त्यसपछि उनी हराइन् । र बन्द भयो फोटोग्राफरको क्यामेराको लेन्स । अखिर कहाँ गइन् उनी ? उसले निकै खोज्यो । घर अफिस, क्याफे, रेष्टुरा लेखक पुग्ने सबै गल्ली र बाटाहरू । तर उनलाई देख्ने कोही भेटिएनन् । आखिर कहाँ गइन् उनी ? किन गइन् ? कसरी गइन् ? फोटोग्रफरको मनमा अनेक प्रश्नहरू यथावत् थिए । क्यामेरा त उसले बन्दै गरेर राखेको थियो । किनकि उसलाई अब फोटोमा कुनै रुचि हुन छाडेको थियो । हुन त त्यसअघि पनि उसलाई फोटोमा खासै रुचि थिएन । त्यो त उनकै रुचि थियो । फोटोलाई उनी पाटन दरवारजस्तै भविष्यको इतिहास हो भन्ने गर्थिन् । त्यसैले उनको रुचिलाई उसले आफ्नो रुचि सम्झेको थियो । आफूलाई भेटेपछि उनले अरु कसैसँग फोटो खिचाएकी थिइनन्, कारण एउटा यो पनि थियो । यति सब हुदाँहुदै पनि उनी किन हराइन् ? केका लागि हराइन् ? के उनी कुनै किताव लेख्न गएकी हुन ? या अरु नै केही कारण थियो ? सोचेर ऊ आज पनि अचम्म पर्छ ।
त्यो योमरी पूर्णिमाको रात आज पनि उसको आँखाबाट ओझेल परेको छैन । अझै पनि उसलाई लाग्छ कतै मङ्गलहिटीको भर्यांग उक्लेर मणिमण्डपको बिचतिर उनको अनुहार उभिएको होला । या सुन्दरी चोकको ढुङ्गाको खाटमा धम्म परेर बसिरहेकी पनि हुन सक्छिन् यसरी कयौँपटक आफ्नो विभ्रमलाई चिर्न ऊ ती स्थानहरूमा पुग्यो । तर ती स्थानहरूमा उनी कहिल्यै भेटिइनन् । यसरी रात बित्यो कयौँ दिन बिते । पाटन दरवारका गल्लीहरूमा उसका आँखाहरू ओच्छिइन छोडेनन् । तर उनी कुन दुनियाँमा छन् उसले पत्तो पाउन सकेन ।
हरेक वर्ष योमरी पूर्णिमाको रात ऊ पाटन दरवार आइपुग्छ । र खोजिहिँड्छ एक जोड आँखा, सुर्लुक्क परेको नाक, र आफूलाई देखेर खुसीले दङ्ग पर्ने लेखकको त्यही बाटुलो अनुहार । एकाएक गुमनाम भएकी लेखकको अस्तित्वसँग प्रेम गरेर उसले थुप्रै वर्ष बिताइसकेको छ । फेरि पनि उसले उनलाई खोज्न बिर्सिएको छैन ।
आज पनि खोज्दा खोज्दै ऊ थाक्छ र सुस्ताउन आइपुग्छ योगनरेन्द्र मल्लको सालिकअगाडि र सम्झिन्छ केही वर्षअगाडिको त्यही घटना । जहाँबाट उनी गुमनाम भएकी थिइन् ।
त्यस दिन घामको न्यानो ताप्न टाढा टाढादेखि मानिसहरू त्यहाँ आइपुगेका थिए । थर्मस चिया व्यापारीहरूको प्रतिस्पर्धा चलिरहेको थियो ! परेवाहरू भुर्रर उड्दै घरि सङ्ग्रहालयको छानामा त, घरि पाटन परिसरमा डुलिरहेका थिए । घरि मन्दिरका देवल र सालिकका काँधमा बसेर घुरघुर गरिरहेका थिए ।
यता मानिसहरू पनि परेवाभन्दा कम थिएनन् । कृष्ण मन्दिरदेखि भीमसेनस्थान मन्दिरसम्मै ग्रुप र जोडीहरूको कुकुडुघु चलिरहेको थियो । पर्यटकहरूको फोटो सेसन र भिडियो सेसनले दरवार परिसर गुञ्जायमान नै थियो ।
पृष्ठभूमिमा भजन पनि सुनिन्थ्यो । घण्टहरू बजिरहेका थिए । लाग्थ्यो हनुमान, बिच्छी र सिद्धीगणेशको पूजा भइरहेको छ । यही भीडबिचमा थियो फोटोग्राफर र लेखकबिचको आकर्षक प्रेम । प्रेम यस्तो थियो कि दुवैले त्यसलाई भावभित्र बाँचेका थिए । जसरी बाँचेको थियो, हिन्दु र बुद्ध धर्मको प्राचीन सभ्यतालाई सर्लक्कै बोकेको पाटन दरवार । यहाँ शिव र शक्तिको मात्रै पूजा हुँदैनथ्यो, बुद्धका हिनयान, वज्रयान र महायानजस्ता स्परूपको पनि संरक्षण गरिएको थियो ।
झमक्क साँझ पर्यो । उनीहरू नजिकैको एउटा रेष्टुरेन्टमा छिरे । चिसोमा ब्रान्डीको चुस्की लगाउँदै पाटन दरवारमा लहरै बलेका बत्तीहरू निहार्न थाले । उता बत्तीको उज्यालोमा मन्दिरका कलाकृतिहरू झनै सुन्दर देखिदै थिए । यता लेखकको आँखामा फोटोग्राफरले खिचेका चित्रहरू प्राचीन बन्दै थिए । वास्तवमा उनको हृदय एउटा यस्तो प्राचीन मन्दिर थियो जसलाई जति बुझ्न र जान्न खोज्यो उति रहस्यका देवताहरू भेटिन थाल्थे । जसमा उमंगका, उत्साहका, गहिरो उदासीका, या फेरि प्रेममय भावहरूका फरक फरक देवताहरू एउटै थलोमा बास बस्न आइपुग्थे । तिनै केही भावनाका देवताहरूलाई केहीबेर याद गरेर झमक्क साँझ परेपछि उनीहरू रेष्टुराबाट बाहिरिए ।
रेष्टुराबाट बाहिरिएपछि एकपटक फेरि पाटन दरवार घुम्नुपर्ने उनको सधैँको जिद् रहन्थ्यो । फोटोग्राफरको हात समातेर इतिहासका शिलापत्रमा जीवनको रहस्य खोजिहिँड्नु उनको प्रिय रुचि थियो ।
दरवार परिसरमा पुगेपछि फोटोग्राफरका हातका औँलाभित्र आफ्ना औँलाहरू घुसाउदै उनले भनिन् – प्रिय फोटोग्राफर यो युग यसरी नै तिम्रो र मेरो हत्केलाको बिचमा कैद गरिदिउँ न । जसमा पाटन दरवारका इतिहास पनि समेटिन सकोस् ।
फोटो ग्राफर मुस्कुरायो । र भन्यो – हावालाई मुठ्ठीमा कैद गरेर कैद हुन सक्छ र प्रिय लेखक ? फेरि पाटन दरवारको इतिहास किन समेटिनु पर्ने नि ?
– हेर न युगौँदेखि योगनरेन्द्र मल्ल कसरी एक्लै सालिक भएर बसेका छन् । मलाई उनको निकै माया लागेर आयो । त्योबेलाा यिनका सबैभन्दा धेरै रानीहरू थिए रे । आखिरमा उनलाई सबैले छोडेर गएछन् । ढुङ्गाको खाटमा ती रानीहरूसँग उनले कस्तो तन्त्रसंवाद गर्दा हुन् ?
– अहिले पनि उनी कहाँ एक्लै छन् र ! देखिनौ, दैनिक हजारौँ जोडी आँखाहरू उनलाई हेर्न आइपुगेका ।
कुरा गर्दै उनीहरू मूलद्वारमा पुग्छन् । जसको केही अगाडि अटल भएर बसेका थिए राजा योगनरेन्द्र मल्ल । नागले बेरिएर रहेको शिलास्तम्भमा गरुडको आसनमा थियो । त्यसमाथि थियो सुनको चरा । इतिहासकारहरू भन्थे त्यो सुनको चरा उडेर नगएसम्म राजा योगनरेन्द्र मल्लको मृत्यु हुँदैन ।
— महाराज योगनरेन्द्र मल्ल की जय.. स्तम्भ अगाडि पुगेर उनले दुवै हात जोडिन् ।
फोटोग्राफरले फोटो क्लिक्क पारिदियो । त्यसपछि उनीहरू मणिमण्डपतिर लागे । जहाँ थियो शताब्दियौँ पुरानो शिलालेख, प्राचीन कलाकृतिमा सजिएको मङ्गलहिटी, जसलाई योगनरेन्द्र मल्लभन्दा दुई सय वर्ष पुरानो भएको इतिहासकारहरू बताउथे । आर्कषक मङ्गलहिटीमा पुगेर उनले दर्जनौँ फोटो खिचिन् ।
– पन्ध्रैँ शताब्दितिर यो मणिमण्डपमा रहेको मङ्गलहिटीबाट पानीको ठाउँमा मणि झर्थ्यो रे । फोटो खिच्दै गर्दा लेखकले भनिन् ।
– कसले देख्यो होला । अनि कसले लियो होला त्यो मणि ?
– मल्ल राजाहरूले नै लिए होलान् नि । त्यही भएर हो कि योगनरेन्द्र मल्ल अझै जीवित बसेका ।
– यी सबै कुरा इतिहासका कथा हुन् । कथा कति सत्य हो आफैँले छुट्याएर बुझ्नु पर्छ प्रिय । किम्बदन्तीमाथि उनको अति विश्वास फोटोग्राफलाई त्यति चित्त बुझ्थेन ।
त्यसपछि उनीहरू पुन मणिमण्डप उक्लिए । दुईओटै मण्डपमा मानिसहरूको भीड थियो । उनीहरू संग्रालय अगाडि पुगे । जुन कुनैबेला राजा सिद्धिनरसिह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्ललगायतको भव्य दरवार थियो । तर समयको चक्रले अब त्यसलाई मल्लकालका अवशेष राख्ने संग्रालयमा परिणत गरिदिएको थियो ।
इतिहासको रचनागर्भबाट अब उनीहरू मङ्गलबजारतिर तानिन्छन् । दिउँसोमा असाध्यै भीडभाड हुने मङ्गलबजार यितबेला भने अलि खुकुलो भएको थियो । लुगा पसल तरकारी पसल, चिया पसल र अन्य पसलहरू बन्द हुँदै थिए । लगनखेल बसपार्क पुगेपछि उनीहरू फेरि मङ्गलबजार तिरै फर्किए । अब मङ्गलबजारदेखि पाटन दरवार, पाटन दरवारदेखि मणिमण्डव हुँदै शङ्खमूल जोड्ने ऐतिहासिक बागमती पूलसम्म पुग्ने इच्छा लेखकको मनमा उत्पन्न भइसकेको थियो । हातले हातलाई समातेर चालमा चाल मिलाएर उनीहरू शङ्खमूल घाटतिर लागे ।
सडकमा घर फर्किरहेका यात्रुहरू थिए । केही मगन्तेहररु थिए । र थिए तिनै थर्मस बोकेका फिरन्ते चिया व्यापारीहरू । यस्तो लाग्थ्यो रातभर उनीहरू यसरी नै लिटरका लिटर चिया बेच्छन् र बिहानसम्म थुप्रो पैसा जम्मा गर्छन् ।
– अहिलेसम्म कति लिटर चिया बेच्यौ भाइ ? उनले एउटालाई रोकेर सोधिन् ।
– कति लिटर भन्नु ? एकछिन सोचेर टाउको कन्याउदै ऊ बाटो लाग्यो । थर्मस कफी र थर्मस चिया उनीहरूले निकैपटक पिएका थिए । किनकि यो सबैभन्दा सुलभ थियो । छिटो र सजिलो पनि थियो ।
बिस्तारै मगन्तेहरू पनि बाटो लागे । भयो के भने रात परेपछि उनीहरूलाई लिन आउने एउटा भ्यान देखियो । अपाङ्ग देखिने ती मगन्तेहरूलाई एउटै भ्यानले उठाएर लग्यो । सायद यो एउटा दैनिकी थियो । बिहान फेरि त्यही भ्यानले ल्याएर यतै कतै छोडिदिन्थ्यो होला ।
– सायद कुनै गिरोहले सञ्चालन गरेका माग्ने व्यापार होला । फोटोग्राफरले भ्यानमा चढाइदै गरेका माग्नेहरूतिर क्यामेराको लेन्स सोझ्यायो र केही फोटो लियो । यो देखेर उनी अलिबेर मौन भइन् ।
उनी असाध्यै भावुक प्रकृतिकी प्राणी थिइन् । मन्दिरमा खोपिएका कलाकृति हेरेर उनको आँखा रसाउथ्यो । भन्थिन् — के उदेश्य थियो होला यति धेरै मेहनत गर्नुको ? कति पसिना बगाए होलान् ती कलाकारहरूले, एउटा निर्जीव काठलाई युगौँयुगलाई पुग्ने जीवन दिन कहाँ सजिलो थियो होला र ! हेर न फोटोग्रफर, कति धेरै बल र बुद्धि रहेछ उनीहरूसँग जो सिङ्गो ढुङ्गालाई मूर्तिमा परिणत गर्न सक्थे । हामीसँग त त्यस्तो केही छैन जो जीवन्त रहोस् । अथवा इतिहास बनोस् ।
रात छिप्पिदै थियो । सडक र पाटन दरवारका गल्लीहरू सुनसान हुँदै थिए । उनीहरू शङ्खमुल जोड्ने साघुँरो पुलमा पुगे । पुलको बिच भागमा पुगेपछि लेखक टक्क रोकिइन् ।
– अब के भयो ? फोटोग्राफरले सोध्यो ।
– तिमीसँग चुम्बन गर्ने मन भयो । उनले भनिन् ।
– यस्तो सार्वजनिक ठाउँमा ? कसैले हेरिरहेको छ कि भन्दै फोटोग्राफरले दायाँ बायाँ हेर्न थाल्यो ।
– कति सङ्कोची छौ है तिमी ? दायाँ बायाँ हेर्दै गरेको फोटोग्राफरलाई रोकेर उनले एकपटक खुसुक्क चुम्बन गरिन् । त्यसपछि उनीहरू शङ्खमूल घाटमा ओर्लिए, जहाँ केही समयदेखि बडेमानको सेतो शङ्ख धम्म परेर बसीरहेको थियो । कृत्रिम भए पनि पछिल्लो समय त्यस घाटको सौन्दर्य बनेको थियो । घाट सुनसान थियो । मानौ कुनै देहको गहिरो पर्खाइमा थियो ऊ ।
– आज त यहाँ सुनसान रहेछ । सायद हामी आउदै छौँ भनेर हो कि । केहीबेर घाटमा दृष्टि पुर्याएर उनी रोकिइन् ।
– हरेक कुराको आआफ्नै समय हुन्छ नि म्याडम् ! उनको घाट मोहलाई भङ्ग गर्दै फोटोग्रफर शङ्खमुलेश्वर महादेवको मन्दिरतिर मोडियो । शङ्खमुलेश्वर महादेवलाई दर्शन गरेपछि उनीले पुनः कृष्ण मन्दिर जाने कुरा सुनाइन् ।
– फेरि उतै जाने ? लेखकको त्यो हावाको स्पर्श जस्तो चुम्बनले झङ्कृत फोटोग्राफरले सोध्यो ।
– हो उतै जाने, के तिमीलाई मन छैन र ?
– त्यस्तो त होइन । तिमी भएपछि रातभर यसरी नै हिँडिरहन सक्छु म ।
त्यो दिन उनी यति खुसी थिइन् कि उनलाई रोक्ने आँट फोटोग्राफरले गर्न सक्थेन । उनलाई त यतिबेला सडकमा भुकेका कुकुरहरूलाई पनि समातेर माया गरिदिउँ गरिदिऊँ लागेको थियो । उनको यस्तो खुसी देखेर फोटोग्राफर अचम्मित भइरहेको थियो । यो के हुन खोजिरहेको हो ? ऊ छुट्याउन सकिरहेको थिएन । कृष्ण मन्दिर पुगेपछि फेरि उनले शङ्खमुल घाटतिरै लिएर आइन् । अब यो क्रिया रातभर दोहोरिन थाल्यो । नशा धेरै लागेको त होइन फेरि किन यस्तो भइरहेको छ ? उनको यस्तो पागलपन यो पहिलो भने थिएन । कयौँ अनौठा अनुभवहरू उनीहरूले गरिसकेका थिए । सातौँपटक शङ्खमूल घाटमा पुगेपछि लेखकले भनिन् – अब यो ठाउँमा उभिएर तिमीलाई चुम्बन गर्ने समय यही अन्तिम हो फोटोग्राफर !
यो सुनेर फोटोग्रफार झसङ्ग भयो । के भनिरहेकी छ्यौ भन्ने आशयमा उसले उनको आँखामा हेर्यो ।
– फेरि यो ठाउँमा उभिएर तिमीलाई चुम्बन् गर्न कति युग पर्खिनु पर्ने हो ? मलाई नै थाह छैन । आफूलाई हेरिरहेको फोटोग्राफरको अनुहारलाई आफ्ना दुई अँजुलीमा समाहित गरेर लेखकले भनिन् ।
यतिबेला भने फोटोग्राफरले उनका दुवै आँखामा चुम्बन गरिदियो । लेखक मौन भइन् । र उसको आलिङ्गनमा हराइन् । उनीहरूलाई हेरिरहेको चन्द्रमा केही समय बादलको सानो घुम्टोमा लुकेर पुनः उदायो । मानौँ, फोटोग्राफरसँग उसलाई इर्ष्या भइरहेको होस् । त्यसपछि उनीहरू फेरि कृष्ण मन्दिर फर्किए ।
– कति चिसो हो तिम्रो हात ? लेखकले फोटोग्राफरको हातमा आफ्ना औँला घुसाएर दुवै जनाको हाता आफ्नो कोटको खल्तीमा घुसाइन् । यो भावुकताको चरणमा फोटोग्राफर अक्सर मौन बस्थ्यो । लेखक अक्सर बोलिरहन्थिन् । सुरुदेखि नै यही चलिरहेको थियो । उसको मौनताभित्र के छ त्यो छुट्याउन लेखकलाई कहिल्यै रुचि लागेन । न उसको मौनतामाथि उनले कुनै प्रश्न गरिन् । उनलाई लाग्थ्यो, प्रश्न गर्नुपर्ने कुनै कारण नै छैन । भावलाई भाषाको के जरुरत ?
फोटोग्राफरलाई भेटेपछि उनका कोशिकाहरू आफैँ हल्लिन्थे र रसाउथ्यो हृदय । त्यो एउटा विशिष्ठ अनुभूति थियो । विगत एक दशकदेखि यही भइरहेको थियो । मानिसहरू भन्थे, निश्चित समयमा प्रेमको रसायन उत्पादन बन्द हुन्छ । तर उनको हकमा यो लागु भएन । उनी आफैँमा मुग्ध थिइन् । फोटोग्राफरको सुगन्धले नै उनलाई बसीभूत बनाउथ्यो ।
सबै ठाउँमा आत्मालीन हुन सकिन्छ । त्यो दिन पनि उनमा यस्तै इच्छा जाग्रित भएको थियो ।
पूर्णिमाको रातमा तीन नारायणलाई साक्षी राखेर कृष्ण मन्दिरको पटांगिनीमा फोटोग्राफरसँग आत्मालीन हुने रहर उनको मनलाई नियन्त्रण गरेको थियो । यसको अर्को कारण थियो सुन्दरी चोकको सौन्दर्य, जसमा एउटा अत्यन्त कलात्मक ढुङ्गाको खाट थियो । त्यसलाई इतिहासकारहरूले तान्त्रिक खाट भनेका थिए । नजिकै थियो भिभिन्न कलाकृति र मूर्ति जडित तुसाहिटी । सुनको लेपन भएको त्यस तुसाहिटीलाई तान्त्रिक धारो भन्ने गर्थे । त्यही तान्त्रिक धारामा नुहाएर अगाडि रहेको ढुङ्गाको खाटमा राजा योगनरेन्द्रदेव मल्ल जाडोमा लुगा नलगाई सुत्थे रे अनि गर्मीमा पञ्चागिनी तापेर बस्थे रे ।
आहा ! कस्तो शक्ति थियो होला त्यो ? तन्त्रसिद्धीबाट सायद कुनै लौहपुरुष जन्माउन चाहन्थे कि । अब लेखकलाई के चाहियो ? जसरी पनि त्यस खाटमा सुत्नु थियो । अझ भनौँ, फोटोग्राफरसँग आत्मालीन भएर प्रेमको नयाँ इतिहास रच्न मन भएर आयो ।
मध्यरातमा उनीहरू कृष्ण मन्दिरको पटांगिनीमा उक्लिए । दिनभरि यस पटांगिनीमा सयौँ जोडाहरूले विश्राम गरेर गएका थिए । तर यतिबेला पटांगिनी पूरै खालि थियो । उनीहरू आसन जमाएर मुख्य द्वारमा बसे ।
– कृष्णलीला के हाम्रो प्रेमभन्दा कम थियो होला र ? राधा र कृष्णको प्रेमलाई आज पनि पूजा गर्छ समाजले । भनिन्छ, कलियुगमा प्रेमको सृजनकर्ता नै कृष्ण थिए ।
– तर दूर्भाग्य राधा र कृष्णको मिलन कहिल्यै हुन सकेन ।
– त्यसैले त इतिहास कोरियो । सजिलै मिलन भएको भए । आज उनको ठाउँमा रुक्मिणीको कथा जोडिन्थ्यो ।
– मिलन भनेको के हो फोटोग्राफर ? के विवाह नै सही अर्थमा प्रेमको मिलनविन्दु हो र ? के विवाह गरेका सबै पुरुष स्त्रीप्रेमको मिलनविन्दुमा पुगेका छन् र ? त्यसो हो भने किन उनीहरू छोटो समयमा नै विछिप्त छन् ? किन समाजमा प्रेमको रसायन उत्पादन बन्द भइरहेको छ ?
– सायद त्यहाँ आकर्षणको स्वार् मात्रै जीवित छ । अथवा समाजिक बन्धनको कसिलो उपस्थिति ।
– मेरो विचारमा राधा र कृष्णको प्रेम भाष्य होइन भाव हो । भाव अपरिवर्तनिय हुन्छ । परिर्वतन नभएपछि प्रेमको रसायन उत्पादनमा कुनै समस्या हुँदैन । त्यसैले म तिमीसँग होइन, तिम्रा भावहरूसँग मोहित छु फोटोग्राफर ।
उनका यस्ता तर्कहरूलाई फोटोग्राफरले कुनै जवाफ दिँदैन । बरु मग्न भएर उनमै हराइदिन्छ । उनी बोलिरहनु र उसले सुनिरहनुको गज्जब आकर्षण थियो । फोटोग्राफरलाई लाग्थ्यो उनी एउटा अपूर्व प्रेमिका हुन् जसमा कहीँ न कहीँ राधाकै अन्तर्तत्व छापिएको छ ।
– तिमीलाई लाग्छ कि कृष्णका सोह्र सय गोपिनीहरूसँग प्रेम थियो ? लेखकको यस्तो प्रश्नले फोटोग्रफरको मुस्कान फराकिलो हुन्छ ।
– सोह्र सय गोपिनीको कुरा सुनेपछि त तिम्रो पनि हाड हाँस्दो रहेछ त ।
- कसरी सम्भव भयो होला र ? फोटोग्राफरले प्रश्नवाचक जवाफ दियो ।
– त्यो त श्रीकृष्णजीलाई नै सोध्नुपर्छ ।
– यहाँ भएका मूर्तिहरूसँग पनि तिम्रो कुराकानी हुन्छ भने एकपटक सोधन ।
– मूर्तिसँग संवाद हुने भए तान्त्रिक धारो र ढुङ्गेखाटमा योगनरेन्द्र मल्लले के कस्ता हर्कत गर्थे? त्यो चैँ सोध्न हुन्थ्यो ।
कृष्ण मन्दिरको पटांगिनी या सुन्दरी चोकको ढुङ्गेखाट, आत्मीलिनका लागि दुवै स्थान उपयुक्त थिए । तर मन्दिर आत्मालीन हुने कुरा लेखकलाई कता कता अनुचित अनुभव भएर आयो । भगवान्को मन्दिरमा त भगवान्सँग मात्रै आत्मालीन हुन सकिन्छ । बाहिरी पुरुषसँग आत्मालीन हुने कुरा सोच्नु पनि अन्याय हो । यसले त पुरुषहरूकै अस्तित्व सङ्कटमा पर्न सक्छ । यस्तो च्यालेन्ज गर्नु समाजका लागि अत्यन्त घातक सावित हुन सक्छ । कृष्ण मन्दिरको पटांगिनीबाट लेखकको आत्मालीनवाला सपना अब एकाएक बाहिरिन्छ । त्यसपछि उनीहरू त्यहाँबाट उठेर सुन्दरी चोक छिर्ने द्वार नजिक पुग्छन् । त्यहाँ बत्तीको मधुरो उज्यालो छरिएको थियो । नजिकै संग्रालयको रक्षार्थ खटिएका पुलिसको बिट थियो । यस्तो अवस्थामा ढुङ्गाको खाटसम्म कसरी पुग्ने ? फोटोग्राफर यस्तो रिस्क उठाउन मान्दैन । तर लेखकको जिद् झन् बलियो हुन्छ । जसरी तसरी सुन्दरी चोकभित्र छिर्ने उनको लक्ष्यले प्रबल रूप लिन्छ । अन्ततः बिरालोका चालमा उनीहरू सुन्दरी चोकभित्र छिर्छन् ।
जहाँ तुसाहिटीको सुनको धारो टल्किरहेको थियो । धारोलाई एक नजर हेरेर लेखक ढुङ्गाको खाटमा बस्छिन् । तन्त्रसिद्धीको कुरा सुनेको फोटोग्राफर त्यहाँ पनि बस्न डराउँछ ।
लेखकले उसको हात समातेर तान्छिन् । ऊ मन नलागी नलागी तान्त्रिक खाटमा बस्छ ।
– अब एउटा यस्तो फोटो खिच फोटोग्राफर जसले यो कलियुगको आत्मा शान्ति होस् । लेखक फोटोग्राफरको अङ्गालोमा घुर्सिदै भन्छिन् । ऊ तर्सिन्छ र जुरुक्क उठ्छ । लेखकले पुनः उसलाई तानेर ढुङ्गाको खाटमा राख्छिन् ।
– त्यस्तो कसरी सम्भव छ । यो देवताहरू बस्ने ठाउँ हो । यो तान्त्रिक खाट हो भनेको सुनिनौ ?
– त्यही सुनेर त मलाई यस्तो इच्छा भएको । यसमा देवताहरूकै सहमति हुन सक्छ । त्यही भएर त मभित्र यस्तो इच्छा जाग्रित भएको ।
– यस्तो नचाहिने कुरा गर्नु हुँदैन । फोटोग्राफर पुनः उठ्ने प्रयास गर्छ । तर लेखकले उसलाई यसरी अङ्गालेकी कस्छिन् कि ऊ उठ्न सक्दैन ।
– मेरो आँखामा हेर प्रिय, यतिबेला तिमी राजा योगनरेन्द्रदेव मल्ल हौ । र सम्भवतः म उनकी प्रेमिका । त्यसैले तिमी यो कलिको प्यासमा लीन हुन जरुरी छ । किनकि जगतमा भाष्यभन्दा भाव नै सत्य हो ।
– भाष्य र भावबिचको अलङ्कारले समाजको रूपरेखा फेरिँदैन लेखक । त्यो लिच्छिवी र मल्लकाल फेरिन्छ भन्ने उनीहरूले कल्पना गरेका थिए होला र ? हेर, समयले त्योबेला मानिएको तन्त्रशक्तिलाई पनि कसरी प्ररास्त गरिदियो ।
– मलाई रूपरेखा फेर्नु छैन । बस, बाँच्नु छ एउटा जीवन्त वर्तमान र भावात्मक समवेग । त्यसैले अब ढिलो नगर । आऊ ममा समाहित होऊ ।
फोटोग्राफर मौन भयो । सुनको धारामा पानी बगिरको थियो । शताब्दिदेखिका कथाहरू शिलालेखमा मौन थिए । सुन्दरी चोकको बैठक कक्ष सफा र शान्त थियो । चन्द्रमा एकपटक फेरि बादलको घुम्टोभित्र हरायो ।
यही मौका छोपेर फोटोग्रफर लेखकको हृदयमा समाहित भयो । अन्ततः लेखक राजा योगनरेन्द्रदेव मल्लसँग तन्त्र संवाद गर्न सफल भइन् । केहीबेरपछि चन्द्रमा झन् उज्यालो भएर उदायो । त्यही उज्यालोमा लेखकले राजा योगनरेन्द्रदेव मल्ललाई संवाद सकेर मुस्कुराइरहेको देखिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।