कमेन्ट देखेपछि निशालाई नसा लागेजस्तो भयो । मनमा एकाएक ठुलो आँधी चल्यो र सुनामी आयो । आफूलाई के हुँदै छ त्यो पनि उनैलाई थाहा भइरहेको थिएन । जवानीले लाली चढेर रातो बनेको गाला एकाएक तातो भयो ।

फेसबुक, इन्स्टाग्राम र टिकटिक चलाएको त्यतिका वर्ष भयो । कति फोटो राखिन र कति भिडियो अपलोड गरिन् भन्ने उनैलाई नै थाहा छैन । “कति राम्री, लभ्ली, ब्युटीफुल, अमेजिङ, लभ यु, लभ साइन ।” यस्तै-यस्तै कमेन्ट आउँथे त्यतिका फोटो र भिडियोमा ।

छ महिनाअगाडि ऊसँग कलेजको वेलकम प्रोग्राममा भेट भएको हो । राम्रो गिटारिस्ट रहेछ । गेटअप पनि अलि युनिकै थियो । जुरेलीको जस्तो कपाल । कानमा मुद्री, घाटीमा ट्यटु ।

राजेन्द्र कार्की (क्यानडा)

देख्दै डरलाग्दो भिरमा रक क्लाइमिङ गर्दै गरेको र कर्णालीमा एक्लै कायाकिङ गर्दै गरेको फोटो । टिकटिकमा बाइक ओढाउँदै गरेको फोटो । क्या बाइक स्टन्ट !

नाम पनि निशान । निशालाई लागेको थियो – मेरो नाम निशा, उसको नाम निशान । वाह !

कलेजको प्रोग्राममा हाई हलो भएपछि उनीहरू फेसबुक, इन्स्टाग्राम र टिकटिकमा जोडिए ।

साथीहरूसँग घुम्न गएका बेला हावाले कपाल उडाएर आँखा र आधा अनुहार छोपेको फोटो पोस्ट गर्दा “हावाले उडाउला,” उसैले कमेन्ट लेखेको थियो । फेरि यो पटकको बर्थडे उइस गर्नेमा उही फस्ट भएको थियो । मेरो इक्जाम  चल्दै गरेको फोटो स्टाटसमा “यु आर द  फस्ट” लेखेको थियो । कता निशानले मन पराउँछ जस्तो लाग्थ्यो तर उनले पठाएको मेसेन्जर टेक्स्ट दुई तीन दिनमा हेर्थ्यो र अरू दुई-तीनपछि मात्र टेक्स्ट लेख्थ्यो, त्यो पनि भिरी सर्ट । उनलाई कस्तो अनौठो मान्छेजस्तो लाग्थ्यो ।

मुखको पाउटको फोटो खिच्ने फेसन चलेको बेला “कस्तो थुतुनो” भन्ने कमेन्ट लेखर सुङ्गुरजस्तो सिम्बोल हालेको थियो । उनले सिरियस लिइनन् र हा..हा.. को इमोजीले जबाफ फिराएकी थिइन् ।

निशानको हेट एन्ड र लभ कमेन्टले कताकता पजल बनाउँथ्यो तर “छ्या” कमेन्टले ल्याएको सुनामीले उनी एकाएक विशाल समुद्रको बिचमा हराइन् ।

उसले मलाई किन त्यस्तो कमेन्ट लेख्यो ? के म राम्री छैन ! ममा उसले के नराम्रो देख्यो ? किन देख्यो ? कस्तो मान्छे होला ? त्यस्तो पनि पब्लिकली लेख्ने ? मन नपरेको भए, बरु तिमी मन परेन भनेर सिधै मेसेन्जरमा भनेको भए भइहाल्थ्यो नि !

मेरो ज्याकेट मन परेन कि ! हुन त त्यो भाइको ज्याकेट हो । मैले फनका लागि लगाएकी थिएँ । त्यसमै चित्त नबुझेको भए पनि “केटीले केटाको ज्याकेट” भनेर हा …. हा को इमेजी हालेको भए हुन्थ्यो नि ।

होइन, होइन । म गलत पनि त हुन सक्छ नि । ऊ इमानदार मान्छे हो । अरू केटाजस्तो राम्री केटी देख्नेबित्तिकै झिँगे दाउ थाप्ने केटा होइन । उसले मेरो केही कमीकमजोरी देख्यो कि त । हो, मैले चप्पल पनि अलि अड नै लगाएकी थिए ।

प्रशंसाका गुच्छाहरू बिछ्याएर यौवनको रसास्वादन गर्नेहरू कहाँ सत्य बोल्छन् ? नाइस, ब्युटीफुल, लभली यिनीहरूले जानेको यति हो । यी नाइस गाईहरूले जिन्दगीमा नयाँ चिज के जानेका हुन्छ र ! म त आखिर राम्रीमै पर्छु नि । मलाई नाइस र ब्युटीफुल भन्नु कुन ठुलो कुरो भयो र ! ब्युटीफुल भनेर कस्ता कस्ता झ्यास केटीलाई पनि कमेन्ट दिनेहरू के सत्य बोल्छन् त ? यिनीहरू केवल भ्रमको खेतीमा स्वार्थको रोटी सेक्छन् ।

म राम्री छु, अरू राम्री हुन चाहन्छु । मलाई कियर गर्ने मान्छेले मेरो सानो-सानो कुरालाई ध्यान दिन्छ । तब न मेरो कमी कमजोरी औँल्याइदिन्छ । आखिर मायाँ गर्ने मान्छेले नै त हो नि कमी कमजोरी औँल्याइदिने ! म कस्ती देखिन्छु मलाई भन्दा अरूलाई पो थाहा हुन्छ त ।

राम्रीलाई जसले पनि वाह! भनिहाल्छ नि । झन् केटाहरू त भनिहाल्छन् तर केटाहरू किन केटीको फोस्रो प्रशंसा गर्छन् ? प्रशंसाले मात्र केटीहरू पट्टिन्छन् ठान्ने केटाहरू कस्ता उल्लु ! हैन, यी नाइस गाई (केटा) लाई कुन केटीले वाल दिन्छन् र ! त्यति पनि नबुझ्ने केटाहरू त्यसै बुढा हुन्छन् । हैन, अबको जमानामा केटी कसरी पट्याउनुपर्छ भनेर नजान्ने केटाहरू अविवाहित नै बस्नु जाति ।

भमरालाई हेर्नु नि यी नाइस गाईहरूले । भमराले फूलको रसमात्र रसास्वादन गर्छ त? बेला-बेला फूललाई चिल्छ पनि । अनि त फूललाई भमराको चिलाइसँगै लट्ठिन मजा आउँछ । फूल रिसायो भनेर भमराले कहिल्यै फूललाई परिक्रम गर्न छोड्छ ? छोड्दैन । पटक-पटक परिक्रम गर्छ । कहिल्यै थाक्दैन ।

केटीहरू आखिर फूल हुन् । ती फूललाई रसमात्र चुसेको मन पर्दैन । बेलाबखतमा चलेको पनि मन पर्छ । वरिपरी सधैँ घुमेको मात्र पनि मन पर्दैन । बेलाबखत हराए पो ! प्रतीक्षाको मजा । जतिखेर भन्यो त्यतिखेर हाजिर हुने भमराले नौलो स्वाद दिन सक्दैनन् । त्यही भएर कहिलेकाहीँ रस चुस्न आउने भमरा फूललाई मन पर्छ । भमरा र फूलको सम्बन्ध नबुझ्ने नाइस गाईलाई के केटीहरूले भ्यालु देलान् त ? देलान्, कसै-कसैले । दिऊन्, त्यो मलाई मतलब पनि छैन, तर म चाहिँ दिन्नँ ।

आखिर भमरा भमरै हो । रस हुन्जेल फूलको वरिपरि भुनभुनाउने हो तर यो कस्तो भमरा हो, जो रसैरसले भरिएको फूललाई “छ्या” भन्दै छ । के ऊ भमरा होइन ? हो भने के उसलाई फूल मन पर्दैन ? फूल मन नपराउने भमरा कस्तो हुन्छ ?

रस चुस्न भमरा आउँछन्, उनीहरू स्वार्थी हुन्छन् भनेर आखिर फूलले किन सोच्नु ! किरा र भमराले फूलको रसास्वादन नगर्दो हो त सायद फल कसरी फल्थ्यो? फल नफल्ने हो भने फेरि बिरुवा कहाँबाट उम्रन्नु ! हो, त्यही भएर म आर्कषित छु ऊसँग । मेरो जीवनमा ऊ विशेष मान्छे हुन सक्छ ।

आखिर जीवन छोटो छ । त्यो छोटो जीवनमा कसैले नगरेको अनुभव गर्नु र कसैले नभोगेको जीवन भोग्नु पो जीवन हो त ! बाह्र घण्टाको दिनमा त बिहान, दिउँसो र बेलुका भिन्न-भिन्न समय हुन्छन् । ती भिन्न समयमा भिन्न  अनुभूति हुन्छन् । तब दिनको महत्त्व छैन, नत्र रातको महत्त्व भइहाल्ने थियो नि । खाना पनि सधैँ एउटै खायो भने जिब्राले दिक्क मान्छ । घाँटी किक्लिक्क हुन्छ । आखिर स्वाद छुट्याउने त जिब्रो हो, घाँटी त होइन । बेला-बेलामा चटनी सहितको फरक खाना खानुको स्वादै भिन्न नि । त्यो भिन्न स्वादमा जिब्राले कस्तो मजा लिन्छ । भिन्न अनुभूतिको मजा नै अर्को ।

आज मलाई के भइरहेको छ । कि ममीलाई सुनाऊ । हैन, हैन, ममीलाई सुनाउनु हुँदैन । ममीले बौलाइछे यो भन्नुहुन्छ  । अनि ड्याडीलाई छिटोभन्दा छिटो केटा खोज, यसको विवाह गर्नुपर्छ भन्न थाल्नुहुन्छ । सदिच्छालाई सुनाऊ त ! राति मस्त निद्रामा होली, के डिस्ट्रब गर्नु । त्यसलाई पनि सुनाउँदिन । फेरि त्यसकी जिग्री जेनिशालाई सुनाइहाली । कसलाई सुनायौँ ? “मनको बह कसैलाई कह” गर्दा अलि हलुङ्गो हुन्थ्यो कि !

ओफ ! जिउ पनि तातेछ । जगमा पानी ल्याएन पनि बिर्सेछु । कस्तो बिर्सन परेको आजै यस्तो जिउ पोलेको बेला । फेरि किचेनमा पानी लिन जाँदा ममीले यति खेरसम्म नसुतेकी भनेर थाहा पाउनुभयो भने ! आहा भो, बरु पानी पिउँदिन ।

ओ माइ गड दुई बजेको । मलाई आज के भएको यस्तो । कति निदाउन खोज्दा पनि निद्रै लाग्दैन । त्यही डेढ अक्षरले मेरो दिमाग डेढो बनाइदियो । कति शक्तिशाली कमेन्ट ! त्यस्तो कमेन्ट दिने ऊ झन् कति शक्तिशाली ? फेसबुक, इन्स्टाग्राम र टिकटकमा कति कमेन्ट आए तर किन यही कमेन्ट मेरा लागि विशेष बन्यो । ए मन ! पिल्ज भन, किन?

छ्या, यो घडीले पनि टिकटिक आवाज कति निकालेको हो? झट्टी हानिदिनुजस्तो । हैन, आवाज नआउने भित्ते घडी हुँदैन जस्तो गरेर यही किनिछु । फेरि के थाहा, मेरो मनमा सुनामी आउला र निद्रा हराउला !

आ.., घडी नै किन चाहियो । मान्छेलाई सताउने पनि यही घडी रहेछ । यो घडी हुँदैन थियो भने मान्छेलाई केको पिरलो हुन्थ्यो ? अनि केको हतारो हुन्थ्यो ? हुँदैन थियो नि । रातिको दुई बज्यो भन्ने पनि मलाई थाहा हुने थिएन । निद्रा लागेन भनेर तनाव पनि हुने थिएन । तनाव दिने आखिर यही घडी हैन त? विनाबित्थामा म यो घडीको पछि लागेको । बरु यसको ब्याट्री झिकिदिए त कुरै सक्किगो नि !

सुनसान रात । कानमा झ्याउकिरी कराए जस्तो “-याँइ…-याँइ” आवाज । के भाको, पटक्कै निद्रा लाग्दैन । लामो लामो श्वासप्रश्वासको गति बढाउँदा पनि निद्रा लाग्दैन र खटपटी भइरहन्छ । सायद किन्न नमिल्ने कुरामध्ये यो निद्रा पनि एक होला ।

“आइ लभ यु निशा” भनेर कलेजको पहिलो वर्ष बोर्डमा लेखिएको थियो, तर कसले लेख्यो थाहा भएन । त्यतिखेर पनि यति साह्रो मनमा कुरा खेलेको थिएन । के भो आज, आफैँलाई थाहा छैन ।

मलाई यसो एक रात निद्रा नलाग्दामा किन यत्रो पिरलो ! एक रात नसुत्दा के भो त? आखिर त्यो जून पनि रातभरि सुतेको छैन । ऊ त कुनै रात सुत्दैन । नसुते पनि कहिल्यै खटपटिँदैन । तर म चाहिँ कस्ती? यसो एक रात नसुत्दा त्यसै खटपटिन्छु ।

आहा, कति सुन्दर है यो जून । जूनजस्तै म पनि सुन्दर हुन पाए…! आखिर म जूनजत्तिकै सुन्दर र राम्री छुइन होला, तर नराम्रीपनि त छुइन नि । मेरा ठूला आँखा, बाटुलो र गोरो अनुहार, डिम्पल पर्ने गाला, पुष्ट छाती, सलक्क परेको ज्यान, छिनेको कम्मर र कस्सिएका लामा पाँसुला देख्दा मलाई मरिहत्ते नगर्ने को होला र? तर मलाई हिरो मन पर्दैन । खै थाहा छैन किन हो? मलाई भिलेन मन पर्छ । दुनियाँका लागि हिरो नाइस बन्छ ।  भिलेन केटीका लागि दुनियाँसँग लाप्पा खेल्छ । मर्न र मार्न तयार हुन्छ । जो आफ्नो लागि मर्छ, ऊ पो आफ्नो मान्छ त !

यस्तो टहटह जूनको उज्यालोको आनन्द लुट्न छाडेर केको आफू कस्ती छु भनेर सोचेकी । छ्या म पनि कति सेल्फ सेन्टर । आखिर अहिले जून पनि एक्लै छ । म पनि एक्लै छु । ऊ पनि नाङ्गै छ ।  मपनि नाङ्गै छु । फरक यति हो ऊ बाहिर छ । म भित्र छु । जून बाहिर नाङ्गै देखिन सक्छ, तर म सक्दिनँ । जून देखेर दुनियाँ दिवाना बन्छ । कसैले जूनलाई “छ्या” भन्दैन । जूनलाई धेरैले चुम्न खोज्छन्, तर कसैले सक्दैनन् । ऊ सबैलाई जिल्याएर बस्छ । मलाई चुम्न खोज्नेलाई के म जिल्याएर बस्न सकुँला ? म आफैँ द्विविधामा छु ।

थाहा छैन म किन ऊसँग डुब्दै छु । मोती टिप्न पनि आखिर गहिराइमा डुब्नुपर्छ नि ! गहिराइमा डुब्नुको मजा अकै । जहाँ डुब्न मिल्छ, आखिर त्यहीँ तैरिन मिल्छ । जहाँ तैरिन मिल्छ, पौडिन त्यहीँ मिल्छ । छिपछिपे पानीमा न तैरिन मिल्छ, न पौडन । छिपछिपे पानीमा डुब्नुको के मजा? अनि के अर्थ? सायद यो मान्छेमा गहिराइ छ । ऊ ठुलो तलाउ हो, जसले त्यो तलाउमा डुब्न र पौडन सिकाउने छ ।

यो मान्छेमा अर्गानिक टेस्ट छ । प्रेमपत्र सालको पातमा लेख्दो हो । मेरो चित्र ढुङ्गाको कापमा खोप्दो हो । यस्तो रहस्यमयी अर्गानिक मान्छे कहाँ ग्लेमरको दुनियाँमा भेटिन्छ । फेसबुक, इस्टाग्राम र टिकटिकको भेलमा मिसिएर ऊ किन आफूलाई मूल्यहीन बनाउँछ? उसका हेराइ, बोलाइ र लेखाइमा जीवनका छुट्टै दर्शन होलान् । त्यस्तो दार्शनिक मान्छे मैले कहाँ भेट्नु !

आखिर पानी जता भिरालो छ, त्यतै बग्छ । जहाँ गहिरो छ, त्यहीँ जम्छ र त्यही गहिराइमा डुब्न सकिन्छ । झन् प्रेमको गहिराइमा डुब्न कहाँ सजिलै मिल्छ र ? हो, मैले पनि ऊ र उसको प्रेममा डुब्न कोसिस गर्नुपर्छ । तर थाहा छैन, बाटामा कति काँडाहरू भेटिएलान्, कति बन्द तगराहरू देखा पर्लान् । त्यो गहिरो पोखरीमा पुग्न सक्छु कि सक्दिनँ । पुगेर त्यसको गहिराइमा डुबेको डुब्यै हुन्छु कि तैरिन्छु ।

खै किन मलाई यस्तो खटपटी । कि मेसेन्जरमा किन त्यस्तो लेखेको भनेर सोधूँ । अहँ हुँदैन, दिमागले काम नगरेको यस्तो बेला मेसेन्जरमा केही लेख्नु हुँदैन । फेरि मध्यरातमा केटालाई मेसेज पठाउने ! कस्ती खतम केटी ठान्यो भने । अहिलो भो । भोलि विचार गरौँला । पठाए पनि दिउँसो पठाउँला ।

निशालाई निद्रा लागेन । सोच्दासोच्दै उज्यालो भयो ।