मिन्ट फेभरको हुक्का तम्तयार छ उनीहरूको अघि । क्यारमदाना गोलो क्वायल तम्तयार छ भिड्नका लागि । आकर्षक ऱ्यापिङ पेपरले छोपेको सुर्तीका टुक्राहरू मिन्ट फेचरमा स्वादिलो बनेको छ । लाइटर लगाउनासाथ चट्ट आवाजमा सल्किन्छ क्वायल । यस्तो लाग्छ तातोको स्पर्शमा सकिँदै जाने सुर्ती जलेरै मात्रै पहिचान बनाउँछ । उसलाई जल्नु र सकिनुमा कुनै सवाल छैन ।

हुक्का जोडिएको नली कलात्मक पाराले बेरिएको छ । क्वाइल, सुर्ती र नलीबिच विशेष खालको सम्बन्ध छ, जुन विना एकअर्को अपुरो, अधुरा छन् । यस्तै अट्याजमेन्ट छ हुक्काछेउ बसेका दुई जीवनबिच । जुन अव्यक्त तर जानकार, अन्जान तर लामो दोस्तीयारीजस्तै । बहुत जटिल दिवानाजस्तै । मिठो, सुरम्य । ओजिलो सम्झना ।

हुक्काको नली कसकास पारेर चेकजाँच गरेपछि उसले नलीको टुप्पो आफ्नो मुखमा लगेर धुवाँ तान्न थाल्यो । मुखभरि थुप्रिएको धुवाँ स्वादिलो पाराले बाहिर हुत्यायो । अनि सकुनको लामो सास घुटुक्क निल्यो । धुवाँको स्वादसँगै उसले सास मात्रै निलेन, चरम सन्तुष्टिको मजा पनि लियो । उसको अनुहारमा आनन्दको रेखा दौडिरहेको थियो । उसको खुसी भरपुर अनुभूत गरी उसले ।

हुक्का तान्ने र फाल्नेबिच केही बेर सुस्तायो ऊ । शिथिल देखिन्थ्यो अलिकति । उसका आँखामा केही रहस्य लुकिरहेझे लाग्थ्यो । केही भन्न खोजेका कुरा, केही भन्न नचाहेका सत्य । तछाडमछाड गर्दै ओठमा सलबलाइरहेथ्यो ।

उसको अनुहारमा विगत चम्किरहेको थियो । दर्द र चोटहरू पोखिइरहेको थियो । आत्मसम्मानका खातिर दौडिएका उसका पाइला पटक-पटक बदनामीको मारमा परेर अड्किरहन्थ्यो । तैपनि उसले हिम्मत हारेको थिएन । ऊ पुनः उठ्थ्यो, सलबलाउँथ्यो । बिस्तारै शिखर चुम्ने गतिमा दौडिरहन्थ्यो ।

अजवी पौड्याल

आँखामा फुलिरहेका थियो एउटा आशा । ओठमा निडर हुनुको परिचय । फिस्स हाँस्थ्यो अनि पुनः हुक्का तान्थ्यो । बेफिक्री तरिकाले धुवाँ उडाइरहन्थ्यो । न खुलेर हाँस्न सक्थ्यो, न आँसु नै चुहाउन सक्थ्यो । आँसु र हाँसोबिचको द्वन्द्वमा कहिले उसले कन्फिडेन्ट डगमगाउँथ्यो त कहिले ओभर कन्फिडेन्ट देखिन्थ्यो । गजबको माहोल छाइरहेको थियो । ऊ केही नबोलेर पनि सबै बुझिरहेकी थिई उसले । केही नभनेर पनि महसुस गरिरहेकी थिई । जे होस् ऊ र उसबिचको यो माहोलले उनीहरू दुईलाई मात्र एकछत्र राज गरिरहेको थियो । बिर्सिएका थिए बाहिरी दुनियाँ ।

गहिरो नजरले दृष्टि फ्याक्यो उनीतिर । निर्बाध उसलाई हेरिरहेकी उनको आँखामा एक फरक खालको भाव छचल्किरहेको थियो । उत्सुकताले भरिएको प्रश्न अनि आनन्द भावको खुसी पनि । पटक-पटक हुक्का तान्ने र धुवाँ उडाउने क्रम चलिरह्यो उसमा । निर्निमेष उसको आँखा नियालिरहेकी उसमा अजिब खालको सन्नाटा देखिन्थ्यो ।

कहिले उसको हातबाटै हुक्काको नली खोसेर सिधै मुखमा हुल्थी उसले त कहिले नली समाउन अभ्यस्त उसका औँलाहरूको छुवाइमा बेग्लै रोमाञ्चकता फिल गर्थी ।

वरिपरि मडारिएको हुक्काको सेतो धुवाँ उनीहरूबिचको दिवार बनेको थियो । मात्रै २ सेन्टिमिटरको दूरीमा फरक-फरक हुन् भन्ने भान हुन्थ्यो । कति वेला आँखाले बोल्थे उनीहरू कति वेला सासैसासले कुरा गर्थे । जे गर्थे स्वतन्त्र जिन्दगीको सुख भोग गरिरहेका थिए । उनीहरूलाई देख्ने हर कोहीलाई यस्तो लाग्थ्यो । दुनियाँ बिर्सियर एक अर्कालाई प्रेम गर्ने भाग्यमानी प्रेमिल जोडी होलान् ।

उसका लागि हुक्काको स्वाद नौलो नभए पनि उसले भने पहिलोपटक धुवाँ तानिरहेकी थिई ।

धुवाँसँगै निल्न खोज्दै थिई मनका पीडाहरू । जिन्दगीका तिता अनुभवहरू । पहिलोपटक हुक्का तान्दा अलमलिएर निसास्सिएकी ऊ यो पटक भने निकै निर्धक्क भएर तान्दै थिई हुक्का । धुवाँको स्वादसँगै घुटुक्क निली उसले विगत पनि । विगतजस्तै नमिठो लाग्यो हुक्काको पहिलो स्वाद पनि । ‘फिल गरेर बिस्तारै तान न’ छेउमै बसेको उसले सम्झायो । ‘एकछिन सब कुरा बिर्स जस्ट हुक्का तान । एक घण्टाका लागि सब छाड । उसले पुनः अनुरोध गऱ्यो ।’ जब असझिन्थ्यो धुवाँ । पानी सारेर दिन्थ्यो उसले । उसको अनुरोधले हिम्मत मिल्यो उसमा । बिस्तारै हुक्कामा अभ्यस्त बन्दै गई ऊ ।

कफी, खाजा खाने सुरमा त्यहाँ छिरेका उनीहरू अकस्मात् हुक्कासँग पनि जोडिए । हुक्काको धुवाँ बन्द कोठाभित्र बाहिर निस्कने बाटाको खोजीमा रुमलिए पनि उनीहरू भने त्यही अडिन खोज्दै थिए । त्यहाँबाट निस्कने बाटो नभए हुन्थ्यो, समय त्यही टक्क अडिए हुन्थ्यो भन्ने चाहन्थे । अव्यक्त उनीहरूको यो चाहत आँखामा प्रस्ट झल्कन्थ्यो ।

धुवाँ तान्दै गरेको हुक्कामा भरिएको पानी छचल्किएको देखि उसले । बडो कलात्मक तरिकाले पानीका अवयवहरू यताउता गरिरहेका थिए । यस्तै उसको मनभित्रको ज्वारभाटा पनि यत्रतत्र छचल्किएको अनुभूति गरी उसले । उकुसमुकुस भएर मनमै मडारियो छालहरू । पुनः हुक्का तानी आँखा बन्द गरेर निकै बेर धुवाँलाई महसुस गरिरही । बसिरहेको परिवेशलाई कुहिरोमण्डल बनाउँदै उडिरहेको धुवाँ नजिकैबाट स्पर्श गरी उसले । यस्तो लाग्यो । खास मभित्रका नमिठा यादहरू यसै गरी उडिदिए हुन्थ्यो । घाँटीमा रमरम गर्दे छिरेको मिन्ट फेभरको सुर्ती फोक्सोसम्मै पुगेर अड्कियो सायद । केही बेर लट्ठ देखिई ऊ । शान्त बनेर हाँसिरहेकी थिई । उमङ्ग महसुस गरिरहेकी थिई ।

अडरको कफी आउँथ्यो । मःमः थियो । बाफ उडाउँदै आयको कफी कति वेला कोल्डमा रूपान्तरण भइसक्यो अनभिज्ञ थिए उनीहरू । आँखाको भाषामा कुरा गर्न हुक्का यथेष्ट थियो ।

न ऊ बोल्थ्यो न उसले नै बोलाउँथी । आवाजमा कुरा नभए पनि आँखाले नै प्रश्न गर्थे र उत्तर पनि दिन्थे । अपोजिट सिटमा बसेको उसले उनको अनुहारमा देखिएको छटपटी हेरिरहेको थियो । धेरै जिम्मेवारी काँध थापेकी उसले वेला-वेला मोबाइलको बटम थिच्थी र समय ख्याल गर्थी । उठ्न खोज्थी । उठ्नु उसको बाध्यता थियो भने यो प्रेमिल समयको स्वाद लिनु रहर अनि चाहत । बाध्यता र रहरको बिचमा ऊ खास मोमेन्ट क्लिक गर्ने धाउन्नमा थिई । त्यो पललाई सम्झनाको ओरिजिनल हार्डडिक्समा कैद गर्ने कोसिसमा थियो ऊ पनि । मोबाइलको क्यामरा खोलेर पोज-पोजको फोटो क्लिक गरिरहेको थियो ऊ ।

समय रोकिँदैन थियो, तेज रफ्तारमा कुदिरहेको थियो । अनि हुक्कामाथिको सल्किएको क्वाइल पनि खरानी बन्दै थियो । सेकेन्ड भन्दा सानो समय सम्झन योग्य बनाउने चाहन्थ्यो ऊ । लामो समयदेखिको प्रतीक्षाको एउटा घडीमा आज घण्टी बजेको थियो । हुक्काको नली लामो भए पनि दुईबिचको दूरी त्यसले टाढा बनाएन । हातभन्दा खुट्टा धेरै, त्योभन्दा धेरै आँखा ठोकिए, मन खोलिएका बोली कमै थिए । सायद हुक्काको बसाइ पहिलो भएर हो कि ?

चुहिन खोजेका आँसु र ओठमा फुलेको मुस्कानको संयोजनमा आर्कषक देखिन्थ्यो ऊ । अद्भुत, अनमोल र मिठासपूर्ण । मेटाउन खोज्दै थियो उसको विगत । सायद बनाउने कोसिसमा थियो सुन्दर कलात्मक नयाँ आकृति उनको मनभित्र ।

वेटरले तेस्रोपटकको ब्ल्याक कफी सर्भ गऱ्यो । साथमा थियो स्टिम चिकन मःमः । मुख खुम्च्यार मःमका डल्ला निलिदिई उसले । मःमको पिस उसलाई पनि जबरजस्त कोचिदिई । मःमको स्वादभन्दा बढी सुखद अनुभूति गरे उनीहरूले सायद । समयले घेरा बनायो उनीहरूबिच । गह्रुँगो मन लिएर पदचापहरू उज्यालोतर्फ मोड्ने सुरसारमा थिए । जलेर नसकिएको हुक्का, स्वाद नभ्याइएको मिन्ट फेभरको सुर्ती टेवलमै विराजमान थिए ।