बिहान खाना खाएपछि लुगासुगा लाएर जोन घरबाट निस्किन तयार भयो । छोराको चाल देखेर छक्क पर्दै आमाले सोधिन\– “यो लकडाउनको बेलामा तँ कहाँ लाग्या, भन्त ?”
“सँधै लकडाउनसकडाउन भनेर हुन्छ । मैले पढ्नु परेन । अनलाइन क्लासबाट मरे केही बुझिँदैन । साथीको दाइसँग सेकेन्ड सेमेष्टरको राम्रो नोट छ रे । म लिएर आर्इ हाल्छुँ ।” – आमाबाट थप कुनै अवरोध नआओस भन्ने हिसाबले रवाफी पारामा ऐनामा कपाल मिलाउँदै अलि ठूलो स्वरले जानकारी गरायो जोनले ।
सिँढीबाट ओर्लने बेलासम्म कोरोनाको डर हुन्छ, नजा भनेर आमाले सम्झाउने प्रयास गरिरहिन् उसलाई । आमाले उसको हात समाएर रोक्ने प्रयास पनि गरिन् । जोनले पटक्कै टेरेन । हुर्रिंदै तल झर्यो ।
उसको जिद्दी देखेर आमा चाहिँ लाचार भइन् । सबै गतिविधि नियाली रहेका बाबुलाई पनि निस्किएको चित्त बुझेको थिएन तर भित्रभित्रै मुरमुरिँदै चुपलागे । बाहिर ढोकाबाट निस्कने बेलामा आमा फेरि कराइन् – ए बाबु, मोबाइल बिर्सिस् तैंलै, लिएर जा । ऊ नसुनि कुद्यो । लकडाउन भएर होला सायद उसलाई घरमा थन्केको यामाहा आर वान फाइभको पनि पर्वाह थिएन ।
आमा बाबुको मन निकै बेरसम्म पनि छोरा नआएपछि छट्पटियो । जोन लकडाउनको बेलामा पनि जिद्दी गरेर बेलाबेलामा घरबाट निस्किने गर्थ्यो । घरमा बस्दाबस्दा दिक्क लाग्यो, बाहिर हावा खाएर आइहाल्छु भनिदिन्थ्यो । एकआध घण्टामा फर्किइ पनि हाल्थ्यो ।
“हजुरको छोरा आएन त, यतिखेर भइ सक्यो ।” – दिउँसोसम्म पनि छोरा नआएपछि श्रीमतीले श्रीमान्को सहानभूति बटुल्न खोजिन् ।
“तिमीले पुलपुल्याएर त हो नि, आफ्नो छोरा आँफै जान ।” – श्रीमान्ले श्रीमतीकै टाउकोमा दोस थोपरे ।
“अरु बेला भए त जे सुकै गरोस भन्न हुन्थ्यो, चारैतिर रोग बढेको बढ्यै छ ।” – चिन्तित मुद्रामा कोरोनाको त्रास पोखिन् श्रीमतीले ।
“के गर्नु त मैले । यो जहाँ मन लाग्यो त्यहीं कुद्ने बैलै हैन । तिमीहरु कुरै बुझ्न चाहँदैनौ । कोरोना सर्यो भने त सक्किइ गो नि ।” – श्रीमतिको आँखामा माया र आक्रोस सहित आफ्नो आँखा जुधाउने कोसिस गरे ।
श्रीमतीले भने तत्कालै मुन्टो निहुँर्याइन र निरिहता प्रकट गर्दै जवाफ फर्काइन्– “देखिहालिसियो, हजुरको छोराले मलाई टेरे पो । मैले मात्रै पो के गर्नु ?”
एमसीसी हामीलाई चाँहिदैन, देश बेच्न पाइँदैन !
अमेरिकी साम्रज्यवाद मुर्दावाद !
अमेरिकी दलालहरु होसियार !
राष्ट्रघाती एमसीसी खारेज गर !
अमेरिकी दलाल मुर्दावाद !
एमसीसी खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गर !
ब्याक अफ अमेरिका !
राष्ट्रघाती दलालहरु होसियार !
जोन दिनभरि माइतिघर मण्डला र नयाँ बानेश्वर वरिपरि एमसीसीको विरोधमा आयोजित प्रदर्शनमा घोक्रो सुक्ने गरी नारा लाउँदै थियो । प्रहरीले भीड नियन्त्र गर्न खोज्दा भएको भागदौडमा उसको टिसर्ट च्यातियो । लडेर घिस्रिँदा पाइन्टमा पनि भ्वाङ पर्यो । एउटा जुत्ता हरायो । भीड नियन्त्रण गर्न प्रयोग गरिएको पानीको फोहराले उ निथ्रुक्क भिज्यो पनि ।
बेलुका घर फर्कदा उसको रुप हेर्न लायकको थियो । सुरुमा डराएको जस्तो गरी घर प्रवेश गर्यो । जुत्ता नभएको नाङ्गो खुट्टा, कपाल जिंग्रिङ्ग, लुगा भिजेको र च्यातिएको, तछारिएर घाउ लागेको रत्ताम्मे कूहिनो ।
तल गेटको ढोका खुलेको चाल पाएर बार्दलीबाट नियालिन् आमाले । जोनको रुपरंग देख्ना साथ उनी तीनछक्क परिन् ।
जोन भने दाँयाबाँया नहेरी हस्याङ्फस्याङ् गर्दै सरासर हानिँदै आफ्नो कोठामा पस्यो । उसले कहीँकतै केही नभएको अनुभूति दिन खोज्यो ।
आमा भयभित मुद्रामा अतालिंदै जोनको पछि लागिन् – “ बाबु, के भयो तँलाई ? तलाई कल्ले के गर्यो र ? हेर यसको विजोक !”
“ हेऽऽ नकराउनुन, केही भा छैन !” उ निडर हुँदै ओछ्यानमा पल्टियो ।
“कस्तो केही भएको छै न ? मैले त नजा भन्दै थिएँ ।”– निदाउरो अनुहारमा जोनको तछारिएको हात सुमसुम्याउन आफ्नो हात अगाडि बढाइन् ।
“हत्तेरिकाऽऽ, नचलाउनुन मलाई । केही भएकै छैन भन्दैछुँ त । अलिअलित घाउ भाको त हो नि ।” – सुमसुम्याउन अगाडि बढेको आमाको हात झटार्दै ऊ रन्कियो ।
“लकडाउनको बेलामा यो केटोले कहाँ के गरेर आयो ?” – बैठक कोठामा टिभी हेर्दै गरेका बाबुले चासो राखे । “खै के गरेर आयो, कुहिना रक्ताम्मे पारेर आछ ।” – आँसुले रसाएका आँखा र अतालिएको स्वरमा आमा बोलिन् । बेलाबेलामा जोनले देखाउने उरन्ठ्याउलो पाराले आमाबाबुलाई दिकदार बनाउने गर्दछ ।
“ए जोन, कहाँ के गरेर आइस् ।” – उठेर छोराको कोठाको बाहिरबाट चिहाउँदै अलि ठूलो स्वरमा बाबु कट्के ।
“एमसीसीको विरोध प्रदर्शनमा भाग लिएर आएको ।” – घोसे मुन्टो लाउँदै धोद्रे स्वरमा जोनले नढाँटी यथार्थ उत्तर दियो ।
“खुब ठूलो काम गरिस् हैन । कोरोनाको त्रासमा नारा जुलुस गर्न गएर । बुद्धि हराएको मान्छे । आमा चाँहि उहाँ पिर गरेर बसेको बस्यै । फटाहा !” – आक्रोशित मुद्रामा फफताउँदै फेरि बैठक कोठामा टिभी हेर्न लागे ।
आमाले छोरालाई सान्त्वना दिन थालिन् – ल ल उठ । लगासुगा फेर । घाउ धोइधाइ गरेर औषषि लगा भोक पनि लाग्यो होला ।
जोन विहान अबेरसम्म सुति नै रह्यो । ए बाबु उठ अब, हेर घाम कहाँसम्म आइसक्यो भनेर दईतीन पटक भान्साबाटै कराइन् पनि आमा चाहिँले । ओछ्यानमै चिया लगिदिएपछि उठ्छ कि भनेर चिया पुर्याउन गइन् – “ए बाबु उठ, चिया ल्याइदिया छ ।”
“हेऽऽऽ, सुत्न दिनुन कति किचकिच गर्या । कस्तो थकाइ लाग्या छ ।” – अर्ध निद्रामै झर्कँदै चियालाई तिरस्कार गर्यो उसले । ऊ बिदा हुँदा मज्जाले अबेरसम्म सुत्नेगर्छ । लकडाउनले गर्दा त ऊ झन् बिन्दास भा छ । उसलाई आज ओछ्यानबाट उठ्नै मन लागेको थिएन । तर मोबाइलमा घण्टी बज्यो । यसो हेर्यो । जिपेसको नम्बर । ऊ निन्द्रबाट तंग्रियो । घोप्टिएर सुतेको मान्छे मोबालइल समाउँदै उत्तानो पर्यो ।
– अँ, जिपेस भन ।
– के छ यार तेरो हालखबर ?
– के हुनु, सुतिराख्या ।
– यति खेरसम्म सुतिराख्या तँ !
– के गर्नु त । हिजो त्यो मुला जुँगे डन्ठेले लछारपछार पारेको । पूरा जिउ दुखिराछ हेर्न ।
– कुरै नगर यार, मेरो पनि हालत खराब छ । भाग्न खोज्दाखौज्दै पनि कुन चाहिँले पछाडिबाट ढाडमा एक डन्ठा हान्या थियो, भयंकर दुखिराछ । पूरा निलो छ यार मेरो ढाड त ।
– ए, हो ! त्यही त, भातेहरुले लास्टै दुख दियो ।
– अनि सुन्न एउटा कुरा । पर्सि अमेरिकन एम्बेसी घेर्ने कार्यक्रम छ नि, जाने कि नजाने ? कलेजको ऋतिक दाइको भरखरै फोन आ थियो । सबै केटाहरुलाई खबर गर्दिनु भन्याछ ।
– जानु पर्ला यार । यि मुला नेताहरुलाई कुनै पनि हालतमा एमसीसी पास गराउन दिन हुन्न ।
– अनि सुन्न, आज डिभीको रिजल्ट हुँदै छ रे नि !
– ए, होर ! थाहै छैन त मलाई ।
– फेस बुक हेर्या छैनस ? पूरा न्यूज छ्यापछ्याप छ त ।
– डिभी परे त मजा आउने थियो ।
– हो त नि यार । यो मुला नेपालमा के बस्नु । झुरै लागि सक्यो भन्या ।
आमाले थालमा पस्किएको भात एक सासमा सिध्यायो जोनले । आमालाई चित्त बुझेन– “हैन, तँलाई फेरि कहाँ जान हतार ?”
अगाडि ठिक्क पारेको एक गिलास पानी एक पटक घुट्क्यायो, अनि भन्यो – “आज डिभीको रिजल्ट रे नि ।”
“बाउले डिभीको आश गर्दागर्दा जिन्दगी बित्यो । अब यो पनि त्यै डिभीमै लागेको छ ।” –आमा दंग परिन् । मुखमा हालेको गाँस निलेपछि श्रीमतीको कुराले बाबु पनि मुसुमुसु हाँसे ।
जोनको बाबु अक्षयलाई पनि डिभी भर्दा कतै आँफूलाई पनि अमेरिका जाने साइत जुरी पो हाल्छ कि भन्ने ठूलो आशा थियो । झण्डै बीस वर्षसम्म नछुटाइकन् डिभी भर्दा पनि कहिल्यै परेन । मन्त्री लालबाबुको पालामा आएको नयाँ नियमले जागिर नै अप्ठ्यारोमा पर्ने भएपछि मात्र भर्न छाडे । हरेक वर्ष डिभी खुल्दा बुढाबुढी न्यू रोड र नयाँ बानेश्वरमा लाइन लागेर फर्म भराउँथे । धेरै आफन्त र साथीसंगिनी डिभी परेर अमेरिका गएपछि जोनको बाबुलाईभन्दा आमालाई सँधै भरी भित्रैबाट अमेरिकाको हुटहुटी जाग्ने गर्थ्यो । उनैले डिभी भर्न अक्षयलाई हरेक वर्ष तताउने गर्थिन् । नतिजा आउँदा भने दुवै आकासै खस्या जस्तै गरी थाप्लोमा हात हालेर बस्थे । दुईचार दिनसम्म त भातै रुच्दैन थियो दुवैलाई ।
“तिमीहरु त डिभी परेर अमेरिका गयौ, आफूलाई त कहिल्यै परेन । लालेको नयाँ नियमले गर्दा झन् अब त भर्न पनि पाइँदैन । भाग्यमा नभए पछि के गर्नु । नेपालमै थेचारिनु पर्ने भयो ।” – बेलाबखत अमेरिकामा बसेका साथीभाइ र आफन्तसँग भाइबर र मेसेन्जरमा कुरा हुँदा दुखेसो पोख्थिन् जोन कि आमा पवित्रा ।
अक्षय र पवित्रालाई कमी केहीको छैन । अमेरिकाभन्दा कम सुख नभएको हैन यहाँ । छोराछोरी नाम चलेकै स्कुल, कलेजमा पढ्दैछन् । अक्षयको सानो सरकारी जागिर भए पनि कमाइ औसतभन्दा राम्रै छ । कर्मचारी युनियनको नेता भएकोले हाकिमहरु बेलाबेलामा उसको चाकरी बजाउन पछि पर्दैनन् । जागिर अवधिमा दुर्गममा टेक्नै परेन, सरुवा हुँदा सुविधासम्पन्न र दुईचार पैसा आउने ठाउँ मै पर्छ । जागिर सुरु गरेको एक दशकमै काठमाण्डौमा दुईटा घर, भरतपुर र बुटवलको बीच बजारमै एकएक कठ्ठा घडेरी जोड्न भ्याइसकेका छन् । सेयर कारोवार पनि बजार भाउ घट्दा निन्द्रा बिथोल्ने खालकै छ । गाडीको सोख पूरा गर्न कियाको गतिलै कार छ ।
पवित्रालाई पनि बिहे, ब्रतबन्ध, जमघट र पार्टीमा सामेल हुँदा पहिरन र गरगहनाको मामलामा सबैले वाहवाह नै गर्छन् । कसैले कुराकाटेको सुन्नु पर्ने दिन नै आएन । आफन्त र संगिनीबाट गाडीको मोडल पुरानो भएको गुनासो सुनेपछि बुढालाई नयाँ गाडी फेर्न सहमत गराइसेकेकी छन् ।
मुखमा हाल्न ठिक्क परेको गाँस लिएर निकै बेर टोलाइन् पवित्रा । “के भयो पवित्रा तिमीलाई ?”– अक्षयको अलि ठूलो स्वर सुनेपछि मात्र झस्किइन\ । “छोरालाई डिभी परे त राम्रै हुन्थ्यो भन्ने सोचेकी नि ।” –पतिको मुहारमा मुसुक्क हाँस्दै भनिन् ।
“डिभी पर्ने हैन, स्योर पर्छ । यो वर्ष हजुरहरुको छोरा अब सिधै अमेरिका !” – ठाउँको ठाउँमै एक फन्को मार्दै बुरुक्क उफ्रियो जोन ।
खाइवरी मोबाइलमा गेम खेल्न बसेकी छोरी सुनैना पनि पल्लो कोठाबाट कराइन् – “मम्मी, डिभी त यसपाली मैले पनि भर्या छु नि ।”
“ल ल तँलाई पनि परोस्” – आमाले छोरीलाई शुभकामना दिइन् । पवित्रा फेरि एक छिन घोरिन थालिन् । मनमनै सोचिन्– छोराछोरीलाई डिभी परेत बुढेसकालमा भए पनि आफू पनि अमेरिकी दुनियाँमा रम्न पाइने थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।