त्यस दिन म साह्रै थाकेको थिए । रातको त्यस्तै दस बजेको थियो होला । सिरक घुम्लुङ्ग ओढेर सुतेको थिएँ तर निदाइसकेको थिइनँ । मनमा अनेकन् तर्कका तानाबाना सलबलाएका थिए । दिनमा पूरा हुन नसकेका काम भोलिको भाका दिइरहेको थिएँ । त्यसै वेला मोबाइल बज्यो । हेरेँ, कृष्णेको रहेछ ।

उसले विनाऔपचारिकता भन्यो, “ओइ ! सुतिसकिस् क्या हो । यहाँ कत्रो महाभारत चलेको छ ।”

“कहाँ के भयो फेरि ?” मैले मुन्टो उठाउँदै भनेँ ।

यहाँ ग्यादी चोकमा भनेपछि ममा कुतूहल जाग्यो । वास्तवमै के भयो होला ? गइहाल्न मन लाग्यो तर राति झगडामा मोलिनु ठिक लागेन । घरमै बस्नु विभिन्न अर्थले सुरक्षित लाग्यो ।

कृष्णे भने म दोधारमा अल्झिएको थाहा पाएजसरी रफ्तारले भन्यो, “के आनेकाने गरेको छस्, छिटो आँ । रामेकी बुढीले पनि जगदीश सरलाई बोलाईदिनुस् न भनेकी छ । ढिलो भयो भने जे पनि हुन सक्छ । तँ आइस् भने भस्याभुसु परालको आगोझैँ निम्न सक्छ । ल अल्छी नगर छिटो आइज ।”

मैले तत्क्षण सोचेँ, कुरो अलि गम्भीर परेछ । म सिरक एकापट्टि सर्लक्क पन्छाएर उठें । अनि न्यानो कपडा-ज्याकेट टाउजर, कट्राइको पाएन्ट र टोपी लगाएँ । सिरानीनेरको लाईट लिएँ ।

म कहिल्यै रातपरेपछि घरबाट निस्कने थिइन् । त्यसैले होला श्रीमतीले आश्चर्य मान्दै भनिन् कता हो आज यति वेला ? अघिसम्म म थाकेको छु, मलाई डिस्टर्ब नगर है भन्नुहुन्थ्यो । अहिले फेरि कसको फोन आएर हिँड्न लाग्नुभयो ।”

“उहाँ ग्यादी चोकमा के भयो अरे । कृष्णले आइहाल भन्छ क्यारे ।“

ग्यादी चोक सुन्नेबित्तिकै उनी मत्थर भइन् । कुनै प्रतिवाद गरिनन् । किनभने ग्यादी चोकसँग मेरा पृथक् सम्बन्ध थियो । त्यो सम्बन्ध पनि एकदम भावनात्मक । एकदम अविश्वमरणीय र अखण्ड खाले । अझ भनौँ एक हिसाबले ग्यादी चोक मैले नै बसालेको हुँ । गहिरी खेतलाई घडेरीमा कित्ताकाट गरेर बचेपछि नै ग्यादी चोक बनेको थियो ।

दिनेश बस्नेत

त्यस चोकमा बस्ने सबै पर्वत जिल्लाका ग्यादी भन्ने ठाउँका विश्वकर्माहरू हुन् । पहिला मैले प्लटिङ गरेको जग्गा रामबहादुर वि.क.ले लिए । सात आनाको घडेरी । अनि बिर्खबहादुर विश्वकर्माले छ आनाको अर्को घडेरी लिए । एवंरीतले त्यतै ग्यादीमा बसोबास गर्दै आएका तिनीहरूका आफन्तले नै मेरो बिस मुरी खेत लिए । मैले जग्गा बचेको भए पनि ती सबले एक प्रकारको गुनका रूपमा ठाने । सबैले भेट्दा श्रद्धापूर्वक नमस्कार गर्ने, हाम्रो घरमा आउनेजाने गर्ने, काम पर्दा सघाउने गर्दथे । कतिले त पटक-पटक मुख फोरेर भन्दथे “हाम्लाई कति सहँकोमा जग्गा मिलाइदिनुभयो । यस्तो रमाइलो ठाउँमा, यस्तो सुविधाको ठाउँमा । हाम्ले त वहाँको गुन कहिले बिर्सँदैनौँ, तितेर पनि तिर्न सक्दैनन् । उहाँको कुभलो सोच्यौँ भने पनि पाप लाग्छ ।”

सायद त्यति विधि निकट सम्बन्ध भएर होला, श्रीमतीले खोजी निधि नगरेकी । थप नबोलेकी । यद्यपि म सरासर बाटो लागेँ । हिँड्दै गर्दा सोचिरहेँ, कृष्णले ठुलै आपत्‌विपत् परेर नै बोलाएको होला । नत्र सानोतिनो खिचलो साम्य पार्न त अरूले पनि सक्थे क्यारे नि ।

जे होस् म डहरको बाटो हिँडिरहेको थिएँ । जति लम्कन्छु, उति कुकुर भुकिरहेका थिए । तगारोछेउमा उभिएर मुख ठडाउँदै, झन् चर्कोसँग । ठानेँ, हातमा एउटा लट्ठी लिएको भए पनि हुने थियो ।

अलिकति भय सँगालेर पाइला बढाएँ । खेतको बाटामा पुग्दा वल्लोपल्लो टोलका मान्छे लाइट बाल्दै आइरहेको, गैरी खेत (ग्यादी चोक) मा मान्छेहरू चर्को-चर्को बोलिरहेका, अनि बत्तीको पोलनजिक एकमुस्ट मान्छे देखेँ । घटना चानचुने लागेन । एकछिन ढिला भयो भने पनि केही अनिष्ठ थपिन्छ कि, मेरो उपस्थिति पनि औचित्यहीन समाप्त हुन्छ कि ! मनमा चिसा कुरा खेल्न थाले । मैले दौडको गतिमा पाइला बढाएँ ।

“ऊ जगदीश सर आउनुभयो,” एउटा महिला आवाज सुनियो ।

मान्छे मान्छेहरूको भिड । यति राति पनि कहाँबाट आए होलान्, यतिका मान्छे । बाँसघारीमा ड्याङ्ग्रे कराएजस्तो कङ्ल्याङकुङ्लुङ आवाज । घेरिएको मान्छेबिच रामबहादुर र बिर्खबहादुर पाखुरा सुर्कँदै भनाभन गरेका । लगभग हात हालाहाल स्थितिको सृजना भएको देखिने ।

कुरो के हो ? मैले आफूलाई कसरी प्रस्तुत गरूँ ? आफ्नो उपस्थिति कसरी स्थापित गरूँ ? म अलमलमा परेँ । त्यति नै वेला एउटा वृद्ध आएर मेरो हात च्याप्प समातेँ ।

मैले ती बुढालाई चिनिहालेँ । उनी रामबहादुरका बा थिए । ज्यामी काम गरिखाएका बलिष्ठ हातले मलाई छोडेनन् । क्षणपश्चात् हात जोडेर भने, “ढोटे उमेरका केटाकेटीले गल्ती गरेछन् बाबु । यो झगडाजसरी भए नि यहीँ मिलाउनुपर्‍यो । पुलस कहाँ गयो भने बेइज्जत पनि ज्याद्रो हुन्छ । यिनको जोबन पनि बिग्री जान्छ ।”

त्यति नै वेला कृष्णे पनि हामी उभिएको ठाउँमा आयो । यो घटना केटा र केटीबिचको हो भन्ने अनुमान त मैले पहिल्यै लगाएको थिएँ । उसले थप विस्तार गर्‍यो ।

तब मलाई स्पष्ट भयो, रामेको छोरो र बिर्खेकी बुहारीलाई कोठामा ढोका लगाएर थुनेका रहेछन् । बिर्खेको आरोपअनुसार उसकी बुहारी र रामेको छोरोबिच लसपसको चक्कर पहिलेदेखि चलेको रहेछ । त्यस दिन त बिर्खेले रङ्गेहात थलामा पक्डेर ढोका लाएर थुनिदिएछ र होहल्ला गरी वरिपरिका मान्छेलाई जम्मा पारेछ । मोबाइलको जमाना हुनाले एक कान दुई कान हुँदै त्यतिका मान्छे जम्मा भएछन् ।

रामे र बिर्खे दुवै जना चर्काचर्की गरिरहेका थिए, “तैँले के खोजेको छस्, तेरो छोरो मेरी बुहारी सुतेको कोठामा किन आयो । तैँले गतिलो संस्कार दिएको भए राति अर्काको कोठाकोठा चाहर्दै हिँड्थ्यो । हुन त बाबुविनाको छोरो भन्छन् ।

“बढी मुख नचला, तेरी बुहारीले बोलाएर गयो होला, पक्कै । मेरो छोरो उस्तै भएको भए त अरू कहाँ पनि जान्थ्यो क्यारे नि । तेरी बुहारी उस्ती भएर हो । तेरी बुहारीको मन्जुरी हुन्थेन भने मेरो छोरो ढोकाबाटै फर्कन्थ्यो । किन कोठाभित्र पस्न पाउँथ्यो र ?”

“मुखमा जे आयो त्यही बोल्दा मुला काटेजसरी काटिदिउँला । तैँले साँच्चै खोजेको होस् ?”

“ल हेरम् त, तलाई एउटै बाउले जन्माएको हो भने, छोएर देखा त ? हाम्रा हातमा पनि दही जमाएर बसेका छम् र क्या ।”

सधैँजसो परेली गोरुझैँ मिल्ने रामबहादुर र बिर्खबहादुरको त्यस दिनको त्यो स्तरको हर्कत देख्दा मलाई आश्चर्य लाग्यो । आश्चर्य मात्र होइन, अस्वाभाविक र अतिरञ्जित पनि ।

म किनाराका साक्षीजस्ता तमासे मान्छेहरूको भिड छिचोलेर बिचमा पुगेँ । जहाँ ती दुई घमासान गरिरहेका थिए । “तिमीहरू यसरी झगडा नगर । छडोओ, झगडा गरेर सम्बन्ध मात्र बिग्रन्छ । समस्याको समाधान हुँदैन,” मैले मुट्ठी कसेको रामेको हात सामात्दै भने ।

“होइन सर, पुलिस थानामा लाने हो । मेरी बुहारी पनि सडेकी रहिछे । यसको छोरो त झन् सडेको सिनो । पातकी साला । यी दुवैलाई यहाँ छोडिदिने हो भने त गाउँ नै गनाउँछ,” बिर्खेले चर्को स्वरमा भन्यो ।

“ती दुवै जना कहाँ छन् । पहिला राम्ररी कुरा त बुझौँ,” मैले घटनाभित्र प्रवेश गर्ने मनसायले भने ।

“मैले कोठामा थुनेको छु,” बिर्खेले भन्यो ।

सबै चुपचाप लागका थिए । पहिलाजस्तो रन्थमाइलो र कोलाहल थिएन । “दुवै जनालाई यहाँ ल्याऊ अहिले नै फार्सोफार्सी हुन्छ । पुलिस बोलाउनु भनेको इज्जत लिलाम गर्नु हो । झमेलामा फस्नु हो । फेरि दुई जनाको भविष्यको सवाल पनि छ ।“

बिर्खे मैले भनेको मानेर ढोकाको चापी खोल्यो । रामेको छोरो आयो । केही क्षणपछि बिर्खेकी बुहारी आई । वरिपरि भद्रो हेर्ने रमितेहरू झन्‌-झन् अगाडि सरेर आए । मान्छेहरूले उकुसमुकुस भयो । छेउको कृष्णेले “अलि पछाडि हटिदिनुहोस्,” भन्दै मान्छेहरूलाई क्रमशः धकेल्यो ।

“ल साँचो कुरा भन कत्ति पनि नढाँटीकन । किन उसको कोठामा गयौ तिमी ?“

“मेरो मोबाइलको चार्जर बिग्रिएर चार्जर लिन गएको ।” “ल बाबु एकैछिन बस्नुस्, म चार्ज गर्दै छु । अनि लैजानु होला” भनेर भाउजूले भन्नुभयो । अनि हामी गफ गर्दै थियौँ । त्यही वेला “बिर्खे अङ्कलले ढोका लाउनुभयो र जे मुखमा आयो त्यही बोल्नुभयो । त्यति मात्र नभएर हल्लीखल्ली गरेर मान्छे जम्मा गर्नुभयो,” केटोले सरासर भन्यो । उसको बयान सुनेर कोही-कोही हाँसे । कोहीले त हिस्सी भावमा भने, “चार्जर लिन गएको अरे ।”

“चार्ज गर्न गएको होला नि ।”

केही केटाहरू भकुरौँला जसरी जमजमाए । बित्थामा रमितेहरू नै समाधानका बन्धक बन्छन् । मैले तिनीहरूको बेवास्ता गर्दै सोधपुछ अगाडि बढाउँदै भने, “उसले भनेको साँचो हो ?……. तिम्रो पनि केही भन्न छ भने भन ।”

“हो अङ्कल कुरो त्यही हो,” बिर्खेकी बुहारीले भनी ।

त्यसभन्दा पहिला मैले बिर्खेकी बुहारी, सुभानालाई देखेको थिइन । रातको झल्याझुलुक उज्यालामा देखे पनि सुन्दर लाग्यो । बानी व्यहोराले समेत सुभाना लाग्यो तर मलाई किन त्यस्तो लाग्यो ? जब कि समय र परिवेश उसको विरुद्धमा थियो । उसले भनेकी थिई, “हामी पहिलोपटक भेट भएका होइनौ । अरू दिन पनि हामी आफूखुसी गफ गर्थ्यौँ । जुनसुकै वेला पनि निर्धक्क बोल्थ्यौँ तर आज किन उहाँले त्यस्तो गर्नुभयो । त्यस्तो घिनलाग्दो आरोप लगाउनुभयो । मलाई अनौठो लागेको छ ।”

मलाई उसको भनाइमा ढाँटीकुटी र बनावटी भाव लागेन । त्यस हिसाबले पनि मलाई साँच्चिकै सुभाना लागेको हो । “तैँले चार्जर लिन आएको हुँ भनेर मैले पत्याउँछु् र ? चार्जर लिन आएको भए लिएर नफर्केर किन ढोकाको चक्कुल लगाएर खासखुस गरेर बस्नुपरेको ?” बिर्खेले कड्किएर भन्यो ।

“मैले भनिहालेँ नि, भाउजूले मैले चार्ज गर्दै छु एक छिनपछि लैजानुहोला भनेर बसेको ।” रामेको छोरोले नम्र भावमा भन्यो ।

“कुनै घटना घटेको रहेनछ त । कुरो खासखुसको मात्रकै रहेछ । तिललाई पहाड किन बनाउँछौ बिर्खे दाइ ?” मैले सम्झाउँदै भनेँ, “सबै आआफ्नो घर जाओ । तिमीहरू पनि आआफ्नो घर जाओ र यस्ता शङ्कालाग्दा कुरा नगर । यस्ता कुरा जति तन्कायो उति अग्राख पलाउँछ । शङ्काले लङ्का जलाउँछ भनेको त सुनेकै होउला । त्यसैले नराम्रो हिसाबले सोच्नु हुन्न । यी दुवैले जे भनेका छन्, त्यही कुरा साँचो हो । आपस दुस्मनी नलिग । यसलाई एउटा नराम्रो सपना सोचेर बिर्सँदै-बिर्सँदै जाऊ । दाजुभाइभन्दा छिमेकी नजिकका आफन्ती हुन्छन् । समय सधैँ एकनास हुँदैन । सगँसँगै सुतेपछि हातखुट्टाले लाग्छ । त्यही सोचेर आपसमा मिल ।”

“तर सर !…………।”

“तरसर छोड्देऊ । बाँकी कुरा भोलि गरौँला । यो घटनालाई बाङ्गो हिसाबले नलिग । पहिला जसरी मिलेर जग्गा खोज्न आएका थियौ, मिलीजुली जग्गा लिएका थियौ र मिलीजुली घर बनाएका थियौ, त्यसरी नै मिलेर बस । ल हात मिलाओ ।”

त्यस प्रकारले मैले त्यो झगडाको साङ्गोपाङ्गो लगाएँ । ग्यादी चोकमा आफ्नो पहिचानको अर्को इँटा थपेँ । त्यसपछिका दिनमा मेरो पिठ्युँपछाडि पनि प्रशंसा गर्ने गरेको सुने ।

एक दिन सुभाना बाटामा भेटिइन् । उसले “नमस्कार अङ्कल !” भनी । मैले उसलाई चिनेँ तर सामान्य भावमा भनेँ “सन्चै छौ ?”

“सन्चै छु अङ्कल ……. अङ्कलसँग एउटा कुरा गर्नु थियो,” उसको आवाज पछाडिबाट आयो ।

म अलि हतारमा थिएँ । कृष्णेले मलाई के.आइ.सिङ पुलमा पर्खेर बसेको थियो । त्यसैले म ऊबाट छिट्टै छुट्टिन चाहन्थेँ । त्यसैले पछाडि फर्केर मैले अधैर्यपूर्वक भनेँ, “भन के भन्न खोजेकी हौ ?”

ऊ मेरा सामुन्ने उभिएकी थिई । अनायास उसका आँखा टिलपिलाए । उसले आँसु पुछ्दै भनी, ”अङ्कल त्यसदिन मलाई हजुरले ठुलो गुन लाउनुभयो । हजुरले त्यसरी कुरा नमिलाइदिएको भए म घर न घाटकी हुन्थेँ । …………… प्लिज जाऊँ न अङ्कल ! नजिकै मेरो डेरा छ । चिया खाएर आउनुहोला । हजुरसँग धेरै कुरा पनि गर्नु छ ।”

म दोधारमा परेँ । उता कृष्णे कुरेर बसेको थियो । यता ऊ भावुक मुद्रामा थिई । आत्मीयतापूर्वक प्रस्ताव राखेकी थिई । मैले कृष्णेलाई त्यति महत्त्व दिइनँ । सुभानाको पछि लागेर उसको कोठासम्म पुगेँ ।

त्यस दिनको घटनापछि उसले घर छोडिछ । लोग्नेसँग सल्लाह गरेर महेन्द्रपुलमा डेरामा बसेकी रहिछे । भर्खर बसेको कोठा भए पनि उसले सामान राम्ररी मिलाएर राखेकी थिई ।

मलाई मुढामा बस्न भनी । बसेँ । उसले चिया पकाएर एउटा प्लेटमा बिस्कुट समेत राखेर दिई । एकछिनसम्म मेरो मुहारमा हेरी । आफ्ना नजर झुकाई र कुराकानीको क्रम जोड्दै उसले भनी, “अङ्कल मेरो ससुरा तपाईँले सोचेजस्तो मान्छे छैन । त्यो मान्छेको अनुहार परेको राक्षस हो । छोरो घरमै हुदाँ पनि ममाथि आँखा लगाउँथ्यो । घुरेर हेर्ने, बाथरुम गएका वेला ढोका ढकढकाउने, झ्यालबाट चियाउने । अझ कहिले त मेरो कोठामा सरासर छिरेर चाहिने नचाहिने कुरा गर्थ्यो । छोरो विदेश गएपछि त मलाई छुने समेत आँट गर्‍यो । के भनूँ, अङ्कल ! भन्न पनि लाज; एक दिन त पछाडिबाट आएर समात्यो । मैले विरोध गरेँ । झन् गल्ती स्विकार्नु त कहाँ छ, उल्टै प्रस्ताव राख्दै भन्यो, मैले भनेको मानेकी छैनस्, तँलाई पर्खी ! मैले जानेको छु । त्यसपछि पनि उसले पटक-पटक मलाई अनेक थरीले फकाउँदै अनेक लोभलालचा देखाएर स्वार्थ पूरा गर्न खोज्यो । मैले मुखभरिको जबाफ फर्काएर तर्काएँ । त्यसैको बदला लिएको हो, पापीले । त्यो पापी मुर्दार मर्ने वेलामा पनि किरा परेर मर्छ होला ।”

उसको कुराले मलाई स्तब्ध बनायो । मैले अर्कैतर्फ गफ मोडेँ । त्यति खेरै कृष्णेको फोन आयो । उठाउन नपाउँदै उसले भन्यो, “तँ कहाँ हो मलाई पर्खाएर ।”

“म सुभानाकहाँ छु, एकछिनपछि आउँछु,” मैले नढाँटीकन भनेँ ।

उसले भन्यो “को सुभाना, चार्जर सुभाना ?”

मलाई के थाहा त्यस दिनको घटनापछि उसलाई चार्जर भन्दा रहेछन् । मैले केही बोल्न नपाउँदै ऊ हाँस्यो र फेरि भन्यो, “ल ल सब काम भ्याएर आइज । म लाग्छु ।” उसको बोलीमा प्रशस्त मात्रामा शङ्का थिए । मेरो मनमा कुरा खेलेको थियो, उही बाउको छोरो त हो, बाबु साँझ परेपछि भर्‍याङ लिएर हिँड्थ्यो भन्थे तर मनमा आएका छुरा कुरा मुखसम्म ल्याइनँ, फोन काटिदिएँ ।

म केही क्षण सुभानाकहाँ बसेर घर आएँ । श्रीमती गलफुलो आएजसरी फुलेकी थिई । मलाई देख्नेबित्तिकै केही बोल्न खोजिन् । किन यतिभाँती रिसाएकी छ ? यो प्रश्न मनमै राखेर सुतेँ । सुतेपछि मैले प्रेम दर्साउँदै भनेँ, “यता फर्कन, अलि ज्यान तात्छ कि !”

उसले मुखबाट खुर्सानी बम पड्काएर भनी, “ज्यान तताएर आउनुभयो होला है त्यो नकटी चार्जरसगँ, म किन चाहिएँ ।” तब मैले ऊ रिसाएको कारण बुझेँ । पक्कै कृष्णेले कान फुक्यो होला भन्ने लाग्यो तर केही बोल्नु हितकर ठानिनँ ।