साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा : मुसाको दुलो 

हिँउदमास,धान, गहुँ, कालो मास दाँही गरेर बोरा थन्काउने बाँसको भर्याङ्ग मुनिको मुसाको दुलोले बेला न कुबेला बलेको मन चस्स चस्स घोचि रहन्थ्यो। यो सामान्य मुसाको दुलोले उस्को जीवनमा अमिट अभिज्ञताको छाप छोडेको छ। यस्लाई टाल्ने कुरा उत्ति ठूलो कुरा पनि हैन। तर खोइ किन हो यसलाई टाल्ने काम त्यतिकै रह्यो। कुनै दिन त्यसलाई देखेको नदेखेइ गरेर छाडे झैं गर्छ बले । तर यो कुरा त्यति सजिलै छाडेर छाडिने,मनबाट पन्साउँदा पन्सिने होइन। यो मुसाको दुलाले बलेका घरको इतिहासमा ठूलो भूमिका खेलेको छ,जुन कुराले बलेलाई छाँया जस्तो घुमी रहेको अनुभव गर्छ। मानौं उसको मनको भित्री पाटोमा औँसीको अँध्यारो डल्लै गुम्सिएर थुप्रिएको छ। कसैले नदेख्ने गरी। त्यसैले बले मनमनै पिरोलिएको हो। उसको मनभित्र म मनुष्यको चोला भित्र रहेको ठूलो मुसोको प्रतीकका रूपमा बाँचेको छु जस्तो पनि लाग्छ कहिलेकाहीँ। आफुलाई मुसो र मुसो चाँही बुद्धि विकशित भएको चेतना सम्पन्न मानिस हो जस्तो नि।

परिस्थिति र अभावले त्यसबेला बलेको वुद्धि साँच्चै भ्रष्ट भएको रहेछ,तर यसबेला उसको घैंटामा घाम लागेको छ। उसले मनमनै आफ्नो मुर्खतालाई कोसो र पल्लो भर्याङ्ग मा ढल्कियो अनायासै। त्यस भर्याङ्ग बाट त्यो दुलो सिधै देखिन्छ। दिँउसो बाह्रएक बज्नै लागेको बेला,भातपानी खाइसकेपछिको कुरा-आज पनि सायद धानको खोजिमा लुरुलुरु डुहुरे मुसो त्यस दुलातिर निक्लदै, पस्दै गरेको देखिइरहेको छ। जाडाको दिन यसो कम्बल तानेर ढल्केको बले,सिलमिल गर्दै आखाँ टोलाउन लाग्यो। उसलाई ती अतीतका भावनाले निकै सताइ रहेको छ आजपनि। आज आईतबार बले निन्द्राबाट ब्युँझदा नयाँ घरमा आफैंले देखेको सपनालाई हो होइन भन्ने ठहर गर्दै ती दिनहरुका रूढ वास्तवमा पुनर झोसिन्छ।

bahulako diary small and inside post

त्यसताका घरमा अत्यन्त दुखद स्थिति, दरिद्र अवस्था। बले हलोको अँनउ समाएर बाबुलाई खाजा खाँउन्जेल एकै छिन पालो दिन सक्ने हुँदाहुँदै उसकी आमा स्वर्गे हुनु भएकि। चार दाजुभाइ र बाबुसमेत पाँच जनाको जँहान। आफ्नो जग्गा जमिन, ब्रह्मपुत्र नदीको गडकटाइमा स्वाहा भएर यो नयाँ ठाउँमा,अर्काको पानी खेती, तोरी,पाटा तीरभागी गरेर वर्षदिनको खाइलाइ दशैं तिहार सल्टाउने अवस्था। लुटील्याँउ भुटीखाँउ कारबार, हरिबिजोग हालत।चार दाजुभाइ तीन भाइ नै बुढा बाबुलाई सघाउ पघाउ गर्न लाग्दा कोही तीन चार पढेरै स्कुल जान छाडेका हुन। माहिलो र साँहिलाले,बलेले स्कुलमा खुट्टा टेक्नै भ्याएन। जेठो छोरो भएर जन्मेको पुरस्कार हो कि अभिशाप हो दैवजाने ।

पूर्णकुमार शर्मा (असम)

बलेको कान्छो भाई रामे। रामे सानो उमेरदेखि पढाई लेखाईमा तिखो थियो। घरमा सबै आ-आफ्नो क्षेत्रमा जोडिएको काम गर्ने क्रममा भुलेकै हुन्छन। रामे काम धन्दामा जिउ जोगाउनु भन्ने खालको छ। केही काम अह्राए पनि उ यसो उसो भनेरै जोगिने। बरु गाँउकै सानातिना नानी केटाकेटी बटुलेर टिउसन पढाउने गर्थ्यो। त्यही टिउसनका केही पैसा भेला पारेर उसले आफ्नो पढाई, स्कुलको खर्चा सबै टारेको हो। नत्र दाजुहरू झै उसले पनि स्कुल छोडेर हलो कोदालो गर्नु अनिवार्य हुन्थ्यो। यसपाली म्याट्रिक परीक्षा आएको। उसको टिउसने पैसाले फरम भर्ने रकम नपुगेको भन्दै बाबुसँग पैसा माग्दै गरेको दुएक दिन भएको थियो। घरमा तातोछारो नभएर टाउको रन्किएको झ्वाँकमा बुवाले पैसा माग्ने भनेर गाला तात्ने गरी दुई थप्पड हानेको थियो एकछिन रोएर रन्थनिदै कता लागेको,,, त्यसदिन पछि फेरि पैसा मागेन। कता जान्छ,के गर्छ। कहिले घरमा खान्छ पनि, कहिले निकै दिन अन्तैबाट खाएर आँउछ। राति धिप्री बालेर कतिबेर सम्म पढछ कि के के कट्याङ मट्याङ गरी रहेको देखिन्छ त्यही भत्किएको चाङ्गमा । उसका किताब पत्र एक-दुइ पुराना लुगाफाटो छन त्यँही लथालिङ्ग हुन्छन। त्यस्तैमा निचोरिएर पनि रामे स्कुल जान छाडेको छैन। किताब पनि खोइ कहाँ कस्कामा पढ्थ्यो दैव जाने। म्याट्रिक परीक्षा पनि दियो भन्ने सुनिन्छ। यो मोरो एकाबिहानै उठेर क-कसको बिउ काढ्न जाँदो रहेछ दिन हाजिरी हिसाबमा। त्यसैले म्याट्रिक परीक्षा दिने चाँजोपाँजो मिलाएछ। राम्रो गरी म्याट्रिक पास गरेको हल्ला फैलियो। ल बुवाले बोलाएर खुसीयाली मनाउनु भनेर पुरै तीन रूपियाँ गनेर दिनुभयो। फुरूक्क परेर थपक्क राखेछ। त्यस्तो कठिन व्यवस्था झेलेको रामे नौकरी गर्न जानुपर्ने , अँह म ता कलेज पढछु भनेर राम्रैसँग भित्र र बाहिर गर्छ। कसरी भएपनि म कलेजमा दाखिला लिन्छु भनेर मडारिन्छ। हे हरि!

म्याट्रिकको रिजल्ट राम्रो आए पछि, गाँउघरमा निकै हलचल पैदा भयो। यो फटाहा रामेले यस्तो औधी राम्रो रिजल्ट कसरी पारो त। न किताब न खाता कलम,न खान लाउन गतिलो छ, अचम्म। एक-दुइ गर्दै चियोचर्चो गर्ने निहुँमा बलेको घरमा आउँदै नआँउने,उनेरको सिकुवा टेक्दा दरिद्रता सर्छ जस्तै गर्नेहरूले पनि रामेको रिजल्ट राम्रो आएकोले बोक्रे खुसीयाली जताउन आए। धेरै खुसी भएर गाँउकै नाम राख्यो है, तपाईँको राम प्रसाद जोशीले भन्ने पनि अनेकजना नभएका होइनन्। तल्लाघरे कुँईकेल महाजन सम्म कथुरे बरालको घरमा छोराको सही समाचार सोध्न आउनु भएको थियो। यो सामुन्ने कुरा होइन। यसपाली यो रामेले साँच्चै केही त ठुलै राम्रो गरेछ भनेरै बराल बुढाले तीन रूपियाँ नगदी दिएको उपयुक्त मानेका छन् मनमनै। हिजोआज जस्तो उसबेला सरकारले पढने तर गरीब केटाकेटीलाई मदत गर्ने चलन थिएन। सबै आए – राम्रो भयो। यसलाई अझै पढाउनुपर्छ भन्ने कुरा सबैले गरे। आफ्ना घर घर गए। तर रामेको राम्रो पढाई अघि सार्न दुइ चार आठ दस रूपियाँ लु ला न त भन्ने कोही भएनन्। त्यस बेला साँच्चै घाँटी माथि हाँसेर मुटु भरि रुनु र गहभरी आँसु थाम्नै साह्रो परेको समय थियो। सम्झदा पनि मुटु छियाछिया हुन्छ यसबेला पनि।
रामेले स्कुलबाट सर्टिफिकेट र साथमा अरु कागजात ल्याएर उहिल्यैको थोत्रो डेक्सर भित्र राख्दै गरेको बलेले देखेको थियो। यीनै कागजको बलमा रामे कलेज पढ्ने कुरा गर्छ। म्याट्रिक पास गरे पछि उसले सानो तिनो सरकारी नौकरी नै पाँउने हो। तर उ यति मात्र होइन अझै पढेरै केही गरौँला भनेर खर्चबर्च चाहिन्छ भनेर सबैको मुखमुखमा हेर्छ। कुनै हो हल्ला बिनाको गुम्सिएको झगडा जस्तो। शान्तिको परिवेश छैन। कोही सिधा मुख सरल भाषाले नबोल्ने भएको चार-पाँच दिन भैसक्यो। बलेको मनमा एउटा नयाँ सोच पलायो। कसैलाई सुँइको नपरि उसले रामेले अस्ति डेक्सर भित्र राख्दै गरेको कागज झिक्यो। यी कागज नभए रामे कलेज जावोस न कलेज पढ्ने निहुँमा झाईझगडा गरोस। कागज झिकेर धिप्रीको मटितेल छर्किएर सल्काइ दिने विचार गर्यो। फेरि अर्को मनले मानेन डढे पछि त सकिन्छ……! सकि दिने विचार छैन उसको के गरौं के गरौं भन्दा झट्ट त्यो मुसाको दुलो देखियो।

थपक्क गोलो पारेर बलेले रामेका स्कुल सर्टिफिकेटहरु मुसाको दुलोको मुखमा राखि दियो। लैजावोस मुसाले भनेरै। कागज मुसाले दुलाभित्र लगेर जे गर्छगर्छ,रामेले घरमा भएका मानिसलाई दोष लगाउन पाइँदैन । कागज नभएपछि,रामेले रडाको गर्ने कुरै भएन। घर झगडा पनि हुँदैन। गरिबीको चपेटामा बलेले नचाहेर पनि यस्तो कर्म गर्यो । कसैलाई थाहा छैन। तैँचुप मैँचुप सबै। कागज हराएको कुरा थाहा पाए पछि मुसाले लगेको पत्तो लागेको खण्डमा मुसो अथवा रामेको भाग्यलाई दोष लाग्दछ, घरका कोही मान्छे दोषी हुँदैनन। साप पनि मर्छ लट्ठी पनि भाँचिदैन। बलेको भुत्ते वुद्धिले जस्तै देख्यो त्यस्तै गर्यो। त्यति गरेर बले उस्को मावोलमा दाँहिको काम सघाउन तल्लो गाँउ झरो ।

पैसाको रनाहामा दुएकदिन तल्लो गाँउ साथीको घरमा गएर आएको रामेले, उसका कागजात धुँइपताल खोज्यो। राखे ठाउँमा तलमाथि सबै तिर,उँहु सर्टिफिकेट मार्कसीट कतै काँही पनि छैनन। कस्लाई भनुँ के भनौं। सम्झे जति ठाउँ सबैतिर खोज्यो, छैन छैन कतै छैन। अरू सबै पुराना कागज छन् उसका कागज मात्रै छन। सारा वर्ष हरेक दुःखकष्ट दिन रात खटेर राम्रो रिजाल्ट निकालेको थियो, त्यसको कुनै सबुत हातमा रहेन। भर्खरै जन्मिएको काखको नानी मर्दा अथवा हराउँदा आमालाई जस्तो लाग्छ यसबेला त्यस्तै दुख: र असाध्यै पीर परेको छ रामेको मनमा। वेदनाले पिल्सिएको नीलो आँसु जमेको छ आँखाको डिलभरि, गाँठो परेको छ मुटुमा। बौलाहा जस्तो भएर रामे फेरि कता लाग्यो,राति पनि भातपानी नखाई त्यतिकै चाङ्गमा लड्यो।

दाँहीको काम सकेर बले घर आए पछि रामेको मुख देखेर ढुकढुकी लाग्यो। मन कता कता दुखो उसको पनि। पर परै नजर लगायो ती कागजहरूमा- धन्न धन्नै मुसाले खाएको या तानेको रहेनछ,बरु चिह्सोले ओस्सिएछन, सायदै मटितेल छर्किएको कागजमा गन्ध पाएकोले मुसाले ती कागजमा मुख लगाएन। दुई दिन जतिमा रामेको गतिगरास बिग्रेको बलेको आखाँमा मात्रै होइन मुटुमा पनि गाडियो। यसपाली उसका मनमा भाइ प्रति भित्री मनको गहिरो दयामाया उब्जिएको छ। रामेको उदासिन अनुहार र व्यवहारमा बले धेरै पग्लियो। उसले ती कागजात ल्याएर पहिले रामेले राखेको डेक्सरभित्र पुनर राखिदिने सोच बनायो। दिँउसो कोही नभएको मौका छोपी बलेले तीकागज निकालेर ल्याएर डेक्सर भित्र हतार-हतार घुसारेर त्यँहाबाट सरक्कै आएर पुनर आफ्नो चाङ्गमा ढल्कियो। कता घुमेर घर आईपुगेको रामेले दैलाको चेपबाट दाइ बलबहादुरले गरेको सबै कर्मकाण्ड देखेको नदेखेइ गरेर चुपचाप अन्तै छेलिएर हेरी रहेको थियो,भरे निकै बेर पछि घर भित्र पस्यो। बलेले रामेलाइ देख्ने साथै” हैन कता कता भौँतारिन्छस त्यो पुरानो डेस्करमा अझै मजले हेर , तेरा म्याट्रिक पास गरेको कागज त्यँही भित्रै हुनुपर्ने हो। रामेलाइ बुझ्न बाँकी रहेन, दाजु बलेको चतुर्याइ,उ चुपै लाग्यो। कागजपत्र भेटिए पछि रामे शान्त भयो, खुसी र आनन्दले रामे साँच्चै उत्रावल भएको थियो। कोही सँग कुनै कुरा नगरी भोलिपल्ट बिहान रामे कतै निस्किएर गयो आफ्नो यात्रामा,समय बग्दोछ आफ्नो छन्दमा। गयो,गएको गएइ भयो, रामेको खुटखबर छैन।

रामे आफ्नो गरिबी र अत्यन्त दुखेसो झेलेको संसारमा कुनै प्रकारले केही स्वच्छलता, बुढेसकालमा बुआको मनमा केही शान्ति र छोराहरुको आर्थिक उन्नति प्रगति देखेर खुशी भएको देख्न चाहन्थ्यो। बले र अरु दाजुहरुका छोराछोरीलाई सम्म राम्रो ज्ञानार्जनको बाटोमा लगाउन सक्ने गरी आफु प्रतिष्ठित हुन चाहन्थ्यो।

उ गएर शहरको कलेजमा प्राध्यापन गर्ने मान्छेकोमा उसको घरको काम सघाई दिने,भात पकाउने,भाँडा माझ्ने, परेको खण्डमा लुगाफाटो धोइदिने बन्दोवस्तमा- कलेजमा दाखिला लियो।

चारवर्ष बितेर गए। कसैले थाहा नपाइ उसले बुआको स्वास्थ्य के कस्तो छ भन्ने चियोचर्चो गरी रहेको थियो। यता उत्कृष्ट नम्बरसहित बिए पास गरेको समाचार आएको दुई दिन पछि उस्को मालिक कलेजको प्राध्यापक भुँया हाइप्रेसर स्ट्रोक परेर फ्याटै बित्यो। त्यहीँ बसेर एम ए पढने रामेको बिचार लथालिङ्ग भयो।

यता उता गर्दा मृतकको शुद्धीकरण क्रिया सम्पन्न भएपछि रामे, उच्च शिक्षा हासिल गर्ने नयाँ तकरिब सोच्न बाध्य भयो। भगवानले तँ चिता म पुर्याउँछु भन्छन रे, भनेको सुनेको थियो।त्यसघरबाट बाहिरिएर उ अर्को त्यस्तै घरको तलासमा थियो। अनिश्चितकालीन यात्रा गरेको रामे,भेलापाडा गाउँमा भएका टाडा साइनो पर्ने मितबाउका जेठानको घरमा बेलुकी बास बस्न पुगेको हो। बास बसेको ठाउँमा कुरा गर्दै जाँदा, तल्लोघर मसिने खनाल महाजनकोमा एकजना पढेलेखेको नानीकेटाकेटी टिउसन पढाउन सक्ने मानिसको खाँचो रहेको बताए । भुँञाको घरबाट निस्किएर हिँडदा केही दुई चार सहे रकम रामेको हातमा भएपनि फुर्मास गर्ने विचार थिएन उसको। कारण एम ए एडमिसन गर्ने क्षेत्रमा यस रकमले निकै सघाउ पुग्ने हो।

भोलि पल्ट साइनो पर्ने बाबैको छोरोलाई साथ लिएर रामे मसिने महाजनकोमा उपस्थित भयो। महाजन आफु पढेलेखेको नभएपनि लेखाइ पढाइको महत्व बुझ्ने र अरूले पनि लेखे पढेको कुरा चाख मानेर सुन्ने, र आफ्नो घर परिवारमा नानीकेटाकेटी शिक्षित हउन भनेर प्रचेष्टामा रहेको बुझ्यो। कुरा गर्दै जाँदा ल नानी आज यतै बसुन नत भनेर महाजन बुढाले प्रस्ताव राखे र रामलाई पुर्याउन आएको साथीलाई घर पठाइ दिए। रामे भित्र भित्रै खुसी भएर त्यँही रत्तिने भयो। महाजनका निकैवटा केटाकेटी पढाउनु पर्ने। पहिले पहिले त यसो दोकान बजार गर्ने, ठुलो मोटो रिनधारको हिसाप गरि दिनु पर्ने काम गरेर आफ्नो पनि पढाई गर्दथ्यो रामे। त्यस भित्रैमा रामेले विश्वविद्यालयमा दाखिला लिने समय आयो।महाजनले लागेको खर्च ब्येहोरे। तर रामेको काम बढ्यो। खेती पाति गर्ने हलुवा खत्री बर्खा मास घर पुगेर आउने बाचाले गएको नआँउदा खेतमा जोत्ने हलुवा नपाँउदा,रामे आँफै राँगा जोत्न जाँदा महाजन छक्क परे, खुसी पनि भए- मनभित्र अपराध बोध पनि नभएको होइन। तर के गर्नु, मैले घरमा यस्ता खाले सबै काम गरेको हूँ, तपाइँले केही चिन्ता मान्नुपर्ने छैन,भनेर यो वर्षको खेती आफैं उठाउन सकिनेछ भनेर पो ढुक्क पारि दियो ।

: ए मइना कि आमा यो केटोता आफुले सोचे भन्दा धेरै गुणा असलपो निक्लियो त! हेरन,कता एम ए पढेको मान्छे,मज राँगा नारेर कति राम्रो सबै खेती उठाइ सक्यो। कति मिठो बोली वचन, साधारण गाँउले जस्तो। हाम्रा यता म्याट्रिक पास गरेको छोराछोरीलाई दोकानबाट मटिटेल लिएर आइज भन्यो भने लाज हुन्छ,जाँदैनन,अर्काको घरमा बसेर हलो जोत्ने एम ए पढने मान्छे,हेरत कति फरक छ। हुने बिरुवाको चिल्लो पात भनेको यही हो। हाम्री मइनाले पनि त रामेले टिउसन गरेको भरमा बिए ए पास गर्न आँटी। मेरो त विचार रामलाई अब घरैमा स्थायी पारेर राख्ने उपाय गर्न मन लागेको छ, तिमी के भन्छौ।

: के भन्नुहुन्छ। पढन भनेर दुख: गरेर बसेको मान्छे, उसको पनि घर,बुढा भएका बाबु दाजुभाई छन,पढि सकेर आफ्नो घर जान्छ नि, कसरी यतै राख्नु हुन्छ तपाइँले ?

: मइना सँग जोडा बाँधि दिन सके सबै कुरा मिलिरहेको छ त, हैन र।

: आ हिजोआजका केटाकेटी युवायुवती को कस्तो मनको छ। कस्ले के सोचेको छ, कसरी जान्नु। महाजनले घरमा राखेको हलुवा सँग छोरीको बिहे गरी दिए भन्ने कुरा पनि आउलान् ,सोचि हेर्न पर्छ।

यसरी महाजनले रामे बारे भित्र भित्रै धेरै गहिरो कुरा सोचेर उसको पढाई र खर्चमा कुनै कमी हुन दिएनन्। यस्तै समयमा रामले असम प्रसाशनिक सेवाको परीक्षा दियो। त्यस्मा पनि उसले धेरै राम्रो रेङ्क पाएर पास गर्यो। तर महाजनले सोचेको रामे र मइनाको जोडा मिलाउने कुरा मिलेन। मइना खाइलाग्दि थिइ, उसले आफैं रोजेको केटा सँग एकदिन बिहे गरेको कसैले थाहै पाएनन। मसिने महाजनको मनमा ठुलो चोट पर्यो। उनको सपना आफ्नै छोरी मइनाले भताभुङ्ग पारी। जे होस् रामेलाई महाजनले आफ्नो छोराको रूपमा स्वीकार गरेर सम्पत्तिको एक अंश पनि दिने रामेको इच्छा अनुसार राम्रो पढेलेखेकी केटी खोजेर बिहे गर्नैपर्ने कुरा छर्लङ्ग पारि दिए।

: तपाइँले मेरा लागि मेरा जन्मदाता पिताको भन्दा ठुलो गुण लगाउनु भएको छ। मलाई हजुरले माटो बारी धनसम्पत्ति भन्दा धेरै ठूलो सहयोग दिएर मेरो जीवनको लक्ष्य पुरा गर्नमा एकजना पितृको समान कर्तव्य पुरा गर्नुभएको छ। मलाई केही दिन पर्दैन म जन्म जन्मान्तर सम्म तापईंको पुत्रवत रहेर सेवा गर्ने छु। सम्पत्तिले भन्दा सद्भावनाले मेरो जीवन उद्धार गरे वापत म हजुरको चिरऋणी रहने छु। जति जेसुकै भए पनि यत्तिको गुणीलो विद्वान मान्छे महाजनले आफ्नो छोराको रूपमा भएको गौरववोध लिनलाई सहरमा भएको एकबिघा जमीन रामेको नाममा लेखि दिए।

रामेलाइ असम सरकारले उच्च शिक्षा विभागमा नियुक्त गर्यो। कुनैदिन खान नपाएर महिनौं भौँतारिन वाध्य भएको रामे आज ठूलो सरकारी जागिरे भएको छ। रामेले बाबु दाजुभाई सबै सँग भेटघाट गर्ने इच्छा गरो र महाजन सँग अनुमति मागेर आफ्नो सरकारी गाडी लिएर घरमा पुग्यो। बुवालाई घरका सबै दाज्यू भाईलाई नयाँ कपडा र मिठाई लिएर सबैका गोडा ढोगेर आज दशवर्षमा के के भयो र उ आज कसरी सरकारी अधिकारी भयो सबै कुरा बुवा र घरका सबै सदस्य सामु बखान गर्यो।

बले र अरु दाजुहरुका छोराछोरीलाई पढाउन उसले सम्पूर्ण दायित्व लिएको कुरा पनि घोषणा गर्यो।

यस पछि महिना दुई महिना जतिबेर त्यतिखेर रामे घरमा आएर पहिला बुवाको स्वास्थ्य र अरु दर्कारी समस्या समाधान गर्न लाग्यो। उसले बलेको नाममा पाँचबिघा पानी खेतीको माटो चुक्ता किनि दियो। घर भएको छेउमै एकबिघा जमीन छुट्टै किनेर त्यहाँ नयाँ पक्काको घर बनाउन लाग्यो। दश दश कोठा भएको दुई तले तीनतले घर। एकडेढ वर्षमा घर तयार भएर निस्की सके पछि सबै दाजुभाइ बुवा समक्ष उसले प्रस्ताव राख्यो,अब भुँइतलामा केही गर्न पर्छ,माजको तलोमा मेरो सरसामान र म रहन्छु, माथिल्लो तलामा एक एक गरेर जेठो माहिलो र साँहिलो दाजु भाउजु बस्ने व्यवस्था गरिएको छ। अब यी पुराना घर मर्मत गर्नु दुःखकष्ट गरेर चेपिएर बस्न पर्दैन।

: हामीले आ-आफ्नो भाग माटोबारी लिएर छुट्टिएका छँऔ ।अब उसो त्यो के हुन्छ ,साँहिलाले मुख फोरो।

: ल मैले त कसैको भाग खोजेको छैन। आ-आफ्नो जे जस्तो छ, आफैं गर्नु खानुपर्छ। मैले छुटिएका कच्ची घरमा बसेर कष्ट भयो भनेर घर बनाइ दिएको मात्रै हो। मलाई कमाएर दिन पर्दैन।हामी सबै मिलेर एकै ठाउँमा बसऔँ, बुढेसकालमा बुआको रेखदेख पनि राम्रो हुन्छ भनेर यत्रो धेरै पैसा खर्च गरेर घर बनाएको। पानी बिजुलीको खर्च म तिरी दिन्छु। लौ सबै राजी खुसी भएर रामेको सद्भावनाको स्वागत गरे। भनेजस्तै गरी रामेका छुट्टिएर आफ्नो आफ्नो झोपडीमा गुजारा गरिरहेका दाजुभाइ सबै एउटै घरमा ओल्लो कोठो पल्लो कोठामा आफ्नो तरिकाले बस्न थाले। गाँउघरमा राम्रैको गुँइगुँइ गाँइगाँइ मच्चिएको छ।

: हैन त्यही फटाहा सिँगाने रामे होइन त्यो कि के हउ ? भीमसेन धामीले स्वाट गाँजा तानेर अगेनाको डिलमा आफ्नो उद्गार पोखे।

: अब दिन सप्रिसके पछि अघिको साँचो कुरा यसबेला झुटो भने पनि कस्को के लाग्छ र। त्यो रामे हाम्रो घरमा बासी भात खाएर मात्रै स्कुल जान्थ्यो। हाम्रा दहीदूध घिउ र मखान खाने ठुलो जागिरे भनेको कोही चौकिदार र कोही चप्रासी भए। अब अहिले के भन्नुहुन्छ बुढेसकालमा दुइचार पैसाले सघाउलाकि छोराले भन्नु परै जाओस्, आफ्नो कोकोहोलो सुनाउछन। उता रामेले त्यत्रो ठूलो अफिसर भएर पनि घरको दुःखेसो सबै हरण गर्यो। चिराखे साँहिलो भकभकाउदै बोल्यो।

: हुनत गमेर विचार्नु हो भने यो निकै गहिरो कुरा छ। त्यस रामेलाइ यस मोराले पैसा चोरो हाम्रा भनेर घले बोहोराले भक्कुचुर गोदेका हुन। रामेले मैले होइन भन्दापनि छोडेनन।रगत छादुन्जेल कुटे।भरे पैसा उनकै धन्दुकारी छोराले चोरेको खुलासा भयो। रामेलाइ सित्याइमा कुटेको निया निसाप भएन। लौ आज हेर घले बोहोराको हालत,छोराले रक्सिको निसामा दिनहुँ बाबुलाई घोक्राईमुन्याई गर्छ। पाप धर्म यहीं छ गाँठे। हेरन अरूका दाजुभाई छुटिन्छन,रामेले छुटिएका दाजुभाइ एकैठाउँ पारो। कति भाग्यमानी रछन कथुरे बराल बुढा,हेरन त्यहाँ, बुढेसकालमा अझ गालापो बाक्लो लागेको देख्छु म ता। हुत्तिराम कस्सियो।

हो नि किन नहुनु। अघि छि छि र दुरदुर गरेर। जुठोपुरो खान दिएर,गरीब कङ्गाल भनेर घृणाको दृष्टिले हेर्ने जति हिजाज रामे घर आएको छ भनेर सुनि सक्दा सलाम ठोक्न पहिल्यै पुगेका हुन्छन। कति साह्रो लाजघिन सरम नभएको मान्छेको जात। रामे ले अफिसर भएर गाँउका धेरै उपयुक्त युवकलाई सरकारी जागिरमा बिना सित्याइ लगाइ दियो। हिजोआज अझ बढुवा भएर ठुलै पदमा पुगेको सुनिन्छ। म्याट्रिक परीक्षा दिँदा मागी महाजनले दुइ सहे रूपियाँ भन्ने बित्तिकै दिएको गुणसम्म रामेले बिर्सेको रहेनछ। पछि मागी महाजनको अनुरोध अनुसार मात्रै म्याट्रिक पास गरेकी छोरी गोमालाई झ्याँई झ्याईं बाजा बजाएर गर्यो, त्यो बिहे गरेर उसले कत्रो उदाहरण प्रस्तुत गरेको छ,हेरत। यी गाँउमा साँझ बिहान चर्चा हुने कुरा हुन।

चिराखे साँहिलो,हुत्तिराम,भीमसेन भेला भएकि यीनै कुरा गरेर हाँकिन्छन।

बले पनि अनुतापले दग्ध भएर रामे प्रति गरेको अञ्जान मुर्खता सम्झेर आफैँलाई धिकार्ने गर्थ्यो। तर रामेको मनमा उ प्रति कुनै गुनासो नरहेको जानेर औधिनै खुसी भएको छ।

घरको तल्लो तलो छ महिना सम्म खालि थियो। हिजाज त्यहाँ स्कुल खोलिएको छ। वरपरका मेधावी गरीब केटाकेटीलाई निशुल्क शिक्षा दिने व्यवस्था रहेको यस स्कुलमा गाँउकै शिक्षित बेकार युवायुवतीलाई नियुक्ति दिएको छ र, बलेलाई त्यहाँको सम्पूर्ण रेखदेख गर्ने र रामेलाइ समयमा सही समाचार सुनाउने दायित्व दिएको छ। आज रामेको स्कुलका नानीहरूले पाठ घोकेको पवित्र उच्चारण सबैको निम्ति आशाको सञ्चार भएको छ। आइतबार दिउँसो वल्लो कोठामा ढल्केको बले पल्लो कोठामा उस्की कान्छी छोरी पढेको सुन्छ,दारिद्रको अँध्यारो बाट सभ्दाभनापूर्ण परिश्रमले दिन्छ ज्ञानमय उज्जालाको मणिसन्धान। एउटा मुसाको दुलोले कतिलामो र गहिरो जीवनको रेखा तानेछ,बले सम्झेर बेला बेलामा झस्किने गर्छ। महलमा सुतेर पनि बिर्सन नसकेको, त्यो अतीतको इतिहास बोकेको मूसाको दुलाले उसलाइ आफैआफ बिहान बेलुकै पाठ सिकाइ रहेको हुन्छ,सायद बाँचुन्जेल यसले बलेको आखाँमा सोचको गाजल पोति रहन्छ।

प्रतिक्रिया
Loading...