साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा : म्लेच्छको देश

ठगेका बुढाबुढी छोराका ससाना ननीहरूको धरालो गर्न आएका थिए । जीतेन्द्रलाई सालाले अमेरिका देखाउन बोलाएका थिए । जीतेन्द्रका छोरा पनि अमेरिकै भए पनि बाबुलाई बोलाउने हैसियत थिएन ।

ठगेले भने – यो अमेरिका त स्वर्गजस्तै रहेछ । न जातपात छ न सानोठुलो भन्ने देखिन्छ । सबैले काम गर्ने सफा उस्तै छ । अरूको कुरा काट्नु पनि छैन । कमायो रमायो … .। जीतेन्द्रले पनि होमा हो मिलाए – हाम्रो शास्त्रमा पातल र रसातलपछि स्वर्ग आउँछ भनेको छ । यो ठाउँ त हाम्रो देशको ठिक तल पर्दछ । हाम्रा पुर्खाहरू पनि हामीले गया, काशी, बद्री, केदार गएर पिण्ड दिएको हुँदा अवश्य यहीँ आए होलान् । ठगेले कुरा काटे – मलाई त हाम्रा पुर्खा यता आएका छैनन् होला जस्तो लाग्दछ । पहिले त यो देशलाई म्लेच्छको देश भनिन्थ्यो । गाई खाने देशको उच्चारण गर्दा पनि सुनपानी छर्केर चोखो हुनुपर्दथ्यो … ।

ठगेका बुढाबुढी छोराका ससाना ननीहरूको धरालो गर्न आएका थिए । जीतेन्द्रलाई सालाले अमेरिका देखाउन बोलाएका थिए । जीतेन्द्रका छोरा पनि अमेरिकै भए पनि बाबुलाई बोलाउने हैसियत थिएन । तिनीहरूको आआफ्नो नेपालमा पुर्ख्यौली जिल्ला परिवारका सदस्य सङ्ख्या र उमेर आदिबारे एकअर्कोमा विनिमय भयो । ठगे आफू दस वर्षको हुँदा उनको परिवार तराईमा बसाइँ सरेको रहेछ । जीतेन्द्रको घर पनि ठगेको पाहडको घर भएकै गाउँमा रहेछ तर उनले ढाटेर पोखरातिर भने । वास्तवमा दुवै जनाको बाल्यकाल वल्लोपल्लो गाउँमा बितेको रहेछ ।

bahulako diary small and inside post
शिवप्रसाद पाण्डे

जीतेन्द्रले आफ्नो छोरा कसरी अमेरिका आएको थियो भन्नेबारे सुनाए – हाम्रो र दलितको थर मिल्नेछ । त्यसैले दलित अपाङ्ग बनाएर दला मार्फत मेक्सिको एउटा संस्थाको  कार्यक्रममा भाग लिन भनी पठाइएको थियो । त्यहाँ चार दिनसम्म भाग लिएजस्तो गरेछ । पाँचौँ दिन नेपाल फर्कन भन्दा त झन्डै बेहोस परेछ । तर सिकाएअनुसार उसले भनेछ – हाम्रो संस्थाको मुख्य कार्यालय न्युयोर्कमा छ । एकचोटि त्यहाँ पुगेर फर्कौँ ।

जीतेन्द्रले भन्दै गए – ऊ यतै हराएर धेरै हन्डर खायो । भूकम्पपछि अबैध रूपमा बसोबास गरेका नेपालीलाई भिसियार हो कि टिपिआर के दिएकाले काम गर्न पाएको छ । भाग्य नै मान्नुपर्छ । अहिले एउटा नेपालीको होटेलमा काम गर्छु भन्छ – – -। एउटा नेपाली केटीसँग लभ छ रे । ठगेले पनि आफ्नो छोराको बारे भने – मेरो त पढाइमा नै आएको हो । तर दुई वर्षपछि सेनामा भर्ती भएछ । पाँच वर्ष काम गरेपछि निस्कन पाइने रहेछ । अहिले होटल चलाएको छ । ऊ नागरिकै बनेको छ । उसको त ठुलो इज्जत छ । कारमा पनि भूपू सैनिक लेखेको छ । खैरेका लोग्नेस्वास्नीसँगै खाजा खाँदा त आआफ्नो पैसा तिर्दछन् तर मेरो छोराको बिल भूपू भन्ने थाहा पाए पहिल्यै तिनीहरूले तिरिसकेका हुन्छन् । छोराहरूको बिहाबारीबाट उम्के । एउटी छोरीले पनि एउटा नेपाली केटासँग लभ गर्दै छु भन्छे । छिटै ल्याउछे होला —–।

जीतेन्द्रका छोराले बाबुलाई भने – एउटा नेपालीको घरमा डिनर गर्न बोलाएका छन् । मैले हजुरलाई घरसम्म पुर्‍याइदिएर काममा जान्छु । जातपातका बारेमा केही नभन्नुहोला । यस्ता कुरा गरेको यो ठाउँमा राम्रो मानिँदैन । राति बाह्र बजे मात्र आउँछु । ठगेका छोराले पनि आफ्ना बाबुआमालाई यसरी नै सम्झाएका रहेछन् ।  साँझ पाँच बजे नै जीतेन्द्रलाई भनेको घरमा छोराले पुर्‍याइदिएका थिए । आफू भने बाहिरैबाट काममा गए । बेलुका छ बजेबाटै दुई जनाको खानपिन सुरु भयो । टेबुलमा धेरै किसिमका रक्सी थिए ।  ठगेले सोधे – तपाईँलाई कुन मन पर्दछ ? उनले भने तपाईँ जुन लिनुहुन्छ मैले पनि त्यही खाएजस्तो गरुँला । दुवै जना खिस्स हाँस्दै चेस गरे ।

जीतेन्द्रलाई कमलो मासु साह्रै मन पर्‍यो । ठगेले पकको मासु यस्तै हुन्छ भने । तिनीहरूलाई रक्सी लाग्दै गयो । दुवै जना यो बिरानो ठाउँमा लामो समय बस्न नरुचाएको दुखेसो पोखे । अब दुवैलाई आफ्नो विगतको भोगाइ अभिव्याक्त गर्न मन लाग्यो । आआफ्नो भोगाइ काल्पनिक पात्र खडा गरी भन्दै गए । जीतेन्द्रले भने – एक जना राज साहेब थिए । बाबुले सबै सम्पत्ति सकेर मरे । बाहिर ठाकुर नैना सुत भित्र ठाकुर भुईँमा सुत भनेजस्तो भयो । छोरा गरिब बने । त्यसैले हलो जोत्न सुरु गरे । उनलाई सबैले अने ठाकुर भन्दथे । छोराछोरी धेरै थिए । आफूलाई खाजा खान दिएको भुटेको मकै साँझ पिँढीमा ल्याएर छरिदिन्थे । भुराभुरीहरूले टिपेर खाँदै गर्दा केही समय भुल्ने गर्दथे ।

ठगेले पनि भन्न सुरु गरे – एक जना दलितका बाबु कटुवाल थिए । उनलाई त्यहाँका ठकुरी बाबु साहेबहरूले अपहेलना गर्न आफ्नो पिसाब फेर्ने हाँस आकारको भाँडो दिएका थिए । उनलाई त्यो के गर्ने भाँडो हो थाहा थिएन । गाउँमा उनी त्यही भाँडो लिएर मोही माग्न हिँड्दथे । उनको छोराले एकपटक साहूको धार्नी ठेको छोएछ । साहुले अब भैँसी रुखमा चढ्दछ भन्दै गाली गरेछन् । पछि उनैको आरनमा लगेर कादो ठोकेर ल्याएपछि चोखो भएको थियो । हामी भैँसी कसरी रुखमा चढ्दो रहेछ हेर्न गएका थियौँ ….. ।

जीतेन्द्र लरखराउँदै उठेर अर्को बोतल झिक्दै गर्दा भने – हामीले अरूको कुरा धेरै गर्‍यौँ । अब हाम्रै गरौँ न । ठगेले भने – अहिलेसम्म मैले गरेको कुरा आफ्नै त हो । जीतेन्द्रले भने – मैले पनि कहाँ अर्काको कुरा गरेको हो त ! अहिले त कटुवालको छोरा र बाबु साहेबको छोरासँगै भएको जस्तो लग्यो । ठगेले भने । जीतेन्द्रले अझै प्रस्ट्याए – जस्तो होइन साँच्चै हो । ठकुरीको ठुलो हुने बानी अझै छ । ठगेले भने – जे गर्छ यहीँ साँचो बकाउने फोरेस्कि झोलले गर्दछ !  त्यसपछि दुवै जना गल्ल हाँसे ।

रातिको एघार बजेतिर ठगेका छोराछोरी, बुहारी र जीतेन्द्रका छोरा एकैसाथ भित्र पसे । ठगेले भने –  अब हुने वाला ज्वाइँ यिनै हुन् । जीतेन्द्रले भने – ज्वाइँ त मोटोघाटो हुनुहुँदो रहेछ । हामी दाजुभाइ भए मैले पनि ज्वाइँ नै भन्नुपर्‍यो । ठगे आचार्यमा पर्दै सोधे – कसलाई भन्नुभएको हो ? यो हट्टाकट्टा त मेरो छोरा हो । ज्वाइँ त यिनै मरनच्याँसे हुन् । जीतेन्द्रले झस्कँदै भने –  यो मेरो छोरा हो । ठगे खुसी हुँदै भने – त्यसो भए हामी सम्धी सम्धी भयौँ । आउनुहोस् टाउको ठोकाऔँ । जीतेन्द्रले पनि ठिकै छ भन्दै टाउको ठोक्काए । उनले सोधे – तपाईँकी छोरी खोइ त ? ठगेले निलो पाइन्ट लगाएको व्याक्तितिर सङ्केत गरे । मैले त केटा ठानेको मेरै हुने बुहारी पो रहिछन् भन्दै जीतेन्द्र एकोहोरो हाँसे ।

जीतेन्द्रले भने – नेपाल स्वर्गै हो तर विभेद, अन्याय, भष्ट्राचार जस्ता अस्तव्यस्त परिस्थितिले गर्दा मात्र हो । नेताहरूमा नै साँगुरो सोचाइ छ । ठगेले भने – एकले अर्कालाई दोष दिने नेपाली चलनै हो । यो बिगारेको कसले हो र अब कसले बनाउने हो ? अहिलेसम्म चुप्प बसेकी ठगेकी श्रीमतीले मुख खोलिन् – छोरीज्वाइँको अँगालो के छुट्ला र ? तर सम्धी सम्धी भने नेपाल पुगी त्यहीँको पानी खाएपछि टाउको फुट्ने गरी ठोक्ने पो हुन् कि डर लाग्यो !

प्रतिक्रिया
Loading...