(मानिसहरू घरका बरन्डाबाट रित्तो सडक पढिरहेका थिए । चियाइरहेका थिए । अनि रित्तो सडकको उचाल्नै नसक्ने भारी हेरिरहेका थिए ।)

मनीष विद्यार्थी जीवनमा निकै सचेत विद्यार्थी थियो । ऊ पढाइमा पनि अब्बल थियो र क्याम्पसको राजनीतिमा पनि नेतृत्वदायी भूमिकामा थियो । गाउँबाट उच्च मा.वि. पास गरेर सहरमा स्नातका पढन भनेर आएको थियो ऊ । छोटो समयमा ऊ विद्यार्थीमाझ लोकप्रिय मात्रै भएन, विद्यार्थीलाई सफल नेतृत्व समेत गर्न थाल्यो । डिमोक्रेटिक पार्टीको विद्यार्थी सङ्गठनको अग्रणी नेताका रूपमा बिस्तारै स्थापित हुन थाल्यो ऊ । स्ववियुको चुनावमा सचिवको पद समेत हात पारेको थियो उसले ।

अनि नेता जनार्दन थिए उसका ! पार्टीको निकै माथिसम्म उसको हिमचिम रह्यो । ऊ त्यो पार्टीको अभिन्न व्यक्ति बन्न पुग्यो ।

केन्द्रीय नेताहरूसँग खिचेका फोटाहरू धुमधामसँग फेसबुकमा आउन थाले । सयौँ मानिसले कमेन्ट गर्ने गर्थे, ‘लु बधाइ छ, मनीषजी ।’ यस्ता ओइरो आउँथे शुभकामनाका । फोन आउँथे सयौँका सयौँ ।

ऊ सेलिब्रिटी भयो । उसको पराक्रम भन्थे उसका बाआमा । खुसी थिए उसको लोकप्रियताका बारेमा सुन्दा र देख्दा । ऊ पनि खुसी देखिन्थ्यो ।

उसको खुसीको अर्को आयाम पनि थियो । त्यो हो —विनीता ।

विनीता भिन्न राजनीतिक दलकी विद्यार्थी नेत्री थिई । ऊ अर्कै दलकी तर उनीहरूको कक्षा र विषय एउटै थियो । वाणिज्य शास्त्रमा स्नातक, बिबिएस ।

उनीहरू एकै बेन्चमा बस्थे । क्यान्टिनमा सँगै नास्ता गर्न जान्थे । क्याम्पस सँगै आउँथे, सँगै जान्थे । एउटै नोट बनाउँथे, र एउटै पढ्थे । कोठामा सँगै भित्र पस्थे, सँगै बाहिर आउँथे । विद्यार्थीका कार्यक्रमहरू पनि उनीहरू नै सञ्चालन गर्थे पालैपालो गरेर ।

‘हैन, यिनीहरूको चक्कर छ जस्तो छ त !’ साथीहरूको टिप्पणी हुन्थ्यो ।

जताततै मनीषको सफलता र उसको विनीतासँगको सम्बन्धको चर्चा हुने गर्थ्यो ।

बाँस्कोटा धनञ्जय

त्यसो त मनीषको जीवनशैलीमा आमूल परिवर्तन आउन थाल्यो । हिँडेर क्याम्पस जान्थ्यो छ महिना अघिसम्म । केही समयपश्चात् उसले मोटर साइकल किन्यो ।

‘हैन कहाँबाट ल्यायो यसले पैसा ?’ गाउँमा खासखुस चल्थ्यो ।

एक वर्षपछि देशको माहोल बदलियो । समय बदलियो । मनीषको दलले चुनावमा नराम्रोसँग पराजय भोग्न पुग्यो र सोसलिस्टहरूको बहुमतको सरकार बन्यो । परिणाम, मनीषको कमाउने बाटो अवरुद्ध भयो पाँच वर्षका लागि ।

मनीष यति लामो समय कमाउनबाट वञ्चित भएर बस्ने कुरा सम्भव थिएन । उसमा त्यस्तो धैर्य पनि थिएन । उसका सपना अनन्त थिए र ती ऊ जसरी पनि पूरा गर्न चाहथ्यो ।

त्यही भएर उसले एउटा नीजि वाणिज्य बैङ्कमा आयोग पास गरेर जागिरे भयो ।  सुन्दर सुविधा ठान्यो उसले । ऊ त्यसमा समाहित भइरहेको थियो । बैङ?कको जागिरे, उसको एउटा सपना पूरा भएको थियो । बाँकी त्यसै अलपत्र थिए ।

=================

मनीष जागिरे भएको चार वर्ष बितिसकेको थियो ।

अनि राजनीति मनीषका लागि पराई बन्दै गएको थियो । नीजि बैङ्कको जागिरे हुनुको नाताले उसमा फुर्सद त थिएन नै,  त्योभन्दा बढी त उसले जीवनका आयामहरूलाई पैसाको बिटा गन्नमा र पैसाकाको नशा लागेर बाँच्नुमा साटिरहेको थियो । ऊ अति व्यस्त, अनि पैसासँगको जीवनमा बाँच्नुको अर्थ खोजिरहेको थियो ।

उसका दिनचर्याहरू बदलिए । साथी बदलिए । जीवनका मूल्य र मान्यताहरू बदलिए । रक्सीको रात र पैसाको दिन उसको प्यारो साइनो बन्न थाल्यो । राजनीति अब ऊबाट क्रमशः अन्तर्ध्यान हुँदै गयो । कसैको पनि ऊ हुन छाड्यो । हिजाको समयका रङ्गहरू बदलिँदै गए ।

विनीतालाई सम्झिए पनि विनीताको राजनीतिक उत्कण्ठालाई मनीषको मनले स्वीकार्न चाहेन । मनीष आफू बदलिने कुराभन्दा अरू मात्रै बदलिऊन् भन्ने चाहना बोक्ने मानिस थियो । त्यसैले ऊ विनीताको बाटाबाट निकै पर पुगिसकेको थियो । त्यति मात्रै होइन, उनीहरूको भेटघाट पनि हुन छाडेको निकै वर्ष भयो । उनीहरूका बाटा अलग भए ।

‘विनीताले मेरो सबै आनिबानी जानेकी थिई । फेरि ऊ राजनीतिलाई जीवनभन्दा ठुलो सम्झिन्थी । मूर्खता लाग्यो । ऊसँगको जीवन खासै सुन्दर हुन्छ जस्तो लागेन ।’ मनीषले एक दिन यस्तो निष्कर्ष निकालेको थियो ।

त्यही भएर होला, तीन वर्षपछि मनीषको बिहे ममतासँग भयो । छोटो परिचयमै भएको बिहे थियो त्यो ।

कर्मचारी युनियनको चुनावमा पनि मनीष खासै सक्रिय भएन । तथापि लोकतान्त्रिक पार्टीका बारेमा वेला-वेला खाएका सुरमा कुरा गर्थ्यो, समर्थन जनाउँथ्यो तर पनि राजनीति उसको गौरवको विषय बन्न छाडेको थियो । न त सोच्थ्यो, न त पढ्थ्यो राजनीति ।

अनि घरमा बेलुका पुग्थ्यो । जाम पेलेर आइपुथ्यो । स्वास लामो तान्थ्यो । आमाबुबा, श्रीमती कसैसँग ऊ खुलेर धेरै बेर बोल्न सक्दैनथ्यो । खाना खाइसकेपछि ऊ घुप्लुक्क निदाउँथ्यो । ममता उसको शरीरमाथि स्पर्श हुने गरी ब्ल्याङकेट ओडाइदिन्थी । एकै छिनमा ऊ घुर्न थाल्थ्यो ।

‘आफूलाई ल्याङ्गकेट ओढाइदिने श्रीमान् खोजेकी थिइस्, पाइस् ? यस्तो यान्त्रिक जीवन कतिदिन जिउनु ?’ ममताको मन खिन्न हुन्थ्यो ।

बिहानै उठेपछि मनीष पानी र चिया पिउँथ्यो । अनि बिस्कुट लिन्थ्यो । त्यसपछि सोफामा पल्टिएर ‘मेरो सेयर’ खोलेर मोवाइलमा लिप्त हुन्थ्यो । सेयर बजारमा व्यस्त हुन्थ्यो । अनि खाना खाएर ऊ मोटरसाइकलमा हुइँकिन्थ्यो । र दिनभरि कम्प्युटरमा झुन्डिनु र बेलुका घरमा गएर मूर्तिजस्तै बन्नु उसको दिनचर्या बनिरहेको थियो ।

अर्थात् ऊ ‘अज्ञात नागरिक’ भएको थियो परिवारका लागि । उसको जीवन एउटा यन्त्र बनेको थियो ।  कम्प्युटरको माउससँगै जीवन कुदाउने । अनि फाइलजस्तै कुनै ‘सेभ’ गर्नुपर्ने, कुनै ‘डिलिट’ गर्नुपर्ने ।

अनि छुट्टीको दिन पनि अफिसमा कैयौँ कामको थाक हुन्थ्यो । उसले ओभरटाइम काम गरेर ती फत्ते गर्नुपर्दथ्यो । त्यसमा ऊ रमाउँथ्यो ।

‘मनीष, तिम्रो भोलि ओटी हुन्छ ।’ हाकिमले भनेका थिए ।

उसको मनमा ओटी मात्रै थियो । अनि रोटी मात्रै थियो ।

अब सबैसँग अस्ताएको, कसैलाई भेट्न नभ्याउने भएको थियो ऊ । पैसाको हुटहुटीले छाडेन । सपना थिए । गाडी किन्ने, काठमाडौँमा घर किन्ने । उसले ती सपना पूरा गर्दै थियो क्रमशः । उसलाई बैङ्कले दिएको सहुलियत ऋणले उसले काठमाडौँको गोङ्गबुमा एकतले घर किनेको थियो र अर्को वर्ष यस्तै बैङ्कले कर्मचारीहरूलाई दिने सहुलियत ऋणमा एउटा गाडी किन्ने योजना थियो उसको । ऊ सपनाहरू बेकेर हिँड्न थालेको थियो । राजनीतिका सपनाहरूबाट टाढा-टाढा जाँदै थियो ।

उसले अघिल्लो दिनको काम सिध्याउनु थियो । अथवा ऊ निकै भरपर्दो र पत्यारिलो कर्मचारी भएकाले उसका हाकिमले उसलाई हर समय भन्थे, र अघिल्लो पनि त्यही भनेका थिए हाकिमले उसलाई ‘मनीष, तिमीमा निकै सम्भावना देखिरहेको छु ।’

मनीषले बुझेको पनि थिएन । सम्भावना भनेको धेरै काम गरेर, धेरै ओटी गरेर पैसा धेरै कमाउनु होला !

खानापछि मनीष सडकमा निस्कियो मोटरसाइकल लिएर । सवारीसाधनविनाको सुनसान थियो सडक । सिर्फ मान्छेका कुरूप आवाजहरूले कुरूप बनिरहेको थियो त्यो सडक । आवाजहरूले थिचेको थियो । पहिले गाडीले थिच्ने सडक आज मान्छेका अचेत नाराजुलुस र राँकाले थिचिरहेको थियो । मानिसहरू घरका बरन्डाबाट रित्तो सडक पढिरहेका थिए । चियाइरहेका थिए । अनि रित्तो सडकको उचाल्नै नसक्ने भारी हेरिरहेका थिए ।

फाट्टफुट्ट सञ्चार गृहका र प्रहरीका मात्रै मोटरसाइकल थिए सडकमा ।

‘बन्द रहेछ । आज मज्जा हुने भयो । नो जाम, नो भिड !’ मनीष मनमनै रमाउँदै थियो ।

रमाउँदै केही अगाडि गएपछि बन्दकर्ताहरूको भिड भएको ठाउँमा पुग्यो । ती युवाहरूको जमात थियो । ती युवालाई नेतृत्व गर्ने केही थोरै मात्र वयस्कहरू थिए । ती नेता थिए तर मनीषले कसैलाई चिनेको थिएन ।

उसको स्वतःस्फूर्त मूक्त भएर मोटरसाइकल कुदाउने उत्कण्ठा र हर्षलाई बन्दकर्ताहरूले नुन चुक लगाइदिए ।

‘ए, समात् ! रोक् ! को हो त्यो अटेरी गरेर मोटरसाइकल कुदाउने ?’ जब मनीष हर्षले अघि बढ्दै थियो, एउटा भुसतिघ्रे पसिना काढ्दै करायो ।

‘रोक्, …चुत् !’ अर्को करायो । अनि अरू दश जनाजति दौडिएर आए मनीषतिर ।

‘आज नेपाल बन्द भन्ने थाहा छैन ?’ अर्को चिच्यायो ।

मनीष बन्दकर्ताका महान् कर्महरूको फेहरिस्त पढिरहेको थियो । ती त राता झन्डामा आफ्ना समय, पसिना र नीति विनिमय गरिरहेका थिए ।

‘चाबी तान् न, किन रमिता हेरको केटा हो ?’ अर्को करायो ।

तिनले उसको चाबी लिए, गाली गरे ।

‘तँलाई मोटरसाइकलको मायाँ छैन ? ए, जलाई देओ यसको मोटरसाइकल ! आँखा तरेर पो उभिरहन्छ !’ अर्को गर्जियो ।

‘तिमेरका बाबुको बपौती हो यो र जलाउँछु भन्छौ ? लु जलाएर देखाओ !’ मनीषले कुरा खोल्यो पहिलोपटक हिम्मतका साथ ।

‘ए यो त जब्बर पो रछ त ! टेर्दैन ।’ केही युवाहरू उसलाई मोटरसाइकलबाट तानेर झार्न थाले । यत्तिकैमा निकै ठुलो भिड जम्मा भयो । बन्दविरोधीहरू पनि थपिए ।

‘बन्द गरेर बिजय गर्‍यौँ भन्ने स्वाँठ हो तिमीहरू । जनताका लागि गरिएको राजनीतिले जनतालाई दुःख दिन्छ ? जनाता अस्पताल जान पाएका छैनन् । बाटैमा मर्दै छन् । विद्यार्थीले जाँच दिन हिँडेर जान नसक्ने ठाउँका जाँच गुमाए । एक वर्षको लगानी र समय खेर गयो । मजदुरले काम पाएनन्, आज भोकै छन् कैयौँ मजदुरहरू । आज भोकै छन् सडकसँग मित लगाएर जीविका चलाउने नाङ्ले र अन्य साना पसलेहरू ।’

‘यो नेता पो हुन खोज्दो रहेछ । हान् ।’ भिडबाट आवाज आयो ।

केही केटाहरू मनीषमाथि खनिन खोजे । तर मनीष झनै ठुलो आवाजले कराउन थाल्यो । अरू मोटरसाइकलवालाहरू पनि थपिए र तिनीहरू मनीषको आवाजलाई सघाउन थाले । मनीषको आवाज झनै ठुलो बन्दै गयो ।

‘मान्छे कुटेर, धम्क्याएर सबै कब्जा गरेर शासन गर्न पल्केकाहरू ! यो देश तिमीहरूको बपौती हो ? तिमीहरूको पेवा हो ? हामीले यहाँ बाँच्न नपाउनु ? हिँड्न नपाउनु ? गरिखान नपाउनु ? तिमीहरू पो लुटेर खान पल्केका छौ, हामीले त काम गर्नुपर्छ । अनि परिवार पाल्नुपर्छ । हामीले पनि तिमीहरूले जस्तै चन्दा उठाएर, लुटेर खान थाल्नू भनेको हो ?’

ऊ जङ्गियो । …..करायो । गाली गर्‍यो बन्दकर्ताहरूलाई, दललाई ।

‘बन्द उलङ्घन गरौँ । के हेरिराख्या साथीहरू ? बोलौँ न ! यिनीहरूलाई अराजकता गर्न नदिऔँ, यो बन्द जसले गरेको भए पनि यो जनविरोधी काम हो । जनताले नङ्ग्याउनुपर्छ यी जनविरोधीरूलाई । जसले बन्द गरे पनि मतलब छैन । यी जन हत्यारा हुन् ।’

मनीष कराउँदै गर्दा भिड झन् ठुलो भएर जम्मा भयो । मानिसहरू मनीषका मुखमा हेरिरहेका थिए । उसको रोष, अभिव्यञ्जना र हिम्मतलाई सबैले तारिफ गरिरहेका थिए ।

‘यो देशलाई यस्ता निडर, हिम्मती, जोसिलो, तार्किक, सत्यनिष्ठ र इमानदार युवाको खाँचो छ ।’ भिडबाट एक जना मनीषतिर इङ्गित गर्दै बोल्दै थिए ।

‘सही भन्नुभयो । यस्ता मान्छेले राजनीति गरे पो देश उँभो लाग्छ ! स्वाँठहरूको हातमा छ देश । हामी अभागी जनता । बिचरा यो केटो त कता ब्याङ्कामा जागिरे छ रे । यस्ता असल मान्छे जागिर खान्छन्, अनि यी यस्ता जनविरोधीहरू चाहिँ देशको भण्डार चलाउँछन् ।’ भिडकै अर्काले थप्यो ।

सबै मानिसहरू मनीषको पराक्रमबाट ओतप्रोत भए । ती सबै उसका फ्यान भए । उसले बोलेका हरेक वाक्यमा ताली पड्काउन थाले । उसको अनुहारको ग्लयामरमा समाहित भए ।

‘भाइ, तपाईँलाई स्यालुट गर्छु । यसरी बन्दको विपक्षमा आवाज निकाल्ने हिम्मत कसैले गरेका थिएनन् । स्याबास !’ भिडबाट अर्को बोल्यो ।

पर घरका बरन्डा र छतबाट रमिता हेर्नेको हुल थियो । राजमार्ग शून्याताको आक्रोशसँग संवाद गरिरहेको थियो । चर्को घामले मानिसका ओठ, घाँटी र तालु सुकिरहेका थिए पर क्षितिजमा अरू बन्दकर्ताहरू उफ्रिँदै गरेको देखिन्थ्यो । राता झन्डाहरू यताउता कुदेका देखिन्थे । पुलिसका गाडीको बाक्लो उपस्थिति थियो । सशस्त्र प्रहरीका बन्दुकका त्रासदीको पनि उपस्थिति देखिन्थ्यो ।

रातो घाममा सुकेका ओठहरू ओइलाएका पातहरूको बिम्बमा देखिन्थे बन्दकर्ताहरू ।

‘जनताका लागि भन्न छोडदैनन् तर जनताको अहित हुने काम मात्रै गर्छन् यिनीहरू ।’ भिडबाट अर्को लुइरे आवाज आइरहेको थियो ।

बन्दकर्ताहरू मनीषको कुरा सुन्न चाहिरहेका थिएनन् तर मनीष कराइरहेको थियो एकोहोरो । तिनीहरूलाई पनि मनीषको भनाइलाई काट्ने कुनै तर्क थिएन । ज्ञान थिएन । विषय थिएन । तर ती जबरजस्ती मनीषलाई हप्काइरहेका थिए ।

‘तेरो कुरा सुन्न हामी यहाँ भेला भएका होइनौँ । बकबक नगर । जलाई दे यसको मोटरसाइकल !’ अर्को कराउँदै थियो ।

जब बन्दकर्ताहरू मनीषको मोटरसाइकल जलाउन भनेर अघि बढिरहेका थिए, अरू बन्दकर्ताहरूको एउटा सानो भिड आइपुग्यो । ती बन्दकर्ता केही वयस्क देखिन्थे । अलिक परिपक्व पनि र नयाँ कुरा, त्यसमा केटीहरूको सङ्ख्या पनि थियो । त्यसमा विनीता पनि थिई ।

जव मनीष एकोहोरो पाराले बनदकर्ताको विरुद्ध खनिइरहेको थियो, विनीता मनीषको पछाडि आइपुगेर आफ्ना कार्यकर्ताहरूको भिडलाई निर्देशन दिन थाली –

‘के भयो यहाँ ? किन भिड ? को हो कराउने ? तपाईँहरू सडक खाली गर्नुस् । गाडी निषेध गर्नुस् ।’

‘मेरो मोटरसाइकल जलाए जलाओ, मलाई मार्छौ भने मार । मतलब छैन । साथीहरू कराऔँ । बन्द मुर्दावाद ।’

‘मुर्दावाद, मुर्दावाद !!’ बन्दविरोधीहरू मनीषलाई यसरी साथ दिन थाले ।

‘यो मान्छेले क्षति नै चाहेको हो कि क्या हो !’ विनीता मनीषको पछाडिबाट अगाडिपट्टि गई ।

अनि उसले देखी मनीषको अनुहार ।

अनि मनीषले देख्यो विनीताको अनुहार ।

‘मनीष, तिमी यहाँ यस वेला !’ विनीता असामञ्जस्यमा पर्दै बोली  ।

‘………………..’ मनीषले आफ्नो आवाजलाई निःशब्द पार्ने कोसिस गर्‍यो । उसलाई पहाड आएर थिचेजस्तो भयो । टाउको भारी भयो । वाकवाकी भयो । भनन्न रिँगटा लागेजस्तो भयो ।

ऊ मूर्ति भयो ।

विनीताले मनीषको हात तानी र हात मिलाई ।

ऊ लज्जित महसुस गर्न थाल्यो । हीनताबोध गर्न थाल्यो ।

तथापि तुरुन्तै आफैँलाई नियन्त्रण गर्‍यो । मन बलियो बनायो ।

‘विनीता, आज तिमीहरूको बन्दको कार्यक्रम ?’ मनीषले आश्चर्य मान्दै प्रश्न गर्‍यो  ।

‘हो नि ।’

मनीष मोटरसाइकलबाट उत्रियो । विनीतातिर हेरेर मुस्कुरायो । अघि उसको राता न पिरा भएका गाला शान्त देखिन थाले । ऊ मोटरसाइकलमा फेरि बस्यो ।

‘खै उहाँको चाबी ?’ कसले चाबी लिएको छ ? दिइहाल । उहाँ हाम्रै मान्छे हो । ल, राम्ररी हेर्नू ।’ विनीता आफ्ना बन्दकर्ता  कार्यकर्ताहरूलाई आश्वासान दिँदै थिई ।

हात कमाउँदै एउटा भुस्तेले अघि खोसेको मोटरसाइकलको चाभी दियो मनीषलाई । अनि मनीषले विनीतातिर हेरेरे ठुलो स्वरमा भन्यो, ‘ल, बन्द सफल होस्, विनीताजी । शुभकामना । फेरि भेट्दै गरम्ला । बाइ द वे, मनकामना बैङ्क ।’ विनीतालाई आफ्नो भिजिटिङ कार्ड हातमा थमाएर मनीषले मोटरसाइकल स्टार्ट गर्‍यो । अगाडि हुइँकिँदै गर्दा ऊ मौन चिच्यायो अन्तिम पटक ‘बन्द सफल पारौँ, सफल पारौँ ।’ यति भन्दै मनीष पर क्षितिजमा हुइँकिँदै थियो मोटरसाइकलमा ।

‘थुइया, छेपारे नाठो !’ धेरैका मनमा यही आक्रोश जलिरहेको थियो ।

अघि मनीषको क्रन्तिकारिताको प्रशंसा गर्नेहरू, अनि बन्दको विरोध गर्नेहरू सबै आफैँलाई धिक्कारिरहेका थिए ।