साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा : घमन्डी महिला

‘तँ मेरो नाजायज सन्तान होस् । यदि तँलाई नागरिकता चाहिन्छ भने मैसँग बस् । नत्र भने आजीवन अनागरिक भएर बस्न बाध्य हुने छेस् । बुझिस् तैँले ?’ यो एकालापको गाम्भीर्यभित्र कुनै कथा छिपेको छ ।

— ‘तँ मेरो नाजायज सन्तान होस् । यदि तँलाई नागरिकता चाहिन्छ भने मैसँग बस् । नत्र भने आजीवन अनागरिक भएर बस्न बाध्य हुने छेस् । बुझिस् तैँले ?’ सायद यो एकालाप कुनै फिल्मको हुँदो हो त सो फिल्म चल्ने एउटा सेतु साबित हुन सक्थ्यो । यो एकालापको गाम्भीर्यभित्र कुनै कथा छिपेको छ । उसै पनि एउटा बुढो पुरुषको मुखारविन्दबाट बोली फुटेको छ । अरूका मनमा कौतुहल जाग्नु स्वाभाविकै हो ।

‘नाजायज छोरी ! स्वघोषित त्यो नजायज बाबुचाहिँ को होला ?’ नाजायज सन्तान कहलिएकी युवती मूर्तिवत् उभिएकी उभियै भइन् । मनभित्र रिसको पोको पारिसकेकी छन् । एक मनले त नसोचेकी पनि होइनन्, गएर झ्यामझ्यामी गाला चड्काइदिऊँ । मुखभरि थुकिदिऊँ तर केही पनि हुन पाएन । केही गर्ने ह्याउ आएन उनलाई !

bahulako diary small and inside post

— ‘काजल दिदी, काजल दिदी । तपाईँलाई उता गोपाल सरले बोलाउनुभा’छ । छिटो हिँड्नुस् रे ।’ युवतीलाई डाक्न एक किशोर आयो । उनलाई किशोरको बोली मन परेन । बेसरी गाली गर्न थालिन्— ‘तेरो थुतुनो लुछिदिऊँ मोरा ? तँजस्तो दुईपैसे स्पटब्वाइले पनि मेरो नाम काट्ने भइसकिस् ? भन्ने भए काजल मेडम भन् । होइन भने मसँग बोल्नु पर्दैन ।’ बिचरो केटो ! एक वचन नफर्काई पूर्वस्थानतिर लाग्यो ।

सागर ‘मणि’ थापा

केही बेरपछि काजल उपस्थित भइन् । गोपाल सरको बर्बनी तातिरहेको रहेछ ! देख्नासाथ हकार्न थाले— ‘काजल, कता हराइरहेकी तिमी ? मैले डाक्न पठाएपछि तुरुन्तै आउनु पर्दैनथ्यो ? ऊ हेर उता । फेरि बादल डम्म भइसक्यो ! यस्तो तालले त यो सिन सुट गर्न एक हप्ताले पनि…!’

— ‘डाइरेक्टर साप । आज मेरो मुड छैन । त्यसैले म सुटिङमा बस्न सक्तिनँ ।’ हठात् नायिकाले आफ्नो निर्णय सुनाइदिइन् । निर्देशक गोपाल छक्क परे ! करकापमा पारेर बाँकी सुटिङ सक्ने आँट गरेनन् उनले ।

एक रातको समय…।

डाइरेक्टर सापलाई बिजुलीपानी (मदिरा) तुन्क्याउनुपर्ने रहेछ ! तर उनकी पत्नीलाई सोमरसको दुर्गन्धले सताउँथ्यो । त्यही कारणले पनि डाइरेक्टर सापकी पत्नी कर्कशा थिइन् । सधैँझैँ त्यो साँझ पनि हकारिन्— ‘यो कुकुरको मुत नधोके के हुन्छ ? थकाइसकाइ केही मेटाउँदैन यसले । यो त तिमीजस्ता जँड्याहाको जाँड धोक्ने बहाना मात्र हो । नामर्द कहाँको !

— ‘चुप लाग्…।’ डाइरेक्टर पतिले बेसरी झपारे— ‘यहाँ मान्छेलाई कत्रो टेन्सन परिराख्या छ, ऊ भने कचकच गरिरहन्छे । सुटिङमा हिँड्ने गर् न । अनि चाल पाउँछेस् ।’ त्यो हकराइपछि पत्नी अलि तल झरिन् । डाइरेक्टर सापको स्वर नै कडा ! सुटिङमा ‘ओके, कट्’ भन्दाखेरि कनेर बोल्ने बानी छ । त्यसरी नबोले बाहिरी तमासेहरूको हल्लालाई चिर्न सकिन्न ।

पतिले सितन खाँदै ट्वाक्क जिब्रो पड्काए र एक पेग स्वाट्ट लगाए । रक्सी तान्दातान्दै गोपाल सरको मनमा एउटा विचारले घडेरी जमायो । नायिका काजललाई भेट्न आउने बुढो मानिसका बारेमा जान्ने विचार आयो । आखिर को हुन् ती बुढा ? किन बारम्बार सुटिङ बिथोल्न आइरहन्छन् ?

अर्को दिन…।

सुटिङको दौरानमा खाली समय थियो । नायिका काजल र निर्देशक गोपाल परतिर गएर गफ गर्न थाले । गोपाल सर बाठा थिए । कुरोलाई सेलरोटीझैँ घुमाउन थाले । उनले हिरोइन काजलको मनसुवा बुझ्न चाहेका थिए । सत्यतथ्य कुराको उद्घाटन गर्न चाहेका थिए । अतः गफ दिन थाले— ‘हामी यो फिल्मका दुइटा गीत दृश्याङ्कन गर्नका निमित्त जापान जाँदै छौँ । यदि तिमी गइनौ भने फिल्म चौपट हुन्छ । निर्माता त डुब्छ नै । म पनि…।’

— ‘तर मेरो त पासपोर्ट छैन नि गोपाल सर ।’ हत्त न पत्त काजलले मुख खोलिन् । भन्न चाहन्न थिइन्, सायद । नत्र त हत्केलाले पुर्पुरामा किन ठोक्थिन् र ? गोपाल सरले बुझ पचाएर सोधे— ‘किन नबनाएकी त पासपोर्ट ? नायिका भएपछि विदेश गइरहनुपर्छ भन्ने कुरा थाहा थिएन तिमीलाई ?’

— ‘यो किनको जबाफ मसँग छैन गोपाल सर ।’ यस्तो जबाफ सुनेर निर्देशक चिढिए । उनी काजलको खास कमजोरी पत्ता लगाउन चाहन्थे ताकि ब्ल्याक मेलिङ गर्न सजिलो होस् । उनले दबाबपूर्वक आदेश दिए— ‘मलाई अरू कुरा थाहा छैन । यो एक हप्ताभित्र तिमीले पासपोर्ट बनाएर मेरो हातमा राखिदिनुपर्छ । बस्, कुरो यत्ति हो मैले जानेको । नत्र तिम्रो करिएरमा धक्का लाग्ला ।’

अर्को एक रात…।

खाना खाने बेलामा काजलले आमासामु वेदना पोखिन्— ‘मामी । मलाई पासपोर्टको आवश्यकता पर्‍यो । गोपाल सरले जापान लैजाने रे ।’

— ‘तर छोरी…।’ काजलकी आमाले कमजोरी देखाइहालिन्— ‘पासपोर्ट त्यसै बन्दैन । पहिले नागरिकता चाहियो नि ।’ काजलसामु समस्याको पर्खाल उभियो । उनले नचाहेरै मुख खोल्नुपर्‍यो । उनको बाबुले बारम्बार चेताउनी दिने गरेको विवरण सुनाइन् । अनायासै काजलकी माताश्रीको बर्बनी तातेर आयो । उनले निश्चित गरिन्, अबदेखि आफू पनि रोजिँदा सुटिङमा जानेछिन् ।

काजलकी आमा समाजसेवी भइटोपलेकी थिइन् । केही एनजीओ खोलेर डलरको खेती गर्दै आएकी थिइन् । देशमा एउटा विषयले निकै प्रश्रय पाएको थियो । आमाको नाउँबाट पनि नागरिकता दिने कानुन बन्दै थियो । त्यस व्यवस्थाका लागि देशका नारीवादी महिलाहरू सक्रिय भएर लागेका थिए ।

एक दिनको घटना…।

काजलकी आमा आफ्नी छोरीको अवैध बाबुलाई भेट्न पुगिन् । अफिसमा एक्कासि पूर्वपत्नीलाई देखेर पूर्वपति निकै आँत्तिए— ‘आ..आम्मै ! ति..तिमी यहाँ ? प्लिज, बस न माया ।’

— ‘म यहाँ बस्न आएकी होइन । तेरो हैसियत सम्झाउन मात्र आएकी हुँ…।’ आमा हो नि ! बुढीले मार्छिन् कि क्याहो ? पूर्वपतिको अलिकति पनि भाउ राखिनन् । बुढाले छोरीलाई त निकै तर्साएका थिए तर पूर्वपत्नीसँग त सिस्नु गलेझैँ गल्दा रहेछन् ।

मायाले बुढालाई कडा चेतावनी दिइन्— ‘आइन्दा फेरि मेरी छोरीलाई सताउन गइस् भने जेल पठाइदिन्छु !’

सम्बन्धित पोस्टहरु

पूर्वपतिको ओठ खुल्दै खुलेन । माया गइसकेपछि टेबुलमा हात बजारेर मन शान्त पारे !

काजलकी आमा मायाले फिल्म निर्देशक गोपाललाई भेटिन् । उनले सुटिङ स्पटमै कडा निर्देशन दिइन्— ‘डाइरेक्टर सापले मेरी छोरीलाई जापान लाने कष्ट नउठाउनुहोला । जाबो दुइटा गीतका लागि विदेशमा सुटिङ गर्नुपर्छ ? कुन मुर्गा रहेछ निर्माता भनौदो ? डाइरेक्टरले जे भने पनि हस् भन्ने ? यहीँ छन् नि चाहेजस्ता सुटिङ स्थलहरू ।’

— ‘ठिकै छ । काजल जान सक्तिनन् भने…।’ गोपाल सरले कपाल कन्याउँदै अगाडि भने— ‘म यहीँ गर्ने कोसिस गर्नेछु ।’

निर्देशक गोपालले मुखले मात्र मानेझैँ गरेका थिए तर मनभित्र चाहिँ इख लिइरहेका थिए— ‘कस्ती आइमाईको जालमा परिएछ ! मैले जानेको छु, कसका लागि के गर्नुपर्छ । यी घमन्डी आमाछोरीकै सेखी नझारी त कहाँ छोडुँला र ।’

फिल्मी बजारमा एउटा हल्ला चल्न सुरु गर्‍यो । त्यो प्रायोजित थियो ? वा स्वतःस्फूर्त रूपमा ? त्यो भने बुझ्न सकिएको थिएन । हल्ला नराम्रो थियो । निर्देशक गोपाल र नायिका काजलबिच भित्री साँठगाँठ छ । अन्तरङ्ग सम्बन्ध पनि छ । बेला-बेलामा यिनीहरू सुटिङ स्थल छाडेर गायब हुन्छन् । यस्तै-यस्तै ।

वास्तवमा गोपाल सर त्यही क्षणको प्रतीक्षामा रहेछन् ! उनी त चलचित्रकर्मी । नयाँ-नयाँ कहानीको खोजीमा हुन्छन् नै । उनले काजललाई नवीन कथाको स्रोत बनाउने विचार गरिसकेका थिए । उनले काजलसँग समय मागेका थिए । नभन्दै हिरोइन काजलले गोपल सरलाई डिनर अफर गरेकी थिइन् ।

ती दुई पाँचतारे होटलमा पुगे । काजलको फेसन निकै उत्ताउलो प्रकारको थियो । रेस्टुराँमा बसेपछि गोपाल सरले सोधे— ‘तिमी के लिन्छ्यौ ?’

— ‘बियर मात्रै चल्छ मलाई त ।’ हिरोइनले दारिमे दन्त प्रदर्शन गर्दै भनिन् । गोपाल सरले हार्ड ड्रिङ्क्स लिए । काजलले बियर लिइन् । चियर्स गरेर एक घुट्को मदिरा पिएपछि गोपाल सर बोल्न सुरु गर्छन् । काजलले दुई बोतल बियर पिइन्जेलसम्ममा गोपाल सरले मात्तिने गरी ह्विस्कीको चुस्की लगाइसकेका थिए ।

गोपाल सरले अन्तिम वाक्य बोले— ‘काजल । मलाई नयाँ फिल्मका लागि राम्रो स्टोरी चाहिएको छ । तिमी लेखिदिन सक्छ्यौ ? मेरो मतलब तिम्रो जीवनसँग मेल खाने…।’

— ‘स्टप इट् ! यु ब्लडी बास्टर्ड…!’ लौ जा ! हठात् काजलले गोपाल सरको मुखैमा जुठो बियर हुत्याइदिइन् । दायाँबायाँका ग्राहकहरूले ठाने, केटीलाई रक्सीको मात लागेछ ! गोपाल सरले सोचिसकेका थिए, कपालमा समातेर…। तर उनी संयमित भए । आफ्नो इज्जतको ख्याल गरे उनले । काजल पनि होसमा आइन् । क्षमा माग्दै आफ्नो छाती ढाकेको सलले गोपाल सरको मुख पुछिदिइन् ।

घरमा गएपछि काजल आमासँग झगडा गर्न थालिन् । आमाले रिसाएर भनिन्— ‘तिमीलाई जम्मै कुरा अवगत भइसकेछ त फेरि किन नाना थरी कुरा सोधेर मलाई हैरान पार्छ्यौ छोरी ?’

— ‘किनकि म हजुरकै मुखबाट सबै कुराहरू सुन्न चाहन्छु मामी । छिटो भनिस्योस् न । वास्तविकता के हो ? मेरो असली बाबु को हो ?’

काजलकी आमा मायाले कहानी यसरी बताइन्—

उनको पहिलो प्रेमी मिश्र थरको एक पुरुष थिए । त्यसताका उनीहरू त्रिचन्द्र कलेजमा अध्ययनरत थिए । त्यो घटना बी.एस्सी. पढ्दा घटेको थियो । मायाको परिवारले उनीहरूको प्रेमलाई रुचाएन तर मायाको जिद्दीको अगाडि उनको परिवार घुँडा टेक्न बाध्य भयो । मिश्रसँग मायाको लगनगाँठो कस्सियो तर दाम्पत्य जीवन सफल भएन । मायाको उत्कट चाहना थियो, अरू नारीहरूजस्तै आमा बन्ने । उनी एउटा मिठो तलतल मेटाउन चाहन्थिन् । एउटा बच्चा जन्माउन चाहन्थिन् । त्यो बच्चाको चिहाँचिहाँ आवाज श्रवण गर्ने एक मात्र लक्ष्य लिएर अघि बढिरहेकी थिइन् उनी । पहिलो पति मिश्रबाट त्यो सम्भव भएन । तसर्थ उक्त पुरुषलाई छाडिदिइन् ।

समय बित्दै गयो । मायाको जीवनले अर्को मोड लियो । एम.ए.मा पढिरहेकी थिइन् उनी । उनले देवराजसँग हिमचिम बढाइन् । प्रेमको नाटक रचिन् । केही समय त्यो नाटकमञ्चन भइरह्यो । देवराजसँगको समागमबाट काजललाई जन्माइन् उनले । त्यसपछि देवराजको उपयोगिता समाप्त भएको घोषणा गरिन् ।

बस्, कथा सकियो ।

— ‘तपाईँ त एक नम्बरकी स्वार्थी आइमाई हुनुहुँदो रहेछ मामी !’ आज पहिलोपटक काजलले आमालाई दुत्कारिन्— ‘छिः मलाई त मामी भन्न पनि घृणा लागेर आयो ! आमा र श्रीमतीको नातामा एक कलङ्कित महिला हो तपाईँ । अर्थात् एक घमन्डी महिला ! त्यो कालो अनुहार नदेखाउनुस् मलाई ।’

— ‘के भन्न खोजेकी तैँले ? त्यो जात नमिल्ने मान्छेसँग म बस्न सक्थेँ त ? त्यो देवराज भन्ने मान्छे हाम्रो खानदानसँग सुहाउँदो थिएन तर आज तैँले त्यसकै जात जनाइस् काजल ! मलाई लोग्ने मान्छे चाहिएको थियो, युज गरेँ । सो ह्वाट् ?’

— ‘ह्वाट् न स्वाट्, सिसी प्वाट् !’ अचानक देवराजको आगमन भयो । आज चाहिँ उनले अलिकति चुस्स लगाएर आएका रहेछन् ! अनि पो पूर्वपत्नीलाई ठाडै जबाफ दिए— ‘मजस्तो हैसियत नभएको मान्छेसँग बस्न अप्ठेरो भो हैन त ? जातभात मिलेन हैन त ? तिमीलाई लोग्नेमान्छे भए पुग्दो रहेछ तर मलाई आफ्नो रगतको माया लाग्छ । काजल, तिमी मसँग जान्छ्यौ कि…?’

— ‘म अब एकछिन पनि बस्न सक्तिनँ बुबा ।’ उसले आमातिर वक्रदृष्टिले हेरेर जबाफ दिई— ‘म पनि हजुरसँगै जान्छु । हजुरसँगै बस्छु ।’ काजल बाबुसँग जान तयार भइहालिन् ।

मायाले छोरीलाई रोक्ने चेष्टा गरिन् तर छोरीले हात झड्कारेर अघि बढिन् । देवराजले छोरीलाई लिएर गए । माया एक्ली भइन् । उनको सहारा भन्नु केवल आँसुका धारा मात्र थिए । घमन्डी महिलाको भागमा अरू पर्ने त कुरै थिएन ।

प्रतिक्रिया
Loading...