धेरै वर्ष अगाडि देवपुर राज्यमा एउटी कन्या देखापरिन् । हिउँजस्तै गोरो वर्ण मुहारमा स्याउका दाना जस्ता गाला, मृगका जस्ता चन्चले आँखा, गुलाफी ओठ भएकी सुन्दर कन्या, उनी मुस्कुराउँदा देखिने मिलेका दन्तलहरले सबैलाई मोहित बनाउँथ्यो । लसक्क लस्केर हिंड्दा शरीरका प्रतेक अंग चटक्क मिलेका छुँदा पनि दाग लाग्ला जस्तो कोमल अंग कम्मरसम्म लर्किएको लामो कपाल भएकी सुकुमारी, बत्तिस लक्षणले पुर्ण भएकी सर्वगुण सम्पन्न बाला अत्यन्त सुन्दरी थिइन् । कृष्णजीको मुरली जत्तिकै मिठो सुनिरहन मनलाग्ने उनको मधुर बोलिमा लठ्ठ परेका जमातलाई थाहै थिएन कि उनी कसकी छोरी हुन्, अनि उनको नाम के हो !
चन्चले स्वभाव भएकी कन्या एकक्षण चुपलागेर बस्दिन थिइन् । खेत खलियान, पाखा पर्वत, हिमाल पहाड सबैतिर पुग्थिन् । सबैकी प्रिय थिइन्, नहोस् पनि के र हावाझैं वेग मारेर सबैको घरघरमा पुग्थिन् । उनलाई देख्नेजति सबैका मुहारमा रौनक छाउँथ्यो । सबैलाई खुसी बनाउँन सक्ने र सबैकी बन्न सक्ने क्षमता भएकी कन्या आफू पनि खुसी देखिन्थिन् !
देवपुर राज्य सानै भए पनि प्रख्यात थियो । त्यस राज्यका राजा धर्म परायण र दयालु स्वभावका थिए । आफ्ना प्रजालाई सन्तान जस्तै मान्थे र सम्भव भएसम्मको सुविधा दिएर प्रजालाई सन्तुष्ट राखेका थिए । प्रजा पनि राजालाई भगवान् जत्तिकै मान्ने गर्थे । राजा र प्रजामा भएको अत्यधिक मेल देखेर छिमेकी मूलुकहरू निक्कै र्इर्ष्या गर्थे, तर राजा भने कसैको वास्ता नगरी राज्य सन्चालन गरिरहेकै थिए ।
देवपुर नाम जस्तै राज्यमा पनि कुनै कुराको अभाव थिएन । जाँगरिला प्रजाहरू काम गरेर थाक्दैन थिए । प्रचुर मात्रामा अन्नको उत्पादन हुन्थ्यो, खाएर नसकिने अन्न छिमेकी मुलुकतिर बेचबिखन हुने गर्थ्यो । राज्यमा अमनचैन कायम थियो । राजाले अभय गराएकाले जनता रात, साँझ, बिहान जतिबेला पनि निर्भय हुँदै घर बाहिरको कामकाजमा अनवरत रूपमा लागेका हुन्थे ।
परिचय नखुलेकी बत्तिसलक्षणा कन्या देखापरेको कुरा राजाका कानसम्म पुग्यो । राजाले भाइभारदार, गुरु, पुरोहित, ज्योतिष आदि सबैसँग कन्याको बारेमा मन्त्रणा गरेछन् । सबैको राय एउटै बन्यो कि गुणवती कन्या जोसुकै भए पनि उनलाई ससम्मान दरबार भित्र्याउनु पर्छ । कन्या साथै भएमा राजाको यशर्कीति पनि अझ बढ्दै जाने कुरा सबैले राखे । सबैको मन्त्रणामा कन्यालाई दरबार भित्र राख्ने निधो भएपछि राजाले पनि कन्यालाई राजदरबारमा राख्ने मनसाय बनाए ।
कन्यालाई लिन दरबारबाट डोली पठाइयो, जनमानसका अगाडि कन्या पनि खुसी हुंदै डोली चढेर दरबारभित्र पसिन् । शान्त स्वरुपकी रुपवती कन्यालाई देखेर राजा अत्यन्त हर्षित हुंदै उनलाई आफ्नो मानसपुत्री ग्रहण गरे । ज्योतिष द्वारा उनको नामाकरण गरियो “शान्ति” । त्यसैबेलादेखि राज्यको कुनाकुना सम्म उनको नाम फैलियो “शान्ति” आफूले प्रिय मानेको कन्यालाई राजाले सम्मान सहित आफ्नै पुत्री बनाएको देखेर प्रजा पनि अत्यन्त खुसी भएका थिए ।
दरबार गएकी कन्या शान्तिको पालण पोषण र शिक्षा उचित ढंगले हुंदैगयो । तीक्ष्ण दिमागकी शान्तिले सबैकुरा छिट्टै बुझ्दै गइन् । शान्ति दरबारमा बसेदेखी राजामा अझै अत्मबल बढेको थियो । बिकासका कामहरू निक्कै चम्किंदै गएका थिए, राजा र प्रजामा मेल अझ गाडा बन्दै गएको थियो । दर्शनशास्त्र, नीतिज्ञान, अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र आदि सबै कुरामा निपुर्ण भएकी शान्ति सर्वगुण सम्पन्न थिइन् । दिनहरू बित्दै गए, शान्ति यौवनावस्थामा पुगिन् । राजाले उनको बिबाह गर्ने विचार गरे ।
बिबाहको कुरा त उठ्यो तर उनको लागि योग्य वर कहाँ पाउँने ? देवपुर राज्यभरि शान्तिको लागि उचित वरको तलास भयो तर उनको अगाडि कोही उभिन सक्ने थिएन । स्वदेशमा योग्य वर नमिलेपछि विदेशतिर खोजी हुन थाल्यो । छिमेकी देशदेखि टाढा टाढाका देशहरूमा शान्तिको बिबाहको प्रस्ताव लगियो । थाहा पाएजतिका मूलुकले प्रस्ताव स्वीकारेर बिबाहको लागि भेला भए । बल र पराक्रममा कोही भन्दा कम नभएका शूरवीर बिभिन्न मूलुकका राजा र राजकुमारहरूका साथमा अन्य गन्यमान्य व्यक्तिहरूको भेलाले अतिथि भवन भरिभराउ भएको थियो । उचित लग्नमा राजदरबार प्रांगणमा सबै आगन्तुक पाहुनाहरूलाई भेला गराइयो र शान्तिलाई स्वयम् वर चुन्न आग्रह गरियो ।
राजदरबारको प्रांगणमा माथि उभिएका शान्तिको शौन्दर्य देखेर सबै अतिथिहरू मुर्तिजस्तै उभिएको उभिएकै भए । गुणको बखान त सबैले पहिल्यै सुनेका थिए तर सुन्दरताको प्रतिमुर्ति शान्ति, सायद यति सुन्दर स्वरुप उनिहरूले पहिला कहिल्यै देखेकै थिएनन्, आश्चर्य मान्दै हेरिरहेका अतीथिहरू माथि नजर घुमाउँदै शान्तिले आगन्तुक बिबाह इच्छुक अतिथिसँग छुट्टाछुट्टै भेटगर्ने बिचार गरिन् । आगन्तुक कन्यार्थीहरू पनि आआफ्ना कला देखाएर शान्तिलाई खुसी बनाउँन पाए आफ्नो बनाउँन सकिन्छ भन्ने आशामा खुसी भएका थिए । शान्ति बैठक कोठामा गएर बसिन् । लामबद्ध भएका सबैजना क्रमैसँग एकएक गरेर शान्तिका अगाडि उभिन पुगे ।
राज्य चलाउने राजारजौटादेखि राजकुमार, राजपुत्र, सामन्त, व्यापारी आदि कुलिन वर्गका व्यक्तिहरू एकएक गर्दै शान्तिका अगाडि उभिन पुगे । अगाडि उभिएका गन्यमान्य व्यक्तिहरू केही बोल्न नसकेर मुर्तिवत् भएको देखिन्थ्यो । उनको अधरबाट निस्किएको मधुर वाणी, उनको हिंडाइमा देखिएको लचकता, उनको हाउभाउमा देखिने शालीनता, सिंगमरमरमा तरासे जस्तो सरिर, साथै वाणीमा भएको बौद्धिकताले गर्दा जो कोही शान्तिका अगाडि पुग्थे बोल्न नसकेर एकोहोरो उनलाई हेरेको हेरकै भएका हुन्थे । कतिपयले त आफूले आफैंलाई लघुताभास गरी शान्तिका अगाडि नतमस्तक भएका देखिन्थे । कतिलाई लाग्यो शान्ति त देवकन्या हुन् अथवा कथा कहानीमा सुन्ने गरेकी आकाशकी परी हुन् । सबैजसोलाई लाग्यो शान्ति एक असाधारण विदुषी युवती हुन् । उनिसँग बिबाह हैन उनको वौद्धिकतालाई सर्वोपरि मानेर उनको अनुरुप आफूहरु चल्ने अनि शान्तिकै विचार आफ्ना देशमा पनि फैलाउने प्रतिबद्धता आगन्तुक पाहुनाले जाहेर गरे । यस्ती असाधारण युवतीको पिता हुन पाएका राजालाई सबैले साधुवाद दिएर शान्तिको गुणगान गर्दै सबैजना स्वदेश फर्किए ।
कुरा यत्तिमा सकिएन, सँधियार बनेर बसेको छिमेकी मुलुकको सामन्तले भने र्इर्ष्यको भावना बोकेर केही नबोली फर्कियो । शान्तिको अगाडि टिक्न नसके तापनि उ आफूले आफैंलाई सर्वश्रेष्ठ सम्झिन्थ्यो । वरिपरिका ससाना राजारजौटालाई कज्याएर बसेको सामन्तलाई उनको बौद्धिकता स्वीकार्य भएन, मनमनै विचार गर्न थाल्यो शान्तिका कारण अरू ठूलाठूला देशहरूले यो जाबो सानो राज्यलाई समानता अथवा अझ इज्जतको दृष्टिले हेर्न थाले, मैले कज्याएर राख्न नसक्ने भएँ, कसै गरे पनि यसको यशलाई धुलोमा मिलाउनै पर्छ, शान्तिलाई देवपुरबाट फुत्काएर आफ्नो हातपार्न पाए त मेरो पनि नाम रहन्थ्यो अनि त्यो अभिमानी देवपुरलाई क्षतविक्षत बनाएर छोड्ने थिएँ ! शान्ति त मेरो राज्यमा हुनुपर्ने, त्यो सानो देवपुरमा हैन ।
सँधियार सामन्तले रातदिन शान्तिको कामना गर्न थाल्यो, बत्तिस लक्षणा गुणवती शान्तिका कारण संवृद्ध बनेको सानो राज्य देवपुरलाई र्इर्ष्याको भावनाले हेर्न थाल्यो । मेरो राज्यको शोभा हुनुपर्ने शान्तिलाई कसरी हात पारौ ? अर्काको राज्यमा भएको चीज चोर्न त मिलेन, कुन युक्ति लगाऊँ सोच्दा सोच्दै उसको दिमागमा उब्जियो, राजकाजको लागि त साम, दाम, डण्ड, भेद यी चार कुरा अपनाउनु पर्छ, म पनि अब त्यस्तै राजनीतिले छिमेकीमा आगो सल्काएर शान्तिलाई हात पार्छु ।
यता शान्तिले विवाह गरेर परमूलुक नगएकोमा प्रजागण खुबै हर्षित थिए । शान्ति आफ्नै दुनियामा बसुन् भन्ने उनिहरूको कामना पूर्ण भएको थियो । स्वदेश होस् या विदेश, योग्य वर नमिल्दा शान्तिको विवाह हुन सकेन । उनी पनि विवाह नगरेर आफ्ना पितालाई राजकाजमा सघाउन थालेकी थिइन्, दिनहरू बित्दै गए । एकदिन छिमेकी मूलुकबाट मैत्री सन्देश आयो ।
सन्देशवाहकले राजसभामा सन्देश पढेर सुनाए “तपाईहरूको सानो हिमाली राज्य देवपुर हामीले देख्दा स्वर्ग जस्तै लाग्छ । याहाँका प्रजाहरूमा रहेको धार्मिक सहिष्णुता र एकात्मक भावना देखेर हामीलाई आश्चर्य लागेको छ । हाम्रो राज्यमा यस्तो कहिल्यै भएन । हामी छिमेकी भएर सबै हेरिरहेका छौ । यसैगरी राजा र जनताबीचमा एक्यबद्धता हुने गुढ रहस्य जान्न पाउने मनसायले मित्रताको सन्देश पठाएका छौँ आशा छ हाम्रो मित्रता स्वीकर हुन्छ होला । यदि हाम्रो मित्रता स्वीकार हुन्छ भने देवपुर राज्यलाई आवश्यक परेको सम्पूर्ण चिजको जिम्मा हाम्रो हुनेछ । अरू राज्यहरूका अगाडि हामी दुर्इ राज्य एक भएर मित्रताको लहर फैलाउने छौँ । तपाईका राज्यको कुनाकन्दरा सम्म विकासको मुल फुट्ने छ । सबै कुराको जिम्मा हामीलाई दिनोस्, हामी सम्पूर्ण पुरा गर्ने छौँ, बदलामा मात्र असल मित्रताको कामना गर्नेछौँ” सन्देशवाहकले सन्देश पढी सकेर मौन भए । राजाले पनि यसको उत्तर हामी छलफल गरेर पठाउँला भनेर बिदा गरे ।
अर्कोदिन दरबारभित्र बृहत सभा बस्यो । सबैले आआफ्नो राय पेश गरे । कसैले उसको प्रस्ताव मान्नुहुन्न भने त कसैले मान्नुपर्छ भने । मान्नुहुन्न भन्नेको तर्क यस्तो थियो, “केहीदिन अगाडि सम्म हामीलाई सानो मुलुक भनेर हेप्थ्यो, तिमीहरू केही नभएका गरीब हौ सम्म भन्थ्यो, हामी धनी छौ, हामीसँग सबैचिज छ तिमीहरू साना राज्यले हाम्रो अधिनता स्वीकार्नु पर्छ, अरू ससाना राज्यले कुकुरले टाङमुनी पुच्छर छिराएझैं उसको दासत्व स्वीकारेका थिए, तर हामीले मानेनौँ, कुनैदिन सुदृष्टिले हामीतिर नहेर्ने सामन्तले हामीसँग किन मित्रताको हात बढाउँछ ? यो सबै उसको चाल हो महाराज ! केही दिन अगाडि मात्रै कस्ता कस्ता सम्पन्न मुलुकहरूले सर्वगुण सम्पन्न मानेर नतमस्तक भई इज्जत दिएको हाम्री शान्तिलाई उसले वास्तै नगरी हिड्यो अब ऐले किन मित्रताको हात बढाउँदै छ ? विचार गर्नुपर्छ, यत्तिकै हाम्फाली हाल्नु हुँदैन, जाची, बुझी, पर्खेर मात्रै हात अगाडि बडाउनु पर्छ”
स्वीकार गर्नुपर्छ भन्नेको राय यस्तो थियो, “हामीजस्तो सानो मूलुकसँग निस्वार्थ भावनाले मित्रताको हात बढाएको छ, उसलाई के नपुग्दो छ र ? फेरि हामीसँग के पाउनु छ र ? ऊसँगको मित्रताले हामीलाई फाइदै फाइदा हुन्छ, देशको व्यापार फराकिलो हुन्छ, अन्तर देशीय क्रियाकलाप बढ्छ, जनता जागरुक हुन्छन्, फेरि हामीले मित्रता मागेका पनि होइनौ, उताबाट आएको हो, त्यसैले माहाराज ! यो निश्वार्थ रूपमा आएको मैत्रीप्रस्ताव हामीले मान्नु पर्छ”
राजा केगरू के नगरुको दोधारमा परे, झट्ट फैसला गरिहाल्न पनि उचित लागेन र केही दिन विचार गरेर फैसला सुनाउला भन्दै सभा बिसर्जन गरे ।
एकान्तमा बसेर सोचमग्न भएका राजालाई देखेर शान्तिले भनिन् “पिता महाराज ! हजुरको मुहार मलिन देख्दैछु, केही चिन्ता हो कि ?”
राजाले भने “केही दिनदेखि म सोचमा डुबेको छु, छिमेकी मूलुकले मैत्रीको प्रस्ताव ल्याएको छ, भाइभारदारहरू पक्ष विपक्षमा उभिएका छन् मैले कुनै निणर्य गर्न सकेको छैन, तिमी भन त शान्ति ! म के गरुँ ?”
“राजाले आफ्नो विचार भन्दा पनि जनता र भाइभारदारको रायसँग चल्नुपर्छ, बहुमत कता छ त्यतै लाग्नुपर्छ महाराज !” शान्तिका कुरामा सहमति जनाउँदै राजाले भने, “तिम्रो कुरा ठिक हो शान्ति ! मैले बहुमतको कदर गर्नैपर्छ तर मलाई त्यो छिमेकी सामन्तसँग मैत्री सम्बन्धको हात बढाउन मनै छैन । मैले त्यसलाई राम्रोसँग चिनेको छु त्यो धुर्त खाले फटाहा हो, परिआए गला रेट्न पनि पछि पर्दैन, यस्तो कुरा कसरी सबैलाई सम्झाउनु ? मेरो कुरामा सत्यता खोतल्छन्, प्रमाण खोज्छन् यो मेरो विवशता हो कि मैले सबैलाई आश्वस्त पारेर सम्झाउन सक्दिनँ यो त महसुस गर्ने कुरा हो म कसरी सम्झाऊँ र ?”
शान्तिले भनिन्, “आफ्नो बसमा नभएको कुरामा पिरोलिनु व्यर्थ हो पिता महाराज ! कतिपय कुराहरू समयलाई छोडिदिनु पर्छ समयका अधिनमा भएका हामी सबै उसैले देखाएको बाटो हिंड्न विवश छौँ । भोलिको बाटो जानेर होस् या अन्जानमा होस् परिणामको डरले आज हिड्न छोड्नु भएन, परिस्थिति जस्तो आउँछ सामना त गर्नै पर्छ राजाले कसैगरे पनि भाग्न मिल्दैन” “ठिक हो, तिमीले राम्रो सल्लाह दियौ शान्ति ! म भोलिनै राजसभा बोलाएर आफ्नो निणर्य सुनाउँछु । यति भन्दै राजा उज्यालो मुख लाएर आफ्नो कक्षतिर लागे ।
भोलिपल्ट राजसभा बस्यो, प्रस्तावको पक्षमा बहुमत देखियो । राजाले आफ्नो छोटो मन्तव्य सुनाए “समयको भेललाई रोक्न सकिंदो रहेन छ, पिता पुर्खाले भन्थे मनले नखाएको काम गर्दै नगर्नू, कसैका चिल्ला कुरामा लाग्दै नलाग्नू, शास्त्रले निर्देश गर्छ मैमत्ता भएको ठूलो जीवबाट बुद्धिमान सानाले सधै बचेर हिड्नू तर म राजा भए तापनि भाइभारदारको राय सर्वोपरि मानेको छु, बहुमतको कदर मैले गर्नै पर्छ, त्यसैले मैत्री प्रस्तावको स्वीकृति भएको जानकारी भयो, यथा स्थानमा बसेर सबैले सोही बमोजिम कामकारबाही अगाडि बढाउनुहोला ! आशा छ काम गर्दै जांदा जस अपजस् सबै बेहोर्नु पर्नेछ, भगवान्ले हामी सबैलाई सदबुद्धि प्रदान गरून्, सबैको जय कल्याण होस् !”
मैत्री प्रस्तावको समर्थनमा लाग्ने ठूलो जत्थाले खुसियाली मनायो भने समर्थन नगर्नेले दुख प्रकट गरे । कुरा यत्तिमा सक्किएन अब छिमेकी राष्ट्रको सामन्तको तर्फबाट आओत् जाओत् सुरुवात भयो ।
सर्बप्रथम छिमेकी सामन्तले देवपुरका राजालाई मैत्रीप्रस्ताव स्वीकृत गरेको उपलक्ष्यमा सधन्यवाद सहितको ठूलो रकम व्यक्तिगत रूपमा सौगात पठायो, राजाले सबै चीजको खुलासा गराएर राजकोषमा जम्मा गर्न लगाए । केही दिन पछि सामन्त आफै दलबल सहित आयो । राजालाई भेट्यो र विकास निर्माणमा सहयोग गर्ने कुरा सुनायो । राजाले पनि भाइभारदारसँग सल्लाह गर्ने कुरा गरे । यसपटक सामन्त देवपुरमा निक्कै दिन बस्यो । यसैबीचमा उसले भाइभारदारदेखि उच्चतहका कर्मचारी सबैलाई भेट्दै हिंड्यो। उसको सामदाम डण्ड भेदको नीति अनुरुप सबैलाई रकमको लालच मा पार्यो । दुइचारजना कट्टर देशभक्त बाहेक हिजोसम्म बिरोध जनाउनेहरू पनि आज सामन्तको समर्थनमा लागे । केही दिनको बसाइपछि राजा तथा भाइभारदारहरूलाई समेत उसको देशमा आउने निम्तो दिएर गयो ।
लालची भारदार र राजनेताहरूको लर्को छिमेकी देशतिर लाग्न थाल्यो । बिस्तारै सबैको मनपेट जाचिसकेको सामन्तले छुट्टाछुट्टै मन्त्रणा गर्न थल्यो । देवपुर राज्यमा आवश्यक सामानको लर्को छिमेकबाट आउन थाल्यो, खाद्यान्नदेखि लताकपडा लगायतका घरायसी सामानहरू त्यतैबाट आउन थाले । स्वदेशमा भएका आत्मनिर्भरताका चिजबिजहरू बिस्तारै बन्द हुन थाले । सामन्तको तर्फबाट आएका चिजबिज आफ्नो देशमा उत्पादन भएभन्दा सस्तो भएपछि सर्वसाधारण जनता उतै लागे । जसले गर्दा कलकारखानाहरू बिस्तारै बन्द हुँदै गयो, जनताले आफ्नो कृषि कर्म बिस्तारै छोड्दै गए । काम नभए पछि बिलासितातिर जनताको मन जानथाल्यो फलस्वरुप विकृतिको बिजारोपण भयो ।
राजाले आफ्ना भाइभारदार बोलाएर भने “यो सबै के भइरहेछ ? मूलुकको अवस्था त निको देख्दिनँ नि ? स्वदेशमा भएको गतिविधितिर ध्यान पुगे जस्तो लाग्दैन, आजभोलि तिमीहरूको मन कता पुगेको छ ? राजकाज छोडेर त्यो सामन्तको पछिलागे जस्तो देखिन्छ, आफ्नो कर्म भुलेर अन्यत्र लाग्नु मूलुकको लागि हितकर हुँदैन, केही दिन बाटो बिराएका भए अब आफ्नै बाटोमा फर्कनु पर्छ !”
दरबार भित्र बस्ने राजालाई नचाहिंदो कुरा कसले सिकाएछ ? भारदारका मनमा खुल्दुली मच्चियो र भने “माहाराज ! हजुरको काम भनेको प्रजा सुखी छन् छैनन् हेर्ने हो, अरू राजकाजको काममा धेरै वास्ता गरिरहनु पर्दैन हामीले जे गरेकाछौ सोच बिचारले गरेका छौ, दर्बारभित्र बसिरहने राजालाई यस्ता किसिमका नचाहिदा कुरा कसले सुनाउँदो रहेछ ?”
राजाले भने, “शान्तिले राज्य घुमेकी हुन्, उनी प्रजाका घरघरमा पुग्छिन् सबैकुरा देखेकी छिन्, राज्यभित्र भएका गतिविधि उनले रार्मैसँग बुझ्छिन् झुटो बोलिनन् होला” भारदारले विचार गरे हाम्रो सुखी जीवनमा बाधा पुर्याउने त शान्ती पो रहछिन् ! अब धेरै उनलाई बाहिर निस्कन दिनुभएन, एकजना भरदारले भने “महाराज ! हजुरले उनलाई छोरी बनाएर दरबार ल्याएपछि राजदरबारको मर्यादामा बस्नुपर्छ, बाहिरतिर बिनाकाम हिंड्ने होइन नि ! उनी प्रजाको सुख र वैभव देख्नै सक्दिनन् भन्ने कुरा स्पष्टभयो, आखिर मानसपुत्री न हुन् । उनको कुरामा ध्यान नदिएर आनन्दले राजहोस् हामी सबैतिर राम्रो व्यवस्था गर्छौ”
पर बसेर सबैकुरा सुनीरहेकी शान्तिलाई भारदारको कुरा नराम्रो लाग्यो । राजाको विवशता र लाचारीपनमा दया लाग्यो, देवपुरको भविश्य अन्धकार देखिन् । अब उनले दरबारमा बसिरहन उचित नठानेर बाहिरिने उपाय सोच्न थालिन्
छिमेकी सामन्त बाठो थियो, उ आफू नोक्सान खेपेर भएपनि देवपुरको लागि सस्तो सामान उपलब्ध गराउँदै गयो । सामन्तको धनले उन्मत्त भएका भारदार उसैको मात्र गुणगान गाउन थाले । उसको धन खाएकाले उसले जता नचायो उतै नाच्न थाले । विभिन्न नाम धारी समुह र दलमा विभाजन गरेर एकअर्कामा प्रतिस्पर्धी र र्इर्ष्याको भावना पैदा गराउन सामन्त सफल भयो । यदाकदा राजाको पनि विरोध हुन थाल्यो । अराजक बनेका भारदारले बिस्तारै जनता उचालेर आआफ्नो पक्षमा उभ्याउन थाले, शान्त देशमा विभिन्न पार्टी नामको समुह तयार भयो । सबै जाती मिलेर बसेको सुन्दर फूलबारी समानको देवपुर शान्त तलाउमा ठूलो ढुङ्गा हानेर खलबल्याए जस्तै जातजातीको नाममा होहल्ला हुन थाल्यो, थोरै जनसंख्या भएको सानो देशका जनता आफ्नो पुर्ख्यौली काम छोडेर विभिन्न जात, दल र समुहमा आफूलाई उभ्याउन थाले ।
आएदिन देवपुरमा हल्ला खल्ला नेता भाषण आदि सुरु भयो, देशका कलकारखाना र कृषिउपज बन्द भएकाले कामको लागि ठूलो युवाशक्ति बाहिरिन थाल्यो । सामन्तले किनेका नेताका पछिलाग्ने जमातहरू सित्तै पाएको खाना र पैसामा उन्मत्त भएर विभिन्न कुलतमा फस्न थाले । अब देवपुर नाम मात्रको रहन गयो । एक भएका जनतामा पनि आपसी मतभेद हुन थाल्यो । राजा बिलखबन्दमा परे अब उनको बसमा केही थिएन ।
यो सबै देखिरहेकी शान्तिलाई असह्य भयो, हिजोसम्म उनको गुणगान गाएर नथाक्ने जनता आज उनलाई देखेर पनि नदेखेझैं गर्दै थिए । देवपुर र देवपुरवासीलाई आफ्नो सर्वस्व अर्पेकी शान्ति बिस्तारै सबैको मानसपटलबाट हराउँदै गइन् । देवपुरमा आफ्नो महत्त्व नदेखेर विक्षुब्ध भएकी शान्ति एकदिन सुटुक्क दरबारबाट अलप भइन् ।
शान्ति कता गइन् कसैलाई पत्तो भएन, राजाले सर्वत्र खोजी गरे कतै भेटिइनन् । भइभारदार आफ्नै सुरतालमा बसेकाले शान्तिको वास्ता गरेनन् । निराश भएका राजाले छिमेकी सामन्ततिर शंका गरेका थिए तर शान्ति त सामन्तको राज्यमा पनि थिइनन् । आश्चर्य र विस्मातमा डुबेका राजा शान्ति बिना मणि हराएको सर्पजस्तै देखिए ।
शान्ति हराएको कुरा बिस्तारै छिमेकी सामन्तको कानसम्म पुग्यो । उसैको लागि यात्तिको प्रयत्न गरेको सामन्त निरास भयो, मनमनै विचार गर्न थाल्यो शान्ति मेरो बसमा नभएर के भयो त ? आखिर देवपुरबाट पलायन गर्न त समर्थवान भएँ नि ! शान्तिको आड्मा घमण्ड देखाउने त्यो सानो राज्यको राजाले मलाई चुनौति दिएजस्तै गरेका थिए, अब त उनलाई पनि मेरो हैसियत राम्ररी थाहा भयो होला ! सामन्त अब आफ्नो नयाँ रणनीति बुन्न थाल्यो । आफू घाटा खाएर देवपुरलाई सम्वृद्ध बनाउने उसको चाहना थिएन अब उसका सम्पूर्ण सामानहरू महंगा हुन थाल्यो । कतिपय सामानमा बन्देज लगाउन थाल्यो । परिणामत उसकै सामानमा निर्भर भएका देवपुरवासीमा हाहाकार मच्चिन थाल्यो ।
देवपुर र त्यहाका भारदारलाई आफ्नो बसमा राखिसकेको सामन्तले राजालाई भने कहिल्यै झुकाउन सकेन । अबको उसको रणनीति भनेको भारदारलाई मन्त्रणा गरेर जनता उचालेर राजाको विरुद्ध भड्काउनु थियो । भारदारको बहकाउमा लागेका अबुझ जनता राजाको विरुद्धमा भए । सारा जनता आफ्नो वरुद्धमा भएको देखेपछि राजाले पनि अब राजकाज आफ्नो बसमा नभएको देखे ।
धेरै सोच विचारपछि एकदिन सबै जनताको सामुन्ने आफ्नो मुकुट खोलेर भारदारलाई बुझाउँदै राजाले भने मेरो पुर्खाले आर्जेको यो देवपुर राज्य आजसम्म जनताको इच्छा मुताविक हामीले शासन गर्दै आएका थियौँ, आज पनि जनताको इच्छा मुताविक नै यो राजमुकुट भारदारलाई बुझाएका छौँ । आशा छ हाम्रा पुर्खाको यो धरोहरलाई भारदारले इज्जतसाथ सुरक्षित राख्नेनै छन् । पछि कुनै दिन जनताले चाहेमा हाम्रो यो मुकुट ससम्मान फिर्ता गराउलान् । यति भनेर राजा दरबारबाट बिदा भए ।
राजाको शेखी झारेको छिमेकी सामन्त मख्ख पर्यो । शामन्तको लालचमा डुबेका भारदार राजा पलायन भएकामा आनन्दले खुसी मनाउन थाले । सामन्तलाई यतिमा मात्रै आनन्द मिलेको थिएन, आफ्नो बसमा भएको देवपुरलाई तहस् नहस् बनाएर छोड्ने विचार गर्यो । राजा पछि बिस्तारै भारदारमा फुट पैदा गराएर एकआपसमा झैझगडा गराउन थाल्यो । भारदारमा फुट भएपछि दलहरूमा पनि विभाजन हुन थाल्यो, ऐजेरु पलाए जस्तै एउटा दलभित्र विभिन्न उपदल विभाजन हुन थाल्यो, यि दल उपदल बिस्तारै शत्रुतामा परिणत भएर एकअर्कालाई शत्रु मान्न थाले, उनका कलहले जनतामा थप अराजकता उत्पन्न गरायो । केही वर्ष अगाडि स्वर्गजस्तो देखिएको देवपुर भने दिनदिनै अधो गतिमा परिणत हुदै गयो ।
अभाव र अराजकताले आजित भएका जनताले बितारै बुझ्दै गए कि हाम्रो स्वर्गजस्तो भूमिमा छिमेकी सामन्तको चलखेलले यस्तो भएको रहेछ । देवपुरवासीले शान्तिलाई सम्झिन थाले । जबसम्म शान्ति थिइन् हाम्रो भूमि स्वर्गजस्तै थियो, सर्वगुण सम्पन्न, देवी स्वरुपा शान्तिको हामी देशबासीले पनि कदर गरेनौँ । शामन्तको चाल बुझेका राजाले राजमुकुट त्याग गरेर पनि आफू सामन्तसँग झुकेनन् तर सामन्तको रकममा बिकेका भारदारको मिठा कुरा र उनका लोभदाग्दो लालचमा लागेर हाम्रो मतिभ्रष्ट भएको थियो । दरबारको उकुस मुकुस वातावरणबाट पलायन भएकी शान्तिलाई हामीले पनि वास्ता गरेनौँ फलस्वरुप विक्षुब्ध भएर हिंडिन् । अब उनलाई सम्झेर बस्नु हामी देवपुरबासीको नियति बनेको छ ।
सधैजसो अराजक र अशान्त वातावणबाट आजित भएका प्रजागण आजभोलि दिनहु आकाशतिर हेर्दै भगवानसँग पुकारा गर्न थालेका छन् “हे भगवान देवपुरका सम्पूर्ण भारदारहरू छिमेकी सामन्तकोमा बिकेछन्, यिनले देश र हाम्रो भलाई कहिल्यै सोचेको रहेनछन्, हामीले यिनको साथ दिएर ठूलो भूल गरेछौं, यसको सजाय पनि हामीले भोग्यौँ र भोग्दैछौं अब कृपागरेर एउटा असल देशभक्त, कर्तव्य परायण र हाम्रो दर्द बुझ्ने राजनेता उत्पन्न गराईदेऊ जसले यी नालायकहरुलाई सजाय दिएर हाम्रो पुरानो देवपुर निर्माण गराओस् ! साथै हामीबाट पलायन भएर हराएकी शान्तिलाई खोजेर ल्याओस् ! कृपानिधान प्रभु ! हाम्रो प्रार्थनाको सुनवाई होस् ! आफ्नो जन्मभूमि र हाम्री शान्तिको लागि हामी आफ्नो योगदान र परिआए वलिदान गर्न पनि तयार छौ”
नियतिको वशमा परेर पछुताएको मनको पुकार भगवान्सम्म पुग्यो अथवा पुगेन अन्जान रहेका देवपुरबासीले भने प्रर्थना गर्न छोडेका छैनन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।