त्यो पारि देखिने सेतो मकालु हिमाल जस्तै अग्ला छन्, सुगमका रहरहरू पनि । उसले अहिलेसम्म मकालु छुन सकेको होइन । उसलाई त्यो सेतो हिमाल छुनु र आफ्ना रहरहरू पूरा हुनु अधुरा सपना जस्तै लाग्छ । तैपनि, उसको हृदयमा बलियो हिम्मतले जरो गाडेको छ । ऊ यसै पनि कमजोर मनको त कहाँ हो र !

सुगमका बाबु–बाजे कहिले खाँदबारी आए, उसलाई उति हेक्का छैन । सायद, सयौं वर्षअघि झरेको हुनुपर्छ । ऊ खाँदबारीमै जन्म्यो । यहीँ हुक्र्यो र डोकाभरि सपनाहरू बोक्न सक्ने भयो ।

उसलाई लाग्छ, सपना देख्नका लागि मात्र कहाँ हो र ! पूरा गर्नुपर्छ, पूरा गर्ने सामथ्र्य चाहिन्छ ।

सुगमले खाँदबारीबाटै आइकमसम्मको पढाई सक्यो । उसलाई अझ माथि पढ्ने इच्छा छ । यो इच्छा तबमात्र पूरा हुन्थ्यो जब ऊ धरान, विराटनगर वा काठमाडौं सहर पुग्न सक्थ्यो । बा–आमाको इच्छा थियो उ गाउँमै सानोतिनो जागिर खाओस् र ओरालो झरिरहेको उमेरको सहारा बनोस् ।

अदृश्य सपना जस्तै उसले पढ्न जान टाढाको सहर रोज्यो– धरान, विराटनगरभन्दा धेरै पर–काठमाडौं । एक दिन बा–आमालाई आकाश छुने सपना देखायो । उनीहरू छोराका सपनामा अल्मलिए । उसले काठमाडौं जाने ढोका खुलेको अनुभूति ग¥यो । एक दिन ऊ सपनाका गुन्टा बोकेर काठमाडौं उक्लिने भयो, जसरी अघिल्लो वर्ष उसका दाइ उमेरका केटाहरू हिँडेका थिए ।

कोही तुम्लिङटार एयरपोर्टबाट लाम्चो खालको सानो विमान चढेर उडेका थिए, त कोही नाइटबस चढेर फुर्किँदै गुडेका देखिन्थे । आज यही चित्र दिमागमा टाँसेर सुगम पनि नाइट बस चढेको छ ।

मिरमिरेका तारा टिम्टिमाउन बाँकी छँदै उसको नाइट बसका ठूला पांग्राले काठमाडौं भुइँ टेक्यो । सुगमले बसको सिसाबाटै आँखा च्यातेर हे¥यो– साँच्चै यमानको देख्यो, यो भूमि । अनन्त क्षितिजजस्तै लाग्यो काठमाडौं ।

उसले यसअघि कहिल्यै नदेखेको काठमाडौं । उसलाई लागेको थियो, खाँदबारीमा हाट लाग्ने चौरभन्दा अलि ठूलो होला काठमाडौं । त्यो भन्दा पनि ठूलो भए खाँदबारी जत्तिकै । ऊ केही दिन यही वातावरणमा रगमगियो ।

सुगमले गम्यो– खाँदबारीमा त कृषि उपजको हाट लाग्थ्यो । गाउँको अर्गानिक उत्पादन किन्न मान्छे परपरबाट आउँथे । पारि चैनपुरबाट समेत खाँदबारीमा हाट भर्नेहरू बाक्लै आउँथे । तर, काठमाडौंमा त मान्छेको हाट लाग्दो रहेछ । यहाँ त बेच्ने चिजविजहरु प्नि फरक हुँदा रहेछन् ।

सुगम खाँदबारी बजारबासी हो तर उसलाई आफू विकट दुर्गम गाउँबाट आएझैँ लागेको छ । किनकि, काठमाडौं खाँदबारी भन्दा धेरै भिन्न छ, यहाँको भुइँ, मान्छेहरूको व्यवहार, लवज, वातावरण सबै सबै । उसको नामसँग मिल्दो छैन यो भूगोल ।

टि.एन. आचार्य

नुम, पाङ्मा, कुवापानी, बलुथान, चिचिला भन्दा उसको खाँदबारी धेरै सुगम हो । बाटोघाटो, बिजुली, पानी यी सबै हेर्दा ती गाउँको तुलनामा खाँदबारीलाई स्वर्ग भने पनि हुन्छ । यही भएर उसले ८ कक्षाको जिल्लास्तरीय परीक्षा दिँदा बा–आमाले राखिदिएको शिवराज मेटेर आफ्नो नाम सुगम लेखाएको थियो । तर, काठमाडौंमा उसको नामले सार्थकता पाइरहेको छैन । यसबाट ऊ निकै खिन्न भएको छ ।
सोचेर एकछिन ऊ झसङ्ग भयो । मान्छेहरूको हाट हेर्दै र दिमागमा कुरा खेलाउँदैमा एक हप्ता बितेको पत्तो भएन । कहाँ कुन क्याम्पस पढ्ने भन्नेमा उसले निक्र्योल गर्नै सकेको थिएन ।

एक दिन सुगमले गाउँले काकालाई भेट्यो । उनैले कमर्श पढ्न सुझाए । अनि ऊ मिनभवनस्थित नेपाल कमर्श क्याम्पसमा भर्ना भएको थियो ।

ऊ काठमाडौं आउँदै गर्दा कोचीकोची सपना बोकेर आएको हो । तर, यहाँ उसका सपनाका रङहरू फिकाफिका हुन थालेका छन् । आफूलाई यहाँको जैवनशैलीसँग दाँजेर उभ्याउन धौ–धौ भइरहेको छ । जता हे¥यो उतै चुनौतीका चाङमात्र देख्छ, उसले ।

कता–कता अवसरको दियो बलेको पनि देख्छ । अनि, घरी–घरी उसका आँखा तेजिला र जोसिला हुन्छन्, केही खोजिरहे झैँ । लाग्छ– अवसर भन्ने वस्तु हिँड्दा–हिँड्दै आँखा अगाडि फुत्त प्रकट भए पनि हुने ।

क्याम्पसको पहिलो दिन । हतारिँदै आउँदा क्याम्पस गेटमै ऊ चम्किलो रङको कुर्ता–सुरुवालधारी केटीसँग ठोक्कियो । ऊ भित्र जाने र केटी बाहिर आउने विपरित गन्तव्य । दुवै एकछिन अक्क न बक्क । रमिता बनिने डरले दुवैको अनुहारमा रातो पोतियो । अनि, आ–आफ्नो बाटो समाते ।

केटी के–के बोल्दै गई, सुगमले बुझेन । निकै पछि उसले थाहा पायो, त्यो केटीको नाम सुरेखा रहेछ । उसले बोलेको भाषा नेवारी रहेछ । दिमागमा सुरेखाको मुखाकृतिको फोटो टाँसेर ऊ दैनिकीतिर अल्मलियो । उसले आफूलाई यो सहरको एउटा भरिया ठान्दै दिनचर्या सामान्य बनाउने प्रयास गर्यो ।

सुगमले पहिलो वर्ष पढाइबाहेक अरू सोचेन । बा–आमाको अनुहार सम्झिने बित्तिकै बैंशालु रहरका पालुवा समेत उखेलेर फाल्थ्यो । उसका साथी–संगाती पढाइकै मात्र भए । चेस तथा चेकर खेल्ने, पुस्तकालय गएर पत्रपत्रिका तथा साहित्यिक पुस्तक पढ्ने लयमै उसका वर्षदिन सकिए ।

उसले पहिलो वर्षको जाँच दियो । रिजल्ट आयो । ऊ राम्रै नम्बर ल्याएर पास भएछ, उत्कृष्ट १० मध्ये । अरू विषयमा मध्यम खालको नम्बर आए पनि लेखामा उसले सबैलाई उछिनेछ ।

सुरेखा कक्षामा पहिलो भइछ । यसै राम्री ऊ, उत्कृष्ट नम्बर ल्याएपछि केटाहरूको नजरमा पर्ने नै भई । अब केटाहरू भमरा हुन थाले सुरेखा फूल ।

एकदिन सुरेखा सुगमको बेन्चमा आई । लेखाको एउटा समस्या तेस्र्याई । सुगमले समाधान गरिदियो । ऊ धन्यवाद भनेर गई । मानौं, ऊ हावा झैँ आई र त्यसरी नै हराई । यता सुगमको दिमागमा टिनटिन घन्टी बज्यो– के समस्या थियो ? के उत्तर दियो ? उसले के लिएर गई ?

बेलुकी कोठामा आएर सुगमले निकैबेर सोच्यो । उसको सोचाइका तरङ्ग सिलिङ पंखा झैँ फन्फन्ती घुमिरहे तर निक्र्योल निकाल्न सकेन, सुरेखाको समस्या के थियो ?

स्टोभमा बसालेको भात डढेको उसलाई पत्तो भएन । कुकरबाट नमीठो गन्ध आएपछि मात्र होस खुल्यो । सुगमले यसरी नै आज दाल पनि डढायो । आखिर, डढेको भातमा दाल खन्याएर उसले पेटको आगो निभायो र ओछ्यानमा गुडुल्कियो ।

जब कक्षामा लेखाको घन्टी सुरु हुन्थ्यो तब सुगमको दिमागमा उल्टो घन्टी बज्थ्यो । उता क्याम्पसभरि उसलाई ‘सुसु’ भनेर जिस्क्याउनेहरू बढ्न थाले । यो सुसु नबुझेर उसको दिमागका तारहरू तात्न थाले । चार दिनपछि मात्र उसले बुझ्यो– सुगम र सुरेखालाई ‘सुसु’ भनिएको रहेछ ।

यति हुँदासम्म भेउ पाएकै होइन– उसले सुरेखाको प्रश्नको के उत्तर दियो !

कहिलेकाहीँ सुरेखा बत्तिदै आउँथी । नबुझेको सोध्थी र फरक्क फर्केर जान्थी । यो क्रम कहिले बाक्लिन्थ्यो त कहिले पातलिन्थ्यो, चैते हुरी जस्तै ।

यता, सुगमले कोठामा दालभात डढाउने काम भने कम ग¥यो ।

गाउँ–सहरको भिन्नता एवम् पढाईको स्तर जस्ता कुरा केलाउँदा सुगमले आफूलाई सधैं सुरेखा भन्दा होचो पायो । ऊ र सुरेखाबीच यही मानसिकता मुख्य तगारो बनेर ठिंग उभिइरह्यो ।

कहिले राजनीति त कहिले के बाहनामा क्याम्पसमा विद्यार्थी आन्दोलन चर्किन थाल्यो । हड्ताल, नारा–जुलुसका संख्या बढ्दै गए । दैनिक पढ्ने÷पढाइने कक्षाहरू घट्दै गए । उता लेखा विषय र सुरेखाको आउजाउको गति पनि मत्थर हुँदै गयो; जसरी मैदानमा पुगेपछि नदीहरू चुपचाप बगिरहेका हुन्छन् ।

एक दिन आन्दोलनको घानमा ओइरिएका विद्यार्थीहरूको जुलस देखेर सुगम चकित खायो– त्यहाँ अग्रपंक्तिमा सुरेखा थिई । ऊ झन्डा उठाई–उठाई चर्को स्वरमा नारा लाइरहेकी थिई । यो दृष्यले उसलाई अवाक बनायो ।
सुगमको दिमागमा आँधी चल्यो । यो आँधीले उडाउला भन्ने अव्यक्त डरले हातमा समाइरहेको चियाको कप जोडसँग अँठ्यायो र अर्कोतिर फर्केर ओठ टोक्दै गुनगुनायो– थुक्क सुगमे ! तँ न पढाईमा अब्बल भइस्, न राजनीतिमा । खाली दालभात डढाएरै तेरा दिन बित्ने भए ।

राजनीतिले पढाई बिगार्छ भनेर उसले कहिल्यै त्यता ध्यान दिएन ।

अचानक एउटा घोचो जस्तो वस्तु उसको दिमागमा प्रश्न बनेर स्वात्त छि¥यो । त्यो दिन दुईगुना रात चौगुना बढ्दै गयो । अनि सुगमले आफूलाई त्यो प्रश्नको अगाडि लिलिपुट जस्तै निकै होचो पायो ।

सानैमा उसले हजुरआमाले सुनाएको दन्त्यकथा सम्झ्यो– कलियुगको अन्त्यतिर मानिसहरू निकै साना हुन्छन् । खुर्सानी टिप्न पनि बोटमा चढ्नुपर्छ रे ! उसले आफूलाई त्यही कलियुग अन्त्यतिरको पुड्के मानिसको रुपमा देख्यो र दिनभरि घोरिइरह्यो ।

आज सुगम कुन होसले कोठामा फक्र्यो ? के पकायो वा के खायो ? त्यसको केही हेक्का रहेन । पातलो मण्डीले टाउको र मुख छोपेर घुम्लुक्क सुत्यो, एउटा अस्तित्वविहीन मान्छे जस्तै ।

बिहान उठेर मगमा भरीराखेको पानी ठाडो घाँटी लाएर पियो । र, थचक्क भुइँमा बस्यो । उसको दिमाग अझै तातिरहेकै थियो । अघि पिएको एक मग पानी दिमागको भुङ्ग्रोमा झ्वाइँ परेर कहाँ सुक्यो पत्तो पाएन ।

एकैछिनमा ज्वालामुखी विष्फोट भएझैँ सुगम उठ्यो । मानौं, उसको टाउकोमा उम्लिरहेको लाभाले खपिनसक्नु बनाएको छ ।

ऊ मनमनै चिच्यायो, ‘अब पुरानो सुगम म¥यो । नयाँ जन्मियो ।’

आज नयाँ सुगमले खाना नडढाई पकायो । खाएर क्याम्पस गयो । पहिलो पिरियड पढिरहँदा बाहिर कल्याङमल्याङ सुनियो । आन्दोलनको हल्लाले विद्यार्थीहरू ज¥याकजुरुक उठेर निस्के । केहीबेरमा क्याम्पसको चौर भाषण गर्ने अखडामा परिणत भयो ।

अगाडि सरेर पहिला सुरेखाले भाषण गर्न थाली । त्यसपछि, अरू अरू …

त्यहाँ चुल्ठे, मुन्द्रे, कुण्डले केटाहरूको समेत लर्को थियो । उनीहरूको एउटै ध्येय भाषण बिथोल्नु रहेकोले क्षणभरमै त्यहाँ तानातान र हानाहान भयो, सबैको भागाभाग । बिपक्षी खेमा ठानिएका कुण्डलेहरूले सुरेखालाई कुट्न थाले ।

यो दृश्यले सुगमको रगत उम्लिन थाल्यो । उसले एक्कासी एक जना कुण्डलेलाई बाघले झैँ झम्ट्यो । उसको टाउको भित्तामा बजार्दै चिच्यायो– साला गुण्डा ! सुरेखालाई भन्दा पहिला मलाई कुट्, मार् । उता सुरेखा रगताम्य भइसकेकी थिई ।

सुगम घाइते सुरेखालाई बोकेर कुद्न थाल्यो; फिलिमको हिरोले हिरोनीलाई बोकेर दौडे झैँ सडक किनारै किनार । ऊ बतासलाई उछिनुला झैँ गरिरहेको थियो । निकै पर पुगेर एउटा घरको बलेसीमा सुरेखालाई सुतायो ।

सुरेखाले मुख खोली– तिमीभित्र यत्रो बिघ्न साहस कसरी पलायो ? कहिल्यै राम्रोसँग नबोल्ने तिमी अन्तरमुखी जस्तो लाग्थ्यो । तिमीमा त नेता हुने गुण रैछ, सुगम !

यतिकैमा उनीहरू सामु एउटा मोटरसाइकल आयो । त्यसमा सुरेखा चढी । त्यो बत्तिँदै सडकमा बिलायो । मोटरसाइकलमा बत्तिने रुद्र सर थिए ।

सुगम ठिंग उभिएको उभियै थियो । उ गमक्क प¥यो । उसले आफ्नो उचाई नाप्यो, त्यो हलक्क बढेको पायो । खासमा, गाउँले राजनीतिमा पनि उसको चासो नभएको होइन । यद्यपि, भविष्यको भारी बोकेर सहर झरेको हुँदा त्यो रुचि टिकाइरहन गाह्रो थियो । आवश्यकताको पुच्छर समात्नुपर्ने बाध्यताले घिसारिरहेको थियो ।

काठमाण्डौमा पनि उसको सोच बदलिन सकेको थिएन । अब भने विस्तारै उसको मानसिकतामा ऋतु परिवर्तन भए झैँ बदलिन थाल्यो ।

समयक्रममा सुरेखासँगको उसको मित्रता निकट हुन थाल्यो । सुरुमा गाउँले जीवनप्रति चासो नराख्ने उसले त्यतातिर ध्यान दिन थाली । उसका जिज्ञासा हुन्थे; गाउँको राजनीतिक आयाम, लवाई–खवाई, आचरण, गाउँलेका आकांक्षा, व्यक्तित्वको सामञ्जस्यता यस्तै यस्तै …

सुगम घरीघरी बुझ्दैनथ्यो, सुरेखाले सुझाव दिएकी हो वा आलोचना गरेकी । उसलाई आकांक्षा र व्यक्तित्वबारे अन्तज्र्ञान भएझैँ भयो । आफैंलाई त्यसको प्रतिनिधि पात्रको रूपमा उभ्यायो । सोच्दा–सोच्दै कहिलेकाहीँ ऊ निष्कर्षविहीन हुँदै डेरा फर्किन्थ्यो ।

अन्तिम परीक्षा नजिकिँदै थियो । परीक्षाको समयमा भेट हुने सम्भावना कम । के थाहा, परीक्षा वा रिजल्टपछि भेट हुन्थ्यो/हुँदैनथ्यो । परीक्षा अगाडि अन्तिम कक्षाको दिन उसले आफ्नो रहलपहल साहस बटुल्यो र सुरेखालाई केही नभनी नछोड्ने दृढ निश्चय गर्यो ।

कक्षा पस्नु अघि उसले सुरेखालाई पुस्तकालय जाने बाटोमै भेट्यो ।

सुरेखाले सोधी, ‘परीक्षाको तयारी कस्तो छ त ?’

सुगम एक्कासी झस्कियो । उसका ओठ केही चल्मलाए मात्र, ‘राम्रै ।’

‘तिमीसँग एउटा कुरा गर्नु थियो ।’

उसले कुराको उझिण्डो समात्यो । यति भनिसक्दा सुगमको मुटुको धड्कन पुरानो राजदूत मोटरसाइकल स्टार्ट हुँदा जस्तै भइसकेको थियो ।

चलाख सुरेखाले तुरुन्तै जवाफ फर्काई, ‘परीक्षा भन्दा महत्वपूर्ण छ भने भनिहालौँ, नत्र पछि ल !’

उसको कुरा र परीक्षा कुन महत्वपूर्ण ? सुगमको दिमागले जोखेर फ्याट्टै जवाफ दिन सकेन । केवल दिमागमा धमिलो तराजुको आकृति कोरियो मात्र ।

सुरेखाले आदेशात्मक शैलीमा ओठ चलाई, ‘प्रिय सुगम, अहिले परीक्षा भन्दा अर्को महत्वपूर्ण कुरा हुँदैन । परीक्षा सकेर फुर्सदले गरौँला हुन्न ?’

परीक्षा सकिएको अन्तिम दिन, सुगमले सुरेखालाई जसरी पनि भेट्नु थियो । भेट्ने उत्कट चाहनाको भारी मनको बिसाउनीमा बिसाएर ऊ गेटतिरै टहलियो । समय घर्किँदै गयो तर सुरेखा आएकी होइन । सुगमको नियतको सुइको पाएर ऊ अघि अर्कै बाटो लागि वा परीक्षा नै पो छोडिदिई कि ! उसले शंकामा लंका जलाइरह्यो ।

यतिकैमा पुस्तकालयको ढोकाबाट सुरेखा फुत्त निस्की । सुगमको अघिको कु–सोचाइ कुलेमल ठोक्यो ।
सुरखाले देख्ने गरी केही पढिरहे जस्तो स्वाङ पारेर सुगमले नोटबुकका पाना पल्टाइरह्यो । सुरेखा नजिकै आई । एकाएक देखे झैँ गरी उसले सोध्यो, ‘परीक्षा कस्तो भयो ?’

सुरेखाले छोटो प्रतिउत्तर फर्काई, ‘सन्तोषजनक । तिम्रो ?’

ऊ मुस्कुरायो मात्र । मुस्कानभित्र सुरेखाले जवाफ पाई कि पाइन उसले भेउ पाएन ।

तत्क्षण, हुन्हुनाउँदै एउटा मोटरसाइकल आएर रोकियो । सुरेखा त्यसैमा थपक्क बसी ।

उसले सांकेतिक भाषा बोली, ‘मेरो बाबा क्या, अहिले कुरा गर्न पाइएन । रिजल्ट निस्केको भोलिपल्ट दिउँसो क्याम्पसमै भेटौँला ल ।

सुगम वाल्ल पर्यो । धन्न मुन्टो हल्लाउन सक्यो । एकाएक उसको मुटु दुख्यो । कसैले चुडेर लगे जस्तै अनुभूति भयो, उसलाई ।

कुराइको सीमा थाहा पाएपछि धै¥यता पनि परीक्षा जस्तै हुने रहेछ, आशातित परिणामको कल्पना मात्रले पनि धैर्यतामा एउटा सुखानुभूति कल्पिन सकिने । रिजल्टको मिति र त्यसको भोलि त पक्का आउँथ्यो । यसबीचमा सुगमले खाली र भरी हुनुको फरक तुलना ग¥यो । ऊ भरी र शान्त रह्यो ।

सुगम बस्ने शंखमुलको डेरा नजिकै एउटा चिया पसल थियो । त्यहाँ राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, बजारशास्त्र, भोकशास्त्रदेखि कोकशास्त्रसम्मका गफ हुन्थे । गफले अन्तरिक्षदेखि महासागर र लेनिन, माओत्सेतुङ्ग, होचि मिन्हदेखि फिडेल क्यास्ट्रो हुँदै महात्मा गान्धीसम्मका समय चुम्छन् । यस खाले दर्शन सुनेर वा पढेर सुगमले पनि निकै ज्ञान संगाल्यो ।

रिजल्ट आयो । सुगम क्याम्पसमा पाँचौँ भएछ, सुरेखा तेस्रो । सुगमलाई रिजल्टको परिणामभन्दा भोलि सुरेखासँग हुने भेटले अत्याइरहेको छ । आज उसलाई ‘रिजल्ट केही होइन, महत्वपूर्ण त सुरेखासँगको भेट’ लागिरहेको छ ।

रातको प्रसव पीडाले भोलि जन्मायो । कहिले त २४ घण्टा पनि एक वर्ष जस्तो लाग्ने । सुगमले सोच्यो– आज चाँहि खुलेर कुरा गर्छु । उसको दिमागमा सुरेखालाई बचाएको, उसको रगत पुछेका दृष्य फिलिमको रिलझैँ घुमिरहे । राजनीतिको चासो सुनाउनुथ्यो, गाउँ डुलाउनुथ्यो, बा आमाका इच्छा उनको कानमा हालिदिनुथ्यो । अरु कति कति ……….

निर्णायक कदम अगाडि बढाउँदै ऊ क्याम्पसतिर लमकलमक हिँड्यो । आज उसलाई यो सहर निकै प्रिय र उज्यालो लागेको छ । शंखमुलको बाटो जाँदै गर्दा आकाशमा एक हुल चराहरू उसको गाउँतर्फ उड्दै थिए ।
उसले सोच्यो– बुबा–आमा के गर्दै हुनुहोला ? यता म सन्चै छु भनेर एक अञ्जुली खुशीका फूल पठाऊँ कि !
यस्तै सोच्दै ऊ क्याम्पस पुग्यो, घडीले साढे दश बजाइसकेको थियो । क्याम्पस करिब सुनसान, केही विद्यार्थीहरू यतायता टहलिइरहेका थिए । ऊ गेटतिर आँखा ओछ्याउन थाल्यो । आज कुनै विशेष ठाउँमा कफीको चुस्की लिँदै सुरेखालाई प्रेम प्रस्ताव राख्ने सुगमको अठोट छ ।

यता घडी ११ बाट उकालो लाग्यो । १२ बज्यो, १ बज्यो । क्याम्पस गेट छेवैको पीपलको रुखको छाँया पश्चिमतिर सर्दै गयो । विस्तारै त्यो छाया पर्खाल नाघेर सडकतिर पुग्यो । उभिँदा–उभिँदा सुगमका खुट्टा टट्टाए ।

ऊ बाहिर निस्क्यो र छेवैको शाक्य चिया तथा खाजा पसलमा छि¥यो । एक कप चिया घुट्क्यायो । यता पीपलको छाया उसको टेबलसम्म आइसकेछ ।

सुगम बिहान डेराबाट हिँड्दा सोचेन; सुरेखा नआए के गर्ने ? अहिले उसलाई यस्तो साँघुरो बाटोमा पुगेको अनुभूत भयो जहाँ मोडिने ठाउँ थिएन । ऊ मनोवादको जंघारमा हेलियो न पौडेर पारि तर्न सक्छ न त डुबेर अस्तित्व समाप्त पार्न नै । रित्तो हात फर्कदा डेरादेखि क्याम्पससम्म आउँदाका बाटा, गल्ली र पर्खालहरूले समेत ‘बिचरा’ भन्लान् भन्ने मनोदशाले ऊ ग्रस्त भयो ।

डेरा छिरेलगत्तै दिमागमा दुःसाध्य प्रश्नोत्तरको जुहारी चल्न थाल्यो । सुरेखासँगका सम्वादका विषयहरु आकांक्षाको सामञ्जस्यता, प्रधान र सहायक विषय आए । उसले आफू गाउँले भएको सम्झ्यो । डेरा र घर सम्झ्यो । राजनीतिक पछौटेपन सम्झ्यो । आकांक्षा र व्यक्तित्वबीच बग्रेल्ती प्रश्नोत्तर भए, वादविवाद पनि । घरी सुगमतर्फ त घरी सुरेखातर्फका सोचाइले दिमाग कब्जा गरे ।

‘विमारी भई वा अरू नै केही ?

सोच्दा–सोच्दै रातले पखेटा फिँजाए । अघि आउँदा मःमः पसलबाट एउटा पोको ल्याएको थियो । त्यही मःमः का डल्ला घुर्लुक्क–घुर्लुक्क निलेर सुत्यो । बिहान उसको दिमाग शान्त थियो, मुर्दा शान्ति जस्तै । यही शान्त दिमागलाई दगुराएर सुरेखालाई खोज्ने विचार ग¥यो उसले ।

एक दिन सुरेखाले सुगमलाई टाढैबाट उसको घर देखाएकी थिई । उनीहरू बागमती पुल तरेर पारि कोटेश्वर पुगेका थिए । त्यो मंसिरको दिन बागमती किनारको फाँटमा धान झुलिरहेको थियो । सुरेखाले उसलाई डोर्याउँदै माथि उकालेकी थिई । डाँडाको महादेव मन्दिर देखाउँदै भनेकी थिई– यसलाई महादेवस्थान भन्छन् ।

आज सुगम त्यही बाटो सुरेखाको घरतिर सोझियो । बागमती पुल तरेर उकालियो । महादेव मन्दिरलाई दाँहिने पारेर सरासर अघि बढ्यो । सुरेखाले देखाएको घर अनुमान गर्दै ऊ त्यसको गेटैमा पुग्यो । गेट बन्द थियो, भित्र सुनसान । लाग्थ्यो– त्यहाँ शून्यताले धेरै दिनदेखि बिरहको मारुनी नाचिरहेको छ ।

सुगमले पल्याकपुलुक दायाँबायाँ छिमेकी घरतिर आँखा दौडायो । छेवैको पहेंलो रङ्गको घरको छतबाट एउटी १६–१७ वर्षकी ठिटीका आँखाले उसका गतिविधि नियालिरहेका थिए । सुगम केही बोल्नै परेन ।

त्यो ठिटीले माथिबाट भयसहितको आवाज खसाली– कसलाई खोज्नुभएको ? यो घरमा कोही मान्छे छैनन् । उसको मनले सोच्यो– यो पनि उही माओवादी हो कि !

सुगमले मसिनो बोल्यो, ‘एउटा जरुरी काम थियो, हजुर । उहाँहरू कहाँ जानुभयो होला ?

ठिटीले एकै सासमा बोली टुंग्याई, ‘एक साता भइसक्यो, सबै परिवारलाई पुलिसले समातेर लगेको ।’

सुगम लुरुक्क फर्कियो । उसले तल बागमती पुल तरेर डेराको बाटो समात्यो ।

सुगमले सुरेखासँग भेट हुने आशा मारेन । उसले क्याम्पस छेउको कफी पसलमा कुरिरह्यो । घरीघरी आफैंलाई धिक्काथ्र्यो– थुक्क सुगमे, आन्द्रा डढुञ्जेल चिया कफी खाएर के पाउँछस् ?

कफी पसलका ‘डिस्कोर्स’ फेरिन थाले । त्यहाँ भोकशास्त्र र कोकशास्त्रभन्दा पर जागिर, एमबिए, काठमाडौंको बसाइ जस्ता विषयले प्राथमिकता पाउन थाले ।

जागिर खाने, सुरेखासँग प्रेमविवाह गर्ने र सँगसँगै राजनीति गर्ने सुगमका न्याना कल्पनामा चिसो पानी पोखियो; आरनमा तातेको फलाममा जस्तै । राता र ताता कल्पनाले बाटोभरी उसलाई डामिरहे । कहिले त डेरासम्म पुग्दा उसको शरीरभरि नीलडामै नीलडाम हुन्थे । उसले ती डामलाई मायाले सुम्सुम्याउँथ्यो र दुवै हातले मुख छोपेर घुक्क घुक्क गथ्र्यो ।

सुगमका सबै योजनाहरू अष्टमीमा काटेको बोको जस्तै एकपछि अर्को गर्दै ढलिरहे । उसलाई काठमाडौंले ठक्कर दियो तर केही सिकायो पनि ।

उता देशमा जनयुद्ध सुरु भइसकेको थियो । राजनीतिमा लागेर जनयुद्धमा होमिने वा पढाइलाई निरन्तरता दिने ? दुई विकल्पबीच केही दिन अन्तद्र्वन्द्व भए पनि उसले दुवै रोज्यो । एमबिएको पढाइले सुगमलाई बुबा–आमा र भविष्यप्रति जिम्मेवार बनाउँदै सचेत नागरिक बनाउँथ्यो । राजनीतिले बेखबर सुरेखासम्म पुग्ने बाटो पहिल्याउन सघाउन सक्थ्यो । घरपरिवारको घेरा भन्दा पर धकेल्थ्यो ।

दुवै विकल्पको डोरीमा पिङ खेल्दै सुगम कफी पसल धाउन भने छोडेको थिएन । ‘हाई सुगम’ भन्दै पूर्णिमाको जूनको छाया झैँ सुरेखा झुल्किन्छे कि भन्ने आशा उसमा बाँकी नै थियो ।

आज, भोलि, पर्सी गर्दै महिनौं बिते । सुरेखा आइन, न उसको खबर लिएर कोही टुप्लुक्क पुग्यो । पर्खाइ र सोचाइको क्षितिज कहाँसम्म हो ? अहँ, उसले ठम्याउन सकेन । उसलाई लाग्न थाल्यो– अब पर्खाइको राजमार्गमा उसले कहीँ बिसौनी भेट्ने छैन ।

त्यो दिन सुगम कफी पसलमै थियो तर निकै उदास मुद्रामा । चुडिएर बाँकी रहेको आशाको जुइनो समातेर उसले सडकतिर एक टक लाइरह्यो– सुरेखा भन्ने दन्त्यकथाकी कुनै परी हो कि कुन्नी ! सपनामा जस्तै धर्तीमा ओर्ली र झिस्मिसे उज्यालो नहुँदै अलप भई । ए होइन सुरेखा जस्तै लागेको मात्र रहेछ ।

यतिकैमा क्याम्पसबाहिर ठूलो होहल्ला सुनियो । त्यहाँ सयौं मान्छेको भीड थियो । मान्छेका टाउका रातैराता मात्र देखिएका थिए । मुल सडकतिर पनि त्यस्तै टाउका जम्मा भइसकेका रहेछन् । गुडिरहेका विभिन्न ब्राण्डका गाडी नै छोपिने गरी मानव सागर सडकमा बग्न थाल्यो । क्याम्पसमा जम्मा भएको भीड वायु वेगमा त्यतै मिसिन हाँकियो ।

क्याम्पसबाट दौडिने नौजवान युवाहरूको भीडमा सुगमले देख्यो, एउटी ऊर्जावान केटीले बडो हिम्मतका साथ पुरानो राज्यसत्ता विरुद्ध नारा लाइरहेकी थिई । यस्तो लाग्थ्यो– उसले आफ्नो शरीरको ऊर्जा खर्च गरेर अँध्यारा गल्लीहरूलाई उज्यालो बनाउने प्रण गरेकी छ ।

सुगमलाई शङ्का लाग्यो – त्यो केटी सुरेखा हो । शङ्का मात्रै होइन अब उसलाई पक्का हुन थाल्यो, त्यो सुरेखा नै हो । धुमिल दृश्यमा सुरेखा ठम्याउन खोज्दै उसका पाइला केही परसम्म बेतोडले हुइँकिए । उसले भीडको दौड प्रतियोगितामा भाग लिन सकेन ।

क्षणभरमै त्यहाँ दुई गाडी पुलिस आए । लाठी चार्ज भयो । अश्रु ग्याँसले नपुगेर गोली प्रहार भयो । भेटेजति आन्दोलनकारीलाई कुट्दै, लछार्दै पुलिसले गाडीमा राखे । राता टाउकाहरू रानोबिनाका माहुरी जस्तै तितरबितर भए ।

आफू पनि पुलिसको लाठीमुंग्रीमा परिन्छ भन्ने डरले ऊ डेरातिर सोझियो । अहिले उसलाई यो बाटो खाँदबारीदेखि भविष्यसम्मको लाग्न थाल्यो । जहाँ, बा–आमा र सपनाहरू छन् ।

अगाडिको ठूलो बाटो बागमतीतिर ओरालो झथ्र्यो । मनले के सोच्यो कुन्नी, ऊ बागमतीतिर ओल्र्यो । ढिस्कोमा उभिएर त्राटकले जस्तै बागमतीको सङ्लो पानीको बहाब नियालीरह्यो । यो नदी यतै कतै लुटुपुटिएजस्तै लाग्थ्यो, उसलाई । अहँ, होइन रैछ । यसको अन्त्य त कहाँ हो कहाँ ? क्षितिज जस्तै तन्किँदै कुनै अदृश्य सागरमा पुगेर मिसिने रहेछ ।

अलि पर पश्चिमतर्फ सेतो घरको झ्यालमुनि तेस्र्याइएको हरियो साइनबोर्डमा लेखेको देखियो– हनुमान स्पेशल कफी घर । ऊ सुरुक्क कफी घरभित्र छि¥यो र कुर्सीमा थुचुक्क बस्यो । टेबलसँगैको अगाडिको खाली कुर्सीमा सुरेखा बसे झैँ लाग्यो ।

उसले भन्नुअघि नै टेबलमा गुलाबी कपमा गाढा कफी आइपुग्यो । च्यापुमा हात लगाएर उसले त्यसबाट उडेको बाफ हेरिरह्यो– कपको वल्लो र पल्लो छेउबाट उडेको बाफबीच त्यहाँ द्वन्द्व चलिरहेथ्यो । बाफको आकृति बदलिँदै आँधी–हुरी मच्चिरहेको थियो ।