“ईश्वरी ! ए ईश्वरी !” बोलाउँदै थिए राजन् आफ्नी पत्नीलाई । टिभीको आवाजले होला राजन्को बोलावट उनको ध्यानमा परेकै थिएन । राजन्ले पुनःप्रयास गरे तर पनि कुनै प्रतिक्रिया पाएनन् उनले । राजन् बोलाउँदाबोलाउँदै थाकिसकेका थिए । उनी सरासर ईश्वरी बसेको कोठामा गए अनि टिभी बन्द गरिदिए उनले । राजन्को व्यवहार देखेर अचम्मित भइन् ईश्वरी । उनले प्रश्न गर्नुअगावै राजन्ले आक्रोश व्यक्त गरिहाले, “कति चर्को आवाज गरेकी बोलाएको पनि नसुन्ने गरी ?”
“भैगो, भैगो एकछिन टिभी हेरूँ भनेको त्यो पनि पाइनँ मैले ।” उल्टै झर्किइन् ईश्वरी ।
“तिमीलाई सानो आवाज पो पार भनेको त लाटी” उनी सम्झाउँदै थिए आफ्नी पत्नीलाई । ईश्वरी केही नबोली तल भान्सा कोठातिर झरिन् । करुवाको पानी गिलाँसमा सारेर राजन्को टेबलमा राखिदिइन् उनले । माथि कोठाबाट नै आफूलाई भोक लागेको सङ्केत दिए राजन्ले । तुरुन्तै राजन्को भोक मेटाउन उनले दूध, चिया र पकौडा तयार पारिदिइन् ।
“आज चटनी बनाइनौ तिमीले ?” चियाको चुस्कीसँगै प्रश्न गरे उनले ।
“आज धनियाँ नै सकिएको रहेछ, भोलि बनाम्ला नि !” राजन्को प्रश्नको जबाफ दिइन् ईश्वरीले । चटनीविना नै पकौडा खाए राजन्ले । टेबुलमा राखिएको ल्यापटप आफूतिर ताने अनि कल गर्न खोजे उनले तर किन हो कुन्नि कल नै रिसिभ भएन ।
“नानीलाई गर्नुभएको हो, हजुरले ?” उत्सुकता पोखिन् ईश्वरीले । “व्यस्तताको कारणले गर्दा होला फोन नै लागेन शान्ताको”,निराशा पोखे राजन्ले ।
“खै, लेऊ म पनि केलाउँछु” सिमी केलाउँदै गरेकी ईश्वरीलाई सहयोगको हात बढाउँदै भने उनले । राजन् पुरुष भए तापनि खाना बनाउन निकै रुचि राख्थे । ईश्वरी र राजन् सँगै बसेर सिमी केलाउन थाले । तरकारीको जोहो भएपछि ईश्वरीले खुसी व्यक्त गर्दै उनलाई केही बेर आराम गर्न सल्लाह दिइन् ।
“हस्, हजुरको जो मर्जी” उनले मुस्कुराउँदै पत्नीको आज्ञा शिरोपर गरे । भऱ्याङ उक्लिँदै गर्दा राजन्को फोनमा कसैको म्यासेज आएको सङ्केत आयो । हत्तपत्त खल्तीबाट फोन झिक्दै नजर दौडाए उनले । कुनै अपरिचित नम्बरबाट म्यासेज आएको रहेछ उनको फोनमा । अचम्म मान्दै म्यासेज पढिरहेका राजन्को शरीर लुगलुग काम्न थाल्यो, धर्ती भासिएझैँ भयो, बिस्तारै अक्षर धमिलो देख्न थाले र उनका आँखा तिरमिराउन थाले । कसो-कसो रेलिङ समयमै समाउन भ्याएछन् उनले । रेलिङ नसमाएको भए त धन्नै उनको ढाड भाँच्चिने ।
अचानक उनको ध्यान ईश्वरीमा केन्द्रित भयो । ईश्वरीले देखिनछन् क्यार नत्र त सोधिसक्नुपर्ने ? उनले यताउति नजर डुलाए । ईश्वरी आफ्नै काममा व्यस्त थिइन् । आफूलाई चोटपटक नलागेको भन्दा पनि ईश्वरीले नदेखेकोमा सन्तोषको सास फेरे राजन्ले, अचेत अवस्थामा नै जसोतसो कोठामा पुगेर बिस्तारै ढोका जोडे । असह्य पीडाले मर्माहत भएका राजन्लाई सत्य पत्याउन निकै गाह्रो पऱ्यो । “कतै यो मजाक त होइन ?” उनी मन सम्हाल्ने कोसिस गर्दै थिए तर यो मजाक गर्ने विषय के हुन्थ्यो त ! एक्कासि उनको नजर टेबलमा सजाइएको शान्ताको तस्बिरमाथि पऱ्यो । तस्बिर हातमा लिँदै अतीत सम्झिए उनले । शान्ता १० वर्षकी हुँदाको तस्बिर थियो त्यो, विद्यालयमा आयोजित नृत्य प्रतियोगितामा भाग लिँदै गर्दा खिचेका थिए राजन्ले । त्यो क्षण केही अगाडिको हो जस्तै महसुस हुँदै थियो उनलाई । अनि अनायासमै हत्केलीमा झरेको आँसुको स्पर्शले हकिकत स्मरण भयो राजन्लाई ।
शान्ता पहिलो सन्तान थिइन् राजन् र ईश्वरीकी । उनी करिब ३ वर्षकी हुँदा ईश्वरी दुर्घटनामा परेकी थिइन् । उपचारका लागि उनलाई तुरुन्तै अस्पताल लगियो तर उपचारका क्रममा ईश्वरीले आफ्नो मातृत्व गुमाउन पुगिन् । एक नारीका निम्ति निकै हृदयविदारक खबर थियो त्यो । केही पल खल्लो भए पनि शान्ताको हाँसोले बिस्तारै मलम लगाउँदै थियो उनको घाउमा । अतः शान्ता नै उनीहरूको पहिलो र अन्तिम सन्तान बनिन् । चुलबुले स्वभावकी शान्ता मिजासिली त थिइन् नै उनी पढाइमा पनि अब्बल थिइन् । टेबलटेनिस र व्याडमिन्टन जस्ता खेल उनका रोजाइ थिए । कक्षा १२ को नतिजा प्रकाशनसँगै उनलाई उज्ज्वल भविष्यको चाहले सताउन थाल्यो । अनि उनमा पनि आम युवायुवतीझैँ परदेशको मोह उर्लिएर आयो । स्वदेशको बेरोजगार र अनियमितताले दिक्क बनेकी शान्तालाई विदेशको स्तरीय र व्यावहारिक शिक्षाले आकर्षण गर्ने नै भयो । साथीभाइ र घरपरिवारको सल्लाहमा IELTS को परिक्षा दिइन् उनले अनि प्रारम्भ भयो अस्ट्रेलियाको तयारी । मन गह्रौँ बनाएर भए पनि छोरीको विदेश गएर उच्च शिक्षा हासिल गर्ने इच्छा पूरा गर्न तम्तयार भए राजन् र ईश्वरी ।
६ वर्षभन्दा बढी समय बितिसकेको थियो शान्ताले आमाको काख छोडेको । उच्चशिक्षाको प्राप्ति पछि आफ्नो सिप र विद्या प्रयोग गरी स्वदेशमै केही गर्ने योजना बनाएकी थिइन् उनले अन्य साथीहरूसँग मिलेर । केही हदसम्म उनीहरूले पढेको विश्वविद्यालयले पनि सहयोग गर्ने भएको थियो उनीहरूको प्रयासमा । उता छोरीको उमेर पुगिसकेकाले विवाहको सोच बनाएका थिए उनका मातापिताले । अचानक छोरीको दुर्घटनाका कारण मृत्यु भएको खबरले मर्माहत भए उनीहरू; अकल्पनीय घटनाले आहत भए; असह्य पीडा; व्यथा र वेदनाले आक्रान्त बन्न पुगे । उनीहरूको आशाको त्यान्द्रो चुँडियो, बुढेसकालको सहारा खोसियो । दैवको यो लीला उनीहरूका निम्ति उजाड र उदास बनाउने माध्यम बन्यो । उनीहरू रोए, कराए, अश्रुधारा बगाए तर त्यो चीत्कार शून्यमा परिणत भयो । नियतिसँग सम्झौता गर्नुबाहेक अरू के नै बाँकी थियो र उनीहरूसँग…
शान्ताले पढाई सँगसँगै आफ्नो नियमित खर्चका लागि एउटा रेस्टुरेन्टमा काम गर्दै थिइन् । सानो ठाउँमा खोलिएको उक्त रेस्टुरेन्ट प्रविधि र सावधानीमा निकै पछि थियो । तापनि उनी त्यहाँ काम गर्न बाध्य थिइन् ।
कारण बाबुआमाको कमाइमा भर पर्न चाहन्न थिइन् उनी । अनि भोको पेट र खाली खोल्ती उनको दैनिकी बन्न सक्दैनथ्यो । ज्यान जोखिमको खतरा भए पनि शान्ताले कामलाई निरन्तरता दिइन् । उनमा बाबुआमासँग आफूले मोलेको जोखिमका बारेमा जानकारी गराउने हिम्मत थिएन । राजन् र ईश्वरी शान्ताको दैनिकीप्रति अनभिज्ञ थिए । रेस्टुरेन्टमा भएको अचानक आगोलागीमा परेर उनी र अरू केही कर्मचारी पनि घाइते भएछन् । थप उपचारका लागि अस्पताल लैजाने क्रममा शान्ताले बाटामै मृत्युवरण गर्न पुगिछन् । आगाका लप्काले पोलेर उनको तन छिया-छिया भएको थियो रे । कति पीडा र जलनको सामना गरिहोलिन् उनले कल्पना गर्दा पनि आङ जिरिङ्ग हुन्छ ।
मन नमान्दानमान्दै पनि फगत छोरीको खुसीका लागि उनीहरूले शान्तालाई विदेश जाने अनुमति दिएका थिए । आफ्नी छोरीका लागि कति धेरै सपना बुनेका थिए उनीहरूले । लगभग आधाआधी छिनोफान भइसकेको थियो विवाहको पनि । अब कसरी अवगत गराऊन् राजन् ईश्वरीलाई यो तितो सत्य र कोख रित्तिएको तथ्यको । न लुकाउन सक्थे उनी न फुकाउन नै । आफैँ रुमलिँदै थिए उनी कसरी जुटाऊन् ईश्वरीलाई सम्हाल्ने सामर्थ्य । राजन्लाई अझै हेर्नु थियो शान्ताको मुस्कान; उसको प्रत्येक पाइलामा हौसला बन्नु थियो उनलाई; शान्तासँग अझै हार्नु थियो उनलाई टेनिसमा; अनि अझै गर्भ गर्नु थियो राजन्लाई आफ्नो सन्तानमाथि । बुढेसकालमा पनि शान्ताको जिद्दी पन सुन्नु थियो उनलाई । यो वियोग एक पिताका निम्ति केवल सन्तानको वियोग थिएन । शान्तासँगै रित्तिँदै थिए उनका हरेक सपनाहरू ।
टेबुलमा राखेको मगबाट पानी सारेर खाए उनले । पानी पनि गएन उनको घाँटीभन्दा तल । गिलाँसको पानी टेबुलमै राखेर लडबडाउँदै भऱ्याङ ओर्लिए उनी । बर्खे झरीझैँ रसाइरहेका थिए उनका नयन । आँसु पुछ्दै ईश्वरीतिर नजर डुलाए उनले । उनी आफ्नै धुनमा गीत गुनगुनाउँदै थिइन् । साहस बटुल्न नसेकेका राजन्लाई कुर्सीमा बस्न खोज्दै गरेको देखेर प्रश्न पोखिन् ईश्वरीले “हजुर तल झर्नुभयो ?” उत्तरमा केवल मुन्टो हल्लाए उनले । सुनसान भयो माहोल एकछिन ।
“अनि शान्ताले फोन गरि त ?” सन्नटालाई चिरिन् ईश्वरीले । अब के उत्तर दिऊन् उनी एक आमालाई । अन्योलमा परे उनी ।
“अँ, साँच्चै आज बिहान रमासँग मैले छोरीलाई भनेर मस्यौरा र गुन्द्रुक पठाइदिए नि । लड्डु भनेपछि हिरिक्कै हुन्थी त्यो चाहिँ पठाउनै पाइन ।” पोलेको घाउमा नुन थपेसरि असह्य बन्दै गएको थियो राजन्लाई यो प्रस्तुति । उनको उत्तर आँसुमा परिणत भयो । अघि थामेर राखेका भावहरू बाहिरिँदै थिए राजन्को हृदयबाट । सुँक्क-सुँक्क आवाज सुनेर ईश्वरी राजन्तर्फ फर्किइन् ।
“के भयो, हजुरलाई ?” दयालु भावमा बोलिन् उनी ।
“शान्ता- शान….” बिचमै अड्किए राजन् ।
“के भयो शान्तालाई ?” अतालिँदै प्रश्न गरिन् उनले । राजन्को मौनता देखेर उनी झन् अत्तालिइन् । शान्ता अब हामीबिच रहिन, ऊ भगवान्को प्यारो बनी । हामीलाई टुहोरो बनाएर ऊ कहिल्यै नफर्किने बाटो लागी शान्ता भन्दै अलापविलाप गर्न थाले राजन्ले । ईश्वरीको त झन् के हालत भयो होला तत्क्षण ? कल्पनामा मात्र पनि पीडाबोध हुन्छ ।
ईश्वरीका आँखाअगाडि सबै सिनेमाको चक्का घुमेझैँ घुमिरहे । प्रथमपटक शान्तालाई कोखमा लिँदा आएको आनन्द, उसले चालेको पहिलो पाइला, त्यो तोते बोली, शान्ताको पहिलो जित, उसको हाँसो रोदन सबै । अनि सम्झना आयो उनलाई आफ्नो अस्तित्व र कहिले आमा नबन्ने तथ्यको ।
नियतिसँग कसको के नै पो लाग्छ र ! परिस्थितिअनुसारको मनःस्थिति बनाएर अगाडि बढ्नुबाहेक अब उनीहरूसँग के नै पो बाँकी थियो र ? छ त केवल पीडा, वियोग र पश्चात्ताप । अब रोएर मात्र केही नहुने बुझेका उनले भारी मनका साथ ईश्वरीलाई सम्झाइबुझाइ गर्न थाले । आमाको मन न हो यति सजिलै कहाँ मान्थ्यो र ? तैपनि उनीसँग अरू कुनै विकल्प थिएन । बिस्तारै-बिस्तारै उनले मन कसिलो पार्दै गइन् । शान्ताको सपनासँगै उनीहरूका आशा पनि अस्ट्रेलियासँग नजानिँदो पारामा जोडिएका थिए । “कुनै दिन उज्यालाका किरणहरू पनि अन्धकारको साथी हुँदा रहेछन् । भ्रामक हुँदा रहेछन्” ईश्वरी बोलिन् ।
“जे हुनु छ, त्यो भएरै छाड्छ ईश्वरी” राजन्ले ईश्वरीको मन बुझाउँदै भने, “हाम्रो भाग्यमा यस्तै लेखिएको रहेछ ।”
आफ्नो सन्तानको अन्तिम श्वासमा साथ नरहे पनि राजन् र ईश्वरीले शान्ताको अन्तिम संस्कार विधिपूर्वक गर्ने निर्णय गरे । उनीभन्दा पहिले त शान्ताको इन्स्योरेन्स आइपुग्यो उनीहरूको नाममा । अनेकौँ प्रयासपछि लगभग एक महिनाको अन्तरालमा छोरीको लास नेपाल आइपुग्यो । त्यो एक महिना राजन् र ईश्वरीका निम्ति कति कष्टप्रद रह्यो भन्ने कुरा त भोग्नेलाई मात्र थाहा हुन्छ । आफ्नो मायाँको डोराको बाकसमा थुनिएर आएको छिया-छिया परेको लास कसरी हेरून् ती जन्मदाताले । तैपनि छोरीलाई अन्तिमपटक नियाले उनीहरूले । अब कहिल्यै नदेख्ने गरी । दागबत्ती दिनेलाई आफैँले बिदा गर्नुपर्ने भाग्य रहेछ राजन् र ईश्वरीको वा भनौँ आफ्नो भन्दा पहिले सन्तानको आँखा नखुल्ने गरी बन्द भएको देख्नुपर्ने दुर्भाग्य । धत् ! नियतिको खेल न रोक्न मिल्छ न छेक्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।