ह्वाङ् .. ह्वाङ् खाली भएको कोठाबाट उसले प्लास्टिको बाल्टी उचाल्छ अनि आफूसितै लिएर गाडीमा राखिएको समानहरूबिच घुसार्छ । त्यो ह्वाङ् ह्वाङ् खाली भएको कोठालाई उसले एकपल्ट ट्वाल्ल हेर्छ । अहो, कति मायालाग्दो । यस्तो लाग्छ त्यस कोठा, कुनै निर्जीव वस्तु नभएर एक सानो नानीजस्तो ताते गर्दै उसैतिर आउँदै छ । उसले आफ्नो बाबालाई कतै नगइदिन पुकार्दै छ । एक अदृश्य कुनै चुम्बकले फेरि त्यही पुरानै कोठातिर नै उसलाई फेरि तानिरहेको जस्तो उसलाई आभास हुन्छ । एक्किसी उसको खुट्टाको पैतालाहरू हिँड्न मानेनन्, उसको आँखाले त्यो खाली ह्वाङ् ह्वाङ् भएको कोठालाई छोड्न मानेन ।

“यो मान्छे कता हरायो ?” गाडीको हर्न बज्दा र उसकी स्वास्नीले कराउँदा पो ऊ झसङ्ग हुन पुग्छ ।

गाडीमा ऊ पनि हत्तपत्त कोच्चिन पुग्छ । यता नानीहरू भने रमाइरहेका हुन्छन् । “मम्मी ! घर सर्नु कति मज्जा पो आउँदो रहेछ नि, ब्रुम ब्रुम… ।” उसको आठ बर्से छोरा गाडीको खिड्कीबाट बाहिर हेर्दै, उफ्रिरहेको हुन्छ ।

नानीहरूको हर्कत देखेर आमा चाहिँले तिनीहरूलाई हकार्छिन्- “चुप लागाओ तिमीहरू । आफूलाई कस्तो छ, तिमीहरूलाई चाहिँ मज्जा ।”

गाडी अलिक उकालो लाग्छ धुवाँ छोड्दै । ड्राइभरले निकै जमाएर गियर चेन्ज गर्छ उकालो चढ्न । देउराली बजार हुँदै रतनहरू पार हुन्छन् । थुप्रै ससानो गाडीहरू पनि दगुरिरहेका छन् । गाडी कुदेको र हर्नको आवाज र भिडभाड भए पनि रतन र उसकी स्वास्नी दुवै चुपचाप गाडीको अघिको सिसाबाट देखिने बाटो मात्र हेरिरहेका छन् चकमन्न भएर । उनीहरूको कानमा कुनै ठेपी लगाइएको छ उनीहरूलाई यस्तो महसुस भइरहेको छ । चुपचाप ।

डीबी राई

रतन आफू कता बिलाएछ, कता । उसलाई थाहै भएन । यस बेला उसले आफ्नो दौँतारी हर्कवीरलाई नै सम्झिरहेको हुन्छ । सिप्सु भुटानको त्यो लटरम्म सुन्तला फल्ने बारी, गाईबाख्राले भरिभराउ गाइगोठ । प्रशस्त खेती हुने मलिलो बारी । सबै छोडेर कुनै रात हर्कवीर ज्यान जोगाउँदै आफ्नो परिवार मात्र लिएर शरणार्थी हुन माई नदीको किनारमा जानुपरेको थियो । हर्कवीर अहिले अमेरिकामा पुगेको छ । त्यहाँ उसको बन्दोबस्त राम्रै छ । परिवार सबै सकुशल नै छ तर पनि हर्कवीर बारम्बार भोटाङको कुरा गर्न थाक्दैनन् । त्यो झमझमी धान फल्ने बारीको मोलभन्दा दोब्बर पैसा उसले अमेरिकामा नै कमाइसकेको छ । उसको डाँडाको गारो लगाएको घरभन्दा राम्रो मेनसन अमेरिकामा नै किनेको छ तर पनि हर्कवीरले आफ्नै भोटाङलाई सम्झिरहेको हुन्छ ।

हर्कवीरलाई जस्तो रतनलाई यस्तो घर छोड्नुको दुखाइको आभास भएको थिएन । किनभने रतन भारतीय नागरिक थिए, भारतमा नै सबै घर जगा जमिन भएको तर हर्कवीर र रतन भने भारतकै कुनै एक स्कुलमा सँगै अध्ययन गरेका थिए । उनीहरू दौँतरी र क्लासमेट थिए । विद्यार्थीकालमा हर्कवीरहरू शरणार्थी भएको उसले देखेको थियो तर आफूले यसरी घर छोडेको दुःख भोगेको थिएन । बिस्तारै हर्कवीरहरू जब अमेरिकामा पुग्यो, रतनलाई पनि खुबै डाहा भयो । काश म पनि अमेरिका जान पाएको भएँ । त्यस सात समुद्रपारिको देश; सपनाको देश । कति रङ्गीचङ्गी होला । सिनिक्कै परेको सडक, सुन्दर अट्टालिकाहरू । चिल्ला-चिल्ला सभ्य मानिसहरू । रतनलाई पनि यसको चाहना थियो तर ऊ शरणार्थी थिएन । त्यसैले उसले यो मौका पाएन भनौँ ।

समय बित्दै गयो । रतन पनि ग्र्याजुएट भयो । नोकरीको खोजीमा ऊ सिक्किम आइपुग्यो । अहिले परिवारसित रतन गान्तोकमा नै सानोतिनो जागिरमा छ । भाडाको घरमा उसले आफ्नो परिवार लिएर बसेको छ । त्यस घरमा ऊ बसेको दस वर्ष बेँसी भयो तर अचानक एक दिन घरमालिकले उनीहरूलाई घर छाड्न भन्छन् । सायद उनीहरूको परिवारमा बटवारा होलान् । यस्तोमा उनीहरूले तत्कालै घर छोड्नुपऱ्यो ।

उसकी पत्नीले रोपेको फूलहरू, उसको छोरीले कोरेका चित्रहरू जुन भित्तामा टाँगिएका थिए ती चित्रहरू, उसको छोरा खेल्ने सानो ठाउँ भए पनि त्यसो कोठा, सबै उसले छोडेर जानुपर्दै छ ।

बहालमा बसेको घरसित यति गहिरो सम्बन्ध हुँदो रहेछ भने हर्कवीर त आफू जन्मेको गाउँ थियो, त्यो सिप्सु भोटाङ । ऊ सानोमा गुच्छा खेलको ठाउँ । सानोमा खाली खुट्टा हिँडेको गाउँ । उसको आमाले उसलाई दुध खुवाएको ठाउँ । आमाको ममता पाएको त्यो गाउँ । “हैट् । कसरी भुल्न सक्दो होला हर्कवीरले” रतन झसङ्ग हुन्छ ।

यो मान्छे सुत्यो की के हो ? उसकी स्वास्नीले झकझकाउँदा पो रतन झस्किन्छ । नानीहरू, अघि नै तँछाडमछाड गरेर निस्किसकेका हुन्छन् गाडीबाट । गाडीबाट कुल्लीहरू समान अनलोड गर्न व्यस्त छन् तर रतनलाई हर्कवीरको ह्याङ ओभर सकिएको छैन । घरिघरि हर्कवीरको अनुहार आइरहेको हुन्छ ।

कोठा अलसतलस छ । सामानहरू यत्रतत्र मिलाउन बाँकी नै छ । रात छिप्पिसकेको छ । नानीहरू सुतिसके । रतन र हर्कवीरबिच म्यासेन्जर च्याटिङ लगातार चलिरहेको हुन्छ ।

“अब भोटाङ आउँदैनस् ?”

“त्यस्तो प्रोग्राम त छैन । तर एउटा बुक भने निकाल्दै छु भोटाङबारे ।”

“आज म पनि शरणार्थी नै भएँ ।”

“किन ?”

“घरको सिफ्टिङ ।”

“ए हो । धैत्, त्यतिमा नै शरणार्थी भइस् । ”

“होइन, नोस्टाल्जिक भएँ तलाई लिएर । ”

“हा..हा । कस्तो हुँदो रहेछ त । सानो कोठा सिफ्टिङमा त तँलाई त्यति गाह्रो । हामी त देश छोडेका छौँ तर मनले त्यो देश छोडेको छैन । हाम्रो कुनै न कुनै जेनेरेसनले त्यहाँ आवाज उठाउनेछ । त्यो बुक त्यसैका लागि हो ।”

“खन्द्राङ्ग… ।” टेबलबाट स्टिलको गिलाँस झरिपठाउँछ रतनको कुहिनाले लागेर । कोठा नै उचालिन्छ ।

छेउ सुतेकी स्वास्नीले रतनलाई फेरि हकार्छिन् ।

“हन, यो मान्छे रातभरि लाटकोसेरोजस्तो बस्ने हो कि के हो? आफू पनि नसुत्ने, अरूलाई पनि सुत्न नदिने । ”

“गुड नाइट । ” हर्कवीरको म्यासेज देख्छ रतनले । रतनले पनि “जीएन” लेखेर नेट अफ गर्छ । अनि हतारसाथ ओछ्यानमा घुस्रिन पुग्छ ।