सबैका प्रिय गोरे दाइ । चार वर्षका बच्चादेखि असी वर्षका वृद्धसम्म सबैका गोरे दाइ । घटवारे गोरे दाइ । घट्टमा आउने सबैको गोरे दाइ । गोरे दाइ नाम नभएर हृदयको सम्बोधन थियो । कसले चिन्दैन गोरे दाइलाई ? भोजपुर, दिक्तेल, रुम्जाटार लगायत पूर्वतिरबाट आउने बटुवारेदेखि मलौटा व्यापार गर्ने सबै रोसी खोला भएर हिँड्ने सबैका प्यारो नाउँ थियो गोरे दाइ । हामी बच्चाहरू त गोरे दाइ पनि भन्न नजानेर गोर्दाइ पो भन्थ्यौँ ।

साँच्चै प्रकृति र त्यस भेकको यात्रा सबैले घम्लङ्ग अँगालो हालेको छ गोरे दाइलाई । धन भएर होइन, मन भएर चिन्दा रहेछन् मानिसलाई ।

गोरे दाइले घट्ट मात्र चलाएनन् । त्यस भेकको जीवन नै चलाइदिए । घट्ट आउन नसक्नेका घर-घर गएर मकै, गहुँ ल्याएर पिँधेर लैजाने पनि गरे । रोसी खोला तर्न नसक्ने बालबालिका, बटुवा, घाँसपात, मेलापात गर्ने महिलालाई निःशुल्क खोला तारिदिएर सेवा पनि गरे । छेका हानेर माछा फसाए, माछा पोलेर घट्ट आउनेको रोटीको सितन बनाए ।

घट्ट त जोर घट्ट पनि छ । झोलङ्गेको हर्क दाइको पनि छ, झ्यामुन्ने दहको पनि छ । गोरे दाइको घट्ट विशेष छ । सबैको प्राथमिकता गोरे दाइको घट्ट हो ।

घटवारे बन्नु पेसा थियो कि धर्म । गर्न त गोरे दाइले पेसा नै गरेका थिए, तर पछि पेसा कम सेवा बढी हुन गयो । खोला तार्न त उनी माहिर छँदै थिए, गोठालाहरूसँग, घट्ट आउनेहरूसँग बाघचाल खेल्न पनि त्यत्तिकै माहिर । बाख्राले नै बाघ थुनिदिने । सितिमिती नहाँस्ने गोरे दाइ बाजीमा बाघचाल जितेपछि भने दिल खोलेर हाँस्थे ।

घट्टले पिस्ने काम गर्थ्यो, गोरे दाइका हात नाम्लो, दाम्लो, माछा मार्ने जाल बुन्न व्यस्त हुन्थे । पानी खेलेर पातलिएका औँलाभरि नाम्लो बुन्ने सियोले घोचेर, कुलो थुन्दा ढुङ्गाले किचेर, गँगटाले टोकेर दागैदाग थिए । मानिस कर्मले पनि धर्म गर्छन्, कर्मले नै सेवा गर्छन् भन्ने उदाहरण थिए गोरे दाइ । परिश्रमका पुजारी । काम नगरी बसेको कहिल्यै देखिएन ।

असार-साउनमा उर्लिएको रोसीले पनि गोरे दाइलाई बगाएन । पौडी खेल्न पनि त्यति जान्ने होइनन् तर उर्लिएको मुल्का कसरी काट्नुपर्छ भन्ने कला जानेका थिए गोरे दाइले ।

गोपी मैनाली

त्यो जीर्ण शरीरले अदम्य साहसले घट्ट चलाउँथ्यो । पिठ्यूमा ढाकर बोक्थ्यो । खोलाको बाढीले भत्काइदिएको कुलोको बाँध थुन्थ्यो, भारी बोक्थ्यो, दाउरा चिर्थ्यो, रुख चढेर डाले घाँस काट्थ्यो । सिँढी कुदेर बाटो बन्थ्यो । बाटाको डिलका केत्तुकेका लाफ्रा पनि गोरे दाइको हातले पाट बन्थ्यो, नाम्लोदाम्लो बन्थ्यो । बगरका ढुङ्गा छिनोले ठुँगेर घट्ट, जाँतो, सिलौटो, रोटी पकाउने ढुङ्गो बन्थ्यो । घाम डाँडा लागेपछि ढडिया थापेर माछा समाउने, जाल हान्न पनि उत्तिकै पोख्त ।

यति धेरै कुरा गोरे दाइलाई कसले सिकायो होला ?

त्यो परिश्रमी झन्डै वृद्ध मानिस रोसी खोलाको भानिज पर्थ्यो रे १ मामाले भन्जालाई मायाँ गरेर दक्षिणा दिन्छन् । रोसी खोलाले पनि गोरे दाइलाई सधैँ मायाँ गर्‍यो । खोलाको किनारमा रहेको घट्टलाई खोलाको भेलले कहिल्यै भत्काएन । पहराको खोचमा रहेको घट्ट कहिल्यै पहिरोले पुरिएन । टिक टिक कुरु ….र्र को घट्टको आवाजमा रोसी खोला सुसाएको स्वावा…आ सँग रमाएका गोरे दाइ १ के रमाए भन्नु, प्रकृति चाहिँ गोरे दाइसँग रमाएको थियो । प्रकृति पनि परिश्रमीसँग रमाउने त हो नि !

परिश्रमीहरू प्रकृतिमा सानो सृष्टि गर्छन् । हराभार बनाउँछन् । गोरे दाइले पनि प्रकृतिको पूजा गरेका छन् पसिनाले ।

गोरे दाइ घाम नअस्ताउँदै हाम्रो घरमा आएर भने, “बुहारी, तिम्ले दिएको खीर खाएर आज पृथ्वीनारायण भए ।” बिहान घट्ट जाने समयमा गोरे दाइलाई आमाले खीर खान दिनुभएको रहेछ । साउन पन्ध्रमा गाउमा खीर खाने चलन, मिठो बाँडेर खाने गाउको चलन । पृथ्वीनारायणलाई खीरको सगुन भएजस्तै गोरे दाइलाई पनि घट्टमा आक्रमण गर्नेलाई परास्त गर्न सगुन भएछ । सितिमिति नरिसाउने गोरे दाइ आज भने निकै रिसाएर आइलाग्ने माथि जाइलागेछन् । रिस नउठ्नेलाई लाटो रिस उठ्छ ।

इतिहासलाई श्रुतिमा टिपेका छन् गोरे दाइले । राम शाहको न्याय, मल्लराजाहरूको प्रजाप्रेम, पृथ्वी नारायाणको पराक्रम, बिसे नगर्चीको कथा सुनाउँथे गोरे दाइ । टौ दहको नाग रिसाएपछि रोसी खोला बाढी आउँछ भन्थे । हामीहरू ठाडो कान लाएर सुन्थ्यौँ । खोइ के भनेका होलान् गोरे दाइले !

गोरे दाइ आज पनि झिसमिसेमा नै घट्ट गए । रघुचौर, कामी डाँडा, थिङ्टोल, चिप्ले, खार्पाचोकदेखिका घट्ट आउनेको भिड छ । हिजो रातदेखि घट्ट चलेको चल्यै छ । दस पाथीको दुई कुरुवा पिठा ज्याला उठाउँदा पनि चारपाथीजति मकैको र एक पाथीजति गहुको पिठो लिएर गोरे दाइ साँझ फर्के । सिस्नाको फाँडोसँग दुई गाँस ढिँडो टिपेर फेरि घट्ट फर्के ।

रोसी खोला किनारका कुलोहरूमा भेटिने जलुको र सिस्नोसँग ढिँडो देख्दै स्वादिलो गरी खान्छन् गोरे दाइ ।

कति खुसी छन् गोरे दाइ । घट्ट चल्दा पनि खुसी, खोलो बाढी आउँदा पनि खुसी, मकै पाक्दा पनि खुसी, जालभरि ढडियामा माछा पर्दा पनि खुसी । मानिसलाई कामले खुसी बनाउँदो रहेछ ।

सधैँ खोलासँगै खेल्ने गोरे दाइ दाह्री काट्दैनन्, कपडा पनि धुँदैनन् । दाँतमा कहिलेकाहीँ सजिवन र बैँसको घोचो दल्छन्, त्यति माझ्दैनन् । कालो वेस्टकोटमा टल्किएको मयल परैबाट देखिन्छ । निधारका चाउरी धाँजामा पसिना र पिठोको धुलो बेस्सरी टाँसिएको छ । पटपटी फुटेका पैतालामा हिलो माटो खाँदिएको छ । नभ्याएर होइन, नगरेर मयल टल्किएको हो । पसिनाको हस्को परै आउँछ  । गाउँका बुढापाका त्यसलाई “गोरे दाइ गन्ध” भनेर जिस्क्याउँथे । उनलाई त्यही मन पर्दो हो । आफ्नो त आफूलाई जे पनि मन पर्ने !

ठुली आमा, अर्थात् गोरे दाइ कि अर्धाङ्गिनी । सबै कि ठुला आमा । “आँ नानी छुट्टी” भनेर मच्चिई मच्चिई गफ गर्छिन् । गफको थेगो र शैली पनि “आँ नानी छुट्टी” बाट सुरु हुन्छ । बोलीमा तामाङ लबज पनि छैन । हामी बच्चाहरू ठुली आमाको वरिपरि कुखुराको चल्लाझैँ झुम्मिन्छौँ । “ला नानी खा” भन्दै गुलियो पनि नहालेको, सिमल र दारको बोक्राको दाउन हालेको सेल रोटी भाँचेर दिने गर्छिन् । फापरको नुनिलो सुक्खा रोटी, जुनेलोको भोल्टा, भुटेको बदाम, भटमास, केही न केही दिन्छिन् । दिएर खानुपर्छ भन्ने आदर्श छ ठुली आमासँग । हामी सबैकी ठुली आमा । हाम्री आमालाई पनि खुबै मायाँ गर्छिन् । आमा कि एक मात्र दुःखकी साथी ठुली आमा !

तामाको झ्याँगामा कटकटिएको ढिँडोको माम्री पनि कति मिठो ! पाखण्डको गर्मीमा त्यही माम्री खाएर कति दिन म अघाएको थिएँ । आमाहरू बाँडेर खान खुबै सिपालु हुन्छन् । लाग्छ, आमाहरूलाई भोक लाग्दैन । होइन, अरूलाई खाना दिँदा आमाहरू अघाउने गर्छन् ।

गोरे दाइजस्तै ठुली आमा पनि कहिल्यै बिरारी परेकी थिइनन् । यसपालि भने निकै गलेकी छन् ।

आमालाई भन्दै थिइन् “यसपालि त रोसी खोलाले तान्छ कि क्या बैनी । तिम्रो गोरे दाइलाई घट्ट भए पुगिहाल्छ ।”

आमा गहभरि आँसु झारेर सम्झाउन थाल्नुभो “दिदी केही हुन्न । हामी केटी मानिस, बच्चा पाउनुपर्‍यो, घर पनि धान्नुपर्‍यो । दुःख निक्लिएको हो दिदी । औषधि गर्नुपर्छ । केही हुन्न ।”

“आँ बैनी, सीमेभूमे लागेको छ रे । स्यार्पा लामाले पनि फुके । लाउरेको झाँक्रीले कालो भाले काटेर मन्छेको छ ।”

गोरे दाइको संसार ठुली आमाले धानेकी छन् । घट्ट चलाउनेले घर चलाउन कहाँ जानेका हुन्छन् र ? तिरानधरान, ऐँचोपैँचो सबै ठुली आमाको भरमा ।

सँच्चै लच्छिनकी छन् रे ठुली आमा । खान नपुग्ने गोरे दाइको पाँच छ हलको बारी, खर पाखो, खयर घारी, कुखुराबाख्राका बथान सबै ठुली आमाको व्यवस्थापन । निरफटाइमा घट्ट जाने, उस्तै परे घट्टमै बुदुने माछा, नुनखुर्सानी र सुक्खा रोटी खाएर रम्ने गोरे दाइलाई घरको कुरा के थाहा ? छोराबुहारी पनि अह्राएको बाहेक केही जान्दैनन् ।

“आँ बैनी, ईश्वरको आँखा नपरोस् भनेको । राम्रै थियो । यसपालि त सपना पनि बिग्रिएको छ । भैँसीले लखेट्दै रोसीतिर लान्छ, कहिले राक्षसले कोपर्छ । पहराबाट रोसीतिर लडाइदिन्छ । रात परेपछि डर मात्र लाग्छ । मनले पनि हरेस खायो ।”

“केही हुन्न दिदी । मुटु दह्रो गर्नुपर्छ ।” मनोबल उकास्न होला आमा सम्झाइरहनुहुन्छ ।

गोरे दाइ गहभरि आँसु टिलपिलाएर दलानमा उभिए “दिदी गयो भने म पनि जान्छ होला बुहारी । अल्लारे छोरा बुहारीले के गर्ला ? हामी गए सम्झाइदेऊ ।”

गोरे दाइ आमालाई बुहारी भन्ने गर्छन् ।

“केही हुन्न गोरे दाइ । धामी झाँक्री होइन । डाक्टर, कम्पाउन्डर बोलाउनुपर्छ कि । ढिलो गर्नु भएन ।”

“खोइ बुहारी कसलाई पो बोलाऊँ । बोकेर धुलिखेल लान पनि सक्दैन । कम्पाउन्डर रुद्रबहादुर पनि मधेसतिर छ रे ।”

बिचरा गोरे दाइ निराश छन् । घट्टमा बाघचाल पनि खेल्न छाडे । छिटोछिटै घर आएर ठुली आमाको सिरानमा बस्न थाले ।

न गोरे दाइ न ठुली आमा कहिल्यै बिमारी परेको थाहा थिएन । ठुली आमा बिछ्यौना पर्दा आमाले पनि हरेस खानुभएको छ ।

वेला-वेलामा आमाले लगिदिएको जाउलो, नुन पानी, गोरे दाइले बनाएको सिस्नोको लेदो पनि निल्न नसक्ने भइन् ठुली आमा । घाम उकालो लागेपछि रोगले च्याप्दै लान्छ । आजबाट भोलि, भोलिबाट पर्सि ठुली आमा शिथिल बन्दै छिन् ।

केही भन्न खोजेझैँ आँखामात्र टुलुल्ल छन् । बोलिरहेको पनि केही दिन भयो । हामी बच्चाहरूलाई पनि ठुली आमा हेर्न सकिनन् ।

उज्यालो नहुँदै गोरे दाइको घरमा मानिसको भिड छ । गाउँ नै थर्काउने गरी कुकुरहरू भुकिरहेका छन् । चिप्ले, अम्बले, थिङ, ल्घान टोलका मानिसहरू जम्मा भएका छन् । ठुली आमाको आत्मा संसार छाडेर गइसकेछ । गोरे दाइ ठुली आमाको सिरानतिर टोलाएर आँसु झार्दै छन् । लामाहरू सोल्मा बाट्न र गाउँलेहरू रथ बाँध्दै छन् ।

आकाश निकै कञ्चन छ । गोरे दाइको घट्टमुनि ठुली आमा केही घण्टामै धुवाँमा परिणत भइन् । आज घट्ट पनि सुनसान छ । खोला पनि निदाएजस्तो चकमन्न छ ।

ठुली आमा बितेपछि गोरे दाइ सधैँ झोक्राएर ठुली आमा जलाएको ठाउँतिर हेरेर दिन काट्न थाले । बाघचाल पनि खेल्न छाडे । घट्टको ज्याला पनि उठाउन छाडे ।

गोरे दाइले खान पनि छाडेछन् । घट्ट आउनेको लर्को पनि घट्दै गयो । बाख्राकुखुराहरू पनि बिस्तारै मासिँदै गए । रोसी खोला पनि उराठिलो भावमा सुसाउन थाल्यो ।

घुँडामाथि टाउको राखेर झोक्राँउदा झोक्राउँदै गरे दाइ पुक्लुक्क गएछन् । खोलाले घट्ट पनि बगायो । घट्टमाथिको समीको चौतारो पनि आधा सुकेर मर्दै छ । अब त रोसीखोला पनि बगर मात्र बाँकी छ ।