बत्ती झ्याप्प आउने र झ्याप्प जाने गरिरहेको थियो । तर उनको याद एकोहोरो आइरहेको थियो । साउन भदौको वर्षाजस्तो 

मेरो मनमा एक घमन्ड बाँकी नै थियो । त्यही भएर अनेक प्रश्न गरिरहेको थिए ।

मैले जति उनलाई मायाँ कसले गर्छुभन्यो हो ?

के ऊ छोड्न सक्ला र जनवरीको तातो बिस्तरा ?

के ऊ तताउँछ होला पानी र सेक्ला त उनको दुखिरहेको कम्मर सेक्न ?

के ऊ काट्ला र भान्सा छिरेर तरकारीमाझ्ला भाँडा ?

शुभाञ्जलि यो तिमीले के गऱ्यौ ?

आइरहेका थिए अनेक प्रश्न ।

म कोसँग गरिरहेको थिएँ यतिका प्रश्न ?

भनेर के गर्नु असोजको महिना हो भनेर । त्यही भन्न मुस्किल परिरहेको थियो । बाहिर एकोहोरो पानी परिरहेको थियो । वेला-वेला चट्याङ पर्थ्यो । धर्ती काँप्थो । दिउँसो नै रातजस्तो कालो न कालो थियो । त्यसैमाथि झम्मक रात परिसकेको थियो । अहँ कोठा जान मनै लागेन । भन्त गोपी दाइलाई भनेको थिएँ- “आज मासु होस् है खानामा ।”

उनले, “हुन्छ सर ।” पनि भनेकै हुन् । तैपनि खाना खाने मन छैन । खासमा मलाई उठ्ने मन नै छैन यस कुर्सीबाट यस टेबलबाट । त्यसैले म सोधिरहेको थिएँ, “मैले जति उनलाई मायाँ कसले गर्छु भन्यो हो के ऊ छोड्न सक्ला र जनवरीको तातो बिस्तरा के ऊ तताउँछ होला पानी अनि जान्छ होला र उनको दुखिरहेको कम्मर सेक्न ?

के ऊ काट्ला र भान्सा छिरेर तरकारीमाझ्ला भाँडा ? झ्याप्प बत्ती गयो ।

कोठामा कसैले पीडासहित कनिरहेको आवाज आयो । म र उनको यादबाहेक अरू को थियो र कोठामा मान्छे कनिरहेको आवाज त आइरहेको थियो तर यसैबिच पीडामिश्रित लामो सुस्केरा चुटेको आवाज आयो । म झसङ्ग भएँ । मैले सम्झेँ म एक पुरानो पोस्टमार्टम ब्यल्कमा बसिरहेको छु । मेरो मुटुको धड्कनसँगै कोही पीडाले कन्दै गरेको आवाज पनि बढ्दै गइरहेको थियो । कोठामा म र उनको यादबाहेक अर्को कोही थिएन । पीडामा म थिएँ । उनको यादको एकोहोरो हमलाले गर्दा । तर कोही अरू नै कन्दै थियो पीडामा ।

गोपी दाइले भनेकै थिए, “सर पुरानो पोस्टमार्टमको घर हो रे । डिउटी स्टसन यहाँ बनाउने र ?”

दाइ यहाँ जो-जो आएका थिए उनहरूले आफ्ना को-को थिए बिर्सिसकेयस घरलाई के सम्झी बसेका होलान् र ?”

मेरै जिद्दीले बनाएको थिए पोस्टमार्टमलाई, “डिउटी स्टेसन ।”

एमपी केयरलेस

जिल्ला अस्पताल बनाउने जिम्मा हाम्रो कम्पनीले पाएको थियो । म यस साइटमा लेखापाल बनेर आएको थिए । मैले साइटमा आउनेप्रयोग हुने सबै सामनको हिसाबकिताब राख्नुपर्थ्यो । गोपी दाइको जिम्मा लेबरहरूलाई एकचोटि पनि बस्न नदीने भन्ने थियो । त्यसैले गोपी दाइ र म काम भइरहेको वेला काममा बसिरहनुपर्थ्यो । पहिलो दिन नै गोपी दाइले भनेका थिए, “सर यो पुरानो पोस्टमार्टम गर्ने घर हो, यहाँ डिउटी अफिस नबनाऊ यसलाई भत्काइदिऔँ भनिरहेका थिए तर मेरो जिद्दीका अघि उनको केही सिप लागेन ।

त्यस घरमा दुईओटा कोठा थिए । मूलढोकाबाट भित्र छिरेपछि पहिलो कोठा आउँथ्यो । पहिलो कोठाबाटै दोह्रो कोठामा जानुपर्थ्यो । दोह्रो कोठामा भित्ताभरि टाटा थिए । सायद रगतका होलान् । मेरो जिद्दीले गर्दा गोपी दाइ पनि राजी भए त्यस पुरानो पोस्टमार्टमलाई डिउटी स्टेसन बनाउन । लेबर लगाएर धोइपखाली गरे कार्पेट, टेबल, कुर्सी लगेर राखे । बल्ल तयार भएको थियो हाम्रो साइट ।

पोस्टमार्टममा एक्लै बसेको छु । यस्तो दिनमा त भूत दिउँसो नै हिँड्छन् होला । बाहिर पूरै कालो छ । एकोहोरो पानी परिरहेको छ । मान्छे पीडाले कनिरहेको आवाज बढिरहेको छ । मनमा अनौठो डर पस्यो । यत्तिकैमा आवाज आयो, “ऐया मेरी आमा ।” त्यो आवाज आइमाईको थियो ।

झ्याम्प बत्ती आयो । मेरा आँखा ठिक मेरो अगाडिको भित्तामा गए । जुन भित्तामा केही राता धब्बाहरू अझै बाँकी थिए । धेरैपल्ट साबुनपानीले सफा गर्दा पनि ती धब्बा मेटिएका थिएनन् । मैले र गोपी दाइले अनुमान गरेका थियौँ । ती धब्बाहरू रगतका हुन् । तर एउटै मान्छेको रगतका होइनन् । हो त्यही भित्ता बिच भागमा जमिनमा खुट्टामा पसारेर एक आइमाई अढेस लागेकी थिई । उसले खरानी रङ्गको गाउन लगाएकी थिई जुन लुगा अप्रेसन गर्नुअगाडि बिरामीहरूले लाउने गर्छन् हो त्यस्तै कपडामा ऊ बसेकी थिई । उसका कपाल असरल्ल परेका थिए तर केही कपाल अनुहारमा लतपतिएका थिए । उसको अनुहारभरि पसिनाका दाना थिए । बत्तीको मधुरो उज्यालामा पसिनाका दाना आफैँमा डरलाग्दो सङ्केत गर्थे । डरले होला सायद मेरो जिउमा पसिनाका मूलका फुट्यो । उसको अनुहार गोरो र गोलो गोलो भन्न मिल्ने थियो । उसलाई बिछट्टै राम्री पनि भन्न मिल्ने त होइन तर नराम्री पनि भन्न मिल्ने थिएन । उसको पेट भुक्क उठेको थियो तर ऊ यहाँभित्र आई कसरी ! मैले ढोकातिर हेरेँ ढोका बन्द थियो । झ्यालतिर हेरेँ झ्याल बन्द नै थिए । ऊ आई कहाँबाट लाइट गयो थियो अँध्यारो थियो । ढोका खुलेको आवाज पनि आएको थिएन तर ऊ भित्र कसरी आई ।

ऊ पीडाले छटपटाइरहेकी थिई । त्यही भएर ऊ एकोहोरो कनिरहेकी थिई ।

वेला-वेला लामो सुस्केरा हालिरहेकी थिई । उसको पेट हेर्दा थाहा हुन्थ्यो उसलाई बच्चा जन्माउने व्यथा लागेको भन्ने  मैले उसको खुट्टातिर हेरे उसका खुट्टातिर हेरेँ । मेरो सात्तो उड्यो उसका खुट्टा उल्टा थिए । ऊ चुडेल थिई । गर्भवती चुडेल । ऊ आजसम्म मैले सुन्दै आएकी किचकिन्नी कथाकी किचकिन्नीजस्ती थिई । राम्रीपातली र सुन्दर थिई ऊ । मात्र उसका खुट्टा उल्टा थिए ।

ऊ छटपटाइरहेकी थिई । एकछिन भित्तामा अडेस लाग्थी । फेरि अलिकति घोप्टो पर्न खोज्थी र एकोहोरो कनिरहेकी थिई, “ उम उम उम । फेरि लामो सुस्केरा, “सुइय…. ।”

उसले हातले भुईँमा धक्का दिएझैँ गर्दै भनी, “पानी ।”

चुडेल्नीको त्यो हालत देखेपछि जुनसुकै मान्छे भन्न सक्थ्यो ठिक्कै भो चुडेल तँलाई भनेर तर खै किन-किन मलाई दया पलाएर आयो । दिउँसो गोपी दाइले ल्याइदिएको पानीको बोतल मेरो अगाडि नै थियो । मैले त्यही बोतल लिएर उसको छेउमा राखिदिएँ । उसको हातमा पानीको बोतल दिने हिम्मत ममा थिएन ।

कुर्सीमा बसेपछि मैले उसको अनुहार एकपल्ट राम्रोसँग नियालेँ, उसको अनुहार सेतो फुस्रो छ । आँखामा पानी छैन सुक्खा । उसको शरीरमा तागत नै थिएन आफ्नो पेटभित्रको बच्चालाई बाहिर फाल्ने । उसले आफूछेउको पानीको बोतल एकदम अप्ठ्यारो गरी समाती । अनि बडो बेढङ्गले पानीको बोतलको बिर्को खोली । बिर्कोलाई पर भुईँमा फ्यालिदिई । अनि पानीको बोतलको मुख आफ्ना सुकेका ओठमा लगेर राखी । उसले पानीको बोतल एकै घुट्कामा रित्याइदिई । बोतल जमिनमा राख्दै भनी, ऐया मेरी आमा !”

उसले पूरै थाकेझैँ गरी टाउको लिएर भित्तामा अडेस लागी र सिलिङतिर क्वारक्वारती हेर्न थाली । यत्तिकैमा मैले सोधेँ, “तपाईँ भित्र कसरी आउनुभयो ।”

ऊ सिलिङतिर नै हेरिरहेकी थिई र पीडामिश्रित आवाजमा भनी, “म भित्र आएको होइन तपाईँ भित्र आउनुभएको हो । म त यहीँ थिएँ ।”

उसका कुरा सुनेर म वाल्ल परेँ । के बोलिरहेकी छ ऊ म दिउँसोदेखि बाहिर गएकै छैन । गोपी दाइ निस्किएपछि गएर चुकुल लगाएको थिएँ र एकोहोरो उसका यादसँग वार्ता गरिरहेको थिएँ । कसरी सकी होली मलाई बिर्सिन मलाई लाग्यो चुडेल झुटो बोलिरहेकी थिई । त्यसैले मैले भनेँ, “झुटो नबोल्नुस् ?”

उसले लामो सुस्केरा छोडेर भनी, “मेरा खुट्टा हेर्नू त । सुन्निएछन् !” मैले अघि नै देखिसकेको थिएँ उसका खुट्टा । ऊ चुडेल हो । मलाई थाहा भइसकेको छ । तैपनि मैले उसको खोट्टातिर आँखा के बढाएको थिएँ । लाइन झ्याप्प गयो । लौ लाइन गयो । ऊ निस्पस्ट अँध्यारामा हराएकी थिई तर उसका आँखा बलिरहेका थिए । आजसम्म त्यस्ता आँखा मैले देखेकै थिइनँ । बिरालाका आँखाजस्ता चुडेलका आँखा ।

मभित्र डरको भुमरी उठ्यो । मलाई लाग्यो म त्यो कोठाबाट निस्किनुपर्छ । चुडेलसँगको भेट राम्रो होइन । यो आज आएर कसैले भनिरहनु पर्थेन । बच्चा हुँदा मैले चुडेलसँग भेट भएर मरेका धेरै मान्छेको कहानी सुनिसकेको थिए  उसले चाल नै नपाउने गरी बिस्तारै कुर्सीबाटउठेँ म 

झ्याप्प बत्ती आयो । ऊ अघि जसरी बसिरहेकी थिई, ठिक त्यसरी नै बसेकी थिई तर म उठेको थिएँ । मेरा आँखा उसका खुट्टामा गए । मैले फेरि पनि देखेँ उसका खुट्टा उल्टा नै छन् पैतला उल्टो नै फर्किएका छन् । ऊ लाइन जानुपहिले जसरी नै भित्तामा अडेस लागेकी छे तर आँखा चिम्लेकी छ । मैले बिस्तारै पैतला सारेँ । मेरा पैतलाले जमिन छोडेका थिएनन् । मैले मनमनै जप्न थालेँ आफूले थाहा पाएका श्लोक । उच्चारण गर्न थालेँ मेरा ईश्वरहरूको नाम । पीडाले गर्दा होला ऊ एकोहोरो कनिरहेकी थिई । ऊ लामो-लामो सुस्केरा चुटिरहेकी थिई । मेरो सिङ्गो शरीर काँपिरहेको थियो । उसका आँखा बन्द नै थिए ।

उसको मुखबाट आवाज निस्कियो, “मेरी आमा म मरेँ पनि सुख पाउने थिएँ ।” म आफ्ना पैताला सारेर ढोकाछेउ पुगिसकेको थिएँ । ढोका खोल्नका लागि चुकुलमा हात मात्र के पुऱ्याएको थिएँ । उसको स्पष्ट पीडारहित आवाज मेरो कानमा पऱ्यो । सर मेरो कुरा सुनिदिनुस् म तपाईँलाई केही गर्दिनँ । मैले मेरा कुरा कसैलाई सुनाउन नपाउँदा आजसम्म म यसै घरमा अल्झी बसेकी छु ।”

म के भनूँ मसँग केही उत्तर नै थिएन । चुकुल मेरो हातबाट छुटिसकेको थियो । मनमा पूरै डर थियो । एक चुडेलको कथा सुन्नु कसरी केही जाल पनि त हुन सक्छ चुडेलको । ऊतिर हेर्दै फेरि हात चुकुलतिर बढाएँ । उसको चम्किला आँखामा उदासी छायो । उसको सेतो मुख । रातो फुस्रो भयो ।उसले विश्वास दिलाउने पारामा बोली, “साँच्चै म केही गर्दिनँ । बस् मेरो कथा सुनिदिनुस् ।”

मैले बिस्तारै भनेँ आज ढिलो भइसक्यो । भोलि सुन्छु नि है ?” मेरो बोली सुनेर उसको मुहारको पूरै चमक उड्यो । उसले फेरि सिलिङ हेर्दै लामो सुस्केरा हाली र भनी, “भोलि तपाईँ आउनु हुन्न । मलाई थाहा छ । मेरो कथा कसैलाई नसुनाई म यो ठाउँ छोड्ने छैन । दिउँसो म आउन पाउदिनँ । के राति तपाईँ आउनुहुन्छ त ?” उसले मेरो हिम्मत जाँच्छ खोजेकी थिई । त्यसैले मैले बिस्तारै भनेँ, “तपाईँ त यही थिएँ भनुहुन्थ्यो त ?”

उसको मनमा सायद म उसका कुरा सुन्छु भन्ने लाग्यो होला त्यसैले आशमिश्रित स्वरमा भनी, “म को हुँ । म दिउँसो किन आउन सक्दिनँ । तपाईँले थाहा पाइसक्नुभयो । यदि म तपाईँलाई केही गर्ने भए अहिलेसम्म किन यो पीडा सहँदै बस्थेँ र कृपया मेरा कुरा सुनिदिनुस् । म मेरो गर्भमा रहेको यो एक्लो छोराको कसम खान्छु । म तपाईँलाई केही गर्दिनँ ।”

म के गरूँ गरूँको स्तिथिमा थिएँ । मसँग बोल्नलाई कुनै कुरा थिएन । त्यसैले उसले फेरि भनी, “यहाँ पनि रोएरै बसिरहनुभएको हुन्छ । घर गए पनि त रोएर नै बस्नुहुन्छ होला । कति रोएर बस्नुहुन्छ । प्रेम भन्ने चिज तरल पदार्थजस्तै हो । यसले जुनसुकै वेला आकार बदल्न सक्छ । यसको आफ्नो आकार हुँदैन । जुन भाँडामा राख्यो यो त्यस्तै रूप देखाउँछ  मान्नुहुन्छ भने मेरा कुरा सुनेर तपाईँको पनि मन बहकिएला ।”

उसले आफ्नो परिचय लुकाइन ।

चुडेलले कसरी थाहा पाई मलाई प्रेमले रुवाउँदै छ भन्ने कुरा ?

चुडेलले कसरी थाहा पाई मेरी उसका कुरा मैले चुडेललाई एकोहोरो हेरिरहेँ । मैले चुडेलको अनुहारमा शुभाञ्जलिलाई देखेँ । मभित्र डर एकाएक गायब भयो । किन-किन ऊ मलाई मान्छेजस्ती लाग्न थाली 

मैले बिर्सिएँ उसका उल्टा फर्किएका खुट्टा । उसलाई थाहा रहेछ यस कोठाभित्र झ्यालढोका थुनेर म किन बसिरहन्छु भन्ने । ऊ किन-किन मेरो कोही हो जस्तो लाग्यो ।

म सरासर आएर कुर्सीमा बसेँ ।

उसले भनी, “पानी खानुहुन्छ । तपाईँ डराउनुभयो त्यसैले तपाईँका ओठ मुख सुकेका छन् ।” अघि उसले रित्याइसकेको पानीको बोतललाई हेरेँ । पानीको बोतल अहिले भरी थियो । उसले पर हुत्याएको बोतल बिर्को बोतलमा लागेको थियो । पानीको बोतलको अवस्था देखेर मलाई लाग्यो, “ऊ मलाई फकाई-फकाई फसाउँदै छे ।” त्यसैले नाइँ खान्न भने इसारा गर्दै मुन्टो हल्लाएँ 

मैले केही भनेकै थिइनँ उसले भन्न सुरु गरी । “मेरो नाम शुभाञ्जलि हो । म यस घरभित्र हुलिएको तीन वर्ष भयो ।” उसले यो के भनी मेरो नाम शुभाञ्जलि हो भनी । अघि भर्खर मैले उसको अनुहारमा शुभाञ्जलिको मुहार देखेको थिएँ ।

मैले बिचमा नै प्याच्च बोलेँ, “तपाईँको नाम के हो रे ?”

मेरो यस प्रश्नले ऊ बिचमा नै रोकिई । एकछिन उसका चम्किला आँखाले मलाई हेरेर भनी, “शुभाञ्जलि ।”

चुडेलको नाम शुभाञ्जलि भएको मलाई मन परेन । मेरी शुभाञ्जलि अप्सरा हो । मैले शुभाञ्जलिका लागि के-के गरेको थिइनँ मैले जनवरीको तातो बिस्तरा छोडेको थिएँ । उसको दुखिरहेको कम्मर तातो पानीले सेकेको थिएँ । उसलाई भान्सा पसेर सहयोग गरेको थिएँ ।

चुडेल्नी अलिकति चलमलाई र आफ्नो दायाँ हात पेटमाथि राख्दै भनी, “तपाईँलाई हतार होला म सिधै मेरो कथा सुनाउँछु है । म यसका बुबालाई सम्झिन्छु । आफ्नो बालापन सम्झिन्छु ।” उसले दायाँ हात पेटदेखि भुईँमा राखी । सायद ऊ सजिलो गरी बसेको हुनाले होला उसको भुक्क उठेको पेट केही सानो देखिएको थियो ।

ऊ भनिरहेकी थिई, “यसको बुबा र म नपुगेको दिन कनासे नदी पनि बिस्तारै बग्थ्यो । उसका छालहरू साना हुन्थे । हामी हुँदाको दिन जसरी पर-पर पुग्दैन थे । घाम पनि पट्यार मानेर बादलको काखबाट बाहिर नै निस्किन्थेन ।

मैले सम्झिएँ मेरी शुभाञ्जलि र म पनि जब रोडा खोलामा पस्थ्यौ । रोडा खोलाका लहरहरूमा बैँस चड्थो । चम्कँदै पुग्थे केही परसम्म । पानी परेको दिन र हिउँका दिनबाहेक हामी हरेक दिन रोडा खोलाकै आसपास हुन्थ्यौ ।

उसले फेरि आफ्नो दायाँ हात आफ्नो पेटमा राख्दै भनी, “यसको बुबाले कनासे नदीमा नै मेरो अगाडि प्रेम देखाएको थियो । त्यो वेला हामी सातमा पढ्थौँ । पानीमा को बढी डुब्न सक्छ भन्ने खेलिरहेका थियौँ । डुब्ने पालो मेरो थियो । ऊ एक-दुई भन्दै म डुबिरहेको समय गनिरहेको थियो । जब म पानीमा डुबेँ उसले म डुबेको मौका पारी भनेको थियो, “I love you शुभाञ्जलि ।” त्यो आवाज मैले मन्द-मन्द सुनेको थिएँ ।

त्यो वाक्य सुन्दा यस्तो लागेको थियो । एकाएक म जवान भएँ । मेरो शरीरमा रङ्गहरू चडेका छन् । जब मैले पानीबाट आफ्नो टाउको बाहिर निकालेँ ऊ गनिरहेको थियो उनान्नब्बे नब्बे । ऊ सतहत्तरसम्म मात्र डुबेको थियो । त्यो वेला पनि उसले नै हाऱ्यो । यस्तो लाग्थो ऊ हार्थेन मलाई जिताउँथ्यो मात्रै ।

पछि-पछि म डुब्नासाथ , “i love you शुभाञ्जलि” भनिहाल्थ्यो 

एकदिन ऊ डुब्नासाथ मैले भने, “i love you, वेद ।”

उसले i love you भन्दै मेरो नाम लिएकी थिई । मेरो सातोपुत्लो उड्यो । एक गर्भवती चुडेल मलाई आई लभ यु भनिरहेकी थिई । मलाई लाग्यो मेरा दिन सकिए । चुडेल्नीले प्रेममा गरेको आजसम्म को बाँचेको थियो र मलाई उसको मुखबाट निस्केको नाम मेरो नहोस् भन्ने इच्छा सहित डराउँदै सोधेको थिए, “के रे तपाईँको मान्छेको नाम ?”

उसले खाउँलाझैँ गरी मलाई हेरी र बडो घृणाका साथ भनी, “बेदे” मैले फेरि पनि चुडेल्नीको मुखबाट मेरो नाम सुन्नासाथ भनेँ, अनि तपाईँको नाम ?”

शुभाञ्जलि ।”

म के सुनिरहेको थिएँ । चुडेल्नीको नाम शुभाञ्जलि अनि उसको प्रेमीको नाम वेद । कसरी हुन दक्छ यो । शुभाञ्जलि कसरी हाम्रो कथा भन्न सक्छे । म न केही सोच्न सकिरहेको थिएँ, न म केही सोध्न सकिरहेको थिएँ । मलाई लाग्यो म चुडेलको पन्जामा परिसकेको छु । ऊ पटक-पटक मेरो नाम लिइरहेकी छ । ऊ मेरी प्रेमिकाको नाम आफ्नो भनिरहेकी छ र मेरो नाम लिएर आफ्नो प्रेमी भनिरहेकी थिई ।

 एकोहोरो बोलिरहेकी थिई, “मैले भनेको वेदले पनि मन्द-मन्द सुनेछ सायद । उसले टाउको बाहिर निकालिहाल्यो । उसलाई हारजितको कुनै मतलब थिएन र त सोधेको थियो, “तैँले मलाई केही भनेकी होस् ।” मैले लजाउँदै नाइँ को इसारामा टाउको दायाँबायाँ हलाइदिएँ ।

मलाई अजिब लाग्यो ऊ मेरो कथा भनिरहेकी थिई । जब शुभाञ्जलि र म गोठाला जान्थ्यौँ, हामीहरू गाउँका अरू भैँसीदेखि हाम्रा भैँसी छुटाउँथ्यौँ । गोठालाबाट हामी छुट्टिन्थ्यौ । भैँसी जब गएर रोडा नदीमा आहल बस्थे । ऊ र म खेल्न थाल्थ्यौँ को लामो समयसम्म डुब्न सक्छ भन्ने खेल । ऊ डुब्दा म छिटो-छिटो गन्न थाल्थेँ । म डुब्दा ऊ छिटो-छिटो गन्न थाल्थी । उसको उद्देश्य हुन्थ्यो मलाई जिताउने । मेरो उद्देश्य हुन्थ्यो उसलाई जिताउने । उसले मलाई कहिल्यै जिताउन सकिन किनकि जहिले पहिला म डुब्थेँ ऊ गन्थी । जब ऊ डुब्थी म गन्थेँ । यदि उसले मसँग हारेकी भए पनि म उसलाई जिताउनका लागि आफूले डुबेको सङ्ख्यामा एघार-बाह्र अङ्क जोडेर भनिदिन्थेँ । उसको जित हुन्थ्यो । ऊ जितिरहन्थी । मेरो सानो सहयोगले उसले जित्न पाउँदा म यसै खुसी हुन्थेँ ।

उसले फेरि आफ्नो दायाँ हात भुईँमा राखी मैले देखे उसको भुँडी अघिको भन्दा केही घटेको छ ।

उसले पेटमा फेरि दायाँ हात पेटमा राख्दै भनी, “यसको बाउले जिद्दी गर्न थाल्यो । तैँले के भनेकी होस् भनेर । जहाँसम्म त मैले केही भनेकै होइन भनेर जिद्दी गरिरहेँ तर उसले मान्दै मानेन र अन्त्यमा मैले भनिदिएँ, “म डुब्दा तँ जे भन्थिस् मैले त्यही भनेकी हुँ भनेर ।”

मैले सम्झिए ऊ पानीमा डुब्दा मैले भनेको, “आई लभ युशुभाञ्जलि । आई लभ यु ।” ऊ पानी बाहिर निस्केर । मलाई हेर्दै हासेकी थिई ।

त्यस दिनपछिजब ऊ पानीमा डुब्थी र मेरो मुखबाट निस्किन्थ्यो, “आई लभ युशुभाञ्जलि ।”

एक दिन म पानीभित्र थिएँ । मैले मेरो कानमा कसैले सुस्त आवाजमा बोलिरहेको सुने । i love you वेद ।

मैले झटपट पानीबाहिर टाउको निकालेर सोधेको थिएँ, “तैँले केही भनेकी होस् ।” भनेर । शुभाञ्जलिले हाँस्दै नाइँको इसारामा टाउको दायाँबायाँ हल्लाएकी थिई । उसले, “तैँले सधैँ जे भन्थिस् त्यही भनेकी हुँ ।” नभन्दासम्म भन् तैँले के भनेकी होस भनेर जिद्दी गरिरहेको थिएँ । चुडेल आफ्नो कथा भनेर मेरो कथा भनिरहेकी थिई ।

चुडेल केही सजिलो गरी बसी र पेटमा हात राख्दै भनी, “यसका बुबा र मसँगै एस.एल.सीको ट्युसन पढ्न सदरमुकाम गएका थियौँ । हामीले कोठा भाडा पनि एउटै घरमा लियौँ । एउटा कोठामा म र विना बस्थ्यौँ भने यसका बुबा र व्यास एउटा कोठामा बसेका थिए ।

चुडेल्नीको मेरो कथा भन्दै थिई । एस.एल.सीको तयारीका लागि हाम्रो स्कुलका सब सदरमुकाम गएका थियौँ । हामीले मेरी शुभाञ्जलि र उसकी मिल्ने साथी विनाका लागि एक कोठा र मेरो मिल्ने साथी व्यासका लागि एक कोठा गरी एउटै घरका दुई कोठा लिएका थियौँ । हाम्रो भान्सा पनि एकै थियो ।

चुडेललाई मेरा सब कुरा थाहा थियो । म डराउनुभन्दा पनि तीनछक्क थिएँ । ऊ मेरो कथा हुबहु भनिरहेकी थिई । उसलाई बिचमै रोकेर भनेँ, “अब बन्द गर्नुस् तपाईँको कथा मलाई सब थाहा छ । तपाईँहरूको भान्सा पनि एउटै थियो हैन र ?”

उसले मलाई वाल्ल परेर हेरी र पहिलेको भन्दा केही सानो स्वरमा भनी, “तपाईँले कसरी थाहा पाउनुभयो ?”

मैले झर्किँदै भने, “मेरो कथा मलाई सुनाइरहनुभएको छ । मलाई थाहा नभएर कसलाई हुन्छ विना र व्यासको त्यही घरमा लभ परेको हो कि हैन भन्नू त ।”

उसले मलाई हेरिरही र भनी, “तपाईँ र शुभाञ्जलिको बिहा भएन है ?”

मैले उत्तर फर्काउन जरुरी ठानिनँ । म जुरुक्क उठेर सरासर ढोकातिर लम्किएँ । उसले फेरि बोली, “यो मेरो पेटभित्रको बच्चा वेदको हो । हाम्रो प्रेम असफल भएको थियो । हाम्रो विवाह भएको थियो ।

तपाईँको प्रेम सफल भएको छ ।” उसका कुराले मेरा खुट्टामा जन्जिर लागाए रोकिए । उसले भनेको साँचो हो ।

उसले फेरि भनी, “पुरुष महिलालाई नपाउन्जेल तपाईँजस्तो बन्छ । पाइसकेपछि महिलालाई मजस्ती बनाउँछन्चुडेलकिचकन्नी ।”

मैले उसका कुरा सुनेर ढोका खोल्न सकिनँ । मलाई जान्नु पनि थियो चुडेल्नी र मेरो प्रेममा कहाँनिरबाट फरक बन्छ भन्ने । त्यसैले म फेरि फर्केर आएर कुर्सीमै बसेँ ।

उसले फेरि मलाई सोधी, “पानी खानुहुन्छ ?”

मैले चुपचाप नाइँको इसारामा टाउको दायाँबायाँ हल्लाएँ । उसले मसँग अनुमति माग्दै भनी, “म सुरु गरूँ मेरो कथा ?” मैले केही बोलिनँ । इसारा पनि गरिनँ तर ऊ बोल्न थाली, “त्यही घरमा पछि-पछि यस्तो हुन थाल्यो  दिउँसो त्यो कोठा मेरो र विनाको हुन्थ्यो भने । राति यसको बुबाको र मेरो हुन थाल्यो भने । यसको बुबाको र व्यासको कोठा विनाको र व्यासको हुन थाल्यो ।

चुडेल बोलिरहेकी थिई, “म एकदम खुसी थिएँ ती दिनहरूमा । बेलुका खाना खाइसकेपछि अबेरसम्म पढ्थ्यौँ । यसको बुबाले जहिले दुई प्याकेट चाउचाउ ल्याएका हुन्थे । हामी सुत्नुभन्दा अगाडि जहिले चाउचाउ खान्थ्यौँ । सदरमुकाम जति दिन बसेँ त्यति दिन चाउचाउ खाएँ । यसका बुबा खुब मायाँ गर्थे मलाई । उसले आफ्नो दायाँ हात भुईँमा राखी उसको पेट सानो भइसकेको थियो ।

चुडेल्नी मेरो कथा भनिरहेकी थिई । मैले शुभाञ्जलिलाई सम्झेँ । बिहान खाना शुभाञ्जलि र म मिलेर पकाउँथ्यौँ । ऊ अघिल्लो साँझका जुठा भाँडा माझ्न थाल्थी । म तरकारी काट्न थाल्थेँ । खाना चुलामा बसालिसकेपछि ऊ र म मज्जाले गफ गर्न थाल्थ्यौँ । साँझको खाना विना र व्यास मिलेर पकाउँथे 

मिलेर खाना पकाउँदापकाउँदै उनीहरूको मनै मिलिसकेको थियो । मनै मिलिसकेपछि उनीहरू एक कोठामा हामी अर्को कोठामा बस्न थाल्यौँ । दिउँसो भने हामी सबै सँगै हुन्थ्यौँ 

चुडेल्नी बोलिरहेकी थिई, “हामी प्लस टु पढ्न सँगै बजार पुगेका थियौँ । त्यो वेला “यसका बाले” भन्दै उसले हात आफ्नो पेटमा लग्दै भनी, “दुईओटा कोठा एक मेरा लागि भनेर एक आफ्ना लागि भनेर लिगे । मेरा र उसका घरका कोही बजार आएको दिन मात्रै हामी आआफ्नो कोठामा सुत्थ्यौँ । अघिपछि जहाँ सुते पनि हामी सँगै सुत्थ्यौँ । त्यो वेला मिन्स हुँदा यसका बा तातो पानी तताएर मेरो मेरो कम्मर सेकिदिन्थे । जुठा भाँडा आफैँ माझ्थे ।

मैले मेरी शुभाञ्जलिलाई सम्झेँ जब ऊ महिनावारी हुन्थी । दुई दिन त पीडाले गर्दा होला उसका चेत नै हुन्थेन । अलिकति केही भन्यो कि रुन थाल्थी कि ठुस्केर बस्थी । उसलाई शान्त पार्न आधा दिन लाग्थ्यो मलाई । उसको पीडा कम होस् भनेर । म मनतातो पानीमा कपडा भिजाएर उसको कम्मर सेक्न थाल्थेँ । मैले उसको कम्मर सेकिदिएपछि उसको कम्मरको दुखाइ चट्ट भएझैँ गरी हाँस्थी ।

चुडेल्नी भनिरहेकी थिई, “मलाई कुनै अप्ठ्यारो थिएन । हामी दुई एकदम खुसी थियौँ । हामी तीन बन्ने सूचना आएको दिन उसले मलाई आफ्नो घर भित्र्यायो ।”

चुडेल्नी र मेरो कथा यहाँनिरबाट फाटेका रहेछन् । मेरी शुभाञ्जलि र मैले दुई वर्षसँगै बस्दा पनि पाएनौँ हामी तीन बन्ने सूचना । बरु हामी दुईबाट एक-एक लागेर फटाएका थियौँ हाम्रो बाटो ।

चुडेल्नी भनिरहेकी थिई, “घर भित्र्याएको छ महिनापछि गाउँका हरेक मान्छे मेरो भुँडी हेर्दै भन्थे, “वेदको त छोरो नै हुन्छ ।”

खै किन किन मलाई पनि त्यो शब्द सुनेर आनन्द लाग्थ्यो । कहिलेकाहीँ राति सुत्दा यसका बा पनि भन्थे, “तँबाट छोरै जन्मिन्छ मेरो ।”

मैले पनि मेरी शुभाञ्जलिलाई त्यसै त भन्थेँ होला, “तँबाट त मेरो छोरै जन्मन्छ होला ।”

चुडेल्नी भनिरहेकी थिई, “अरूलाई सोध्न नसके पनि म यसका बालाई सोध्थेँ यदि छोरी भई भने ?”

छोरी भई सुन्नेबित्तिकै मेरै मन दुखेझैँ गरी एकफेर चसक्क त भएको हो । हारेजस्तै भएको थियो । हातगोडा त्यसै-त्यसै कामेका पनि हुन् तर छोरीको अनुहार देख्नासाथ म खुसीले बौलाहाजस्ती भएको थिएँ । उसको चिउँडो लाम्चो थियो । आँखा बाटुला थिए । निधार ठुलो थियो । जत्रो भाग्य आए पनि अटाउन सक्ने । मैले यसका बालाई देखाउँदै भनेको थिएँ, “हेर्नू त तपाईँजस्ती छ ।” त्यस वेला यसका बाको मुखबाट निस्किएको त्यो वचन आज पनि भुल्न सकेकी छैन, “अनुहार मेरो परेर के गर्नु छोरी पाइस् तैँले ।” जन्मेको दिन त्यसो भने पनि उनले जेठी छोरीलाई त्यस्तो दुर्वाच्य केही लगाएनन् । खुब मायाँ गर्थे ।”

मलाई चुडेल्नीका श्रीमान्‌देखि रिस उठेर आयो । के म त्यसो भन्न सक्दो हुँमेरी शुभाञ्जलिबाट जन्मेकी छोरीलाई ?

एक छोरी हुनासाथ कतिले त भनेका पनि थिए, “वेद तँ कप्टिनी मार् है” भनेर । वेद भन्ने शब्द सुन्नासाथ मैले मलाई सम्झिएँ ।

चुडेल्नी भनिरहेकी थिई, “हामीले कप्टिनी मार्ने कुरा सुने नसुनेझैँ गऱ्यौँ । यसका बुबा भनिरहन्थे । अरू जे भए पनि कम्प्टिनी त नमार्ने । तँलाई दुख दिएर मलाई छोरो चाहिएको छैन । कप्टिनी मार्ने कुरा सुन्यो कि मेरो मन एक तमास हुन्थ्यो ।

त्यहीमाथि दोस्री पनि छोरी नै भई । त्यो छोरीको अनुहार देख्नासाथ यसका बाले अब कप्टिनी मारौँ भन्छन् जस्तो लाग्थ्यो । दोस्री छोरी हुँदा पनि यसका बाले त मेरै अगाडि कति जनासँग भनेका थिए । बरु छोरो चाहिन्न कप्टिनी त मार्दैन । उनको यो बोली सुनेर केही हलुको महसुस गर्थेँ तर के गर्नु आँखामा कप्टिनी मारेका दिदीबहिनीको जिउ घट्ट घुमेझैँ घुमिरहन्थे ।

बरु यसका बा र मैले देवीका थानमा बोको भाक्यौँ । देवका थानमा एक राँगो भक्यौँ । बु का धानमा भैसीको आलो दूध भाक्यौँ । भुमेका नाममा कुखुरो भाक्यौँ यसका बाले त्यो वेला कुनै वचन पनि लगाएका होइनन् । बरु एक दिन कुरैकुरामा उनले भनेका थिए, “विना भाग्यमानी रहिछ है । दुवै बेतमा छोरा भए ।” तर मेरो चित्त खुब दुखेको थियो ।

मैले मेरी शुभाञ्जलिकी साथी विनालाई सम्झेँ हो त ऊ कति भाग्यमानी, व्याससँग नै बिहा भयो । पाँच वर्षभित्र फटाफट दुई छोरा पाई ।

चुडेल्नी भनिरहेकी थिई, “त्यति सब गर्दा पनि । देउता दाहिने भएनन् । मेरो भाग्यै दुखारी रैछ । अर्की पनि छोरी भई । छोरो नभएको पीडाले होला यसका बाले कहिलेकाहीँ रक्सी खान थालेका थिए । रक्सी खाएको दिन मायालु तरिकाले भन्न थाले, “एकचोटि कप्टिनी मारौँ कि एकचोटिको त अप्ठ्यारो हो ।” उनले रक्सी खाएर गरेको त्यस कुराले मेरो हंस उठ्थ्यो ।

रात भर सुत्न सक्थेन । कप्टेनी मारेकी आइमाईहरूको भोलिपल्टको जिउ सम्झेर आँखाबाट आँसु झर्थे । सिरानी भिज्थ्यो ।

सोह्र श्राद्ध लाग्ने दिन नजिकिँदै थियो । गाउँभरि यसपालि सोह्र श्रद्धामा कति कप्टिनी मारिने छन् । गिन्ती सुरु हुन थालिसकेको थियो । मेरो मुटु हरेक गिन्तीमा कापी रहन्थ्यो । यस वर्ष म नपरूँ कप्टेनी मार्नेमा भनेर भगवान्‌सँग प्रार्थना गर्थेँ तर एक साँझ यसका बुबाले मलाई खुब सम्झाए । भने, “बढीमा दुई दिन त हो दुख्ने । यसरी दाजुभाइको खिसी कति सहनु । इष्टको हाँसो कति बन्नु । एक छोरो त पाउनै पऱ्यो । गाईको पुछी समातिदिने एक त चाहियोछोरो । त मान एकचोटि कप्टिनी मारूँ त्यसपछि के चिन्ता मैले हुन्छ नभन्दासम्म यसका बुबा मसँग लडिरहे । मैले सुत्न पनि पाइनँ । जब मैले हुन्छ भनेँ यसका बुबा सुते म रात भर सुत्न सकिनँ ।

मैले मेरी शुभाञ्जलिलाई सम्झेँ, “के म छोराका लागि शुभाञ्जलिको जिउमा कप्टिनी मार्न सक्थेँ होला र ?”

चुडेल्नी बोलिरहेकी थिई, “सोह्र श्राद्ध सुरु भएकै दिन दिनभरि व्रत बसेँ, यसका बुबा सप्रेको सिस्नु खोज्न गए । बेलुकातिर यसका बुबाले एक गाल्जो सिस्नु ल्याएर आए । त्यो सिस्नु देख्नेबितिकै मेरो सातो गयो । म बेहोस हुन्छु झैँ लाग्यो । त्यसै आँखामा बरर आँसु बग्न थाले ।

रात परेपछि देबिदेउतापितरको पीजा गऱ्यौँ । देवीदेउतालाई सिस्नु चढायौँ । यसका बुबा मेरा लुगा खोले । मेरो जिउमा एक सरो लुगा रहेन । मेरो मनमा होसहवास रहेन । म त मुढो भई ठडिराखेकी । यसका बुबाले मलाई बितामा अडेस लगाए । मेरो पूजा गरेपिसाब फेर्ने ठाउँको पूजा गरे । म त डरले लाटी भइसकेकी थिएँ । मलाई दिउसो गाईको गोबरले लिपेको भुईँमा सुताए र दिउँसो ल्याएको पानीमा सिस्नु भिजाउँदै मलाई लगातार हान्न थाले । मेरा पैतालाबाट हान्न सुरु गरेर मेरो टाउकोसम्म हाने । यदि हान्ने वेला आवाज निकाले कप्टिनी नमर्ने हुनाले मुखमा आफ्नो सल कोचेकी थिएँ । आवाज बाहिर निस्कन पाएन तर म सिस्नाको चिलाइले बेहोसजस्ती भएको थिएँ । मेरो होसहवास केही थिएन । म इन्तु न चिन्तु भएको वेला मेरा पिसाब फेर्नेका तलतिर एक मुठो सिस्नु कोच्दै यसका बाले भने, “छोटे बिस्टले भनेका थिए । जहाँबाट बच्चा निस्किने हो त्यही एक मुठो सिस्नो के कोचिदिएको थिएँ । फटाफट चार छोरा पाई ।” म बेहोसजस्ती भएर गाउँकी आइमाईकाले गरेका कुरा सम्झिरहेको थिएँ, “सिस्नाले हान्नेसम्म त ठिकै हो तर कोचे भेने त उँधोको सास उँधै उँभोको सास उँभै हुन्छ । छोरो पाउनु सित्ती छैन ।”

के म यस्तो मेरी शुभाञ्जलिलाई गर्न सक्थेँ ?

चुडेल्नी बोलिरहेकी थिई, “तीन दिन उठ्न सकिनँ । जिउमा सुन्निन कुनै ठाउँ बाँकी थिएन । छोरो पाउनका लागि मैले के गरिनँ वचन सहेँगाली सहेँआफ्नै जिउमा कप्टिनी मार्न लगाएँ । त्यति गर्दा पनि फेरि पनि छोरी भई । छोरी भई भन्दा पनि सौता आउने कुरा हुन थाल्यो । वेदले रक्सी खाएर आएको दिन एक-दुई भुक्का लगाउन थाले ।” के म मेरी शुभाञ्जलिलाई हात छोड्न सक्थेँ ?

ऊ भनिरहेकी थिई, “लाग्नुपर्ने जति सबै डर लागिसकेको थियो त्यही भएर न मभित्र डर थियो न मभित्र रहर । रहर नभई नभई म फेरि दुई जिउकी भएँ । गाउँमा हल्ला पहिल्यै चलेको थियो कि वा म फेरि दुई जिउकी भएपछि चलेको हो थाहा छैन तर हल्ला थियो, “चेक गऱ्यो भने पलियाका डाक्टरले भनिदिन्छ छोरा छ कि छोरी भनेर ।”

पलियाका डाक्टर भनिदियो छोरो छ भनेर । उसले पेटमा हात राख्दै भनी, “यसका-यसका बा त खुसीले दुई हात माथि पुगे । मेरो मन पनि खै किन-किन खुसी भयो । हामी घर पुग्नुभन्दा पहिले नै खबर घर पुगिसकेको थियो । गाउँका सब आइमाई मलाई भेट्न आइरहेका थिए । मानौँ कि मैले छोरो जन्माइसकेँ । गाउँमा मैले कुनै-कुनै आइमाईको अनुहारमा आरिसजस्तो केही देखिकी थिएँ तर बाँकी जसो सबैको अनुहारमा दया देखिन्थ्यो । मेरो भाग्यमाथिको ।

यो मेरो पेटमा हुँदा मेता हातगोडा लल्यालकलुलुक गल्थे । त्यसै चिटचिट पसिना आउँथ्यो । अगाडिकी छोरी जन्मिँदा यस्तो कहिल्यै भएकै थिएन । यसले खुब दुःख दिइरहेको थियो । मेरा आँखा उसका पेटमा गए । अहिले उसको पेटमा सानो भइसकेको थियो । कुनै उभार थिएन पेटमा ।

उसले फेरि भन्न सुरु गरी, “नौ महिना लाग्ने लाग्ने वेला झन् मलाई उठ्न मन लाग्न छोड्यो । खाना फिटिक्क रुचेन । बोल्न मनै लागेन । टाउको बेस्मारी दुख्थ्यो । तल्लो पेट खुब दुख्यो । पानी बगिरहेझैँ लाग्थ्यो ।

मेरा बिचेत परेका थिएँ । म कहाँ छु मलाई केही थाहा थिएन ।

मेरो कानमा एक मधुरो आवाज ठोक्कियो, “आमालाई कि छोरो ?”

मेरो कानमा वेदको आवाज पऱ्यो, “छोरो ।”

उसले वेद भन्नासाथ मैले मलाई सम्झेँ । के म शुभाञ्जलिलाई छोराका लागि मार्थेँ होला र ?

चुडेल्नी बोलिरहेकी थिई, “हेर्नुस् त डाक्टरले मेरो पेटमा खुकुरी चलाएको छ ।”

उसले गाउन माथि सारी । मेरो सात्तो गयो उसले फट्टाइराखेका दुई खुट्टा बिचमा रगतमा लतपतिएको एक बच्चा थियो । उसको सालनाल चुडेल्नीको गुप्ताङ्गबाट निस्किरहेको छ । मैले देखेँ उसकोबाट रगतको मूल फुटेको छ । रगत कोठाभरि पुग्न थाल्यो । उसको रगतले मेरो खुट्टालाई धन्न छोइसकेको थियो ।

गोपी दाइले ढोकामा ढकढक हान्दै भने, “लेखापाल सर । लेखापाल सर । यहीँ निदाउनु भयो कि क्या हो । जाऔँ खाना खान ।”