घरमा बिहेको चटारो छ । छरछिमेकका मानिस पनि जम्मा भएका छन् । टपरी गाँस्ने, माला उन्ने काम जोडतोडले भइरहेको छ । कोही-कोही सेलरोटी पकाउनमै व्यस्त छन् । कसार बटार्ने पनि तयारी हुँदै छ । वेला-वेलामा आइमाईहरूको खुसखुस पनि उत्तिकै सुनिन्छ । अरू विवाहमा छिल्लिने अधबैँसे आइमाईहरू पनि यो विवाहमा त्यति मात्तिएका छैनन् । बरु आठौँ आश्चर्य नै हुन लागेझैँ गरी गम्भीर देखिएका छन् । हर्षोल्लासभन्दा बढी कर्तव्यका रूपमा मात्र काम गरिरहेको प्रतीत हुन्छ ।
घरमा सबैभन्दा व्यस्त कोही छ भने त्यो व्यक्ति अनिल नै हुन् । अनिल यसकारण पनि व्यस्त छन् कि यो बिहेको सारा चाँजोपाँजो उनैले मिलाएका हुन् । भाइ सुनिलको अकालमै सडक दुर्घटनामा मृत्यु भएपछि परिवारमा ठुलो वज्रपात पर्न गयो । जवान भाइको मृत्युले अनिलमाथि जिम्मेवारी थपियो । आमाबाबुलाई सम्हाल्नेदेखि भाइको परिवारको जिम्मेवारी पनि उनैमाथि पर्यो । उनका आफ्नै श्रीमती र छोरी त छँदै थिए, अब बुहारी र उसको सानो छोराको पनि सहारा उनी नै बन्न पुगेका थिए ।
भाइ सुनिलको अन्तर्जातीय प्रेमविवाह भएको थियो । उक्त विवाहलाई जब उनीहरूका आफ्नै आमाबाबुले अस्वीकृति जनाए, तब अनिलले नै सबैलाई सम्झाएर राजी गराएका थिए । अनिल परिवारको जेठो छोरा मात्र थिएनन्, परिवारको खम्बा नै थिए । आमाबाबुको भरोसा उनैमाथि थियो । भाइबहिनीका लागि दरिलो अभिभावक उनै थिए । पुस्तान्तरले गर्दा बाबुआमासँग भाइबहिनीको वैचारिक द्वन्द्व हुँदा परिवारमा आइपर्ने समस्या सुल्झाउन सक्ने क्षमता थियो उनमा ।
“दाइ, बिहे त म सुनितासँग मात्रै गर्छु । ऊसँग बिहे गर्न पाइनँ भने घरै छोडेर जान्छु तर उसलाई छोड्न सक्दिनँ ।” सुनिल सधैँ यही भन्ने गर्थे । अनिललाई भाइको इच्छाको विशेष ख्याल थियो ।
ठुलो सङ्घर्षपश्चात् मात्र सुनिलको घरबार भएको थियो । आफूले रोजेकी केटी सुनितासँग विवाह गर्न पाउँछु भन्ने आश मारिसकेको अवस्थामा आफ्ना दाजुले ठुलो भूमिका खेलिदिएका थिए । उक्त कारणले गर्दा सुनिल आफ्ना दाजुप्रति ऋणी भएको कुरा दोहोर्याइरहन्थे । दाजुप्रतिको सम्मान चुलिएको महसुस गर्थे ।
त्यही भाइको मृत्युपछि त झन् उनीमाथिका सबै जिम्मेवारी, आशा भरोसा दोब्बर भएका थिए । सुनिलको तीन वर्षको छोराले बाबा गुमाउँदा उनले नै बाबा बनेर लाडप्यार र स्नेह लुटाएका थिए । बिस्तारै ऊ पनि ठुलो बाबालाई नै पछ्याउन थालेको थियो । सम्बोधन गर्दै जाँदा “ठुलो बाबा” बाट “बाबा” मात्र भन्न थालेको थियो । त्यो अबोध बालकलाई के थाहा आफूले बाबा गुमाइसकेको कुरा ? ऊ त हरदम अनिललाई नै पर्खिरहेको हुन्थ्यो आफ्नै बाबा ठानेर । सुनितालाई भने यो कुरा स्विकार्न एकदमै गाह्रो भइरहेको थियो । छोराले जति-जति जेठाजुलाई पछ्याइरहेको थियो, उसलाई त्यति नै आफ्नो जीवनमा सुनिलको महत्त्वबोध हुन थालेको थियो । छोराको जीवनमा त बाबुको भूमिका सुरु हुनै नपाई अन्त्य भएको रहेछ ।
जेठाजुको पनि आफ्नै परिवार थियो । उनका पनि श्रीमती र छोरी थिए । बढी समय उसको छोरालाई दिँदा उनकै परिवारका पनि विचलन आउन सक्ने प्रबल सम्भावना थियो । यी सबै कुरालाई नजिकबाट अवलोकन गरिरहेकी थिइन् सुनिताले । यही कुराले जेठानी दिदीसँग उसको मनमुटाव नहोस् भन्ने उनको भित्री इच्छा थियो । आफ्नो कारणले जेठाजु र जेठानीको घरझगडा पो पर्ने हो कि भनेर विशेष सतर्क पनि थिइन् ।
भान्छा छुट्टिए पनि उनीहरू एउटै घरको फरक तल्लामा बस्थे भने सासूससुरा गाउँमै । सुनिलको मृत्युपश्चात् अनिलले भाइबुहारीलाई केही कमी नहोस् भनेर विशेष ध्यान पुर्याएका थिए । पहिले नै सुनिलका लागि उसलाई माग्न जाँदा पनि उनका आमाबाबासँग उनलाई सधैँ खुसी राख्ने कसम खाएका थिए । त्यसैले नै उनका आमाबाबा सुनिलसँगको बिहेका लागि राजी भएका थिए । यो कुरा अनिलको दिमागमा जमेर बसेको थियो । नियतिले यति छिटो उनीहरूबिच बिछोड गराउँछ भन्ने कसलाई के थाहा ? उनीहरूको खुसीका लागि उनले गरेका प्रयास सबै खेर गयो । कलिलो उमेरमै उनले सुनिलकी विधवा भएर बाँच्नुपर्यो । लामो जिन्दगीको यात्रा एक्लै तय गर्नुपर्ने कुरा उसको प्रारब्धमै लेखिएको रहेछ । बिच बाटामै छोडेर जाने सहयात्रीको सम्झनामै बाँकी जीवन बाँच्नुपर्ने भइदियो ।
जब-जब अनिल अफिसका लागि निस्कन्थे, छोरालाई बोकेकै हुन्थे, फर्केर आउँदा उसलाई मन पर्ने केही ल्याइदिएकै हुन्थे । आफ्नी छोरी र भाइको छोरामा उनले केही फरक देखेनन्, भेदभाव गरेनन् । उनकी श्रीमतीले पनि कहिल्यै आपत्ति जनाइनन् । उनीहरू दुवैलाई चिन्ता त केवल सुनिलकी विधवाको थियो । सुनिताको नीरस जीवन र एक्लोपन देखेर अनिल आफैँ आहत हुन्थे । उनलाई अघिल्तिर देख्यो की सुनिलको यादले सताउँथ्यो । सुनिलसँगै सुनिताको चमक पनि गायब भएको थियो । यसले उनमा बेचैनी ल्याउँथ्यो । अनि छटपटिन्थे उनी ।
विधवा बुहारी भएकीले जति मायाँ लागे पनि देखाउन मिल्दैनथ्यो । आफूले बहिनीसरह मानेर मायाँ र स्नेह दिए पनि समाजको नजरले त्यसलाई सही मान्दैनथ्यो । ऊसँग नजिक हुँदा, गफ गर्दा पनि हेरिने दृष्टिकोण अर्कै हुन्थ्यो । ऊप्रतिको सहानुभूतिलाई समाजले पचाउन सक्दैनथ्यो । बारम्बार सुनिताकै नाम लिइरहँदा कतिचोटि त उनकै श्रीमतीले पनि शङ्का नगरेकी होइनन् ।
“हैन, तपाईँलाई कति धेरै चिन्ता लागेको उसको ? उसको चिन्ता गरिदिने उसको माइती पनि त छन् नि । उनीहरूले पनि त केही सोचेका होलान् उसका बारेमा । कति तपाईं मात्र उसको नाम जप्नुहुन्छ । अहिले सुनिल बाबुको सट्टा देउरानीको मृत्यु भएको भए तपाईँहरूले नै सुनिलको दोस्रो विवाह सजिलै गरिदिनुहुन्थ्यो । केही तनाव हुने थिएन । नारी भएकाले अल्झिएर बस्नुपरेको छ उसले ।”
आफ्ना कुरा राखेर उनी काममा व्यस्त भइन् । अनिललाई भने समस्याको हल भेटेझैँ भयो । यो सारा समस्याको हल के हुन सक्छ भनेर उनको मनमा कुरा खेलिरहन्थ्यो । उनी चाहन्थे सुनिलको आत्माले पनि शान्ति पाओस् र उसकी बुढीको भविष्य पनि उज्ज्वल होओस् । सही समाधान भने सुझिरहेको थिएन । उनले भित्रभित्रै आफ्नी स्वास्नीप्रति कृतज्ञता व्यक्त गरे ।
यस्तैमा एकदिन उनको भेट विकाससँग हुन पुग्यो । विकासको भर्खरै पारपाचुके भएको थियो । उसले विदेश बसेर कमाएको सबै सम्पत्ति कुम्ल्याएर फरार भएकी बुढीलाई बल्ल-बल्ल भेटेर रकम फिर्ता गराउन सफल भएको रहेछ ऊ । कुरा गर्दै जाँदा त सुनिलकी बुढीसँग कलेजमा पढेको पनि रहेछ । उसलाई सुनिल र उसकी श्रीमतीको बारेमा सबै थाहा रहेछ । यिनै कुराहरू गर्दै जाँदा उनीहरू अभिन्न मित्रझैँ हुँदै गए । घरमा आउजाउ बढ्यो । सुनिलकी श्रीमतीलाई ऊसँग जति सहानुभूति भयो, विकासलाई पनि उसको खोसिएको सिन्दूर देखेर त्यस्तै भयो । साधारण चिनजानबाट बिस्तारै एकअर्काका शुभचिन्तक बन्न पुगे उनीहरू ।
मौका हेरेर विकासलाई सुनितासँग विवाह गर्ने प्रस्ताव राख्ने विचार थियो अनिलको । उनले सही मौका भेटेर प्रस्ताव राखे ।
“तिमी मलाई मेरो भाइ सुनिलजत्तिकै प्रिय छौ । एक्लो जीवन बिताइरहेका छौ । सुनिता र तिमी एकै खालको पीडाबाट गुज्रिएका हौ । म चाहन्छु तिमीहरू दुई एक होऔ । बाँकी जीवन एकअर्कासँग हाँसीखुसी बिताउन के तिमी सुनितासँग बिहे गर्छौ ?”
विकासलाई पनि “के खोज्छस् कानो ? आँखो ।” झैँ भयो । आफ्नो वैवाहिक जीवनको समाप्तिपछि ऊ एक्लिएको थियो । अविवाहित महिलासँग बेमेल विवाह गर्नुभन्दा आफूजस्तै वैवाहिक सम्बन्ध टुटेकी स्त्रीसँग बिहे गर्दा आफ्नो भावनाको सम्मान हुने विकासको धारण थियो । अनिलको प्रस्ताव उसलाई मनासिब लाग्यो । उसले “हुन्छ” भन्ने जवाफ दियो ।
अनिलले सुनितालाई विवाहका लागि मनाउने जिम्मा आफ्नी श्रीमतीलाई दिए । उनको विचार सुनेर उनकी श्रीमती आश्चर्यचकित भइन् । उनले सपनामा पनि सोचेकी थिइनन् कि बर्सौँ सङ्गत गरेको भए पनि उनका श्रीमान्को सोच यति महान् छ भनेर । सधैँ एउटा साधारण व्यक्ति ठानेर व्यवहार गर्दै आएकी थिइन् उनले तर उनी त असाधारण विचारधाराका धनी पो निस्किए । नारीलाई पैतालाको धुलो बराबर मात्र ठान्ने समाजमा उनले आफ्नै विधवा बुहारीको बिहे दान दाइ बनेर आफैँ गरिदिने इच्छा प्रकट गरे । लोग्ने मरेपछि स्वास्नीले उसकै नाममा जीवन बिताइदिनुपर्ने संस्कारलाई उनले चुनौती नै दिए । कता-कता भित्रैदेखि उनलाई आफ्ना श्रीमान्प्रति सम्मान बढेर आयो । उनको श्रीमती हुन पाएकामा उनको छाती गर्वले चौडा भयो ।
यता सुनितालाई भने मनाउनै सकिएन । बार-बार उनले छोराका लागि चिन्ता व्यक्त गरिरहिन् ।
“आफूले नयाँ जीवन सुरु गरेर छोराको भविष्यसँग खेलबाड कसरी गर्न सक्छु म ? विकासका लागि मेरो मनमा सहानुभूति भए पनि सुनिलकै नाममा बाँकी जीवन बिताउने कामना छ मेरो । विकासले मलाई जति मायाँ गरे पनि मेरो छोरा उनलाई आफ्नै रगतजस्तो नलाग्न सक्छ । प्रारब्धले बाबुको वात्सल्यबाट ठगेको मेरो नाबालक छोरालाई जीवनभर फेरि सजाय किन दिऊँ म ?”
सुनिताले आफ्नै छोराको पक्षबाट फैसला लिइन् । विकाससँगको सम्बन्धलाई स्वीकार्न सकिनन् ।
सुनिताको विचार थाहा पाएपछि अनिलले एउटा समाधान निकाले । समाधानभन्दा पनि यो उनको आफ्नै मुटुको आवाज थियो । आफ्नो मृतक भाइप्रतिको समर्पणको एउटा सानो अध्याय थियो । त्यसै पनि सुनिलको छोरा उसको आफ्नै रगत थियो, मायाँ नलाग्ने कुरै थिएन । झन् सुनिलको मृत्युपछि उसले बाबा भन्दै पछ्याएर बिर्सनै नसक्ने बनाइसकेको थियो । त्यो सानो बालकविनाको जीवन त अनिल पनि कल्पना गर्न सक्दैन थिए । एउटी छोरी छँदै थिइन्, अब परिवारमा छोरा पनि थपिने भयो । अनिलले योजना बनाए । सुनितालाई बिहेदान गरेर पठाए पनि छोरा आफैँसित राख्ने । जहिले सुनितालाई छोराको न्यास्रो लाग्छ, तब उनी माइती ठानेर आउन सकिहाल्थिन् । यो प्रस्ताव उनले परिवारसामु राखे ।
प्रस्ताव गज्जबको नै थियो । उनकी श्रीमती र छोरी पनि राजी भए । गाउँमा आमाबाबालाई सुनाउँदा पहिले हिचकिचाए पनि सुनिलको छोरा आफैँसित रहने भएपछि उनीहरू पनि सहमत भए । सुनितालाई सबैले सम्झाए । छोराको तर्फबाट ढुक्क हुन आश्वासन पनि दिए । जिन्दगीभर एक्लो भएर बाँच्न त उनलाई पनि कहाँ मन थियो र ? आफ्नो सुनसान जीवन सम्झेर धेरैचोटि हतास भएकी थिइन् । सबैले सहमति जनाएपछि उनले पनि स्वीकृति जनाइन् नयाँ जीवनमा प्रवेश गर्न ।
आफ्नो घरपरिवारलाई मात्र सम्झाएर परिवर्तन कहाँ सम्भव छ र ? भित्रभित्रै सुटुक्क बिहे गरिदिँदा पछि समाजलाई जवाफ दिँदा-दिँदा वाक्क भइन्छ भन्ने पूर्वानुमान थियो अनिललाई । त्यसमाथि उनी आफ्नो गाउँको शिक्षित अनि टाठोबाठो व्यक्तिमा गनिन्थे । उनका कदमलाई सबैले सम्मान गर्थे । भाइ सुनिलको अन्तर्जातीय विवाह गरिदिएर उनले गाउँसमाजमा गहिरो छाप छोडिदिएका थिए । अबको उनको कदम त झनै क्रान्तिकारी हुनेवाला थियो । सबै कुरा मध्यनजर गरेर उनले काठमाडौँबाट होइन गाउँबाटै सुनिता र विकासको विवाह गरिदिने निर्णय गरे ।
फलस्वरूप आज गाउँसमाजका सबै अनिलको घरमा जम्मा भएका छन् । धेरैलाई यो कुरा मन परे पनि कतिका भने भतभत मन पोलेको छ । भन्न केही नसके पनि विवाह संस्कारमा साथ चाहिँ दिएका छन् । कतिले अनिलको यो साहसिक कामको मुक्तकण्ठले स्वागत गरेका छन् । चलिआएको कुरीति हट्न समय त लाग्छ नै । पहल गर्न जरुरी छ । अनिलले एउटा साहसिक कामको सुरुवात गरिसके । कसैको एक्लो जीवनमा नयाँ अध्याय थपिदिनु त पुण्यकै काम हो । उनले जुनीभरलाई पुग्ने पुण्य कमाइसके । फूल अक्षता लिएर मन्दिरमा घण्टी बजाउँदैमा पुण्य कमाइने अवधारणबाट बच्नुपर्छ आजको पुस्ताले ।
विवाहपछि सुनिता विकासको घर जानेछिन् । नयाँ जीवन सुरु गर्नेछिन् । उनको छोराले बाबु भेटिसकेको छ । उनले पनि औधी मायाँ गर्ने माइती भेटेकी छिन् । जेठाजुको रूपमा दाजु भेटेकी छिन् । उनी खुसी छिन् । गाउँसमाजमा एक-दुई जनालाई चित्त नबुझेर केही फरक पर्ने छैन । ढिलोचाँडो सबैले स्वीकार्न बाध्य हुनेछन् उनीहरू दुवैका दोस्रो विवाहलाई । खुसी हुनुपर्ने त आफू हो । जिन्दगी बारबार कहाँ पाइन्छ र ? चाहने हो भने प्रारब्धमा लेखिएको रहेछ भनेर रोइलो गर्ने समय छैन । सुन्दर परिवर्तन गर्न मिल्ने रहेछ ।
समाजशास्त्रमा स्नातकोत्तर मिरा गोतामेको उपन्यास “निती” प्रकाशित छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।