जीवनमा पहिलोपटक आलोक यति विधि खुसी भएको थियो । उसको मन कपासझैँ हल्का र उल्लासले भरिएको थियो । मन प्रफुल्ल भएर नै होला, वातावरण पनि उल्लासमय थियो । माघको महिना थियो । पोखरामा बिहान लागेका पारिला घाम । छवाङ्ग खुलेको आकाश । चाँदीझैँ टल्केर मुस्कुराएका उत्तरका हिमाल । त्यसै-त्यसै घमाइलो र रमाइलो वातावरणले नै उसको मन शान्त र हर्षविभोर थियो । आलोक फेवातालको तालबाराही मन्दिरको पवित्र स्थानमा उभ्भिएको थियो । मन्दिरको पवित्र भूमि भएकाले मानिसहरू पवित्र कार्यका लागि मन्दिर धाउने हुनाले पनि जसलाई हेरे पनि प्रसन्न र खुसी देखिन्थे । मान्छे खुसी हुनुलाई कुनै न कुनै बहाना वा अवसरले प्रदान गर्दो रहेछ । मानिसको मनभित्र जतिसुकै पीडा र अप्ठ्यारहरूको पहाडैपहाड भए पनि यस्तै-यस्तै अवसरहरूले अनुहारमा चमक ल्याइदिँदो रहेछ ।

नयाँ-नयाँ कपडामा सजिएका बेहुला र बेहुली देखेपछि युवाहरू र अधबैँसे पुरुषहरूले अरू व्यक्तिहरूले प्रस्ट नबुझ्ने तरिकाले छड्के कुरा गर्थे । कोही घुमाएर छेडा हान्थे । कोही सिधै भन्थे । आज त अचाक्ली हुने भो । कस-कसले बुझे । कस-कसले बुझेनन् । सबैले बुझ्नैपर्ने पनि केही थिएन । ती उन्मत्त युवाहरूका हावादारी कुराहरू केही समयपछि हावाझैँ उडेर गए । घाम टाठा थिए । समय बिस्तारै आफ्नो रफ्तारमा अगाडि बढ्दै थियो । फेवातालमा चलेको सिरसिर बतासले वातावरणलाई झनै मोहित बनाएको थियो ।

आजका लागि आलोक विशेष मान्छे अर्थात् दुलाहा राजा थियो । जीवनमा एकपटक आउने यस्तो विशेष अवसरले ऊ खुसी देखिन्थ्यो । फेवातालको तालबाराही मन्दिर परिसरमा श्रद्धालु भक्तजनहरू दर्शन गर्ने, पूजा गर्ने र रमाइलो गर्नेहरूको भिड थियो । विवाहको लगन भएकाले विवाह गर्ने जोडीहरूको त्यहाँ उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो । राम्रा-राम्रा कपडामा सिँगारिएका बेहुली लिएर अभिभावकहरू बेहुला र जन्ती कुरिरहेका थिए । स्वेच्छाले विवाह बन्धनमा बाँधिएका तर अभिभावक नभएका बेहुलाबेहुलीहरू मन्दिर परिक्रमा गर्दै गरेको दृश्य देखिन्थे । मन्दिरका पुजारीलाई विवाह सम्पन्न गर्न भ्याई नभ्याई थियो ।

भरतबहादुर रानाभाट

परेवाहरू बथानमा मानिसको भिड छलेर चारो खान भुर्र-भुर्र उडेर चारो टिप्तै थिए । भाले परेवाले पोथी परेवालाई माकुरकुर माकुरकुर गर्दै पछ्याइरहेको दृश्य देखिन्थ्यो । डुङ्गा चलाउनेहरूलाई मन्दिर आउने र जाने भक्तजनहरूलाई बोक्न भ्याई नभ्याई थियो । सबै हतारैहतारमा देखिन्थे । सबै मानिसहरू खुसीले प्रफुल्ल थिए । मन्दिरमा दर्शन गरेर आफ्नो मनःकामना पूरा हुने आशा र विश्वासले गर्दा पनि श्रद्धालु भक्तजनहरूको अनुहार चम्किलो देखिन्थ्यो । मन्दिर परिसरमा घुमेर रमाइलो गर्ने पनि धेरै थिए ।

युवायुवतीहरूले एकअर्कालाई छोडेको मुस्कान र मस्कामस्कीले सबै उमेर समूहका मानिसहरूको ध्यान खिचेको थियो । डुङ्गामा चढेर फेवातालको परिक्रमा गर्नेहरू पनि प्रशस्तै थिए । उनीहरू रमाई रमाई त्यो प्रकृतिको छटाले भरिएको दृश्य आँखाले देखुन्जेल मन मस्तिष्कमा कैद गर्दै रमाएका थिए ।

आलोकको साथमा उसको विवाहमा आएका आफन्त, जन्ती र दुलहीतर्फका मैतालुहरू थिए । एउटै उमेर समूहका उनीहरूको जोडी खुबै सुहाएको थियो । मन्दिरका मुख्य पुजारीले धार्मिक विधिपूर्वक विवाहको कर्मकाण्ड सम्पन्न गरे । विवाह सम्पन्न भएपश्चात् जन्ती र आफन्तहरू मन्दिर परिसरबाट डुङ्गा चढेर पारि किनारमा पुगे । दुलाहा र दुलहीका साथीहरू पनि डुङ्गामा पारि पुगे । गाडीमा चढेर होटलमा पुगेपछि सबै जनाले खाना खाएर नजिक घर हुनेहरू बिदा भएर आआफ्ना घरतर्फ गए ।

नयाँ दुलही स्वस्तिमालाई साथमा लिएर परिवारका सदस्यहरू र आफन्तजन गाडीमा बसेर घरतर्फ हिडे । गाडी पुग्ने स्थानसम्म गाडीमा पुगेर सबै जना त्यहीँ झरे । दुलहीलाई अगाडि लगाएर सबै जना पैदल घरतर्फ लागे । जीवनमा पहिलोपटक आलोकका लागि त्यो उमङ्ग, उत्साह र त्यो खुसीयाली बिर्सिनसक्नु थियो । उसको शरीर हल्का र चङ्गा भएको थियो । उसका आँखा घरिघरि नयाँ दुलही स्वस्तिमाका आँखासँग ठोक्किन्थे । नयाँ दुलही मुसुक्क गर्दै शिर झुकाउँथिन् । ऊ अरूले नदेख्ने गरी दुलहीले लगाएको पहिरन शिरदेखि पाउसम्म नियाल्थ्यो ।

नयाँ दुलाहा दुलहीको साथमा सबै जना घरमा पुगे । घरमा जम्मा भएका आफन्त महिलाहरू नयाँ दुलहीको मुख हेरेर स्वागत गर्न आतुर थिए । कोही भन्थे दुलही कति राम्री हुन्, पूर्णिमाको जूनजस्तै । कोही भन्थे यिनको निधार ठुलो छ, भाग्यमानी छिन् । घरै उज्यालो बनाउने लक्ष्मी नै परिछन् । अनुहार कति मिलेको हो भनेर प्रशंसामाथि प्रशंसा गर्थे । उसको घरमा नयाँ दुलहीको प्रवेशले खुसीयाली र छुट्टै रौनक थपिएको थियो । सबै जना खुसी नै खुसी देखिन्थे । पाहुना र सबै परिवारले खाना खाएर धेरै बेरसम्म विवाहका रमाइला कुरा गरे । रात छिप्पँदै गएपछि पाहुना र घरका सदस्यहरू आआफ्नो तोकिएको स्थानमा सुत्न गए ।

आलोक र नयाँ दुलही स्वस्तिमाको बिस्तरा चुलोनजिकै चौकोमा थियो । घरका सदस्य र पाहुना कोही सुत्नेबित्तिकै घुर्दै थिए ।

“आज नयाँ दुलाहादुलही एकै ठाउँमा सुत्नुपर्छ । पहिला-पहिला नयाँ हुन्जेल मात्र हो लाज लाग्ने । बिस्तारै पुरानो हुँदै गएपछि आफैँ बानी पर्छ । भो लाज नमान दुलही आजको दिन । यो दुनियाँको रीत हो” सासूआमाले सम्झाउँदै भनिन् ।

आलोकले कपडा नखोली आँखा चिम्म गरेर निदाएको अभिनय गरेको थियो । दुलाहा सुतेको बिस्तराको एउटा छेउमा गएर टुसुक्क बसे पनि दुलाहासँगै बिस्तरामा गएर सुत्न दुलहीले सङ्कोच मानेकी थिइन् । घरभरि पाहुना थिए । छुट्टै कोठा थिएन । सबैले देख्ने भान्साको चौकामा दुलाहादुलहीको बिस्तरा थियो । दुलहीले अटेर गरिरहेकी थिइन् । सासूआमाले दुलहीका कानमा बिस्तारै पटक-पटक छोरासँग साथमा सुत्न आग्रह गरिरहेकी थिइन् । दुलही लज्जावती झारझैँ टोलाएर अटेर गरिरहेकी थिइन् ।

“आमा म त आज हजुरसँगै सुत्छु ।” सासूआमाको कानमा खुसुक्क दुलहीले भनिन् । “होइन बा, भो आजको दिन त्यसो नगर । आजको दिन दुलाहादुलहीसँगै सुते छोराको आयु बढ्छ” भनेर सासूले कर गरेपछि दुलाहा सुतेको बिस्तरामा गएर घुस्रिन् दुलही ।

दुलहीले विवाहमा लगाएको कपडामै बिस्तरामा गएर सुतेकी थिइन् । आलोकले थोरै आँखा खोलेर दुलहीको अनुहारमा नजर लगायो । टुकी बत्तीको धिपधिप उज्यालोमा दुलहीलाई धपक्क बलेको देख्यो उसले । माघको जाडो विवाहको पहिलो रात दुवै जना नयाँ दुलहादुलही सिरक ओढेर सँगै सुतेका थिए ।

एक त बर्सौँसम्म लोग्नेस्वास्नी बोल्ने जमना नै थिएन त्यो । कामविशेषले बोल्दा पनि लाज नभएका नकच्चरा, नकच्चरी कसरी बोल्न सकेका हुन्, भनेर खिस्सी गर्थे गाउँलेहरू ।

नयाँ दुलाहा र दुलहीको त्यो पहिलो रात थियो । दुवै जनाको मनमा उकुसमुकुस भएर खेलेका भावनालाई एकआपसमा साटासाट गर्न चाहन्थे उनीहरू तर डर, लाज र सङ्कोच अनि घरको परिवेशले त्यहाँ खुसुक्क बोल्न सक्ने वातावरण थिएन । दुलही साथमा सुतेको केही समयपछि बिस्तारै दुलहीको शरीरबाट तातो लाग्न थालेको थियो आलोकलाई । छेउछाउका बिस्तरामा पाहुना र परिवारका सदस्यहरू मस्त सुतेका थिए ।

विवाह गरेर आउँदाको पहिलो दिनमा नयाँ दुलाहादुलहीसँगै सुतेपछि घरवार राम्रो हुन्छ भन्थे बुढापाकाहरू । त्यही भएर परम्पराका रूपमा यो चलन चलेको हुँदो हो । आजकालको जस्तो सुहागरात भन्ने कुरा उति वेलाको जमनामा के थाहा ?

घरका सदस्य र पाहुनाहरू स्वाँ-स्वाँ फ्वाँ-फ्वाँ गरेर निदाएका थिए । कति दिनदेखिको अनिदो र कामको चापले पनि सबै जना भुसुक्कै निदाएका थिए । ऊ भने आँखा चिम्म गरेर जागै बसेको थियो । उसले दिउँसो भएको विवाहको कुरा सम्झ्यो । दुलहीको अनुहार हेर्दा लाजले शिर झुकाएको सम्झ्यो । घर आउँदा बाटामा दुलहीलाई शिरदेखि पाउसम्म निहालेर हेरेको कुरा सम्झेर उसको मन लाज र डरले त्यसै-त्यसै कुतकुतिएर आयो ।

आफ्नै साथमा सुतेकी नयाँ दुलही स्वस्तिमाको शरीरबाट मगमग आएको बास्नाले आलोक लट्ठिएको थियो । तातो पानी भकभक उम्लेझैँ उम्लेको थियो उसको मन । पानी नपाएको काकाकुलजस्तै तिर्खाको प्यास मेट्न आतुर थियो ऊ । उसको शरीरमा आएको कामज्वरोको औडाहाले मन भतभत पोलेको थियो । आँखा झिमिक्क नगरी छटपटीले त्यसै-त्यसै अनाहकमा गुज्रिरहेको थियो उसको रात । ऊ मदहोस बनेको थियो । जति-जति रात छिप्पिँदै जाँदै थियो, उति-उति उसको धैर्यले सीमा नाघ्न खोज्दै थियो । उर्लँदो जवानीको भोक र प्यास मेट्न ऊ आतुर थियो । उसका हातका औँलाहरू जति सलबलाए पनि मनलाई दह्रो गरेर बाध्नुबाहेक अर्को विकल्प थिएन ऊसँग । उसलाई समय र परिस्थितिले दास बनाएको थियो । उसले चाहेर पनि केही गर्न सक्ने अवस्था थिएन । ऊ समय र परिस्थितिसँग मुरमुरिँदै आफ्नै मनसँग सङ्घर्ष गरिरहेको थियो ।

घरिघरि कारणवश दुलहीका हातका चुरा बज्दा उसको सातो जान्थ्यो । उसले आफूलाई त्यो वेला ठुलो अपराधबोधले ग्रस्त पाउँथ्यो । दुलहीका चुरा बजेको वेला भयङ्कर ठुलो अपराध गरेझैँ लाग्थ्यो उसलाई । एउटै बिस्तरामा सँगै सुतेकी दुलहीलाई हात जोडेर “लौन हातका चुरा नबजाऊ” भनेर बिन्ती गर्न मन थियो उसलाई तर वक्य फुट्न सक्दैनथ्यो उसको । दुवै जना बन्धनमा बाँधिएका थिए । त्यो बन्धन र सीमारेखा नाघेर अगाडि बढ्न सक्ने हिम्मत र साहस दुवैमा थिएन । त्यो मध्यरातको सन्नाटामा दुई मुटुको ढुकढुकीको चाल बेपर्वाहले बढ्दै थियो । दुवै जनालाई त्यो बढेको ढुकढुकीलाई कावुमा राख्न हम्मे-हम्मे परेको थियो ।

नयाँ दम्पती प्रवेश गरेको घरमा रातभर बलेको खोपीको दियोले नयाँ दम्पतीको सम्बन्ध मजबुत हुने र भाग्य चम्किने रूढिवादी परम्पराकै रूपमा कायम नै थियो । अन्धकार रातमा नयाँ दुलाहादुलहीको वरिपरि झुम्मिएर निदाएका पाहुना र आफन्त सबैको रक्षा गर्न साक्षी बनेर टुकी बत्तीले धिपधिप उज्यालोको प्रकाश छरेर आफ्नो धर्म र कर्तव्य पूरा गरेको थियो ।

“मलाई पटक्कै निद्रा लागेन, के तिमी निदायौ र ? ” भनेर आलोकले दुलहीलाई सोध्न चाहन्थ्यो तर लाज, डर र सङ्कोचले उसको वक्य फुट्न सकेन वा जोखिम मोल्न चाहेन । उत्तानो परेर सुतेको ऊ कोल्टो नफेरी हल न चल मुढो लडेझैँ लडेको थियो ।

नयाँ दुलही स्वस्तिमाको मनोदशा र उनले रातभर भोगेको भोगाइको तितो यथार्थ कस्तो रह्यो ? त्यो उनीलाई मात्र थाहा थियो । उनको अन्तर्मनमा चलेको द्वन्द्वको साक्षी उनको आफ्नै मन थियो । आलोक नयाँ दुलहीको यो मनोविज्ञानबाट टाढा भए पनि बेखबर भने थिएन ।

दुई अपरिचित मुटु एक भएको त्यो पहिलो रात । त्यो सुमुधुर रातमा मन एक हुन चाहन्थ्यो । शरीर एक हुन चाहन्थ्यो । मनभित्र गुम्सिएर गाँठो परेका भावनाको पोको खोलेर देखाउन चाहन्थ्यो । ती भावना एक आपसमा साट्न चाहन्थ्यो । उसको मनमा चलेका अन्तरङ्ग भावनाहरू गर्भमा नै विलीन हुन पुगे । उसको मनभित्र उर्लेको बौलाहा खहरे भीषण पानीको वेग मत्थर नहुँदै परिस्थितिसँग सम्झौता गरेर एकाएक आफैँ शान्त भएको थियो ।

ऊ न कोल्टो फर्केर सुत्न सक्ने स्थितिमा थियो । न दुलहीसँग बोलेर भए पनि आत्मीयता प्रकट गर्ने अवस्थामा थियो । सास भएर पनि सास नभएजस्तो । लोग्नेस्वास्नी भएर पनि गुमनाम अपरिचितजस्तो । न बोल्न पाउनु न खोक्न पाउनु । प्रतिबन्ध लागेजस्तो जताततै सन्नटा । जताततै शून्यता मात्र । खल्लो न खल्लो, बिरसिलो रात । विरक्तलाग्दो रात । सकलो रात बेस्वादले अनिदोमा बित्यो । “यो परिस्थितिको कहर मलाई मात्र त्यस्तो लागेको हो वा ? नयाँ दुलहीलाई पनि त्यस्तै भयो ?” आलोकले रातभर यिनै कुरा मनभित्र गुम्स्याएर एकलो रात कल्पनामा रमाएर आँखा झिमिक्क नगरी छटपटाइरह्यो । सोचिरह्यो ।

बिहानीपख एक्कासि नयाँ दुलहीको मधुरो आवाज उसको कानमा सुस्तरी फुसफुसायो । “कति वेला उठ्नुपर्छ ?” नयाँ दुलही स्वस्तिमाले सोधिन् । “चाँडै” आलोकले जबाफ दियो ।