शिवकुमारलाई एकाबिहानै अस्पताल नपुऱ्याई नहुने भयो । रातभरि सास फेर्न कष्ट भइरह्यो । अक्सिमिटरले अक्सिजन लेभल पन्चानब्बे प्रतिशतभन्दा कम देखायो । अघिल्लोपल्टको कोरोनाले उनलाई निकै खच्क्याएको थियो । हुन त उनी स्वस्थ हुने बाटोमा ताते ताते गर्दै बामे सरिरहेका थिए । दिल्लीमा अत्यधिक सवारीसाधन र उद्योगहरूले वातावरण प्रदूषित पारेको त छँदै थियो l त्यसमाथि अक्टोबर महिनाको दीपावालीमा दिल्लीवासीले धेरै पटेका पड्काएछन् । फुलझडी बालेछन् जसले गर्दा प्रदूषण अझ थपियो ।

महानगरको बिहानीको हावाको गुणस्तर सूचकाङ्क १६०० सम्म पुग्यो, जबकि १०० लाई छुँदै अस्वस्थकर ठहरिन्छ । मानिसहरूले त्यतिबेला आँखा रसाएका र घाँटी पर्पऱ्याएको भनेर उजुरी गर्न लागेका थिए । अस्पताल भरिएका थिए । त्यसै बेला दिल्लीको छेउछाउका किसानहरूले आफ्ना बाली भित्र्याएपछिको नल खेतमै जलाएछन् । यसले गर्दा प्रदूषण झन् जटिल बन्यो । आकासको रङ खरानीजस्तो देखियो । मानिस घरबाट निस्किनसक्नु भयो । स्कुल, कलेजहरू आपतकालीन बन्द घोषणा गरियो । हुन त प्रिन्ट र इलेक्ट्रोनिक मिडियाहरू सक्रिय भएर यस कुरालाई निकै हुँडले । तर वातावरण त बिग्री सकेको थियो ।

शिवकुमारको फोक्सोलाई निकै क्षति भएको रहेछ । सबै प्रकारका जाँच सकेपछि डाक्टरले ठुलो सास फेर्दै टिप्पणी गरेका थिए “हजुरको फोक्सोको आधासरो नष्ट भएको रहेछ । दिल्लीकै वातावरणमा रहिरहे अझ बिग्रिएला । तर अप्रदूषित् वातावरणमा सरेदेखि फोक्सोका कोषहरूले पुनर्जीवन पाउलान्  । फोक्सोका तन्तुहरूले सफा परिवेश पाएमा आफैँ मर्मत भएको पनि मेडिकल रिपोर्ट पाइएको छ कोरोनाका बिरामीहरूमा  ।”

उमेर हुँदाखेरि धेरै टाठा थिए शिवकुमार । तर सेवानिवृत्त भएको दस वर्षपछि उनको शरीरमा अघिको जस्तो तागत रहेन । समाचारपत्रहरू प्रखर भए दिल्ली विश्वको सबैभन्दा धेरै प्रदूषित महानगरमध्ये एक हो भन्नमा । यस्ता वातावरणमा बसिरहँदा फोक्सोभित्र रोगले गुँड बनाउने भयो । छोरो दीपकले बाबुलाई देहरादुन लगेर राख्ने प्रस्ताव राख्यो ।

शिवकुमारले निकैबेरसम्म घोत्लिएपछि जवाफ दिए, “देहरादुन होइन, बरु म आफ्नो जन्मस्थान असमको धौला जान्छु । उता हावापानी शुद्ध पाइन्छ, छेउमा आफन्तहरू पनि छन् । मातापिता नभएर के भो र ? एकमात्र भतिजो त छ । हेरदेख गरी हाल्छ नि । त्यसै पनि धौलाका प्रख्यात पण्डित रमालाल उपाध्याय दाहाललाई नचिन्ने को छ र ?” गर्वकासाथ बोले शिवकुमार, यानि शिवकुमार दाहालले ।

परिस्थितिले यो रूप लिनु परेकाले विष्णुमाया विवश छिन् । बिहे गरेर पचपन्न वर्ष सहयात्रा गरिसकेपछि आज आफ्ना श्रीमानलाई यो अवस्थामा छोड्नुपर्ने परिस्थिति आयो । ठुलो कम्पनीको जागिरको जाँतो पिस्दै एकमात्र छोरो बिदेसिएको छ । आफ्नो काखको छोरालाई सम्हाल्दै नोकरी भ्याउनु बुहारीलाई हम्मे हम्मे पर्छ । बुहारीको साथ दिन विष्णुमायालाई दिल्ली नबसी भएन ।

डा. देवेन सापकोटा

दायित्व र कर्तव्यलाई तराजुका दुवैपट्टि राखी तौलिरहेकी थिइन् विष्णुमाया । दायित्वकै पल्ला भारी हुँदो रहेछ, किनभने यो निर्णय तत्काल लिनुपर्ने हुँदोरहेछ । कर्तव्यको बोझलाई केही क्षण पछि टाल्न सकिँदो रहेछ । नाति हुर्काउनु विष्णुमायाको दायित्व हो । के यो उनको प्रदूषणले गराएको पारपाचुके हो ? आफ्नो श्रीमानलाई सङ्कटको घडीमा साथ दिन नपाउँदा उनलाई अपराधबोधको काँडाले बिझाइरहे पनि पतिले परिस्थिति निश्चय नै बुझिदिएका होलान् भन्ने आशाको पेन्डुलमा झुन्डिरहिन् उनी ।

तर सोचेजस्तो सजिलो कहाँ हुँदोरहेछ र परिस्थिति ? शिवकुमारलाई हवार्इ जहाजमा लैजान डाक्टरले मनाही गरे । आकाशमार्गबाट जाँदा हावाको दवाव कम हुने भएकाले उनलाई सास फेर्न अप्ठ्यारो हुनसक्छ रे । भूमि मार्गबाहेक अर्को विकल्प देखिएन । नयाँ दिल्लीबाट गुवाहाटी, त्यसपछि तिनसुकियासम्म रेलगाडीमा l  त्यसपछि गाडीमा ५० किलोमिटरको दूरीमा धौला । यात्रामा लामो समय त लाग्ने भयो । तर नहुनु मामाभन्दा कानो मामा नै निको l

विद्यालय र महाविद्यालय । यसरी नै पढाइको सिँढी उक्लँदै, जीवनको दाइँ गर्दै विश्वविद्यालयसम्म पुगेका थिए उनी । तर मियो चाहिँ गाउँको घरलाई नै राखे । त्यसपछि जागिर अनि विवाह । भारतीय रेल विभागको जागिरले उनलाई देशका विभिन्न ठाउँमा डुलाए पनि आफ्नो मनभित्र सिङ्गै धौला बोकेर हिंडेर हुन्थे उनी । यसभित्र प्यारो गाउँ, पारिको ब्रह्मपुत्र नदी, बगर, झेउवा र काँसघारी, पशुपंक्षी, चराचुरुङ्गीलगायत सम्पूर्ण इको-सिस्टम । युवावस्थामा आफ्नो प्रिय गाउँ छोडेका शिवकुमारले बुढेसकालमा परिस्थितिवश: यसरी फर्केर आउनु पऱ्यो । हाय कालचक्र !

जागिरको गाडी गुडाउँदै उनी जुनजुन ठाउँमा पुगेका हुन्थे त्यही त्यही ठाउँमै देखिएका दृश्यहरूले आफ्नो प्यारो गाउँलाई झझल्क्याउँथ्यो र मन्थन गराउँथ्यो। उनका भावनाहरू तन्किएका रबर ब्यान्डजस्तै हुने गर्थे । जति जति टाढा हुँदै जान्थे उति उति गाउँप्रति उनको आकर्षण प्रवल हुने गर्थ्यो ।

हैदारबादका नाङ्गा पहाडहरू देखेर उनी मनमनै प्रश्न गर्थे ‘यी पहाडहरूमा हरिया रुख उम्रिए भने हाम्रा असमका पहाडजस्तै कस्तो सुन्दर देखिन्थे होला ? त्यही अनुकूल इको सिस्टममा कति सुधार आउने थियो होला’ ?

एकदिन विष्णुमायाले मोबाइलमा म्यासेज पठाइन्..’निको आनन्दै हुनुहुन्छ होला नि ।’

‘सन्चै त छु । तर निको र आनन्दको बीचमा ठुलो फरक हुँदो रहेछ । त्यो अनुभव म दिन प्रतिदिन उपलब्धि गरिरहेको छु । यहाँ भतिजो केटाले मलाई उसको ठुलो घरको छेउमा छुट्टै छरितो घर बनाइदिएको छ । कोठामा अक्सिमिटर, थर्मोमिटर, अक्सिजन सिलिन्डर, मास्क यावत सबै चाहिने सामग्री उपलब्ध गराइदिएको छ । बस्ने, सुत्ने, आराम गर्ने राम्रो व्यवस्था छ । तिमीहरू सुर्ताउनु पर्दैन । त्यता कस्तो छ ?’

‘प्राय: दिनभरि कि त भान्सा घरमा, नत्र नातिकेटासँग समय बित्छ । उसलाई ठ्याँस ठ्याँसे खोकीले कहिल्यै छोडेन । धेरैवटा अस्पताल धायौँ । प्रायः सबैले डस्ट एलर्जी भनेका छन् । ओखतीमुलो चल्दैछ । निश्चय आराम पाउला । राति भने मलाई एक्लोपनले स्वात्तै निलेको हुन्छ ।…उडी जाउँ भने म पन्छी होइन, बस्न त मन छैन।’ विष्णुमायाले परालको आगो कथाको उद्धरण गरी आँसु बगिरहेका कतिपय इमोटिकन टाँसी कुरा टुङ्ग्याएकी थिइन् । फोनमा लामो बोल्नु पर्दा शिवकुमारको बोलीमा स्वाँ स्वाँ हुनथाल्छ । त्यसैले आफ्नो बोल्ने प्रवल इच्छालाई मुटुमै दबाएर उनले ह्वाट्स‌एप या इमेलमाथि निर्भर गर्नुपरेको छ ।

“हिजोआज कस्तो छ दिनचर्या ?  कस्ता काममा व्यस्त हुनुहुन्छ ?”

“ब्रह्मपुत्रको किनारको निर्मल हावामा प्रातः भ्रमण गर्छु । त्यसपछि प्राणायाम र हल्का व्यायाम । दिनभरी आफैंलाई व्यस्त राख्न कतिपय गैर सरकारी संस्थासँग जडित भएको छु । एउटाले ब्रह्मपुत्रको बगरमा भइरहेको क्षयीकरण रोक्नलाई उल्लेखनीय काम गरिरहेको छ । मैले पश्चिम  बङ्गालको सुन्दरवन अञ्चलका साथीहरूलाई पनि जोडेको छु । त्यहाँको म्यान्ग्रोभ इको सिस्टम विश्वको सबैभन्दा ठुलो हो । म्यान्ग्रोभ नदीको डेल्टा वा सागरको किनारमा उम्रेर त्यहाँको माटोलाई बग्नबाट समाएर राख्छ । मलाई लाग्छ त्यो खालको वनले त्यहाँ जस्तै यहाँ पनि भूमि अवक्षयण रोक्नलाई निश्चय काम गर्छ । असमको बर्सेनी बाढी आउने समस्यालाई केही हदसम्म रोक्न यस उपायले निश्चय मद्दत गर्ला । यस बाहेक यहाँका युवाहरूले वातावरण-मैत्री अर्ग्यानिक कृषि कार्यमा धेरै रुचि देखाएका छन् ।

भारतका अरण्य मानव कहलाइएका जादव पाएङको अनुप्रेरणामा लागेर पनि वृक्षरोपण काममा जडित भएको छु । म आएपछि यस क्षेत्रमा हरियाली बढेको छ । तिमीले दिल्लीमा दुई पल्ट सास लिँदा जति अक्सिजेन शरीरलाई दिन्छ्यौ यहाँ एक पल्ट सास लिँदा त्यो भन्दा धेरै शरीरले पाउला ! इमेलको अन्त्यमा उनले जिब्रो निकालेर हाँसेका कतिपय इमोटिकन टाँसी दिएका थिए ।

दिनभरिको व्यस्ततापछि ओछ्यानमा विश्राम लिइरहेका थिए, एक साँझ शिवकुमारले । धेरै दिनपछि पूर्णिमाको जून देखेछन् झ्यालबाट । कञ्चन सफा ! त्यहाँबाट पोखिएको स्वच्छ ज्योतिले चारैपट्टिको वातावरणलाई पखालेर निर्मल पारिदिएको, शीतले नुहाएका पातहरूमा स्निग्ध ज्योतिको प्रतिफलन् भएर कतै कतै ऐना जस्तै टल्किरहेका, अनुपम सौन्दर्य दिल्लीमा हुँदा उनले कैयौंचोटि पूर्णिमाको जून देखेका त थिए, तर यति चम्किलो कहिल्यै देखेका थिएनन् । के प्रदूषणले गर्दा नै दिल्लीमा जून मधुरो भएको थियो त ?

‘घुटुँङ्ङ’ । झल्याँस्स भए शिवकुमार। विष्णुमायाको ह्वाट्सएप म्यासेज रहेछ । म्यासेज होइन प्रश्नचिन्ह र सोचमा डुबेका कतिपय इमोटिकन पो । जवाफमा उनले लेखे…‘प्रदूषणले गर्दा दिल्लीका रुखपातहरू धुलाले पुरिएका हुन्थे । तर यताका चाहिँ सफा-सुग्घर । भर्खर पखालेका जस्ता निक्खुर हरिया । दिनको आकाश स्वच्छ निर्मल हुन्छ । तर बेलुकाको आकाशले पिलपिल चम्किला ताराहरू सजाएर मुस्कुराउँदै तिमीहरूको कुशल संवाद सुनाए जस्तो लाग्छ’।

जीवनको नौका खियाउँदै उनी दिल्ली पुगेका थिए कुनै एक समयमा । जागिरबाट सेवानिवृत्त भइसकेपछि त्यहीँको वसन्तविहारमा स्थायीरूपले बस्न थाले । तर बाहिर जतिसुकै दिल्लीवाला भए पनि अन्तरमा उनी धौलावासी गाउँले नै भ‌इरहे ।

आज बिहानदेखि नै शिवकुमार खुसीमा तैरी रहेका छन् । बेलुकाको ५ कतिखेर बज्ने हो, बार-बार घडीतिर हेरिरहेका छन् । त्यतिबेलै छोरा,  बुहारी र नातिलाई साथमा लिएर विष्णुमाया उनलाई भेट्न आउने कुरा छन् सुदुर दिल्लीबाट । प्रदूषित वातावरणलाई झेल्न नसकेर उनले दिल्ली त्याग गर्नु परेको थियो, प्राय: आठ महिनाअघि । समयले कोल्टे फेरिरह्यो यसैबीच । उनले यस ठाउँमा आएर गाउँवासीको सहयोगले धेरै काम गर्न सकेका छन् । जैविक मल बनाउने, अर्ग्यानिक खेती, सामाजिक वृक्षरोपण, इको पार्क … विष्णुमायालाई कुन पहिला, कुन पछि देखाउने हो ? आत्तिएका छन् शिवकुमार, कुनै विद्यार्थीले प्राध्यापकलाई गृहकार्य बुझाउनुअघि विचलित भए जस्तै गरी ।

‘आदर्श धौला गाउँ’ आकर्षक साइन बोर्डले मानौं स्वागत गऱ्यो विष्णुमायालाई । आज भन्दा ४५ वर्षअघि उनी यस गाउँमा भित्रिएकी थिइन् बुहारीका रूपमा । त्यसको केही महिनापछि नै बाहिरपाटो लाग्नु पऱ्यो उनी, जागिरे स्वामीलाई साथ दिँदै । मानौं कुनै डिब्बा नै भएर रेलइन्जिन रूपी पतिको पछिपछि घिस्रिँदै। मौका मिल्नासाथ आफ्नो प्यारो गाउँ टुप्लुक्क आइपुगिहाल्थिन् उनी । तर आजको आगमनमा भिन्नै रसले लटि्टएकी छिन् विष्णुमाया । बाटाहरू पनि सुन्दर ब्लक लगाएर बनाइएका, दुवैपट्टि हरिया वृक्षहरू । हर घरका तगाराअघि वातावरण-मैत्री डस्टबिन राखिएका ।

घरको आँगनमा पुग्नेबित्तिकै मनलाई फुरुङ्ङ उडाउँदै विष्णुमाया नै पहिला उत्रिइन् गाडीबाट । त्यसपछि अरूहरू । यत्रोबेर टट्टाइरहेका आँखामा मुस्कान भर्दै शिवकुमार लम्किए स्वागत गर्न । मनभित्रको ज्वारभाटालाई सम्हाल्दै मुसुमुसु हाँसी पतिदेवलाई हेरेको हेरेकै भइन् विष्णुमाया । लामो वनबासबाट फर्केर आएकी सीताले रामलाई देख्ताको सुखानुभूतिमा डुबिरहिन् उनी । गाडीका पछिपछि कुद्दै आएका भुराहरूका कल्याङ-मल्याङले उनलाई झस्कायो । हत्तपत्त सामान्य भइन् उनी । अनि साथमा ल्याएका चकलेट नातिको हातमा थमाउँदै बोलिन्.. “ल, नानी यी सबै यिनीहरूलाई बाँडिदेऊ अनि मित्रता बनाऊ ।”

आफू बसेको कोठा कतिखेर विष्णुमायालाई देखाउँ भएको थियो शिवकुमारलाई । हत्तपत्त उतै लगे । दुवै एकान्तमा मौन । आपसमा हेराहेर, बीचमा चकमन्नता ।

“किन यसरी मतिरै टोलाइरहेकी यत्रो बेर ?” छेउमा गएर कुममा चिमोटेपछि अनुहारमा ज्योति टल्काउँदै विष्णुमायाले बोलिन् । “यत्रोदिन पठाउने गर्नु भएको भिडियो क्लिपमा तपाईं हुनुहुँदो रहेनछ त ?” यति बोलिसकेपछि विष्णुमाया रोकिइन् ।

शिवकुमार झस्किए । ‘मैले कहाँ गल्ती गरेँछु’ मानसिकताले चिन्तामग्न भए उनी । विष्णुमायाले नै सन्नाटा खोलिन्.. “तपाईं त अझ सुन्दर हुनुभएछ यहाँ आएर”। त्यसपछि दुवै हाँसे मरीमरी । “हाफ प्यान्ट लगाएर तपाईंले दस वर्ष उमेर घटाउनु भएछ, तपाईंको गालामा युवा अवस्थाको दूधमा अलिकति सिन्दुर पोख्दा झल्किने कान्ति आएको छ । माइतको हावापानी खुबै फापेछ तपाईंलाई । निधारका बलिरेखाहरू पनि पुरिएछन् ।”  विष्णुमायाको दिल्लगीमा ऊर्जित हुँदै शिवकुमारले थपे .. “खै आफ्नो अनुहार आफै देखिँदैन l तर यति भने पक्का हो हिजोआज मलाई लामो कुरा गर्दा पनि स्वाँ स्वाँ हुँदैन । ”

“हजुरको स्वास्थ्यको सुधार त दूधको दूध, पानीको पानी देखिन्छ । ऊ आल्मारीभित्र राखिएका अक्सिमिटर, थर्मोमिटर, अक्सिजन सिलिन्डर, मास्क यावत् सबै सामग्री अहिले केवल प्रदर्शनका चिज भएका छन् । विचराहरू जागिर खोसिएका रैती जस्ता”। दुवै हाँस्न लागे एकैचोटि । विष्णुमायाको हाँसोमा पतिले प्राप्त गरेको सफलताको खुसियाली थियो भने शिवकुमारको हाँसोमा आफ्नो दिग्विजयको ।

भोलिपल्ट शिवकुमारले छेवैको छपडीमा लगेर सहकारी रूपमा युवाहरूले खेती गरेको ठाउँ देखाउँदै भने..”यो हाम्रो तेस्रो पिँढीले गरेको सफलता हो । हाम्रा पहिला पुस्ताले यहाँ गाईभैँसीको गोठ पालेर दूध उत्पादन गरे । सन्तानलाई स्कुल-कलेज पढाए । अहिले यो तेस्रो पुस्ताले विज्ञानसम्मत अर्ग्यानिक खेती गर्दैछन् l विदेशतिर निर्यात गर्दैछन् । यत्रो दिन रसायनिक मलले बिग्रिएको माटोले अर्ग्यानिक मल भेटेर प्राण पाए जस्तो भएको छ ।” बेलुका सबै मिलेर प्रख्यात धौला-सदिया पुलमा गई प्राकृतिको सुन्दर दृश्य अवलोकन गरे । भारत भित्रकै यो सबैभन्दा लामो सेतुमाथि चढी अभिभूत भए ।

हेर्दा हेर्दै विष्णुमायाहरूको फर्कने समय आएछ । यो यात्रामा सबैभन्दा रमाइलो समय बितायो नाति केटाले । धेरै साथी बटुल्यो । हजुरबुबा पढेको स्कुल पनि पुग्यो । सबै खाले कुरा उसका लागि अन्वेषणात्मक र रोचक थिए । तर ऊ हिजैदेखि घोरिइरहेको छ ।  गाउँ छोड्न एकदमै मानेको छैन । दिल्लीको बाकसे घरभन्दा गाउँको खुल्ला घर धेरै राम्रो अरे ।

बिहानी बिदाको मुहूर्त । दिल्ली फर्केने चारैजना प्राणी गाडीभित्र चढिसकेका थिए । बिदा दिने र लिने दुवै पक्षका अनुहार बादलले ढाकेको थियो । निशब्दतालाई शिवकुमारले नै हटाए…… ” यो दस दिन कसरी बित्यो पत्तै भएन । मेरा लागि दिल्ली जानुचाहिँ अकासको फल नै भयो । अब तिमीहरू  नै आउँदै गर्नू समय निकाली ।”  उनको बोलीमा निराशालाई आशाले ढाक्न खोजेको थियो। “हामी बेलाबखत आई नै रहन्छौं । सुर्ताउनु पर्दैन नि । ओइलाउँदै गरेको जिन्दगीलाई पुनरुत्थान गर्न धौला पो आउनु पर्ने रहेछ । हाम्रो नातिको खोकी पनि हरायो यहाँ आएर l अचम्म ।

“तिमीले सही भन्यौ । म सेवानिवृत्त भएपछि दिल्लीमा होइन बरु यतै सर्नु पर्ने रहेछ । मेरा लागि त यो भू-स्वर्ग जस्तो भएको छ ।” एक अनुभवीले स्वागतोक्ति दिएजस्तो गरी बोले शिवकुमारले ।

नाति केटाका साथीहरूले त गाडीलाई नै घेरिरहेका थिए । सबैका अनुहार अँध्यारा र आँखा रसाएका थिए । गाडी आँगनदेखि निस्केर टाढा गइसक्दा पनि नातिले पछिल्तिर मुन्टो फर्काई हेरिरहेकै थियो ।

*****

कम्प्युटरको पर्दामा आँखा टेकाइरहेका थिए शिवकुमारले जुलाई महिनाको कुनै एक बेलुकी । एक्कासि एउटा ठुलो गाडी आएर आँगनमा रोकियो । झस्के शिवकुमार l अनि चस्माको फ्रेमलाई मिलाउँदै बाहिर निस्के । तर आफ्नै आँखालाई विश्वास गर्न सकेनन् उनले । चस्मालाई खोले, पुछे, अनि फेरि भिरे । त्यति गरेर पनि भएन  छेउमा गएर निधार खुम्च्याउँदै घोरिए । त्यतिबेलै नाति केटाले अँगालो हाल्दै चिच्च्यायो “हजुरबुबा, हामी आयौँ”। अनि खित्का छोड्दै विष्णुमायाले बोलिन्… “हजुरलाई सर्प्राइज दिनभनी हामी सूचना नदिइकन यसरी आएका”।

“तिमीहरू चारैजना आएछौ त”..शिवकुमारको कौतुहल अझै हराएको थिएन । “धौलामा आएर तपाईंले पुनर्जीवन प्राप्त गर्नुभयो । धौलामा आएर तपाईंको नातिको एलर्जी खोकी हरायो । दीपकको बहुराष्ट्रिय कम्पनीले उसलाई धौलाबाटै अनलाइन सेवा प्रदान गर्ने अनुमति दियो । बुहारीले यहीँको गैर सरकारी अनुष्ठानमा काम गर्ने सम्झौतामा इ-हस्ताक्षर गरिन् । नाति केटाले उसको हजुरबुबा पढेकै स्कुलमा जान ढिप्पी गरिरहेको छ । आखिरमा धनसम्पत्ति, ब्याङ्क ब्यालेन्स सुखको लागि नै हो भने हामी यी मूर्त वस्तुहरू धौलामै प्रशस्त पाउने रहेछौं । भौतिक सुखभन्दा मानसिक सुखको परिधि अपार हुँदोरहेछ । त्यसैले अब हामी स्थायी रूपले धौलामै बसौँ । तपाईंको के राय छ ?”

शिवकुमारको छाती गर्वले नाङ्लो जत्रो भएको थियो । खुसीका आँसुले आँखा टिलपिल भरिएका थिए । उनी वाकरुद्ध भई ठिङ्ङ उभिइरहे । उभिई नै रहे l

———————

धौला = धोला

(यताका नेपालीभाषीबीच धौला नाउँले लोकप्रिय भएको यस अञ्चलको भौगोलिक नाउँ धोला हो ।)

छपडी= नदीको दुवै पारी रहने मलिलो जमिन ।