आजभोलि ट्वीटर आउँदिनन् । उनलाई धेरै कुरा थाहै छैन विचरा यो ब्लग पढेर बुझिनन् भने बुझिनन्  । बुझिनन् भने म भन्दिनँ सबिताले पनि भन्दिनन् होली  । शब्दमा आवाज हुन्छ मैले कतिपल्ट ट्वीट गर्दा बिनिताले ‘म सुन्न सक्छु अनुप तिम्रो शब्दले बोलेको आवाज’ लेखेर कमेन्ट गरेकी थिइन् । हेरौं के गर्छिन् ।

सबितासँग फोनमा कुरा गर्ने मेरो माया थिएन । मैले सबितालाई त्यो नजरले कहिल्यै हेरेकै थिइन्,  छैन र हेर्दिनँ पनि । ट्वीटर बाहिर मेरो आफ्नै जिन्दगी छ जिन्दगीका बाटाहरू छन् । उनका आफ्नै कथाहरू होलान् ।  हामीले कहिल्यै हामी बाहेकको कुरै गरेनौं । हाम्रो को छ को छैन भन्ने कुराले हामीलाई कहिल्यै फरक परेन । उनी एउटा संयोगको पात्र हुन जो ट्वीटरको माध्यमबाट भेट भइन् अनि आत्मीयताको परिभाषा भित्र बसिरहिन् । मैले धेरैपल्ट लेखेको पनि छु आत्मीयता प्रेम होइन दोस्ती होइन हम सफर होइन आत्मीयता केवल आत्मीयता हुन्छ भनेर । फोनले आत्मीयता प्रगाढ हुन्छ मेरो एकोहोरो धारण थियो । सधैं ट्वीटरमा होइन्छ भन्ने हुँदैन । फोनमा कुरा भयो भने कहाँ छ के गर्दैछ अप्डेट हुने छ मेरो धारणा । हामीबीचको साइनो ट्वीटर भन्दा बाहिर पनि आउन पर्छ मेरो धारणा ।

मैले म्यासेज गरें कहाँ छ्यौ ? कति दिन छन् अब ? केहीबेरमा जबाफ आयो म राजस्थान जाँदैछु ट्रेनमा छु । मैले wow लेख्दे उनले दुई हात उचालेर लजाएको जस्तो देखिने इमोजी पठाइन् । मैले हाँसेको इमोजी पठाइदिएँ र नम्बर त त्यहीँको दिए पनि त भयो  हजुर नेपालबाट इन्डिया फोन जान्छ … के रे लेखें । उनले मसँग सिम छैन यहाँ अहिले रेलको वाइफाइ बाट नेट चलाएको हो लेखिन् । मैले वाह ! रेल लेखें ।  उनले हाँसेको इमोजी पठाइन् । मैले हाँसेको इमोजीसँग जोडेर कति दिन छ अब ? लेखें । उनले सात दिनमा नेपाल पुग्छु लेखिन् । मैले सात छ पाँच चार तीन दुई सबै दिन गनेँ हातका औंला गने जस्तै । राजस्थान यसै रमाइलो ठाउँ छ, हेर्न लायकको ठाउँ छ ।  धोतीले पछ्याउलान् मैले हाँसेको इमोजी सहित लेखें । उनले हाँसेको इमोजी पठाइन् ।  रेलको यात्रा मैले पनि गरेको थिएँ, बिहार टु बिहारनै । तर त्यो अलिक लामो यात्रा थियो थकाइ लाग्ने खाले ।  मैले हौस्याउन खुब रमाइलो हुँदैछ होला है ? रेलका झ्यालबाट बाहिर हेर्द रेल अघिअघि रेलले छोडेको बाटो पछिपछि लेखें । उनले रमाइलो भन्दा पनि नयाँ ठाउँ भएर जता पनि हेरौं हेरौं लाग्दैछ लेखिन् । मैले ए ए लेखें । बेलुका कहाँ बस्ने लेखें । उनले पहिले रेलमा लेखिन्, मैले हो र लेखें । उनले होइन खै सरहरू हुनुहुन्छ म्याडमहरू हुनुहुन्छ कता राख्नु हुन्छ लेखिन् । मैले ए ए लेखें । घरी म्यासेज चाँडै सिन हुँदै थियो घरी अबेर मैले रेलको वाइफाए भएर होला सोचें । ल ल ख्याल गर आफ्नो लेखेर छोडिदिएँ ।

एकपल्ट फेरि दिन गन्न थालें पाँच चार तीन दुई एक ।

म नेपाल फर्कदैंछु भनेर लेखिएको  म्यासेज आएको रहेछ ।

मैले अबेर देखेछु केमा आउदैंछ्यौ लेखेर पठाएँ ।  राम्रोसँग आउनु लेखेर पठाएँ, i m waiting लेखेर पठाएँ । केहीबेरमै जफाफ आयो, पहिले इमोजी आयो, इमोजीको पछिपछि ‘इन्डियाकै ठाउँ हो हामी गाडीमा आउदैंछौं अब तीस चालिस घन्टामा आइपुग्छौं’ लेखिएको म्यासेज आयो । उनलाई प्रायः पठाउने गरेको इमोजी पठाएँ दुई हात उचालेर खुसी भएको इमोजी । उनले त्यही इमोजी फेरि पठाइन् ।  मैले i m excited लेखेर पठाएँ । अनि उनले फेरि मुस्कुराएको इमोजी पठाइन्  । यो इमोजी प्रयोग प्रतियोगिता हुन्थ्यो भने सबिता पक्कै प्रथम हुन्थिन् जस्तो लाग्थ्यो  बेला बेला ।

राती आठ नौं बज्दै गरेको थियो होला मैले खाना खायौ लेखें उनले  ‘छैन’ भन्थिन्  । मन छैन लेखिन् ।  मैले यत्रो बाटो भोकै आउनु ? लेखें ।  उनले चाउचाउ खान्छु लेखिन् । मैले मुस्कुराउने इमोजी मात्रै पठाए दिएँ । ट्वीटरका केटीहरू पनि चाउचाउमै बाँच्दा रहेछन् जस्तो लायो । उताबाट म्यासेज आउन छोड्यो । केहीबेर नेटले होला सोचें घरी आउने घरी जाने हुँदै थियो । म पनि घरी निदाउने घरी ब्यूँझिने गर्न थाली सकेछु । अब त नम्बर देऊ यार तिमी नेपाल टेक्ने बित्तिकै कल गर्छु लेख्दिएँ । उनले नेपालमै आएर दिन्छु किन आत्तिएको लेखेर छोडेकी रहिछिन् । मैले बिहान अनलाइ देखें,  यति बेरसम्म त आइपुगिनौ र लेखें । उति बेलै अलिक अबेर जबाफ आयो आउदैंछु, साँझसम्म घर पुग्छु बिहान कल गर्नु होला नि । मैले हाँसेको इमोजी पठाइदिएँ । त्यो इमोजी होइन म हाँस्दै गरेको थिएँ, मैले त्यो पनि लेख्दिन खोजेको थिएँ तर लेखिनँ । अब आइपुग्छु साँझसम्म उनको म्यासेज आयो, ल ल आऊ मिल्छ भने कुदेर आऊ मैले जफाफ फर्काएँ । उनले  इमोजी फर्काइन्  । मैले पनि इमोजी नै फर्काइदिएँ । ङिच्च हाँसेको इमोजी ।

एक सालदेखिको प्रयास थियो कल गर्ने कुरा । यो तेस्रो पटक थियो मैले मुखैले फोरेर नम्बर मागेको । म सांच्चै अर्कै भएको थिंए । त्यो दिन के बोल्ने होला कसरी सुरु गर्ने होला ? हेल्लो भनम् कि सिधै बोलम् कि म प्रायः सिधै कुरा गर्ने गर्छु । व्यक्ति हेरेर सम्बोधन गर्छु र बोल्न सुरु गरिहाल्छु । के भन्न पर्नी छ त्यहीबाट बोल्न सुरु गर्छु  । मलाई फोनमा हेल्लो भन्न खास मन पर्दैन । मनमनै बोल्दै गरेको अभिनय पनि गरें ।  उनको खास मान्छे म । मैले औसत बोल्नु हुँदैन ।  म औसत देखिनु हुँदैन । मलाई ठुलै दबाबले पेलेको अनुभव हुँदै थियो । एउटा खास मान्छेले अर्को खास मान्छेसँग पहिलोपल्ट कुरा गर्दै थियो । मलाई अजीव लाग्दै थियो । चितवन कुन ठाउँ हो नि घर ? म्यासेज आएको रहेछ । मैले भरतपुर लेखेर पठाइदिएँ । म्यासेज सिन भयो । ए ए लेखिएको जबाफ आयो । मैले कता पुग्यौ सोधें । उनले घर आइपुग्न लागें लेखिन् ।  मैले ओहो ! लेखें । उनले मुस्कुराएको इमोजी पठाइन् ।  चितवन पूरा ठेगाना भन्नू न लेखिन् ।  मैले भरतपुर १० क्याम्पस चोक लेख्दिएँ । अनि किन सोध्या  ठेगाना पनि लेख्दिएँ । उनले म चितवन आउँछु यताबाट सिधै नम्बर दिनोस् ।  म त्यहाँ आएर कल गर्छु लेखिन् ।  मलाई अजीव लाग्यो । के भन्या होला जस्तो लाग्यो । उनले  छिटो लेखिन् मैले छिटो पढें । तर म यसैयसै अबेर भएँ । यो छिटो शब्द जीवनमा पहिलोपल्ट छिटो लेखिएर आएको जस्तो लाग्यो ।  यो छिटो शब्द जीवनमा पहिलोपल्ट ढिलो किन आएन जस्तो लाग्यो । मलाई यो संयोग किन छिटो आएन जस्तो लाग्यो । मलाई यो संयोग अलि अबेर गरेर किन आएन जस्तो लाग्यो । मोबाइलको स्क्रिनमा हेरेर टोलाउने भन्दा अर्को विकल्पै थिएन ।  म निकैबेर के लेख्ने के लेख्ने सोचिरहें । बुढी औंला चलाइरहें । दिमाग चलाइरहेँ तर उत्तर के लेख्ने शब्दै आएन । फेरि म्यासेज आयो छिटो भन्या म नेपाल आउन लागिसकें !!! म स्तब्ध ।

चितवन कहाँ आउनु पर्छ भन्नुस् त सुरुमा ? फेरि म्यासेज आयो । मैले आउन त पहिला नारायणगढ आउन पर्छ  तर नम्बर देऊ त म कल गर्छु अनि भन्छु कसरी आउने कहाँ आउने बताउछु लेखें । उनले होइन अब म नारायणगढ आएर कल गर्छु, हजुरले नम्बर दिनोस् लेखिन् । मैले तिमी हिंडेको हो र चितवन लेखें । उनले अब हिंड्छु लेखिन् ।  ‘यार म त विदेशमा छु नि त’ मैले लेखें ‘तिमीलाई चिनेको दिनदेखि म विदेशमै छु ।’  यो विषयमा कहिल्यै कुरै भएन म त्यति बेलादेखि नै विदेशमा छु लेखें  ।

त्यत्रो दिनको इन्डिया बसाइ पछिको त्यत्रो लामो यात्रा अनि सिधै चितवन आउछु भन्दै गरेको मान्छेलाई मैले अब अरू बहाना बनाउन उचित ठानिनँ । म विदेश छु भन्ने कुरा जानकरी गराएँ । उनलाई सामन्य लागेछ मुसुक्क हाँसेको इमोजी पठाइन् ।  मैले फेरि पहिलोपल्ट उनले  पठाएको  मुसुक्क हाँसेको  इमोजीमा,  स्वाङ पारेर हाँस्दैछुको महसुस गरें । त्यो इमोजी एक फेर त्यसरी हाँसेर पनि रुंदै थियो होला ।  मैले पनि स्वाङ पारेर हाँसेको जस्तो देखिने इमोजी पठाउन खोजें । तर मैले पठाएको इमोजी हाँसी मात्र रहयो । स्वाङ पार्नै जानेन । अनि नम्बर देऊ न त कल गर्छु मैले म्यासेज गरें । म्यासेज सिन भयो जफाफ आएन इमोजी पनि आएन । यो अर्को पहिलोपल्ट थियो उनको इमोजी पनि चुप बसेछ । ओई नम्बर देऊ न म कल गर्छु भनेको अर्को म्यासेज गरें । म्यासेज सिन भयो फेरि जबाफ आएन । सायद रिसाइन् । चित्त दुखाइन् । म लेखेर सबथोक बुझाउन सक्दिनँ एक छिनमा रिप्लाई आउला,  सम्झाउँला, नम्बर मागौंला, कल गरौला र किन भनिनँ सबै कुरा बताउँला सोचें । अनि sorry for everything लेखेर छोडी दिएँ । मलाई अलिकति ग्लानि महसुस हुँदै थियो । तर मैले केही रहस्य हुनुपर्छ ता कि कुनै एक दिन कसैलाई बताउँदै गर्दा गफ गर्ने बहाना बनी रहून ठानेर नभनेको थिएँ ।  मैले यही कुरा उनलाई सम्झाउन सक्नु पर्ने थियो । मैले ६ महिना अगाडि तिम्रो मामु बित्नु भएको बेला कल गर्छु भन्दै गर्दा, नम्बर दिएको भए रहस्य रहस्य रहंदैन थियो । सम्झाउन सक्नु पर्ने थियो, मैले तिम्रो चित्त दुखाउने हेतुले म विदेश छु नभनेको होइन । भन्नु पर्ने थियो मैले तिमीलाई मात्र होइन ट्वीटरका धेरैलाई म विदेश छु भन्ने  बताएको छैन, यसरी उनलाई सम्झाउनु पर्ने थियो । उनको अबको म्यासेज म निकै धैर्यकासाथ पर्खदै थिएँ । म घर आइपुगें, थकाइ लागेको छ, बिहान कुरा गरौंला लेखेको उनको म्यासेज आयो ।  मैले हस लेखें । अरू धेरै कुरा  लेख्न मन थियो । लेखिनँ । लेख्न सकिन, लेख्ने अवस्था नै भएन ।

यदि मैले तपाईंलाई मेरो नम्बर दिइन भने के गर्नु हुन्छ ? बिहान म्यासेज देखें । यो म्यासेजले धेरै कुरा बोल्दै थियो । मैले फटाफट उत्तर दिनै सकिनँ, के लेख्ने के लेख्ने भयो र अन्त्यमा केही गर्दिनँ गर्न नै पो के सक्छु र ?  हदै गरे ए पल्ट फेरि चित्त दुखाउँछु, एकपल्ट फेरि संयोग सम्झिन्छु ।  मैले तिमीसँग कुरा गर्न पाउनु मेरो अधिकार हो भनेजस्तै मसँग कुरा गर्दिनँ भन्नू पनि तिम्रो अधिकार हो । नम्बर नदिन पर्ने केही कारण देख्दिनँ ।  दिंदैनौ भने नदेऊ तर  म यहाँ भन्दा उता चाहिँ अब पक्कै माग्दिनँ ।  दिन्छ्यौ देऊ कल गर्छु । दिदैंनौ नदेऊ  ठिकै छ । केही भएन लेखी दिएँ । मलाई उनी रिसाएकी छिन्, अलिकति चित्त दुखाएकी छिन् यो बेला आफू नरम बनेरै कुरा गरेको राम्रो हुन्छ जस्तो लाग्यो । मैले कहीँ कतै आफ्नो पनि कमजोरी छ भन्ने आशयको म्यासेज गरें । यथार्थमा ती सरल अनि सकारात्मक भावको शब्दमा उनले आफ्नो मन परिवर्तन गर्छिन् सोचें । तर त्यसो हुन सकेन । उनले फेरि एकपल्ट नम्बर नदिने निर्णय गरिन् । मैले जय होस लेख्न नसके पनि मनमनै भन्दिएँ । कुरा एउटा नम्बरको मात्र थिएन । मैले बुझेको थिएँ तर बुझाउन सकिनँ ।  यतिका कुरा घुम्दैफिर्दै हामी फेरि त्यहीँ पुग्यौं जहाँबाट सुरु भएका थियौं ।  मैले बुझेको थिएँ तर बुझाउन सकिनँ । मैले धेरै प्रयास र  प्रयोग गरें निकै पटक बिन्ती बिसाएँ । तर केही लागेन यो भन्दा बढी सायदै कसैको नम्बर मागेको थिएँ होला । सायदै एउटा नम्बर दिन कसैले यतिका समय लगाए होलान् । मैले अब कहिल्यै नम्बर नमाग्ने निर्णय गरें । मैले अब यसरी भावनात्मक कुराहरूमा उनीसँग बोल्दै नबोल्ने निर्णय गरें । मैले अब उनीसँग आत्मीयताको कथन हाल्दै नहाल्ने निर्णय गरें । उनी  आफ्नो अधिकार  प्रयोग गरेर मसँग बोल्दिन भन्न सक्छिन् भने म पनि मेरो अधिकारको प्रयोग गरेर टाढिंदा फरक पर्दैन । उनी उनको स्वार्थ र समयलाई  मात्रै महत्त्वपूर्ण ठान्छिन् भनें म पनि मेरो स्वार्थ र समयको लागि स्वाभिमानी बन्नै पर्छ । मनले जे जे भनोस् मैले मेरो दिमागले भए पनि अब अलग बाटो हिंड्नै पर्छ  जस्तो लाग्यो ।

एक ढेड महिना यस्तै बित्यो । हामीले कुरा गर्न छोड्यौं । मैले दिमागले मात्रै आत्मीयता छोडेको थिएँ । मनमा त्यो आशा कहिल्यै हराएन । एक दिन कुरा गर्नेछु फोन गर्ने छु भन्ने सपना कहिल्यै छोडिनँ । तर पनि म्यासेज गर्थिनँ  न उनले गर्थिन् । उनी आफ्नो ससारंमा हराउन थालिन् ।  म मेरो काम परिवार  अनि निकै पातलो ट्वीटर यात्रामा भुल्न  थालें । एक दिन म्यासेज आएछ मेरो भिसा लाग्यो । मेरो बिदाइमा ट्वीट लेख्नु हुँदैन ? मैले म्यासेज देखेको नदेख्यै गर्दिएँ  । सिन भएर पनि जबाफ फर्काइनँ ।  भिसा उनको लागेको थियो यता  फोनमा बोल्ने मेरो सपना पनि जाँदै थियो । जहाज उनी चढ्दै थिइन् रहर मेरा उड्दै थिए  । मैले एकाएक बिनिता सम्झें उनले भेट्न मन गरेको एर्को आत्मीय व्यक्ति । एकाएक डाहा पलाएर आयो बिनितसँग कुरा हुन्थें कहिलेकाहीँ । तर सबिताको कुरा हुँदैन्थ्यो म गर्थिनँ । उनी पनि गर्थिनन् मैले एकपल्ट बिनितासँग सबिताले यसो गरिन् चाहिँ भनेको थिएँ पछि बेकार भनेछु जस्तो पनि लाग्यो । मेरो रिस मेरो आवेग मेरो घमण्डले मलाई बिनितासँग   सबिताको कुरा गर्ने बनाएको थियो ।  नत्र एक अर्कासँग एक अर्काको कहिल्यै कुरा गर्ददिनँ थिएँ । मैले बिनितालाई सम्पर्क गरें सबितालाई भेट्यौ सोधें । उनले छैन अझै त झापा गएकी छिन रे । फर्कंदा भेट्ने रे भनिन् । मैले ए ए भनें । सबिताको नम्बर माग है भेट भएको बेला भन्न मन लागेको थियो भनिनँ ।  भन्न सकिनँ ।  बिनिताले आफैँ  बुझिन् होला  बिनिता मेरो कुराहरू आफैँ बुझ्न सक्छिन् । कहिलेकाहीँ बिनिताले मेरो ट्वीट पढेको बेला लेक्थिन् म तिम्रो कुरा बुझ्छु अनुप । जे जस्तो भए पनि सबिता मेरो लागि आत्मीय थिइन् । म उनको खास मान्छे थिएँ । खास मान्छे यत्तिकै बनिंदैन पनि ।  मैले बिर्सनु हुँदैन । दिमागले जे जे भने पनि मनले कहिल्यै नराम्रो सोचिनँ । सोच्ने पनि छैन । फोनमा नबोलेकै कारणले मैले उनीसँग सम्बन्ध तोड्नु पर्छ भन्ने थिएन र छैन पनि । ट्वीटर भित्र फोनमा कुरा नगरे पनि आत्मीय भई रहेने कत्ति छौं कत्ति । फोन निकटताको बहाना हुन सक्छ । तर आत्मीयताको कारण हुनु हुँदैन । मैले मेरो आत्मीयता र यतिका समयको सम्बन्ध फोनका कारण तोड्नु हुँदैन । ट्वीटरको आत्मीयता शब्दमा हुन्छ भन्छन् ।  मैले शब्दप्रतिको मेरो विश्वास हराउन दिनु हुँदैन मेरो आफ्नो ट्वीटरप्रतिको चाख र मोह हराउन दिनु हुँदैन ।  मैले सबिताले भनेको ट्वीट लेख्दिनै पर्छ । मैले सबितालाई बिदाइ गर्ने ट्वीट लेख्नै पर्छ ।

पहिले मैले एउटा म्यासेज गरें । कहिलेको फ्लाइट सोधें । उनले दिन महिना समय तोकेर लेखिन् । मैले राम्रोसँग जानू,  कहिलेकाहीँ सम्झनु लेखें । कहिलेकाहीँ सम्झनुको लजिक थिएन तर लेखिएको म्यासेज गई हाल्यो । मेट्न मिलेन  । उनले हस मात्रै लेखिन् त्यो दिन । मलाई इमोजी सकिए  र आज ? सोध्ने मन थियो सोधिनँ । तिमीलाई कल गरौंला र कुरा गरौंला सोचेथें । अरू बेला जेजे भएका भए पनि कम्तीमा तिम्रो फ्लाइट हुने दिन कल गर्न पाएको भए पनि हुन्थ्यो जस्तो लाग्या थ्यो । तर भनिनँ । मेरो नम्बर लैजाऊ कुनै दिन सम्झिन मन लाग्यो मन फेरियो भने कल गर्नु लेखें । उनले नम्बर दिनोस् लेखिन् । मैले नम्बर दिएँ । उनले  सेभ गरेको स्क्रिनशट पठाइन् ।  मैले खुशी भएको इमोजी पठाएँ । मैले केवल नम्बर मात्रै दिएको थिइन् । मेरो रहर अनि मेरो फोनमा कुरा गर्ने सपना उनलाई सुम्पिएको थिंए । उनले केवल मेरो नम्बर मात्रै सेभ गरेकी थिइनन् ।  फोनमा कुरा गर्ने आशाहरू सेभ  गरेकी थिइन्  । त्यो स्क्रिनशट केवल स्क्रिनशट थिएन । मेरो सपना जिउँदै छ भन्ने प्रमाणपत्र थियो । मैले    समय मिलाएर ट्वीट गर्छु लेखें  । उनले हस लेखिन् ।  मैले फेरि एक पल्ट राम्रोसँग जानू  लेखें । उनले फेरि एकपल्ट हस लेखिन् । मलाई केवल एउट बोल्न सक्ने इमोजीको आवश्यकता महसुस भएको थियो । केवल एउटा मनका भावानाहरू खिच्न सक्ने इमोजीको अभाव भएको महसुस थियो । मैले See you soon लेखें । उनको जफाफ आएन । बिजी होलिन् सोचें अर्को म्यासेज लेखिनँ ।

उनले  फ्लाइट हुने भनेको दिन आयो । मैले पहिले उनको म्यासेज बक्समा Have safe n sound journey  लेखें । अनि मैले तयार पारेको ट्वीट पोस्ट गरेँ । ट्वीट कपी गरेर उनलाई पठाइ दिएँ । म्यासेज सिन भएन । मलाई म्यासेज सिन हुँदैन भन्ने पनि थाहा थियो । मलाई अबको केही समय उनीसँग कहीँ कतै पनि सम्पर्क हुने छैन भन्ने पनि थाहा थियो । तर मसँग केही विकल्पै थिएन । न उनी जाने कुरा मैले रोकेर रोकिने न उनी गएको देशमा म हुन सक्ने न म भएको देशमा उनी हुन सक्ने । म समय पर्खिनु सिवाय केही गर्न सक्थिनँ । समय आफ्नो गतिमा चल्नु सिवाय केही गर्न सक्थेन । मैले मिस गरेको थिइन् किन भने उनी केही क्षणका लागि ओझेल परेकी हुन् ।  हराएकी होइनन् ।  मलाई थाहा थियो । म आफ्ना दैनिकीहरूमा व्यस्थ थालें ।  उनले आफ्नो भाइलाई दिदीसँग म्यासेन्जरमा कुरा गर्नु रे भनेकी रहिछन् । भाइले मलाई म्यासेज गरेर स्क्रिनशट दिए । मैले म्यासेन्जरमा सबिता नाम खोजें । सबिता फेरि भेटिइन्  । मैले म्यासेज गरें । म्यासेज होइन उनी इमोजीको फ्यान थिइन् ।  मैले इमोजी पठाइदिएँ र हेल्लो लेखें । केहीबेरमा जबाफ आयो, जफाफ के भन्नु इमोजी आयो । यता बुढी औंला पठाउने चलन छ । बुढी औंला आयो । चस्मा लाएको सानो मान्छे आयो अनि बल्ल सन्चै हुनुहुन्छ लेखिएको म्यासेज आयो । मैले पनि पहिला बुढी औंला पठाइदिएँ अनि चस्मा लगाएको सानो मान्छे पठाइदिएँ अनि जीउँदैछु हजुर लेखी दिएँ । जीउँदैछु लेख्ने मेरो पुरानो आदत हो । उनलाई थाहा थियो । थाहा  सधैं रहने छ । अनि कस्तो हुँदैछ त विदेशको बसाइ ? मैले लेखें । नयाँ नयाँ छु सिक्दैछु विदेशमा बस्न उनले लेखिन् । सिकिन्छ बिस्तारै मैले लेखें । कति बज्यो मैले थपें 1.15 उनले लेखिन् ।  मैले मेरो मोबाइलको स्क्रिनतिर हेरें 11.15 लेखिएको रहेछ । मैले भनिनँ उनले सोधिनन् । कुन ठाउँ बस्छ्यौ  ?  मैले लेखें । राजधानी नै हो बस्ने, बाबा यहीँ हुनुहुँदो रहेछ उनले लेखिन् । मलाई राजधानीको नाम यही हो भन्ने  थाहा थियो  र सोधिनँ । उनलाई मैले राजधानीको नाम थाहा पाएको होला जस्तो लाग्यो होला र भनिनन् । कलेज कहिलेबाट मैले लेखें । बिहान एक बजे जानुपर्छ उनले लेखिन् । यतिबेला म ल्याङवेज सिक्दैछु त्यही हो खास गर्नु पर्ने काम यतिबेला उनले थपेर लेखिन् ।  मैले बिस्तारै हुन्छ सबै कुरा लेखें । उनले चस्मा भएको मान्छे पठाइन् । मैले बुढी औंला पठाइदिएँ । यता आएपछि हाँसेको इमोजी बिर्सिछन् सोंच्दै थिएँ पाँच सात वटा एकैपल्ट आए । यताको हास्ने इमोजी कस्तो नराम्रो है मैले लेखें । त्यही त उनले लेखिन् ।  अब म जान्छु काम छ एकछिन उनले थपिन् ।  ok see u मेले थपें । have a good time मैले थपेँ take care मैले थपेँ चस्मा लगाएको मान्छे मैले थपेँ बुढी औंला मैले थपेँ । मैले थप्न मिल्ने कुरा सबै थपें । थपिएको सबै हेरियो र फुर्लु फुर्लु उफ्रेको मान्छे पठाइयो । मैले त्यही मान्छे फिर्ता पठाइदिएँ । त्यो हेरिएन मेरा औंला रोकिए दिमाग चले एकफेर आकाश छुने मान्छे दिल खोलेर नाच्दैछ सोचें भनिन् लेखिन् । जिन्दगी सबै कुरा लेख्न नमिल्ने रहेछ मैले फेरि एकपल्ट महसुस गरेँ ।

समय यस्तै चल्दै गए यस्तै चल्दैछन् चल्दै रहलान् पनि । समय एक्लै चलेको भए समस्या हुन्थ्यो होला । समयसँगै हामी पनि चल्दै थियौं । उनी उनको देशमा खुशी थिइन् होली ।  म मेरो देशमा खुशी थिएँ होला ।  मैले त्यति एउटा कुरा सोध्न बिर्सेछु सबिता तिमी खुशी छ्यौ कि नाई ।  विदेशमा लेख्न बिर्सेछु सबै मान्छे विदेशमा खुशी हुँदैनन् अलिअलि खुशी आफैँ हुन सक्नु पर्छ, लेख्न बिर्सेछु ।

एक मुठ्ठी जिन्दगी बाँच्नु पुरै हात खुट्टा खियाउन पर्ने पुरै शरीर खियाउन पर्ने । म मेरो काम र समयमा बाँधिन्थें उनी उनको काम र समयमा बाँधिन्थिन् । कहिले च्याट हुन्थ्यो कहिले म्यासेज मात्र हुन्थे । कहिले समय मिल्थेन कहिले भोक मिल्थेन कहिले निद्र मिल्थेन । मैले विदेशमा भोक समय र निद्रा अरूसँग मुस्किलले मिल्ने हो है सबिता लेख्न बिर्सेको थिएँ । अनुकूल मिलाएर म्यासेज गर्दै गर्नु समय मिलेका बेला मोबाइल भन्दा पनि ओछ्यान र निद्रा खोज्ने गर्नु लेख्न बिर्सेको थिएँ ।  अनलाइन भेटेको बेला लेखौंला सोच्थें ।  फ्याट फुट्ट अनलाइन भेट्दा बिर्संदो रहेछु । विदेश आएपछि मेडमको समय पनि समय जस्तै चल्दै थिए मुस्किलले भेटिन्तथे ।  मुस्किलले कुरा हुन्थे । नयाँ ठाउँ नयाँ मान्छे नयाँ भाषा नयाँ जिन्दगी आफू गुणाको आफ्नो घर हुँदैन कहिलेकाहीँ आफ्ना मान्छे हुँदैनन्  केहीलेकाहीँ त्यहाँ आफ्नो जस्तो न त जिन्दगी हुँदै थियो होला न समय ।  म म्यासेज गरिरहन्थें सन्चो बिसन्चो सोधिरहन्थें । काम निद्रा भोक सोधिरहन्थें । उनी पनि भ्याएसम्म जबाफ पठाइ रहन्थिन् । उनी पनि मेरो भोक निद्रा अनि थकाइ सोधी रहन्थिन् ।  मैले ख्याल गरेको विदेशले उनको इमोजी खाइदिएछ । ती मोबाइलभित्रका बुख्याचाहरू एकाएक हराएछन् विचरा ।

म काममा भएको बेला कहिलेकाहीँ मोबाइल हुँदैनथ्यो मोबाइल भएका बेला कहिलेकाहीँ  समय हुँदन्थ्यो । गाडीमा सुतेर कोठामा फर्किनु मेरो बाध्यता हुन्थ्यो गाडीमा सुतेर काममा जानु पर्ने मेरो बाध्यता हुन्थ्यो । कहिले कामको तनावले त्यसै त्यसै रीस उठेको हुन्थ्यो । कहिले आफ्नै कारणले त्यसै त्यसै रिस उठेको हुन्थ्यो । बिहान काममा जाँदै थिएँ सबिताको म्यासेज आएको नोटिफिकेसन देखें । म्यासेज हेरिनँ ।  नोटिफिकेसन आउँदा आउँदैको शब्द अलिकति पढ्न भ्याएँ । क्यान्सरको बिरामी बाच्छ कि नाई ? म त्यतिकै गाडीमा निदाउनेतिर लागें । म्यासेज खोलेर हेरिनँ  सोधिनँ । मामु सायद क्यान्सर भएर बित्नु भएको रहेछ क्यारे । आज सम्झिछिन् कि आमालाई सोचें । त्यतिकै निदाएँ । काममा पुगेर कामका कामहरू हेर्न नियाल्न थालें ।  निकैपछि सबिताको अर्को नोटिफिकेसन देखें । बिहान आएको नोटिफिकेसन पनि सम्झें । क्यान्सर भएका मान्छे बाँच्छन् कि बाँच्दैनन् लेखेको सम्झें । म्यासेज खोलेर हेरें । उनी अनलाइनमै रहिछिन् एउटा  अन्तिम ट्वीट लेख्दिनु  न सहित केही टिप्सहरू दिइएको म्यासेज रहेछ  । मैले पढें जिन्दगी जिउने रहर कसलाई हुँदैन …..र कलिलो उमेरमा सपना तुहिएर गए….. आमाको सपना … बाबाको माया … भाइको हेरचाह … यी कुराहरूलाई आधार बनाएर एउटा ट्वीट लेख्दिनु न लेखिएको म्यासेज रहेछ ।

मैले हतार नगरेको जस्तो केही रियाक्ट नगरेको जस्तो यतिकै हेरेर कसरी के लेख्ने हो र हावामा लेख्दें । म्यासेज सिन हुनै परेन उनी अनलाइन नै रहिछिन् । आँसु झारेको इमोजी आयो धेरैपछि सबिताले इमोजी पठाइन् त्यो पनि आँसु झारेको मैले अझै रियाक्ट गरिन् । क्यान्सर लागेको बिरामी बाच्छन् कि नाई त्यति भन्नुस् त ? उनको म्यासेज आयो । मैले हाँसेको इमोजी पठाएर बाच्छन् किन नबाच्ने स्टेज हेरेर हुन्छ क्यान्सरको उपचार प्रणाली । सुरुमा थाहा पाइएको क्यान्सर निको हुन्छ लेखें । मलाई खै मुखमा भगवान बसेका थिए कि मेरो छैटौं इन्द्रियले सहायता गर्दियो अझै थाहा छैन ।  तर मैले उनको हतारोपनको जबाफ आनन्द तरिकाले दिएँ । उनको डर त्रास भय छट्पटीको जबाफ निकै सौहार्द भावले लेखिदिएँ र सोधें कसलाई क्यान्सर भएको छ र सबिता ? उनले फेरि रोएको इमोजी पठाइन् र मलाई लेखिन् । मैले उनको छ्ट्पटी हटाउन हाँसेको इमोजी पठाएँ र हो र लेखिदिएँ, उनले सबैले मजाक नै सम्झिन्छ्न् लेखिन् । तिमी डराएको मात्र धेरै हो मैले मजाक गरेको छैन सबिता क्यान्सर हिजोको डेटमा पेचिलो समस्या थियो । अल्लि अबेर थाहा पाएको भए गाह्रो हुन सक्थ्यो । नेपालमा भएको भए अप्ठ्यारो पर्न सक्थ्यो । तर तिमी त विदेशमा छ्यौ सुरुमै थाहा पायौ । आफूमा हिम्मत नहार  केही हुँदैन लेख्दिएँ । मैले पनि त्यही आशा गरेको छु विदेशमा छु बाच्छु होला नि है लेखिन् । मैले पक्का बाच्छ्यौ यार दोस्रो तेस्रो  स्टेजको त बाँच्छ्न् मान्छे लेखिदिएँ । उनले रोएको इमोजी पठाइन् । मैले मुख्य कुरा आफू मेन्टल्लि बलियो बन म आफ्नो लागि बाँच्नु पर्छ, भाइको लागि बाँच्नु पर्छ, बाबाको लागि बाँच्नु पर्छ भन्ने कुराले आफूलाई बलियो बनाऊ केही हुँदैन यार लेखें ।

त्यस दिन सबिता निक्कै आतिएकी छिन मैले सजिलै महसुस गरेको थिएँ । तर पनि मेरा दुई शब्दले केही फरक पार्ला ठानेर निकै धेरै कुरा सम्झाउँदै थिएँ । खिन्न नरमाइलो नमज्जा के के हुन्छन् । म पनि पक्कै भएको थिएँ । तर पनि खै कसरी मैले उनलाई सम्झाउने प्रयासमा नै थिएँ । आफ्नो दुखभन्दा अरूको दुःख धेरै देख्यो भने मान्छे आफूलाई बलियो पात्रको रूपमा उभ्याउँदो रहेछ । मैले त्यो दिन राम्रो बुझेँ । उनले म आराम गर्छु अब लेखिन् । मैले हुन्छ हुन्छ आत्तिन पर्ने केही देख्दिनँ आफू बलियो बन लेखें । उनले फेरि रोएको इमोजी पठाइन्  । मैले केही पठाउन सकिनँ ।  त्यो दिन उनको इमोजी साँच्चै रोइरहेछ जस्तो ठानें । धेरैबेर त्यो इमोजी हेरेर बसें । अचम्म लाग्यो अचानक के के भएछ्न् जस्तो लाग्यो । भर्खर विदेश गएकी, आमा गुमाएकी, बाबा भेटेकी, भर्खर जिन्दगी देख्दै गरेकी केटी मैले कल्पना गर्न सक्ने भन्दा बढी पीडामा रहेको महसुस गरें । खै के लेख्ने के नलेख्ने शब्दै भेटिनँ ।

दिनभरि मन खिन्न भयो । सुत्ने बेलामा उनैका कुरा सम्झिरहें । पछिल्लोपल्ट पठाएको इमोजी हेरिरहें ।  त्यो इमोजी अझै रुदैं थियो । मेरो जिन्दगीको कथा लेख्दिनु है भन्थिन् । दिउँसोमा बाँच्नु चाहन्छु लेखेको म्यासेज पढ्दा मेरा आँखा भरिएर आएका थिए ।  त्यो इमोजीको ठाउँमा मलाई बस्न मन लागेको थियो । मैले सब थोक बिर्सेर फेरि एकपल्ट नम्बर माग्ने निर्णय गरें । मैले यो बेला पनि कल नगरे कहिले गर्ने ?  मैले यो प्रश्न कसलाई सोध्ने पनि मेसो पाएको थिइन् । तर पनि हिम्मत हार्नु हुँदैन जानेको थिएँ ।  बुझेको थिएँ ।

मेडमजी  r u there?  मैले म्यासेज गरें । म एउटा पोजिटिभ इनर्जी झल्किने शैलीमा कुरा गर्न चाहान्थें ।  फकाएर घुर्क्याएर अलिकति गाली गरेरै भए पनि नम्बर माग्न चाहान्थें ।  म यदि सही मानेमा उनको खास मान्छे हो र यदि म सही अर्थको आत्मीयता निभाउँदै छु भने म उनको साथमा हुनै पर्छ, चाहे शब्दले मात्रै किन नहोस्  मैले सहयोग गर्नै पर्छ ठानें र अर्को दुई तीन फेर  उस्तै शैलीको म्यासेज गरें ‘मेडम ओ हेल्लो, हेल्लो हेल्लो हजुर’ । केहीबेर सिन भएन । मेडमजी कता गायब हो म त्यहीँ आउन पर्यो बोलाउन लेखेको म्यासेज पछि सिन भयो । उनले हाँसेको इमोजी पठाइन् तर त्यो इमोजी मात्रै हाँसेको थियो । म सजिलै बुझ्न सक्थें । के गर्दै छ्यौ मैले लेखें । यत्तिकै बाबा हस्पिटल जानु भएको छ रिपोर्ट लिएर बाबालाई कुर्दैछु उनले थपिन् । ए ए मैले थपें । काममा जानू भएन उनले थपिन् गाडीमा छु मैले थपें । सुत्नु भएन आज उनले लेखिन् । सुतिनँ नि मैले लेखें । धेरै पहिले कुनै बेला उनको च्याट बक्समा हरेर के लेख्ने के लेख्ने हुन्थ्यो । आज त्यही हुँदै थियो ।  मेरा बुढी औंला मात्र फिटिफिटी गरी रहेथे बेला बेला ।  एक दुई शब्द झुक्किएर लेखिन्थे मेटिन्थे लेखिन्थे मेटिन्थे । मान्छे शब्द बिहीन हुन्छन् भन्थे, अहिले मलाई हुबहु  त्यही भएको छ  । मैले बुझेको थिएँ उनी तनावमा छिन् ।  झिंजो मानेकी छिन्,  विरक्त मानेकी छिन, मैले जे सोधे पनि उनलाई नराम्रो लागेको होला बुझ्दिन पर्ने थियो ।  तर मैले पनि आत्मीयताको धर्म पूरा गर्दिन पर्ने थियो । मानवीय संवेदना देखाउनै पर्ने थियो ।

मेरो प्रमुख लक्ष्य उनलाई सान्त्वना दिनु थियो । नम्बर माग्न खोज्नुको अर्थ म कुनै प्रायोजित भावनामा बहन खोजी रहेको थिइन् ।  यो कुरा उनलाई बुझाउन सक्नु पर्ने थियो ।  मैले निकै हिम्मत निकालें, सबिता नम्बर देऊ न म कल गर्छु लेख्नलाई । तर सकिनँ मैले कर गरेर दिमाग चाटेको जस्तो उनलाई दुखी बनाउन चाहदिन थिएँ । आज पनि नम्बर माग्न सकिनँ ।  आराम गर सबिता तनाव नलेऊ,  म म्यासेज गर्दैगर्छु, मेरो काम गर्ने ठाउँ आइपुग्यो मात्रै लेखें । उनले हस मात्र लेखिन् ।  मैले बाँकी केही लेखिन् । मेरो काम गर्ने ठाउँ आइपुग्न निकै धेरै समय बाँकी थियो । मैले काममा पुगेर see u लेखें । उनले बुढी औंला पठाइन् । मैले केही पठाइनँ ।

मैले अब नम्बर कसरी माग्ने भन्ने मात्रै सोच्न थालेँ । यो चौथो पटक हुँदै थियो नम्बर मागेको अनि चौथो पटक नै हुने थियो दिइनन् भने मैले नम्बर नपाएको । दिउसो काममा हुने हुँदा कहिलेकाहीँ बिजी  हुन्थेँ । कहिलेकाहीँ साह्रै बिजी पनि हुनु पर्थ्यो । म्यासेज गर्न पनि नभ्याउने हुन्थ्यो । उनले बाबा रिपोर्ट लिएर हस्पिटल जानू भएको छ भनेकी थिइन् । मैले कस्तो छ अहिले सोध्ने कुरा भएन । के गर्दै होलिन् यतिबेला ।  एक्लै होलिन् कि कोही साथमा पनि होलान् ।  विदेशमा छिन् मान्छे भए पनि काममा जाने मात्रै धेरै हुन्छन । म यस्तै यस्तै सोची रहन्थें । आफ्नो काम गरी रहन्थें । म्यासेज गर्ने शब्द पनि थिएनन् ।  घरी घरी के गर्दै छ्यौ सोधी रहने कुरा पनि थिएन  । कहिलेकाहीँ मान्छेको सबै भन्दा नजिकको साथी ऊ खुद आफैँ बन्दो रहेछ जस्तै भए पनि आफ्नै समय बन्दो रहेछ । मैले उनी उनकै समयसँग छिन, यति बेला ठानें ।  केही न केही त पक्कै गर्दैछिन जस्तो मानें  । साँझतिर बाबा आउनु भयो लेखेर पठाएँ । उनले आउनु भयो लेखिन् । मैले के रिपोर्ट आयो रे लेखें । उनले एड्मिसन हुने रे लेखिन् । मलाई धेरै कुरा लेख्न मन थियो लेखिन् । ए ए राम्रो कुरा हो नि त समयमा उपचार थालियो भने चाँडो निको हुन्छ लेखें । हिम्मत नहार लेखें । उनले त्यही हिम्मत छ र त बाँच्छु कि भन्ने आश छ लेखिन् । मैले संसारभरिको हिम्मत तिमीलाई आओस लेख्न खोजें तर लेखिन् । कहिले जाने त हस्पिटल लेखें । उनले बाबाले मिलाउँदै हुनुहुन्छ लेखिन् । मैले ए ए लेखें । ल ल हिम्मत नहार केही हुँदैन लेखें ।  मेरो काम सकिन लाग्यो अब लेखें ।  गाडी आउँदै छ लेखें । म कोठामा पुगेर जिम जान्छु अब तीन घण्टापछि आउछु लेखें । उनले हस लेखिन् । मैले त्यत्रो कुरा लेख्न पर्थेंन थाहा थियो कम्तीमा गाडी आयो रुम जान्छु, जिम जान्छु लेख्न पर्थेन थाहा थियो । मैले नलेख्न पर्ने कुरा लेखें ।  लेख्न पर्ने कुरा लेखिन् । मैले नम्बर देऊ न सबिता कल गर्छु लेखिनँ । लेख्नै सकिनँ ।

कोठामा पुगेर फेरि म्यासेज गरें के गर्दैछ्यौ लेखें । बिरामी मान्छे के गर्दी हुन् गर्न त खाना खायौ सोध्ने समय थिएन । कस्तो छ अहिले सोध्ने कुरा भएन । मन र दिमाग समय सापेक्षिक बन्दिने रहेछन् । कहिलेकाहीँ सायद के गर्दैछ्यौ उचित प्रश्न लेखिएको हुने रहेछ । उनले यत्तिकै मोबाइल चलाउँदैछु लेखिन् । मैले ए ए लेखें ।  सायद ट्वीटर होला सोचें तर सोधिनँ । हामी भोलि हस्पिटल जाने रे ! म्यासेज आयो मैले ए ए लेखें । म बाँच्छु नि है उनले लेखिन् । मैले मर्ने बाँच्ने हाम्रो हातका कुरा होइनन् सबिता, जानेकै छ्यौ अलिकति तिम्रो भाग्य अलिकति तिम्रो बाबाको भाइको, हाम्रो मेरो भाग्यमा जे लेख्या छ त्यही हुने हुन्, तिमीले पाएको आयु कसैले लाँदैन,  तिमीसँग नभएको आयु कसैले दिँदैन, हामीले हाम्रो ठाउँमा गर्नु पर्ने कुरा गर्नु पर्यो,  तिमी अस्पताल जाऊ, म पनि  प्रार्थना गर्ने छु, दुई चार दिनमा  ठिक हुनेछ लेखें । सबिता कमजोर हुँदै छिन्, मैले भन्दा पनि मेरो हंसले बुझेको हुनुपर्छ । मैले लेख्छु भनेर त्यत्रो लेखेको थिइन् आफैँ लेखिएछन् । कहिलेकाहीँ जिन्दगीका कुरा आफैँ लेखिने रहेछन् जस्तो लाग्यो । सबिताले केही लेखिनन् । मैले don’t worry लेखें । अब सुत बिहान हस्पिटल जानु पर्छ लेखें ।  गुड लक लेखें । उनले हस लेखिन् । मैले अरू केही लेखिनँ । केही लेख्नै सकिनँ । नम्बर लेऊ न कल गरौं पनि लेख्न सकिनँ ।

बिहान म्यासेज आएको रहेछ, म फर्केर आएँ भने तपाईंलाई एउटा कुरा भन्छु है । मैले हस मात्र लेखें । काममा जाने तयारि गर्न लागें  । बस चढें । बसमा पल्टिन खोजें  सकिनँ ।  ‘म फर्केर आए भनें एउटा कुरा भन्छु है’  लेखिएको म्यासेज सम्झें ।  मोबाइल निकालें ।  मेरो हस लेखिएको म्यासेज सिन भएको रहेछ, खोइ त मैले भनेको ट्वीट आज हस्पिटल जाने हो लेखिएको रहेछ, मैले लेखौंला लेख्दिएँ । म्यासेज तुरुन्तै सिन भयो कहिले ? सोधियो मैले आज लेख्दिएँ ।  उनले हासेंको इमोजी पठाइन् । मैले त्यस्तै इमोजी पठाइदिएँ । हामी दुवैको इमोजी मात्रै हाँसेको हो, उनलाई पनि थाहा थियो अनि मलाई पनि । तिम्रो नम्बर देऊ न मैले लेखें ।  जबाफ आएन । यस्तो बेला पनि मैले कल नगरे कहिले गर्ने त मैले फेरि लेखें । उनले फेरि केही लेखिनन् । मैले यार तिमी त कस्तो जिद्दी, घमन्डी  मान्छे हो लेखें । उनले हो म घमन्डी नै छु अलिअली लेखिन् । तिमीले आफैँ ‘म फर्केर आएँ भने एउटा कुरा भन्छु है’ भनेकी छ्यौ, फर्केर आइनौ भने मलाई जिन्दगीभरि  अपसोच हुँदैन होला ? यतिका समय च्याट गरेको मान्छे, यत्ति नजिकको मान्छे, मलाई ‘हजुर मेरो लागि खास मान्छे हुनुहुन्छ’ भनेको मान्छेसँग एक फेर बोल्न पनि पाइनँ ।  कत्ति ग्लानि होला मलाई सोच त लेखें । उनले म म आउँछु फर्केर लेखिन् । हजुरले आफैँ केही हुँदैन भन्नू भएको होइन ? लेखिन् म आउँछु नि हैन ? लेखिन् । मैले आउँछ्यौ  निश्चय लेखें  । आउँन पर्यो लेखें । एक कल फोन गर्दा चाहिँ कि हुन्छ त लेखें । मैले लेख्न जानेको जात्ति सबै लेखें । तर उनले उनको नम्बर लेखिनन् । तिमी फर्केर आयौ भने त मैले थाहा पाउँला आइनौ भने नि मैले फेरि लेखें  । आइन भनें भाइले कल गर्छन् हजुरलाई उनले लेखिन् । अजीव छ्यौ यार मैले लेखें । अजीवै छु उनले लेखिन् । यार तिमी अस्पताल जाँदैछ्यौ,  तिम्रो उपचार हुँदैछ, यस्तो अवस्थामा पनि कल गर्न नपाउने  म कस्तो खाले खास मान्छे हुँ ?  मैले लेखें । ल अब छोड्नु यो कुरा, मेरो ट्वीट खै उनले लेखिन् । भरेसम्म लेखौंला मैले लेखें । हस उनले लेखिन् । इमोजी पठाइन् त्यही हाँसी रहने इमोजी आयो । मैले चित्त दुखेको अजीव लागेको दिमाग खराब भएको इमोजी खोजेँ भेटिनँ । केही पठाइन्, साँझ एउटा ट्वीट लेखेर पठाइदिएँ ।  केहीबेर पछि ट्वीट पोस्ट भएको देखें ।  मान्छेहरूको rt देखें मेन्सन देखें । उनको रेस्पोन्स देखिनँ । मैले मेरो च्याट बक्स हेरें अघिदेखि हाँसी रहेको उनको इमोजी देखें । नम्बर देखिनँ । कहिलेकाहीँ मनमनै भगवान् सम्झन्छौँ आकाशतिर हेर्छौं निधारमा हात पुर्याएर आफैँआफैँ बर्बराउछौं ।  सायद त्यो मद्दत मागेको भनिन्छ क्यारे । मैले उस्तै गरें दुईफेर चारफेर कति फेर सम्झना भएन ।

सबिता अस्पताल भर्ना भएपछि कुरा हुन छोड्यो । उनको अवस्थाको बारेमा म अनुमान मात्रै लाउन सक्थें । हस्पिटलमा के भई रहेछ ? मलाई बिल्कुल थाहा थिएन । कसैलाई सोध्ने माध्यम पनि थिएन । उनले कसैलाई पनि नभन्नु है भनेकी थिइन् ।  मैले कसैलाई सोध्ने अवस्था नै थिएन । एक दुई जना उनका  साथीहरूलाई थाहा पनि हुँदो हो तर जत्ति मलाई थाहा छ उत्ति नै उनीहरूलाई थाहा होला जस्तो लाग्यो । उनको भाइलाई सोधौंला सोचेथें बेला भएको पनि त छैन कुनै रिजल्ट सोधपुछ गर्ने जस्तो लाग्यो । मैले सोधेर हुनेवाला पनि केही थिएन । जे गर्दै थियो समयले गर्दै थियो म त्यो समय पर्खने सिवाय के नै गर्न सक्थेँ र ? काममा जान्थें आउथें बेला बेला उनको च्याट बक्स नियाल्थें त्यही हाँसिरहेको इमोजी मात्रै हाँसी रहेको देख्थें । कता कता जीवनको एउटा पाटो हाँसी रहेको देख्थें । म आकाशको बाटो भएर उडन चाहान्छु भनेको मान्छे अस्पतालको बिस्तरामा लडिरहेको तस्बिर अनुमान लाउथें । सुरु हुँदै गरेको जिन्दगीको कथा र सुरु हुन सक्ने मृत्युको कथाबीचको भयानक युद्धको परिदृश्य वरिपरि घुमिरहन्थे ।  बेलाबेला यो अजीवको कथा कहानी कसरी बनें म ट्वीटरमा सम्झिरहने नाम बन्न चाहान्छु भन्थिन् । कुनै बेला अरूले सम्झेलान् नसम्झेलान मैले भने बिर्सनै नसक्ने नाम  बनेकी थिइन् उनी । करिब दश दिन पछि मैले म्यासेज गरें उत्तर आउला नआउला, मैले ओ हेल्लो मेडमजी r u there लेखें ।  तत्काल जबाफ आउदैन मलाई थाहै थियो आएन पनि । साँझ बिहान कति बेला इमोजी आएछ चस्मा लगाएको मान्छे मेरो च्याट बक्समा बसिरहेको रहेछ । त्यो इमोजी मलाई म जस्तै लाग्यो । त्यो इमोजी मलाई उनी जस्तै लाग्यो । त्यो इमोजी मलाई समय जस्तै लाग्यो । एउटै इमोजीले एकैपल्ट यति धेरै कुराको आकृतिमा त्यतिबेला मात्रै देखें होला । पहिले पहिले  म हाँस्थें रुन्थें मात्रै ।

म्यासेज सिन भएको देखेर म खुशी थिएँ । खुशी नै भनिन्छ होला त्यो अवस्थालाई । मैले खुशी भनेका अरू केही अवस्थाको पनि अनुभूति गरेको छु । मैले म्यासेज गरेँ कस्तो छ अहिले लेखें । उनले ठिक छु लेखेको म्यासेज पठाइन् । ठिक थिइन् थिइनन् म जान्दिन थिएँ । उनले भनेकै अवस्थाहरूलाई आधार बनाएर अनुमान गर्ने सिबाए मसँग विकल्पै थिएन । बिरामी मान्छेसँग धेरै कुरा गरिरहन उचित ठानिनँ ।  त्यो पनि अस्पतालको बेडमा भएको बिरामीसँग । मोबाइलमा गफ गर्नु कत्ति  उचित मानिनँ । मलाई उनी ठिक छिन भन्ने कुरा नै काफी थियो । बाँकी जे गर्छ अस्पतालले गर्छ डाक्टरले गर्छ । उनको भाग्यको लकिरहरूले गर्दै जान्छ जस्तो लाग्यो ।  get well soon लेखिदिएँ । काममा छु लेखिदिएँ । म जता भए पनि उनलाई केही फरक पर्ने कुरा थिएन । अलिकति गफ गर्ने माहोल बनोस् भनेर त्यति लेखें । आराम गर लेखें ।  यो त्यस्तो अवस्था थियो, मैले लेखेका केही कुराहरूले पनि उनलाई केही फरक नपर्ने वाला थियो ।  न मैले ख्याल गर्नु भनेको भरमा ख्याल हुने थियो न मैले get well soon लेख्दिएको भरमा उनी ठिक हुने वाला थिइनन् । म दैनिक के छ कसो छ सोधिरहन्थें । कम्तीमा ट्चमा हुनु रहनुसम्म मेरो अधीनको समय हो । मलाई थाहा थियो धेरैबेर गफ गरेर बस्दा उनलाई अप्ठ्यारो हुन्छ, पक्कै बुझेको थिएँ ।

कहिले फर्कने घर सोध्थें उनी थाहा छैन भन्थिन् । जीवनमा यो थाहै नहुने कुरा मलाई मात्र हुन्छ होला भनेको अरूलाई पनि हुँदो रहेछ । उनले थाहै नपाई नपाई उनको घर जाने दिन आएछ । मैले थाहा नपाएको उनको नम्बर थाहा पाउने दिन चाहिँ कहिल्यै आएन । फर्किएँ भने एउटा कुरा भन्छु है भन्थिन्, त्यो एउटा कुरा पनि अझै थाहा छैन मलाई यो ब्लग लेख्दै गर्दासम्म,  थाहा छैन । ब्लग लेख्ने अनुमति मैले उनैसँग मागेको हुँ । उनी तयार नभई दिएको भए यो ब्लग लेखिँदैन थियो । अघि बिहानसम्म उनी मसँग थिइन् । म एक दुई प्याराग्राफ लेख्दै उनलाई देखाउँदै गर्दै थिएँ । निकैबेर भयो मैले पछिल्लो प्याराग्राफ कपी गरेर पठाएको सिन भएको छैन । हो यही लाइनको “यो” शब्द लेख्ने बेलासम्म पनि मलाई उनले भन्ने भनेको एउटा कुरा के हो थाहा छैन । जसरी मलाई उनीसँग फोनमा बोल्नको लागि अठ्याउन पर्ने नम्बर अझै थाहा छैन । अस्पतालबाट फर्केर आएपछि हामी अलिक धेरै कुरा गर्न थाल्यौं । उनी ठिक हुँदै थिइन् । म काम गर्दै थिएँ । उनलाई बोर लाग्दो हो ट्वीटर जान्छु भन्थिन् । मैले एक महिना नजाऊ भन्थें ।  अस्ति मलाई सौहार्द शुभेच्छा राख्नेहरूलाई धन्यवाद भन्छु नि भन्थिन् । मैले पछि भन अहिले नजाऊ सिमप्याथी गेन गर्न खोजेको जस्तो देखिन्छ भन्थें ।  मैले एक महिनाको समय भन्थें । उनी पन्ध्र दिन टिक्न सकिनन् । एक्लै समय कटाउन सजिलो पनि त हुँदैन फेरि उनलाई ट्वीटरका मान्छे सार्है मन पर्थ्यो ।

के गर्दै छ्यौ मैले म्यासेज गरें । यत्तिकै उनले म्यासेज गरिन् । म अब ट्वीटर जादिनँ होला अर्को म्यासेज गरिन् ।  मैले किन हो त्यस्तो लेखें । उनले मलाई पुग्यो लेखिन् । मैले ए ए लेखें । अर्काको लागि होइन नि त ट्वीटर जाने लेखें ।  कम्ती जाने गर केही दिन लेखें । तिमी बिरामी छ्यौ, मन थिर छैन, नरमाइलो मान्दै छ्यौ, त्यही भएर सबै कुरा झ्याउ लागेका हुन् बिस्तारै ठिक हुन्छ लेखें । उनले केही लेखिनन् । अनि मेडम कल आएन त किन हो

मैले फेरि लेखें । ल अब चाहिँ नम्बर दिऊँ त हदै भयो लेखें । उनले फेरि केही लेखिनन् । मैले फेरि नम्बर नदिने हो भने म बोल्दिनँ, यता पनि कतै पनि लेखें । नबोले नबोल्नूस् जानूस् तपाईंले पनि छोडेर लेखिन । मलाई अचम्म लाग्यो नबोले नबोल्नूस त ठिकै थियो तपाईंले पनि छोडेर जानूस लेखिन् । कसैसँग झगडा गरिछन् जस्तो लाग्यो ।  तर सोधिनँ ।  म छोडेर जान्थें त ?  तिमीले नम्बर नदिएको एक साल भयो । उही बेला जान्थें होला नि लेखें । कस्तो कस्तो अवस्था आयो मैले नम्बर मागें, मामु बित्नु भयो नम्बर मागें,  तिमी इन्डिया गयौ नम्बर मागे, फर्केर आएपछि भेट्ने भन्यौ नम्बर मागें,  विदेश जाने बेला नम्बर मागें, अस्ति बिरामी भयौ ‘म बाँच्छु  होला नि है’ सोधेको बेला मलाई कस्तो लागेको थियो होला कल्पना गर त ? त्यति हुँदा पनि दिन मानिनौ, अहिले आराम गर्दैछ्यौ दुई चार दिन तनाव नदिऊँ भनेर नम्बर मागेको छैन ।  मैले देऊ त नम्बर म भर्खर कल गर्छु  भन्दा दिँदैनौ भने पनि ठिकै छ  । म जिन्दगीभर तिमीसँग  फोनमा नबोलौंला केही छैन । तर म छोडेर चाहिँ जादिनँ ढुक्कले  बस लेखें । मैले तिम्रो रूप रङ्ग आवाज र अवस्था हेरेर आत्मीयता गासेको होइन लेखें । तिमीले नम्बर नदिएकोमा चित्त चाहिँ दुखेको छ लेख्न मन थियो लेखिनँ । उनले हाँसको इमोजी पठाइन् । रोएको इमोजी पठाइन् । मैले अब छोडेर जाने कुरा चाहिँ नगर है लेखें । उनले हस लेखिन् । मैले हाँसेको इमोजी पठाएँ । उनले पनि हाँसेको इमोजी पठाइन् । मलाई  कस्तो अजीव केटी लाग्यो,  फोनमा बोल्दा मरे जस्तै गर्छे जहिले  पनि लाटी रहिछ क्या हो जस्तो लाग्यो, त्यो लेखिनँ । लेख्ने कुरा पनि थिएन ।

अनि तिमी कहिल्यै फोनमा कुरा गर्न नमान्नुको कारण चाहिँ के हो त ओए ? लाटी त हैनौ होला त यार मैले दुइटा  हाँसेको इमोजी सहितको म्यासेज गरें । म्यासेज सिन भयो तर जबाफ आएन । जबाफ आएन तर झट्का आयो । मलाई झट्का लाग्यो । मैले मजाकमा लाटी त हैनौ होला त लेखेको कुराले मलाई झस्कायो, हुन पनि सक्छ । मैले थाहा पाउन सक्ने कुरै होइन यो । मलाई शंका लाग्यो । शंका होइन म कन्फिडेन्ट भएँ । तर कसलाई सोध्ने मेरो दिमागले काम गर्न छोड्यो । अघि मैले लाटी हौ भने, भन है पनि लेखेथें । तर त्यो म्यासेज सिन भएको थिएन । लाटी नभएको भए किन बोल्दिनौ त ? पनि लेखेथें । सिन हुन बाँकी थियो मैले डिलिट गरिदिएँ । त्यही एउटा अनि तिमी कहिल्यै फोनमा कुरा गर्न नमान्नुको कारण चाहिँ के हो त ओए ? लाटी त हैनौ होला नि त यार ? भन्ने म्यासेज सहितको हाँसेको इमोजी मात्र सिन भएको थियो । त्यो डिलिट गर्ने कुरा थिएन । अब मैले मजाक गरेको जस्तो देखाउन पाँच सातवटा दुईतिर आँखाबाट आँसु निकाल्दै हाँस्ने गरेको इमोजी पठाइदिएँ । मिल्ने भए त्यो इमोजीलाई हाँसेर मजाक थ्यो त्यो भन्दे ल है भन्न हुन्थ्यो । तर मिलेन । मैले केहीबेर केही रेस्पोन्स नगर्ने विचार गरें ।

मलाई त्यो मजाकको शब्दले झक्झक्याइ दिएको थियो । मैले हरेक पटक फोन नम्बर माग्दा पाउने गरेका बाहानाहरू सम्झिन थालें । मामु बितेर जाने बेलामा मानिस मृत्युको संवेदनामा हुन्छन् । मैले त्यो संवेदनाको भावनामा टेकेर बोल्न खोजें ।  इग्नोर गरियो । मैले शंका गर्ने ठाउँ पनि देखिन । इन्डियाबाट फर्केर भेट्ने कुरा भयो उनले सिधै चितवन आउँछु भनिन् । म विदेश नभएको भए त्यही बेला भेटिने पक्का थियो । मैले म विदेश छु भनें । उनी चितवन आइनन्, नम्बर मागें दिइनन्, मैले शंका मान्नु पर्ने ठाउँ थियो पनि थिएन पनि । उनी विदेश जाने भइन् नम्बर मागें । झोला बोकेर परदेश हिंडेको मान्छे एयरपोर्ट पुगेपछि कस्तो हुन्छ मलाई अनुभव छ । मैले त्यो अनुभवमा टेकेर कल गर्न खोजें फेरि पनि इग्नोर भयो । मैके शंका गर्ने ठाउँ थिए पनि थिएन पनि । अनि  जति बेला उनी आफैँले म अस्पतालबाट फर्केर आउँदिनँ होला भन्थिन् ।  ‘म बाच्छु कि नाई भन्नू त’ सोधेकी थिइन् । मैले कल गरेर  तिमी बाँच्छ्यौ सबिता बाँच्नु पर्छ भन्न खोजेको बेला नम्बर पाइनँ ।  त्यति बेलै शंका गर्नु पर्ने प्रशस्त ठाउँ थिए । तर पनि मैले सधैं संयोग मात्रै ठानिरहें । मेरो संयोग र ठम्याइप्रति मैले जतिपल्ट सबितसँग माफी मागें पनि कम्ती हुनेछ ।

सबैभन्दा पहिले मैले मेरो भ्रम र कन्फिडेन्ट तोड्नु थियो । सबितालाई मजाकमा भनेको कुरा मजाक नै भइदियोस्  म चाहान्थें तर त्यो मजाक होइन रहेछ भने के गर्ने ? त्यो पनि ख्याल गर्नु पर्ने थियो ।  मैले कसलाई सम्पर्क गर्ने मेरो दिमागले कामै गरेको थिएन । मैले बिनितालाई सम्झें । सायद बिनितालाई थाहा हुन सक्छ अनि मलाई नभनेकी हुन सक्छिन् । मैले बिनितालाई सम्पर्क गरें तर सिधै सोध्ने हिम्मतै आएन । बिनितासँग अरू अरू कुरा गर्न थालें । यसो उसो घर परिवार यता उता कुरा गर्दागर्दै  ‘ए  बिनिता ! साच्चैं सबिता विदेश जाने बेला तिमीलाई भेट्छु भन्थिन् नि भेटिन् कि नाई’ भनेर सोधें । उनले नाई झापाबाट फर्केर आउँछु अनि भेट्छु भन्थिन् तर भेटिनन् ।  किन अहिले तिमी यो कुरा  सोधिरहेका छौ ?

कुरा टार्दै उनलाई भनें, मैले यतिकै सोधेको कल गर्छु तिमीलाई  भेट्छु भन्थिन् मलाई अझै कल आएको छैन । तिमीलाई पनि भेटेकी रहिनछिन् है, कस्ती रहिछिन् पनि भनें । बिनिताबाट थाहा नभए पछि मैले उनको भाइलाई सम्झें तर सोध्ने पो कसरी !

मैले भाइलाई म्यासेज गरें । सिधै भाइ म एउटा कुरा सोध्छु झुट नबोली भन ल ‍ … अनि मैले सोधेको कुरा कसैलाई पनि नभन है प्लिज लेखेर छोडें ।  भाइले केहीबेरमै  जबाफ फर्काए, सोध्नुस न दाइ के कुरा हो लेखे । मैले, पहिला कसम खाउ झुट बोल्दिनँ भनेर अनि कसम खाऊ मैले सोधपुछ गरेको थियो कसैलाई भन्दिनँ भनेर लेखें । भाइले यतिकै कसरी कसम खानु त दाइ लेखे । मैले कुरै त्यस्तो छ भाइ लेखें । उनले हस लेखे मैले प्रश्न लेखे भाइ …. ह्यान्डल भएको सबिता is she a dumb !! भाइले हजुर ? मात्र लेखे । मैले तिम्रो दिदी बोल्न सक्दिनन् हो र भाइ लेखें । उनले, दाइ ! दिदीले कसैलाई नभन भनेर कसम दिनु भएको  थियो । मैले तपाईंलाई भनेको छैन लेखेको मात्र छु, दिदीको कसम तोडें जस्तो हुँदैन होला लेखे । मैले, मलाई थाहा भयो दिदीलाई नभन लेखें ।  हजारौं पटक सोध्न सक्छिन् हजारौं पटक होइन भन लेखें । उनले हुन्छ दाइ लेखे । मैले दिदीलाई माया गर भाइ कसैले दयाको पात्र नबनाउन हेक्का राख लेखें । उनले हुन्छ दाइ लेखे । भाइलाई मैले यो ब्लग लेख्दैछु पनि थाहा  छैन सबितालाई । मलाई भन्ने मान्छे भाइ हुन् यतिबेलासम्म थाहै छैन  उनलाई । मैले एकपल्ट भाइसँग माफी माग्नु पर्छ । मैले, दिदीलाई थाहा नदेऊ ल भनेको थिएँ तर त्यसो हुन सकेन । sorry  भाइ ।

मैले मजाकमा लेखेको कुरा सबिताले पढिसकेकी  थिइन् । दुइटा रोएको इमोजी छोडेकी रहेछिन् । मैले कुनै पनि हालतमा यो कुराको रहस्यबारे उनलाई थाहा दिनु हुँदैन थियो । मैले हाँसेको इमोजी पहिल्यै पठाएको थिएँ यो पल्ट कता हो मेडम लेखेर पठाएँ उनले यतै छु लेखिन् । के गर्दैछ्यौ लेखें । उनले केही नाई लेखिन् । मलाई धेरै कुरा लेख्न मन थियो तर केही लेख्न सकिनँ । उनले म अब ट्वीटर आउदिनँ,  फेरि लेखिन् । मैले किन फेरि सोधें । उनले मन मर्यो फेरि लेखिन् । मैले हुन्छ कहिलेकाहीँ  लेखें, तिमीले नम्बर नदिएको बेला मलाई पनि त्यस्तै लागेको थियो लेखें । उनले आजभोलि लाग्दैन ? लेखिन् । मैले लाग्दैन लेखें । आजभोलि म सङ्ग फोनमा बोल्न मन लाग्दैन ? लेखिन् । मलाई त्यो प्रश्नले चस्स बिझायो । उनलाई शंका नहोस् भनेर नम्बर दिए त भर्खर कल गर्थें दिंदैनौं लेखें । अब आफैँ कल गर म त थाकिसकें, नम्बर माग्दा माग्दा लेखें । उनले हस लेखिन् । मैले नम्बर सेभ गर्यौ होला  नि ? लेखें । उनले स्क्रिनशट पठाइन् । मैले मुस्कान पठाइदिएँ । सबितासँगको सङ्गतले होला आज भोलि मेरो इमोजीले पनि झुट इशारा दिन थालेछ जस्तो लाग्यो । सबितासँग  गफ गर्दागर्दै मैले यी भावनाहरू समेटिएको ट्वीट पोस्ट गरें । सबिताले पर्फेक्ट जबाफ फर्काइन् तर ट्वीटमा नलेखी म्यासेज गरिन् ।  मैले प्रसङ्ग मिलेन भन्दिएँ । मलाई कता कता सबिताले शङ्का गरिसकिन् जस्तो मानें तर भनिनँ लेखिनँ ।

म यहाँ पनि आउँदिनँ भोलिबाट आजै अन्तिम दिन सम्झनूस उनको म्यासेज आयो । मैले उनलाई शंका मात्र हैन डर पनि लाग्न थालेको महसुस गर्ने थालें । आज किन निकै धेरै कुरा गर्दै हुनुहुन्छ काममा जानु भएको छैन ?  लेखिन् । मैले यो पनि कामै त हो लेखिदिएँ । म लगभग पक्का जस्तै भएँ । सबितालाई मैले थाहा पाएँ भन्ने डरले र अपठ्यरोपनले असर देखाउन थाल्यो, भन्ने कुरा उनका प्रश्नहरुबाट देखिन थाल्यो । मैले इग्नोर गर्न पर्ने कुराहरू इग्नोर गर्थें तर उनी तिनै प्रश्नहरू दोहोर्याइ रहन्थिन् । मसँग फोनमा बोल्नु हुँदैन । मैले बोलेको बुझ्नु त हुन्छ तपाइलें ? तपाई पनि अब मसँग टाढिने त होला ? यस्तै यस्तै सोधी रहन्थिन् ।  म उनका हरेक प्रश्नहरूको उत्तर निकै सोचेर पठाउने गर्थें । मलाई के लेख्ने यस्तो बेला न त समयले कहिल्यै सिकायो न कतै अनुभव नै भयो, म खाली इग्नोर मात्र गरिरहन्थें ।  उनले अब यता पनि आउँदिनँ उता पनि जाँदिनँ लेखेको म्यासेज पढ्दा चिसो भएर आयो, नमज्जा लाग्यो के के लाग्यो, म लेख्नै सक्दिनँ । कहिलेकाहीँ समयले केही लेख्न नसक्ने बनाइ दिन्छ मलाई थाहा थियो । सबितालाई पनि थाहा भएछ विचरा ! उनले लेख्नै छोडिन्  । म्यासेज आउनै बन्द भए ।

म कुनै पनि हालतमा सबितासँगको आत्मीयता गुमाउन चाहनन्थें र चाहने छैन । तर यो कुरा सबिताले बुझ्नु जरुरी  थियो  र सधैं जरुरी रहनु पर्छ । मैले सबितालालाई म्यासेज गरें, के गर्दछ्यौ सबिता लेखँ । केहीबेरमै रिप्लाई आयो उनले  यत्तिकै लेखिन् । मैले ट्वीट गर्यौ आज लेखें । उनले छैन गर्दिनँ लेखिन् । मैले ए ए मात्रै लेखें । तिमीले मलाई मेरो जिन्दगीको कथा लेख्दिनु पर्छ भनेको याद छ लेखें । उनले याद छ लेखिन् । सुरु गर्ने त ? लेखें । उनले हाँसेको इमोजी पठाइन् । मलाई सबिता साँच्चै खुसी भइन् जस्तो लाग्यो । म चाहन्थें सबिताले आफ्नो बोल्न नसक्ने अवस्थाको बारेमा आफैँ मलाई भनून । मैले तिम्रो कहानी सुनें भने पो लेखिएला । कतै कुनै दिन सुन्दै नसुनी । अनुमानको भरमा अनुमान मात्रै लेख्ने हो । सबिता जिन्दगी लेखिँदैन विचार गर आफैँ लेखें ।

उनले आफ्नो जिन्दगीको कथा लेख्न थालिन् घर परिवार स्कुल पढाइ अनि त्यो भयानक दिन । जुन दिनबाट उनको आवाज गुम्यो । सप्पै लेख्दै गइन् । कति कुराहरू चस्स बिज्ने पनि लेखिन् । कति कुराहरू मलाई थाहा भएकै कुरा लेखिन् । म पढ्दै जान्थें उनी लेख्दै जान्थिन् ।  म वास्तवमा  सबिताको डर हटाउन चाहान्थें । अनि चाहन्छु जुन कारणले सबिता हामीसँग टाढिन चाहन्छिन् । मैले त्यो कुरा उनकै शब्दमा पढिसकेको थिएँ । मैले पहिल्यै थाहा पाइसकेको कुरा पनि सबिताले लेखिन् । मैले नथापाएको जस्तै गरेको कुरा, थाहा पाएको कुरा पनि लेखिन् । मलाई भिडियो कल गर्न मन थियो उनी अझै मान्दै छैनन् । मैले सम्झाउने प्रयास पनि गरें तर उनको मनले मान्दै मानेन । मैले जबरजस्ती गरिन् । उनले मलाई यो ब्लग लेख्ने अनुमति दिइन् । मेरा लागि यही काफी थियो ।

म तिमीप्रति सदैव आभारी रहने छु सबिता । तिमीले आफ्नो नामै लेख्दा पनि फरक पर्दैन भनेकी हौ । तर मलाई तिम्रो नाम, थर, आवाज र हैसियतसँग केही लिनु दिनु थिएन । छैन पनि । यी सब कुराहरूले मलाई केही फरकै पर्थेन र पर्ने छैन । बस्, यति ख्याल गर्नु, यो आत्मीयता कहिल्यै नमरोस् । तिमीले अघि बिहान मात्र यो ब्लग जिन्दगीभरि पढने छु भनेकी थियौ । जिन्दगीभर पढ्न सकिने जस्तै बन्यो बनेन त म जान्दिनँ । कम्तीमा तिमीलाई सम्झेका बेला पढ्ने जति चाहिँ लेख्ने प्रयास गरेको छु ।  हाम्रो संयोगको कथा तिम्रो इजाजत लिएर उतारेको छु ।