“डाइ, कापी कह्या किन्ना हो ?” मङ्गलेले स्कुलबाट फर्केपछि झोला नफाल्दै फेरि आमालाई त्यही प्रश्न सोध्यो । तीन दिनदेखि हरेक दिन उसले त्यही प्रश्न सोध्ने गरेको थियो । बाउसँग पैसा माग्ने हिम्मत नभएकाले आमालाई सुनाएको थियो । बिचरो के गरोस्, स्कुलमा बुढाथोकी गुरुले कापी नलगे कानका बुट्टी तान्थे । उसलाई कक्षामा रुन मन थिएन ।

मङ्गलेको बाबु सुनपुरे भर्खर खाना खाएर एकछिन झकाउन आँटेको थियो । मङ्गलेले पैसा मागेको कुराले उसको पर्नै लागेको निद्रा खलबल्याइदियो । जेठको महिना, प्रचण्ड गर्मी थियो । बिहान स्कुल लागेको थियो । मङ्गले भर्खर स्कुलबाट फर्केको थियो । घरपछाडिको आँपको बोटको छायामुनि गुन्द्री ओछ्याएर दिनभरि सुत्नु उसको नियमित दिनचर्याजस्तै थियो । गरोस् पनि के यो खडेरीमा ? न त खेती सुरु भएको थियो न त जमिन्दारको अरू केही काम थियो ।

डा. राजु अधिकारी

तीन दिनदेखि उसले कापी किन्ने कुरा सुनेको नसुन्यै गरिरहेको थियो तर कति दिन टार्न सक्थ्यो र? आज नभए भोलि, भोलि नभए पर्सि त कापी किन्दिनै पर्थ्यो तर पैसा माग्ने छोरोसँग भन्दा उसलाई हरिप्रसादसँग रिस उठिरहेको थियो । हो, त्यो सबै समस्याको जड हरिप्रसाद नै थिए । हरिप्रसाद पौडेल अर्थात् उसका जमिन्दार । उनी अलि प्रगतिशील विचारका थिए । डबरडिङ्गा गाउँमा सुनपुरबाट उसलाई कमैया राख्न हरिप्रसादले नै ल्याएका थिए । त्यसैले उसको नाम नै सुनपुरे बड्का थियो, खास नाम के हो सायद ऊ आफैँलाई पनि थाहा थिएन । मङ्गलेलाई स्कुल पठाउन जोड गर्ने तिनै हरिप्रसाद थिए । सुनपुरेलाई त छोरोलाई स्कुल पठाउने पटक्कै मन थिएन । उसलाई थाहा थियो पछि ठुलो भएपछि उसले पनि गर्ने काम भनेको त्यही खेतीपाती र मजदुरी नै हो । ऊ आफैँले नपढे पनि जीवन चलेकै थियो । उसको छोरोले पढे पनि कति नै पढ्न सक्ला र? पढिहाले पनि जागिर खान पाउने होइन । उसले आफूले सक्ने गरी ‘पर्के फे का कर्ना हो बाज्या?’ भनेर आफ्नो अनिच्छा पनि देखाएकै थियो । तर हरिप्रसादले जोड गरे । जमिन्दारको कुरा काट्न सकेन र सात वर्षको हुँदा मङ्गलेलाई बनगाउँ स्कुलमा एक कक्षामा भर्ना गरिदियो । किताब त स्कुलले सित्तैमा दियो तर कापी, कलम सबै आफैँ किन्नुपर्‍यो । पहिलोपटक किनेको कापी सकिएपछि मङ्गलेले अर्को कापी किन्नका लागि पैसा मागेको थियो । वरपर पसल थिएनन् । जे किन्नुपरे पनि घोराही दौड्नुपर्थ्यो ।

एक मन त हरिप्रसादको घर गएर ‘देऊ कापी किन्ने पैसा । तिमी नै हैनौ स्कुल पठाउनुपर्छ भन्ने ? अब कसले धान्छ स्कुलको खर्च ?’ भनेर थर्काउन मन लागेको थियो तर त्यो उसको सुन्दर कल्पना मात्र थियो । हरिप्रसादको अगाडि ऊ अलि ठुलो स्वरमा बोल्न पनि सक्दैनथ्यो । बोलोस् पनि कसरी । हरिप्रसाद नै उसका अन्नदाता थिए । उनी रिसाएपछि सुनपुरेको पूरै परिवार भोकै पर्थ्यो ।

छोरो झोला फालेर चिसो भात खान भित्र पस्यो तर सुनपुरेलाई चाहिँ पैसा कहाँबाट ल्याउने चिन्ताले सतायो । पैसा आउने कुनै बाटो थिएन । खडेरीमा न त कुखुराले अन्डा पारेका थिए, न बट्टै भेटिन्थे न त सुङ्गुर नै काट्न पाइएको थियो । छोराले भात खाँदै गर्दा कहाँबाट पैसा ल्याऊँ भनेर सोच्दासोच्दै उसलाई एउटा उपाय आयो अनि जुरुक्क उठेर दलिनमा घुसारेका एक मुठा बनकस निकालेर सुङ्गुरलाई पानी खुवाउन बनाएको काठको डुँडमा बाहिर लगेर भिजायो । बनकस एकछिन भिजेपछि डुँडबाट निकालेर उसले दनादन डोरी बाट्न सुरु गर्‍यो । उसलाई थाहा थियो बजारमा जे पनि बिक्छ । घोराहीका पसलहरूमा प्लास्टिकका दाम्ला बेच्न राखेको उसकै आँखाले कतिपटक देखेको थियो । त्यसैले ‘कसरी नबिक्ला र?’ भन्ने कल्पना गर्दै उसले ढुक्कसँग डोरी बाट्यो ।

डोरी बाट्न ऊ निकै खप्पिस थियो । बनकस होस् या जुटको, जे को डोरी पनि उसले निकै राम्रोसँग बाट्थ्यो । डोरी बाट्न उसले आफ्नो बाबुबाट सानैमा सिकेको हो । एकैछिन डोरी बाटिसकेर तिनै डोरीबाट उसले दुईओटा गतिला दाम्ला तयार गर्‍यो । छोरो भात खाएर बाहिर चुठ्न निस्कँदासम्म ती दाम्लाहरू तयार भइसकेका थिए । त्यसैबिच कतिमा बेच्दा ठिक होला भनेर उसले मनमनै हिसाब गर्‍यो ।

दुईओटा कापी किन्न एउटाको एक रुपैयाँको दरले, दुई रुपैयाँ । उसलाई एक रुपैयाँ ‘नाफा’ गर्न मन लाग्यो । दुईओटा दाम्लालाई तीन रुपैयाँमा बेच्न एउटालाई कतिमा ? उसले मनमनै हिसाब गर्‍यो अनि उत्तर पायो- एउटालाई एक रुपैयाँ पचास पैसा ।

उसले बनकसको डोरी बजारमा बेचेको देखेको त थिएन तर बजारमा प्लास्टिकका डोरीहरू मनग्य बिक्थे । धेरैले बनकसको दाम्लो छोडेर राता पहेँला प्लास्टिकका डोरीले गाईवस्तु बाँध्न थालेका थिए । प्लास्टिकको डोरीलाई पनि कति पर्छ भन्ने उसलाई थाहा थिएन, बनकसका दाम्लालाई कति पर्ला भन्ने त थाहा हुने झन् कुरै भएन तर एक मुठो बनकसलाई कति नै पर्ला र? उसले अनुमान लगायो— खुब परे एक रुपैयाँ । ती दुईओटा दाम्ला बाट्न ठ्याक्क एक मुठा लागेको हो, त्यसैले एक रुपैयाँका भए । उसलाई चाहिएको पनि तीन रुपैयाँ नि । कहिले स्कुल नगएको र अक्षर नचिनेको भए पनि उसलाई सानोतिनो हिसाब चाहिँ फटाफट आउँथ्यो । दाम्लो बेचेर छोराको कापी किन्ने पैसा निकाल्ने आफ्नो जुक्ति र आफूले फटाफट गरेको हिसाब सम्झेर ऊ आफैँ दङ्ग पर्‍यो ।

छोरोले हात चुठिनसक्दै उसले तीन रुपैयाँमा दाम्ला बेचेर दुई रुपैयाँको दुइटा कापी किन्ने र बाँकी एक रुपैयाँ फिर्ता ल्याउने गरी दाम्ला हातमा हालिदियो ।

मङ्गेले दाम्ला समातेर चिसै हात निस्कन आँटेको मात्रै के थियो, त्यही वेला आँगनको जिङ्गटको रुखको छायामा भेडाको पाठासँग धुलामा खेल्दै गरेकी चार वर्षकी बहिनीले तोते बोलीमा “मै फे जैठू” भनेर दौडेर आई ।

डबरडिङ्गाबाट घोराही दुई किलोमिटर जतिको दूरीमा थियो । दुधे सोतामा अलिकति डर लाग्ने भए पनि अरू सबै ठाउँमा गाउँ बसिसकेको थियो । त्यसैले मङ्गलेलाई बहिनी लगेर घोराही जानु कुनै ठुलो कुरो थिएन । अलि बढी गर्मी भयो भने बडहरा गाउँको आँपको बोटमुनि एकछिन बिसाएर जान सिकाएर सुनपुरेले छोराछोरीलाई पठायो । कहाँ, कसरी र कतिमा बेच्ने पनि उसले छोरालाई सबै सिकायो । डेढ रुपैयाँभन्दा कममा नबेच्न उसले स्पष्ट भाषामा बतायो ।

बजार जान पाउँदा दुवै दाजुबहिनी मक्ख थिए । हुन त त्यहाँ गएर उनीहरूले न केही खान पाउने हुन् न केही खेल्न तर पनि बजारको रमाइलाले उनीहरूलाई आकर्षण गर्थ्यो । बुर्कुसी मार्दै बछेडो घोडा दौडे जसरी बहिनीलाई साथमा लिएर मङ्गले त्यो जेठ महिनाको बाह्र बजेको घाममा दाम्लो बेच्न बजारतिर दौडियो ।

बजार पुग्न लगभग बच्चाहरूका लागि आधा घण्टाको बाटो थियो । गर्मी भए पनि बजार जाने उत्साहले उनीहरूलाई गर्मी नै लागेको थिएन । बाटाभरि बुरुक्क बुरुक्क उफ्रिँदै दुई भाइबहिनीले आधा घण्टाको यात्रा २० मिनेटमै तय गरे, बडहराको आँपको रुखमुनि बिसाउनु पनि परेन ।

घोराही पुग्नेबित्तिकै मिलन चोकको आँपको बोटमुनि बनाएको चिल्लो चौतारीमा एउटा खाली ठाउँ खोजेर दाम्ला फिँजाएर मङ्गले बहिनीलाई सँगै राखेत दाम्ला बेच्न बस्यो ।

डबरडिङ्गाको बाटो गर्दै घोराही पस्ना साथ आउने मिलन चोकको चौतारी घोराहीको ‘मिटिङ पोइन्ट’ जस्तै थियो । वरिपरि घाम छल्न मान्छेहरू छायामा बसेर गफ गर्दै थिए । कोही, बाघचाल खेल्दै थिए, कोही चुरोट तान्दै थिए । मान्छेहरू आउने, एकछिन छायामा सुस्ताउने अनि जाने क्रम चलिरहेको थियो । नयाँ मान्छे आएपछि आशातीत नजरले मङ्गलेले हेर्थ्यो तर कसैले पनि दाम्ला किन्ने छाँट देखाएनन् । दुईओटा साना चिचिलाहरू दाम्ला बेच्न बसेको देखेर कतिले “किन दाम्ला बेच्न बसेको ?” भनेर सोध्थे, उसले पनि नढाँटी कापी किन्न पैसा नभएर दाम्लो बेच्न आएको कुरा थारु लवज मिसिएको नेपालीमा बताउँथ्यो ।

त्यो चौतारीमा मान्छेहरू आउने जाने गरिरहे तर मङ्गलेका लागि कोही ग्राहक आएनन् । कति बेला हातमा पैसा पर्ला र कापी किनौँला भनेर उनीहरू पर्खेर बसे ।

धेरै बेर कुर्दा पट्यार लागेपछि तिर्खा नलागे पनि बिच-बिचमा ऊ नजिकैको पानीको धारोमा गएर पानी पिउँथ्यो अनि बहिनीलाई पनि पिलाउँथ्यो । घरमा भएको भए यो गर्मीमा भटमास मिसाएर बनाएको दुई-तीन दिनदेखि बासी बनाएर राखेको अमिलो माड काँसको कचौरामा राखेर सुरुप्प पिउन हुन्थ्यो । त्यो दिन नपाइने भो ।

त्यसबिचमा दुईपटक ‘भ्वाँक- भ्वाँक-’ पार्दै साइकलमा बरफ बेच्ने मान्छे आयो । दुवै दाजुबहिनीले बरफको स्वाद चाखेका थिएनन् । एक जनाले किन्यो चुस्यो, दुवैले थुक निले ।

घाम बिस्तारै पश्चिमको डाँडातिर जान थाल्यो, गर्मी पनि कम भयो, बजार खेलेर गाउँतिर फर्कने मान्छेहरू पनि बाक्लिए तर कसैले उसको दाम्ला किन्ने सुरसार देखाएनन् ।

उता, खडेरी सकिन लाग्यो, एक महिनाभरि खुला छोडिएका गाईवस्तु बाँध्न नयाँ दाम्ला बाट्नुपर्ला भनेर रिजाल माइलाले धेरै दिनदेखि सोचिराखेका थिए तर फुर्सद नै हुदैनथ्यो । घरमा बनकस पनि थिएन, बनकास किनेर दाम्ला बाट्नुभन्दा बरु दाम्ला नै किनेर लानुपर्‍यो भनेर अफिस छुट्टी भएपछि बजाएर भरि उनले धुइँधुइती दाम्ला खोजे तर पसलेहरूले डोरी मात्र बेच्न राखेका थिए, त्यसलाई लगेर फेरि दाम्लो बनाउनुपर्‍यो । बनकसको भन्दा पनि प्लास्टिकका डोरी छ्यापछ्याप्ती थिए । प्लास्टिकको डोरी बलियो त हुन्थ्यो तर एक मिटर प्लास्टिकको डोरीको पनि १०—१२ रुपैयाँभन्दा कम थिएन । महँगीले उनको मन बदलियो । त्यति महङ्गो प्लास्टिकको डोरी किन्नुभन्दा बरु बनकस किनेर आफैँ दाम्लो बाट्नुपर्ला भन्ने सोच्दै उनी घर फर्कन लागेका थिए, मिलनचोकमा दाम्ला अगाडि राखेर दुई जना केटाकेटी बसेको देखेपछि उनी त्यता गए ।

पैसाको मामलामा रिजाल माइला निकै चलाख थिए । नचाहिने कुरामा एक पैसा खर्च गर्दैनथे । दाम्लो बेच्न राखेको त देखे तर कतिमा किन्ने भन्ने उनलाई हिसाब गर्न बाँकी नै थियो । उनले सोचे ‘गाउँमा एक मुठा बनकसको एक रुपैयाँ भनिहाल्छन्, एउटा दाम्लो बाट्न कमसे कम आधा मुठा लाग्ने भइहाल्यो । बनकसको मात्रै आठ आना भयो, त्यसलाई बाट्न लाग्ने श्रमको मूल्य जोड्नुपर्‍यो, त्यसपछि गाउँबाट सहर ल्याउने समय अनि त्यसको श्रम, यहाँ यो घाममा दिनभरि बेच्न बस्ने मान्छेको समय र श्रम, सबै जोड्दा त अलि महँगो नै हुने भयो । प्लास्टिकको भन्दा त अलि सस्तै पर्ला तर त्यति सस्तो पनि नहुने रहेछ । ’

“बेच्न राखेका दाम्ला हुन् बाबु?” आफ्नो हिसाब गरिसकेपछि उनले सोधे ।

ग्राहक आउने आशा मारिसकेको मङ्गलेले ग्राहक आएको देखेर मक्ख पर्दै टाउको उठाएर आशातीत नजरले माथि हेर्दै तुरुन्तै उत्तर दियो, “हो बाजे । ”

आफूले तिर्न उचित लागेको मूल्य मनमनै तय गरिसकेका रिजाल माइलाले भने, “दुई रूप्पेमा दिने हो एउटा? म दुइटै किन्छु । ”

मङ्गलेले आफ्नो बाबुले भनेको सम्झ्यो । भर्खर स्कुल जान थालेको, नेपाली पनि त्यति राम्ररी नबुझ्ने बिचरो मङ्गलेलाई घाटा खाएर बेच्यो भने एकातिर बाको हप्की खाने अर्कातिर कापी किन्ने पैसा नपुग्ने डर थियो । त्यसैले उसले आफ्नो परिचित थारु लवज मिसिएको नेपालीमा उत्तर दियो,“ ‘डेर’ रूप्पेको एउटो हो बाजे । दुई रुप्पेमा त हुन्न ।”