शिक्षक सेवा आयोगको लिखित परीक्षामा छनोट हुनेहरूको अन्तर्वार्ताको दिन‚ योग्यता नं. २ मा एक महिला थिइन्‌‚ त्यसपछिको १५ सम्मका अन्य सबै पुरुष । कसिलो जिउडाल‚ आँखाको तल्लो डिलमा गाजल लगाएकी‚ मुस्कुराउँदा तन्कन खोजेको बाक्लो ओठ‚ सपक्क पारेर बाँधेको कपाल र आकासे निलो रङ्गको बुट्टा भरेको कुर्तामा सजिएकी उनको नाम ऐश्वर्या क्षेत्री ! अन्तर्वार्ता दिने वेलामा मेरो दिमागमा त्यही घुमिरहेको थियो । सुरिलो बोली‚ सुहाउँदो हाउभाउ‚ कसो-कसो आर्कषित गरिहालिन् । दुई हप्तापछिको नतिजामा मैले खोजेको नाम त्यहाँ थिएन । आफ्नो नाम थियो तैपनि खुसी मनाउन खल्लो लाग्यो । काठमाडौँमा प्रतिस्पर्धा गरेको स्थायी शिक्षक भइसकेपछि घरबाट विवाहको प्रस्ताव राख्नुभयो । मैले भाउजूलाई भनेँ‚ एक-दुई वर्ष काठमाडौँ बस्छु‚ विवाह यतै गर्छु र गुल्मीमै फर्किन्छु । १०–५ को ड्युटी सकेपछि तयारी कक्षा पढाउथेँ‚ कक्षा लिनेहरू हरेकमा ऐश्वर्या खोज्थेँ तर भेटेको थिइनँ ।

छिमेकी घरमा डेरा गर्ने बाणगङ्गाका भाइ भेटेपछि नजिकिने क्रममा ऐश्वर्या उनकै दिदी भएको थाहा भयो । ऐश्वर्याले अरू कोही मन पराइरहेको भाइको कुराकानीबाट हिन्ट पाएको थिएँ‚ त्यसैले पनि म खुलेर बोल्न सकेको थिइनँ । एक वषर्पछि मङ्सिरको अन्तिम साता अप्रत्यासित उनी आएको थाहा पाएँ । केही दिनमा मेरो अध्यापन संस्थानमा आइपुगिन् तर उनलाई कक्षाको खाँचो थिएन‚ केही नोटहरू भाइको साथ पठाइदिने मैले आफैँसँग गरेको निर्णय थियो । समय बित्दै जाँदा उनी भाउजूसँग नजिकिएकी थिइन्‚ दाइसँग पनि खुलेरै बोल्ने उनी मसँग खुल्दिन थिइन् । स्थायी शिक्षक बन्ने उनको सपना थियो‚ सायद उनी यो अवसरलाई खेर जान दिने पक्षमा थिइनन् । म भाइसँग नजिकिएको नातामा उनको डेरामा वेलाबखत गइरहन्थेँ । म आफ्ना भावनाहरू भाइसँग व्यक्त गर्थेँ‚ ऐश्वर्यालाई भाइबाट बुझ्न खोज्थेँ । भाइ खरिदार भएर मालपोतमा काम गर्दै थिए‚ ऐश्वर्या परीक्षा दिएर नतिजा कुरिरहेकी थिइन् ।

जब ऐर्श्वयाले विवाहको योजना परिवारसामु राखिन् तब मेरो भावनाहरू उनीसामु प्रस्तुत गर्ने अवसर मिल्यो । ऐर्श्वयाका अनगिन्ती प्रश्नहरू थिए तर मसँग प्रस्ट जबाफ थिएन । मेरा दाजुभाउजूको साथ ऐश्वर्यासँग विवाहको औपचारिक प्रस्ताव राख्ने क्रममा उनले आफ्नो विगत खुलाउने डायरी दिएकी थिइन्‚ जुन भाउजूले पढेर सुनाउनुभयो ।

प्रमिला घिमिरे

जिन्दगीका पानाहरू–

बाणगङ्गा गाउँको बस्ती पातलो छ तर जिल्लाको सदरमुकामका बस्तीहरू बाक्लिँदै गएका छन् । गाउँघरबाट सदरमुकाममा डेरा गरेर बस्नेहरूको जमात पनि बाक्लिँदै छ । यस अर्थमा सुविधासम्पन्न क्षेत्रको मोह बढ्दै गएको देखिन्छ । बस्ती बाक्लिँदै गएकाले व्यापार, व्यवसाय र रोजगारीको अवसर पनि बढ्दो छ । यसै रोजगारीको सिलसिलामा म पनि तौलिहवा बस्न थालेको थिएँ । गाउँका साथीभाइहरू आफ्नो माध्यमिक तह उत्तीर्ण गरेपछि काठमाडौँ पसेका थिए‚ कतिले पढाइलाई निरन्तरता दिए कतिले व्यापार, व्यवसायको अवधारणा बुझ्नकै लागि भए पनि सहायकको काम गरेर बसेका छन् त कतिपय पेट पाल्नका लागि परिआएको अवस्थामा ज्याला मजदुरी गरेरै भए पनि बसेका छन् । छोराछोरीका निम्ति आफ्नो हाड घोटेर‚ जेजस्तो फले पनि आफ्नै माटामा पसिना चुहाउनुभएका बाआमाको सपना भनेको हामीले कुटोकोदालो गर्न नपरोस् भन्ने थियो र छ ।

हाम्रो परिवारको आम्दानीको स्रोत खासै भरपर्दो नभए पनि जेठी छोरी भएकाले काठमाडौँमा बसेर उच्चशिक्षा लिन र भाइबहिनीहरूलाई मार्गनिर्देशन गर्न बाआमाले निकै सम्झाउनुभएको थियो । गाउँको स्कुलमा दिनभरि पढाउने भए पनि साँझबिहान भैसीभकारो सबैले गरेकै हुन् जस्तो लाग्थ्यो । सानैदेखि स्कुलमा पढाउने सर/म्याम जस्तै सबैलाई ज्ञानगुनका कुरा सिकाउने र बाआमासँगै आफ्नै पाखापखेरामा जीवन बिताउने भन्दा बढी सपना थिएनन् । त्यसैले म सदरमुकाममै पढ्न थालेँ‚ दोस्रो वर्षदेखि पढाउन सुरु गरेँ । निजी विद्यालयमा पढाउन थालेपछि भने शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गरेर स्थायी शिक्षक बन्ने सपना बलियो हुँदै गयो । स्थायी जागिर भएपछि गाउँकै स्कुलमा पढाउँछु भने पनि मिल्ने सम्भावना थियो‚ त्यसैले पनि एक किसिमको हुटहुटी बढ्दै गएको थियो ।

शिक्षक सेवा आयोगको परीक्षा हुने भयो‚ फारम भर्नका निम्ति मसँग नागरिकता थिएन‚ सचिवले सदरमुकाम बसेरै वडाको काम सकाउँथे वा भनौँ वडाको कामका लागि सदरमुकाम आउनुपर्ने हुन्थ्यो । म आफू सदरमुकाममा बस्ने भएकाले सिफारिस लिने काम पनि आफैँ सकाएँ‚ बालाई बोलाएर एकदिनमै नागरिकता बनाएँ र बासँगै काठमाडौँ गएर शिक्षक सेवा आयोगमा फारम पनि भरेँ । बाको आखाँमा आशाको दियो बलेको देख्दा मलाई प्रेरणा जाग्दै गएको थियो‚ स्थायी नियुक्ति पाएरै छोड्ने सङ्कल्प पनि गरेकी थिएँ । अन्य वडाका सबै सचिवहरू पाका उमेरका थिए तर हाम्रोमा आएका नयाँ सचिवले सबै काम सिकिसकेका थिएनन् जस्तो लाग्थ्यो । उनी आफ्नो काममा निकै ध्यान दिइरहेका देखिन्थे‚ एउटै कामलाई कैयौँपटक दाहोऱ्याएर तेहेऱ्याएर छलफल गरिसकेपछि बल्ल सिफारिस लेख्थे र सही गर्थे ।

स्कुलको छेउछाउका घरहरूमा प्रायः डेरा गरेर बस्नेहरू नै थिए । कृषिमा केही अगाडि रहेको बाणगङ्गाको सुविधाकै कारण जहदीबाट केही परिवारहरू बसाइ सर्न थालेका थिए । हाम्रो बाहरूले पनि आधा जमिन बेच्नुभयो‚ किनबेचका क्रममा कागजी प्रक्रियाका लागि बाले सचिवसँगको सानोतिनो काम अह्राउनुहुन्थ्यो । केही दिनयता डेरामा गाइँगुइँ हल्ला चल्थ्यो‚ मलाई त्यता ध्यान दिने फुर्सद थिएन वा वास्ता थिएन । मैले बुझेअनुसार धारा वरपर सफा राख्नुपर्ने‚ अनावश्यक पानी खर्च नगर्ने र डेरामा धेरै आगन्तुक ल्याउन नहुने कुरा भइरहेका हुन्थे । मनमनले निकै अत्तालिएँ पनि‚ आजभोलि गाउँबाट आउजाउ बढेको छ मलाई नै भनेका हुन् कि भनेर बिहानै उठेर पानी भर्थे र गाउँबाट कोही आएका वेला जुत्ताचप्पल भित्रै राख्न भन्थेँ ।

”सचिवज्यू….”

मेरो वाक्य पूरा नहुँदै उनले रोकेर भने “शोभित भन्नुभए हुन्छ‚ सबैले सचिव भन्ने हुदाँ मलाई आफ्नो नाम पनि नौलो लाग्छ ।” यति भनेर उनी फिस्स हाँसे । बायाँतिरको गालाबाट देखिने एउटा दाह्रो पनि कति सुहाएको मनमनै सोँचे । “तपाईँको यही सचिवको पदले नै हामीलाई भेट गराएको हो‚ यसले तपाईँको परिचय दिन्छ र जहाँ तपाईँको सम्मान पनि हुन्छ ।” बाले यति भनिरहँदा उनको अभिव्यक्तिले भनिरहेथ्यो प्रसङ्ग नलम्बियोस् । कानुनी रूपमा जग्गा नापेको विवरणसहित जग्गा बेच्ने र किन्नेको साक्षी पनि हुँदा सहज हुने प्रक्रियामा एक साक्षी त उनै शोभितजी हुन सक्नुहुन्थ्यो । हाम्रो प्रस्ताव शोभितजीले सहर्ष स्वीकार्दै भन्नुभयो‚ “सबै तय भएपछि मलाई डेरामै सम्पर्क गर्नुस् म जानेछु ।” नामबाटै सम्बोधन खोज्नू र डेरामा सम्पर्क गर्न भन्नूको आग्रह बाले सजिलै लिनु भएन र भन्नुभयो “सदरमुकामको काम यहीँ छोरीले गरेकी छे‚ डेरा कता खोज्न जानु…।” बाले पनि फिस्स हाँसेरै टारिदिनुभयो ।

संयोगवश‚ भोलिपल्ट म स्कुलको कामले जिविसको कार्यालय पुग्दा शोभितजीसँग पनि भेट भयो । केही नसोची मैले शोभितजी कै नाममा अभिवादन गरेँ‚ त्यति वेलाको उनको अनुहारको चमकको व्याख्या कसरी गरूँ । छोटो कुराकानीमै हामी शुक्रबारको दिन गाउँ जाने सम्भावना रहेको पनि सुनाउन भ्याएँ मैले । उनको डेराबारेको मेरो प्रश्न सुनेर आश्चर्यमिश्रित मुस्कानमा शोभितजी हाँसे मात्र । मेरो अनभिज्ञता बुझेर होला उनी त्यतिमात्र बोले “द नेक्स्ट डोर” । बढो आश्चर्यमा त म थिएँ‚ छेउको कोठामा को बस्नुहुन्छ भन्नेसम्म थाहा थिएन । नपत्याएरै फेरि पनि सोधेँ “भण्डारी निवासमै बस्नुहुन्छ ?” हो भन्ने जबाफमा उनको टाउकाले मात्र निर्देशन दिएको थियो ।

मेरो परिवारबाहेक मैले जीवनमा केयर गरेको व्यक्ति उनै शोभितजी हुन् । पराई गाउँकी एउटी नारीको साथ पाउनु शोभितजीका लागि एउटा अहोभाग्य साबित भइदियोस् भन्ने मेरो कामना कहाँनेर असफल भयो म जान्दिनँ । ती दिनमा डेरा वरपरको होहल्ला शोभितजीको निर्दोषपनामाथिको प्रहार हो भन्ने थाहा पाएपछि मैले डटेरै साथ दिएँ । शोभितजीको व्यवहार असामान्य छ भन्ने अरूका निराधार आरोपहरू उनले खेपिरहँदा मलाई नराम्रो लाग्थ्यो । बच्चाहरूसँग झुम्मिँदा हातमा फोहोर लागेका बखत हात रगडी-रगडी धोएको प्रसङ्ग वास्तवमै सामान्य थियो‚ म सोच्थेँ “सफासुग्घर रहनु पनि असामान्य हुन्छ कहीँ ?” अर्को दिन सुकाइराखेको सर्टमा बच्चाहरूले चक्लेटको दाग लगाइदिए‚ सुक्न लागेको सेतो सर्टको त्यो दाग देखेर झनक्क रिस त मलाई पनि उठ्यो तर शोभितजी तनावग्रस्त देखिनुभयो । एक त निर्दोषी बालापन‚ अर्कातिर धोएपछि पखालिइसकिएको मैलो र अन्दाज नहुने दाग‚ धोइसकेपछि हो कि हो कि भन्ने दागमा पनि पिरोलिनु सामान्य थिएन ।

आफ्नो कोठाको छेउमा एक जवान सचिव बसेका रहेछन् भन्ने कुरा मैले बाआमालाई कहिले पनि बताइन तर म नजानिँदो गरी शोभितजीसँग नजिकिँदै गएँ‚ यतिसम्म कि उनकै लागि मिठोमसिनो पकाउने जोस बढेको थियो । मेरो कोठामा रहेका असरल्ल किताबहरू मिलाएर बस्थे उनी । पुरुषभित्र स्वभावले एउटी जाँगरिली महिला बसेकी छिन् झैँ लाग्थ्यो । उनको दैनिकीमा पनि व्यवस्थापन थियो‚ हरेक हप्ता सुत्ने, उठ्ने र दैनिक क्रियाकलापको रुटिन बनाउँथे । एउटा सामान्य विषयलाई अनावश्यक रूपमा सोच्ने‚ कामको प्रक्रिया लम्ब्याउने उनको पट्यारलाग्दो बानी थियो ।

हामी आआफ्नो कोठामा पाहुना भएका वेला एकअर्कालाई भेट्दैनथ्यौँ । मेरो मामाकी छोरी स्नातक सकेर कामको खोजीमा सदरमुकाम बसेकी वेला मसँग बसेकी थिइन् । अनावश्यक तनावले डिप्रेसनको सिकार भएकी उनले औषधि खान थालेको २ महिना भएको थियो‚ जिल्ला अस्पतालमा मनोरोगचिकित्साको परामर्श शिविर चलेकाले हामी दुवै गएका थियौँ । शिविर व्यक्तिगत मात्र थिएन‚ मासमा पनि परामर्श कक्षा सञ्चालन‚ रोल प्ले सहित विभिन्न कार्यक्रम गरिएको थियो ।

महिनादिनअगाडि शोभितजीले भन्नुभएको सम्झे “ऐश्वर्याजी तपाईँको सुन्दरताले मलाई सोच्न बाध्य बनाउँछ‚ मनमोहक दृश्य आँखामा नाचिरहन्छ‚ मोहनी लगाउनुभएको त छैन नि ?” उनले यसो भनिरहँदा म रोमाञ्चित हुँदै छेउमै पुगेकी थिएँ‚ उनी यसरी तर्सिए मानौँ म हिंस्रक जनावर हुँ । एक स्वस्थ पुरुषमा स्वाभाविक रूपले हुनुपर्ने भन्दा फरक व्यवहारहरू मैले त्यही परामर्श केन्द्रमा महसुस गरेँ । शोभितजीसँगको आफ्नो निकटता मैले अरूलाई सुनाएकी थिइनँ‚ एक जना चिकित्सकसँग परामर्श लिन गएँ‚ मेरो समस्या नभएकाले वास्तविकता पहिल्याउन गाह्रो हुने भन्दै डा. रमणबिन्दुले आफ्नो मोबाइल नं. दिएर पठाउनुभयो । एक मनले शोभितजीको केही समस्या छ भन्ने पनि थियो‚ अर्को मन भन्थ्यो शोभितको यतिविधि केयर गर्ने तिमी को ? उनको चालचलन र व्यक्तित्व नबुझी उनलाई के भनेर जिज्ञासा राख्ने ?

म जतिसक्दो छिटो सुष्मालाई घर पठाएर शोभितजीको व्यवहार अध्ययन गर्न चाहन्थेँ तर सुष्माले कृषि विकास बैङ्कमा रिसेप्सनिस्टका रूपमा काम गर्न थालिन् । एक त डिप्रेसनको सिकार भएकी अर्कातिर मामाकी छोरी सुष्मालाई आफूबाट अलग्याउन खोज्नु अशोभनीय थियो । बिस्तारै मैले सुष्माको अगाडि शोभितजीसँगको मेरो सामीप्य खुलाउँदै गएँ । शोभितजी पनि बोल्दै गए‚ बोलाउँदै गए तर पहिलेजस्तो कोठामा पस्दैनथे र पसेका वेलामा पनि बस्दैनथे । केटी मात्र बसेको कोठामा कुनै एउटा पुरुषको आगमनलाई सहर्ष स्विकार्न त सकिँदैन तर शोभितजीका लागि यो मनमा विशेष स्थान थियो र उनको आगमनको व्यग्र प्रतीक्षा पनि थियो ।

काम सुरु गरेको केही महिनामा नै बैङ्कको विस्तारित शाखामा सुष्माको सरुवा भयो‚ आफ्नो घरपायक भएकाले पनि सुष्मा गाउँतिरै गइन् पछि त्यतै विवाह भयो‚ त्यस लगतै मलाई पनि वैवाहिक सम्बन्धको रहर चल्न थाल्यो । शिक्षक सेवामा मेरो सपना रहेको देखेर बाआमाले विवाहको कुरा सुन्नै खोज्नुहुँदैनथ्यो । म भने सपनाको राजकुमारसँग काल्पनिक भलाकुसारीमा रमाउन थालेकी थिएँ । त्यही समय शोभितजीको मन बुझ्नका लागि मैले आफ्नो मन छरपस्ट पार्न चाहन्थेँ‚ तर शोभितजी त्यस्ता कुरामा टाढै रहन खोज्नुहुन्थ्यो ।

शोभितजीको दैनिक क्रियाकलापमा निकै परिवर्तन आइसकेको रहेछ‚ आफ्नो दैनिक कामकाजमा समेत बाधा पुग्न थालेको महसुस सुनाउँदै भन्नुभयो‚ “ऐश्वर्याजी मलाई अनौठो रोग लागेको आभास भइरहेको छ । आफ्नो दिनचर्यामा कठिन भएसँगै कार्यालयमा असहजता बढ्दै गएकाले कुनै ठुलो समस्या निम्त्याउँदै छु कि भन्ने डर लागिरहेको छ । अस्पतालमा जान पनि मेरो स्वास्थ्य समस्यासँग म परिचित छैन‚ म के गरूँ ?” मैले वास्तवमा जे शङ्का गरेकी थिएँ‚ शोभितजीको समस्या त्यही थियो‚एक किसिमको मनोरोग– अबसेसिभ कम्पल्सिभ डिसअर्डर । शोभितजीका अनुसार उनको एउटा सामान्य विषयलाई अनावश्यक रूपमा सोच्ने‚ कामको प्रक्रिया लम्ब्याउने र घण्टौँसम्म सोचमा डुबेर बस्ने‚ एउटै काम कुरा दोहोरिने र भर्खरै के गरेको नसम्झिने बानी सानैदेखि थियो । अहिले आएर यौनसम्बन्धी अनेकौँ दृष्य दिमागमा आइरहने तर वास्तवमा त्यस्तो क्रियाकलापमा रुचि नहुने समस्याले पीडा थपेको‚ आफू रहेको वातावरण सफा नभएमा काम गर्ने इच्छाशक्तिमा समस्या रहँदै गएको र बिर्सने समस्याले जटिलता निम्त्याउन सक्ने त्रास रहेको बताइसकेपछि डा. रमणबिन्दुले क्लोमिप्रामाइन ट्याबलेट सात दिन खाने सल्लाह दिनुभयो । अबसेसिभ कम्पल्सिभ डिसअर्डर पूर्ण रूपमा निको नहुने तर व्यवहारहरू अधीनमा राख्ने प्रयत्न गरेमा समस्या नरहने बताउनुभयो । शोभितजीका लागि औषधिसेवनको समयभर कार्यालय बिदा लिएर मनोरोगपरामर्श लिन आग्रह गर्नुभयो ।

एक कान दुई कान मैदान भनेझैँ शोभितजीसँगको मेरो सामीप्य हल्लैहल्लाको भरमा सम्बन्धमा रहेको ठहरिएछ । म शिक्षक सेवाको परीक्षा दिएर फर्किने क्रममा बाले अविश्वासको काम गरेको प्रतिफलमा घर नफर्किने चेतावनीसम्म दिनुभयो । त्यसै वेला शोभितजीको मनोरोगपरार्मश चलिरहेको थियो । बाहरूलाई अनावश्यक हल्लाको पछि नलाग्न र हामीमाथि शङ्का नगरिदिन मैले बिन्ती गरेँ । परीक्षा सकिएकाले विवाहको कुरा चलाउने र विवाह गरिहाल्ने योजनामा भने म सहमत हुन सकिनँ । मनोरोगपरार्मशका लागि काठमाडौँ बस्नुभएका शोभितजीलाई कहिले भेटूँ भन्ने भइरहेको थियो । आफ्नो बिदा केही समय लम्ब्याएर काठमाडौँ गएँ‚ आफ्नो स्वास्थ्य समस्या रहेको कुरा बाहिर नल्याउने उहाँको इच्छामा मैले साथ दिने वचन पनि दिएँ । सायद‚ आफू समस्यामा परेका वेला आफूलाई सुनिदिने र साथ दिने मान्छे भेट्नु भनेको जीवनको अमूल्य उपहार हो जसले आफूलाई खुसी राख्छ र अगाडि बढ्न प्रेरित गर्छ ।

म घर जाने क्रम क्रमशः पातलिँदै गयो‚ यस अर्थमा मेरो पारिवारिक सम्बन्ध जस्तो रहे पनि शोभितजीलाई बिरामी परेका बखत साथ दिने मेरो चाहना थियो । भोलिको दिन कस्तो हुन्छ मैले सोचेको पनि थिइनँ किनभने म हरेक दिन खुसी थिएँ अझ भनौँ मसँग दुःखी हुनुपर्ने कारण थिएन । शोभितजीको सेल्फ हेल्प थेरापी (आफ्नै सहायतामा चिकित्सकीय उपचार) चलिरहेको थियो । केही समय क्लिनिकमै गएर साइकोथेरापी लिनुभएपछि उहाँको आत्मविश्वास बढेको थियो‚ त्यसपछिको दैनिकीमा अनुशासन ल्याउनु थियो । हरेक दिन ध्यान गर्ने‚ गीत सुन्ने (शोभितजीको रोजाइमा भजनकीर्तन)‚ कथा‚ कविता‚ उपन्यास पढ्ने गर्नुहुन्थ्यो । त्यसबाहेक साइकोथेरापी चार्ट भर्थ्यौँ हामी‚ दुःखी भए माइनस १ खुसी भए प्लस १ । शोभितजीको अनुहारमा चमक भरिँदै गएको थियो र व्यवहारमा चलाखीपन ।

शोभितजी दैनिक कामकाजमा फर्किनुभयो‚ उहाँको व्यस्तता रहेकैले बिहानको खाना म पकाउँथे‚ बेलुकीको खाना आफैँ पकाउनुहुन्थ्यो । कुनै समय खाना सँगै खाने रहर फोन गरेर भए पनि सुनाउनुहुन्थ्यो । उहाँ खानाको पारखी‚ पकाउन पनि सिपालु । मिलेर पकाउँथ्यौँ‚ सँगै खान्थ्यौँ । हामी घुम्न जाने क्रम त उहाँको थेरापीका वेलादेखि नै सुरु भएको थियो । बिदाको दिन खानाको प्याकिङ लिएर घुम्न निस्किन्थ्यौँ । हामी अघोषित प्रेम सम्बन्धमा थियौँ तर प्रेमीप्रेमिका भएर हाम्रा भावनाहरू साटिएका थिएनन् । पछिल्ल्ला दिनहरूमा शोभितजी बिरामी हुँदाको झलक दिने कुनै चिह्नहरू देखिएनन्‌‚ सामान्य रूपले दैनिकी चल्दै गयो । शिक्षक सेवाको लिखित परीक्षामा म उत्तीर्ण भएँ । त्यसपछि म अन्तर्वार्ताको तयारीमा लागेँ । काठमाडौँमा हुने अन्तर्वार्तामा मेरो साथ भाइबहिनीहरू पनि गएका थिए । भाइबहिनीहरूको उच्च शिक्षाको रोजाइ काठमाडौँ भएकाले मेरो केही समय काठमाडौँमा अलमलमै बित्यो । मैले सोचेको थिएँ‚ म शिक्षक सेवामा छनोट भएपछि शोभितजीलाई आफ्ना भावनाहरू व्यक्त गर्दै विवाहको प्रस्ताव म आफैँ राख्छु ।

अन्तर्वार्ता दिएको दोस्रो हप्ता नतिजा निस्कियो‚ म छनोटमा परिनँ । त्यति वेला मैले शोभितजीबाट पहिलोपटक सहिष्णुताको कामना गरेकी थिएँ । कम्तीमा पनि “दिअर इज अल्वेज नेक्स्ट टाइम‚ यु कयान डु इट” भनिदिने प्रेरणादायी शब्दहरूको आशा राखेकी थिएँ । बरु बाआमाले पटक-पटक फोन गरेर सम्झाइरहनुभयो । काठमाडौँमा भाइबहिनीसँग बसेर परीक्षा तयारी गर्न पनि सल्लाह दिनुभयो । म जागिर छोड्न सक्ने अवस्थामा थिइनँ किनभने मलाई लाग्छ‚ शिक्षण पेशामा आफ्नो ज्ञान, सिप‚ क्षमताको प्रयोग गरेर अरूलाई सिकाउनु भनेको आफूले सिक्नु पनि हो । त्यस्तै मेरो अर्को सपना थियो – भावनामा जेलिएको सम्बन्धलाई निकास दिने । मैले सोचेँझैँ शिक्षक सेवा आयोगमा छनोटमा परेको भए म शिर उँचो पारेर शोभितजीसँग वैवाहिक जीवनको सुरुवात गर्ने प्रस्ताव राख्न सक्थेँ होला तर मेरो आयोगको परीक्षामा भएको असफलतापछि जुन प्रेरणादायी सुझावको आशा राखेर सेयर गर्दा उनको कुनै पनि प्रतिक्रिया नआएपछि भने बाध्यतावश झुकेरै बसेँ ।

दसैँपछिको बिदामा फर्किदा शोभितजीको बहिनी र आमा सँगै आउनुभएको थियो । यही समय शोभितजीले आमाहरूसँग मेरो परिचय गराउन र छिट्टै विवाह होस् भन्ने पनि लागेको थियो तर शोभितजी पहिलेजस्तो गफिँदैनथे‚ भित्र पस्ने र बस्नेको त कल्पना नगर्दा पनि हुन्थ्यो । शोभितजीको त्यो व्यवहार स्वाभाविक पनि थियो ।

म एक हप्ताको बिदा लिएर मामाघरमा दाइको विवाहमा गएकी थिएँ । मेरो आफ्नै विवाहको कुरा लिएर बा चिन्तित हुनुहुन्थ्यो तर बाले केही भन्नु भएन‚ घरमा चलिरहेको खासखुस पनि मैले वास्ता गरिनँ । म फर्किने वेलामा बाआमाका आँखामा केही सान्त्वना देखेकी थिएँ‚ ओठले केही भन्न खोजेझैँ लाग्थ्यो तर भन्नु भएन । बाटाभरि बढो खुलदुली हुँदा पनि म आफ्नो मनसँगको भलाकुसारीमा व्यस्त थिएँ । बिहेका सेल, रोटी, कसार मलाई खासै मन पर्ने भएर त होइन शोभितजीलाई सम्झना स्वरूप दिन ल्याएकी थिएँ । मलाई देखेपछि शोभितजी हौसिएर कोठामा पस्नुभयो । मैले आफूले ल्याएका परिकारहरू पनि खुवाएँ‚ शोभितजीको जिस्कने बानी पनि थियो भन्नुभयो, “यतिका दिन नफर्किनुभए पछि आफैँ विवाह गर्नुभएको हो कि भन्ने सोच्न पनि भ्याइसकेको थिएँ ।” विवाहको कुरामा शोभितजीको उत्सुकता मैले सहजै बुझ्न सकिनँ । त्यसदिन शोभितजीको बोली व्यवहार नौलो लाग्यो‚ उनको अनुहार सरसरती पढिरहेकी थिएँ तर ठम्याउन सकिनँ । सोचेँ‚ शोभितजी शान्त सुशील छन्‌‚ भलाद्मी देखिन्छन् र पनि केही रहस्यमयी देखिन्छन् । निकै बेरको मौनतापछि शोभितजीले विवाहको कार्ड दिँदै भन्नुभयो‚ “अब अर्को विवाहमा जाने तयारी गर्नुस् ऐश्वर्याजी । तपाईँको गाउँघरमा पनि निम्तो गइसकेको छ‚ तपाईँलाई विशेष निम्तो ।” खै किन मेरो ओठमुख सुके‚ म निःशब्द भएँ । मन्द आवाजमा सोधेँ, “कसको विवाह शोभितजी ?” तर शोभितजी कोठाबाट गइसक्नुभएछ । रातीको खाना खानुअघि शोभितजीले दिनुभएको कार्ड खोलेर हेरेँ ।

हाम्रा आयुष्मान् नाति एकनारायण त्रिपाठी र इन्द्रावती त्रिपाठीका एकमात्र सुपुत्र शोभित त्रिपाठीको पाल्पा निवासी…….की सुपुत्री सुभद्रा बोहरासँग…। म आफ्नै गोडामा उभिन सकिनँ‚ मनमा कुनै भावना पनि आएनन् । रुन पनि सकिनँ‚ आफ्नै ज्यान भारी भएपछि ओछ्यानमा पल्टिएँ । रातभरि निदाउन पनि सकिनँ‚ ती अक्षरहरूले मेरा आँखामा कहिले ढुङ्गाजस्ता भएर खोप्ने‚ कहिले बालुवा भएर बिझाउने भइरह्यो । बिहानीपख निदाएछु‚ आठ बजे उठेर त्यही बेलुकाको खाना तताएँ तर निल्न खोज्दा भित्रबाट एक हुल रुवाइ आएर चपाउँदै गरेको खाना हुलुक्कै निकालिदिन्थे । खाना नखाएरै स्कुल गएँ‚ अफिस कोठामा राजिनामा लेखेँ र बाँकी रहेको तलब बुझेर फर्किएँ । मलाई त्यहीँ बसेर अर्को रातको सामना गर्नु थिएन‚ घरबेटीलाई ३ महिनाको कोठा भाडा अग्रिम भुक्तानी गरेर काठमाडौँ गएँ ।

मेरो मोबाइल स्विच्ड अफ गरेकी थिएँ‚ भाइको मोबाइलबाट बालाई फोन गरेर आफू काठमाडौँ गएको खबर गरेँ । बाआमाले धेरै जिज्ञासा राख्नु भएन‚ खबर गरेको भएर खुसी व्यक्त गर्नुभयो । सुष्माले वेला-वेलामा फोन गर्दा सधैँ भन्ने गर्थिन्‌‚ “बरु एक्लै भएका वेला आवाज निकालेर रोऊ‚ पीडाहरू पखालिदेऊ अब सदाका लागि । शोभितको पनि समस्या थियो होला अर्थात् तिम्रो भावनामा अनभिज्ञ होलान्‌‚ माफ गरिदेऊ ऐश्वर्या ।” एक-दुई दिन यत्तिकै बसेँ‚ एक्लो हुँदाको समय रोएर बिताएँ । शोभितजीसँग त्योभन्दा धेरै रिसाएर बस्न सकिनँ‚ फोनको स्विच अन गरेँ‚ केही क्षणमा उहाँकै फोन आयो । “ऐश्वर्या कहाँ छौ ?” शोभितजीले तिमी भन्नुभएको पहिलोपटक सुनेकी थिएँ । आफू काठमाडौँ आएको बताएपछि उहाँले मेरो शिक्षक बन्ने सपना पूरा हुनुपर्छ भन्ने कामना पनि गर्नुभयो । फोनमा राम्रोसँग कुराकानी सकाएर राखेँ र त्यसदिनदेखि म कहिले पनि उहाँलाई सम्झिएर रोइनँ ।

भाइबहिनीको सहयोगले प्राइभेट स्कुलमा जागिर मिलेको थियो । साँझपख फर्किँदा शिक्षक सेवा आयोग‚ लोकसेवा आयोगका परीक्षाहरू तयारी गराउने संस्थानमा अवलोकन गर्ने क्रममा प्रकाशमणि शिवाकोटीसँग भेट भयो । प्रकाशमणिसँगको त्यो भेट दोस्रो थियो‚ पहिलो भेट अघिल्लोपटक अन्तर्वार्तामा भएको थियो । उनले कुनै टिप्स पनि दिएनन् । यतिमात्र भने‚ तपाईँका अनुभवहरूले नै टिप्स दिन्छन् आफैँभित्र खोज्नुहोस् तर आवश्यकतामा साथ दिने उनको प्रतिबद्धता पछि फोन नं. आदानप्रदान गरेर म निस्किएँ । म शिक्षक सेवा आयोगमा परीक्षा तयारी गर्दा भाइ लोकसेवा आयोगमा खरिदारको पदका लागि तयारी गर्दै थियो । दिनभरि टाइपिस्टको काम गरेर बिहानबेलुका तयारी कक्षा लिन्थ्यो । हामी दुईको परीक्षा फरक भए पनि भाइबाट धेरै कुरा सिक्ने गरेकी थिएँ‚ मेरा लागि नोटहरू पनि ल्याइदिन्थ्यो । भाइको परीक्षा नजिकिँदै गर्दा मेरो परीक्षाका लागि विज्ञापन पनि निस्किएको थिएन । त्यसैले मैले सक्दो सहयोग गर्दै गएँ । परीक्षा सकेपछि आफ्नो काममा तीव्रता दिएको भए पनि मणि सरसँग भाइको सामीप्य कति पनि कम भएको थिएन । मेरो परीक्षासम्बन्धी मलाई भन्दा अघि भाइलाई धेरै थाहा हुन्थ्यो ।

दसैँको केही दिनअगाडि मेरो परीक्षा थियो‚ सोही दिन भाइको नतिजा पनि आएको रहेछ । सर्प्राइजस्वरूप शुभकामना लिएर आउने मणि सर उही प्रकाशमणि हुनहुन्थ्यो । शोभितजीका लागि मिठा-मिठा परिकारहरू पकाएर खुवाउने मेरो बानी बिस्तारै त्यागिसकेछु । प्रकाशमणिले खाना होम डेलिभरीमार्फत झिकाउनुभएकाले पनि सहज भएको थियो तर राति फर्किनुअघि एक कप चियाको अफर उहाँले नै गर्नुपर्दा आफ्नै बानीप्रति म सचेत हुन बाध्य भएँ । त्यसपछिका दिनहरूमा प्रकाशमणिसँको भेट बाक्लिँदै गयो‚ कहिले तरकारी पसल, कहिले चोक त कहिले हाम्रै डेरामा भेट हुन्थ्यो । उहाँले आवश्यकताभन्दा बढी प्रसङ्गहरू ल्याएर भेट लम्ब्याउन खोज्ने गरेको महसुस पनि भएको थियो तर मैले महत्त्व दिइनँ । शोभितजीको विवाहपछि मैले बेग्लै किसिमको स्वतन्त्रता महसुस गरेकी थिएँ । १० कक्षा पढ्दै गर्दा विवाहको कुरा चल्न थालेको परिवारमा शून्यता थियो । शोभितजीसँग हुँदा म आफैँसँग चलेको अन्तर्द्वन्द्वले पनि विश्राम लिएको थियो ।

प्रकाशमणि आफ्नो दाइभाउजूको साथ हामी डेरा गरेको घरछेउमा फ्लाटमै बस्नुहुँदो रहेछ । अर्को संयोग डा. रमणबिन्दु प्रकाशमणिका दाइ । म काठमाडौँ गएको १ वर्षपछि प्रकाशमणिको परिवारसँग परिचय भएको थियो । प्रकाशमणिले काठमाडौँको स्कुलमा स्थायी शिक्षक र पार्ट टाइम तयारी कक्षाहरू लिएर केही रकम जोहो गर्ने र काठमाडौँमा नै विवाह गर्ने योजना बनाएका छन् भन्ने रमिला भाउजूले भन्नुभएको थियो । प्रकाशमणि मेरो परिवारसँग निकै घुलमिल भइरहनुभएको थियो‚ त्यस्तै रमिला भाउजू मेरो साथीजस्तै । एकदिन भेटघाटको क्रममा डा. रमणबिन्दुले शोभितजी हालै फेरि पनि परामर्शमा आउनुभएको सुनाउनुभयो । त्यसपटक उहाँको समस्या केही जटिल रहेको र डिप्रेसनमा रहेको पनि बताउनुभयो ।

सधैँ तपाईँ भन्ने डा. रमणबिन्दु र रमिला भाउजूले तिमी भन्न थाल्नुभएको थियो । “केही वर्षअघि‚ तिमी शोभितको घनिष्ठ साथी थियौ र केयरटेकर पनि बनेकी थियौ । शोभितसँग तिम्रो सामीप्य कति नजिक थियो‚ कसरी छुट्यो ? शोभितको परिवारलाई उनलाई ओसिडी भएकोसम्म पनि थाहा रहेनछ नि !” कस्तो अन्योलमा परेक थिएँ म‚ बिरानु सहरमा बिरानु मान्छेको बिरानै प्रश्न । डा. रमणबिन्दु‚ म कसरी भनूँ‚ शोभितजी मेरो सपनाको राजकुमार थिए भनेर । म कसरी भनूँ‚ उनी परिवारभन्दा पनि प्रिय थिए‚ घनिष्ठ भएर पनि भावनामा म एक्लो थिएँ‚ प्रेमभाव भएर पनि अव्यक्त थिए भनेर । म पागल भएकी थिएँ सायद एकोहोरो उनको पछि-पछि लाग्ने । बस्‌‚ म प्रेमको भिकारी थिएँ ।

शोभितजीसँग भेट्ने मेरो इच्छा बढेको थियो तर यसपटक मैले ध्यान दिनुपर्ने कुराहरू धेरै थिए । आफ्नो मनलाई बाधेरै बसेँ तर दिन बित्दै जाँदा मन पग्लिँदै गयो । एकदिन ल्यान्ड लाइनबाट फोन गर्ने प्रयास गरेँ‚ उहाले एकैपटकमा चिन्नुभयो । “मैले आफ्नो मनोरोगका लागि औषधि लिएको र उपचारको क्रममा तिम्रो साथ पाएको कुरालाई सुभद्राले गलत बुझिन् र अलग्गिएर माइत बस्न थालिन् । फलस्वरूप चिन्ता र एक्लोपनाले ओसिडी बल्झियो । त्यसपछि मेरो आँत्तिने समस्या बढ्दै गयो र म अहिले डिप्रेसनमा छु । डा. रमणबिन्दुको परामर्शमा छु‚ ऐश्वर्या । म आफ्नो मनलाई एकत्रित गरेर निको हुने प्रयत्नमा छु‚ मेरो कारण सुभद्राको जीवन रङ्गहीन बनाएर पनि त भएन ।” शोभितजीले आफूलाई खुलाएर सायद मन हलुका बनाउनुभयो‚ यता बिस्तारै पग्लिँदै गएको मेरो मन कुराकानीको अन्त्यमा कठोर भएर आयो । त्यो एउटा तितो सत्य मेरा लागि पनि अछुत थिएन‚ कसैको पर्वाह नगरी सानो झिल्को ठोसेर आगो बाल्न खोज्ने श्रीमतीको मायाँ हुने अनि आवश्यकताका वेला हरपल साथ दिने मेरो भावनामा ठेस लागेको नदेख्ने व्यवहारले एक किसिमको जलनताको आभास भइरहेको थियो । आफ्नो मन सम्हाल्दै‚ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेर फोन राखिदिएँ ।

मन न हो‚ मलाई झै सुभद्रालाई पनि दोस्रो व्यक्तिको नाम जोडिएको सुन्दा नराम्रो पक्कै भयो होला । मनोरोगप्रतिको उनको बुझाइ गलत भए पनि मेरो नाम जोडिएकाले शङ्का उपशङ्का बढे होलान् भन्ने सोचेर मैले शोभितजीबाट टाढै रहने निर्णय गरेँ । करिअरको बहानामा आफ्नो विवाह रोक्ने मेरो निर्णय म आफैँलाई गलत लाग्यो‚ घरमा बुबाआमासँग विवाहको प्रस्ताव आए खबर गर्न पनि भनेँ । भाइले प्रस्ताव रोकेको कारण बुझ्दै जाँदा थाहा पाएँ प्रकाशमणि दुई वर्षदेखि मेरो पर्खाइमा हुनुहुन्थ्यो । मेरो मनको तितो भावनामा जेलिएका प्रश्न पनि उठाउँदै गएँ । प्रकाशमणि दुई वर्षदेखि मेरो पर्खाइमा हुनुहुन्छ भन्ने आधार के छ ? यदि उहाँसँग प्रेमका भावहरू छन् भने त्यो भाषा मैले किन महसुस गरेकी छैन ? मेरो परिवारमा यी कुराहरू छलफल भइसक्दा पनि प्रकाशमणि मसँग नजिकिन खोज्नुभएको बाहेक अन्य भावहरू मैले बुझ्न नसकेको हो या बुझाउने आवश्यकता नभएको ?

………….

बेलुकाको १० बजेको थियो‚ भाउजूले डायरी पढिसक्दा । उहाँले मतिर फर्केर व्यङ्ग्यमिश्रित प्रश्न सोध्नुभयो‚ “भन्नुहोस् त प्रकाश बाबु‚ जबाफ दिने कि कुर्ने ?”

ऐश्वर्याको प्रश्नको जबाफ मैले केही गरेर व्यवहारबाट दिनु थियो । ऐश्वर्यालाई फोन गरेर भेट्न आग्रह गरेँ । उनी बसेको घरको छतमा भेट्यौँ । मेकअप पुछिसकेपछिको अनुहारमा उत्सुकता चम्किरहेको थियो‚ उनी केही प्रतिक्रियाको पर्खाइमा थिइन् भन्ने बुझेर मैले जबाफमा निधार चुमिदिएँ । निकैबेरको शून्यता तोड्दै मेरो दुवै हात फैलाएर अँगालोमा बेरिइन् ।

भाग्यमा लेखेको हुन्छ भन्ने कुरामा मलाई विश्वास त लाग्दैन तर दुई वर्षको प्रतीक्षामा मेरो मनले चाहेको मान्छे पाएको छु । सोचेको छु‚ ऐश्वर्या पनि विगत भुलेर हाम्रो सहयात्रामा खुसी रहनेछिन् ।