कथा : वेटिङ टिकट

यो मन धेरै चञ्चल एवं अस्थायी रूपमा वास गर्ने पाहुना स्वभावको हुन्छ । सप्तरङ्गी इन्द्रेणीको रूप जस्तो अनेकौं रङ्गमा धेरै थरीका कुराहरू समाहित गरेर राख्दछ । यसको विचरण गर्ने बानीलाई एकै ठाउँमा पालेर राख्न धेरै गाह्रो हुन्छ । अहिले वर्तमानमा छ भने अर्को क्षणमा भूतमा जान्छ अनि त्यसपछि भविष्य सपार्न थाल्छ । धेरै कुरा अरूलाई साझा गर्छ त अनेकौँ कुरा मुठ्याएर भित्र राख्दछ । क्षणमै भूत अनि भविष्यमा कोहीसँग भेटेर वर्तमानमा आई रमाउँछ । चाहेका कुरा एवं बुनेका सपना पलमै जिउन सामर्थ्य पनि राख्दछन् । यसले प्रेमका अनेकौं रूप बोकी जीवनका चौतारीमा बिसाउने अनि रोप्ने गर्दछ । मनमा थरीथरीका भावहरू गुम्सिएर बसेका हुन्छन् ।

यही मनको आदेशमा उसँग क्षणिक साथ बिताएको मिठो पल शब्दमा गाँस्न लाग्दैछु । जब जब रेलयात्रा गर्छु अनि चाँडै निद्रा नलाग्दा आँखा बन्द गरी मनको सवारीमा दुनियाँ भ्रमण गर्छु तब उसलाई खोज्न यो मन लालायित हुन्छ । जीवनका पाइला लाखौं अघि सरे तापनि यो हृदयको बगैंचामा उसको झझल्को फूलको बासना स्वरूप मगमगाई रहन्छ । उससँग नबोले, नभेटे पनि यो मनले उसले दिएको पललाई याद गरेर रोमाञ्चि भइरहन्छ । सायद त्यो पल उपरान्त भेट्ने या बोल्ने अवसर पाएको भए त्यो पलको सम्झनामा ओझेल पर्थ्यो होला तर त्यही क्षणमात्रको सान्निध्य बोकेर हिँड्दा अर्कै हर्क मनमा रसाएर आउँछ । बादल एकै ठाउँ नबसी विभिन्न क्षेत्रमा शीतल एवं वर्षा बनेर खुसी साथै सृजनको काम गर्ने गर्छ । यो मेरो मन पनि त्यही बादल सरी उडिरहन्छ आफ्ना अतीतका पाइला खोज्दै, यादको वर्षा बनेर हर्षित हुँदै ओइलाएको कोपिलालाई ऊर्जावान पार्न खोज्दछ ।

धेरै वर्ष बित्दा पनि उसँग जिएका पल हिजो जस्तो लाग्छ । दसैं आउन लागेको समय हो । म लाखौं कोस टाढा काम गर्ने, दसैंमा घर जाने फ्लाइट टिकट दुई महिनाअघि गर्दछु । गोर्खालीको ठुलो चाड दसैंले विशेष महत्त्व राख्दछ । घरीघरी घर नगए पनि दसैंमा सबै भेला भएर रमाइलो गर्ने सबैको प्रयत्न ठुलो हुन्छ । म पनि घर जाने सपना लिएर औंला गन्दै उत्सुकतासँग दिन काट्न लाग्छु ।

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

टिकट भएको दुईदिनअघि समाचार सुन्छु- ‘किंगफिसर एयरलाइन्स ऋणमा डुबेर दिवालिया हुनाले सबै सेवा बन्द गर्दै छ ।’ गहिरो निद्रामा सुतेको बेला चट्याङ सुने समान मेरो मन झस्किन्छ । दसैंमा घर जाने सपना चुक्नाचुर हुन गएकाले मन द्वन्द्व गर्न पुग्छ, के गरूँ? कसो गरूँ? दुई महिनाअघि आउने-जाने टिकट सस्तो हुन्छ भनेर गरेथें । अब तत्काल अरू एयरलाइन्समा गर्दा खल्तीले साथ दिन सक्ने अवस्थामा हुन्न । सबै पैसा आउने जाने यात्रामा सक्नु पनि भएन । दसैंमा जाँदा सबैलाई लुगाफाटो लानु पर्यो, किनमेल गर्नु पर्यो । ‘के गरूँ के गरूँ?’ प्रश्नमा, रेलबाट जाने सुझाव आफैं पाएँ । तर भारतीय रेलवे रिजर्वेशन प्रणाली झ्याउ लाग्ने छ । तीन महिनाअघि टिकट लिँदा पनि कन्फर्म पाइँदैन । एउटै विकल्प पाउँछु- कन्फर्म या वेयटिंग रेलवे टिकट लिने त्यही पनि तत्कालमा ।

भोलिपल्ट पाँचै बजे बिहान उठेर रेलवे स्टेशन कन्फर्म टिकट लिने क्रममा लामो कतारमा उभिन्छु । कन्फर्म टिकट पाउने चेष्टामा मन अधिर हुन्छ । कन्फर्म टिकट भेटिन भने दिल्लीदेखि तिनसुकियासम्मको यति लामो तीन दिनको यात्रा कसरी गर्नु ? उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल जुन राज्यमा जनसंख्या शीर्षमा छ, यी राज्यबाट हुँदै जाने रेलमा आसाध्यै भीडभाड हुन्छ ।

अन्तमा भोलिपल्ट राति बाह्र बजे जाने ब्रह्मपुत्र रेलमा वेटिङ् टिकट पाउँछु । कसरी जानु ? अहिलेबाट मनमा पिर लाग्छ । तर जान त जरूरी नै हो, आखिर दसैंमा घर जाने चासो अर्कै हुन्छ । अविवाहित हुनाले पनि होला, घर जाने आँट चाहिँ मज्जाले पाउँछु ।

सोह्र नम्बरको प्लेटफार्म खचाखच भरिएको । कुनै ट्रेन समात्ने होडमा हुन्छन्, कुनै प्रतीक्षामा बसेका त कुनै कुल्लीलाई सामान बोकाउँदै गरेका । जे अनुमान गरेको त्योभन्दा भीड प्लेटफार्म देख्दा यात्रा सुखद नहुने रहेछ भन्ने कुरो अड्कल गर्न लाग्छु । छिटो हिँड्नुभन्दा मनको गति तेज हुँदै उपाय सोच्न थाल्छु । कुनै गोर्खाली यात्रीका साथ चढ्छु अनि उनीहरूसँगै अलिकति भए पनि बसेर जान्छु । यही उपायमा यताउता हेर्दै अघि बढें । एकाएक एउटा गोर्खाली परिवारलाई देखें । लोग्ने-स्वानी, काखमा नानी अनि साथमा एउटी युवती । यो गोर्खाली परिवार छोडेर मेरा पाइला अघि बढेनन् । उनीहरूको छेउमा उभिन्छु । शर्म पचाएर भए पनि परियच अनि घुलमिल हुन प्रयास गर्छु । समयले माग पनि यही गरेको छ ।

‘हजुरहरू कहाँसम्म जाने ?’ म बोल्न सुरूवात गर्छु ।

‘सिलगढीसम्म’ लोग्ने मान्छे अगाडि नबोल्ने हिसाबमा रूखो स्वरमा जवाफ दिन्छ । उसको आशय मैले बुझे तापनि अघि बढ्ने स्थितिमा आफूलाई पाउँदिनँ । मजबुर पनि थिएँ अनि साथमा उभिएकी युवतीको प्रभावको बासना छरिएको अर्को कारण ।

‘हजुरहरूको टिकट कन्फर्म छ ?’ पुनः अर्को प्रश्नको पासा फ्याँक्छु ।

‘छ’ यो उत्तरमा पनि रूखोपन ती दाइले देखाए । मलाई पनि यही प्रश्न गर्छन् कि भन्ने आशा गरें, तर चासो नै उनीहरूले राखेनन् । प्रश्न नपाई आफैं भन्छु ‘मेरो टिकट चाहिँ कन्फर्म छैन’ केही जवाफ आउँदैन । खिस्रिक्क पर्ने अवस्थामा हुन्छु तर अर्को गोर्खाली टोली खोज्ने मेरो मनमा आउँदैन ।

ट्रैनका ढोका खोलिए । मान्छे व्याग बोकेर चढ्न लागे । मेरो एक ठुलो व्याग र पिठमा सानो व्याग भिरेको हुन्छु । सङ्गीत सुन्न रूचि राख्ने म, कानमा एयरफोन ठुसिराखेके छु । उनीहरूका निकै व्याग हुन्छन् । घुलमिल हुन मलाई उपाय सुझ्यो- ‘एउटा सानो व्याग बोकिदिन्छु’ बोक्नलाई सानो व्याग समातेँ ‘बोकीदिन्छु ल’ भन्दै । ‘पर्दैन भाई, तिमी आफ्नो बाटो लाग’ त्यही रूखो जवाफ पाएँ । दुइटा व्याग दाइले बोके, दिदीले नानी च्यापेर सानो व्याग बोकिन् अनि युवतीले एउटा व्याग बोकेर सबै हिँडे । उपाय थिएन पछि पछि लागें । पहिले दाइ चढे फेरि युवती । ती दिदी नानी र व्यागसँग चढ्न नसक्दा ‘दिनुहोस् हजुरको व्याग’ भन्दै उनको व्याग मैले लिएर चढें ।

सिटमुनि सबै व्यागहरू लोग्नेले सेट गरी सक्छन् । म पनि अलिकति बाँकी ठाउँमा घुसार्छु । पानीको बोतल अनि केही खाने कुरा दिएर दाइ बिदा लिँदै भन्छन् ‘राम्ररी जानू । नचिनेका मान्छेसँग नबोल्नू, दिएको चीज केही नखानू ।’ मलाई लक्ष्य राखेर भनेको जस्तो लाग्यो । हुन पनि म पछिपछि लागेको देखेर नै भनेका थिए होलान् । उनी जान्छन् ।

रेलमा बेस्सरी भीड छ । सिटमा ठाउँ नभएर भुइँमा बिस्तरा ओछ्याएर बसेका । दसैं-तिहार र छठपूजा नजिक भएकाले पनि होला यस्तो भीड । नानी साथ लिएर दिदी झ्यालतिर बसिन् अनि छेउमा त्यो युवती । ठाउँ बनाएर मलाई ‘बस्नु न’ भनी । जुन लक्ष्यले पछिपछि आएको थिएँ, यो सुन्दा गर्मीले हपहप हुँदा पंखा गर्नु जस्तै लागेर काखमा ब्याग राखी बसें ।

म मोबाइल निकालेर गाना लगाउँछु अनि पुनः एयरफोन कानमा । गाडी हिँड्न लाग्दा गाना बन्द गर्छु । दिदीले सोध्छिन्-

‘भाई कहाँसम्म जाने ?’

‘दिदी, तिनसुकियासम्म’

‘हजुरहरू कहाँबाट हुनुहुन्छ ?’

‘दार्जीलिङ्बाट ।’

‘ए ए।’

यति गफ हुँदा अलिक मन हल्का हुन्छ । युवतीसँग अझसम्म मेरो कुरा भएको हुँदैन । मलाई गर्न मन लाग्छ । तर निहुँ केही छैन । गाडी आफ्नो गन्तव्यको बाटो लाग्यो । मैले फेरि गाना सुन्नलाई एयरफोन कानमा राखें । एउटा एयरफोन युवतीतिर दिँदै ‘गाना सुन्ने?’ भनेर प्रस्ताव दिन्छु । ‘हुन्छ’ भनेर कानमा राख्छे एयरफोन । अघि मेरा हरेक पासा फेल भएका अब सफल हुन लागे । युवती कस्ती थिई भन्न बिर्सेछु । एकै शब्दमा भन्दा ‘मक्खः पर्ने थिई । राई-लिम्बू-तामङ जस्तो अनुहारको बनावट थियो । बस्ने सिट त भेटें भेटें साथमा यति राम्री युवतिको यात्रामा सफर भेट्दा ‘पानी खान गएको अमृत भेट्यो’ उखान जस्तो भान मलाई लाग्छ । हामी बसेको सिटको विपरीतमा तीनजना फौजी थिए । फौजी हुनाले पनि सुरक्षाको पुख्ता इन्तजाम । दिदी र युवतीको सिट तल र माथिल्लो हुन्छ । बीचको सिट मान्छेले सिधा पारेर सुत्ने तर्खर गर्न लाग्यो । सिट सिधा गरेपछि तल बस्न मिलेन । नानीको सुत्ने बिस्तरा बनाउन लाग्छिन् दिदी ।

‘दुईजना माथि गएर बस न’ दिदीले भनिन् । टिकट कन्फर्म नभएकालाई सहजमाथि सहज हुँदै जादैछ । पहिले ऊ माथि चढी त्यसपछि म । ओढ्ने ठुलो च्यादर लिएर म चढ्छु । ऊसँग थिएन । एकै सिटमा मिलेर सुतौंभन्दा पनि नहुने, अनजान यात्री त्यही पनि कुरा धरी भएको छैन । माथिल्लो सिटमा भित्तापट्टी रेलको छानाको गोलाई आकार हुँदा उचाइ कम हुनाले बस्न गाह्रो हुन्छ । छेउतिर दुईजना बस्दा टासिएर बस्न बाध्यता नै हुन्छ । मौसम जाडो-जाडो हुनाले खुट्टामा च्यादर राखेर गफ गर्ने सिलसिला सुरू भयो ।

‘के नाम हो तिम्रो?’

‘अनिता तामङ अनि हजुरको?’

‘नरेश, तिमी दिल्लीमा जव गर्छ्यौ?’

‘होइन, म दिल्लीमा घुम्न गएकी थिएँ । तल भएकी मेरी दिदी हुनुहुन्छ । अघि हामीलाई छोड्न आउने चाहिँ भिनाजु । अनि हजुर के गर्नुहुन्छ?’

‘म दिल्लीमा कम्पनीमा काम गर्छु । धेरै साल भयो आएको । अनि कस्तो लाग्यो दिल्ली?

‘ठिकै हो । धेरै गर्मी रहेछ दिल्लीमा । घुम्ने ठाउँ एकै हप्तामा सकिहाल्यो । दुई-तीन महिना एकै रूममा बस्दा वाक्क भएँ । बसेको छ, बसेको छ ।

‘ए ए’

यसरी निकै बेर गफ भयो । दुवै जनाले प्रश्न माथि प्रश्न । निकै सहज भयौं एकअर्कामा । कुरा गर्दा थाह पाएँ कि ऊ यति राम्री भए पनि पढाइ चाहिँ कम गरेकी रहिछे । साधारण परिवारकी । शर्माएर बोले पनि दिल खोलेर बोल्ने । फ्लाइट केन्सल गरेर भगवानले सुखमय यात्रा चाहिँ दिएछन् भन्दै मन नै मन कुरा खेलाइरहें । एकै एयरफोनमा दुवैले गाना सुन्यौं । उसलाई भिनाजुले नयाँ मोबाइल किन्दिएको रहेछ । फोटा देखाई, भिडियो देखाई । रात निकै गइसक्यो । दुई युवा-युवती छेउछेउ बस्दा दुवैलाई कहाँ निद्रा आउँदो रहेछ ? तर पनि सुत्ने उसले तर्खर गरी ।

‘दुवै त सुत्ने ठाउँ छैन । सानो ठाउँमा मिल्दैन पनि । यसो गरूँ, पालैपालो गरेर सुतौं । हजुरले च्यादर ल्याउनु भएछ । मलाई त थाह पनि थिएन यति जाडो हुन्छ भनेर ।’

‘मैले गर्दा गाह्रो भयो है । नआएको भए आनन्दले सुत्थ्यौं होला ।’

‘ए त्यस्तो केही नसोचे हुन्छ । गाह्रो हुँदा मान्छेलाई सहायता नगरी कहिले गर्नु?’ उसको जवाफले खुसी लाग्छ मलाई ।

‘तिमी पहिले सुत न त । म बस्छु ।’

‘हुन्छ’ भनेर मेरो च्यादर ओढेर सुती । म कानमा एयरफोन लगाएर बसें । उसले खुट्टा पसार्दा घुँडा र तिघ्रा मेरो छेउमा लमतन्न हुन्छ । म बसी बसी निदाउने प्रयास गर्छु तर निद्रा पटक्कै लाग्दैन । लागोस् पनि कसरी छेउमा सुन्दर युवती आफ्नो सुन्दरता ओछ्यार सुतेकी छे । उसको खुट्टाले मलाई छोइरहेको हुन्छ । ऊ निदाई कि भनेर दृष्टि घुमाएँ । आँखा बन्द थिए तर घरी यता घरी उता फर्किरही । शायद ऊ पनि सुत्न सकेकी थिइन । मेरो मनमा असहजता भएजस्तै उसको मनमा पनि भएको थियो होला ।

फेरि म सुत्ने प्रयास गर्छु । जाडो लाग्छ तर पालै पालो सुत्ने कुरा भएको छ । मेरो पनि खुट्टा च्यादरले उसकै खुट्टा छोपेको ठाउँमै छोपेको छु । बसी बसी जिउ गल्यो । टाउको उसको घुँडामा राखें । उसले केही असहज मान्ने हो कि भनेर डर डर लाग्यो । मैले ऊतिर हेरें । उसका आँखा खोलिएका रहेछन् ।

‘मैले टाउको राखेर सुत्न अप्ठ्यारो त भएन?’

‘छैन छैन । हुन्छ राखेर सुत्नु नि’

‘हुन्छ’

अघि अलिअलि लागेको निद्रा पनि सबै हरायो । अघि बस्न अप्ठ्यारो लागेको पनि समाप्त हुन्छ । मनमा डर डर अनि कुतिकुति लाग्छ । घरी सिधा भएर बस्छु घरी उसको घुँडा अनि तिघ्रामा टाउको राखेर सुत्ने प्रयास गर्छु, तर निद्रा रेलको इन्धन भएर काममा व्यस्त भएछ । मनको कुत्कुतिले उसको तिघ्रासँग जिस्किन लाग्यो । उसले नीलो रंगको जिन्स पेण्ट लगाएकी थिई । उसको जिउ खाइलाग्दो हुनाले पनि जिन्स टाइट भएको थाह लाग्थ्यो । औँलाले जिन्समा उसलाई थाह हुने गरी कोट्याएँ । उसको केही प्रतिक्रिया नआउँदा म सहज हुन्छु । मेरा दुवै गाला पालै पालो उसको घुँडा-तिघ्रामा राख्दै मनको कौतुहलता सामाप्त गर्न लाग्छु । तर यो मनको जति पाइला सफल हुन्छ त्यति नै अर्को सफलताका लागि अग्रसर हुन्छ । बदमासे मन । तर यहाँ बीचमा जुन डर छ त्यसले विजय प्राप्त गर्छ ।

यसरी दुई घण्टा बित्छ । ऊ उठेर ‘लु अब हजुरको पालो’ भन्छे । ‘निद्रा पुग्यो र?’ औपचारिकता गर्दै प्रश्न गर्छु । ‘पुग्यो’ निद्रा पुगेको स्वाङ् गरेर जवाफ फर्काउँछे ।

म च्यादर ओढेर सुत्छु । मेरो निद्रा अर्कै काममा अझै व्यस्त छ । म सुत्दा पनि मेरा खुट्टा-तिघ्रा त्यरी नै उसको शरीरलाई छुँदै लडेका हुन्छन् । मलाई कस्तो असहज लाग्छ कतै मेरो गुप्ताङ्ले उसको शरीरलाई स्पर्श नगरोस् । म भित्तापट्टी फर्केर सुत्छु । आँखा बन्द गर्छु तर निद्रा आउँदैन । सायद अघि दुई घण्टा ऊ पनि यही हालमा सुतेकी थिइ होला मनले सोच्न थाल्छ । केही समय उप्रान्त उसले पनि मेरो घुँडामा टाउको राखेर सुत्छे । सहजताको प्रतिशत अझ मनमा बढ्छ । मनले आफ्नै मनसँग गफ गर्दा गर्दै निद्रा आएर मलाई आफ्नो दुनियाँमा लान्छ ।

तीन घण्टा जति बित्ता म ब्यिँझिन्छु । फेरि निदाउने प्रयास गर्छु तर अघिका मनका कोपिलाहरू जागृत भएर निदाउन दिँदैनन् । म उठेर बस्छु ।

‘निद्रा पुग्यो र? एक छिन् अझै सुत्नु नि ।’

‘होइन! निद्रा पुग्यो । अब तिमी सुत ।’ ऊ सुती । म त्यही अघिको हाल अनि चालमा बस्न लाग्छु ।

घामले दर्शन दिन्छन् । रेल आफ्नो गन्तव्यतिर गतिमान भइरहेको हुन्छ । भित्र खुट्टा राख्ने ठाउँ हुँदैन । जताततै मान्छे बसेका, सुतेका । कसो कसो गरेर म लघुसंख्या गरेर आउँछु । ऊ पनि उठेपछि ट्वाइलेट जाने स्थिति सोध्छे । मैले त्यो भीडभाडको हाल भन्दा उसले मलाई भन्छे-

‘मेरो साथी जाउ न? मलाई डर लाग्यो यो भीड देखेर ।’

म सहर्ष तयार भएँ उसको मद्दत गर्न । पहिले म उत्रेँ । ऊ उत्रिँदा हात समातेर उसलाई झर्न सहायता गर्छुं । उसकी दिदीले देखिन् तर केही भनिनन् ।

‘कहाँ जाने अनिता?’ उसकी दिदीले उसलाई प्रश्न गरिन्।

‘ट्वाइलेट, हेर्नु न कति भीड छ खुट्टा हाल्ने ठाउँ धरी छैन । वहाँ मेरो साथी जाँदै हुनुहुन्छ।’

‘ए, ल ल हुन्छ ।’

हामी जान लाग्यौं । आइजाइ गर्ने मान्छे अनि सामान र खाने कुरा बेच्नेहरू हिँडेकाले पनि एक पाइला सार्न गाह्रो । झन् जवान केटीलाई त उपाय थिएन । तर यो बखत म उसको रक्षकको रूपमा हात समातेर उसलाई अघि सार्न लागें । अघि आउने मान्छेसँग आफैं ठोक्किएर बचाउँछु । यति भयंकर भीड छ कि दुइतिरका मान्छेले धक्का दिँदा हामी दुवै स्वतः आलिंगनमा पर्न जान्छौं । आलिंगनबाट बाँचे अरूमा ठोक्किन स्वभाविक थियो । उसलाई अरूसँग ठोक्किनुभन्दा मसँग आलिंगन हुनु नै सहज भएको जस्तो भान लाग्छ मलाई । हिजोदेखि समय बिताएकाले होला एउटा मनमा अपनत्व जाग्यो । अरूले उसलाई स्पर्श गरेको ठीक लागेन र हरसम्भव प्रयास गरी बचाउँदै लान्छु । उसको ट्वाइलेट क्रिया उपरान्त गए जसरी नै हामी दुई अनजान यात्री फर्कियौं आफ्नो सिटमा ।

केही बेर हामी तल बस्यौं । फौजीहरूसँग कुरा भयो । दिदीसँग कुरा भयो । खाने कुरा पनि साझा गर्दै खायौं । दिनमा पनि धेरै समय दुवैले माथि बसेर काट्यौं ।

रातिको खाना भएर माथि बस्दा कुरा सुरू हुन्छ । आज हामी सहज भएका हुन्छौं, सरल हुन्छौं । धेरै दिनदेखि चिनेजानेका साथी समान । मोबाइल खेलाउँदा कुरा कुरामा मैले उसको फोटो लिन खोजें तर ऊ सर्माएर मानिन ।

‘हामी साथी भयौं है?’ उसले भनी ।

‘हो नि, हामी साथी भयौं । भोलि त तिमी एनजेपीमा उत्रिहाल्छेऊ । फेरि कहिल्यै भेट हुँदैन होला । नम्बर देऊ न कहिले कहीँ फोनमा कुरा गरौंला ।’

‘यो मेरो दिल्लीको नम्बर हो, अहिले पनि नम्बर सेवामा छैन । दार्जीलिङको नम्बर लिएकी छुइँन ।’

‘फेसबुक प्रयोग गर्छ्यौ ?’

‘मेरो फेसबुक आइडी बनाएको छैन ।’

सम्पर्क गर्ने केही साधनको उपाय नपाउँदा मैले पनि जोड दिइनँ । आज पनि हामी पालो पालै सुत्ने योजना गर्यौं ।

‘लु है बडीगार्ड, म पहिले सुत्छु अनि त्यसपछि हजुर सुत्नुहोला ।’ आज म उसको बडीगार्ड भइसकेछु । उसको भनाइमा मुस्कान थियो, अपनत्व थियो अनि धरै कुरा थियो जो मैले आधी कुरा बुझ्न सकिनँ । आज मेलै उसको घुँडामा सुम्सुमाउँदा पनि अवरोध नदेख्दा मेरो अर्को पाइलाको रूपमा गालामा चुमुँ कि भनेर मनमा आउँछ तर फेरि डर बीचमा आएर बाधा बनिन्छ । न म निदाएँ न ऊ । केही घण्टा बितेपछि ऊ उठी अनि म सुतें ।

बिहानको सात बज्न लागेको रहेछ । सामान पैक गरेर उसले मलाई खुट्टामा हल्लाउँदै भनी ‘बोडीगार्ड उठ्नु । हाम्रो उत्रिने स्टेशन आउन लाग्यो’ म उठें । स्टेशन पनि आयो । मैले र उसले सबै सामन बोकेर बाहिर निकाल्यौं ।

‘भाइ राम्ररी जानु ल ’ उनकी दिदीले भनिन् ।

‘हुन्छ दिदी ।’

‘बाइ’ उसले पनि मसँग मुस्कान सहित बिदा लिँदै सामान बोकेर आफ्नो बाटोतिर फर्की । म पुनः रेल चढें । एक छिन् त शून्य अनि नरमाइलो लाग्यो ।

त्यही सिटमा आएर बस्छु । त्यहाँ भएको एउटा फौजीले मलाई प्रश्न गर्छ- ‘तेरो परिवार त उत्रियो, तँ किन नउत्रेको ?’

‘ती मेरा पारिवारिक सदस्य थिएनन् । मेरो टिकट कन्फर्म नहुनाले उनीहरूसँगै दिल्ली प्लेटफार्मदेखि साथमा आएको थिएँ ।’