“रात बूढो भएर ढलेपछि बिहानीको कलिलो किरण धर्तीभरि छरिन्छ । अनि अन्धकार कुलेलम ठोक्छ, सर्वत्र उज्यालोको राज्य हुन्छ । हेरिराख्नु जुन दिन यो बूढो ढल्छ, त्यसपछि प्रजातन्त्रका सुनौला किरण नेपालभरि फैलने छ ।” छविलाल काकालाई क्रान्तिमा नलाग्न आग्रह गर्ने मानिसलाई भन्ने कुरा यिनै हुन् । उमेरले सत्तरी नाघेका छविलाल काका धर्मकर्ममा रमाउँदै भजनकीर्तनमा लिन हुनुपर्ने हो । साथीभाइ, छरछिमेक सबैको विचार पनि त्यही हो । परिवारमा उनी एक्लै हुन् । उनको एकजना भाई थियो । उनको पनि मृत्यु भैसकेको थियो । भतिजा र उनको परिवार छ तर छुट्टै बस्छन् । उनीसँगैका दौतरीहरू केही मास छर्न गैसके । बाँकी केही बिहान सबेरै उठ्ने, आफ्नो नित्य कर्म सकाएर त्रिवेणी धाममा गएर देवदेवीहरूको दर्शन गर्ने, आधा बिहानभरि भजन गाउने गर्दछन् ।  छविलाल काका भने आफ्ना दौतरीभन्दा भिन्न थिए । अलग सोच, अलग विचारका थिए तिनी । फूल कोपिला हुँदै फक्रिएर, सुगन्ध छरेर अन्तमा ओइलिएर आफ्नो इहलिला समाप्त पार्छ । मान्छेको जीवन पनि एक दिन ओइलिएर झर्छ नै । तर फूलले जस्तै सुगन्ध छरेर यो संसार छोडेर जानुपर्छ भन्ने सोचाई थियो उनमा । त्यो सुगन्ध उनले प्रजातन्त्रमा देखे । त्यसैले उनमा प्रजातन्त्रको भूत सवार भएको छ ।

बिहान सबेरै उठ्ने नेपाली जनतालाई पञ्चायतले गरेका अन्याय, अत्याचार, शोषण, दमनका बारेमा सचेत बनाउने कर्ममा लाग्थे उनी । एउटा खुट्टो खोच्याउँदै हिंड्थे  । उनी भन्थे, ‘सुन्नुहोस् दाजुभाइ, दिदी बहिनी ! यो व्यवस्थाले हाम्रो भलो गर्दैन । नागरिक हक र अधिकारका लागि हामीले प्रजातन्त्र ल्याउनुपर्छ । बिना प्रजातन्त्र देशको विकास हुनसक्दैन ।’ उनको कुरामा धेरैको ध्यान हुँदैनथ्यो । सुनेकाहरूमध्ये कसै कसैले अलि बुझेजस्तो गरेर भन्थे, ‘देशमा प्रजातन्त्र ल्याउन के गर्नुपर्छ त ?’ उनी भन्थे, ‘पञ्चायतसँग लडाई लड्नुपर्छ । जनताले क्रान्ति गर्नुपर्छ ।’ उनको कुरामा सुरुमा त विश्वास गरेनन् । आ–आफ्नो काम गरेर खानुपर्छ । काम नगरी कसैले खुवाउन ल्याउँदैन । पञ्चायतको विरोध किन गर्नुपर्यो ? भन्थे गाउँलेले । तर उनी निरन्तर प्रजातन्त्रका लागि लागिपरे । जनतालाई ढुङ्गाजस्तै केही नबोली बस्न हुन्न भनेर सम्झाउँथे । जनताले उनको कुरालाई बेवास्ता गरे पनि उनी रिसाउँदैनथे । अज्ञान, अशिक्षा र चेतनाको अभावका कारण प्रजातन्त्रको महङ्खव नबुझेको ठम्याइ थियो उनको । तर बुझेपछि एक दिन जनता जाग्ने छ र प्रजातन्त्रका लागि  ठूलो लडाइँ लड्ने छ भन्ने गहिरो विश्वास छविलाल काकामा   थियो । त्यही विश्वासले होला उनलाई प्रजातन्त्रको पक्षमा वकालत गर्दै हिंड्ने शक्ति मिलेको ।

सूर्यप्रसाद लाकोजू

छविलाल काकाको कहानीमा भने बडो चाख राख्थे मान्छेहरू । उनको जीवनको कहानी कुनै चलचित्रको कथाभन्दा कम रोचक छैन । २००७ साल अगाडिको क्रान्तिमा भाग लिन उनी नेताहरूलाई भेट्न गोरखपुर पुगेका थिए । गोरखपुर जानुभन्दा अगाडि उनका बाआमाले विवाहका लागि  केटी खोजिसकेका थिए । उनलाई पनि केटी मन परेको थियो । तर विवाह गरेर दुलहीको मुख हेर्नुभन्दा पनि उनलाई प्रजातन्त्रको सुनौलो बिहानीको हँसिलो मुहार हेर्ने तीव्र इच्छा थियो । घरमा पनि बाआमालाई म त क्रान्तिमा लाग्छु भन्थे उनी । उनको कुरा सुनेर उनका आमाबाले गाली गर्थे । दरवारको निन्दा गरेर कसरी घरबार सप्रिन्न बाबु भनेर सम्झाउँथे पनि । तर छविलाल काकाको घैंटोमा बाआमाले भनेको कुराले कहिल्यै घाम लागेन । यो कुरा एक कान दुईकान हुँदै गाउँभरि फैलियो । केटीपक्षले क्रान्तिमा भाग लिने मान्छेलाई छोरी दिन्न भनेपछि उनको विवाह पनि तुहियो । उनले केटीलाई केटीकै घरमा एकपल्ट देखेका थिए । छविलाल काका केटीको बयान गर्दै भन्थे, ‘केटी राम्री थिई । मलाई पनि मन परेको थियो । एकै हेराइमा म भुतुक्कै भएको थिएँ । राम्री केटी भएको हुनाले विवाह गरूँ कि भन्ने पनि परिसकेको थियो । विवाह भएकौ भए मेरो जीवनले सायद अर्कै मोड लिन्थ्यो होला । तर मनले खाएकी उनको विवाह अन्तै हुने भएपछि मनमा दुबिधा नै भएन । झन् मलाई क्रान्तिमा लाग्न हौसला मिल्यो ।’ उनको कुरा रोमाञ्चक  थियो । छविलाल काका असली प्रेमी पनि हुन् । ती कन्याको अन्तै विवाह भएपछि उनले कसैसँग पनि विवाह गरेनन् । बिना जोडी, बिना परिवार उनका बसन्त र शिशिर बिते । आजको जमानामा उनी जस्ता सच्चा आशिक पाइन्न । अब त गाउँभरि क्रान्तिमा भाग लिन जाने कुरा दुबोसरि फैलिसकेको थियो । त्यसपछि  क्रान्तिमा भाग लिने लक्ष्यका साथ पहाडबाट मधेश झरे । अनि मधेश हुँदै गोरखपुर पुगे ।

त्यसो त उनी धेरै पढेलेखेका मान्छे होइनन् । घरमै सावाँअक्षर चिनेका र स्वस्थानीसम्म वाचन गर्ने व्यक्ति थिए । मंसिर महिनाको दिन थियो । घाम प्यारो हुने समय । तिनताका खेतबारीमा काम नहुँदा सबैजना खाना खाएपछि घाम ताप्न पाटीमा निस्कन्थे । एक दिन पाटीमा उनको छिमेकी राममान एक्लै घाम तापिरहेका थिए ।  उनको मुख अँध्यारो देखेर छविलाल काकाले सोधे, ‘ किन अँध्यारो मुख लगाएर बसेको ए रामे ? के भयो ?’ उनको सहानुभूतिबाट पग्लेका राममानले कुरा खोल्दै भने, ‘तिमीलाई त थाहा छँदैछ, बुबाकै पालादेखि मैले साहुको खेत कमाइरहेको छु । खेतको कमाईबाट पनि कहिल्यै उँभो लाग्न सकिएन । यसपाली त उल्टै ऋण लाग्यो ।’ ‘ऋण लाग्यो रे ! कसरी ?’

‘साहुलाई कुत बापत सात मुरी धान बुझाउनु पर्ने थियो । खेतबाट जम्मा पाँचमुरी मात्र धान  आयो । साहुलाई दिन नै पुगेन । आफूले गरेको दुख छुट्टैछ ।’

‘अनि साहुले के भन्यो त ?’

’साहुले त बुझाउनु पर्ने कुत बुझाउनुपर्छ । यसपाली सकिनस् भने तँलाई ऋण भो अर्को पाली बुझा भन्यो ।’

‘यो त अन्याय भयो । माटोमै नफलेको धान कहाँबाट ल्याएर दिनु ?’

‘त्यो त हो । घरमा पनि सबै धान साहुले लग्यो भनेर छोरा दिनभर रोएर बस्यो ।’

‘हामी मान्छे हौ । अन्याय पर्दा बोल्नुपर्छ ।’ छविलाल काका भन्दै थिए । तर गरिबको समय आइसकेको थिएन । साहुमहाजनको अगाडि कसैले केही बोल्ने आँट गर्दैनथे । उल्टो राममानलाई उचालेको भनेर छविलाल काकालाई राममानका तल्सिनले कुटेछन् । त्यो घटनाबाट छविलाल काकाको मनमा यस्तो अत्याचार समाजबाट हट्नु पर्छ भन्ने भावनाले जरो गाड्यो । तर त्यसका लागि उनी एक्लैले केही गर्न सक्ने कुरा थिएन ।

एकपल्ट शहर जाँदा कसैले उनको हातमा हस्तलिखित पर्चा थमाइदिएका थिए । पर्चामा राणाशासनको अन्त्य किन ? भन्ने कुरा लेखिएको थियो । अन्याय र अत्याचारको अन्त्य कसरी गर्न सकिन्छ भन्ने कुरा पनि पर्चामा थियो । शहरका मान्छेहरू त जान्ने, सुन्ने हुन्छन् भन्ने कुरा उनले पहिल्यै सुनेका थिए आफ्नो गाउँमा । त्यो पर्चा उनले आफूसँगै घर ल्याएका थिए, समय–समयमा पढ्थे । उनीभित्र रहेको युवा जोसलाई सगरमाथाजस्तै चुल्याउन त्यो पर्चाले काम गरेको थियो । अन्याय गर्ने र अन्याय सहने बानी थिएन उनको । सायद यही स्वभावले गर्दा होला उनीभित्र रहेको सागरमा क्रान्तिका छालहरू उठिरहन्थे । त्यही छालले हुत्याएर उनलाई गोरखपुरसम्म पुर्याएको थियो ।

गोरखपुरमा उनको सम्पर्क राजनैतिक नेताहरूसँग भयो । तिनीहरूकै प्रशिक्षण प्रजातन्त्रका लागि लड्ने उनको भावना तिखारिँदै थियो । छविलाल काकाले राणा विरोधी सशस्त्र आन्दोलनमा सक्रिय भएर लागे । आन्दोलनकै क्रममा उनको दायाँ खुट्टामा गोली लाग्यो । धन्न बाँचे उनी । तर उनको एउटा खुट्टो लङ्गडो भयो । २००७ सालमा प्रजातन्त्र आएपछि उनको गोली खाएको कुरा पनि बिर्से उनले । तर छविलाल काकाको खुशी धेरै समय टिकेन । देशमा पञ्चायत व्यवस्था लागुभएपछि गाउँमै आएर बस्न थाले उनी ।

गाउँमा सबै जना प्रजातन्त्रका लागि लडेका बूढा भन्थे । तर उनलाई साथ दिने मानिस थोरै  देखिन्थे । कोही कोही त सुराकी लाग्ला र पञ्चायतको कोपभाजनमा परिएला भन्ने डरले छविलाल काकासँग बोल्न पनि डराउँथे । तर उमेरले डाँडामाथिको घाम भैसकेका उनको मुखमा भने एउटै कुरा हुन्थ्यो ‘प्रजातन्त्र’ । गाउँका केही सचेत मानिस भने उनको कुरालाई सही मान्थे र साथ   दिन्थे । यस्तैमा देशभर २०४६ सालको आन्दोलन गर्ने घोषणा भयो । यो घोषणाले उनीमाथि नयाँ जोस र जाँगरको सञ्चार गर्यो । गाउँमा पनि आन्दोलनका छिटपुट कार्यक्रमहरू भए । तर राज्यले देख्ने गरी हुने कार्यक्रम भनेको शहरमै हो । त्यसैले छविलाल काकाले गाउँका केही सचेत मानिसहरू बोलाएर भने, ‘ यो व्यवस्थालाई फाल्न शहरकेन्द्रित आन्दोलन गर्नुपर्छ । यहाँ त प्रहरी चौकी समेत छैन । यहाँ गरेको आन्दोलनले राज्यलाई, व्यवस्थालाई केही फरक पर्दैन । त्यसैले शहरमा गएर आन्दोलनमा भाग लिनुपर्छ ।’  उनले थपे, ‘ म त काठमाडौ जाँदैछु ।आन्दोलनमा भाग लिन । तिमीहरू पनि जाने भए हिंड ।’ त्यहाँ भेला भएका केही युवाहरूले यो उमेरमा काठमाडौ जानु उपयुक्त नहुने, बरु यतै बसेर केही गर्न सुझाए । काठमाडौ जान पनि कोही तयार भएनन् । सबै आनाकानी गरेरै बसेपछि उनले आफ्नो अन्तिम निर्णय सुनाउँदै भने, ‘ म त उमेर पुगेको   मान्छे । आज हो कि भोलि । मलाई केही भैहाल्यो भने पनि रुने मान्छे कोही छैनन् । तिमीहरूको त भविष्य छ । तिमीहरू यतै बसेर केही गर । म जान्छु । मलाई नरोक्नु ।’

यति भनेर बूढा बिहान झिसमिसेमा काठमाडौका लागी हिंडे । काठमाडौ लगायत देशका प्रमुख शहरहरूमा आन्दोलन चर्कियो । अन्तत पञ्चायती व्यवस्था ढल्यो । छविलाल काका र उनीजस्ता कयौंको मेहनत फल्यो । देशमा फेरि प्रजान्तत्र फर्केर आयो । तर प्रजातन्त्र ल्याउन शहर पसेका छविलाल काका गाउँ कहिल्यै फर्केनन् ।