आकाशलाई बादलले ढाकेजस्तो सानीको अनुहार । एकतमासले माटो कोट्याइरहेकी छे । माटो कोट्याउन छाडेर झार थुत्थी । झारलाई किचिमिची पार्थी । हुत्याउँथी । सूर्यको लालिमालाई अँध्याराले निल्न लागेको वेला छायाले सानीलाई छोप्न लागेको थियो । सूर्यमा ग्रहण लागेजस्तै सानीको आँखामा पनि ग्रहण लागेको छ ।

टाढाबाट हेर्दा झट्ट र स्पष्ट नदेखिने सानी एकोहोरो माटो कोट्याउन छाडेकी थिइन् । एक्कासि सानीको आमाको आवाज चारैतिर फैलिन्छ, “माइली ए माइली कता मरिस् ए । भात खाने वेला भइसक्यो । कता हिँड्दी रैछे यो केटी ?”

माइली–घरपट्टिकाले बोलाउने नाम । तीन छोरीमध्ये सानी माइली सन्तान थिई । सानी गाउँघरका छरछिमेकले माया गरेर बोलाउने नाम । मान्छे त ठुली र अग्ली नै हो तर सबैले सानी भनेर नै बोलाउँथे । असली नाम‚ सानुमाया तामाङ । स्कुलमा लेखाइएको नाम ।

आमाले चर्को स्वरमा कराउँदा पहिलोपटक सानीको कानमा केही गुन्जेजस्तो मात्रै भयो तर फेरि आमाले, “हैन यो केटी कता मरिछ भन्दै आफूतिर आइरहेको देख्दा हतप्रभ भई ।”

“हैना‚ यहाँ के गरिबसेको छेस्‌‚ भात सेलाइसक्यो‚ सुन्दिनस्‌‚ कानमा के कोचेर मरेकी छेस्‌” आमाले गाली गर्दा झसङ्ग भई ।

अलिक समयपहिले गाउँघरमा अधिक दुःख भो भनेर सानीका बाबुआमा सहर पसे । ओखलढुङ्गाको विकट गाउँबाट धरान झर्दा सानीको उमेर त्यस्तै ६–७ वर्षको हुँदो हो तर सानीलाई लाग्छ‚ धरानमै जन्मिएकी भन्ने । आमाको मुखबाट ओखलढुङ्गामै जन्मिएको भनेपछि भने उनी मान्न तयार भएकी थिई ।

भोजराज श्रेष्ठ

यहाँ आउनेबित्तिकै बाबुआमाले स्कुल हालिदिएँ । कखरा‚ बाह्रखरी र दुआई हुँदै कक्षा १‚ २ हुँदै पढाइ अगाडि बढ्दै गयो । पढाइसँगै उमेर पनि बढ्दै गयो । स्कुले साथीसङ्गी बढे । साथीहरूले पनि सानी भनेर नै बोलाउँथे । सानी उनका लागि प्यारो नाम थियो । मायालु नाम । दुःख गरी बुबाआमाले पढाएकाले उतिधेरै खर्चालु पनि थिइन । घरमा पाकेको सातुचामल खाएरै ऊ स्कुल जान्थी । स्कुलमा पनि उति खर्च गर्थिन ।

भनौँ उनीसँग पुग्दो पैसा थिएन । एउटा डटपेन किन्न‚ कापी किन्न पनि हम्मे नै थियो । कपी‚ पेन किन्न पैसा जोगाएर वेला-वेला खाजा खान्थी । पुगी सरी नभएकाले बाबुआमाको दुःख बुझेकी थिई ।

छरछिमेकमा कुरा हुँदा माइली चाहिँ पढ्ला जस्तो छे भन्दै आमा सुनाउँथिन्‌म, “मेरो माइली चैँ अलिक दुःख बुझेकी छे ।” सानीको दाजु थियो तर चलाख भनौँ भने चलाख नि होइन‚ मन्द भनौँ भने मन्द पनि होइन । पढाइमा असाध्यै कमजोर । कक्षा ९ पढ्दापढ्दै छाड्यो । बरु ज्यामी‚ ज्यालादारी काम गरेर दिन बिताउँथ्यो । आफ्नो पकेट खर्च धान्थ्यो ।

जेठी पनि ९ पढ्दापढ्दै बिहे गरी । उसको पनि पढाइ उतिसारो राम्रो थिएन । आफैँले मन पराएको केटासँग पोइल हिँडी । बाबुआमा भन्थे, “जेठीले हाम्रो नाकै काटी ।” कुलजातमै गए पनि मायाँप्रेम गरेर हिँडेको सानीको बाबुआमालाई मन परेको थिएन । सानीका बाबुआमाले मायाप्रेम के हो बुझेनन् ।

सानीको आमा कुमतिले बाबु बिर्खमानलाई पहिलोपटक मगनीका वेला देखे । तामाङ संस्कारअनुसार दुईको बिहे भो । बिहेपछि लगालग ३ छोरी र एक छोरा । छोरा चतुर्मान सानीभन्दा दुई वर्षले जेठो हो । कान्छी सानै थिई । ऊ पनि पढ्थी । उनीहरू सँगसँगै स्कुल जान्थे ।

शिक्षा सदन स्कुल । घरबाट झन्डै २० मिनेटको दूरीमा थियो । बिहान साढे ९ बजे हिँड्दा पनि पुग्ने । आमा कुमति भन्थिन्, “तिमेरको स्कुल त आँगनमै छ‚ किन हतार गर्छौँ । कुमतिले स्कुल देखिनन् । स्कुल कस्तो हुन्छ‚ उनलाई थाहा भएन । घरभन्दा कोसौँ टाढा थियो स्कुल । छोरीको जातले पढ्नु हुँदैन । कुटुम्बको घर जानेले किन पढ्नु भनेर कुमतिलाई बाबुआमाले पढाएनन् । किशोरावस्था पूरा नहुँदै बिर्खमान माग्न आए । आफ्नो मामाको छोरा । घाँस दाउरा मेलापात गर्दै किशोरवय सकियो कुमतिको । पहाडको उकालीओराली र दुःख सम्झेर नै धरान झरेका थिए ।

आफ्ना लालाबालालाई राम्रो शिक्षादीक्षा दिऊँ भन्ने कुमति र बिर्खमानलाई लागेको थियो । पहाडको सिरीखुरी बेचेर धरान झरेका थिए । पहाडको झन्डै ३५ रोपनी जग्गा बेच्दा धरानमा मुस्किलले १० धुर जग्गा खरिद गरे । घर बनाउनका लागि मुग्लान भासिए । मुग्लानमा पनि राम्रो नभएपछि आएर बिर्खमान अरब भासिए । अरबमा भेडा गोठालो गरेर कमाएको धनले बल्लतल्ल एक तले घर बनाए । सन्तानको खुसीका लागि बिर्खमानले के चाहिँ गरेन । आफ्नो बलले भ्याएसम्म सबै कर्म गरे । आमा कुमतिले पनि आफूसक्दो काम गरिन् । छोराछोरीको खुसीका लागि दिलोज्यान लगाए ।

तर छोराले ९ कक्षा पढ्दापढ्दै छाड्यो । मरे पनि स्कुल जान्न भनेपछि कुमति र बिर्खमानले पढ् भनेर छोरालाई भन्न सकेनन् । ‘नालायक जन्मियो’ भनेर वेला-वेला सन्ताप गर्थे भालेपोथी ।

सानी थिई तीक्ष्ण बुद्धिकी । सानीप्रति सारै आडभरोसा थियो । कान्छी सानै थिई तर उमेरसँगै सानीको पनि रूप रङ्ग फेरिन थाल्यो । ओठमा लाली चढ्यो । गालाहरू पुक्क-पुक्क फुल्न थाले । जवानी चढेको सहजै अनुमान गर्न सकिन्थ्यो । उनको जवानी तोरीबारी फुलेझैँ फुल्न थाल्यो । साथीभाइले पनि जिस्क्याउन थालिसकेका थिए । सानी रूप‚ रङ्गले खिलेकी थिई । पहिलोपटक देख्नेहरू उनलाई एक टकले हेर्थे ।

ऊ लाजले भुतुक्क हुन्थी । सिनित्त परेको जिउ‚ सानो नाक‚ चिम्स्याइलो आँखा‚ बाटुलो अनुहार र लामो केश राशि । यही कारण सानी सबैको आँखामा पर्थी । सानी भने पढाइबाहेक केही सोच्दिनथी । पढाइप्रति बाबुआमा पनि मक्ख थिए ।

“मेरो पालाको जस्तो यिनीहरूलाई चाँडै बिहे गरिदिन्नँ” ,पति बिर्खमानका अगाडि कुमति यसै भन्थिन् । बिर्खमान पनि उनको स्वरमा लय मिलाउँथे ।

सानीले हेर्दाहेर्दै कक्षा १० को परीक्षा पनि सकी । एसईई सकेपछि शिक्षा सदनमै प्लस टु पनि पढ्ने भई । आर्थिक अवस्था राम्रो नभएका कारण सानीले शिक्षा सदनमै प्लस टु सक्ने विचार गरी । विज्ञान सङ्कायमा पढ्ने विचार गरी । उनलाई प्लस टु सकेर डाक्टर बन्ने इच्छा पालेकी थिई ।

सानोमा भविष्यमा के पढ्ने भन्ने कुनै योजना नभए पनि कक्षा ९ बाट भने धरानको माहोलले उनमा डाक्टर पढ्ने इच्छा पलायो । पढाइ पनि राम्रै भएकाले त्यो सम्भव पनि थियो । प्लस टु अध्ययन गर्दागर्दै उनको नजरमा एउटा युवक पऱ्यो ।

हेर्दै हट्टाकट्टा‚ गोरो‚ अग्लो । उसलाई हेरेर एकपटक सानी लजाई । पहिलोपटक सानीलाई केटाप्रति अनेकन् विचार मनमा आए । ऊ पहिले यस्ती थिइन तर त्यो केटाको रूप नै त्यस्तो थियो । जसले गर्दा सानी उसलाई नहेरी रहनै सकिनँ । मायाँप्रेमको उमेर त होइन तर सहरमा बर्सेनि आउने भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसले सानीलाई पनि वेला-वेला काउकुती लगाएर जान्थ्यो । सानीका मिल्ने साथीहरूलाई पनि थुप्रै प्रेमप्रस्तावहरू आएको देखेकी थिई ।

साथीहरू लजाउँदै ती प्रेमप्रस्तावलाई स्वीकार गर्थे । सानीको मिल्ने साथी थिई मनिता । मनिता पनि पढाइमा अब्बल थिई । उनीहरूको कुनै कुरा लुक्दैनथ्यो । यसपटक मनिताले पनि सानीलाई जिस्क्याउन भ्याएकी थिई । मनिताले जिस्क्याउँदा मनमा एक खाल्को तरङ्ग पैदा भएको थियो । त्यो तरङ्गको चर्चा गरेर साध्य छैन । कस्तो-कस्तो । मनमा एक खाल्को काउकुती हुन्थ्यो । उसले यस्तो अनुभूति पहिलोपटक गर्दै थिई ।

खुल्ला आकाशजस्तो थिई सानी तर उसले त्यो हिस्सी परेको केटालाई देखेपछि भने बादलले लुकामारी खेल्दा लजाएको आकाशजस्तो भएकी थिई । त्यो केटालाई पहिलोपटक मात्रै हैन । स्कुल जाँदा कैयौँपटक देख्न थालेकी थिई । त्योभन्दा अगाडि उसले उसलाई यस टोलमा देखेकी थिइन । किनकि सानी यसै टोलकी थिई । टोलमा भएका दाजुभाइहरूबारे उनलाई पूर्ण जानकारी थियो । भनेको लगभग गाउँघरका सबैजसोलाई अल्लारे उमेरका केटालाई चिन्थी । धरानको एभरेस्ट लाइन यति बाक्लो बस्ती पनि थिएन कि उनलाई यो बस्तीमा भएका केटाहरूबारे जानकारी नहोस् ।

तर उसले कताकता सानीको ध्यान खिचेको थियो । जसरी मौरीलाई फूलले‚ गुलियोमा कमिला । उनीहरूबिचको हेराइहरू बाक्लिन थालिसकेका थिए । मनितालाई सानीको मनको कुरा भलिभाँती थाहा थियो । त्यही कारण मनिताले भनेकी थिई “प्रपोज राखिदे न ?” तर त्यो आँट गर्न सकेकी थिइन ।

उसलाई त्यो तहमा पुग्न निकै आँट र साहस चाहिन्थ्यो । केटी मान्छेले प्रपोज गर्ने । कस्तो अनौठो सुनिएको थियो‚ एकपटक तर‚ युग फेरिएको छ‚ अहिले केटाभन्दा बढी केटीहरू नै अगाडि छन् तर‚ ऊ कसरी अगाडि हुन सक्थी र ! ऊ त लजावती झारजस्तै थिई । छुनुअगावै आफ्ना पातहरू सिम्ट्याउने ।

ऊ चाहन्थी केटाले नै अगाडि प्रपोज राखोस् । ऊ प्रपोज राख्ने तहमा पुगेकी थिइन र कहिल्यै पुग्न पनि सक्दिनथी । खाइलाग्दो ज्यान मात्रै हैन‚ केटाको शीलस्वभाव देखेर पनि मोहित भएकी थिई तर वेला-वेला सोच्थी । केटाहरू भनेका भ्रमर हुन् । फूलको रसको आस्वादन गर्दै फेरि अर्को फूलमा गएर बस्ने । त्यसको पनि रस चुसिसकेपछि फेरि अर्को । यस्ता अनेकन् सोच मनमा आउँथे सानीमा ।

आजकाल सानीको निद्रा हराउन थालेको छ । किताबमा घोरिन्थी तर किताबका अक्षरहरूमा उनको ध्यान जाँदैनथ्यो । ती अक्षरहरूमा त्यही खाइलाग्दो केटो देख्न थालेकी थिई । वेला-वेला झसङ्ग हुन्थी । फेरि किताबमा घोत्लिन खोज्थी । अहँ अक्षरहरूमा उनको मनै जाँदैनथ्यो ।

एक दिन‚ दुई दिन हुँदाहुँदै त्यो केटासँग सानी जोडिसकेकी थिई । त्यो खाइलाग्दो केटो ताप्लेजुङ जिल्लावासी रहेछ । आर्मी भिड्नका लागि धरान आएको । सनम लिम्बु हो उसको नाम । उनीहरूको प्रेम थाहै नपाई झाँगिसकेको थियो । प्रेम यस्तो मोडमा पुग्यो कि उनीहरू एक दिन बिहे गर्ने अवस्थामा पुगे । त्यो कुरालाई सानीका बाबुआमाले पनि स्विकारे ।

आफू पढ्दै नपढेकाले आफ्नो छोरी कक्षा १२ पढेकाले धेरै नै पढेको भान भयो‚ कुमति र बिर्खमानलाई । उनीहरूमा थप पढ्नुपर्छ भन्नेतिर ध्यान गएनन् । छोरीले पनि केटो मन पराएको र केटाले पनि केटी मन पराएकाले दुवै जनाको सामान्य किसिमले बिहे गरिदिए । किनकि उनीहरूसँग ठुलो बिहे गरिदिने हैसियत थिएन ।

त्यसपछि सानीको सिउँदो रङ्गियो । आजकाल सानी र सनमको जोडीको छिमेकमा पनि चर्चा छ । छिमेकमा कुरा हुँदा अहिले सानी र सनमकै जोडीको चर्चा सुनिन्छ । कति मिलेको जोडी यस्ता-यस्ता कुरा धेरै नै सुनिएको छ । सानी पनि मखलेल छिन् । पानी परेपछि आकाश खुलेजस्तै । त्यसै पनि उनी रूप रङ्गले खुलेकी थिई ।

धेरैले त्यो जोडीलाई परेवा‚ चखेवाको जोडीसँग तुलना गर्थे । एक क्षण उनीहरू छुट्टिएको गाउँलेहरूले देखेनन् । गाउँलेहरू भन्थे, “सुरु-सुरुमा मायाँप्रेम यस्तै हुन्छ‚ कहाँ छोड्नु मन लाग्छ र ! अँगालोमा हालिराख्नु मन पर्छ नि !”

चार पाँच महिनापछि सानीको पेट देखिन थाल्यो । गाउँलेहरूले लख काटे अब चाहिँ उनीहरूको प्रेम अङ्कुराएछ । सानीको प्यारको निसानी बढ्न थालेयता कुमति र बिर्खमान पनि खुसी थिए । छोरीज्वाइँलाई एकै ठाउँमा देख्न पाउँदा औधी खुसी थिए ।

तर एक दिन सनम एकाएक बेपत्ता भयो । राति सानीसँगै सुतेका सनम बिहान आँखा खुल्दा ओछ्यान खाली थियो । जिउ भारी भएकाले सानीले आँखा नखोली हातले छामी‚ सनमलाई पाएन । आँखा खोलेर यताउता हेरी । कोठा चकमन्न थियो । त्यहाँ उसको प्यार थिएन । मायाँ थिएन । सनमको केही कुरा पनि थिएन ।

फोन डाइल गरिन्‌‚ सम्पर्क हुन सकेन भनेर प्रत्युत्तर आयो । “एकाएक कतै जानुपर्ने कुरा भएजस्तो लाग्दैन” ,सानीले मनमनै सोची । त्यो दिन त्यसै बित्यो । भोलिपल्ट‚ पर्सिपल्ट । अहँ सनम फर्किएनन् । बाबुआमाले पनि बाटो कुरिरहे तर फर्किएनन् ।

सानीको जीवनमा एक्कासि कालो बादल मडारियो । हुन्डरी आएर सबै पातपतिङ्गर उडाएजस्तो । उनको जीवन उदास-उदासमा बित्न थाल्यो । मनमा अनेकन् तर्कना आउँथे ।

आफ्नो पेट हेर्थी‚ छाम्थी । बच्चा नआउँदै बाबु बेपत्ता छन् । यसलाई के भनेर बोलाऊ । उनलाई घरीघरी मरूँझैँ लाग्थ्यो तर पनि पेटमा भएको बच्चाका लागि उनी त्यो पनि गर्न सकिहाल्ने अवस्थामा थिइनन् ।

त्यो साँझ “हैन‚ यो केटी के भाको‚ बोलाएको पनि सुन्न छाडिस् त ?” आमाले चर्को स्वरमा कराउँदा भने हतप्रभ भइन् । एक्कासि दिमाग शून्य भो । के गर्ने ? के नगर्ने ? हजुर भन्न पनि सकिनँ । एकोहोरो आमालाई हेरिरही । बकुल्लाले माछाको सिकार गर्न लाग्दा ध्यान गरेजस्तो । आँखाबाट अनायासै आँसु बर्रर्र भुईँमा खसे ।