साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यौनकथा : भियाग्रा

औषधि किनेँ । एक सय पचास रुपैयाँ झ्याप पारेँ । घरमा फर्केर आएपछि “यो के ओखती हो मालिक साप ?” भनेर सोधेँ । हातमा औषधिको प्याकेट लिनासाथ मालिकलाई के भयो कुन्नि, बच्चाले झैँ "नाइँ, भन्दिनँ" भनेर लाडे स्वर निकाले ।

मेरो नाम गङ्गाराम । अरूको घरमा काम गर्ने कामदार । उहिले उहिले नोकर भन्थे । अचेल लोकतन्त्र आएको हुँदा गृह—श्रमिक भनेर मान राख्न थालेका छन् ।

बिहानको समय थियो । मेरो मालिक कुमारीत्व भङ्ग नभएका पत्रिकाहरू पढिरहेका थिए । मेरो मालिकको दोस्रो जवानी पनि निख्रिसकेको थियो । केशहरू काँस फुलेझैँ फुलिसके । पत्रिका पढिरहेकै बेला मेरी मालिक्नीले मगमा कफी ल्याइन् । एक माना घटी नपिए बुढाको तलतल मेटिन्न ।

bahulako diary small and inside post

बुढियाले मग टी टेबिल मा राखिन् । मगको पिँधको टक्क आवाजले पतिको ध्यान खिच्यो । उनले बुढीतिर पुलुक्क हेरे । बुढीको मुखबाट “हैन, हजुरले गर्न खोज्या के हँ ? मेरो कुरा सन्नुपर्छ भनेर कानमा ठेडी कोचिस्या हो कि वास्ता नगरिस्या हो ? किन कानमा बतास नलागेको हजुरको ?” भन्नेजस्ता गन्थने वाणी निस्किए ।

कफीको चुस्की लगाउँदै मेरा मालिकले तिम्रो लिँडेढिपीको कारणले म पागल हुन लागिसकेँ । एक दर्जनजति नोकरचाकरको जागिर खाइसकेको छु मैले । अब पनि…? भन्दै बिचैमा वाक्य रोके । फेरि बिचैमा कुरा काटेर मालिक्नीले यो गङ्गारामेको त आँखै बिखालु लाग्छ मलाई । खालि घुरेर हेर्छ भन्या ! मानौँ कि गाईलाई साँढेले हेरेको होस् भनीकन मेरो नोकरी खाने प्रवचन दिइन् ।

बढी बोल्लिन् भनेर म स्वाट्ट भित्र पसिदिएँ । वास्तवमा म भान्छामा काम गर्दै थिएँ । एप्रोन जिउमै थियो । मालिक्नी कराऊन् भनेरै भान्छा छाडेर आएको थिएँ । नभन्दै बुढिया तँलाई जति भने पनि लागेन हगि ? भन्ने प्रश्न गर्दै मालिकमालिक्नी भलाकुसारी गरिराख्या टाइममा बिथोल्न नआइज भन्या किन मान्दैनस् तँ ? जा खुरुक्क भनेर बेसरी हकारिन् ।

म पनि खरो रूपमा उत्रिएर जाऊँ त उसो भए ? भन्ने प्रतिप्रश्न गरिदिन्छु र रोमान्टिक पारामा ठिकै छ । आज तपाईँहरू व्रत बस्ने हो ? आहा ! झन् मज्जा भयो मलाई । म त जान्छु फिलिम हेर्न । हस् त म गएँ भन्दै हिँडिदिएँ ।

साँच्चिकै हिँडिदेला भन्ने डरले मालिकले ए गङ्गाराम । बाबु गङ्गाराम । यता मेरो कुरा सुन त भनेर फकाइहाले । म नाटक गर्न सिपालु थिएँ । अनि त हजुर मालिक भन्दै फर्केर आएँ र राम्रो अभिनय प्रदर्शन गर्दै आज केको मासु पकाउने मालिक साहब ? भनेर सोधेँ । वास्तवमा अघि म पकवानको समस्या पनि बोकेर आएको थिएँ । मालिक्नीले पतिलाई मेरो बारेमा भड्काउन खोजेकी हुँदा बिर्सेछु ।

सागर ‘मणि’ थापा

म बैठकको ढोकामा उभ्भिरहेँ । नजानिँदो पाराले मालिक्नीलाई खिज्याइरहेँ । मालिक्नी त्यसै लायककी थिइन् त मैले नखिज्याई भो ? जिउडाल त परेकै हो मेरी मालिक्नीको । झन् मेकअप गरेपछि त अनुहार धपक्कै बल्ने । अनि पो बुढाले बुढीच्वाँक उपनाम राखिदिएका थिए ।

बुढीमान्छे भएर पनि दिनहुँ पोसाक फेरिरहनुपर्ने । हजुरआमा बनिसकेकी थिइन् तर चालढाल भने अधबैँसाहरूको जस्तो छ । अनि पो ‘सेक्स’ को मामिलामा बुढा सदाबहार भइदिन्छन् । बुढी अगाडि भइन् कि पुष्ट वक्षमै नजर टाँसिन्छन् । कहिले त नितम्बमा चिमोट्छन् पनि । अनि पो टोलेहरूले काइदाको उपनाम भिराइदिएका छन्, भियाग्रा बुढो भनेर ।

केही महिनापहिलेको घटना…।

त्यो दिन मौसम चिसोचिसो थियो । मेरो मालिको त्यो चाहना प्रबल भएर आयो । पत्नी कोठामै थिइन् । सोफामा पल्टिरहेकी हालतमा । फिल्मी म्याग्जिन पढ्दै रहिछन् । मेरो मालिकले मलाई साउती गरे । म र मालिकको कानेखुसी कार्यक्रम सम्पन्न भयो । उनले मेरो हातमा एउटा हात्तीछापे नोट थमाए । म औषधालयतिर रमाना भइहालेँ ।

औषधि किनेँ । एक सय पचास रुपैयाँ झ्याप पारेँ । घरमा फर्केर आएपछि “यो के ओखती हो मालिक साप ?” भनेर सोधेँ । हातमा औषधिको प्याकेट लिनासाथ मालिकलाई के भयो कुन्नि, बच्चाले झैँ “नाइँ, भन्दिनँ” भनेर लाडे स्वर निकाले । बुढा त त्यसै-त्यसै रोमाञ्चित भए । अलिकति उत्तेजित पनि ।

अनि त बुढाले कुरा फुस्काउँदै तँ ग्वाँचेलाई बताइदिन्छु । यो ओखतीको नाम भियाग्रा हो भने र त्यसको विशेषता पनि बताउँदै “यो खाएपछि रमाइलो हुन्छ । चोरेर खालास् नि तैँले । मास्तिर जालास् नि फेरि । अतः सेवन गर्न मनाही छ” भनेर चेताउनी पनि दिए ।

त्यो साँझ मैले साबिकभन्दा दुई घण्टाअगाडि नै खाना तयार पारेँ । मालिक्नीले कुरा नुबझेर आज हजुरलाई साह्रै भोक लाग्याजस्तो छ नि ? नत्र त भोजन ज्युनार गर्ने ट्याम त भएको छैन भनिन् । बुढाले मायालु भावमा आज निकै चिसो छ के मामी भनेर छोटो वाक्य बोले ।

मुडमा हुँदा उनी पत्नीलाई मामी भन्थे । युरोपतिर श्रीमतीलाई मायाँ गरेर बोलाउँदा भन्छन् रे, मामी । मेरो मालिकले त्यो चलन उतैबाट ल्याएका थिए । अब त देशैभरिको आधुनिक सभ्यता बनिसकेको छ । सन्तानकी आमा । पतिकी मामी !

केही घण्टापछिको घटना हो । एक्कासि मालिक्नी चिच्याइन् । म कुदेर पुगेँ । ढोका ह्वात्त ठेल्दाखेरि पर पछारिन पुगेँ । मलाई देख्नासाथ मालिक्नीले “तँ बज्याले मेरो बुढालाई मार्न आँटिस् ? के ओखती देको थिस् ? त्यो खाएर ह्वाँलाई यस्तो भो” भन्दै आरोप लगाइन् ।

पत्नीले लुगा लगाइदिइन् । मैले जुरुक्कै उचालेर तल पुर्‍याएँ । मोटर आफैँले हाँकेर कुदाएँ । बुढियाचाहिँ गइनन् र नातेदारहरूलाई सूचना दिन लागिन् ।

उता अस्पतालमा बुढालाई ‘इमर्जेन्सी’ मा पुर्‍याइयो । डा. आएर ‘चेकअप’ गर्न लागे । डा. ले मलाई एकान्तमा बोलाए र पत्रकारले झैँ अन्तर्वार्ता लिन थाले । मैले सबै कुरा बताएँ । डा. ले बुढालाई एउटा ‘इन्जेक्सन’ लगाउन नर्सलाई निर्देशन दिए । नर्सले “डा. साप, उहाँ बालाई भएको चाहिँ के हो ?” भनेर सोधिन् ।

डा. ले किञ्चित् सरम नमानी “बुढाले भियाग्रा औषधि सेवन गरेका थिए रे । अनि त…” भनेर उत्तर दिए । नर्सले जिब्रो टोकिन् र कुदेर चर्पीमा गई भियाग्रा बुढाको अनुहार सम्झी कमोडभित्र बेसरी खकारिन् । उनी फर्केर आइन् । म अघिदेखि उनलाई घुरेर हेरिरहेको थिएँ ।

नर्सले किन “त्यस्तरी हेरेको ? केटीमान्छे देखेको छैन ? मात्तेको वृद्धको पात्तेको नोकर” भन्दै मेरो अपमान गरिन् । म पनि के कम थिएँ र । नर्सलाई खाउँलाझैँ गर्दै “घरमा स्वास्नी नभएर तिमीलाई हेरिराख्या नि । बरु सिस्टरको बिहेसिहे…?” भनेर उनका आँखामा हेरिरहेँ ।

अर्को दिन नर्मलमा आएपछि डा. ले कुरा घुमाएर “यो उमेरमा जथाभावी औषधि सेवन गर्न हुँदैन अङ्कल । तपाईँ त्यत्तिकै तगडा देखिनुहुन्छ नि । आइन्दा यस्तो गल्ती नदोर्‍याउनुहोला है ?” भनेर सल्लाह दिएझैँ गरे । मेरो मालिकले हाँसेर टारिदिए ।

सम्बन्धित पोस्टहरु

………………..

त, म मालिकसँग “केको मासु पकाउने ?” भनेर सोध्दै थिएँ । फ्रिजमा माछा थियो । मालिकले त्यही पकाउन आदेश दिए । माछा पकाउँदै गर्दा मलाई हाँसो लाग्यो । त्यही समयमा मालिक र मालिक्नी आइपुगे । मालिक्नीले म हाँसिरहेको चाल पाइन् । तब पतिलाई “ऊ देखिस्यो त हजुर, मलाई देख्यो कि यसले खिसीटिउरी गरिहाल्छ” भन्दै उचाल्न थालिन् ।

मेरो मालिक अलि आदर्शवादी थिए । त्यो आदर्श अहिले पनि दूध दिने गाईको लात्ती सहन सिक्नुपर्छ मामी । हाम्रो भन्नु यही एउटा त छ । छोराबुहारी र नातिनातिना नभएसरह भइहाले त ! दुनियाँ आखिर स्वार्थी नै त छ भनेर छरपस्ट भयो ।

“डाक्टरले धेरै डाइट नदिनू भनेकै हुन् ।” बुढीले मलाई माछा पकाएको देखेर झपारिन् तर मैले “मालिक साहबलाई मांसाहारी भोजन नै चाहिन्छ त म के गरूँ ?” भनेर विवशता सुनाएँ । मालिक्नीले मलाई “तँ आज कतै नजालास् । लुगाको रास छ । सबै धोएस्” भनेर आदेश दिइन् ।

मैले मालिकलाई “एउटा ‘वासिङ मेसिन’ भए त काइदा हुन्थ्यो, है मालिक साहब ? सफा पनि हुने । छिटो पनि हुने” भन्दै फकाएँ । बुढियाले घोर विरोध गर्दै “यो मान्छे नोकर हो कि कान्छो छोरो ? यसरी शिरमा चढाएको त राम्रो हुन्न है” भनिन् ।

मालिक्नी बाहिर हिँडिन् । नातेदारको घरमा तास खेल्न । मालिकले “मलाई आज पनि मलाई त्यही ठाउँमा जान मन लागेको छ गङ्गाराम । तिमी खाना खाएर गाडी तयार पार है ?” भन्दै ‘तलतल’ लागेको कुरा व्यक्त गरे । मैले जबाफमा “आज म हजुरलाई सबै कुरा घरमै बन्दोबस्त गरिदिन्छु मालिक साप” भनेर चाकरी बजाएँ र “तर मलाई वासिङ मेसिन चाहिन्छ नि” भनेँ ।

मेरा मालिक उच्चकोटिका विद्वान् । विदेशी मुलुकका मात्रै ४/५ ओटा डिग्री छन् । नेपाली प्रबुद्ध र महान् प्रतिभाहरूको लिस्टमा ‘टप टेन’ भित्र पर्छ मेरो मालिकको नाम । सबैजसो ब्याङ्कमा ३०/४० प्रतिशत ‘सेयर’ छन् ।

सबै कुराले औलादौला भएपछि त एउटै कमजोरी हुँदो रहेछ । विदेश बसाइको प्रभाव होला । विदेशीहरूको सङ्गत । उतै परेको बानी । मैले धेरैपटक सुनेको कुरा हुँ । मेरी मालिक्नी उनका वृद्धसखीहरूसँग वेदना पोख्थिन् ।

ती सखीहरूले “गङ्गारामको बिहे गरिदिनू, अनि त उसकै जोईपोइले स्याहारसुसार गरिहाल्छन् नि” भन्नेजस्ता सुझावहरू दिन्थे । भड्काउनेहरू चाहिँ “किन गरिदिने नोकरको बिहे, जाबो नोकरलाई त्यत्रो सम्मान ! कदापि हुन्न । गङ्गाराम खत्तम मान्छे हो” भनेर उचालिदिन्थे ।

त्यसै गरी “त्यो चोरलाई चाँडो निकाल्नुस् जया मेडम । नत्र मालिकलाई कुलतमा फसाइदिन बेर छैन” भन्नेजस्ता कुराहरू गरेर मेरो दानापानी हरण गर्न खोज्थे । जया मेडमलाई मसला पुगिहाल्थ्यो र “हरेक रात मेरो सपनामा अनमरिन्छ त्यो मोरो । खालि एउटै सपना । सधैँ त्यही गङ्गे आउँछ” भनेर कपोलकल्पित कुरा गर्थिन् ।

मेरी मालिक्नी असाध्यै हरामी । एक दिन बिहानै मेरो कोठामा पसेर “आज राति सपनामा तैँले मलाई झन्डै रेप गरेको थिस्” भन्दै ड्यामड्यामी कुटिन् ।

त्यही घटनाको दिउँसोको कुरा हो । हाम्रो घरमा खाल जमाएर बसेका बुढीहरूका माझबाट एउटीले मेरो नाम लिँदै “यस्तो छिप्पेको बोको रहेछ ! जया मेडमका भित्री लुगाहरू पनि धुन्छ होला हैन ? विदेशतिर केही हरामीहरू महिलाका भित्री वस्त्रहरू पनि चोर्दै हिँड्छन् । म उता हुँदा मेरै ‘ब्रा र पेन्टी’ हराएको थियो” भनेर अचम्मको गफ दिइन् !

अर्कीले त “नोकर गङ्गारामले जया मेडमसँग एकतर्फी लभ गरेको छ” भनेर समेत मेरो चरित्र हत्या समेत गर्न भुलेनन् । त्यति मात्र कहाँ हो र । नोकरले ‘वेश्यालय’ सम्म पुर्‍याउने गरेको अति गुप्त कुरा पनि बाहिर आयो । मेरो खोइरो उतारियो ।

त, जया मेडम जुनसुकै समयमा घर फर्किने सम्भावना थियो । अतः मैले मालिकका लागि चाँडै नै बन्दोदस्त मिलाइसकेको थिएँ । एउटी अधबैँसासँग मेरो मालिक कोठामा एकान्त गरिरहेका थिए । मचाहिँ गेटपाले । बुढा ढुक्क थिए ।

मैले घरको फोनबाट मालिक्नीको मोबाइल नम्बरमा डायल गरेँ । कति बाठो म । महाधूर्त ! खाजाको निहुँ बनाएर मालिक्नीसँग कुरा गरेँ । मालिक्नीको मोबाइलबाट गाडीहरू गुडेका आवाज ध्वनित भइरहेका थिए । लौ बितायो ! बुढी त घरै नजिक आइसकेकी रहिछन् ।

म कुदेर त्यो कोठाको ढोकामा पुगेँ । ए, काम फत्ते भइसकेको रहेछ । ती अधबैँसा ‘चोरढोका’ बाट निस्किसकेकी रहिछन् । बुढाचाहिँ बाथरुमभित्र ।

मालिक्नी घरभित्र पस्दा बुढा र म भान्छामा गइसकेका थियौँ । बुढी सिधै बुढाको कोठामा पसिन् र निरीक्षण गर्न लागिन् । शङ्का त मज्जैले भयो उनलाई । तर प्रमाण ? त्यो त बच्चाको मुखको चकलेटझैँ बिलाइसकेको थियो ।

बुढाले प्रफुल्ल मुद्रामा “आज कति हजार चुना लगाएर आयौ त ? ती काम नपाएका बुढीहरूले खत्तमै पार्ने भए होइन ?” भनेर जिस्क्याइदिए । बुढी बोलिनन् । बुढाको शरीरबाट फुसफुसाइरहेको परस्त्री गन्धलाई सुँसुँ गर्दै घ्राणभित्र हुलिरहेकी थिइन् ।

अचम्मै भो ! मेरी मालिक्नी चक्कर लागेर झन्डै ढलिनन् । तै म थिएँ र बचिन् । पत्नीको हालत देखेर पति आत्तिए । म र मालिक मिलेर मालिक्नीलाई कोठामा लग्यौँ । सोफामा बसेपछि बुढीका आँखा ‘सिलिङ’ तिर नाच्न थाले । मेरो मालिक साहबले “देख्यौ त जया ! यो गङ्गारामले कत्तिको मायाँ गर्दो रहेछ” भन्दै “नोकर फेर्ने कुरा छोड । बरु यसको लगनगाँठो कस्नका लागि एउटी राम्री केटी खोज्ने जमर्को गर” भनेर मेरो कल्याण गर्ने कुरा गरे ।

बुढीलाई रिस उठ्यो र काइदाको झ्वाँक देखाउँदै “तिमी बढी कुरा नगर बुढा” भनेर हकारिन् । यसपटक त म पनि झसङ्ग भएँ । मालिक्नीलाई एउटै सपनाले सताइरहेको थियो । त्यही क्या त मैले रेप गर्न खोजेको । बुढियाले “मेरो उद्देश्य अटल छ । लक्ष्य एउटै छ” भन्दै मतिर औँला ठडाइन् र “हेर् गङ्गे, तँलाई त यो घरमा एक राख्दिनँ । दुई राख्दिनँ….। ज्यान जाला राख्दिनँ” पनि भनिन् ।

मलाई मेरो मालिकको आड र भरोसा थियो । अतः मालिक्नीलाई चिढ्याउने सुरले बेसरी हाँसिदिएँ । मेरो मालिकलाई पत्नीको चाला देखेर एकदमै रिस उठेछ र मलाई अङ्कमाल गर्दै “गङ्गाराम, हिँड् बजार जाऊँ । ‘वासिङ मेसिन’ आजै किनिदिन्छु” भनेर माया देखाए । मचाहिँ मेरी मालिक्नीको अनुहारमा हेरिरहेको थिएँ ।

लेखक परिचय
स‘थ
सागर ‘मणि’ थापा
प्रतिक्रिया
Loading...