हुनेखानेलाई बोकेर टाउकामाथिबाट उडान खेपेको खेपेई गर्ने जहाजलाई मनमाया मात्रै के भन्नु तल भूतलबाट कुखुराले पानी खाँदा आकाश हेरेझैं हेर्थे सबै मानिस कोदो-मकैको मेलो रोकेर । उनका साथीसङ्गी के पुरुष के महिला सबैका चल्दै गरेका कोदाला अडिन्थे ठाडो मुन्टो पार्न ।
“एकपल्ट त तेस खप्परमा नचढी किन मरूँला र” भन्दै जीवनको धोको बनाउँदा हावाजाहज चढ्ने मनमायाले के सोचिन् होला र त्यो उडाउने पनि उनीजस्तै स्वास्नीमान्छे हुन सक्लिन् भनेर । उनले हावाजाहजलाई ‘खप्पर’ भन्नुमा पुग्नेलाई सधैंभरि उडेरै पुग्या छ नहुनेले भने बाँचुन्जेलीमा जम्माजम्मी एकपल्ट चढ्न नि नपाई मरिन बेर नलाग्नुको विभेदमाथिको स्वत:स्फूर्त प्रहार हो भन्ने देखादेखी छ।
“तिम्रा त छोराले पढेका छन् एकदिन चडाइहाल्छन्, हाम्रा पो…” मेवाबोटे कर्किनीले जहाज आँखाको दृष्टिदूरी काटेर गएपछि मेलोमा फर्किदै भन्दा मनमायालाई विश्वास लागोस् पनि कसरी ? भर्खर गुन्द्रुक र चिउराको कुम्लो कसेर पढ्न जिल्ला हिँडेको छोरो ध्रुबेको ।
***
नभन्दै मेवाबोटे कर्किनीले भनेको पन्ध्र वर्षपछि २०६८ सालमा सन्तानको पौरखले डोर्याएर लगिछाड्ने भो मनमायालाई अम्रिका ।
लैनबहादुर र मनमाया खत्रीले ग्रामीण जीवनमा दाँतीनङ्ग्री गरेर छोराछोरी पढाको फल आज सबैले देख्नेगरी पाएका हुन् । जागिर बेपार भन्नु केही थिएन । चारचार जना सन्तानलाई पाखुरी र मुड्कीका बलले उब्जाएर गच्छेवान् बनाउनु पर्ने । निरक्षर मनमाया र साक्षर लैनबहादुरले कति दु:ख गरे भन्ने कुरा उनका गोहोराको छालाजस्ता खस्रा औँला-हत्केला हेरे नै पुग्छ ।
“मनमाया जाने परिन रे अम्रिका…”, “निधारमा चैँ लेखेरै ल्याकी हुन् खत्रिनीले…” यही चर्चा चल्यो पानीपँधेरो, घरगोठ, मेलापात सबैतिर।
“पर्या छैन जानु कसैको अम्रिकान सम्रिकान आफूलाई त, मर्ने बेलामा हरियो काँक्रो” कसैले अमिलो अङ्गुरकै पारामा पनि भने भन्न त।
“के मन लाग्नेबित्तिकै जान पाइहालिने तिनेरको पन्चमी बजार हो र अम्रिका ?” मुखै नखोले पनि मनमायाले मनमनै सेखी झारेकी हुन् आरिस गर्ने जोरीपारीको ।
समाजको ढङ्गशैलीबमोजिम मनमाया खत्रिनी अम्रिका जाने हल्लाले कतिका पित्तपेटमा अम्ल बढ्यो होला, कतिका मनमा मजेत्रो, घडी वा केही अम्रिकन थोक हात पर्ला कि मनमाया फर्किँदा भन्ने आस गढ्यो होला । जेसुकै भए नि देखासिकी गरी खा, आरिसे जति मरी जा, मनमाया उड्ने नै भइन् ।
***
जेठो ध्रुबे जगतकै चम्बू निक्ल्यो भन्थे सबैले सानैदेखि। पढ्नमा नि तिख्खर, बोलेर नि कसैले नजित्ने। कि कोइली चङ्ख हुन्छ कि लैनेको ध्रुबे भन्थे गाउँले।
हुन नि ध्रुबे १३ वर्षको हुँदै उसले ‘ध्रुबे इज ध्रुबे’ भन्ने देखाइसकेको हो। दिउँसो सबै मेलापात गको मौका छोपेर घरमा कोही नभको ठानी मालमत्ता चोर्न आको लुखुरे चोरका पन्जाबाट कुन सड्का उम्केर चोरलाई घरभित्र पारेर बाहिरबाट चुकुल ठोकी छिनभरमा गुहार मारेर चोरका पाता फर्काउन गाउँले भेला पारेदेखि नै ध्रुबे ‘सेलिब्रेटी चङ्खे’मा दरिएको हो छरछिमेकमा। अर्काको छोरो र पो सबैले एकलखे लगाएर ‘ध्रुबे’ भन्छन् त । लैन र मनमायाले छोराको कुरा गर्दा त ‘हाम्रो ध्रुब’ भन्छन् नि ! जस्तै, “हाम्रो ध्रुब नि अम्रिकामा डाक्टर हुने पढ्दै छु भन्छ तर बिरामी चैं नजाँच्ने खालको अरे ।”
यही ध्रुब ५ वर्षदेखि अम्रिका बस्दै छ बिरामी नजाँच्ने डाक्डर नबनी छोड्दिन भन्दै । चम्बू हुनुको नाता बहिनी सिर्जनालाई नि कसोकसो गरेर परारका साल लागि छोड्यो उसले । किसान बाउआमाको छोरो गाउँको ध्रुब आफ्नो विद्या र चतुर्याँइँको प्रभावले काठमाडौँमै घर भएका बाउकी एक्ली छोरी आयुसीसँग गाँठो जोडेको परारका साल । पोहोरकै साल बाबु पनि बन्यो शिशु छोरो आयुषको ।
लैनका जोडीले आफुले जन्माई हुर्काई गरेको आफ्नो जेष्ठ पुत्रको बिहेबारी देख्न पाएनन्। उतै अम्रिकानमै मन परापर गरेर जीवन-सुत्रमा बाँधिएका उनेरु। आधुनिकताका मारे नाति र बुहारीको मुख एकैचोटि हेर्नु पर्ने कर्म खत्रिनीको। लैनेको नाति ध्रुबेको छोरो आयुष। देखाउँछ नामकरणको प्रकृतिले नै हाम्रो समाजको आधुनिकतातिर लम्केको पुस्तान्तर वृत्ति।
उसै त आयुष जन्मेको खबरले लैनबहादुर र मनमायालाई जीवनमा खपिनसक्नुको खुसीले छोपेको त्यसमाथि सात पुस्तामा कसैले नदेखेको अम्रिका जान लागेकी घरबुढी ।
“मने पनि अम्रिका पुगेर नाति हेर्ने भई… कता अक्करमा जन्मेको म कता अम्रिकामा जन्मेको नाति आयुष….अंग्रेजी त बज्याले लट्टे पड्केझैं पड्काउने भो पछि…मेरो रगत…” लैनले नाति जन्मेको खबर सुन्दाका बितिक्कै दलिनतिर टोलाउँदै खेलाएको हो यति कुरा मनमा । त्यही नातिको मुख हेर्न जान लागेकी मनमाया।
हुन त ध्रुबले दुवै जनालाई आउन कर गरेको हो तर घर, वस्तुभाउ, बाली-बारी चटक्कै छोडेर पङ्ख लगाउन कहाँ पाउनु गृहस्थीले।
***
मनमाया चुहाडेका खबतरी बस्नेतकी छोरी । चौध वर्षको उमेरमा ४० वर्षअघि लैनसँग अन्मिएर आए यता उही तीज-तिहार छुस्स माइत पुग्नुबाहेक सधैंको चटारोमा बितेको छ उनको जोवन। घाँसदाउरा, मेलापात, पर्मपैंचो, पाहुनापासा, हाटबजार यिनै हुन् उसले देखेजानेको संसार । उहिले बिहे गरेको दोस्रो बर्ख गाउँका सबै जाने हुँदा लैनले उसलाई नि माइबेनी नुहाउन लगेबाहेक परारका साल पाठेघर दुखेर फत्र्याकफत्र्याक हुँदा मधेसमा जचाउन कान्छा देवर शमशेरका साथ लागेर गएकी हुन् । यति हो उनले देखेको बाहिरी संसार। भगवान्ले दिन आँटे भने धुरी उधारेर खन्याई दिन्छन् भनेको मनमायालाई पुगेको छ। एकैचोटि अम्रिका !
***
जीवनमा एकपल्ट नचडी मर्नु त के उड्दा-उड्दा हारमाने दिकमाने भन्दा नि उडेको उडेई गर्नुपर्ने गरी एक दिन एकरात उडाएर ल्यायो त्यो उडन्तेले मनमायालाई जिउँदै स्वर्गमा । देखिजान्नेका साथ मिलाएर टिकस गरेको ध्रुबले आमाको । त्यही भएर भुइँ छोडेर जहाज उड्दा मनमनै सातो जानुबाहेक, माथि बादलमा जहाज पस्दा गड्याङगुडुङ हल्लिएजस्तो गर्दा उता एक्लै छोडेर आएको आफ्नो प्राणप्यारो खसम लैनलाई सम्झिनुबाहेक उनलाई केही उधुम आतुरी परेन।
घर छोडेको समय बिर्सेर बिरानो हुन्जेलसम्म उड्दा पनि कहिले नपुगिएको भोग्दा एक मन लागेको हो मनमायालाई भेट त होला के नि आफ्ना नानीहरुसँग भन्ने, तर भयो ।
गालामा माक्कमुक्क मासु लागेको रातोपिरो, चिल्लो न चिल्लो छोरो ध्रुब, छँदाखाँदाको कपाल भसक्कै थाईकट काटेर टाउकामा टपरी घोप्ट्याएजस्तो पारेको कपाल र खुट्टे सुरुवालमा देखा परेकी सिउँदोमा सिन्दुर न गलामा पोते कि एक केटी । घर हुँदा खानेबेलामा दैलो थुनेजस्तो सधैं कि फुकिढल सेक मोटाएर दुई वर्षभित्रमै चिन्न नसक्ने गरी जुनी फेरेकी छोरी सिर्जे । कपाल गुन्द्रुकसरि लट्टा पारेकी, हातगोडा गोरा न गोरा सलुकी, फुट्नेगरि कसेको जिन्सको खुट्टेसुराल, आँखामा लाउनुपर्ने चस्मा सिधै टाउकाले लाएर आकाश हेरेजस्तो । र, एउटा गुडाउने गाडामा एउटा पिठोजस्तो सेतो न सेतो खाइलाग्दो बालक । यही हो विमानस्थलमा मनमायाका आँखाअगाडि देखिएका दृश्य ।
मनमायाका आँखाले हर्कका आँसु थाम्न सकेनन्।
***
सधैं घोप्टेर पाउ ढोग्ने ध्रुबले यसपालि ढाड निहुरेला के जस्तो गरेर मनमायाका गोडामात्रै छोयो हातले । मनमायाले ध्रुबले के गर्न खोजेको मेसो नै पाइनन्, मुर्तिवत् उभिइरहिन् । त्यो टपरी टाउके केटीको पालो अब । त्यो सिधैं बढी मनमायातर्फ र जोड्न ल्याई गाला ध्रुबकी आमासँग । सँगै निस्कियो “दर्शन मुमा।” मनमायाले केही बुझिनन् त्यहाँ के हुँदैछ भन्ने । अलिक सर्म लागेजस्तो, अलिक निलोकालो भएजस्तो ट्वाँ परिन् मनमाया । त्यो केटीले गाला जोड्न ल्याउँदा अमेरिकी सुगन्धको कडा हरक मनमायाको नाकभित्र कुद्यो ।
“बुहारी” ध्रुबले चिनायो ।
“बुहारी ?” मनमायाले मनमनै चित् खाइन् । न सिउँदोमा सिन्दुर छ न घाँटीमा पोते छ, लुगा लाउनु छ तेस्तो ! तर, छोराले बुहारी भनेपछि पो बुहारी हुने हो त । सिन्दुरपोते, चुराधागो, फरियाधोती, दण्डवत्-पर्नामले बुहारी चिनिने जमाना नजोगिएको के पत्तो उनलाई । सिर्जनाले आमालाई ढोग्ने लेठो गरिन् । घरमा हुँदा छोरीले आमालाई ढोग्ने, गले लाग्ने कुन चैं संस्कार पो पाएकी हो र अघि सरोस् त ऊ पनि ।
“तेरी भाउजू अरे यो ?” बाटामा आमाछोरी मात्रै पर्दा मनमायाले कानेखुसी गरिन् ।
“के छ त चालामाला ? सिल्सोभाउ कस्तो छ त ? धनीमानीकी छोरी भन्छ, लुगा लगाको के हो तेस्तो, नाककान ठुटइबुटई देख्छु, न सिन्दुर छ टाउकामा न पोते छ घाँटीमा ।” आफ्नो पाराको बुहारीपन केही नदेख्दा आफ्नी बुहारीमा मनमायाले गोप्य परामर्श गरिन् आफ्नी छोरी सिर्जेसँग ।
“चुप लाग्नू, यहाँ यस्तै हो चलन । तपैंलाई चैं खालि नचाहिने कुरा गर्नुपर्ने ।” उसै त बोली पर्न दिन्नथी सिर्जे, उसमाथि आम्रिका आकी ! किन बोल्न दिन्थी आमालाई !
***
भुइँबाट उँभो हेर्दा टाउको तेर्सिने गरिको अग्लो, माथिबाट तल हेर्दा रिङ्गटा छुटाउने अग्लो । पैँतीसतले सुइरोजस्तो ठडिएको ‘बिल्डिङ’को सत्ताइसौं तलामा उकाले मनमायालाई केटाकेटीले । सास हुरुक्क हुनेगरी चढ्नु परेन गगनमा । केके थिचथाच पारे, एउटा कोठाको दैलो उघ्रियो, भित्र पसाए फेरि थिचे । तेसै भाउन्न होला जस्तो, जिउ हल्लिएजस्तो भाको मात्रै थियो मनमायालाई अघि धुरीमा पुर्यायो त्यस कोठाले ।
मनमायाले बार्दलीमा निस्केर तल हेरिन्। पिच्च थुक्नुजस्तो अघिदेखि भइरहेको थियो उनलाई।
“मेरी आम्मा, पताल नै पो देखिँदो रछ त ! केइगरी भुँइचालो आयो भने त हड्डी पनि भेटिदैन मान्छेको ।” मनमायाले एक फेरो सोचिन् र बार्दलीबाट पाताल पुग्नेगरी एकपल्ट पिच्च थुकिन्। सिर्जेले आमाको चालाभित्रबाट नियालिरहेकी थिइछ, फुत्त बाहिर निस्केर थुक्नु हुँदैन भनेर एक सर्को आमाको कक्षा लिइहाली।
“ए थुक्नु नि नहुने ? काँ थुक्नु त थुक्नु पर्यो भने ?” मनमायालाई निक्कै रिस उठेजस्तो बोली निस्कियो उनको ।
“काँ थुक्नु त, मान्छेका टाउकामा परो भने मार्दैनन् ? त्यसमाथि यहाँ कोही पनि पिच्च पिच्च थुक्दैनन् जथाभावी ।” सिर्जेले अम्रिकानेका टाउकामा थुकेर मान्छेका पाली परिने हुनसम्मको डर देखाई आमालाई । आमा निःशब्द भइन् ।
मनमायालाई रातिको अम्रिका देखाउन ध्रुबले फेरि बार्दलीमा निकाल्यो।
“लु हेर्नू, सधैंको दिपावली गरेजस्तो पो हुँदो र छ त ।” मनमायाले परपर आँखा पुर्याउँदै भनिन् ।
खरिदेले मधेस झार्न खेदेका भेडाबाख्राका बथानजस्तो चिप्लेकारका ताँती के राति के दिउँसो । जता हेर्यो विकास नै विकास मात्रै देखिन् आमाले। घर, सडक, बजार, बिजुली, रेल, मोटर सब झिलिमिली छ, खाइलाई केहीको पिर छैन । छाकैजसो सिकार छ भान्सामा, स्याउ, सुन्तला, अङ्गुर, केराको रास घट्ने होइन । खानेथोक पनि कति विधि न नाम जान्नु छ न जिब्राले मान्नु छ । पिज्जा रे, बर्घर कि के जाति रे, मासुका लिङ्ड बटारेका खानेकुरा उति । एक पाइलो हिँड्नु परेन ढोकैमा कारले खसाल्छ । मनमाया छक्कै परिन्। त्यसै मान्छेले अम्रिका जान सास हालेका होइन रछन् भन्ने लाग्न मनमायालाई बेर नै लागेन ।
उनलाई भने उही सेतो चामलको भात र दाल तिहुनबाहेक केही मुख लागेन। धन्न रायो, इस्कुस, मुला, फर्सी, बैगुन, बोडी, सिंबी, भिन्डी, धनियाँ, ज्वानो, मेथी इतिश्री पाइने रछ र आफ्नो खान्की नपाएर मनमायालाई अभर परेन।
***
भोलिपल्टदेखि नै ध्रुब, आयुषी र सिर्जनाको कलपुर्जाजस्तो दैनिकी सुरु भैइगो ।
ध्रुब बिहानै हिँड्छ । पढ्न जाने भन्छ, बेलुका अबेर आउँछ ।
“के छ आमा ?” उसले सोध्ने बोल्ने त्यती हो ।
खुरुक्क लुगा खोलेर धोइपखाली गर्छ अनि त्यही कम्पटर भन्ने खप्परका अघि बस्छ, तेसैसँग बोल्छ, बात मार्छ, हाँस्छ, छक्क पर्छ, नेपालमा एसो भएछ उसो भएछ भन्छ बेलाबेला। कुन धूनले पक्डेका बेला छोरो आयुषलाई बोकेर लोरी खेलाउँछ अनि फेरी यन्त्रबत् उफ्रेर पुगिहाल्छ तेही कम्पटरमा। के लेख्छलेख्छ ध्रुब, दिनरात लेखेको लेखेई गर्छ। उसले चलाउने कम्पटरबाट मूल झरी बिधो भएर बलेंसीको पानी तपतप तपतप झरेजस्तो आवाज एकनासले आइरहन्छ, औंला नाचिरहन्छन् उसका।
बुहारी आयुशी ८ बजेसम्म सुत्छे अनि हतारहतार उठेर एक पेला कफी र एक लुर्को पाउरोटी निलेर निस्किन्छे।
“मुमा बस्सिस्यो है” उसले दिनैपिच्छे भन्ने तेती हो भने हुन्छ। पैले कता तालिम लिन हो न के पढ्न जान्छे रे अनि उतैउतै आफिस गएर राति कुन बेला आएर सुत्छे मनमाया खत्रिनीले थाहै पाउँदिनन्। बुहारीसँग भेट हुने भनेको हरेक २४ घन्टामा बिहान ९ बजेतिर “बस्सिस्यो है मुमा” सुन्न मात्रै हो।
छोरी सिर्जना ९ बजे उठ्छे। उसको काम खाना पकाउनु, आफुले खानु र दाजु भाउजुको भाग त्यो ठण्डी दराजमा राखिदिनु, भदो आयुषलाई खुवाईपियाई गर्नु अनि बेबी सिटरकोमा उसलाई पुर्याउनुअनि “बस्नु है ममी” भन्दै ११ बजे निस्किनु र भरे ९ बजे राति फिर्नु।
छोराछोरीको सधैंको तिरिखिरी, सधैंको चटारो देखेर पहिलेकी ‘आमा’ मात्रै एकाएक ‘आमा’, ‘मुमा’ र ‘मम्मी’ भएकी मनमाया तीन छक्क छिन्।
“मम्मी के गर्नु भो दिनभरि ?” अरु भन्दा सेक छिटो घर फिर्ने सिर्जनाले आमासँग बोल्ने गफ गर्ने थोरै कुरामध्ये मुख्य दैनिक प्रश्न हो यो।
“के गर्नु नि, बसेको बसेइ बसेको बसेइ गरें नि। कतै जाऊँ केही देख्नु जान्नु छैन। तिमेरको अम्रिकामा घरमा जस्तो सिकुवा, आँगन, कोठा, चोटा, छिमेकी, वल्लो घर, पल्लो घर, बारी, कान्ला, गोठ कतै गएर अल्मलिने दिन काट्ने कुरा भएन, यही बस्ने गद्दा र त्यही सुत्ने ओछ्यानलाई धुलिमैदान पारो, यता फर्को उता फर्को हाइ काडो बसो। दिन मरिगए जाँदैन। घरमा कोही छैनन् भनूँ भने छोरा, बुहारी, छोरी, नाति सबै भरिबन्नै छन्, छन् भनूँ कोहीको कसैसँग बातबोली हुनु छैन। उस्तै परे मुख देखादेख त नहुने रछ एउटै कोठामा बस्ने मान्छेको कति दिन! टिभी हेरूँ केही बुझिंदैन, उता जस्तो मेरीबास्सै, हर्के हल्दार, लोकदोहोरी आउने होइन, खोइ के खान पो आएँछु म ता, उता बुबा एक्लै बेंसी, बारी, वस्तुभाउ…” आमाले अम्रिकाको चालामालालाई ननिको मानेझैं गरेर वृतान्त मात्रै लाइनन्, लैनलाई एक्लै छोडेर आएकोमा थक्क थक्क पो गरिन्।
“हि हि हि…” आमाका कुरा सुनेर सिर्जना हाँसी। तर बोल्दा पैसा पर्ने जस्तो केही पनि थपथाप गरेर आमाको मन शान्त पार्नेतिर लागिन ऊ।
“हाँस्छेस् नि तँ, म त छक्कै पर्छु, न घरमा पकाउनु तुल्याउनु सबै बसेर खानु परोस्, कुन बेला खाने, कुन बेला सुत्ने न कुनै टुङ्गो छ, खान पनि एक मुठी पस्केको छैन भो भो भन्छौ, त्यही एउटा पाउरोटी भए पुग्ने रछ तिमेरलाई। यस्तै हो त सबैको ज्यानको अपहत्ते यो अम्रिका?” मनमायाले गर्दागर्दै भसक्कै ओठ लेप्र्याइन् अम्रिकाको तिन न तेरको ऐसोर्जे देखेर।
“हि हि हि…’ सिर्जनाले फेरि शब्दहीन हाँसो थपी।
“मम्मी मेरीबास्सै हेर्ने ? लु आउनु याँ” सिर्जनाले इन्टरनेटमा सहस्र पाइने नेपाली टिभीका कार्यक्रमबाट मेरीबास्सै उधिनेर निकाली।
“मेरी बास्सै…खानु न पिउनु हजुर लुखुरलुखुर हिन्यो….” उही धुन, उही परिचित लय र ताल घन्किदा मनमायाको मन भरङ्गै भो।
“हन आउदो रछ त याँ पनि…”खुसीले पुलकित हुँदै बसिन् मनमाया मेरीबास्सै हेर्न।
त्यो गाउँघर, त्यो भाषाभेष, त्यो खिचातानी, त्यो आफ्नोपन मनमायाले आँखा झिमिक्क नपारी एकटक लाइन् मेरीबास्सैमा। एकपल्ट पुर्यायो मनमायालाई मेरीबास्सैले आफ्नै गाउँघरमा, बारी कान्लामा, आँगन सिकुवामा। मनै प्रफुल्ल भएर आयो उनको। यतिका दिनपछि मेरी बास्सैमार्फत आफ्नो मन गढेको भूगोल, पैतालाले चिनेको पाखापखेरा, झारजंगलको सुगन्धमय स्मृति, आँखामा सधैं ठोकिने रनवन यतिका सातसमुन्द्र तरेर काँ जान्छस् हराउने बिलाउनेका देसमा भने जस्तो आइपुग्दा पनि आँखा भरिभरि देख्न पाउँदा मनमायाको निरक्षर बौद्धिकताले आफ्नै तालको उत्सव मनायो।
“हर्के हल्दार पनि निकाल निकाल” मेरीबास्सै निख्रिन नपाउँदै मनमायाको अर्को फर्माइस् आइगो।
उनले धित मारेर हेरिन् लाहुरे बा र बाटेको लसपस, गोज्याङ्ग्रो हर्के हल्दारको चर्तिकला उसैगरी आफ्नै पाखापखेरामा पुगेर उतै डुबेर हराएर। घरमा हुँदा आफ्नो मन परेको मेरीबास्सै र हर्के हल्दार हेर्न बस्दा बिचैमा जाने बिजुली र पस्केको भात निल्न नपाई झ्याप्पै गएर काली-ओडार पार्ने बाबुरामको लोडसेडिङलाई “तेरा पटक्क” भन्दै सत्रपल्ट धारेहात लाउने मनमायाले एकपल्ट नि विस्वाद भोग्नु परेन बिजुली अलपको।
“ए नानि तँ कति कमाउँछेस त हँ ? दाजु कति कमाउँछ ? भाउजुको कति हुन्छ ? केहि सोध्न पाको पनि छैन भन्दैनौ पनि” मनमायाले बल्ल मुख फोरिन् कति दिनदेखिको धोको उनको सन्तानको डलर कमाइको रासही जान्ने।
“छि मम्मी पनि, कमाइसमाइको कुरा पनि सोध्ने हो ?” सिर्जनाले आफ्ना सन्तानको कमाइ सोध्नु ठुलै पाप नै हो झैं गरी पहिलो वाक्यमै आमाको मुखबुझो लाई।
“तै पनि ता” केही भनिहाल्छे कि भनेर आसाबिहीन मनमायाले थपिन्।
किन कहन्थी सिर्जेले अमेरिकाको आफ्नो गुह्य कुरा। अत्तरको बास्नाले छोपेको अमेरिकी पीडा आमाको ज्ञानले जति बुझ्यो तेती हो, कसैले छिसिक्क केही चुहाएन कमाइधमाइको कुरा।
***
शनिबार र आइतबार बिदा हुने दिन। सबैजना घरमै हुन्छन्। मनमायालाई ५ बजे नै निन्द्राले छोड्छ।अरु कोही उठ्दैनन्। १०/११ बजेसम्म सुत्छन् अनि बल्ल उठेर नाकमुख धुन्छन्। मनमाया उठ्छिन, बस्छिन्, बरन्डामा निस्किन्छिन, फेरि फर्केर ओछ्यानमा आउँछिन्, टोलाउँछिन्, दिक्दार मान्छिन्। सबै सुनसान सुतेका छन्। प्राणपखेरुको कुनै आवाज छैन। नाति आयुष बेलाबेला च्याँ गरेको सुनिन्छ। बाहिर तीन सल्ली घाम लागिसके दैलो कसैको उघ्रिदैन।
“तिनको ल्याप्टो चलाउन जाने पनि त नेपाली टिभी हेरेरे बस्ने थें नि” मनमायाको मनको कुरा।
“ए, मम्मी अघि उठ्या ?” बल्लतल्ल सिर्जनाले ११ बजे उठेर तेती भन्दा मान्छेको आवाज सुन्न पाइन् मनमायाले।
“उठें नि। केको निन्द्रा लागेको तिमेरलाई यो बेलासम्म ? म त छक्क पर्छु” दिक्दारी पोखिन् मनमायाले।
“आज शनिबार हो नि त मम्मी। बिदामा पनि नसुते कहिले सुत्नु त ?”
“ए राम्ररी सुत्न पनि शनिबार पर्खिनु पर्ने ?” आमालाई यिनको केही कुराले चित्त मान्दैन ।
ध्रुब उठेर नाकमुख धोएर सिधै त्यही खप्परका अघि बस्छ । बुहारी उठेर कफी सुर्क्याउँदै त्यही ल्याप्टो काखमा लिएर बस्छे र औँला किरिमिरी किरिमिरी चलाई बस्छे । सिर्जना अर्को ल्याप्टोसँग जोल्ठिएकी छ टाउको उठाउने होइन ।
“एउटा आइप्याड किन्नु छ हो, सिर्जना किन्दे न हो बरु ।” ध्रुब बोल्यो।
“भैहाल्छ नि दा, याँ एउटा आइफोन किन्ने धोको कहिलेदेखिको आफ्नो ।” सिर्जनाले तात्तातो जबाफ फर्काई ।
“बा, आइफोन फाइभ-सी आको छ नि त्यो त म किन्छु है ?” आयुसीको माग छ अर्को ।
“तिमीलाई गारो भो भनेको होइन पहिले गाडी किन्नु परो नि तिमीलाई त ।” ध्रुबले जोइको समस्या बुझ्यो ।
मनमायाले कसैको खाँचोका जिनिस के हुन् पत्तो लाउन सकिनन् । एउटा गाडी किन्ने भनेको मात्रै बुझिन् ।
“के के किन्ने भन्छौ ? केही नाम जान्नु छैन, कति पर्छ त तिमेरको नकिनी नहुने तेसलाई ?” मनमायाले सहभागिता जनाइन् वार्तालापमा ।
“आमा याँ सबैका माग पुर्याउने हो भने त १० लाखले पुग्दैन । सिर्जनाको फोन ६० हजार, मेरो आइप्याड ५० हजार, आयुको ५० हजार अनि गाडी नभई भएन त्यसलाई कम्तिमा १० लाख ।” ध्रुबले विवरण दियो।
“राम राम राम अनि कमाउँछौ तिमेर्ले पैसा, उता गाउँका मान्छे छोराले काँकाँ घडेरी किनो, कि काठमाण्डुमा घरै किनिसको भन्छन् ।” मनमायाले आफ्नो सपना र समाजको जपनाका पोका एकैचोटि फुकाइन् ।
“हा हा हा…. काठमाडौँमा घर… याँ यो महिनाको नब्बे हजार रुप्याँ कोठाभाडा तिर्नेबेला भइसको” ध्रुब बेफ्वाँकसँग हाँस्यो। मनमायाले छोराको हाँसोमा केही खुट्याउन सकिनन् । चुप बासिन् ।
***
अम्रिकाको ६ महिने बसाइ मनमायाको । कहिले झिलिमिली बजार लगे घुमाउन् । कहिले जमिनमुनि कुद्ने रेलमा चड्दा गाला र ओठ कतिखेरै नछुटाउने लबस्तरा लबस्तर्नीको लीला देखिन् मनमायाले र छोरीचेली बिग्रिने देश ठानिन् अम्रिकालाई । कहिले समुद्री तटमा पुगिन् मनमाया र सबै कन्डो देखाएर पल्टेका ‘खेर गका” आइमाईको नाकमुख हेर्न आइपुगिएछ ठान्दै र सर्मको पसारोले भुतुक्क भएर अर्कापट्टि फर्किन् बुढी माऊ ।
आफ्नै नाकका सोझी बुहारीले छोरो चुम्मा गरेको, सिर्जेले घुमीघुमी फोटो खिचिदिएको हेर्न नसकेर के गरुन् मनमाया, आकिछन् अम्रिका । जीवनमा लाउनु त के सोच्न पनि नसोचेको कुर्थासुराल भिराइदिए आङमा आउनेबित्तिकै । बुचुङबुचुङ दगुरिन मनमाया जान्नेबुझ्ने सन्तानका पछिपछि शनिबार, आइतबार अम्रिकाका गल्ली, सडक, बस, पार्क, रेल, बजार र तालतलैया ।
एकैनासको बसाइ एकै नासको दैनिकी मनमाया मनमनै अघाइसकेकी थिन् अम्रिकादेखि ।
लैनले माथि मौवा डाँडामा निक्लेर फोन लायो एकदिन अम्रिका ।
“कस्तो छ अम्रिका ए मने, फर्किने दिन आएनन् अब ? छ महिना होइन छ वर्षजस्तो पो भो मलाई त एक्लै यहाँ । वस्तुभाउ, खेत, धानपराल, बारी, तोरी… नसकिने पो रछ एक्लै त …” लैनका बात कानमा परे उताबाट ।
“याँ फुनमा कैरन ल्याएर काँ सकिन्छ अम्रिकाको, राम्रै रछ नि कइले नदेखेको अम्रिका” धेरै बोल्न मन लागेन मनमायालाई ।
एक्लै छोडेको पति लैनको गाईवस्तु, भातभान्सा, खेतीपातीसँगको तेजोहैरानी सम्झेर उनी बेलाबेला अतालिएकी हुन् पहिले नै । कहिले पुगूँ फाल तोडेरजस्तो भैसकेको धेरै भइसकेको छ उनलाई । भन्नु पो भा थेन !
केटाकेटीले आमा फर्किने चाँजोपाँजो मिलाउन थाले । कहिले बाउलाई घडी, कहिले फुपूलाई मजेत्रो, कहिले छरछिमेकीलाई चकलेट भन्दै पन्त्यौरा बटुल्न थाले ।
बुढेसकालका साहारा भनेर जन्माएका दुई सन्तान ईश्वरका वरदानलाई लङ्काभन्दा पर पलङ्कापारिको अम्रिकामै रजाइँ गर्न छोडिदिएर जून २६ मा उडिन् मनमाया आफ्नै प्यारो ओखरबोटे जान, बाउले खुट्टाको पानी खाएर जिम्मा लाको आफ्नो प्यारो खसम लैनसँगै बाँच्न लैनसँगै मर्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।