“एटि कुडी दुटि पात
रतनपुर र बागिसात”

आँगनमा भएको आँपको रूखमुन्तिर चौकीमा बसेर तल्लीन भइ सोमनाथ गीत सुनिरहेका थिए । रूखको एउटा हाँगामा एउटा ढुकुर “ढुकुरकुर” राग छेड्दै थियो, अर्को हाँगामा पोथी बसेकी थिइ, सायद पोथीलाई फकाएको हो !

मत्थर हावा चलेको थियो । साउन महिनाका घाम ! पानीको बुँद छैन कतै , बिहानै दिउँसो भएको जस्तो भान हुनथालेको छ हिजोआज । के औधी गर्मी हो गर्मी !

गीतको धुनमा सोमनाथ दार्जीलिङको चियाकमान हुँदै असम पस्न आँटेका मात्रै थिए कि “सोमनाथ दाजु ! आज कुन बारीको टिप्नु ?” माहिली थपिनीको अवाजमा उनी झस्किए ।

“ए ! माहिली आयौ ! आज घरबारीको मात्रै टिप । पल्लो बगान रहोस् यो हप्ता , कम्ती टिप्नु भनेका छन् , कलघरमा लिँदैन अरे ।”

“हो र दाजु ! त्यसोभए एकछिन पछि आउँछु है ,मैले नि बाहान बसाको छु (रक्सी) । फेरि हाम्रो गौरीले (कान्छी छोरी) हिजो सुँगुरलाई बेस्सरी कट (जाँडको छोक्रा) खुवाएर बिरामी पारेछ । बडो नसक्नुको भएको छ हाम्रो गौरी ।”

“हुन्छ आएर पस्नु नि ! ढोको( डोको जस्तै तर आकार चाहिँ अलिकति भिन्नै भएको चियापात टिपेर हाल्ने बाँसले निर्मित एक पात्र ) बारीमा छ, हेरेर लानु ।मेरो पनि मन्दिर जानुपर्ने छ, तिमीहरू आएर टिप्दै गर्नु है माहिली, मेरो आउन अलिकति ढिलो हुन्छ , ग्रामसभा छ अरे मन्दिर प्राङ्गणमा ।”
त्यति भनेर लामा फड्का हान्दै सोमनाथ मन्दिर तिर लागे ।

हिजोआज सबै काम बिहानै गर्न थाले मान्छेहरूले, चाहे त्यो सभा होस् या बाजार । बिहान खुट्टा तन्काएर अबेरसम्म सुतिरहनेहरू पनि विवश भए चाँडै ओछ्यान छोड्न ।

“अर्ध लकडाउन” दिएर यो चाहिँ बडा राम्रो काम गर्‍यो सरकारले । दिउँसो १२बजेपछि सबै पसल बन्द , त्यसैले १० बजे दोकानको झाप खोल्नेहरूले बिहान् ६ बजे नै खोल्न थाले । खै ! चल्दो रछ त यसो गर्दा पनि !

राति अबेरसम्म सडकमा घुम्नेहरू अथवा सडक कब्जा गरेर सडकलाई नि आफ्नो घर सम्झेर पसलअगाडि बसेर अड्डा गर्ने युवकहरू पनि बाध्य भए साँझ नपरी घर पस्न थालेका छन् ।

निलीमा आचार्य (असम)

यी सब कुरा सोच्दा सोच्दै उनी कतिबेर मन्दिर आइपुगे थाहै पाएनन् ।

“ए ! सोमनाथ दाइ आउनुहोस् ! हामी सबै भेला भयौं । तपाईंलाई नि पर्खिरहेका थियौं ।”

सोमनाथ सबैलाई नमस्कार गर्दै मन्दिरभित्र पसे । यथासमयमा सभा आरम्भ हुन्छ । सभमा उपस्थित भएका सबै व्यक्तिहरूले (२० जना , गाउँका वृद्धजन) सभापतिको कुरा सुनेपछि त्यसको तीव्र निन्दा गरे साथै यो अनुचित हो हामी सबैले यसको विरोध गर्नैपर्छ , यस्तो अनुचित काम गाउँमा कसरी हुन दिनु भन्दै सबैजना मदन शर्मा, खत्री बाको घर हान्न्निए ।

पहिलोपटक उनीहरूले मदन शर्माको घरमा पस्ने निर्णय गरे ।

गाउँका पन्ध्र-बीसजना मान्छेलाई एकैचोटि घर पसेको देख्दा मदन शर्मा आत्तिए । उनलाई लाग्यो कि “कतै यो हुल चन्दा माग्न त आएको होइन ? कहाँ लुक्नु अब ? देखिहाले । उनलाई के गर्नु कसो गर्नु हुन्छ ! फेरि परिस्थितिलाई नियन्त्रण गर्दै सबैलाई स्वागत गर्छन् ।

एकछिन कुराकानी गरेपछि बिस्तारी सोमनाथ कुरो अघि सार्दै गए

“हेर्नुहोस मदनज्यू ! यो अनुचित हो । स्कुल बन्द छ भन्दैमा तपाईंले ससाना भुराहरूलाई यसरी चियाबगानमा काम लगाउन सक्नुहुन्न । यो बालश्रम हो । अलिकति पैसाको लोभमा उनीहरूले दिनभरि कामगरेको सारा गाउँलेहरूले देखिरहेका छन्, यो सब रोक्नुपर्छ तपाईंले । यो अनुचित हो । हामीले शिशुहरूलाई काम लगाउने केही अधिकार छैन , यो कानुनी अपराध हो ।”

सोमनाथका कुरा सुनेपछि मदन रनक्क राँक्किए । ठूलो स्वरमा टेबुल ठोक्दै बोल्न थाले, “किन कुरा नबुझी मलाई यसरी आरोप लगाउनुभएको । के प्रमाण छ तपाईंहरूसँग कि मैले शिशुहरूलाई श्रममा नियोग गरेको छु भनेर ? मलाई कानुन सिकाउन आउनुभएको ! हजुरहरू जुन बाटो आउनुभएको थियो त्यही बाटो फर्केर जानुहोस । म मानहानिको केस दिनसक्छु अरू केही बोल्नुभयो भने । पर्खिनु अहिल्यै दूधको दूध पानीको पानी हुन्छ ।”

त्यत्ती भनेर उनले “ए ! राकेश एइदिगे आ त !( ए ! राकेश यता आइज त)” भनेर एउटा दस वर्षजतिको केटालाई गाउँलेहरूको सामु बोलाएर सोधे, ” ए ! राकेश ये सबके बाता कि तोके मइ यहाँ मोर बागान मे काम लागालि ?” ( ए ! राकेश तँ आफैं यिनीहरूका सामु भन त के तँलाई मैले हाम्रो बगानमा काम लगाएको छु ?)

“ना ! मइ मोर बाप के साथ आलि रहि । एम्ने बागान मे बाप के साथ थाकलि रहि”( होइन ! म त यहाँ मेरो बाउसँग आएको,बगानमा पनि बाउसँगै त्यत्तिकै पसेको थिएँ ।)

अब गाउँलेहरूले के भन्नु ! नमस्कार गर्दै बिदा मागे मदनसँग ।

उनीहरूलाई बुझ्न् बाँकी रहेन कि दालमा केही कालो छ । सबैजना घरघर जान लागे , कतिपयले भने, “भो अब ! राकेश , राकेशको बाउ , मालती सबै खुसी छन् भने हामीले बोल्नुपर्ने केही छैन ।”

त्यत्तिकैमा एउटा सानो केटो दगुर्दै आएर त्यो हुल चिर्दै पस्छ । सास न बास हुँदै भन्न थाल्छ, ” सोमनाथ बाजे ! सोमनाथ बाजे ! तपाईंको कुरा ‘डि वाइ’मा आउँदैछ । सबैतिर हल्ला भएको छ कि सोमनाथ बाजे बालमजदुरी गराउँछ भनेर । तपाईंको बगानको भिडियो न्यूज च्यानलमा आउँदैछन् ।”

लु ! के भएछ यस्तो ! केटाकेटीलाई भगवान्को रूप मान्ने सोमनाथलाई बालश्रम गराउनेको आरोप !! आफ्नो युक्ति , कर्म र परिश्रमको निम्ति पूरै गाउँकै सम्मानित व्यक्तिमध्ये एक हुन् सोमनाथ । सारा गाउँको पूजाआजाको हिसाब-किताब , न्याय-अन्यायको बिचार सोमनाथले गर्छन् । दसैंको आयोजना गर सोमनाथ , यसो गर सोमनाथ ! हरेक खण्डमा सोमनाथ । मानौं सोमनाथ गाउँको मियो हुन् । मान्छेले भन्दै भन्छन्, “सोमनाथ दाजुजस्तो हकमा बोल्ने मान्छे पूरा गाउँमा नै छैनन् । उनी कसैको चाराना खाँदैनन् कसैलाई चाराना पनि दिँदैनन् । खुब मिहिनेत गर्छन् । न अर्काको लोभ गर्छन् न आफ्नो केही चीज कसैलाई सित्तैमा दिन्छन् ।”

यस्ता भलाद्मी मान्छेलाई आज बालश्रम गराउँछ भन्ने आरोप !!

यो संसार यस्तै छ , उपकार गर्नेलाई अजिङ्गरले खान्छ । यहाँ आजकल रावणराज चल्छ ।

माइलीको सुँगुर बिरामी भएकोले उसको घर बूढोसुँगुर मार्न थालेछन् र उनले आफू घरमा बसेर छोराछोरी र भितिजीलाई पठाइछन् पात टिप्न । तीनजना भूरा सोमनाथको चियाबगानमा पात टिप्दै गरेरो भिडियो हावाको भरमा चारैतिर फैलिएछ । कुन दुश्मनले यस्तो काम गर्‍यो भगवान जानुन् ! तर जे टिभीमा देखाउँछ जनताले त्यही हेर्छन्, सुन्छन् अनि त्यसैमा विश्वास पनि गर्छन् ।

हेर्दाहेर्दै सोमनाथ दोषी सिद्ध भए ।

सबैले यसको निन्दा गरे । सोमनाथलाई बालश्रमिक नियोगको आरोप लाग्यो । दुईचार दिन यो न्यूज सामाजिक सञ्जालको भित्ता भित्तामा झुन्डियो । कुरो नबुझी कतिपयले मोबाइलमा स्टेटस राखे । सोमनाथको फोटोमा नानाथरीका विशेषण प्रयोग भए । सारा राज्यले निन्दा गर्‍यो उनलाई ।
तर भन्छन् नि जसको कोही हुँदैनन् त्यसको भगवान् हुन्छन् । झुटो जस्तै ठूलो किन नहोस् आखिरमा सत्यको जीत हुन्छ नै । सोमनाथ साँचा थिए , त्यसैले उनको जय भयो । उनले साथै गाउँका धेरै जसो व्यक्तिहरूले न्यूज च्यानललाई त्यो भिडियो बिना म्युजिकमा देखाउन भने । जब बिना म्युजिकको भिडियो आयो तबमात्र पर्दा पछिको दृश्यको खुलासा भयो । त्यो भिडियोमा बच्चा तीनजनाको वार्तालाप पनि रेकर्ड भएको रछ जहाँ उनीहरूले भनेका रछन्, “आज आमाले हामीलाई यहाँ पठाउनु भयो पात टिप्नु ! सोमनाथ बाजेले आमालाई अब गाली गर्नुहुन्छ ।”

कुरामा कुरो मिलाउँदै बहिनीले भनी, “हो त दाइ ! मैले घरमा काम गरेको देख्दा नि बाजे आमालाई भन्नुहुन्छ, “माहिली ! यो बच्चाको खेल्ने-कुद्ने समय हो, यसरी यी साना हातमा कुँचो नथम्यौ ! हुँदैन नानीहरूलाई काम लगाउन । अँ ! सोमनाथ बाजे त सोमनाथ बाजे नै हुन् । पल्लो गाउँका ती मदन बाजे त सधैं केटाकेटीलाई पात टिप्नु लगाउछन्, त्यो पनि तीस रुपियाँ मात्र दिएर । एकदिन त मेरो साथी रविले २० केजी पात टिपेछ ,मदन बाजेले तीस रुपियाँ मात्रै दिएछन् । केजीको पाँच रुपियाँ हुँदा नि सय रुपियाँ हुन्थ्यो ।”

“रवि त्यसैले जाँदैन मदन बाजे घर । खाना दिँदा पनि मासुका चोक्टा नदिएर हड्डी मात्रै दिन्छन् रे । माछाको तिँहुन भएको दिन टाउको र पुच्छर मात्रै रविको भागमा पर्थ्यो रे ! ”

यति सुनेपछि अरू केही बोल्नु परेन । कुरो छर्लङ्ग भयो ।

फेरि न्यूज प्रचार भयो, “सोमनाथ निर्दोष व्यक्ति हुन् । हामीलाई गलत खबर आएछ । असल दोषी मदन शर्मा हुन् । उनी बच्चालाई उनको बगानमा पात टिप्न अथवा अरू काम लगाउछन् भन्ने हामीले प्रमाण पाएका छौं । यी हेर्नुस् तीन बच्चाको वार्तालाप ।”

आज त्यहीँ आँपको रूखमुन्तिर बसेर सोमनाथ एउटा कथा पढ्दैछन् , सिमसिम पानी पर्दैछ मीठो चिसो बतास चलिरहेको छ । कथाको शीर्षक रहेको छ, “सत्यमेव जयते” ।