आज पनि बलेले डँडेल्नोमा नीलो डाम देखायो । विचरा अल्पशिक्षित गाउँले स्वास्नीमान्छे भुन्टीले के पो गरोस् ! दिनभरि दाउरा चिर्नु, नभए महाजनको बालीमा दिनभरि चर्को घाम खपेर भोकै र तिर्खै कोदालो बञ्चरो गर्ने बले बेलुकी पख च्यान्टीको भट्टीमा पसेर घाँटी रसिलो पारेर आउँछ । भुन्टी रिसाएजसो गरे पनि बलेलाई साह्रो माया गर्छे । जिउ दुखेमा निको हुन्छ भन्ने विश्वास गरिन्छ यो एकघुडकी रक्सीले । बिहे भएको भन्दा पनि बलेसँग भुन्टी भागेर आएको यो असारमा सातसाल पुग्यो । यतिबेलासम्ममा भुन्टी र बलेको निजी कमाइ काखको नानीसमेत दुई छोरा दुई छोरी हुन् । दुई जनाको कमाइ छ, पाखुरा बजारो खायो । हिजोआज बले केही ढिलो र अलिक धेरै मातेर घर आउन थालेको छ । भुन्टीले केटाकेटीको चिहिलबिहिल थान्को लगाउँदा र कामधन्दा सकेर त्यो सानो केटोलाई लाम्टा चुसाउँदा रात छिप्पिएको थाहै नहुने । यस्तैमा अस्तिको जस्तो आज पनि डँडेल्नोमा झन्टाडैबाट देखिने नीलो डाम देखाउँदै र बर्बराउँदै बले भित्रियो ।
“छ्या अब ता बाउले कमाएर आफैं खाएर सक्न लागेछन् । यस्तो औधी मात लाग्ने गरी रक्सीजाँड खाएपछि न ज्यानले थामोस न पैसाले पुगोस् । भन्दाभन्दै अब बोक्सीले आँखा बिसाउने ठाउँ पो भैसकेको रहेछ । भोलि बिजुवा दाइलाई देखाउनु पर्छ कि क्या हो । अब अलिकति भात खाएर घुत्रुक्क सुत्न पर्छ । धेरै हल्लाखल्ला गर्ने होइन नि । नानीहरू बल्ल निदाउन लागेका छन् ।”
चिमको चाङ्गमा पल्टेको बले ऐयाआत्थु गर्दै थियो, भुन्टीको मायापूर्ण आदेशमा चुप लाग्न बाध्य भयो । अक्सर केटाले केटी भगाएर लान्छन्, तर बलेलाई चाहिँ पक्कापक्की भुन्टीले भगाएकी थिई । त्यसैले बले बढी भुन्टीसँग मुखमुखै लाग्दैन थियो ।
गाउँबुढा जेठाउ थोरै बोल्ने भए पनि गाउँघर आफ्नो अख्तियारभरिको सबै मान्छेको सञ्चो बिसञ्चो, सबैकुरा विचार गरिहिँड्ने स्वभावका छन् । यता आज चार पाँच महिनादेखि कोरोना व्याधिको कारणले गाउँबाट बाहिर टाढा दिल्ली, मुम्बाई हुँदो कमाउन गएका केटाहरु पनि आ-आफ्नो घरमा आएर बसेका छन् । कमाएर लिएर आउने, बाबुआमाको रेखदेख चिकित्सा गर्ने, यसो सानै भए पनि पक्काको खम्बा गाडेर टिनको छानो हाल्ने काम पनि गाउँ घरमा हुँदैछ । यस्तो देख्दा गाउँबुढा जेठाउ निकै खुसी भएको बुझिन्छ ।
तर यीमध्ये दुईचार जना केटाको चाल राम्रो छैन । यिनीहरूले अलिक दिनदेखि गाउँमा रक्सीजाँड खाएर मातेर गाउँघरमा एउटा नरमाइलो वातावरण बनिनमा मलजल गरेको बुझेका छन् गाउँबुढाले । थाना कचहरी गर्न पनि आफ्नै गाउँको मान्छे, उँहु मनले नमान्दा नमान्दै समस्या निकै जटिल भएको छ । ती ठुटे केटाको सिको सिकेर त्यो भुन्टीको पोइ बले पनि निकै बिग्रिन लागेको कुराले गाउँबुढा जेठाउ चिन्तित छन् । केही त गर्नैपर्छ, उनको सोच ।
गाउँबुढा जेठाउको असल नाम जितबहादुर हो । उनका बुबा नरबहादुर पनि सरकारी गाउँबुढै थिए । नरबहादुर बितेपछि जेठो छोरो जितबहादुरलाई गाउँबुढाको दायित्व परेको हो । यता जेठो छोरो, उता गाउँबुढो भएकोले जितबहादुरलाई सबै जना गाउँबुढा जेठाउ भन्दाभन्दै, ससाना नानीहरु गाउँबुढा जेठाउ भन्दा मान्छे चिन्ने तर जितबहादुर भन्दा को हो को भने जस्तो अवस्था छ । जे होस्, गाउँघरमा सबैखाले मान्छे हुन्छन् यस गाउँमा पनि छन् । दुईएक जना लुकिछिपी रक्सीजाँड खाएर मातेर घरमा अशान्ति गर्ने पनि नभएका होइनन् । तर सबैलाई कतै न कतै गाउँबुढा जेठाउको डर नभएको होइन । परेको खण्डमा जस्तै गाह्रो अप्ठेरो पनि टार्ने, सही र खुट्टैखुट्ट नियाँनिसाप पनि उत्तिकै गर्ने । नियाँबाहिर कुनै कुरा भेटे भने पनि दोषी र त्यस पक्षको सातो खाएर ठिक लाउने, हकी स्वभाव छ उनको ।
सबैको जयजय अवस्था भएको चाहने मान्छे हुन् जेठाउ । यिनै गाउँबुढा जेठाउ गाउँमा जाँडरक्सी खाएर परिवेश बिगार्ने मान्छेहरुदेखि चिन्तित छन् । अलिक दिनदेखि यता सानोतिनो चोरीचकारी पनि हुँदैछ । यो कस्तो नचिताएको व्याधी आई लाग्यो ? नानी, केटाकेटीको पढाइ बिग्रियो । गाउँका लोग्नेस्वास्नीमा दिनहुँ झगडा बढेको छ । कसलाई भन्नु, आफ्नो गाउँको इज्जतको कुरा पनि त छ । आखिरमा उसैको पनि नाककान हुने कुरा आई लाग्छ । भिडिपीको पहरा गर्नुपर्ने हो कि जस्तो पनि हुन लागेको छ तर, हिजोआज दुई चारदिन भए गाउँबुढा आफू एक्लै एउटा ‘राइडाङ’ (वेतलौरी) को डण्डा पछिल्छिर कमेजभित्र घुसारेर राति चकमन्न भएपछि गाउँ डुल्ने गरेका छन् । यो कुरा कसैलाई पनि थाहा छैन । उनले घरमा पनि आइमाई, केटाकेटीलाईसम्म जान्न दिएका छैनन् ।
एक्कासि आज च्यान्टीको घरमा सबै भेला भएर घुसघुसे हल्ला गरे । यसो विचार गर्दा हिजो राती ड्याम्म एउटा आवाज भएको थियो, त्यो च्यान्टीको घरतिरै सुनिएको थियो, हो रहेछ । किनभने च्यान्टीको भट्टीमा रक्सी जम्मा गर्ने ठुलो टिनको ड्राम चर्केर फुटेको र त्यसबाट चुहेर रक्सी सम्पूर्ण पाखामा बगेछ । च्यान्टी पुर्पुरोमा हात लगाएर बसेकी । कसलाई के भन्नु ! गाउँबुढाले उसलाई “यो रक्सीको व्यापार बन्द गरेर अर्को केही कारबार गर है च्यान्टी बहिनी” भनेर निकैबाजी बुझाएर भनेको हो । तर मानिन । अब उसो आपत्ति गर्ने ठाउँ छैन ।
अस्तिको राती बलेको डँड्याल्नो मालिस र दवाई गरेर भुन्टीले बल्ल निको पारेकी छ । दवाई किन्ने पैसा बरू गाउँबुढा जेठाउले नै दिए,”तर थबक्क साँझमा घर पस्नु, च्यान्टीको रक्सीमा बोक्सी लागेको छ” भनेर बुझाएर भनेको बलेले सुतीसुती सुनेको हो । उसले त्यस दिनदेखि यो झोल खान्न भनेर थुक्क थुकेर छोडेको हो, यसबेला ढुक्क छ । खाएको पनि छैन । कहाँ बले मात्रै हो र, राती राती बोक्सीले ड्याम्म ड्याम्म पारेको निकै जनाले सुनेको बताउँछन् सबैजना । त्यो तल्लाघरे मैनाली साने, रूपलाल खत्री, झिँङ्गटे गुरागाईँलगायत छ सात जना बेलुका च्यान्टीको भट्टीमा गएका मान्छे कसो कसो बोक्सीको डन्डा खाएर, नीलो डाम देखाँउदै आएका थिए । अँध्यारोमा मातेर आउँदा बोक्सीले आँखा बिसाउन पाउनु मात्रै पर्छ, ड्याम्म, ड्याम्म गाँठे ! यस्तो बिजुली पारा छ कि आजसम्म कसैले त्यो बोक्सीको चाल बुझ्न सकेनन् ।
बरू न रक्सी न हल्ला, रक्सी खान छोड्ने टुङ्गोमा पुगे सबै । ढुक्क भयो । च्यान्टीले पनि त्यत्रो औँधी ड्राम भरीको फुलीजस्तो एक नम्बर माल नोक्सान हुँदा ,अब यो बैगुनी काम गर्दै गर्दिन भन्ने अठोट गरेर भट्टीमा पानी खन्याएर आगो निभाई छाडी । बरू गोडाचार-पाँचेक पाठा र कुखुराका चल्ला पाल्छु भनेर त्यतैबाट आयस्रोत निकाल्ने व्यवस्था गर्दछु भन्ठानेकी छ । यस प्रकारले बोक्सीको डरले रक्सीको रमरमी निकै नै साम्मे भएको छ । भुन्टीले बलेलाई निको पारेर काममा पनि उत्तिकै पठाउन थालेकी छ । तर किन हो, यो बलेको बोक्सीको डाम, मैनाली साने, झिँङ्गटे गुरागाईँ, रुपलाल खत्रीलगायत रकस्याहालाई मात्रै बोक्सी लागेको, बोक्सी नै लाग्दा गाउँमा अरुलाई पनि उत्तिकै बोक्सी लाग्नु पर्ने हो, भन्ने कुरा भुन्टीले मनभित्र खेलाइरहेकी छ । त्यो बोक्सी लागेको ठाउँ छुँदा झस्केर बले ऐया भनेर चुप्प लाग्थ्यो ।
घरपछाडि अँठियाकोलको घारीमा आज सर्ल्याङसुर्लुङ छ । रात निकै छिप्पिएको आभाष हुन्छ । हिजैदेखि भुन्टीले बलेलाई लाग्ने बोक्सीको पत्तो लगाउने अठोट गरेकी हो मनमनै ।
धुसाको चादर ओडेर आज कोलघारीमा लुकेर चियोचर्चो गरेको कसैलाई पनि थाहा छैन । बले र केटाकेटी निष्लोठ निदाएपछिको कारबार हो यो । निकैबेर चालमारेर बसेपछि गाउँबुढाको घरपट्टिबाट एउटा खाकी पोसाक र खाकी सुइटर भिरेको मान्छे आयो । रातीको बिजुली बत्तीको ककसक घरबाट पोखिएको उज्यालोमा देखिदै ओझलपर्दै त्यो मान्छे आयो । निकै दिनमा आज फेरि रत्ने साइँलोको जस्तो बोली भएको मान्छे एकप्रकार मातेको अवस्थामा अर्कोपट्टिबाट आउँदैछ । के हुन्छ, मैले अनुमान गरेको कुरा सही हो होइन, आजै दूधको दूध पानीको पानी हुन्छ, यस्तो भावले भुन्टी स्वास दबाएर बसेकी छ । रत्ने साइँलोको आवाजले भन्छ, “हिजोआजका दिनमा पनि कतै बोक्सी हुन्छन्, मान्छेको कुरा सुन न त्यहाँ, च्यान्टीको भट्टीमा बोक्सीले रक्सी खाएर यस्तो भएको रे । धत् हामी जस्तोलाई बोकक्सी नै लाग्दैन ।”
त्यो आवाज आइपुग्दा नपुग्दै खाकी पोसाक लगाएर आएको मान्छे कोलघारीमा झ्याप्पै लुक्यो । भुन्टी विचार गर्दै छ, अग्लो होचो, हिँडाइको ढप सम्झेर भुन्टीले अड्कल काटिसकेकी छ, यो बोक्सी को हो भन्ने कुरा । बलेसँग भागेरै आए पनि माइतमा हुँदा दशसम्म इङ्ग्लिस स्कूल पढेकी भुन्टीको विद्या त भागेको छैन नि त कोहीसँग पनि ।
मेरी बास्सै ! निकै गाह्रो पर्छ भुन्टीलाई ढाँटछल गर्न । हो त, गाउँघरमा अरूहरू उसका छिमेकीले भुन्टीलाई गरिब भए पनि पढाइलेखाइ गरेकी भनेर निकै आदरभाउ गर्छन् । बोक्सी लागेको भन्दै बलेले डाम लिएर घर गएको दिन पनि भुन्टीले बोक्सी लाग्यो भन्दा नपत्याएको कुरा थियो यो । गाउँबुढा जेठाउले दिएको पैसाले राम्रो दवाई ल्याएर खुवाएपछि जब यो डाम राम्रो भयो, भुन्टीको मनको सन्देह झनै झस्किएको थियो । के को बोक्सी हुन्थ्यो ? त्यही कुराले त रातिहुँदो भुन्टी बोक्सी रहस्य उद्घाटनको रहरले छिपेर बसेकी हो ।
आयो आयो रत्ने साइँलो आयो, “यस्ता मूला पाँचटक्के बतल च्यान्टीको भट्टीमा रक्सी खानेलाई के थाहा, म पर सेन्टरमा गएर ह्विस्की र रम पो पिउँछु, भनेर । मलाई, म रत्नबहादुर थापालाई चिनेको छ, हूँ ?”
ड्याम्म-ड्याम्म ।
त्यो खाकी पोसाकले राइड्याङको डन्डा तुरुन्तै दुई खेप रत्नेको डँडेल्नोमा बजारो । रत्ने साइँलो ऐया र आथू गर्दै, तातेर घरतिरै कुँदो । भुन्टीले बिस्तारै भनी, “गाउँबुढा जेठाउ, तपाईं कहिलेदेखि एक्लो मिलिटेरीको बोक्सी खेदाउने ड्युटीमा हुनुहुन्छ ? म भुन्ठी हजुरकी बुहारी हुँ ।”
यस्तो सुनेर यसो हेर्दा भुन्टीले ओडेको चादर उघारेको देखेर गाउँबुढा जेठाउ छक्क परे । तत्पश्चात भुन्टीले आर्मी कायदामा मुस्तैद सिपाही जस्तो, बोक्सीरूपी गाउँबुढालाई छाती तानेर गोर्खे सलाम ठोकी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।