सधैं झैँ यो शनिबार पनि घरको काम सकेर आध्यात्मिक उन्नतिका लागि हस्याङ्ग-फस्याङ्ग गर्दै आश्रमतिर लागें । आश्रममा गएर ध्यान साधन गर्ने बानी लामो समयदेखि बसिसकेको थियो । एउटा छुट्टै अनुभूति हुन्थ्यो । मन निकै प्रफुल्ल र हलुङ्गो महसुस गर्थें । आफुलाई निकै ऊर्जाशील भएको ठान्थें ।

शनिबारको दिन अरू दिनहरू भन्दा अझ विशेष नै लाग्थ्यो । घरायसी कामलाई थाँती राखेर भए पनि आश्रम जानैपर्थ्यो । आफैँले आफूलाई चिन्ने कोसिस गर्दैथिएँ । आन्तरिक शान्ति र आनन्दको लागि प्रयासरत थिएँ । शनिबार आश्रम जान नपाउँदा निकै खल्लो र नरमाइलो लाग्थ्यो।

आश्रममा एक जना निकै आकर्षक महात्मालाई सँधैजसो देख्थें । चुपचाप आफ्नै धुनमा मस्त कसैसँग नबोल्ने । मुहारमा हजार सूर्यको जस्तो तेज । आत्मविश्वासले ओतप्रोत । हिँडाइमा राजसी छाँट । जो कोहीलाई ध्यानाकषिर्त गर्नसक्ने अचम्मको छवि । महात्मालाई देखेर निकै आकर्षित हुन्थें म पनि । वहाँको कुरा सुन्न मन लाग्थ्यो । बोल्न मन लाग्थ्यो । सत्संग सुन्न मन लालायित हुन्थ्यो । एकटकले म हेरिरहन्थें । हरेक प्रार्थनामा फर्माइस गर्नेगर्थें महात्माले मलाई एकचोटि हेरिदिए । बोलिदिए ।

वर्ष बिते । अहँ ! महात्माले कहिल्यै हेर्नु भएन । हरेक साधनामा महात्मासँग बोल्न मन लागेको कुरा व्यक्त गर्दै, ब्रह्माण्डमा विचारहरूको सम्प्रेषण गर्थें । जहिले जाँदा पनि पद्मासन लगाएर ध्यानमै डुबेका हुन्थे महात्मा । महात्माप्रतिको लगाव देखेर म बाल्यकालमा गोता लगाउन थाल्छु ।

सानोमा म निकै छुलछुले थिएँ रे ।आमा भन्नु हुन्थ्यो घरमा जोगी आउँदा चामल लिएर दौडिँदै पुगिहाल्थेँ रे । आमाले एक मुठ्ठी चामल दिनू भन्दा पनि कचौरा भरी लुकाएर दिन्थें रे ।

बाटोमा हिँड्ने जोगी होस् या सत्संग भन्ने महात्मा, आत्मज्ञानी होस् वा ढोँगी, सबैलाई एउटै नजरले हेर्ने गर्थेँ । अहंकार त्यागेर हो वा काम गर्न अल्छी लागेर ? जे भए पनि भौतिक सुखसुबिधा सबै त्यागेर दस जनाको वचन झेल्दै एक मुठी भिक्षाका लागि किन यत्रो संघर्ष गरेका होलान् जस्तो लाग्थ्यो ।  करुणा र प्रेम उर्लेर आउँथ्यो । हृदयबाट सम्मान जागृत हुन्थ्यो । सहयोग गरौं-गरौं लाग्थ्यो ।

अनिता काेइराला

नजिकैबाट जोगीहरूको अनुहार नियाल्न मन लाग्थ्यो । जोगीहरूको अनुहार बुवाहरू या फुपुहरूसँग  मिल्छ कि, भनेर चनाखो हुन्थें। सायद बाल मनस्थितिमा एउटा पारिवारिक घटनाले नराम्रोसँग डेरा जमाएको हुनसक्छ । मेरो हजुरबुबा पनि बेपत्ता हुनुभएको रे । मेरो हजुरबुवा पनि कतै अरूको घर-घरमा यसरी नै भिक्षा माग्दै त हिंडिरहनु भएको छैन् ? म आफैंलाई प्रश्न गर्थें । किन हिड्नु भयो होला ? कोसँग रिसाएर हिड्नु भयो होला ? कत्रो पीडा थियो होला ? कत्रो उकुसमुकुस थियो होला ?  यी र यस्तै कुराहरूले मेरो मन विक्षिप्त हुने गर्थ्यो । प्रत्येक जोगीमा म मेरो हजुरबुवा खोज्ने गर्थें ।

सुनाउनेले सुनाउँथे –‘फलानोको बाउ त देबघाटमा आएर बसेका छन् रे । कति चोटि त भेष बदलेर ससुरालीतिर पनि बस्न गएका थिए रे ! घरको हालचाल बुझ्नलाई आएका थिए रे । ठुला मान्छे घरमा नभएको बेला, नातिनातिनाहरूलाई भेटेर फर्के रे । रे का कुरा त कति भए कति । खोज्दा-खोज्दा हार खाएछ्न् खोज्नेले । हजुजुरबा फेला पर्नु भएन । दिल्लीदेखि ॠषिकेशसम्म हजुरबुवाको खोजी नभएको होइन । पत्ता लाग्न सकेन छन् । सबै प्रयास व्यर्थ भएछन् । हजुरबुवा घर छोडेर हिँडेको कुरालाई सबैले नौलो नौलो कहानी बनाए । आफ्नै तरिकाले अड्कल काटे । कोही माधव शमशेरको अत्याचारको कारणले जोगी भए भन्थें । कोही हजुरआमाले थालमा भातको साटो पैसा पस्केर दिएकाले घर छोडेको भन्थें । सत्य हजुरबुवासँगै हराएको थियो ।

मलाई पनि कहिलेकाहीँ हजुरबुबालाई खोज्ने निहुँमा घर छोडेर हिँडौं-हिँडौं लाग्थ्यो । कतै हजुरबुबा मलाई पर्खेर बसिरहनु भएको त छैन ? जस्तो लाग्थ्यो । त्यो सत्यको खोजीमा सिद्धार्थ झैं । फेरि सोच्थें  हजुरबुबाको जस्तो शारीरिक संरचना थिएन ।  अनि आश्रमतिर धाउन थालें विराटतालाई बुझ्न । आत्मज्ञानको खोजीमा । सरलता र सुगमताको बाटो रोज्दै ।

एक शनिबार माहात्माले मलाई बोलाउनु भयो । म अचम्मित भएँ ‘ए ! नानी किन मसँग बोल्न यस्तो छट्पटी हँ ! यहाँ आऊ , मेरो छेऊमा बस ।“

मेरा आँखाबाट आँसुका धाराहरू खुसीले नाच्न थाले आँसुका ढिक्का गाला हुँदै ओठसम्म आइपुगे । निकै ठुलो खजाना हात लागेको झैं , म मख्ख परें ।  नजिकैबाट अनुहार हेर्दा चिनेको मान्छे झैँ लाग्दै गयो । हातगोडाहरू मेरै दाजुका जस्ता ,आँखा ठ्याक्कै दिदीका झैं  विशाल । ठुलो निधार ।  अर्जुनले कृष्णको विश्वरूप हेरे झैँ ,म पनि महात्माको मुहारमा एकटकले हेरेको हेर्यै भएँ । माहात्माले आफ्नो कहानी मलाई सुनाउन थाल्नु भयो – “जगत र जिम्मेवारीबाट दिक्दार भएर म अनन्तको यात्रामा हिँड्न आतुर थिएँ । म निकै स्वार्थी भएँ । मायामा मनलाई भुलाउन निकै कोसिस गरेँ । मरिगए  मानेन । आमाको काखमा खेलिरहेको बालक आमा हराउँदा जसरी छट्पटाउँछ ,त्यसरी नै छट्पटाएँ । सत्य जान्नको लागि । तिमीलाई जस्तै मलाई पनि घरमा जोगीहरू आउँदा निकै रमाइलो लाग्थ्यो । त्यो बेला मलाई कसैले- “ठुलो भएपछि के बन्ने बाबु ?” भनेर प्रश्न गर्दा म – ” ठुलो जोगी हुन्छु भन्थें रे ” मलाई जोगी बन्न किन त्यत्रो रहर लाग्थ्यो, थाहा छैन । कहिलेकाहीँ जोगीहरू घरमा बास बस्थे । राती धुनी जगाउँदै चिलिम तान्थे, मलाई कम्ता रमाइलो लाग्दैन थियो जोगीहररुको सानिध्यमा बेग्लै शान्ति महसुस गर्थें एक दिन ढोकाको चेपबाट चिहाएर हेरिरहेको थिएँ कन्फट्ट

जोगीहरुको समुह रहेछ । “इधर आओ ,बच्चे ! बैठो ! मेरे पास । क्या देख रहेथे, उधर से  ।”

एक जना निकै मोटो र अग्लो जोगीले मलाई बोलाए । म थरथर काँप्न थालें ,ओठमुख सबै सुके हातगोडा फतक्क  गले । टाउको भन्दा ठुलो कपालको जुरो ,लट्टा परेका लामा दारी , शरीरभरि सेताम्मे खरानी घसेको । लाज मात्र छोपिने लँगौटीको धरो ! तेजिलो मुहार ,लठ्ठ परेंका आँखा, मोहित नै भएँ ।

अनि आमालाई जिद्दी गर्न थाले- “आमा ! आमा ! हामी जोगी पनि पालौन  ।”

आमा खित्का छोडेर हाँस्नु भयो, “जोगी पनि कसैले पाल्छ  ।”

म मनमनै प्रार्थना गर्थें जोगीहरू कहिल्यै हाम्रो घर छोडेर नजाऊन् ।

हिन्दी नबुझ्ने म जोगीका कुरा सुनेर बस्थें । खोई कस्तो चाख थियो । कहिले त सुन्दासुदै उनीहरूकै काखमा भुसुक्क निदाइदिन्थें बिहानी पख पो आमा कराउँदै आउनु हुन्थ्यो ।

“दुख भयो महाराजहरूलाई ।”

“कोइवात छैन माई ! अद्भुत बालक छ,यो ।  ज्ञानी हुनेछन् । स्वामी बनेगा ए । तुम धन्य हो माई ।”

आमा दङ्ग पर्नु भयो । महाराजको चरण स्पर्स गर्दै । साधुसन्तहरूलाई  दान दक्षिणा दिदैं बिदा गर्नु भयो ।

बाल्यकालको यी घटनाले जहिले पनि मलाई उक्स्याई रहन्थ्यो ,जोगी बन्न  सन्यास लिएर मात्र शान्ति मिल्दैन । भगुवा वस्त्र लगाएर मात्र ईश्वर भेटिँदैन। घर छोडेर हिँड्दैमा जिम्मेवारी र चुनौतीहरू समाप्त हुदैनन् । सबै कुरा जान्दाजान्दै पनि भित्रको हुटहुटीले मलाई घर छोड्न बाध्य बनायो । परिपक्वताले गाँजिसक्दा पनि नियतिले मलाई फकिर बनायो । जीवनको चालिसौं बसन्त पार गरिसकेको म । गृहस्थ जीवनमा रमाएको थिएँ व्यवहारमा चुर्लुम्म डुबिसकेको । घरभरि सन्तान खेलिरहेका थिए । कसैले कल्पनै गरेका थिएनन् । भौतिक सुख सुबिधालाई तिलाञ्जली दिएर एक दिन गृहत्यागी हुन्छु भनेर ।

हुर्कंदै गरेका लालावालाको सहारा भएर पिताको कर्म निभाउनु पर्ने । आफू जिउँदो हुंदाहुँदै सन्तानहरू टुहुरो बनाएर , म संन्यासी भएँ । मन दह्रो पारेर हिंडें । पारिवारिक जिम्मेवारी छोडेँ । ईश्वरको खोजीमा निस्किएँ । फर्केर हेरिनँ त्यो आँगन । नियतिको अगाडि ज्ञान हार्दो रहेछ । समझदारी लाटो हुँदो रहेछ नानी !”

वाल्ल्ल पर्दै महात्माको आँखामा हेरेर प्रश्न तेर्साएँ – “घर छोडेर कहाँ जानुभयो त ?  कुन कुराको चोट परेको थियो ?”

लामो सुस्केरा हाल्दै महात्माले भन्न थाल्नु भयो – ” घरपरिवार सबै त्यागेर जोगी भएर हिँड्न पनि ठुलै साहस चाहिँदो रहेछ, नानी ! यो साहस जायज थियो या थिएन म भन्न सक्दिनँ । समय सबैभन्दा बलवान हुँदोरहेछ । परिवार र समाजका लागि मेरो निर्णय गलत भए पनि मेरा लागि सही नै भयो । म भाग्यमा विश्वास नगर्ने कर्मवीर किसान थिएँ । आदर्शवादी जमिनदार थिएँ । सायद छैटीमा यही लेखिएको थियो।  आत्मा र परमात्माको खोजीमा भौंतारिन थालें । जीवन र जगतलाई बुझ्न् कठोरता अँगालें ।  म जनक हुन सकिनँ । घरमा साधना गर्न सकिनँ । आफैं भित्रको ईश्वर प्राप्त गर्न चोकचोक धाएँ । कासी, मथुरा, वृन्दावन, हरिद्वार गएँ सबै तीर्थहरू धाएँ अहँ ! मन अझ अशान्त हुँदै गयो । जे खोज्नलाई मैले घर छोडेको थिएँ त्यो पाउन निकै कठिन रहेछ । निकै साधन गर्नु पर्ने रहेछ ।

संजोगले एक तत्वदर्शी गुरु प्राप्त भयो । अनि त्यो गुप्त ज्ञानको अभ्यास गर्दै जीवनलाई सफल पार्दैछु । चतुर्भुज नारायण खोज्दाखोज्दै धेरैसमय बाहिर नै भौतारिएँ । जब गुरुले तेस्रो आँखा खोलिदिनु भयो ,आफैँमा ईश्वर भेटेर आनन्दमा रमाएको छु  ।”

“मसँग के थिएन र नानी ? न मलाई दुख थियो ,न अभाव । एक कुशल जीवन साथीको साथ थियो । सन्तान र सम्पत्ति मनग्ये थियो । मान र सम्मान पनि उच्च थियो । आँखाको नानी भएर सबैको नजरमा बसेको थिएँ । मेरो वैभव देखेर आरिस गर्ने मान्छेहरूको कमी पनि थिएन । खाएर  दिएर गाँउमा नाम कमाएको थिएँ । राजाको झैँ सम्मान थियो । मेरो एक बोली ब्रम्ह बाणी हुन्थ्यो । खोई किनहो किन फिरन्ते भएर हिंड्न मन लाग्यो । मान सम्मान सबै छोडेर । नाता सम्बन्धको जञ्जालबाट मुक्त,स्वच्छन्द र स्वतन्त्र भएर । सदाका लागि म हिंडें ।

“हजुरको जन्म कहाँ भएको थियो ?  हजुरको थर के हो ? हजुरका सन्तान कति थिए?”

फेरि लामो स्वास लिँदै भन्नुभयो “ नानी ! साधारण मान्छेलाई पूर्व जन्मको रहस्य थाहा नहुनुमा परमात्माको ठुलो हात छ ,थाह छ तिमीलाई ।”

मैले आफ्नो टाउको हल्लाउँदै भने,   “अहँ थाह छैन ।”

“ पूर्वजन्मको बारेमा थाह पाउँदा वर्तमान जीवनमा उथलपुथल आउँछ । त्यसैले त्यो गुप्त छ । ईश्वरले नै त्यो पाटो लुकाई दिएका हुन् । मेरो सांसारिक जीवन पनि पूर्व जन्म नै हो । म पनि आफ्नो पूर्व जन्मको रहस्य खोल्न चाहन्नँ । तिम्रो लागि म एक महात्मा मात्र हुँ । त्यो भन्दा बढी म केही भन्न चाहन्नँ ”

स्नेहले भरिएका आँखाले मलाई नियाल्नु भयो । ठ्याक्कै बाउजस्तै अग्लो पनि उस्तै, हाउभाउ पनि उस्तै । महात्माले मेरो टाउमा हात राख्दै भन्नु भयो, “घरमा सबैलाई आराम छ ? को-को छन् घरमा ? “

म ट्वाल्ल परें । अवाक भएँ ।

महात्मा बसेको आसन खाली थियो । अरूलाई सोधें, “यहाँ बसिरहनुभएको महात्मा खोई ?” अरूले महात्मालाई देखेनछन् । सबैले भने, “यो आश्रममा आजसम्म तँर्इले भनेको जस्तो महात्मा हामीले त देखेका छैनौँ ।
सपना देखिस् ?”

सबै जना गलल्ल हाँसे । म झल्याँस भएँ । ध्यानस्थ पो रहेछु !!