थाहा छैन, कसरी ऊ अकस्मात् मन्दिरअगाडि आइपुग्यो । जब त्यहाँ आइपुग्यो आफूभित्र अनौठो परिवर्तन भएको महशुस गर्यो । मान्छे होस या जनावर-चराचुरुङ्गी ! जसलाई हेर्यो ,कसको मनमा के चल्दैछ भनेर प्रष्ट सुन्न थाल्यो, देख्न थाल्यो, महशुस गर्न थाल्यो । सपना पो हो कि भनेर हरिभक्तले आफैंलाई छाम्यो , चिमोट्यो । विपना नै रहेछ । यो अनौठो क्षमता ऊ भित्र एक्कासी उत्पत्ति  भएकोमा केहीबेर अचम्ममा पर्यो । सायद आफू धार्मिक प्रवृत्तिको  हुनाले भगवान् प्रशन्न भएर यस्तो वरदान दिनुभएको होला भन्ने सोचेर औधी खुशी भयो ।

पच्चीसौं वसन्तसम्म हरिभक्तले जीवनलाई सरल रेखामा सलल्ल बगाइरहेको थियो । विवाह गरेपछि भने जिन्दगीको लय धेरथोर खल्बलिन थालेको थियो । आमा र श्रीमतीको बीच केही महिनामै रयाङठ्याङ मिल्न छोड्यो  । कसको पक्ष लिनु कसको विपक्ष ? ऊ चेपुवामा पर्थ्यो । आमालाई मर्का पर्दैछ भन्ने थाहा हुँदाहुँदै पनि अघ्घोरकी राम्री श्रीमती रिसाउलिन् कि भन्ने पीरले बेला-बेलामा मौनबस्न बाध्य हुन्थ्यो । बुढी भैसकेकी जननीको उदास चेहरा देखेर माया त लाग्थ्यो तर पनि पक्ष लिन हिच्किचाहट रहिरह्यो सधैं । यत्ती एउटा कुराबाहेक उसले जीवनमा जानीजानी कसैको कुभलो गरेन , झुठ बोलेन , ठगेन । सम्भव भएसम्म आफ्नो पैतालाले कुल्चेर कमिलो पनि नमरोस् भन्ने नै चाहना राख्यो । पुजापाठ धर्मकर्ममा आस्था जगाइरह्यो ।  भगवानले सदकर्मदेखि प्रशन्न भएरै आफूलाई यस्तो अद्भुत शक्ति प्रदान गर्नुभएको हुनुपर्छ भन्नेमा उ ढुक्क भयो । अनि मन्दिर अगाडि लम्पसार सुतेर एकपटक उनै भगवानलाई साष्टाङ्ग दन्डवत् प्रणाम गर्यो ।

सामुन्ने  मुलद्वार नजिकै गेरु वस्त्रधारी पूजारी धूपअक्षता लिएर पूजा गर्दैगरेका रहेछन- देख्यो  ।  आशीर्वाद थाप्न हर्षातिरेक हुँदै अगाडि गएर उभियो ।

“अर्को भिखारी आइपुग्यो । अनुहार र लवाइ हेर्दैमा केही दानभेटी चढाउला जस्तो छैन । हत्तेरी ,बिहानदेखि एकजना गतिलो धनीमानी र दानी मान्छे आएका छैनन् आज ! “-  ओठमा मुस्कान भएपनि पुजारीले ऊतिर एक नजर पर्नासाथ सोच्यो ।

जति उल्लासित भएको थियो , पुजारीको मनको कुरो सुनेर उसको उत्साह तुरुन्त बरफ जसरी चिस्सीयो । चाहे भिखारी होस् या पुजारी, मदारी होस् या जुवारी, मान्छेको जातलाई द्रव्यमोह उत्तिकै हुँदोरहेछ भनेर खिन्नहुँदै टीका ग्रहण पनि नगरी उल्टै पाउ फर्कियो ।

यश घिमिरे

हिँड्दैगर्दा बाटोमा जति मान्छेहरू भेट्यो , उनीहरूको मनभित्र छिरेर हेर्यो । प्रायः जसोको कथनी र करनीमा आकास जमीनको फरक पायो । ‘प्याजको पत्र जस्तो पो हुँदा रहेछन मान्छेहरू त छि: !’ –  यस्तो ख्यालले ऊ केही निरास भयो । ‘बरु जनावरहरूको संसार नै ठिक । आफू बाँच्नको लागी अर्कोलाई आहार बनाउनुको बाध्यता बाहेक कम्सेकम जनावर पशुपन्छीले आफ्नो स्वार्थको लागि कमजोरहरूको उपभोग र शोषण त गर्दैनन् । मान्छेको जस्तो क्लिष्ट र अनुशासनहीन जीवन बाँच्नु भन्दा त यिनीहरूको उँचनीच, ईर्ष्या, षडयन्त्र र कटुतारहित सरल जीवन नै हजार गुना ठिक छ ‘। – यस्तैयस्तै सोच्दै फटाफट पाइलाहरू उज्याइरह्यो ।

हिँड्दाहिँड्दै कसाईखाना नजिक के पुगेको थियो , एकहुल भेंडाबाख्राहरू, अगाडि रक्तमुछेल भएर लडिरहेको आफ्नै साथीलाई हेर्दै घाँस खानमा निमग्न देख्यो । ‘आफ्नै अगाडि मृत्यु देख्दादेख्दै खाना कसरी रूच्छ होला हँ यी प्राणीहरूलाई ‘? – जाँच्न मन बन्यो । ऊ  सुटुक्क एउटा भेंडाको मस्तिष्क भित्र छिरेर हेर्यो । कस्तो अचम्म ! मृत्यु देख्दादेख्दै पनि सामुन्ने के भैरहेको छ ख्युट्याउन नसक्ने हुँदारहेछन यी जनवारहरू । चैतन्य अवस्था करिबकरिब शुन्य र खालीखाली हुँदोरहेछ, दुईचार अक्षरभन्दा बढी नलेखिएको कोरा कागज जस्तै । जबसम्म कसाईले घाँटीमा छुरा राख्दैन तबसम्म अरूलाई रेटेको हेरेर ममाथि पनि केहीबेरमा यही नियती दोहोरिंदै छ भन्ने दुई पाइलाअघिको विश्लेषणधरि गर्न नसक्दा रहेछन । कति अबोध प्राणी ? मरण सामुन्ने छ तैपनि रत्तीभरको चिन्ता छैन । बोध छैन । लक्ष्मीप्रसाद देवकोटाले यसै भनेका होइन रहेछन् – ‘अबोधतामै सुख छ ‘ ।

ऊ अगाडी बढ्दै गयो । खुशीले हो या गहिरो सोचले हो अकस्मात् आफ्नै घर अगाडि आइपुगेको पनि हेक्का भएन उसलाई ।

“बाबु । कहाँ थियौ नि मेरो छोरो यतिका दिन ? । मेरो प्राण ! तिम्रो चिन्ताले आधीमासु भैसकेको थियो मेरो त ” । – छोरालाई घर अगाडि बाटोमा  देख्नासाथ आमाको मन शब्दकरुणामा भेल बाढीझैँ उर्लियो ।

आर्तनाद सुनेर उसको  पाइलाहरू पनि टक्क अडिए । धन्नै आफ्नै घर कटेर जान लागिसकेको रहेछ  । आमा हुरी बतास आएजसरी  उसको काँधमा झुन्डिन आइपुगिन् । छातीमा टाँसेर बलिन्द्र आश्रुधारा चुहाउँदै भनिन् – “यस्तो नगर न छोरो ! तिम्रै भरमा त म बूढीमान्छेको सास अड्किएको छ । खबर नै नगरी यसरी बेपत्ता नहराउन ।”

सोच्न थाल्यो – साँच्ची कहाँ थिएँ म ? , मन्दिर अगाडि आइपुग्नु पहिले कहाँ थिएँ हुँला ?  भएभरको जोर लगाएर सम्झिने कोसिस गर्यो , सकेन ।

“कति भयो आमा म हराएको ?”- सोध्यो

‘आज चौध दिन भयो ।”

“यतिन्जेल कहाँ बितायौ ? के खायौ छोरा  ? ” – थर्थराएको हातले उसको अनुहार सुम्सुम्याउँदै उतर र प्रश्न एकैचोटि गरिन् ।

ओइलाएको  हातहरूको आत्मीय स्पर्शले नै महसूस गर्यो , विगत चौध दिनदेखि उसैको पीर चिन्ताले  आमाको पेटमा सास अडकाउन मात्र दैनिक एकमुठ्ठी अन्न र पानी परेको रहेछ । सिनेमा हेरेजसरी छर्लङ्ग देख्यो आमाका कैयौं रातहरू सुस्केरामा कटेको । आँसुले सिरानी भिजेको । निस्तेज आँखाहरूले  झिमिक्क नगरी उसैको बाटो हेरेको ।  ‘यस्ती आमाको निष्कपट र कञ्चन मायालाई केवल श्रीमती खुशी पार्न सधैं अनदेखा गरिरहेँ । मैले धरधरी रुवाउँदा पनि आमाको मायामा एकरत्ती कमी आएन । आमा हुन जति गाह्रो छ कृतघ्न बन्न उत्तिकै सजिलो हुँदो रहेछ । म साच्चैको कुपुत्र हुँ’ भन्ने ग्लानिले ऊ पनि बच्चाजसरी आमाको अङ्गालोमा घुक्कघुक्क रुन थाल्यो । धेरैबेर रोएपछि आफूले औधी माया गर्ने श्रीमती माआलाई झलक्क सम्झीयो । अनि सोध्यो – ” बुहारी खोइ त आमा ?”।

“खोइ कुन्नि  !  माथि चोटातिरै होलिन् नि । खाना खानेबेलामा हो देखिने नत्र दिनभरि कोठामा ढोका लाएरै बसेको देख्छु । अचानक तिमी हराएपछि पुलिसमा खबर गर्न जाऊँ न हिँड भनेको , आउनुहुन्छ पीर नगर्नु भन्दै ढुक्कले बसेकी थिईन् । माआलाई केही भनेर गएका थियौ र छोरा ? “।

फेरि पनि केही भनेर पो गएको थिएँ कि भनेर सम्झिन खोज्यो । अचम्म ! केही कुरा याद आएन  । यी चौध दिनको स्मरण उसको मानसपटलबाट पूर्णरूपमा मेटिएको पायो । ‘किन यस्तो हुँदैछ ?’- असमञ्जस हुँदै भर्याङ उक्लिएर माथि कोठातिर लाग्यो । कोठाको ढोका घ्याच्च धकेल्यो । श्रीमती सोफामा बसेर टिभी हेर्दै रहिछे । हरिभक्तलाई देख्नासाथ माआ यसरी तर्सिएर उठी मानौँ अगाडि साक्षात् भूत देखिदैंछ । एकैछिनमा उनको अनुहार  निलो भएर आयो र बेहोस भएर डङ्ग्रङ्ङ भुइँमा ढली । हरिभक्तले केही मेलोमेसो पाएन अनि आत्तिएर स्वास्नीलाई झटपट समाउन गयो । एक्कासी बिजुलीको झड्का लागेजसरी तत्कालै माआको शरीरबाट हात हटायो ।

उसले प्रष्ट देख्यो – श्रीमतीले उसको खुट्टा समाउँदैछे र उनको अबैध प्रेमीले आफ्नो घाँटीमा नाइनलको डोरीले कस्दैछ । सास थुनिँदै गएको, असह्य पीडाले अनुहार रातो न रातो भएर आँखाको गेडी बाहिर निस्कुलाझैँ गरेको, मुटुको चाल नियन्त्रणबाहिर हुँदै धुक्लुकधुक्लुक भएर उफ्रिएको, स्वास्नीतिर आँखाले याचना गर्दै जीवनको भिख मागेको, हातखुट्टा चलाउने कोसिसमा घुप्प अँध्यारोले छोप्दै लगेको सप्पै  घटना छर्लङ्ग देखिरह्यो । हेर्दाहेर्दै दुई जना मिलेर आफूलाई मारेरै छाडे ।

यो दृश्यले हरिभक्त झसङ्ङ भयो । मन हाहाकार भएर आयो । हातखुट्टा लल्याकलुलुक भएर भुइँमा थचक्क बस्यो  । उसले बल्ल बुझ्यो आफूलाई देखेर स्वास्नी तर्सिनुको मतलब ।  बल्ल बुझ्यो चौध दिन घरबाट हराउनुको रहस्य ।  बल्ल बुझ्यो शरीरमा किन अचम्मको दिव्यशक्ति प्रदान भएको थियो भनेर ।  बल्ल बुझ्यो आमाको मायाको अर्थ । उसले बल्ल बुझ्यो सांसारिक मोहजाल, कपट, षडयन्त्र र धोकाको स्वरूप । तर अफसोस ढिलो बुझ्यो । बुझेर पनि अब अर्थ रहेन  ।

किनकि बेहोस भएर लडिरहेकी स्वास्नीको आडमै उसको शरीर पनि खरानीको थुप्रोमा परिणत हुनथाल्यो । बिस्तारै बिस्तारै ।