
“रुनलाई अडिसिन मायालु काँध चाहिएको बेला त्यो काँध नहुनु जतिको पीडा मायालु काँध गुमाउनेहरूलाई थाहा हुन्छ। मजाले रुनलाई पनि कसैको काँध चाहिन्छ । प्राइवेसीको शान्त र सुनसान काखमा बसेर त्यसरी रुनु पाउनु पनि अहोभाग्य नै हो। सबैले कहाँ पाउँछ त्यस्तो अहोभाग्य ! रुवाइपछिको मायालु स्पर्शले असीम सन्तुष्टि दिएको क्षण फेरि फेरि फर्किएर आउँदैन रहेछ।”
शून्य कोठाभित्र बसिरहेको बेला उसलाई यस्तै लाग्छ। तर अचेल त्यसरी रुनै सकेको छैन ऊ । मनको दुखाइपछि बगेको आँसुलाई फेरि सम्झी सम्झी रुन त मन लाग्छ उसलाई। तर अहँ सकेकै छैन रुन अचेल। जीवनसाथी नरेशको असामयिक निधनले ऊ कति मर्माहत भई भने शुद्धिकार्यपछि ऊ ढुङ्गाजस्तो भई। ढुङ्गाको न आँखा हुन्छ न आँसु। कठोरता नै त्यसको शक्ति हुन्छ। ऊ पनि ढुङ्गा जस्तै भइसकी कि कसो ! मनलाई ढुङ्गा बनाउनु नै परेको छ। चार र नौ कक्षामा अध्ययनरत छोरीहरूकै लागि पनि ऊ ढुङ्गा बन्नै परेको छ । तर कहिलेकाहीँ एकान्तमा भने उसलाई भक्कु रुन मन लाग्छ । अहँ, रुन भने सकेको छैन उसले।
कोरोनाको आक्रमणले भयभीत भइरहेको समय छ । लकडाउनले गर्दा जिजीविषा बिचल्लीमा परेको स्थिति छ । पर्यटकहरूको आगमन रोकिएर पर्यटन व्यवसाय ठप्प बराबर छ। कोरोनाको संक्रमणबाट जोगिन घरभित्रै बसेर बैँसालु मीठा क्षणहरूलाई,आकाङ्क्षाहरूलाई,रुचिहरूलाई मनभित्रै दबाएर मार्नुपर्ने अवस्थाको दास बनिरहेको अनुभूति बोकेर भए पनि बाँच्नु नै पर्ने बाध्यता लाग्छ जीवन उसलाई। नरेशको अनुपस्थितिले कति साह्रो टोक्छ भने असह्य भएर ऊ फूलबारीभित्र पसेर फूलका गमलाहरूमा उम्रिएका झारहरू उखेल्न पुग्छे । फूलहरूसित समय काट्ने उसको असफल प्रयासले केही हदसम्म उसका व्यग्रता र दुखाइलाई भुलाएको नै छ। तर राति छोरीहरू निदाएपछि भने उसलाई एक्लोपनको अजिङ्गरले ख्वाप्पै निल्छ र ऊ भित्रभित्रै निस्सासिन्छ । नरेशको देहावसानपछि यसरी निस्सासिएर छटपटिने क्रम चलेको धेरै महिना भइसक्यो । उसको एक्लोपनमा साथ दिने फूलहरू,सब्जीबारी, पुस्तकहरू र उसका कविताहरूमात्र छन्। कवितामा पनि अचेल पहिलेको जस्तै मिठास छैन तर अवसादकै दुखाइको टर्रोपन छ ।

राजु प्रधान “हिमांशु” (खरसाङ)
अँ,साथीहरूले चाहिँ मोबाइल र सामाजिक सञ्जालहरूमा धेरै भुलाउँछन् उसलाई । साथीहरूसित गफिनुले उसको भित्री दुखाइको केही समय चोरे पनि त्यो दुखाइ उसको एकान्तमा मौलिहाल्छ । के गर्ने अब ? अनलाइन एडुकेसनले छोरीहरू भविष्यमा कति सक्षम हुने हुन् ? कोरोनाकालीन लकडाउनले पर्यटन व्यवसाय ठप्प छ । उसको होम स्टेको व्यवसाय पनि ठप्प छ । उत्तरदायित्वले भरिएको सङ्घर्षमय जीवनलाई कति दिन घरभित्र बन्द गरेर राख्नुपर्ने ? रोग संक्रमणको भय,अभाव र अपुगहरूमात्र बोकेर अब सुचारु र सक्रिय हुनु कसरी? जीवन धान्नु कसरी ? खै, कस्तो वेरमाइलो समय आयो यस्तो ? चिन्ताले सताउँछ उसलाई । छोरीहरूसित बसेर टिभी हेर्दा हेर्दै ऊभित्र भित्रै भक्कानिन्छ र टोइलेटभित्र पस्छे । रुन खोज्छे । तर सक्दिन । के भयो हँ उसको आँसुलाई ? दुखेर भित्रभित्रै बग्न खोजे तापनि किन झर्न मान्दैन आँखाबाट ? विगतमा त मन दुख्दा रोएकी हो नि ऊ नरेशको काँधमा शिर राखेर। कहिलेकाहीँ नरेशलाई अँगालेर पनि आँसु चुहाएकै हो नि उसले। तर अचेल रुरु लागे पनि रुनै सकेकी छैन । ऊभित्र व्यग्रताको ज्वालामुखी विस्फोट भएर हो कि आँसुको मुहान नै सुकेको ?
धेरै दिनपछि फोनको घण्टी बज्यो। मोबाइल फोन हत्तपत्त लाग्दैन । नेटवर्क राम्रो छैन । त्यसैले नरेशले ल्याण्डलाइन फोनको कनेक्सन पनि लगाएको थियो । ब्रडब्याण्ड कनेक्सन पनि छ तर पानी पर्यो र बिजुली चम्केर गड्याङगुडुङ गर्यो भने त्यो कनेक्सन कति दिनसम्मलाई कामै नलाग्ने हुन्छ । डिजिटल युगमा नै भए पनि ऊ बसेको इलाकामा मोबाइल फोनको नेटवर्क राम्रो छैन। चारवटा सिमकार्ड लगाएकी छ दुईवटा फोनमा। तर पनि नेटवर्क खोज्दाखोज्दा हुन्छ। कति दिनपछि फोन लाइन बनिएछ र आज ल्याण्डलाइन फोनको घण्टी बज्यो ।
उसले रिसिवर उठाएर बोली-“हलो! भन्नुहोस्”।
“यो हेवेन होम स्टे हो ?” फोनमा एउटा पुरुष आवाजको सोधाइ ।
“हजुर,भन्नुहोस्। ” ऊ बोली ।
“बुक गर्नु छ एक हप्ताका लागि।”
“तर अहिले लकडाउन चल्दै छ। होम स्टे बन्द छ। ”
“त्यो त हो । तर अहिलेलाई होइन। लकडाउनपछिलाई। ”
“ओके । तर अहिले नै बुक गरी राख्नु उचित नहोला कि ?”
“लकडाउन हटेपछि त सिजन सुरु हुन्छ र त्यति बेला रूम नपाइएला नि त ! ”
“होइन। पाइन्छ। अब एक हप्तापछि लकडाउन विषय मिटिङ हुने रहेछ । लकडाउन खोलिएपछि कन्ट्याक्ट गर्नु होला।” यति भनी फोनको रिसिवर राखेर ऊ भन्साकोठातिर लागी।
पन्ध्र दिनका निम्ति गरिएको लकडाउन तन्किएर पाँच महिना भइसकेको थियो । होम स्टे बन्दको बन्द नै थियो । होम स्टेमा काम गर्नेहरूलाई उसले विदा दिइसकेकी थिई । आयबिना कसरी तनखा दिने उनीहरूलाई ? मोबाइल फोनको दुईवटा सिम पनि रिचार्ज गर्न बन्द गरेकी थिई । खर्चहरूमा कटौती गरेर केही रुपियाँ बचत गर्नुपर्ने स्थितिले उसलाई घरी घरी ऐँठन नपारेको होइन।
तल्लो गाउँका ठेकेदार गुरुङलाई कोरोना पोजिटिभ भएको खबर दावाग्नि सरह फैलिएको थियो। आफन्तको मरौमा पुगेर सिलगढ़ीबाट आएपछि ठेकेदार गुरुङ पनि थला परेका थिए । तल्लो गाउँलाई रेड जोन घोषित गरिएको सूचनाले त झन उसलाई भयको दाह्राले टोकिरहेको थियो । छोरीहरूसित घरभित्रै कैद भएर बस्नुबाहेक अरू विकल्प थिएन । उसको होम स्टे चकमन्न थियो । आर्थिक चापको अङ्कुसेले उसलाई बिस्तारै लडाउँदै थियो । कामदामबिना जीवन धान्नु कति कठिन हुँदो रहेछ ? उसले अनुभव गर्न थालेकी थिई त्यो ।
ठेकेदार गुरुङको मृत्युले त झन गाउँमा आतङ्क नै मच्चियो । अति कम परिवारका सदस्यहरूका उपस्थितिमा अन्तिम संस्कार गरियो । घर-आँगन कति चोटि सेनेटाइज्ड गरिए तापनि ठेकेदार गुरुङका घरमा इष्टमित्रका आउजाउ अति कम थियो । ग्राम सुधार समितिका सदस्य भए तापनि ठेकेदार गुरुङका घरमा समितिका पदाधिकारीहरूसम्म जान डराए । त्यसैले पनि ठेकेदार गुरुङका परिवार ग्राम सुधार समितिका पदाधिकारीहरूसित रिसाएका थिए। ऊ पनि गइन । छोरीहरूको चिन्ताले पनि ठेकेदार गुरुङका घरमा ऊ पनि जान डराई। ठेकेदार गुरुङका किरिया सार्वजनिक भवनमा नभएर निजी वासस्थानमा नै भएको थियो । त्यस दिन भने ऊ गएकी थिई सरौ लेखाउन मात्र । तर त्यहाँ ठेकेदार गुरुङका परिवारका सदस्यहरू र ग्राम सुधार समितिका पदाधिकारीवर्गमाझ भएको बहस सुनेर अनि तर्कातर्की देखेर ऊ धेरै खिन्न भएकी थिई। त्यस दिन ग्राम समितिका पदाधिकारीहरू समितिका नियमअनुसार मरौपरौमा समितिबाट दिइनुपर्ने आर्थिक सहयोग प्रदान गर्न त्यहाँ पुगेका थिए। तर ठेकेदार गुरुङका परिवारले त्यो सहयोग लिन मानेनन् । परेको बेलामा समितिका एकजना पनि सदस्य आएर सान्त्वना धरी नपोखेको गुनासो जाहेर गर्दै “अब हामीलाई यस्तो समितिको कुनै सहयोग चाहिएन ।तपाईँहरू यहाँबाट गइहाल्नुहोस् । परेको बेलामा काम नलाग्ने यस्तो समाज ,समिति हामीलाई चाहिँदैन। हामी परिवार र शाखा-सन्तानले नै चौकी धरी बोकेर ओसार्नु पर्छ भने समाज र समितिको के खाँचो? तपाईँहरूले पदाधिकारीको चौकी तताउँदै बसेर मात्र समाज सेवा हुन्छ ? ठूला कुरा नगरे हुन्छ हामी सामु अब। हामीलाई तपाईँहरूबाट केही चाहिँदैन। समितिको सदस्यताबाट हामीले राजीनामा दियौँ भनी सम्झिनू। जानुहोस्” भनेका थिए ठेकेदार गुरुङका परिवारले । सम्झाउने कोसिसमा समितिका पदाधिकारीहरूको हार भएको थियो । कोरोनाको संक्रमणबाट आफूलाई सर्वप्रथम सुरक्षित राख्नुपर्ने बाध्यतामूलक कर्तव्य बुझाउन नसकेर लज्जित भई फर्किन विवश भएका थिए ग्राम सुधार समितिका पदाधिकारीहरू । त्यो देखेर मान्छेले जीवन र मृत्युको सही अर्थ राम्ररी नबुझेर केवल भयको अँध्यारो गुफाभित्र लुक्न बाध्य बन्नुपर्ने स्थितिको शिकारमात्र हुनु परिरहेको उसलाई लाग्यो।आफैलाई पनि भयग्रस्तमात्र हुँदै केही गर्न नसक्ने अपाङ्ग भएको महसुस भयो उसलाई । त्यस दिन उसलाई जीवन अति असहाय,असुरक्षित, खल्लो र खिन्न लाग्यो।
लकडाउन चली नै रहेको थियो । होम स्टे अझै बन्दको बन्दै थियो । वैकल्पिक व्यवसाय उसका निम्ति अर्गेनिक सब्जी बेच्नुबाहेक अरू थिएन । बारीमा भएका सब्जीहरू सप्रिएका थिए । तर हिजो रातिको घटनाले भने ऊ अति उदास र हताश भएकी थिई । सप्रिएका सब्जीहरू सखाप पारिदिए बँदेलहरूले उधिनिएर । बिक्री गर्नलाई भोलि नत्र पर्सि सब्जीहरू बारीबाट टिप्नुपर्छ भनेर सुतेकी ऊ भोलिपल्ट बारीको अस्तव्यस्त अवस्था देखेर खुत्रुक्क भएकी थिई। थचक्क भुईँमा बसेर दुवै हात टाउकोमा राखेकी थिई । तप्प तप्प आँसु भुईँमा खसेको थियो । उसको मेहनत सबै नष्ट पारिदिएका थिए बँदेलहरूले। तर यसपल्ट भने उसका आँखाबाट आँसु चुहेको थियो तप्प तप्प दुई थोपा। भक्कानिएर मन आँसु अविराम बग्नुपर्ने तर त्यसरी बगेको थिएन। कता कता दुखेर नै त होला खसेका थिए दुई थोपा आँसु ।
कोठाभित्र पसेर चौकीमा बसी घोरिरहेकी थिई ऊ । सुर्ताहरू बिस्तारै उसको मनमा उम्रिदै थिए। लकडाउन चलिरहेको बेलामा सानो खतिले पनि धेरै सताएको उसलाई अनुभव भयो । आज उसलाई नरेशको भक्कु याद आयो । ताकमा राखिएका पुस्तकहरूमाथि उसका आँखाहरू अड़िए । गार्डिनिङ गर्न सिकाउने पुस्तकहरूले उसको याद तिख्रियो। इजेलियामा हाल्नु भनेर नरेशले दस बजी रातिसम्म जङ्गली मल एउटा ठूलो कराहीमा भुटेको झलझली याद आयो । कति स्याहार्थ्यो फूल नरेशले ! बारीमा सब्जीहरू पनि कति फलाउँथ्यो ! पुस्तक पढी पढी फूलहरू,सब्जीहरू रोप्ने नरेशका दुई हातहरूको न्यानो स्पर्शले उसलाई कति साह्रो सुरक्षित अनुभव हुन्थ्यो भने जस्तै विपद आइपरे पनि नरेशको हात समात्न पाए उसलाई सन्चो र ढुक्क हुने गर्थ्यो । आज ती हातहरूको अनुपस्थिति पनि भक्कु याद आइरहेको थियो उसलाई । भोलिका दिनहरू सम्झेर सुर्ताहरू पनि भक्कु उफ्रिरहेका थिए उसको छातीभित्र। उसका आँखाहरूबाट भने खसिरहेका थिए आँसुहरू तप्प तप्प ।
उसले निदाइरहेका छोरीहरूलाई हेरी र सोची-“धुम्मिएको आकाश भोलि त निलो भएर उघ्रिन्छ होला। तर यिनीहरूको बिहेपछि मेरो आकाश चैँ धुम्मिएर कति एकलो हुन्छ होला ?”
सोचाइहरूले घोचिरहेका थिए उसलाई। ऊभित्रको अदेख अवसादले उसलाई बेस्मारी टोकिरहेको थियो । मनभित्र बह उर्लिएर उसको गह रसिएको थियो । गोरो गालाको राजमार्ग भएर आज भने आँसुहरू बगिरहेका थिए। रातभरि छटपटिएर बिहानीपख निदाई ऊ ।
निद्रामै ऊ बोलिरहेकी थिई-“धुम्मिएको आकाश भोलि त उघ्रिन्छ होला !”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

