धेरै वर्षपश्चात् साथी शीलासँग भेट भयो । शीलामा आएको परिवर्तनमा म अचम्मित भएँ । झलक्क हेर्दा चिन्नै मुस्किल पर्यो । शीलाको कलेज पढ्दाको त्यो सुन्दरता खुइलिसकेको थियो । अनुहारभरि पोतो बसेको, दुब्ली शीलाको अनुहारमा पीडा र दुःख झल्केको स्पष्ट हुन्थ्यो । उमेरभन्दा निक्कै बुढीजस्ती देखिएकी ।
आफूसँगै पढेकी साथीमा एक्कासी निक्कै परिवर्तन देख्दा दुःख लाग्यो । उनीप्रति मलाई बुझ्ने कुतुहलता जाग्यो ।सोधेँ, “के छ शीला हालखबर ?”
निन्याउरो अनुहारले “ठिकै छ कसरी भनूँ !” अलि हिच्किचाएर भनिन् ।
संयोगले एक्कासी बाटाको भेट । शीलाले कतै बसौँ भनिन् । सहमत जनाएँ । दुवै नजिकको चिया पसलमा गयौँ । चिया पसल्नी दिदीसँग चिया मगायौँ । र, सानो बेन्चमा बस्यौँ । तुरुन्तै पसल्नी दिदीले चिया लिएर आइन् । हामी चिया पिउँदै गफ्फियौँ ।
बाल्यकालका गट्टा र खुट्टी पुतली खेलेका गफदेखि लिएर कलेज पढ्ताको रमाइलो उमङ्गसम्मको गफगाफ भयो । “अतीतका दिनहरु सम्झिँदा पनि कति आनन्द लाग्छ हगि शीला ?”
मुसुक्क मुस्कुराउँदै शीलाले “हो नि बाई” भन्दै मुन्टो हल्लाइन् ।
गफ्फिँदै जाँदा गफको प्रसङ्ग अलि बदलियो । वैवाहिक जीवनपश्चात्का दुःखसुखका कुराहरू पोखियो । पोख्न नपाएर मनमा गुम्सिएका शीलाका कथाव्यथाहरू मेरा सामु छरपस्ट भए । जति वेदनाका उल्झनहरू उल्झिँदै थिए, हामी दुवैको आँखाबाट बलिन्द्र धारा बग्दै थिए । शीलाको दर्दनाक व्यथाहरूले मेरो संवेदनशील मन मस्तिष्क तरङ्गित गरायो । जति शीलाले सुनाउँदै गइन् उति मेरो मनमस्तिष्कमा छापिँदै गयो । शीलाको वेदना मैले गहँभरिको आशु पुच्छ्दै सुनिरहे !
शिलाले रुदै भनिन्, “जसरी भए पनि छोरो जन्माउनै पर्ने बाध्यता । श्रीमान्लाई छोरो चाहियो । सासूलाई, ससुरालाई वंश बचाउने छोरो चाहियो । समाजलाई पनि छोरै चाहियो । दुई छोरीमुनि फेरि गर्भवती भएँ । गर्भ रहेको महिना दिन काट्नेबित्तिकै औसन लाग्न सुरु भयो । उल्टी हुन सुरु भयो । अन्न पेटमा रहेन छोड्यो । उल्टी गर्दागर्दा शरीर कमजोरीले गलायो । बारम्बार पिँडुला फर्कियो । हुन त पहिलो बच्चा जन्मँदा पनि मरेरै बाँचेकी थिएँ ।
जति कष्टदायी भए तापनि घरधन्दा र सासूससुरा रिझाउनै पर्ने । सासूको अति कडा बुहार्तन खेप्नै पर्ने । स–साना लालाबाला सिहार्नै पर्ने । श्रीमान्लाई पनि यौनसन्तुष्ट राख्नै पर्ने । बिरामीको समय असजिलो अवस्थामा पनि यौनसुख नपाएको खण्डमा श्रीमान्को रूप नै बदलिने । अनुहार अँधेरो हुने । बोलीचाली नै बन्द हुने । अशक्त अवस्थामा पनि श्रीमानको इच्छामा सहमत हुनै पर्ने बाध्यता । अनेक बाध्यताहरूको बाबजुद पनि पेटको गर्भ बाह्रौँ हप्ताकाे भयो । लिङ्ग पहिचान गरेर गर्भ राख्ने वा फाल्ने सासूको आदेश थियो । स्त्री रोग विशेषज्ञ डाक्टरकामा श्रीमानले मलाई लिएर गए । डाक्टरले पेटको बच्चा चेक जाँच गरिन् । तर १२ हप्तामा लिङ्ग पहिचान हुन सकेन । फेरि अर्को एक महिनापश्चात डाक्टरले बोलाइन् । चार महिना लाग्दै गर्दा पेटको बच्चा सल्बलाउन थाल्यो । आफ्नै गतिले पेटमा बच्चा चल्न सुरु गर्यो । बच्चाको आकार बन्दै गयो । फेरि सोह्रौँ हप्तामा डाक्टरकामा गयौँ । भिडियो एक्सरे गरेर हेर्दा फेरि पनि छोरी नै रहेछ । श्रीमान्को अनुहार निलो कालो भयो । छाँगाबाट खसेजस्तो भए । पटक पटक छोरी नै भएकाले उनले मलाई नै दोषी देखे । मलाई गर्भपतन गर्न दबाव दिए । छोरी भएकाले गर्भपतन गरेर मात्र फर्किने भइयो । कता कता पापको भयले मलाई तनाव गरायो । जब गर्भपतन गर्न डाक्टरले सुरु गरिन् । इन्जेक्सन लगाएपछि कृत्रिम बेथाले निक्कै चाप्यो । असह्य भयो । प्राण फुस्केलाजस्तो ।
औजारहरू पाठेघरमा खात्राङ्खुत्रुङ गर्दै थिए । नर्मल बच्चा जन्माउँदा भन्दा पनि निक्कै कष्टकर भयो । लामो समय लगाएर गर्भपतन अर्थात् भ्रूणहत्या सकियो । बाहिर फालिएका बच्चाको स्वरूप मेरो नजरमा पर्यो । भर्खर बन्दै गरेको स्वरूप देख्ना साथ आत्मगलानी भयो । रिङ्गटा लाग्यो । छियाछिया भएँ । हीनताबोध भयो । मानसिक, शारीरिक दुवै रूपमा अत्यधिक पीडा भयो । छोरी भएकै कारण उनले यस धर्तीमा आउन पाइनन् । गर्भमै समाप्त भइन् ।
छोरा नपाइदिएकोमा श्रीमानको रातोदिनको टोकसो । दिनहुँ छोरा नपाए सौता हाल्छु भन्ने धम्की । जतिखेर पनि झर्को फर्को गर्ने । श्रीमानको हेलत्व व्यवहार ममाथि बजारियो । त्यति मात्र नभएर सासूका मुटु नै छेड्ने वचनबाणहरू मैमाथि खनियो । छोरा पाउन नसक्नेले के श्रीमती भएर बस्नु ? भनेर सासूले मानसिक यातना दिइन् । भर्खर गर्भपतन गरेको कमजोर शरीर, भरपूर मानसिक यातना, कमजोर अवस्थामा पनि राम्रो खानपिनको व्यवस्था भएन । बिहानदेखि बेलुकासम्मको घरधन्दाले फेरि रगतको धारो बग्न थाल्यो । अत्यधिक रगत बगेपछि म बेहोस भएँ । अचेत अवस्थामा मलाई हस्पिटल लगिएछ । तीन दिनपछि मात्र मेरो होस खुल्यो । यसो हेर्दा त हस्पिटलमा रहेछु । रगत सकिएर पहेँली भएकी थिएँ । हातका नसामा सिरिन्ज घोपिएका थिए । मेरा सामु स्ट्यान्डमा कसैको रगतको पोको झुन्डाइएको थियो । मलाई रगत चढाइँदै रहेछ । मर्नु न बाँच्नु ? हस्पिटलको शैय्यामा पनि ‘उपचारमा अत्यधिक खर्च गराइस् बरु मरेकी भए पनि हुन्थ्यो’ भन्दै श्रीमानले टोकसो गर्दै थिए । कालो अनुहार बनाएर मलाई आँखा तर्दै थिए ।
छोरो नपाएकोमा शारीरिक र मानसिक यातना निक्कै खेप्नुपर्यो । बाँचेर पनि जिउँदै मर्नु परिरहेको छ । ‘जे बिउ छरेँ, त्यही उम्रियो’ भन्ने अज्ञानी श्रीमानले कहिल्यै महसुस गरेनन् । छोरो हुन नसक्नुमा यदि कमजोरी नै थियो भने हामी दुवैमा थियो होला । विज्ञानका दृष्टिले हेर्ने हो भने छोरा वा छोरी जन्माउने भूमिका दुवै आमाबाबुमा निर्भर रहन्छ । प्रकृतिको इश्वरीय देनप्रति भरोसा नराखी शिक्षित भनाउँदा श्रीमानको कालो मनमस्तिष्कले मलाई नै दोषी ठाने ।
श्रीमानले छोरा पाउने श्रीमती खोज्दै गर्दा उसै कमजोरी अवस्थामै पनि फेरि गर्भवती भएँ । फेरि पनि घरपरिवार छोराको आशमा लिप्त भए । दिनहरु बित्दै जाँदा गर्भ चौध हप्ताको भयो । कताकता बच्चाको चाल महसुस हुन थाल्यो । पहिले जस्तै डाक्टरकहाँ गर्भको लिङ्ग पहिचान गर्न म एक्लै गएँ । यति छोटो समयमै फेरि गर्भको लिङ्ग पहिचान गर्न आएको देखेर डाक्टर अलमल्ल परिन् । तैपनि पहिलेको जस्तै गरी चेकजाँच गरेर डाक्टरले भनिन्— बहिनी फेरि पनि तिम्रो पेटको बच्चा छोरी नै हो । तब म मर्नु न बाँच्नु भएँ । मलाई लाग्यो— घरमा गएर फेरि पनि छोरी नै छ भनेर कसरी सुनाउनु ?
फेरि समयले चुनौती दियो । निलोकालो अनुहार लिएर घरमा फर्किएँ । घर पुग्नासाथ सबैले मेरो अनुहारतिर हेर हेरे । उनीहरुका आँखाले मतिर देख्नासाथ सबैले फेरि पनि छोरी नै रहेछ भन्ने थाहा पाए । लोग्ने भनाउँदाले भन्यो— छोरी नै हो भने किन त्यतिकै आइस् ? यसलाई उतै फालेर आउन सकिनस् ? त्यति भन्नासाथ मुड्कीले र लात्ताले हान्यो । गर्भ नफाल्दासम्म मलाई बस्न र टिक्न दिएन । गर्भपतन गर्ने खर्च पनि मसँग थिएन र उसले पनि दिएन । माइतीले दिएको कानको रिङ बाँडाकहाँ लगेर बेचेँ । त्यही पैसा लिएर गर्भपतन गराउन म एक्लै गएँ । कमजोर अवस्थामा गर्भपतन गराउँदा म लामो समयसम्म बेहोस भएँछु । होसमा आउँदा ओठमुख सुकेका थिए । पानी दिने आफ्नो मानिस पनि कोही थिएन । पितृसत्तात्मक सोचले ग्रस्त मानसिकतामा मानवता बाँकी रहेको जस्तो लागेन । अरूको इच्छा ममाथि लादियो । म अस्तित्वविहीन भएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।