“बिन्दु ! छिटो आइज है । घाँस लिएर आउन ढिलो भयो भने फेरि आज नि स्कुलमा गाली खाइन्छ । ” सधैँझैँ आज पनि रमा सबेरै मलाई बोलाउन आई । मभन्दा दुई वर्ष जेठी भए पनि रमा मेरो सबैभन्दा आत्मीय साथी थिई । हामी एउटै कक्षामा पढ्थ्यौँ । विद्यालयमा त सँगै हुने नै भयौँ, गाउँघरमा पनि घाँस दाउरा गर्न, बाख्रा चराउन, चुङ्गी ढ्याकी खेल्न, मलाई रमा र रमालाई म भएपछि अरू कोही चाहिँदैन थियो ।
शनिबारको दिन चाहिँ बिहानै नुहाइधुवाइ सकेर हामी बारीतिर बाख्रा चराउन जान्थ्यौँ । हाम्रो बारीनजिकै रहेको उजेली काकीको बारीमा चाहिँ माटाले बनेको एउटा सानो छाउगोठ थियो । सुत्केरी हुने बेला भएकाले उजेली काकी त्यही बसिराख्नुभएको रहेछ । “तल्लो पेट च्वास्स-च्वास्स दुखिराछ नानी” भन्दै त्यही माटाको चिसो भुईँमा ओछ्याएको पातलो तन्दामा लडिराख्नुभएथ्यो काकी । दिउँसो काकीसँगै भलाकुसारी गरेर साँझ परेपछि हामी बाख्रा लिएर घर फर्क्यौँ । राति खाना खएर सुतेको एकछिनपछि नै मान्छेहरूको कोलाहलले म एकास्सी बिउँझिएँ । आमा मलिन अनुहार लिएर झ्यालबाहिर हेरिरहनुभएको थियो ।
“आमा के भयो ?” आमालाई सोधेँ ।
“बिन्दु, हेर न उजेली काकीलाई राति व्यथा लागेछ । समयमा छाउगोठ कोही पुगेनछ । बिचरी भर्खरै जन्माएको छोरालाई टुहुरो बनाएर गैछ ।” आमाको कुरा सुनेर म छाँगाबाट खसेजस्तो भएँ । दिउँसो भर्खरै बाख्रा चराउन जाँदा मिठो मुस्कान दिँदै “नानी” भन्दै गरेकी गोरी, नामजस्तै उजेली काकीको याद आयो । प्रत्युत्तरमा म केही बोल्न सकिनँ । सम्झनास्वरूप दुई थोपा आँसु चढाइदिएँ । दुई-चार दिन मन खिन्न भए पनि दिन बित्दै गएपछि म र रमा फेरि आफ्नै रमाइलो दुनियाँमा फर्किसकेका थियौँ र त्यही घाँस, दाउरा, चुङ्गीहरूमै दिनहरू बित्न थाले ।
शनिबारको दिन थियो । हामी घर मुन्तिरको चौतारीमा भेटेर खेल्ने भनेका थियौँ । खाना खाएपछि म चौतारीतर्फ गए । चौतारी वारिपारि मान्छेहरूको भिड थियो । दौरासुरुवाल कोटमा ठाँटिएर एउटा अधबैँसे मान्छे चाहिँ भाषण गर्दै थियो । “यहाँ उपस्थित सम्पूर्ण दिदीबहिनीहरू! हजुरको एक भोटले पनि हजुरको जीवनको कष्ट हटाउन सक्छ । मलाई भोट दिनुभयो भने म यहाँको एक-एक छाउगोठ भत्काउन लगाउँछु । हरेक महिनावारी र गर्भावास्थासँगै छाउगोठ पस्नुपर्ने समस्या म सामाधान गर्छु । “गडडडड ताली बज्यो । नेताको भाषण सुनेर त्यहाँ सम्पूर्णको आनुहार प्रफुल्लित थियो । खैर म त भाषण सुन्न होइन रमालाई खोज्न आएकी थिएँ तर निकै बेर कुर्दा पनि रमा आइन । अघिल्लो दिन “बिन्दु पेट दुख्यो मलाई त । जान्छु है ?” भनेर गएकी ऊ सायद अझै सन्चो भएन कि ? उसको घरमै गएर भेट्छु भन्ने सोचेँ ।
“रमा ! ओइ रमा । खेल्न आइज न ।” उसको घरअगाडि गएर बोलाएँ । एकछिनपछि रमाकी आमा निस्किनुभयो । “ठुलीआमा रमालाई बोलाइदिनू न” भनेँ ।
“बिन्दु, हेर न हिजो रमालाई पहिलोपल्ट छाउ भयो । अब १३ दिनसम्म रमा छाउगोठमै बस्छे ।” बल्ल पो झसङ्ग भएँ । मेरी आमा पनि छाउ हुँदा पहिले हाम्रो बारीनजिकैको छाउगोठमा बस्नुहुन्थ्यो तर हजुरबुबा र हजुरआमा बितेपछि भने उहाँलाई घरमै बस्न कसैले प्रतिबन्ध लगाएन । समाजमा बिस्तारै सुधार हुँदै गए पनि पुरातन संस्कृति र धार्मिक मान्यताका सिकार उजेली काकीजस्ता कैयौँ नारीहरू भएकै थिए ।
“ठुलीआमा मैले पनि भेट्न पाउदिनँ र ?” मनको छटपटी व्यक्त गरेँ ।
“सात दिनसम्म त मैले मात्र पाउँछु भेट्न । अब आउँदो आइतबार भेट्नू क्या है ?”
“हुन्छ ठुलीआमा” भन्दै निराश भएर घर फर्किएँ । त्यो एक हप्ता कटाउन निकै धाउ भयो मलाई । रमालाई झन् एक्लै बस्न कति अल्छी लाग्दो हो । एक-दुई-तीन गर्दै पाँच दिन बितिसकेका थिए । दुई दिनपछि त म रमासँगै गएर बस्छु भन्ने सोचेकी थिएँ । छैटौँ दिन शनिबार परेको थियो । बिहान अलि अबेर उठेर बाहिर मात्र के निस्केकी थिएँ, गाउँलेहरू सबै हतासिँदै दौडिरहेका थिए ।
“ओइ सीता, के भो ? किन दौडेको ?” सीतालाई सोधेँ ।”
“त्यहाँ के रमा… त्यो छाउगोठमा…..” पूरा कुरा भन्नुभन्दा पहिल्यै सीता दौडेर अगाडि पुगिसकेकी थिई । रमाको नाम सुन्नेबित्तिकै म पनि हस्याङफस्याङ गर्दै दौडेँ । छाउगोठ वरिपरि मान्छे जम्मा भएका थिए । के भयो होला भनेर सोच्न नभ्याउँदै म भिड छिचोलेर छाउगोठभित्र पसिसकेकी थिएँ । रमा, जसलाई भेट्न म आतुर थिएँ उनी त्यहीँ थिइन् । हलचलरहित मुढाझैँ लढिरहेकी, एकटकले माथि हेरिरहेकी…. अनि उनको छेउमै थियो एउटा घाइते गोमन सर्प, जुन आफ्नो विजयमा गर्व गर्दै खोज्दै थियो रमाजस्तै फेरि अर्को सिकार ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।