“लाउनुस् सर, तपाईँको पैसा !”

– आँखामा एक प्रकारको गहिरो असन्तोष बोकेर खुजुराखुजुरी समेत गरी दुई हजार पाँच सय चालिस रुपैयाँ हातमा थमाइदिइन् ।

“भो, पर्दैन । असुल उपर गरिसकेँ त । किन दिनुपऱ्यो अब ?”

उनीलाई फेरि आफ्नो अगाडि देखेर मन भारी भएर आयो । पैसा फिर्ता गर्न खोजेँ, मरेकाटे मानिनन् ।

“म गरिब छु होला सर मान्छु, तर अर्काको खानु पाप हो, सित्तैमा कसैको नि खानुहुन्न ।” यति भन्दै पैसो काउन्टरमा छोडेर तुरुन्तै बाहिरिइन् । म भनेँ ग्लानि, हीनताबोध र पीडाले रनथनिएर त्यहीँ उभिइरहेँ ।

प्रिय पाठक –

अहिले किन मलाई यस्तो हुँदै छ ? यो बुझ्नका लागि तपाईँलाई एक हप्ताअगाडिको घटनासँग जोड्नुपर्ने हुन्छ । त्यहीँ लगेँ है त !

एक हप्ता अगाडि ….

यश घिमिरे

टाउकोमा ‘क्याप र मुखसम्म गलबन्दी बेरेर पच्चिस छब्बिस वर्षको जस्तो देखिने एक जना केटो र उमेरमा अलि पाकी एउटी महिला, काउन्टरअगाडि उभिए । बर्सौँ लज चलाएको मेरो पारखी आँखाले यो जोडी लोग्नेस्वास्नी या प्रेमीप्रेमिका होइन भनेर थाहा पाइसकेको थियो । अरूलाई दिने रेटभन्दा दुई सय रुपैयाँ बढाएर भनेँ, “एक रातको ७०० रुपैयाँ ।”

केटोले बार्गेनिङ गर्दैन भन्ने पहिल्यै थाहा थियो, गरेन पनि । खाएको सुतेको पैसा एकमुस्ट बुझाउने कुरा गऱ्यो । ठिकै छ भनेँ । चाबी दिएँ । उनीहरू कोठातिर लागे ।

त्यो केटो दिनमा दुई-चार घण्टा कतै हराउँथ्यो, साँझमा आउँथ्यो । महिला चाहिँ दालभात कोठैमा मगाएर खान्थिन् । दुई दिन यही प्रक्रिया चल्यो र तेस्रो दिनदेखि ऊ बेपत्ता भयो । साँझसम्म पनि आएन । लजको दर्ता किताबमा उसले लेखाएको मोबाइल नम्बरमा फोन गरेँ । स्विचअफ रहेछ । फटाहा भाग्यो भनेर मनमा चिसो पस्यो । त्यही साँझ कोठाको ढोका ढकढक्याएँ । केटासँग बस्ने उनले ढोका खोलिन् । स्वरलाई अलिकति धोद्रो बनाउँदै सोधेँ, “तपाईँको नाम के हो ?”

“शकुन्तला ।”

“त्यो भाइ तपाईँको को हो ?”

डराएको हरिणजस्तो अनुहार बनाएर आँखा भुईँमा गाढ्दै सुस्तरी बोलिन्, “साथी ।”

“अनि खोइ त साथी ?”

“बिहानदेखि जानुभएको आउनुभएको छैन । मेरो मोबाइल पनि लिएर जानुभएछ ।” त्यहीँ रुँला जस्तो गरेर जबाफ फर्काइन् ।

कस्तो-कस्तो फटाहाको पछि लाग्छन् यी घाँसहरू पनि भनेर झनक्क रिस उठ्यो । अनि कठोरताका साथ आदेश दिएँ, “ल टोटल हिसाब दुई-हजार पाँच सय चालिस भएछ । तिर्नुस्, अनि बिहानै कोठा खाली गर्दिनुस् ।”

“मसँग त एक रुपैयाँ पनि छैन सर । तल बुटवल बजारमा एक जना चिनेको दाइ हुनुहुन्छ भोलि मागेर ल्याइदिन्छु नि हुन्छ ?”

“हुँदैन । जान दिँदा तपाईँ पनि भागे कसलाई समाउनु मैले ? तपाईँको आफन्त को हो ? फोन गर्नुस् । पैसा यहीँ मगाउनुस्, अहिल्यै ।”

आँखामा टन्न आँसु भरिएको देखेँ । एक मनले त दया पनि लाग्यो तर यो दयाभाव एकैछिनमा पानीको फोकाजसरी बिलायो । तुरुन्तै मनमनै सोचेँ, “के थाहा, उम्किनलाई नाटक पो गरेकी हो कि ? अनि फेरि घोडाले घाँससँग दोस्ती गरे खान्छ के ?”

उनी चुपचाप त्यत्तिकै उभ्भिइरहिन् । केही बोलिनन् ।

“किन नबोल्या ? मलाई जबाफ चाहियो” ,कठोर बनेँ ।

“दाइलाई यहाँ बोलाउन सक्दिनँ सर । मेरो बाध्यता छ । विश्वास गर्नुहुन्छ भने सिर्फ एकदिनका लागि पैसाको जोहो गर्ने समय दिनुस् । विश्वास लाग्दैन, हजुरले जे गर्ने हो गर्नुस् । म के भनूँ ?”

अब भने पैसा डुब्ने निश्चितैजस्तो भयो । मनमा “मेरो लज धर्मशाला हो र मनलाग्दी बस्यो अनि हिँड्यो ? यस्तो हुन सक्छ भनेर फटाहाको पछि लाग्नुपूर्व नै सोच्नुपर्थ्यो” भन्ने लाग्यो । उनलाई दसैँमा खसी किन्दा हेरेको जसरी हेरेँ । अग्ली कदकी, हल्का काली-काली हिस्सी परेकी ठिकठाककै थिइन् । लगाइरहेको वस्त्रभित्रको शरीर कल्पिएँ अनि स्वरलाई सकभर मुलायम बनाएर प्रस्ताव गरेँ, “हेर्नुस् शकुन्तलाजी, यसरी त कसरी चल्छ र ? मैले पनि घरबेटीलाई महिना मरेपछि खटक्क भाडा बुझाउनैपर्छ । यत्रो तीन-तीन दिन तपाईँहरू बस्नुभयो, खानुभयो । यो पैसाको असुलउपर मैले त जसरी पनि गर्नुपर्छ । अब यसका लागि कि त मैले पुलिस बोलाउनुपऱ्यो कि त यो रात तपाईँसँग सुत्न पाउनुपऱ्यो । के भन्नुहुन्छ ?”

उनी निकै बेर टोलाइन् । यकिन गरेर त भन्न सक्दिनँ तर पुलिसको नाम सुन्नासाथ उनको अनुहार पहेँलिएको थियो सायद । त्यता मैले ध्यान दिइनँ । मेरो ध्यान जति उनको सुडौल शरीरमा एकोहोरिइसकेको थियो । लामो निःश्वास छाड्दै भनिन्, “विश्वास गर्नु भएन । खै के भनूँ ? ठिकै छ नि त उसो भए ।”

ढोका लगाएँ । भोकाएको बाघजसरी झम्टिएँ, लडाएँ, निचोरेँ, चिमोटेँ, टोकेँ । उनको मनमा चलेको हुन्डरीसँग रत्तीभरको सरोकार राखिनँ । रातभर निर्दयतापूर्वक शरीरसँग मनलाग्दी खेलेपछि सोचेँ, “पैसा असुल उपर गरेँ ।”

तर अहिले, दुई हजार पाँच सय चालिस रुपैयाँले काउन्टरको टेबुलमाथि छरपस्ट बसेर उसै गरी मेरो आत्मासँग असुलउपर गर्दै छ ।