हप्ता दिनदेखि हामीबिच बोलचाल थिएन ।

उनी जित्न चाहन्थिन् । म हार्न चाहन्नथेँ । उनी मेरो मुखबाट सत्य बकाउन खोज्थिन् । म असत्यको पर्दाले ढाकेर उनलाई दृष्टिभ्रममा राख्न खोज्थेँ । केही सिप नलागेपछि आखिरमा उनले बाजी थापिन् । लाजै पचाएर मैले पनि सहमति जनाइदिएँ । कुनै असामञ्जस्यमा परिनँ । हर्षबढाइँ गर्न थालेँ । त्यस वेला उनको पराजय मेरो पुरस्कार थियो । उनको आँसुमा मेरो शक्ति लुकेको थियो ।

०००

उनले भनेकी थिइन्, ‘हप्ता दिनभित्रमा आफ्ना काला कर्तुत स्विकारेर तपाईँ मसमक्ष झुक्नुपर्छ । जीवनलाई नर्कमा जाक्ने काममा सुधार नगर्ने भए आठौँ दिनमा मलाई तपाईँकै घरमा पासो लागेको अवस्थामा भेट्नुहुनेछ । त्यति वेला दोष मेरो हैन तपाईँको मात्र हुनेछ ।

नन्दलाल आचार्य

त्यस वेला उनको धम्कीको मैले वास्ता गरिनँ । घर छाडेर सहरमा रहन थालेँ । मास्टरी जागिर भएकाले पैसाको कमी थिएन । खानपिनमा तलमाथि गर्ने कुरै आउँदैनथ्यो । आफ्ना कुकार्य बिर्सन सकस परेको थियो मलाई । यसैले क्षणिक भए पनि सुखशान्ति मिल्छ भन्ठानी रक्सीको सहारा लिन थालेँ ।
दिनभर गल्ली-गल्ली चहार्थेँ । साँझ परेपछि भट्टी छिर्थेँ । अघाउँजी खाने कुरा खान्थेँ । पिउने कुरा पिउँथेँ । बेहोस भएपछि त्यहीँ ढलिदिन्थेँ । कसैले एक कुनामा लगेर सुताइदिँदो रहेछ । बिहान उठ्दा पो छक्क पर्थेँ । दिन गनिनछु । आठौँ दिन बितेछ । बानी सुध्रिएन । उनी आजित भइछिन् । एक्लैले बाजी जित्ने दाउ गरिछिन् ।

०००

रात सुनसान हुँदो हो । दुनियाँ मस्तले निदाइरहेका हुँदा हुन् । पल्लो कोठामा सासूससुरा घुरेको आवाज प्रस्टै सुनिँदो हो । सँगै सुतेकी भान्जी गहिरो निद्रामा हुँदी हुन् । एउटी नारी छाया सरक्क उठिहोलिन् । सिरानी मास्तिर झुन्डिएको जेब्रा ब्यागको चेन खोलिहोलिन् । सिन्दूर लगाउँदा पहिरिएको साडी निकालिहोलिन् । सरासर भान्साघरतिर लागिहोलिन् । ढोका घरक्क उघ्रिएको होला ।

होचो घर भएकाले अग्लो स्टुलमाथि चढेर धुरीको बलोमा सारी बाँधिहोलिन् । आँखा चिम्लेर इष्ट देवीदेवता पुकारिहोलिन् । पतिको अनुहार सम्झेर आक्रोशले रातीपिरी भइहोलिन् । केही बेरमै शान्त मन बनाइहोलिन् । पतिप्रति करुणाले पग्लिहोलिन् ।

आफू बिदा भएपछि पतिलाई सहकर्मी साथी भित्र्याउन सहज हुने ठानिहोलिन् । आफूले पनि पतिको आज्ञाबेगरै बच्चा तुहाएर गल्ती गरेको सम्झिहोलिन् । सबैले आआफ्नो कर्मअनुसारको फल भोग्नुपर्छ भनिहोलिन् । हरतरहले मन बुझाउने काम गरिहोलिन् ।

बलोमा बाँधिएको सारीको फेरले घाँटीमा टन्टनी बाँधिहोलिन् । आँखा चिम्लिहोलिन् र स्टुलबाट हाम्फालिहोलिन् । एकपटक चिच्याउन मात्र सकिहोलिन् । उनको श्वासनली नै चुँडियोहोला । अनि सदा-सदाका लागि उनले यस नश्वर धर्तीबाट मुक्ति पाइहोलिन् ।

०००

छयहत्तर सालको साउने खडेरीले सहरको सडक खुब तातेको छ । वरपरको छहारीमा शरण लिएका मानिसहरू झन् गरम कुरा गरिरहेका छन् ।

म जिल्लाको हिरासत कक्षको कुनामा थुप्रिएको छु । मनमा विगतका तिताटर्रा दृश्यहरू क्रमशः आइरहन्छन् र गइरहन्छन् । कुनै घटनालाई मनमा मथ्न सक्तिनँ । रोकेर नमथे नौनी निस्कने कुरै आउँदैन ।

हिरासतको प्रवेशद्वारनजिक खडा ठिटो सिपाहीको सङ्केत पाउनासाथ जुरुक्क उठ्छु । मन चङ्गा बनाउने प्रयत्न गर्छु । आफूलाई कोही भेट्न आएको होला भन्ठान्छु र उत्साहले अनायास पाइला अगि बढाउँछु ।

ठिटो सिपाही फिस्स हाँस्दै भन्छ, ‘ओइ मास्टर ! सुन्, तोहर बहुरियाके लास लके बहुत लोकसभ घुइमरहल छौ । तोहरविरुद्धमे नारा जुलुस लगा रहल छौ ।’

म बाहिर नजर फ्याँक्न खोज्छु । आँखा चार भित्ताबाहिर पुग्दैनन् । कानलाई चनाखो पार्छु । तिनलाई कैदमुक्त अवस्थामा हिरासत कक्षबाहिर लखेट्छु ।

सुन्छु, ‘पत्नीको हत्यारा अशोकेलाई– फाँसी दे ! फाँसी दे !!’

‘मास्टरको नाममा अशोके– गद्दार हो ! गद्दार हो !!’

‘दुष्टको दमन नै– समाजको उत्थान हो ! उत्थान हो !!’

‘निर्दोष अमलीको आत्माले– शान्ति पाओस् ! शाान्ति पाओस् !!’

आफूविरुद्धका चर्का नाराहरूले गालामा थप्पड हानेझैँ लाग्छ । सुनिरहने धैर्य गुम्छ । मुन्टो बटार्छु । ध्यान अन्तै मोड्ने प्रयत्न खेर जान्छ ।

मन कठोर बनाउन खोज्छु । उल्टै हुँडलिएर आउँछ । आँखाका कोषहरूले अश्रु सञ्चित गरेर राख्न सक्तैनन् । आँखा रुझिरहन्छन् । मनमा पिरलो र आशङ्काको डढेलो हुरहुरी दन्किरहन्छ । विभिन्न कामले हिरासत वरपर खडा मानिसका मुखराविन्दबाट निस्केका हरेक शब्दले मुटु घोचिरहन्छ । असह्य वेदनाले म छटपटाइरहन्छु ।

‘ओइ, सुनिस् नि ! तँ हत्यारा नै होस् भन्ने कुरा ! साँचो बयान दे । हाम्रो अनुसन्धानलाई पूर्णता दे ।’ ठिटो सिपाही थप्दै जान्छ, ‘जति सोर्स र फोर्स भिडाए पनि मारेको रहिछस् भने पोस्टमार्टमले प्रमाणित गरिहाल्छ । धरानबाट रिपोर्ट आउन हप्ता दिन लाग्ला ! हैन भने पनि तँलाई देवानी कानुनले छाड्दैन रे !’

ऊ अरू थुप्रै कुरा बक्ने तरखरमा हुन्छ । म भने सुनेको नसुन्यै गरी पूर्ववत् स्थानमा गएर झोक्राउन थाल्छु । निकै बेर नतमस्तक भएर टोलाइरहन्छु ।

गहिरो श्वास लिन्छु । आफ्ना कान आफैँले बटार्छु । अनुहारलाई बेस्कन लोप्पा खुवाउँछु । मनको आँधीबेहरी पन्छाउने प्रयत्न गर्छु । सबै प्रयत्न असफल हुँदै जान्छन् । म दलदल भासमा भासिँदै जान्छु । अन्ततः कहिल्यै नमेटिने दाग अनुहारमा लागेको अनुभव गर्छु ।

अनायास मनको बाँध फुट्छ । अनियन्त्रित तवरले भेल बग्न थाल्छ । वरपरका झारपात मात्रै लतार्दैनन्, कसिङ्गरजस्तै सम्झी अनमोल कुराहरू पनि बढारकुँढार गरी लैजान्छ ।

बिसपच्चिस जनाको भिडमा पनि म एक्लो हुन्छु । मन अनियन्त्रित भइरहेको अनुभव हुन्छ । अनुहारमा आएको चिटचिट पसिना पुच्छु । टाउकोमा बिस केजीको हेलमेट पहिरे जस्तो हुन्छ । सहज हुने प्रयत्न गरिरहन्छु ।

०००

अर्धपागलजस्तो बरबराउन थाल्छु– ‘प्यारी अमली, मैले तिमीलाई यसअगि कहिल्यै दुर्व्यवहार गरेको थिइनँ । मात्र बेवास्ता गरेर मानसिक आघात भने पुऱ्याएको थिएँ । त्यति सानो भूलका लागि यत्रो सजाय दिन्छ्यौ भन्ने मनले कल्पनै गरेको थिइनँ ।

यो तिमीले के गऱ्यौ, अमली ? तिम्रो निर्दोष मनले मलाई कति धिक्काऱ्यो होला । सम्झेर पनि म लज्जित हुन्छु ।
हो, अमली ! आज म सत्य बक्छु । सारा कुकर्मका लागि पश्चत्ताप गर्दै तिमीसँग आत्मसमर्पण गर्छु । एक समय म आफ्नै सहपाठीतिर ढल्केको अवश्य हुँ । यद्यपि तिमीले सोचे र सम्झेजस्तो होइन । घनिष्ट मित्रजस्तो सम्बन्ध अवश्य थियो ।

त्यसभन्दा बढेर सम्बन्ध गाँस्न तिमी नै बाधक थियौ । तिम्रो अनुमतिविना म लङ्गडो थिएँ । विद्यार्थीहरूलाई जीवनका नियमकानुन सिकाउँदै हिँड्ने पेसा पकालेर म कहाँ अलमलिन्थेँ र ! अर्कातिर बहुविवाहको मुद्दा सहन गर्ने भूल कहाँ गर्न सक्थेँ र !

हुन त अमली, एक समय म तिमीलाई फकाएर सहपाठीलाई अर्की धर्मपत्नी बनाउन चाहन्थेँ । तिम्रो मानसम्मानमा कुनै आँच नपुऱ्याउने विचारमा थिएँ किनभने मेरा मातापिताले मन पराएर मागेर मैथिली संस्कारबमोजिम भित्र्याएकी दुलही थियौ तिमी ।

मैले तिम्रा आँखामा आँसु आउने वातावरण बनाएँ भने मेरा मातापितालाई मैले मुटुमा झिर रोपेको भान हुन्थ्यो । परिवारको एक्लो छोरो भएर म मातापिताको चित्त दुखाउन चाहन्नथेँ ।

अझ तिम्रो पेटमा आफ्नो वंश हुर्किरहेको थाहा पाएर हर्षले पुलकित भएको थिएँ । मातापिता पनि काखमा बच्चा खेलाउन पाउने आनन्दमा डुबेको पाएको थिएँ । हाम्रो परिवारमा हाँसो थपिँदै थियो । यस्तो वेलामा म कसरी अन्यथा निर्णय गर्न सक्थेँ र !

तिम्रो माता बन्ने अवस्था देखेर म पग्लँदै थिएँ । सहपाठीसँग जीवन जिउने कल्पना भुल्दै थिएँ । विश्वासको वातावरण तयार पार्न कोसिस गर्दै थिएँ । तिमी भने कोमल बन्नुपर्नेमा अझ कठोर बन्दै रहिछ्यौ । अहिले थाहा पाएँ, तिमी त घोर अन्धकार खाडल खन्दै रहिछ्यौ ।

तिमीले पेटको तीन महिने गर्भ फालेको थाहा पाएपछि म रनथनिएको थिएँ । आफ्नो चाहनाविपरीतको तिम्रो कृत्य पचाउन मलाई सकस परेको थियो ।

‘मेरो जीवनमा प्रवेश गरेपछि तँलाई आफूखुसी गर्ने अधिकार छैन ।’ मैले रिस देखाउँदै तिमीलाई धम्क्याएको थिएँ, ‘मनलाग्दो काम गर्ने हो भने माइतमै गर् । मेरो इच्छाप्रतिकूल काम गर्ने हो भने जीवनबाटै बाहिरिए पनि हुन्छ । तेरो अँध्यारो मुहार हेर्न म घर आउन्नँ । तँजस्ता फोस्री मान्छेको के काम ?’

‘ए, अझ अधिकारको कुरा गर्ने ! अधिकारको चाहना गर्नेले कर्तव्य पनि पूरा गर्नुपर्छ ।’ तिमीले पनि आदर्शको पाठ पढाउँदै जवाफमा भनेकी थियौ, ‘छोराछोरीको बाबु बन्नुपूर्व पतिको भूमिका निर्वाह गर्नुपर्थ्यो । तिमी चुकिसकेका छौ । बाटो बिराएको पतिको बन्धनमा अल्झेर म दासी बन्न सक्तिनँ ।’

हो, त्यही झोकमा दुई-चार लात र बात प्रहार गरेको थिएँ । तिमीले पनि भान्साघरमै झुन्डिन्छु भनेकी थियौ ।

आवेगमा आएर मैले पनि भनिदिएको थिएँ, ‘टोक्ने कुकुरले भुक्तैन । गल्लीका भुस्याहा कुकुर मात्र भुक्छन् । कसैले रोकटोक गर्दैन । आफूले चिताएको काम सुटुक्क गर्दा हुन्छ ।’

मैले तिम्रो ज्यान चाहेको थिइनँ । वास्तवमा जीवन खोजेको थिएँ । मेरो खान्दानी रथ–सारथिको तलासमा थिएँ । पिताले सम्झाउँदा सम्झेको थिएँ । माताले रुन्चे मुहार लगाउँदा सतर्क भएको थिएँ ।

‘ए छोरा, केटाकेटीलाई पढाउँदापढाउँदै बुद्धि पनि केटाकेटी नै भयो कि क्या हो ! बितेको घटनालाई कोट्याइरहँदा ठुलो घाउ बन्दै जान्छ । बिर्सिदियो भने खाटा बस्छ र चाँडै निको हुन्छ ।’ त्यस वेला पिताले भन्नुभएको सम्झन्छु, ‘बुहारीले गरेको गलत काम थियो । त्यो अब सच्चिँदैन । तैँले सोचेको गलत थियो तर त्यो सच्चिन सक्छ ।’

‘दुवैले आआफ्ना गलत कर्म नदोहोऱ्याउने प्रण गरे भइगयो नि ! हाम्रा अगाडि छोराबुहारी मुस्कुराए हामी तृप्त हुन्छौँ ।’ चेतावनीको भाषामा माताले भन्नुभएको थियो, ‘खुट्टा भए, जुत्ता त कति पाइन्छ, पाइन्छ ! छोराबुहारी हाँसे काखमा नातिनातिना खेलाउन धेरै समय कुर्न पर्दैन । सधैँ गनगन गरिरहने हो भने यस घरमा अनिष्टले वास गर्ला भन्ने त्राहि भइसक्यो ।’

पहिलो कथनबाट सहपाठीसँगको मेरो सम्बन्धलाई पिताले मन पराउनुभएको रहेनछ भन्ने बुझ्दै छु । माताको चेतावनीले सम्भावित प्रलयाग्नि धुँवाउँदै गरेको सङ्केत सम्झँदै छु ।

अमली, न तिमीले कुरा बुझ्यौ, न मैले नै प्रतिकूल परिस्थिति सम्झेँ । हामी दुवै आफ्नै जिद्दीमा रह्यौँ । जिद्दीले विवेकको द्वार बन्द गरिदियो । सम्भावित खतराको लक्षणलाई शुभबिहानीको सङ्केत ठान्ने मन पारिदियो ।

त्यसपछि म घर जान छाडेँ । बर्खेबिदा भएकाले विद्यालय बन्द थियो । निजी विद्यालय र कलेज छाडिदिएँ । सहपाठीको पछि लाग्दा आम्दानीको एउटा मुहान सुकाएको थिएँ ।

छोरो माध्यमिक तहको जागिरे भएर घरै आएपछि बाबुले प्राथमिक तहको विद्यालयको कार्यालय सहयोगीको जागिर खानु लाजमर्दो हुन्छ भनेर जागिर छाडिदिनुभयो ।

तिमीसँग झगडा गरेर घर छाडेपछि म दिनभरि सहरका गल्लीहरू चहार्थेँ । साँझमा जता भेटिन्छ उतै खान्थेँ । जता सहज हुन्छ, त्यतै रात गुजारिदिन्थेँ ।

दैनिक आठ किलोमिटर पैदल हिँडेर पिता मेरो रेखदेखमा सहर आउनुहुन्थ्यो । कहिले मलाई भेटेर ‘घर आइज है बाबु’ भन्नुहुन्थ्यो । कहिले भने सुइँको नै पाउनुहुन्नथ्यो ।

अमली, धरोधर्म भन्दै छु, तिमीलाई लात र बातले घाइते पारेपछि अहिलेसम्म मैले सहपाठीसँग भेट गरेको छैन ।

संसार रङ्गाउने सपना भुल्न थालेको थिएँ । त्यही रनाहालाई भुल्न म पिउन थालेँ । मैले रक्सी पिएको रहेनछु । रक्सीले नै म र मेरो जीवनलाई नै पिइरहेको रहेछ । अहिले पत्तो पाएँ ।

तिमी झुन्डेकी अवस्थामा आमाले फेला पार्नुभयो रे । त्यस वेला उहाँको मुटु कति दुख्यो होला । मजस्तो थोत्रे छोरो जन्माउँदा आफ्नै कोखलाई कति धिक्काऱ्यो होला ।

म रक्सीले टिल्ल भएर भट्टीमा लडेका वेला सिपाहीले समातेर यहाँ जिल्ला प्रहरीमा ल्याएछन् । तिम्रो लास पोस्टमार्टमका लागि धरान पुऱ्याएपछि मात्रै मेरो होस खुल्यो ।

आफ्नो अगाडि सुरक्षाकर्मी पाउँदा छक्क परेँ र छाडिदिन आग्रह गरिरहेँ । उनीहरूको लात र बात परेपछि म छाँगाबाट खस्न पुगेँ ।

यस घटनाले हाम्रो पूरै खान्दानको माथमा कलङ्कको धब्बा लगाइदियो । त्यो पनि सदासर्वदाका लागि !
गल्ती त मैले थुप्रै गरेँ । मास्टर भएर पनि सुध्रन खोजिनँ । गल्तीमाथि गल्ती दोहोऱ्याएँ । गलत बाटो छाड्न अर्को गलत बाटो पक्रिएँ तर तिम्रो हत्यारा भने हुँदै होइन ।

त्यो त तिमीलाई पनि थाहा छ नि अमली !

०००

हप्ता दिन बित्यो । धरानबाट पोस्टमार्टम रिपोर्ट आयो । आत्महत्या ठहरियो । म अदालतमा हाजिर गराइएँ । बक्नुपर्ने कुरा बकेँ, बहस हुने कुरा भए ।

मलाई अदालतले सामान्य तारेखमा छुटकारा दियो । स्वतन्त्र आकाशको हिमायती हुन पाइयो भनेर रमाएँ । पुनः अदालत परिसरबाटै सुरक्षाकर्मीले पक्रियो ।

उनीहरूको कथन थियो, ‘अमलीको दाजुले तँ, तेरा मातापिता, तेरो दाजु, तेरो साथी र तेरी सहपाठी गरी ६ जना मिलेर बहिनीलाई मारेर झुन्ड्यायौ भन्ने आरोप लगाएको छ । तसर्थ आरोपी नउम्किऊन् भनेर तँलाई नियन्त्रणमा लिन बाध्य छौँ । अरूलाई पनि चाँडै पकडेर ल्याइनेछ ।’

‘न्यायालयले निर्दोष ठहर गरेको मान्छेलाई फेरि त्यही केसमा पकड्न मिल्छ ?’ आक्रोशित हुँदै मैले प्रश्न तेर्साएको थिएँ, ‘यो त सरासरी न्यायालयको अपमान भयो । पैसामा बिकेर तपाईँहरूले नागरिकको वैयक्तिक स्वतन्त्रता अपहरण गर्न मिल्छ र ?’

काँडेदार बुटले मेरो राजखानीमा हान्दै उनीहरूमध्ये एउटा कुर्लेको थियो, ‘मुतुनो जोगाउन नसकेकाले कुकुरले नपाएको दुःख पाइरहेको छस् । थुतुनो पनि जोगाइनस् भने अकालमै ज्यान गुमाउलास् ! होस् गर् ।’

म पीडाले रनथनिएको थिएँ । मलाई शारीरिकभन्दा मानसिक पीडाले घोच्नसम्म घोचेको थियो । त्यो समय तिखो काँडो बनेर मुटुमै बिझेको थियो ।

म भ्यानमा गलहत्याएर बसाइएँ र अज्ञात स्थलतिर हुइक्याइँदै थिएँ । पूर्वपश्चिम लोकमार्गमा आएर त्यो भ्यान रोकिएको थियो । मलाई हतकडी लगाइयो । जीवनमा कहिल्यै नलगाएको वस्तुले जकडिन पुगेँ ।

‘अपराधविना किन हत्कडी ?’ मेरो बोली भुईँमा खस्न नपाउँदै कमान्डर गर्जँदै मनजिक आयो र झन्डै मेरो मुखैमा पर्ने गरी प्याच्चै थुकिदियो । थुक मलाई लागेन तर मैले आफू अपमानित भएको महसुस गरिरहेँ ।

‘अभद्र व्यवहार किन गर्नुहुन्छ ? पत्नी मारेको भए म आफैँ आत्मसमर्पण गर्थेँ ।’ मैले अझ शिष्टता दर्साउँदै भनेँ, ‘दशा लागेपछि अनेकानेक हुँदो रहेछ । यतिखेर म निम्छरो छु । जति सताउन सक्नुहुन्छ, सताउनुस् ।’

कमान्डरले शिर झुकायो । उसका आँखा अध्ययन गरेँ । विवशता नै विवशता लुकेको थियो त्यहाँनिर । बिचरा, ऊ पनि कसैको दबाबमा हुँदो हो । आफूमाथिका हाकिमको आदेश शिरोधार्य गर्न विवश हुँदो हो । यसैले गम्भीर भएको हुँदो हो ।

मौका यही हो भन्ठानेर भनेँ, ‘सर, मलाई कहाँ लग्दै हुनुहुन्छ ?’

उसले पुलुक्क मतिर हेऱ्यो । तुरुन्तै मेरा सामु सहायक कमान्डर देखा पऱ्यो । उसलाई पनि मैले सोही प्रश्न दोहोऱ्याएँ ।
‘मास्टरलाई कहाँ लग्नु र ! जङ्गलपुरमा लग्दै छौँ ।’

‘जङ्गल लगेर के गर्नुहुन्छ ?’

‘आँखामा पट्टी बाँधेर तँलाई खडा गर्छौँ । टाउको र दुवै कुममा स्याउका ठुलठुला दाना राख्छौँ अनि गोलीले त्यसलाई खसाल्ने प्राक्टिस गर्छौँ ।’ ऊ भन्दै गयो, ‘शान्त भएर खडा भइरहिस् भने तँ बाच्न सक्छस् । हलचल गरिस् भने केही भन्न सकिन्न ।’

मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । पसिनाले शरीर निथ्रुक्कै भिज्यो ।

नभन्दै मलाई जङ्गलमा लगे । एक कुनामा बसाए र अघि कहिल्यै नदेखिएका दुई जना सिपाही मेरा नजिक खडा भए ।
‘अब हामी गन्तव्य पुग्यौँ । पहिला तिमीसँग गोप्य बात मारौँ । कुरा मिले सब थोक साथमा हुन्छ । नमिले केही पनि हुँदैन ।’ बुढो सिपाहीले अज्ञात कुरा गर्दै भन्यो, ‘रित्तो आएको मान्छे रित्तै फर्कन्छ !’

म छक्क परेर ट्वाल्ल हेरिरहेँ । उनीहरूले पनि कुरा खुलासा गर्दै गए । हिरासतमा छँदा हर्जना तिरे मुद्दा फिर्ता लिने, जागिर जोगाइदिने र आफन्तजनलाई पनि अमनचयनले बस्न दिने प्रस्ताव आएको थियो । विवाहमा ससुरालीको १७/१८ लाख खर्च भएको थियो । त्यो तिरिदिने कुरा गरेको थिएँ ।

उनीहरूले मान्दै मानेनन् । उनीहरूको प्रस्ताव मैले भनेको भन्दा कहाँ हो कहाँ बढी थियो जुन मेरो बुताभित्रको थिएन । त्यस वेलासम्म पोस्टमार्टम रिपोर्ट आइसकेको थिएन । त्यत्तिले मात्रै निर्दोष साबित हुने रहेनछ । भिसरा रिपोर्ट पनि चाहिँदो रहेछ ।

मलाई उनीहरूले पैतालामा कोर्रा बर्साएका पनि थिएनन् । उनीहरूको प्रस्ताव स्वीकार गर्न सक्ने अवस्थै थिएन । त्यसो हुँदा उनीहरूले मेरो हालत नाजुक बनाए । मेरो हालत उभिन नसक्ने गराए ।

‘म गरिब बाउको छोरो हुँ । दुःख गरेर सरकारी जागिर गर्दै छु । सम्पूर्ण दोष मेरो पनि होइन । मैले कति रुपियाँ तिर्नुपर्छ त ? म पनि सारा बन्धनबाट मुक्त भएर जागिर खान चाहन्छु । के प्रस्ताव ल्याउनुभएको छ, सुनाउनुस् ?’

‘हेर भाइ, तिमी मावि तहको जागिरे । बाउको एक्लो छोरो ! कसैलाई बाँडचुँड गर्नुपर्ने छैन । पचाससाठी लाख तिर्नु सामान्य कुरो हो ।’ अर्को सिपाहीले थप्दै गयो, ‘हुन्छ मात्रै भन ! अलपत्रकार र अमानव अधिकारवादी बोलाएर तिमीलाई अहिल्यै मुक्त गर्दिन्छौँ ।’

‘कति त? पैसाले ज्यान किन्नेजस्तो भयो, मनले मान्दैन तर तिर्नैपऱ्यो ।’ स्वाभिमान र मनले नमान्दा नमान्दै पनि मैले भनेको थिएँ ।

‘मास्टर भाइ, जति लहरो तान्यो उति पहरो गर्जन्छ । पहिले नै प्रस्ताव स्विकारेको भए खर्च कम हुन्थ्यो । बढी हल्ला भयो, खर्च बढ्यो ।’ बुढो सिपाहीले खुलासा गऱ्यो, ‘रात रहे अग्राख पलाउँछ नि । झटपट गर र शान्तिले श्वास फेर ।’

“जिल्लालाई बिस लाख, जङ्गलपुरलाई दस लाख, अलपत्रकारलाई दस लाख, अमानव अधिकारवादीलाई पाँच लाख, तिम्रो ससुरालीको पहिलेकै मागअनुसार चालिस लाख र विविध खर्चमा पाँच लाख तिर, भइगयो ।’ खर्चको फेहरिस्त सुनाउँदै अर्काले सुस्तरी भन्यो, ‘सबैका लागि बेग्लाबेग्लै खाता दिन्छौँ । हाल्देऊ, कुरा सकियो ।’

पत्नी गुमाउनुको मूल्य सुनेर मरेतुल्य भएँ र उनीहरूले भनेका रकम जोड्दै भ्यानमा बसेँ । आजसम्म रकम जोड्दै छु, बिस लाख, दस लाख … !