धेरै पर टाढाबाट एउटा मधुर धुन आइरहेछ । थोत्रो भायलिनको भावविह्वल धुन । हृदयलाई छिया-छिया बनाएर पगाल्न सक्ने अद्भुत धुन । भावनालाई भावुकतामा बहकाउने आनन्दमय धुन । अनि धेरै माथि खुल्ला आकाशमा चन्द्रकिरण चारैतिर पैmलाएर मुस्कुराइरहेछ, एउटा जुनेली जून । जून र धुनको दोसाँधमा आफ्नो जीवनको जिउने परिकल्पनाका झमेलाहरू अलमलिरहेछ ।

यो जुनेली जूनको अर्ध अधेँरी रातमा । म एक्लो छैन । मसँग म आफू नै साथमा छु । मलाई कहिलै पनि नत्याग्ने सबैभन्दा बढी साथ दिने म आफू नै रहेछु । जुनेली जूनलाई साक्षी राखेर अब कोही कसैको क्षणभङ्गुर मिथ्या माया नचाहने प्रतिज्ञा गर्दै छु । मलाई माया गर्न मसँग भएको मेरो आफ्नै माया काफी रहेछ । मेरो आफ्नै निजी माया जो म नमरुन्जेल मसँगै रहिरहनेछ । मबाहेक अरूबाट पाउने माया क्षणिक र भ्रमात्मक हुन्छ भन्ने बोधित्व मैले प्राप्त गरिसकेको छु । भायलिनको भावविह्वल मधुर धुन आइरहेको छ । जुनेली जून गीत गाइरहेछ । एउटा वेदना बर्साउने दुःखान्त शोक गीत ।

पाइला नचालीकन यात्राहरू आफैँ हिँड्न नजान्दो रहेछ । पाइलाहरू चालेर हिँडेपछि मात्र यात्राको जन्म हुँदो रहेछ । अज्ञात स्थानबाट रातो रगतमा मुछिएको एउटा सेतो परेवा मेरै दाहिने खट्टानेर प्रत्यक्ष रूपमा बजारियो । प्राण त्याग गर्न फत्र्याक-फत्र्याक गरिरहेथ्यो । मैले के अड्कल गरेँ भने पक्कै पनि कुनै सिकारीको पन्जाबाट फुत्केर गुहारका लागि यहाँ मेरो सामु आइपुगेको हुनुपर्छ । परेवाप्रति मेरो हृदयमा करुणाको भाव उत्पन्न भयो र मैले प्राणदान दिन अञ्जुलिमा लिएँ । हत्केलामा न्यानोपन दिएर राखेँ । हेर्दाहेर्दै हातमा रहेको रगतपच्छे भएको अचेत परेवा फुस्स उडिजाने खरानीजस्ता अस्तुमा एका-एक परिवर्तन भइदियो । मलाई पिरको तीरले असाध्यै घोच्यो । बचाउँछु भनेर हातमा लिएथेँ तर झन् मारेछु । प्रज्वलित इलेक्ट्रोनले मेरो हातलाई आफ्नो वशमा पारेको हुनुपर्छ । प्रचण्ड सूर्यले भरिएको प्रज्वलनशील मेरो हात । श्रापित हात । प्रदूषित हात ।

हिमाल ‘ओसिरिस’

हस्याङ र फस्याङ गर्दै सिकारी पनि टुप्लुक्क मकहाँ आइपुग्यो । भायलिनको धुन एकातिर अनि जुनेली जूनको दुःखान्त शोकगीत अर्कातिर आआफ्नै बाटातर्फ मोडियो ।

‘तपाईँले घाइते परेवा देख्नुभयो ? यतैतिर आएको जस्तो लागेको थियो ?’ ठूल्ठुलो सास फेर्दै उसले मलाई सोध्यो ।

‘अँ देखेथेँ । धेरै चिन्ताजनक नाजुक अवस्थामा थियो । फेरि पनि नवजीवन पाउने अपेक्षामा थियो तर मैले हातमा लिएको केही छिनमा त्यो परेवा स्वतः अस्तुजस्तै खरानी-खरानी भइहाल्यो । मलाई मनमा एकदम दुःख लागिरहेको छ । बचाउन सकिनँ । अनि किन अस्तुजस्तै खरानी भयो मैले बुझ्न सकेको छैनँ ।’ नम्रता र इमानदारीपूर्वक मैले उनलाई बताएँ ।

‘तपाईँले बरबाद नै गर्नुभएछ । वास्तवमा तपाईँले नछुनु पर्नेथ्यो । तपाईँले शान्ति भाँड्ने काम गर्नुभो । अब दण्ड र सजायको भागिदार तपाईँ नै हुनुहुनेछ । यस घटनामा म निर्दोष छु ।’ निन्याउरो अनुहार पारेर उसले भन्यो ।

हेर्दा २५, २६ वर्ष उमेरको लक्का जवान हुनुपर्छ, सिकारी । परेवालाई पाउन नसकेको हुनाले ऊ अति व्याकुल हुँदै शिर निहुराएर रुन रुन खोज्दै आफ्नै बाटो लाग्यो । हेर्दाहेर्दै उसको धमिलो आकृति पनि बिलाएर गयो । सायद मैले सोचेको जस्तै प्रेतात्मा त नहुनुपर्ने हो ऊ सिकारी । मलाई अचानक झल्याँस्स एक बालिका नानुमायाको याद आयो । धेरै पहिला यस्तै रातमा उनी त झन् घरैमा आएकी थिइन् र अन्तमा बिलाई गइन् । के नानुमाया र सिकारी एक व्यक्तिका दुई रूप हुन् ?

निलो रङ्गको मधुरो जुनेली किरण जहीँतहीँ छरिएको छ । रात वास्तवमा रात भन्न लायककै छैन । रात पनि मर्नु न बाँच्नुको चपेटामा चेप्टिएर चेपारोमा परेको झैँ भान हुन्छ ।

भावविह्वल भायलिनको धुन र जुनेली जूनको दुःखान्त शोकगीत फेरि मेरो वरिपरि साकेला नाचझैँ नाच्न थालिहाल्यो । अनि म आफ्नो हातलाई हेर्छु जसले सिकारीको भाषामा शान्ति भाँडेको थियो । शान्ति भाँड्ने हातहरू मानव इतिहासमा कहिलेसम्म कलङ्क भएर रहिरहने हो ? यही प्रश्न कमल फूलझैँ मेरो सोचाइको दहमा फक्रिदिन्छ ।

अब फर्केर जाने समय मलाई लिन आयो । त्यसैले म आफ्नो सार्कोफागस sarcophagus भित्र प्रवेश गरेँ । जहाँ मेरा नितान्त आफ्नै माया अनि आफ्नै शान्तिले मेरो जन्म भएकै पलदेखि स्वागत गर्न मलाई रुँदै-रुँदै कुरेर बसिरहेका थिए । मेरै प्रतीक्षा गरेर रोइरहेका थिए । मसँग मिलन भएकोमा उनीहरूका हर्षले सिमा नाघेको थियो । शान्तिको हातमा सेतो परेवा थियो । मायाको हातमा रङ्गीबिरङ्गी पुतली थियो । मेरो हातमा उनीहरूको आत्मा थियो ।

ताजा खबरअनुसार मिरमिरे बिहानीले आफ्नो साम्राज्य फैलाउँदै अघि बढिरहेको गोप्यता खुलासा भएको छ ।