रौदिया राम्ररी ननिदाएको चार–पाँच रात भइसकेको थियो । आज पनि ऊ आधा रातमै ब्युँझियो । त्यसपछि उसले निदाउने प्रयास धेरै गर्यो तर निद्रा उसको आँखाको छेउसम्म पनि आएन । ऊ जुरुक्क उठेर बस्यो । “बौकीके बाउ ! तोरो निन्द नै येलौ ?”१ रासोवतीले मलिन स्वरमा सोधी । (जेठी छोरीलाई उनीहरू माया गरेर बौकी भन्थे ।) “तँ पनि त निदाकी रैनछस् नि ?” रौदियाले रासोवतीको प्रश्नको जवाफमा प्रश्न नै गर्यो । ऊसँग कुनै जवाफ पनि त थिएन । “हम माई छियै ओकर, केना सुत सक्बै ?”२ रासोवतीले रोदनमिश्रित आवाजमा भनी ।
रौदियाले सिरानीमा राखेको सलाइ खोजेर डिबिया बाल्यो । डिबियाको उज्यालोमा उसले देख्यो, हरिया उसकै छेउमा पल्टिएको थियो । हरियाको छेउमा रासोवती लडेकी थिई । डिबियाको धिपधिपे मधुरो प्रकाशमा रौदियाले रासोवतीका भिजेका निश्चल आँखा स्पष्टसँग देख्यो । रौदियाले लामो सुस्केरा छोड्यो । मन त उसको पनि कहाँ स्थिर थियो र ? उसले हरियाको निधार छाम्यो, ज्वरो कम भएको थिएन । हरियालाई हनहनी ज्वरो आएको एक हप्ता भइसकेको थियो । रौदियाले सुनेको थियो, धेरै दिनसम्म ज्वरो निको नभएमा निमोनिया हुनसक्छ । यसले त ज्यान पनि जान सक्छ रे ! सम्झेर रौदिया अत्तालियो तर हरियाको ज्वरो निको पार्ने कुनै उपाय ऊसँग थिएन ।
उसले काम नपाएको पन्ध्र दिन भइसकेको थियो । मालिकसँग कर्जा मागेको अलिकति खुदी (कनिका) पनि छाक टार्दा–टार्दै सिद्धिएको थियो । अब हरियाको लागि औषधि किन्ने ऊसँग कुनै उपाय थिएन । “के औषधि नपाएर नै हरियाको मृत्यु…” कल्पना मात्रले पनि रौदियालाई विचलित बनायो । फेरि भोलि कसरी छाक टार्ने होला ? रौदियाले मनमनै सोच्यो तर उसले कुनै उपाय फेला पार्न सकेन । उसको मुटुमा गाँठो पर्यो । आँखामा आँसु टिल्पिलाए । आँखाका डिलसम्म आइसकेको आँसुलाई उसले रासोवतीका आँखा छलेर पुछ्यो । “बौकीके बाउ, अब केना हेतै ?”३ रासोवतीले हरियाको अबोध अनुहारतिर हेर्दै लोग्नेसँग प्रश्न गरी । रौदिया केही पनि बोलेन । बोलोस् पनि कसरी ? ऊसँग कुनै शब्द थिएन ।
त्यो सानो मुशहर बस्तीको दिनचर्यामा त्यस दिन पनि कुनै फेरबदल भएको थिएन । सदाझैं त्यो बिहान पनि सूर्यको किरण यो बस्तीमा अभाव बोकेर ओर्लिएको थियो । अघिल्लो साँझ नै काम निर्धारण भइसकेकाहरू त्यसरी नै आ–आफ्ना काममा गएका थिए, मुशहर बालबालिकाहरू माघको मुटु कमाउने जाडोमा पनि सडकमा त्यसरी नै नाङ्गै निस्किएका थिए र माटोमा लडीबुडी गरेर उनीहरूले भोकलाई बिर्सने प्रयास गरेका थिए । सदाझैं त्यस बेलुका पनि पुरुष मुशहरहरू आ–आफ्ना दौँतरीसँग भट्टी पसल पुगेका थिए । बिरामी छोराको पिरलोले दिनभरि झोक्राएर बसेको रौदिया पनि बेलुकीपख दौंतरीहरूको ढिपीलाई टार्न नसकेर भट्टी पुगेको थियो । नशाको सुरमा ऊ निकै अबेला घर फर्किएको थियो । त्यही नशाले त सबै चिन्ताबाट मुक्त भएर आधा रातसम्म मस्तले निदाउन उसलाई मद्दत गरेको थियो, तर अहिले नशाले छाडेपछि निद्राले पनि उसको साथ छाडेको थियो ।
कुकुरहरू एकतमाससँग भुकिरहेका थिए । ऊ निकैबेर टोल्हाइरह्यो, घर छेउमै आएर भुकेको कुकुरको आवाजले ऊ झसङ्ग भयो । उसले एकपटक फेरि हरियाको अनुहारतिर हेर्यो । अनि रासोवतीलाई हेर्यो । रासोवती मलिन आँखाले एकोहोरो घरको छानातिर हेरिरहेकी थिई । घर के भनौँ ? एक प्रकारको गोठ नै थियो त्यो । भाटाका बारमा माटोले लिप्सिएर घर जेनतेन ठड्याइएको थियो । ठाउँ–ठाउँमा चुहुन थालिसकेको खरको छानोलाई बाँसका झिना खम्बाहरूले थेगिरहेका थिए । भित्ताका ठाउँ–ठाउँमा माटो उप्किएकोले बेला–बेलामा तिनै प्वालहरूबाट माघको चिसो स्याँठ छिर्थ्यो । हो, अहिले त्यस्तै स्याँठ छिरेको थियो । हरिया कक्रक्क पर्यो । रौदियाले उसले ओढिराखेको परालको गुन्द्री तानेर उसमाथि नै खप्ट्याइदियो । ओछ्यान पनि त न्यानो थिएन । परालको पातलो तहमाथि बोरा ओछ्याइएको थियो । रासोवतीले ओछ्यानको एउटा बोरा तानेर हरियाको टाउको छोपिदिई ।
“अँ…….हँ……..हँ….” आवाज निकाल्दै हरियाले कोल्टे फेर्यो । “हमरा भुख लागल ह्या !”४ ऊ निन्द्रामै बर्बरायो, रासोवतीको मन चरक्क चिरियो । भोक नलागोस् पनि कसरी ? हरियाले अघाउञ्जी खान नपाएको एक हप्ता भइसकेको थियो । मालिकको घरबाट रासोवतीले मागेर ल्याएको जुठोपुरो पनि अरू छोराछोरीलाई दिनै पुग्दैन थियो । त्यसबीचमा हरियाले एक/दुईपटक दुई/चार गाँस खिचडी (गिलो भात) र दुई/चार मुठी मुरही (भुजा) भेटेको थियो । बिस्कुट वा हर्लिक्सको त उसले कल्पना पनि गरेको थिएन ।
हरियाभन्दा अघिका दुई छोरी, एक छोरा र पछिका दुई छोरी गरी हरियाबाहेकका पाँच सन्तानहरू सिरानीपट्टि लहरै सुतेका थिए । रौदिया, हरिया र रासोवतीको एउटा ओछ्यान थियो, बाँकी भन्ट्याङभुन्टुङहरूको छुट्टै ओछ्यान थियो । दुवै ओछ्यानमा सुत्नेहरूका टाउका एकै ठाउँमा जोडिएका थिए भने खुट्टाहरू विपरीत दिशातिर फर्किएका थिए । त्यसो त हरियाले पनि दिदीबहिनी र दाजुसँगै सुत्नु पर्थ्यो, तर बिरामी भएका कारण उसले आमाबाबुसँगै सुत्ने मौका पाएको थियो ।
सात वर्षको हरियाको भुँडी भोकले बटारिँदै थियो । अरूले पनि अघाउँजी खान त कहाँ पाएका थिए र ? तैपनि उनीहरू बिरामी नभएकाले सानोतिनो काम सघाएर जुठोपुरो खान मालिकको घरमा पुगिहाल्थे ।
रौदियाले छेवैमा बाँधिराखेको छ बेत ब्याइसकेकी बूढी गाईतिर हेर्यो । गाईको अगाडि पनि पराल सिद्धिएको थियो । उसले आफू सुतेकै ठाउँको ओछ्यानमुनिबाट एक मुठी पराल तानेर गाईको अगाडि राखिदियो । त्यसपछि उसले कुन्नि के सोच्यो ? धेरै बेरसम्म बूढी गाईतिर हेरिरह्यो । फेरि कुकुरको आवाजले ऊ झसङ्ग भयो र घुरको छेउमा टुक्रुक्क बस्यो । उसले घुर खोस्रियो, घुरभित्र दबेर रहेको आगो बाँकी नै थियो । डिबियाको छेउमा राखिएको बिँडीको ठुटो टिपेर घुरमा झोस्यो ।
रौदियाले बिरामी छोरातिर हेर्यो, ऊ निन्द्रामै केही बर्बराइरहेको थियो । रौदियाले चिन्तित भएर बिँडीको सर्को तानिरह्यो । रासोवती पनि उठेर बसी । “बौकी के बाउ ! कोनो जोगाड त करैये पर्लै ।”५ रासोवतीले लामो निःश्वास छोड्दै भनी । कुनै उपाय त गर्नैपर्छ भन्ने रौदियाले पनि बुझेको थियो तर के गर्ने भनेर उसले केही सोच्न सकेको थिएन । रौदिया केही बोलेन, उसले बिस्तारै मुन्टो हल्लायो । त्यसपछि त्यहाँ कोही बोलेन । धेरै बेरसम्म त्यहाँ मौनताले नै रजाइँ गर्यो । बाहिरपट्टि केवल कुकुरहरू भुकिरहेका थिए ।
धेरै ठाउँ भ्वाङ परेको कम्बल ओछ्यानबाट तानेर रौदियाले ओढ्यो र बिरामी छोराको लागि कतैबाट औषधिको बन्दोबस्त गर्ने विचार गरेर ऊ उभियो । खापा नभएको ढोकामा खापाको रूपमा झुण्ड्याइएको गुन्द्री उचालेर ऊ बाहिर निस्कियो । कहाँ जाने भन्ने निर्णय गर्न नसकेर ऊ धेरै बेरसम्म आँगनमै उभिरह्यो । छोराको उपचारका लागि कसको अगाडि हात फैलाउने, रौदियाले केही सोच्न सकेन । जति सोचे पनि उसको मस्तिष्कमा मालिकको चित्रबाहेक कसैको सम्झना आएन तर मालिकको रुखो र अमानवीय व्यवहारको सम्झनाले गर्दा उसले मालिकको अगाडि जाने आँट गर्न सकेन । मालिकको अगाडि गएर कुनै उपलब्धि हुन सक्तैन भन्ने कुरा उसलाई राम्ररी थाहा थियो । पुरानो कर्जा नै तिर्न नसकेको सम्झनाले उसलाई मालिकको घरतिर पाइला बढाउन दिएन । त्यसो भए कहाँ जाने त ? के गर्ने ? के छोरालाई त्यसै मर्न दिने ? ऊ किंकर्तव्यविमूढ भएर आँगनमा ठिङ्ग उभिरह्यो ।
आकासमा ताराहरू टिल्पिलाइरहेका थिए, कुकुरहरू निरन्तर भुकिरहेका थिए । बीच–बीचमा उल्लुको उराठलाग्दो आवाज पनि कतै टाढाबाट मिसिन आइपुग्थ्यो । रौदिया गन्तव्यहीन भएर अगाडि बढ्यो । पोखरीको डिलमा पुगेर उसका खुट्टा रोकिए । उसले फेरि पनि समाधानका उपाय खोज्ने प्रयास गर्यो तर अहँ ! सबै बाटाहरू बन्द थिए । ऊ पोखरीको डिलमा टुक्रुक्क बस्यो । त्यहाँ झोक्राएर बस्दाबस्दै मानिसहरू ब्युँझिन थालिसकेका थिए । बिस्तारै मानिसहरूको आवागमन बढ्न थाल्यो, उसलाई बूढी गाईको सम्झना आयो । घरमै जन्मिएको बाच्छीलाई उसले असाध्यै माया गरेर पालेको थियो । त्यसलाई बेच्न उसको मनले मानेको त थिएन, तर बिरामी छोरालाई सम्झिएर उसले बूढी गाई नै बेचेर भए पनि समस्या टार्ने निश्चय गर्यो ।
उसले धेरैजनासँग कुरा गर्यो । मृत्युको मुखमै पुगिसकेको बूढी गाई किन्न कोही पनि तयार भएनन् । उसले आफ्नो समस्या नबताएको पनि होइन, तर आफ्नो नोक्सानी सहेर उसको समस्या समाधान गर्ने उदारता देखाउन कसैको रुचि भएन ।
त्यतिकैमा गाउँमै स्वास्थ्य चौकी भएको र त्यहाँ निःशुल्क रूपमा औषधि पाउन सकिने कुरा रौदियालाई कसैले बतायो । उसको अँध्यारो अनुहार उज्यालो भयो, आशाको एउटा किरण भेटेर । दिन निकै बितिसकेको थियो, ऊ दगुर्दै स्वास्थ्य चौकी पुग्यो । उसले स्वास्थ्य चौकीका डाक्टर (अहेव) लाई सबै कुरा बतायो । अहेवले दराजमा हेर्यो, त्यहाँ औषधिको एक चक्की पनि बाँकी थिएन । अहेव रमेशले कोठाको एउटा कुनामा राखिएको बाकसको ताल्चा खोल्यो र औषधिका केही चक्कीहरू झिकेर रौदियाको हातमा राखिदियो । सम्भवतः उसले यस्तै आकस्मिक अवस्थाका लागि केही औषधि जोहो गरेर राखेको थियो । उसले सम्झायो, “यो औषधि खुवाएपछि ज्वरो ठीक हुन्छ तर खाली पेटमा खुवाउन हुँदैन । छोरालाई केही खुवाएर मात्र औषधि खुवाउनू ।” रमेशले बिरामीलाई पोषिला खानेकुरा खुवाउन पनि सम्झायो । हातमा औषधि परेपछि रौदिया अँध्यारै अनुहार लिएर घरतिर लाग्यो ।
भोलिपल्ट स्वास्थ्य चौकी खोल्दै गर्दा रौदिया टुप्लुक्क आइपुग्यो । “हमरा सभके लिए येहेन दबाइ नै चाहि ।” आफूहरूलाई यस्तो औषधि नचाहिएको कुरा उसले मलिन स्वरमा बतायो । रमेश छक्क पर्यो, “किन ? के भयो ? यो औषधिले ज्वरो कम भएन ?”
“होइन, होइन । मैले औषधि नै खुवाइनँ ।” रौदियाले निर्दोष भावमा भन्यो, “तपाईंले औषधि खालि पेटमा नखुवाउनू भन्नुभएको थियो । घरमा उसलाई खुवाउन केही नभएपछि औषधि नै खुवाइनँ । हामीलाई यस्तो औषधि चाहिँदैन, हामीलाई त भोको पेटमा खुवाउन हुने औषधि चाहिन्छ ।”
शब्दार्थः
१. लाटीको बाउ ! तिमीलाई निन्द्रा लागेन ?
२. म आमा हुँ त्यसको, कसरी सुत्न सक्छु ?
३. लाटीको बाउ ! अब कसरी हुन्छ ?
४. मलाई भोक लागेको छ ।
५. लाटीको बाउ ! कुनै जुक्ति त गर्नैपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।