पुसको अन्तिम दिन । जाडो पनि कति मायाँ गर्छ ? सुटुक्कै मुटुमा पसेर । समय दिउँसाको साढे दुई बजेको हुँदो हो । नेपालगन्जको यात्राका लागि धनगढी चौराहाबाट हाइसमा चढेँ । ढोकानजिकैको सिटभन्दा पछिल्लो सिटमा । हाइस यात्रुले भरियो र अघि भढ्यो गन्तव्यका लागि । मुन्टो बटारेर झ्यालतिर फर्किएँ म । बाहिरी चलपहलको मजा लुट्दै थिए यी नयन । धनगढीलाई छोडेर अघि बढ्दै थियो हाइस । गेटा रोडको नजिक खुल्ला रोडमा गुड्दा ढोकाबाट शिरसिरे बसात भित्रै छिरेर हामीलाई जिस्क्याइरहेको थियो । रोडमा धुलोधुवाँ उड्थ्यो नै तर मेरा यी नाकका दुई प्वालमा नयाँ बास्नाले राज गऱ्यो । निकै समय सुघिरहूँ लाग्यो र मैले दुवै आँखा चिम्म गरेर लामो सास तानेँ । फेरि सास छोड्दै आँखा खोलेँ । मभन्दा अघिल्लो सिटमा भर्खरै यौवन फुल्न सुरु गरेका दुई जना युवती थिए । बतासको वेगले ती युवतीका केश फरफराइरहेका थिए । हो तिनै केशबाट आएको रहेछ क्यारे मिठो बास्ना । तिनका अनुहार कस्ता थिए त्यो त ठम्याउन सकिनँ । पछाडिबाट हेर्दा निकै सुन्दर र लोभलाग्दा जिउ दुवैका । बतासले फिँजारिएर हावामा नाचिरहेका केश मिलाए दुवैले । बास्ना कुन फ्लेवर हो त्यो पनि मलाई छुट्याउनै सकस भयो तर म भने लट्ठै थिएँ । हाइस रोकियो । खलासी भाइ करायो पूर्व, पूर्व…नेपालगन्ज…. । हाइस कति खेर अत्तरिया पुगेछ पत्तै पाइनँ । म त झल्याँस्स पो भएँ । मसँगै सिटको मेरै उमेरको लोग्ने यतै झऱ्यो ।
अब मनमा बढ्यो खुलदुली । मेरो छेउमा कस्तो खालको मान्छे आएर बस्छ ? ह्या…जस्तोसुकै आओस् तर जँड्याहा र सुर्तीजन्य पदार्थ प्रयोग गर्नेबाहेकको जो आएर बसेपनि बेसै छ । मन यस्तै नाना थरी कुरा खेलाउँदै थियो आफ्नै सुरमा । मेरो छेउमा एउटी युवती आएर थचक्क बसिन् । ती युवतीलाई शिरदेखि पाउसम्म नजर कुदाएँ । हलक्क बढेको काँक्राको हरियो बोटजस्ती । गोरो अनुहार, नअग्ली नहोची हेर्दामा ठिक्ककी । उमेरमा बिसकै वरिपरि हुँदी हुन् । हाइस भरियो । फेरि गुड्यो । अघिसम्म अघिल्लो सिटका युवतीको बास्ना अब त आफ्नै छेउको बास्ना । मेरुदण्डलाई सिटमा सोझ्याएर सुतेको भेसमा आँखाबन्द गरेँ । हाइस आफ्नै गतिमा गुडिरहेको थियो । मेरा आँखा बन्द थिए तर म बिउँझै ।
“अङ्कल… हजुर अलि सरेर बस्नू त । मलाई अलि साँघुरो भयो ।” मसँगै बसेकी ती युवती बोलिन् । म केही नबोली अलि सरेजस्तो गरेर हल्लिएँ ।
“भएन अझैँ सर्नू, अलि ठुलो स्वरमा बोलिन् ।”
“ठाउँ नै यस्तै छ नानी कसरी सर्नू त? बरु कहाँसम्म जाने हौ कुन्नि ?” असजिलो मान्दै बोलेको थिएँ ।
“हजुर जहाँसम्म जानुहुन्छ त्यहीँ जान्छु म ।” ती युवती बोलिन् ।
हाइस एकैचोटि चिसापानी पुलमा पुगेर रोकियो । पुल आन्तरिक पर्यटकले भरिएको थियो । पर्यटक पनि भर्खरका युवायुवती धेरै थिए । समयले आफ्नै गति लिएको थियो । अँध्याराले कब्जामा लिँदै थियो उज्यालालाई । चेकपोस्टमा इन्ट्री गरेर हाइस अघि बढ्यो । बर्दिया राष्ट्रिय निकुञ्जभित्रको रोडमा । म र ती युवती गफिँदै थियौँ कसैको मतलब नगरी । मेरो मन भन्दै थियो यही रसिलो फल आजै चाख्न पाए त… । यो पुरुष जातिको त मनै पापी भन्या । रूपमा धपक्क बलेकी, चट्ट जिउडाल मिलेकी कुनै युवती देख्नै नहुने । सायद सुन्दर फूल देखे हतारको भमरा पनि रस नचुसी जान्नुहोला । मेरो एक मनले भन्दै थियो मलाई यिनले अङ्कल नभन्या भए हुने, अर्को मन भन्दै थियो ठिकै हो अब मेरो उमेर नै त्यस्तै छ ।
कुरा गर्दागर्दै हाम्रो मोबाइल नम्बर साटासाट भइसकेको थियो । ती युवतीलाई नाम सोधेँ ज्यान गइजाला भनिनन् । यसै वेला मैले मनमा पाप बोकिहालेँ ।
“आज राति सँगै बस्नुपर्छ ।” उनको कानमा मेरो मुख लगेर फुतफुताएँ । ती युवतीले हुन्छको सङ्केतमा तलमाथि टाउको हल्लाइन् । म त मनमनै गद्गद । कोहलपुर बसपार्कमा हाइस रोकियो । बिजुलीको बत्तीले बसपार्क दिउँसैजस्तो थियो । यातायातका साधनको आवतजावतले र हर्नले एक किसिमको ध्वनि गुञ्जन भइरहेको थियो ।
“यतै झरूँ कि नेपालगन्ज नै जाऊँ?” फेरि कानमा मुख जोडेर बोलेँ ।
“यतै झरौँ न त ।” ती युवती अलि झर्केर बोलिन् ।
“तर म जानुपर्ने त….,”
“तरसर मलाई थाहा छैन सँगैबस्ने भए यतै झरौँ ।” झन् ठुलो स्वरमा बोलिन् । सबैले मेरो मुखमा हेरे । म त लाजले रातो खुर्सानी भएँ । शिर निहुराएर हाइसबाट झरेँ । ती युवती पनि झरिन् । म अघि-अघि ती युवती मेरो पछि-पछि लागिन् । देख्नेजति हामीलाई बाबुछोरीजस्तै देख्दा हुन् । हामी दुवै बसपार्कछेउको होटेलमा छिऱ्यौँ ।
“साहूजी… एउटा कोठा छ हामीलाई ?” होटलको काउन्टरमा उभिएर म बोलेँ ।
“छ हजुर छ । एटेच कि नन् एटेच?” साहूजी आफ्नै काममा व्यस्त हुँदै बोले ।
“भाडा कसरी छ?”
“आठ सय र पाँच सय ।”
“हुन्छ, एटेच रुमकै चाबी दिनुहोस् है ।”
“हुन्छ, सर । पहिला इन्ट्री गर्छु है ।” रजिस्टरको पाना पल्टाएर साहूजी बोले ।
“हस्, मेरो नाम धनरामे, घर बाजुरा । हाल कैलाली ।”
“यी चाहिँ मेरी छोरी ।” मैले छोरी भनेको सुनेर मसँगकी युवतीले पुलुक्क मेरो मुखमा हेरिन् । “सर, थोरै एडभान्स पनि दिनुहोला है ।”
“ए हुन्छ नि ! लिनुहोस् एक हजार ।”
“खाना रेडी छ सर ।” रुपियाँ समात्दै साहूजी बोले ।
“हुन्छ, खाना खाएर जाऔँ भोक पनि लागेको छ ।”
हामी दुवै जना खाना खाएर कोठा गयौँ । मेरो मन निकै काउकुतीले उत्ताउलिएको थियो । कोठामा दुईओटा बेड एकमा मैले र अर्कोमा ती युवतीले झोला राख्यौँ । कोठा निकै चिसो तर सफा र उज्यालो थियो ।
“चिसो निकै बढेको छ । एक्लै सुत्न सकिँदैन होला । हामी सँगै सुतौँ है ?” टिभी खोल्दै बोलेँ म । ती युवती केही बोलिनन् । तिनको मुहारले रङ नै बदलिदियो । युवतीले शिर निहुराइन् । कुराले धेरै प्रयत्न गरेँ फकाउन र मनाउन तर, सकिनँ । म बसेको बेड छोडेर युवतीको छेउमा गएर बसेँ । समय रातिको एघार बजिसकेको थियो । म युवतीको अगाडि सोह्र वर्षको युवक बनिसकेको थिएँ । साँच्चिकै रहेछ क्यारे “तन बुढो भए पनि मन कहिल्यै बुढो नहुने ।” खै आज मलाई के मुड चल्यो-चल्यो आफैँलाई पत्तो छैन । छोरीसमानकी निर्दोष नारीमा मेरो कुदृष्टि पऱ्यो ।
युवती पनि खै किन हो मेरो साथमा छिन् । मैले बिस्तारै तीनको काँधमा हात राखेँ र बोल्न खोजेँ । ती युवती जुरुक्क उठिन् । आँसुले भरिएका ठुला-ठुला आँखाले मलाई हेरिन् । बायाँ हातले दुवै आँखा पुछिन् । ती युवती दायाँ हात मेरो बायाँ गालामा निकै जोडले ठोकियो दुईपटक । मेरो कान नै बन्द भयो । गालो दुखेर हैरान । मैले आँखा चिम्म गरेर गालो मुसारेँ । ती युवतीले रातो प्लास्टिकको पोको मेरो मुखमा फालिन् र घ्वाँ-घ्वाँ गर्दै रुन थालिन् । मैले त केही बुझ्नै सकिनँ । यहाँ के हुँदै छ? र यसपछि के हुन्छ? झमझमाइरहेको गालालाई बायाँ हातले मुसार्दै दायाँ हातले त्यो पोको समाएँ । हतारमा पोको खोलेँ । त्यसबाट दस-बाह्र प्रति पुरानो र सादा कागज भुईँमा खसे यत्रतत्र । मैले एकएक गरेर ती सबै कागज हेरेँ । ती त पुराना फोटा पो रहेछन् । फोटो उठाउँदै हेर्दै गरेँ । फोटोमा म र अर्चना थियौँ । म त ज्युँदै मरेतुल्य । ठुलो रुखबाट खसेर ठाउँको ठाउँ बेहोस । जुन फोटाहारूले मलाई एक्काइस-बाइस वर्षपछाडि फर्कायो । जुन वेला देश अस्तव्यस्त थियो । सरकारले सङ्कटकाल घोषणा गरेको थियो । देशमा जनयुद्ध चलेको थियो । हो त्यही समय हाम्रो मायाँप्रेमले पनि आफ्नै गतिमा युद्ध गरिरहेको थियो । झाँगिँदै थियो मायाँ घिरौँलाको लहराजस्तै ।
त्यो समय बाजुरादेखि धनगढीको दूरी कोसौँ टाढा लाग्थ्यो । सात-आठ दिन हिडेर डोटीको डिपायल पुग्नुपर्ने अनि मात्र बस चढ्नुपर्ने । अहिले त के छ घरको आगनमै गाडी पुग्छन् । कुरो अन्तै मोडियो । एसएलसी पास गरेर म कामसँगै पढ्न झरेको थिएँ पहाडबाट तराईमा । मैले काम पनि पाएँ र पढ्न पनि पाएँ । त्यो पनि घरमै । बिहान इन्टरको कलास दिउँसोदेखि रातिसम्म काम । त्यही समय घरबेटीकी छोरी अर्चनाले मलाई मन पराउन थालिछन् । बिस्तारै हाम्रो हिमचिम बढ्यो । मायाँ बस्यो । भनिन्छ नि “मायाँले जातभात, धनीगरिब, सानोठुलो हेर्दैन । त्यो अन्धो हुन्छ ।” हो यस्तै भयो हाम्रो साथमा । यो कुरा घरबेटीले थाहा पाएर मलाई घरबाट निकालिदिए । मैले इन्टर पास गरेँ । अर्चनाले बिहे गर्ने प्रस्ताव गरेकी थिइन् मैले मानिनँ ।
किनकि म गरिब थिएँ । अर्चना धनीकी छोरी । त्यो वेला अहिलेजस्तो हात-हातमा कसैको फोन थिएन । फोनको नाममा भर्खर बजारमा फाट्टफुट्ट सिधै टेलिकमबाट जोडिएका लेन्डलाइन मात्रै थिए । मैले अर्चनालाई थाहा नै नदिएर बाजुरा फर्किएँ । त्यसपछि हामी सम्पर्कविहीन । गाउँमा पुगेपछि त म बन्दीजस्तै भएँ । एक गाउँबाट अर्को गाउँ जान माओवादीको सत्तासमिति प्रमुखको दस्तखत गरेको चिट्ठा लिएर मात्र जान पाइन्थ्यो । ठाउँ-ठाउँमा लडाइँ भएको समाचार रेडियोमा सुन्न पाइन्थ्यो । मलाई पनि युद्धले तान्यो । म भूमिगत भएँ । म भूमिगत भएको चार महिनामै छापामार बनाइयो करकापमा । माखो मार्न डराउने मैले अब मान्छे मार्न खटिनुपर्ने भयो । छापामारबाट म सिधै प्लाटुन कमान्डर घोषित भएँ । अर्चनालाई बारम्बार सम्झिए पनि नसम्झिएझैँ गरेर हरेक युद्धमा सामेल भएँ । कति मारिए कति मरे भनीसाध्य नै छैन । मैले सेनामै हुँदा जनवादी बिहे गरेर घरबार जोडेँ । मेरै टिमकी कमरेड रेखा तामाङसँग । देशमा शान्ति भयो । सेनासमायोजन भयो । हामी दुवै बुढाबुढीले सेना समायोजनमा नजाने बाटो रोज्यौँ । पाँच-पाँच लाख पहिलो किस्ता झिकेर धनगढी बजारनजिकैको गाउँमा जग्गा किन्यौँ । घर बनायौँ । अहिले एक छोरो एक छोरी र हामी त्यहीँ बस्छौँ ।
मैले सबै फोटा हेरिरहँदा मेरो सातो उड्यो । मुटुले नयाँ गति लिएर धड्किन सुरु गऱ्यो । मैले ती युवतीलाई हेरे अझै रुँदै छिन् । मेरो हातमा खाम आयो । कौतुहलतामा त्यो खाम खोलेर पढेँ ।
मेरो हुन नसकेको प्रिय मान्छे धनरामे । उस्तै मायाँ र चुम्बन । यो अभागिनी अर्चनाको तर्फबाट स्विकार्नू है ।
तिमी जुन वेला काम खोज्दै मेरो घरमा आइपुग्यौ त्यो वेलाको दयालाग्दो धनरामेलाई सम्झिरहेको छु यति वेला । लामो नाकको डाँडीमा सानो र गोरो मुहार, पातलो र अग्लो जिडाल । पुराना कपडामा सजिएको तिमीलाई देख्दा बुबाममीले के सम्झेर काममा राखे म त जान्दिनँ । घरमा खाना पकाउने भाँडाकुँडा धुने र हाम्रा कपडा धुने तिमीलाई त्यसैमा सीमित गर्नु थियो मैले । तिमी पढ्दै गयौ । परिवर्तन हुँदै गयौ । पढाइमा पनि अब्बल थियौ र त म एकलौटी मायाँजालमा परेँ । तिमीले त छोडेर गयौ । मर्नु न बाँच्नुको दोसाँधमा । मैले तिमीलाई बिहे गरौँ भनेको वेला म तिम्रो र मेरो अन्जान मायाँको बिउलाई गर्भमा हुर्काइरहेकी थिएँ । दोष मेरै थियो तैपनि यो मेरो कोखमा हुर्किँदै गरेको बच्चालाई तुहाउन चाहिनँ मैले । किनकि मैले आमा बन्ने पहिलो सौभाग्य पाउँदै थिएँ । समाज, आफन्त र घरपरिवारको डर, धम्की, घृणा र तिरस्कारको भुमरीमा परेर पनि मैले आँखा र कान बन्द गरेर बच्चालाई जन्म दिने एकल निर्णय गरेकी हुँ । तिमी फकिन्छौ भन्ने आशा थियो । फर्किएनौ । मैले छोरीलाई जन्म दिएँ । पालेँ, बढाएँ, पढाएँ तिम्रो नासोलाई । ममीबुबाले मलाई बिस्तारै साथ दिँदै जानुभयो । मैले एक संस्थामा जागिर पाएँ । तिमीलाई खोज्ने प्रयास गर्थेँ तर आँट भएन । यत्रो वर्ष एकल जीवन कसरी बिताएँ अहिले भनेर साध्य छैन ।
जब देशमा शान्ति भयो । दाइभाइ र दिदीबहिनी काटमार गर्ने खेल बन्द भयो । त्यसपछि पहिलोपटक तिमीलाई टेलिभिजनमा अन्तर्वार्ता दिइरहेको देखेँ । तिमी त भूमिगत पो भएछौ । त्यो पनि कमान्डर । त्यति वेला म खुसीले गद्गद भएकी थिएँ । खुसीले मेरा आँखा रसाएका थिए । भेट होस् कि नहोस् धेरै वर्षपछि तिमीलाई टिभीमा देख्दा मलाई जिउने प्रेरणा मिल्यो । थप ऊर्जा मिल्यो । त्यो वेला छोरी पनि पाँच वर्षकी भइसकेकी थिई ।
तिमीलाई भेट्ने धेरै कोसिस गरेँ । कैयौँपटक नजिक गएँ । बोल्न सकिनँ । पछि थाहा भयो तिमीले त बिहे गरिसकेका रहेछौ । त्यसपछि कहिल्यै भेट्न चाहिनँ तर छोरीले मेरो बाबा खै भन्थी । म हैरान हुन्थेँ । छोरीले कर गरेपछि तिमीलाई नभेट्ने सर्तमा तिम्रो बारेमा बेलिबिस्तार लाएँ । आज त्यो समय आएको छ । तिम्रो नासो, मेरी छोरी तिम्रै जिम्मा लगाउने । मैले हरेस खाइसकेँ । अब म धेरै दिन बाँच्दिनँ होला । तिमीसँग भेट नहुन सक्छ । त्यसैले यो पत्र कोरेकी हुँ । नढाँटी भन्ने हो भने मलाई ब्लड क्यान्सर भएको छ । धेरै गरियो उपचार । डाक्टरले पनि मिति दिइसकेका छन् ।
ए! निष्ठुरी धनरामे । छोरी मेरो हैन भनौला कि भनेर पुरानो सबै फोटा र चिनो यही पत्रका साथ दिएकी छु । त्यो समय तिमीसँग जे भयो त्यो काम तिमीबाहेक कसैसँग गरिनँ । कसैसँग शारीरिक तथा यौनसम्बन्ध गाँसेकी छैन कस्सम । विश्वास छैन भने डिएनए परीक्षण गर्दा पनि हुन्छ । मैले जुन दिन तिमीलाई मायाँ गरेँ त्यही दिनबाट आफ्नो पति ठानेँ । धेरै कुरा लेखीसाध्य छैन । छोरीलाई धेरै मायाँ गर्नू । बाबु हुनुको कर्तव्य पूरा गर्नू । यो पत्र जसले तिमीलाई दिनेछ त्यही तिम्री छोरी हुनेछ । हो त्यही छोरी….मायाँ । हस्त कलम बन्द ।
उही तिम्री हुन नसकेकी पत्नी अर्चना ।
मेरा आँखा बर्सिहाले खहरे बनेर । केही बोल्नै सकिनँ । मेरो अगाडि रोइरहेकी मायाँलाई अँगालोमा कसेर रुन थालेँ । मायाँ मेरी छोरी… भन्दै खुब रोएँ । मायाँ पनि रोई ।
“छोरी मामु खै त?”
“हस्पिटलमा ।”
“कताको हस्पिटल?”
“यही मेडिकल कलेजमा ।”
“कस्तो छ अहिले मेरी अर्चनालाई?”
“नाजुक छ अवस्था ड्याडी ।” आँखाको आँसु पुछेर घडीमा हेरेँ । रातिको एक बजिसकेछ ।
“दिउँसो किन भनिनौ त? यी सारा कुरा हाइसमा चढ्दाखेरि भन्न सक्थ्यौ नि छोरी ।” मायाँ केही बोलिनन् ।
“जाऔँ छोरी मामुलाई भेट्नुपर्छ ।” मस्त निद्राको साहूजीलाई ढोका ढकढक्याएर उठाएँ ।
“साहूजी! थोरै सिन्दूर छ कि पाऊँ है ।” साहूजीले केही नबोलेर सेतो कागजमा पोको पारेर सिन्दूर दिए । छोरी मायाँ र मैले मेडिकल हस्पिटलको बाटो ततायौँ ।
इमर्जेन्सीको बेडमा मृत्युलाई पर्खेर बसेकी अर्चनाको निधारमा आएका केशलाई मिलाएर चुम्बन गरेँ मैले । निदाएकी अर्चनाले आँखा खोलिन् । अर्चनाको छटपटी हेर्दा मभन्दा पहिले यमेका दुत आएर लगिदिए हुन्थ्यो भन्ने भान भएको जस्तै लाग्दथ्यो । हात जोडेर धेरै बिलौना गरेँ । क्षमा मागेँ । अर्चना बोल्ने चेष्टा गर्दै थिइन् तर, बोल्न सकिनन्, केवल आँसु मात्रै झारिरहिन् । बेडमा लम्पसार पल्टिएकी अर्चनाको मुखमा अक्सिजन जोडिएको छ । हातमा सलाइनको डोरी । अर्चनाको मुहारले बिस्तारै रङ बदलेको प्रस्ट देखिन्थ्यो । म अवाक् भएँ । मैले हतार-हतार कोटको खल्तीबाट सिन्दूरको पोको झिकेर एक चिम्टी सिन्दुरले अर्चनाको सिउँदो रङ्गाएँ । अर्चना भक्कानिइन् । बुढी मेरी बुढी भन्दै उठाएर अँगालोमा कसेँ । अर्चनाले पनि सकिनसकी अँगालिन् । मलाई अँगालेका अर्चनाका हात एकाएक लुला भए । अर्चनाले प्राण त्यागिन् मेरै अँगालामा । सायद मेरै पर्खाइमा थिइन् आजसम्म । शिरको खाली सिउँदो मेरै हातले भरिनु थियो, भरिदिएँ । मैले मेरी बुढी भनेको बोली सुन्नमा ती कान लामो प्रतीक्षामा थिए । सुनाएँ । प्रतीक्षित कानले पनि कति आनन्द प्राप्त गरे होलान् । बिस-एक्काइस वर्षपछि मैले अँगालामा कस्दा ठुलै भारी चौतारीमा बिसाएझैँ भयो होला । अर्चनाका खुला आँखालाई बन्द गरेर बेडमा बिस्तारै सुताएँ ।
बिहानीले रातलाई चिरेर उज्यालोलाई स्वागत गऱ्यो । रोएका र अनिदोले मायाँ र मेरा आँखा राता भएर उसाएका थिए । भर्खरै पाक्न लागेका पुलमका दानाजस्तै । अर्चनालाई शववाहनमा राख्यौँ । शववाहनले आर्यघाटको बाटो ततायो । एक घण्टाको समयमा शववाहन कर्णाली नदीको छेउमा रोकियो । अर्चनाको पार्थिव शरीरको अन्त्येष्टि गरेर छोरी र म फर्कियौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।