त्यस बिहान चिसो झन् बढेर गयो । बाहिर निस्किएर माथि डाँडातिर हेर्दा वर्षौँदेखि दिगो विश्वासले आसीन रुख बुट्यानहरु हिउँले ढाकेर पूरै सेताम्मे देखिए । त्यो प्रकृतिको सघन हरितिमा कुनै धार्मिक कथामाझैँ एकै रातमा कतै विलुप्त भएजस्तो भयो, अर्कै रुप धारण गरेजस्तो । यसबाट अघिल्लो दिन मात्र त्यहाँ आइपुगेका यात्रुलाई सखारै झट्ट हेर्दा लाग्यो होला कि- “यो कस्तो आश्चर्य ! यो गाउँको कस्तो काकताली तिलस्मी रुप !” पौष मास लागेपछि पहिलो हप्तामा यसरी हिउँको वर्षा भयो त्यस गाउँमा । गाउँलेहरुले कहिल्यै सोचेका थिएनन् त्यसरी अकास्मात हिउँ पर्ला भन्ने । तर- “प्रकृतिको चाला कसले बुझिजाला !”

धार्चे गाउँपालिकाको खोर्ला भन्ने हिमाली गाउँको एक थुम्कोमा उनीहरु थिए । गोरखा बजारबाट निकै उँभो, बसमा करिबन छ/सात घण्टाको यात्रापश्चात् मात्र सो गाउँ नेरनेर पुगिन्थ्यो । गाडीबाट उत्रिएर हिँड्नुपर्थ्यो निकै घण्टा । गुरुङ जातिको बहूल्यता रहेको त्यस गाउँ पहाडको एक फेदीमा टुप्लुक्क अढेजस्तो बढो सुन्दर देखिन्थ्यो । गाउँको मध्यमा एक सरकारी विद्यालय थियो र त्यसले गाउँमा सुगन्ध फैलाएको थियो । त्यस पाठशालामा यसपाला मात्र आएका शिक्षक थिए दिलिप सर । उनी त्रिभुवन विश्वविद्यालको स्नाकोत्तर स्तरमा अध्यायनरत थिए । र, अन्तिम सेमेस्टार नसकिँदै जीवन धान्नका लागि सो पाठशालामा जागिर गर्न पुगेका थिए । सो ठाउँको परिवेशसँग पनि त्यति परिचित भइनसकेका उनलाई त्यस बिहान एक्कासी मुटु कमाउने जाडो बढेँसँगै निकै आतुरी र छटपटीले गाँजेको थियो । बिहान उठेर बाहिर विचरण गर्दा एक्कासी त्यहाँको वातावरण स्वेतमय भएको देखेर उनी छक्क परेका थिए केही क्षण । अनि, एकोहोरिएका थिए माथि माथिसम्म हेर्दै । कारण- तराईका फाटहरुमा जन्मेहुर्केका उनको हिउँसँगको साक्षात्कार पहिलो भएर ।

त्यही पाठशालाको एक किनारतिर केही कोठा थिए । त्यहाँ त्यहीँ अध्यापन गर्ने केही शिक्षकहरु बस्ने चलन थियो । होस्टेलको भान्सामा रासन सकिन अस्तिबाटै लागेको थियो । तर, दिलिप सरबाहेक अरुलाई त्यसबारे चासो जागेको थिएन । अरुहरुलाई चासो नजाग्नुको पनि केही कारण त पक्कै थियो होला । बजार नजिकै थियो । तसर्थ, दिलिप सर अघिल्लो दिनको बिहान र साँझ किराना पसलमा पुगिओरि निरासिलो बनेर फर्किएका थिए । अनि, त्यस बिहान आफ्ना सहकर्मीहरुलाई निष्प्रभ बनी सुनाउँदै थिए, “लौ गुरुहरु, पसलमा रासन सकिएको बेला परेछ । फेरि रातभरि हिउँ परेर बजार नै सबै ढाकेछ नि । आज बच्चाबच्ची आउलान् त ? कुन्नि कुन्नि !’’ चिन्ताग्रस्त भएर दिलिप सर एकाएक ओइलाएको फूलजस्ता देखिए ।

विमल सिटौला

उनको मुहारमा विद्यार्थीको पढाइको चिन्ता तारन्तार देखा पर्यो । अरु दुई जना भुईँको ओछ्यानमा गुटुमुटु भएर सुतिरहेका थिए । उनीहरुको सिरानमा लुगाका चाङ थिए । केही कपडाहरुले उनीहरुको मस्तकलाई घुम्टो ओढाएका थिए । त्यही अवस्थाबाट एक जना सहकर्मी उन्मादपूर्ण आवाजमा बोले, ‘गाँठे ! अब महिनादिन बिदा हुने भो ।” त्यसपछि, दिलिप सरले टन्न बाक्ला हिमाली वस्त्र परिधान गरे । काने टोपी लगाए । पानी तताए अनि चिया बसाए । त्यसपछि, उनले बाहिर बरन्डासम्म छरपस्ट भएका हिउँका डल्ला सबै पन्छाए । भित्र आएर चियाको चुस्कीसँगै मोबाइलमा घोत्लिन थाले । उफसोच् ! उनी फेरि चिन्ताग्रस्त देखिए ।

“लौ… अलिअलि त अपडेट हुन सकिन्थ्यो तर आजबाट फेरि हुन नपाइएला जस्तो छ गुरुहरु ।” दिलिप सरको कुरा सुनेर पासाङ सर जुरुक्क उठे । “हो त गुरु, हिउँसँगै हुरीबतास पनि आयो जस्तो छ रातभरि । मध्य राति एक किसिमको सिरन स्याँ….गरेर त बजेको थियो कानमा, म निदाउँदै गर्दा तर जाडोले गर्दा झ्याल उघारेर बाहिर हेर्न जाँगर आएन त ।” उनी रोकिएनन् बोल्न, “साथीहरु हो, यो विकट ठाउँमा जागिर गर्दा यही टन्टा बेहोर्नुपर्छ । लाग्छ कि फोन, बूढीलाई पो गर्नुपर्यो ।”

बिहानको समय । सात बजिसकेको थियो । विद्यालयमा हिउँदे बिदासम्बन्धी बैठक पर्सी मात्र बस्ने कुरा चल्दै थियो । तर, त्यस वर्ष औसत समयभन्दा पहिल्यै हिउँ पर्यो । पासाङ सर बाहिर पुगेर भित्र आउँदा आफैँ निर्णयकर्ता भएजसरी भन्दै थिए, “अब बिदा दिए भै गयो । कम्तिमा डेढ महिना त चाहिन्छ नि । चौरभरि, बाटोभरि हिउँ नै हिउँ छ । मुटु कमाउने जाडो छ ! कसरी पो आउलान् र बच्चाबच्ची ? माथि खर्कमा त पुरेजस्तो छ । ल साथीहरु आज म चैँ घर जानुपर्यो । अब यसरी स्कुल लाग्न सक्दैन नि ।”

उनी गीत गाउँदै शौचालय पसे, ‘ए हिउँ पर्यो भुरुरु.. हिमाली भेगैमा…..।’

पासाङ सरलाई घर पुग्न चटारो भयो । यसप्रकार, शौचालयबाट फर्किंदा उनी प्र.असँग फोनमा बोल्दै पनि फर्किए, “सर अब बिदा दिए भै गयो । केटाकेटी आउँन सक्दैन् नि ।” नभन्दै पासाङ सर सुटबुट कसेर त्यस्तो ठिँहीमा बाहिर निस्किन तम्सिए । दिलिप सर एक्कासी छक्क परेर सम्झाउँदै थिए, “सर किन हतार र ?  बिस्तारै गए भै गयो नि । फेरि आज हिउँ परेको दिन छ । यस्तो चिसो बिहान छ । तातो पानी पनि नपिई किन यस्तो सर ? हामीलाई पनि त घर पुग्न मन लागेको छ । जहान केटाकेटीलाई भेट्न हतार छ । बरु आधा बाटोसम्म सँगै जाऔँला नि ।” अहँ, उनी रोकिने छाटकाट देखिएन । अन्तत: उनी गएरै छाडे ।

दिलिप सरले भित्रपट्टि आएर पुन: एक ग्लास तातो पानी समाते । तातो पानीबाट हुस्हुस् वाफ् उडिरहेको थियो । त्यो वाफमाथि उनले आफ्ना हात्केला सेकाए । यसबाट उनले केही राहत पाएको अनुभव गरे । उनी पुन: बाहिर गएर पासाङ सर गएको बाटो हेर्न थाले । उनको मूर्त शरीर हिउँमय भएको बाटोबाट उँघोउँभो लम्किरहेको देखिन्थ्यो । लाग्थ्यो, कुनै अग्लो स्तुपकबाट  उनको गतिलाई हेर्दा एउटा कालो बादलको समूह सेतो नभमा नाचेजस्तो, ठिक त्यही अवस्थाको क्षितिजजस्तो । त्यो दृष्य देखेसँगै उनलाई पनि निकै छटपट हुन थाल्यो । उनी सोचमग्न भएर आफ्ना योजनालाई पल्टाउन सुरु गरे, “आखिर विद्यालय बन्द हुने भैगयो । अब मेरो थेसिस पनि त बाँकी छ । यही समयमा सबै काम सक्नुपर्छ । तर, आज चैँ के खाने होला कुन्नि ! रासन छैन कोठामा । हिजै सकियो । बजार बिहानै खुल्दैन । यता सरलाई फेरि केही चिन्ता छैन व्यारे ।” उनी ओछ्यानमा गुटमुटिएका अर्का सरको छेउमा बसेर सल्लाह गर्न थाले, “के पकाउने सर आज ? दुई चोटि बजार पुगेँ तर चामल बजारमा पनि छैन भन्यो सहुजीले । भरे भोलि आइपुग्छ भन्थ्यो तर अचानक यसरी हिउँको वृष्टि भयो । आज या भोलि आइपुग्छ भन्थ्यो तर हिउँ परेर गाडीहरु अब त, बाटोबाटो अड्किए पनि होलान् ! अब यही आलु मात्र बाँकी छ सर, केही छाकका लागि ।” ती सर केही बोलेनन् । बरु जिउ अर्कोपट्टि फर्काएर गुटमुटिए ।

दिलिप सरलाई बढो चिन्ताले सतायो । अघिल्लो दिनपनि थोरैथोरै खाएर सुतेका । यसर्थ, उनको पेटमा मुसा कुदेजस्तो भयो । फेरि गजधुम्म भयो दिन । माथि परपर क्षितिजतिर बादलका काला धब्बा समूह समूहमा लुकामारी गरिरहेका देखिन्थे । विद्यालयमा अन्य कोही शिक्षक देखिएनन् त्यस दिन । मात्र देखियो हिउँ- जताततै । जतातजै हिउँको वर्षा भएर उनी हिउँभन्दा बाहिर जान सकेनन् । बाहिर बरन्डामा उभिएर हिजो चौरमा बसेको सम्झिए । र, उनलाई त्यो पारिलो घामको पहार र यो सेतो हिउँको कठोरता देख्दा लाग्यो कि- “मौसम पनि मानिसको मनजस्तै । क्षणभरमै योजना बनाइहाल्ने, अरुको चिन्ता र चासो किन र ? कति कठोर हँ यो मौसम ! रासन बोकेका गाडीहरु बाटोबाटै अड्किए । नव यात्रुहरु जुन घरमा बास बसेथे त्यहीँ घरमा थन्किए । जनावरहरु गोठको गोठै । ओहो ! पासाङ सरलाई यसको प्रभाव रत्ती परेन । अस्ति मात्र सँगसँगै जाने सल्लाह भएको गोरखा बजारसम्म….. । तर, उनले कति छिटै बिर्सेछन् कुन्नि !”

उनी भित्रपट्टि आए र ग्लासमा पानी थपे । वाफमा औँलाहरु सेकाए । अनि, अर्को ग्लास बोकेर सुतिरहेका सरतिर लागे । विडम्बना ! उनी फेरि अपत्यारिलो मनोदशामा एकछिन हराए र नि:स्वरमा बोले, “सर, तपाईँ पनि के गर्दै हुनुहुन्छ यो !” दिलिप सर पुन: आश्चर्य र भय मिश्रित आवाजमा अल्मलिँदै बोल्न थाल्दै मात्र के थिए, ती सरले बोलिहाले- “हो सर, मेरो जानैपर्ने भयो । त्यस्तै काम आइलाग्यो सर ।” दिलिप सर एकाएक विलखबन्दमा परे । उनले आफ्नो अगाडि कालोमैलो ध्वासो लागेजस्तो आवरण देखे । उनी एकदम डराए आफ्ना सहकर्मीहरुले तारन्तार छोडेर जाँदै गर्दा । फलस्वरुप, उनले अकास्मात निकट भरे या भोलिको आफ्नो अकेलो अवस्थाप्रति ध्यान दिएर वर्तमानमा परिदग्द अवस्थामा आफूलाई पाए । र, सुस्तरी उनले डराउँदै बढो आग्रहकण्ठले सोधे, “सर..त्यस्तो के भयो र सर ?..तर म त एक्लै पो हुने भए त अब !” तर, प्रतिउत्तर आएन ।

बस् उनले यही भनेर गए, “ल सर, जानुपर्यो म पनि ।” दिलिप सर हिउँसँग अपरिचित मान्छे । उनी त मधेसमा जन्मिएका थिए । हिउँको सामीप्यमा जीवनकै यो पहिलो अनुभव थियो । ती सरहरु त विगत चार/पाँच वर्षदेखि अध्यापनरत र रफत भइसकेका शिक्षक थिए । आउँदा/जाँदा उकालो ओरालोमा उनीहरु त्यो माटोसँग परिचित भइसकेका हुँदा हुन् तर दिलिप सरलाई भित्रैबाट आँट आएन । यसप्रकार, उनले निरास भएर भनेँ, ‘जानू सर, तपाईँको यात्रा सफल रहोस् । पुगेर फोन गर्नुहोला ।” उनले ती सरलाई मन नभइनभइ पनि बिदा गरे । त्यसपछि, एकदम दौर्बल्य भएर विस्तारातिर फर्किए । केही मिनेटपश्चात पुन: बाहिर आए र उनी गएको बाटो हेर्न थाले । उनी पनि पासाङ सरजस्तै त्यो हिउँमय भएको बाटोबाटो उकालोउकालो लाग्दै थिए । तर, अरु केही मानिसहरु पनि तल देखिन्थे झुण्ड-झुण्डमा ।

हो, दिलिप सरको बाहिरी आवरण एकाएक कालिमामय भएर आयो । भित्री मन एकदम निचोरिएर आयो । अपरिचित हिमाली गाउँ । त्यो ठाउँसँग उनी परिचित भइसकेका हुँदा हुन् त, उनीभित्र त्यो किसिमको विकलता उत्पन्न हुने पनि थिएन होला र सहकर्मीहरुसँगै विना गौड सँगसँगै जान मन गर्थे होलान् । अहँ, त्यो त भएन । विद्यालमा जागिर खाएको मात्र चार महिना भएको थियो । तर पनि, उनलाई उनका सहकर्मीहरुले छोडेर गए । अब उनी एक्लै भए र कुर्सीमा गौडमय भए ।

उनको मनमा प्रश्न लगातार जन्मियो- ‘आखिर मलाई सहकर्मीहरुले जाने बेलामा किन मेरो यात्राको बारे चासो व्यक्त गरेनन् ?’  ‘हौसला पनि दिन सक्थे होलान्; आँट गर्नुहोस् सर, हामी छौँ नि ।’ कि भान्सामा सबै रासन सकिएको भएर गएका हुन् त ?’ ‘ मलाई सुल्झाउन पनि सक्थे होलान्, सर रासन सकिएको बेला छ । भरे फेरि बजार जानू ल, नत्र होटेलमा गएर खानू ।’

सहकर्मीहरुको आफूप्रतिको बेवास्ताले आफ्ना क्याम्पसका साथीहरुलाई पनि सम्झिरहन पुगे जो स्नाकोत्तरमा उनीसँग एउटै कक्षाकोठामा नारिएर अध्ययन गरेका थिए । सुरुका दिनहरुमा ती कति मिलनसार थिए, कति कोमल थिए । मौलिक भाव झल्किदिन्थ्यो हिँड्दा, बस्दा, खाँदा र डुल्दा । दिलिप सरको अध्यापनका सुरुका दिनहरुमा उनीहरुको क्रियाकलाप आँखामा नाच्न आइपुगेको थियो । “ओहो ! अन्त्यतिर आइपुग्दा त, कस्तो सुनसानप्राय: जीवन । सबै आफ्नै आफ्नै तालमा । कसैलाई जागिरको चिन्ता । कसैलाई जीवन धान्ने चिन्ता । कसैको अति व्यस्त जीन्दगी ।” र, हाललाई पनि सोचे, “यो त झन् मतलबी दुनियाँ । आखिर कहाँ पुगे होलान् ती पासाङ सर यो हिउँमा ? सायद उनलाई त गाह्रो नपर्ला । तर, मण्डल सरलाई त पर्न सक्छ नि । एक्कासी कस्तो जानैपर्ने बाध्यता थुपरियो कुन्नि ? हुन त उनी पनि पाँचपाँच वर्ष यो बाटो हिँडेका होलान् ।”

त्यसपछि उनी बाहिरतिर आँखा डुलाउन थाले । आकास सङ्लो देखिँदैनथ्यो । बादलको मुस्लो एउटा डोरीमा झुन्डिएजस्तै देखिन्थ्यो भने कतै हल्का रातो रंगले पोतिएको भाग पूर्व दिशातिर अल्प गतिमा तीव्रतर हुँदै आउँदै थियो । फेरि, एकातिर बिहानबाट जोडले सिरेटो बहेर झन्झन् चिसो बढाएर जाँदै थियो वायुमण्डलमा । दिलिप सरको मनमा भने एक किसिमको तमासाले गुँड लगाएको थियो र थिरमा त छँदै थिएन मन । रुग्णता झल्किरहन्थ्यो उनको हेराइमा, हिँडाइमा, सोचाइमा ।

एक्कासी उनी बिस्तरामाथि आफ्नो झुन्ड्याइएको झोलासमिप आइपुगे । थन्किएको पुरानो डायरी निकाले । पलेटी मारेर तल्तिर ओछ्यानमा बसे । उनलाई केही लेखूँलेखूँ लाग्यो मनको तलाउमा उब्जेका भावनाहरु । तर, कताबाट, कुन शब्दबाट सुरु गर्ने भन्ने अन्योलताले छाइरह्यो । उनी त्यसै अन्योलतामा रुमल्लिरहे निकै बेरसम्म । अहँ, शब्द फुटेन ।

उनलाई सहकर्मीहरुले तारन्तार छोडेर जाँदा बढो नरमाइलो र आश्चर्यभाव मनमा कुदिरहेको थियो त्यो बेला । एक्लोपनले गाँजेर झन्झन् निकै छटपट छटपट बढाएर पनि जाँदै थियो । उनले डायरीमा केही लेखेका थिए सुरुका दिनहरुमा तर समय बित्दै जाँदा उनी सहकर्मीहरुसँग नजिक नजिक भए र एक्लोपनको लहरबाट आफूलाई छुट्याएका थिए । यसप्रकार नै डायरी बन्द भएको थियो । तर, त्यस दिन त्यही डायरीका खाली पाना उनको अगाडि टुलुटुलु प्रतीक्षारत् भइदिए ।

यतिकैमा बाहिरपट्टि एउटा बच्चाको आवाज सुनियो । “सर !” “सर…!”  “सर…….!”

हत्तपत्त उठेर उनले दरबाजा घरक्क खोले । चिसो सिरेटो रमाइरमाइ ह्वास्स् भित्र पस्यो । उनले हिउँमाथि एक बच्चा देखे । त्यो बच्चालाई त्यो हिउँमाथि देखेर उनी चकित भए । फलस्वरुप, झन्झन् आश्चर्यमा परे । “सर ? सर ? स्कुल लाग्छ लाग्दैन सर ?” बढो रोचक शैलीमा त्यो बच्चाले सोधिरहेको थियो । उसको बोलाइमा एक किसिमको माधुरी प्रष्टसँग झल्किन्थ्यो । दिलिप सर हेरेको हेरै भए । सायद त्यही भएर त्यो बच्चा डराएर हठात त्यहीँबाट दगुर्यो- आएको बाटो । त्यसपछि, उनी भित्रपट्टि छिरेर पुन: काममा दत्तचित्त भए ।

यसो डायरीमा फेरि लेख्ने प्रयास गरे तर मनमा आइदिए थुप्रै विषयरुपी प्रश्नहरु:- ‘हिउँमाथिको बालक ?’, ‘मेरो पहिलो हिमाली भोगाइ?’, ‘एक्लोपन?’, ‘मतलबी सहकर्मी?’, ‘हिउँ परेको दिन ?’  आदि इत्यादि । लेख्न प्रयासरत् थिए गहिराइमा चुबुल्की मार्दै भारी दर्दको कथा, जिउलाई एक डल्लो बनाएर, घुँडा मारेर । हठात् प्रधानाध्यापकको फोन आयो र औपचारिकतालाई बिर्सिएर सुरुमै हठात बोल्न पुगे, “सर, म त स्कुलमा एक्लो भए । एकदम अकेलोपनले गाँजेको छ अहिले । सरहरुले बिहानै बाटो तताइहाल्नु भयो । बच्चाबच्ची सोध्न आइरहेछन् स्कुल लाग्छ कि लाग्दैन भनेर । मैले के जवाफ दिऊँ ?” उताबाट जवाफ आयो, “सर तपाईँ कमन सेन्स लगाउनुहोस् न । यस्तो अवस्थामा स्कुल लगाउन सकिन्छ ?” दिलिप सर बोलाइमा एक कदम पछाडि सरे, प्रधानाध्यापकको अकल्पनीय प्रश्नले । प्रधानाध्यापकले त्यति भनेर फोन राखिदिइ पनि हाले । फलस्वरुप, उनी झन् कमजोर मनस्थितिमा आइपुगे । एक्छिन घोत्लिए । प्रअसँग उनको राम्रो सम्बन्ध थियो तर उनलाई लाग्यो प्रअ रिसाए आफूदेखि, अब सम्बन्ध बिग्रियो । यति फोनपश्चात उनको मोबाइलको ब्यट्री पनि सकिन लागिसकेको थियो ।

प्रअसँगको लघु वार्तालापले लागिरहेको भोक बिर्सिए । जाडो बिर्सिए । शरीर तातिएर आयो आफ्सेआफ् । प्रयास गरे लेख्नलाई । हात कापिरह्यो । शब्द अड्किरह्यो । आवाज दबिरह्यो । मन भारी भइरह्यो । कलमको पिन एक औँल अगाडि सर्न मानेन । पुन: प्रअले फोन गरेर भने, “दिलिप सर, बच्चाहरु सोध्न आए भने हिउँदे बिदा भयो भन्दिनुहोला । केही नभनी नपठाउनुहोला । अब त अलि जिम्मेबार शिक्षक त बन्ने प्रयास गर्नुहोस् ।”

“हुन्छ सर ।” ,दिलिप सरले बढो नम्र भएर भने र उनी बाहिर निस्किए । दरबाजा खोले र हिउँतिर टोलाइरहे केही मिनेटसम्म । कोही बच्चाबच्ची आउछन् कि भन्ने आशामा एकछिन कुरिरहे बाटो । अगाडि अगाडि हेरिरहे । माथि देखिए केही मानिसहरु त्यहीँ बाटोमा । हेरिरहे तिनलाई र सम्झिरहे बाटो तताएका सहकर्मीहरुलाई ।

उनले हिउँलाई एकोहोरो हेर्दैगर्दा त्यहीँ अगाडी एक बालक देखे जो स्वयम् एक्लो थियो । चारैतिर हिउँले पुरिएको धरामा एक मधुर वाणीमा आफूलाई पृच्छा गरिरहेको, ध्यान कृष्ट गरिरहेको । तर, आफ्नो प्रतिउत्तर उसले नपाउँदा ऊ कति उद्वेलित भयो ? आफ्नो दृष्टिउपर उसको कापुरुष कति फैलिएर गयो ? र, त्यो कति दिनसम्म बाँकी रहिरहला भन्ने शंकाले भित्रभित्र पोल्न थाल्यो । परिणाममा, यदि ऊ चलेको बतासझैँ बायुपङ्खि हुन सक्थे त उनले त्यो बालकलाई भेट्ने रहर गर्थे, सहकर्मीको सट्टामा । र, उनले यस्तै कल्पनाको उडानभित्रबाट आफ्ना सबै जल्दीबाजीलाई समेट्ने प्रयास गरे । तर, यो त बालुवाको घरजस्तो न थियो । झसङ्ग हुनसाथ होसमा आइपुगिने ।

हावाहुरी साथसाथै हिउँ बेजोडले परिरहेको थियो । हावाको झोँकाले वायुमण्डलको हिउँलाई उडाएर दरबाजासम्म ठोक्काउन थाल्यो । र, उनले सम्झिए त्यो कर्णमधुर आवाज भएको बालकलाई । उनी ढोका बन्द गर्न बाध्य भए । त्यसपछि, भान्सातिर पुगे, बाँकी त्यही आलु थियो । कोठातिर आए, एक्लोपन थियो । तरपनि, बालकलाई सम्झिँदै उत्तरतिरको झ्याल खोले । झ्यालमा हिउँ फुसफुस नाच्दै झर्दै थियो । झ्याल पनि बन्द गरिदिए ।

र, अन्त्यमा, मनमा उब्जिएको मनसिजलाई उनले लेखिदिए – ‘हिउँमाथिको बालक ।’

एकछिन मन शान्त भएझैँ भयो र डायरी बन्द गरिदिए ।