
“तपाईँको मान्छे सिरियस छ । आइसियुमा राख्नुपर्छ ।” डाक्टरले भन्यो ।
“त्यहाँ राख्दा बचाउन सकिन्छ हजुर !” मङ्गलीले आत्तिँदै भनी ।
“बाँच्ने आशा हुन्छ । यहाँ गम्भीर बिरामी मात्र हुन्छन् र बिरामीलाई विशेष केयर गरिन्छ ।”
“उसो भए राखौँ त हजुर ! उहाँलाई जसरी भए पनि बचाउनैपर्छ । उहाँ नभए जहाज डुब्छ । हामी पनि मरे हुन्छ ।” मङ्गलीको रुवाइ झन् साह्रो-साह्रो भयो ।
“पैसा त धेरै लाग्छ नि ! निकै दिन पनि राख्नुपर्ने हुन्छ । सक्नुहुन्छ ?”
“राखौँ-राखौँ । राखिहालौँ ।” ऊ झन् आँत्तिई । काखीमा च्यापेकी छोरी ‘बुबा !’ भन्दै कस्सेर रुन थाली।
“केही पैसा डिपोजिट गर्नुपर्छ । आइसियुको बेडमा राखेबापत एक दिनको सात हजार चार्ज लाग्छ ।”
उसले पचास हजार रुपियाँ बोकेकी थिई । चालिस हजार डिपोजिट गरिदिई ।
आइसियुमा राखेको सात दिन भयो । मङ्गलीको लोग्नेलाई बिसको उन्नाइस भएन ।
चौथो दिन डाक्टरले भन्यो, “तपाईँको मान्छे बाँच्ला जस्तो छैन ।”
मङ्गली कहालिएर रुन थाली ।
“नरुनुस् । रोएर के हुन्छ र ! बिरामीलाई भेन्टिलेटरमा हाल्नुपर्छ । बचाउने यही एउटा उपाय मात्र छ ।” डाक्टरले सुझायो ।
“लौन डाक्टर साप मेरो परानलाई जसरी पनि बचाइदिनुपऱ्यो ।” आँसुले निथ्रुक्क हुँदै मङ्गलीले दुई हात जोडी ।
“भेन्टिलेटरमा निकै दिन पनि राख्नुपर्ने हुन सक्छ । त्यसो भए अहिलेलाई एक लाख रुपियाँ डिपोजिट गर्दिनुस् ।”
डाक्टरको मुखबाट ‘एक लाख रुपियाँ’ सुन्नेबित्तिकै मङ्गली झन्डै ढली । यत्रो दिनसम्म बिरामीको अवस्था कस्तो छ हेर्न पाको छैन । उसलाई भेन्टिलेटर भनेको के हो ? त्यो पनि थाहा छैन ।
“हे भगवन् ! हामी गरिबलाई यो कोरोना भन्ने रोग किन लागेको होला ?” मङ्गली मास्तिर सिलिङतिर हेरेर फेरि रुन थाली ।

टङ्क भट्टराई
डाक्टरले छिटो गर्नुस् भनेपछि झसङ्ग भई । आखिर आसभन्दा ठुलो कुरो के हो र ? उसले आफूनजिकैको कोठामा बस्ने दिदीलाई फोन गरी ।
एउटै घरको पल्लो कोठामा बस्ने तामाङ्नी दिदी दयालु थिइन् । उनका बुढा पनि मङ्गलीका बुढासँगै घरको गारो लाउने काम गर्थे । घरमा यसो जोडजाड गरेको केही पैसा बोकेर उनीहरू बुढाबुढी नै अस्पताल पुगे ।
“पैसा लाख त कहाँ हुनु र बहिनी, खोजखाज गरेर यो पचास हजार लेइदिएका छौँ । भाइलाई गाह्रै पो पऱ्यो कि क्या हो ?”
“बाँच्न मुस्किल छ अरे दिदी ! खोइ, भेन्टिलेटर भन्ने मिसिनमा हाल्दा बाँच्ने केही आस हुन्छ अरे ! आफूले हेर्न पाको होइन । हेर्नै नहुने, नजिक जानै नहुने खोइ कस्तो रोग हो यो ।” मङ्गली उनलाई अँगालो हालेर रुन थाली ।
“नरोऊ बैनी, केही हुँदैन । हामी गरिबलाई हेर्ने मान्छे कोही नभए पनि ईश्वर हुन्छन् । बरु, हिम्मत नहार ।” तामाङ्नी दिदीले मजेत्राले आँसु पुछिन् । तामाङ दाइ पनि उता फर्केर रोए ।
मङ्गलीले त्यही पचास हजार रुपियाँ डिपोजिट गरिदिई र बाहिर निस्केर काखकी छोरीलाई दुध खुवाउँदै भगवान्सँग पुकारा गर्न थाली ।
छोरी पोहोर जन्मेकी । बिहे गरेको ठ्याक्कै वर्ष दिनमा । अस्ति भर्खर वर्षकी भई । आमाको नाम मङ्गली । बाउको मनकाजी । आमाको र बाउको एक-एकओटा अघिल्लो अक्षरबाट छोरीको नाम ‘ममता’ राखेका थिए उनीहरूले । दुइटैकी आँखाकी नानी । मुटुकी टुक्रा । बाउसँग असाध्यै झ्याम्मिन्थी ।
छोरीलाई अस्पतालमा चिसो लाग्छ भनेर मङ्गली बेलुका कोठामै आउँथी । कोठाको एउटा कुनामा देउताको फोटोअगाडि दियो बाल्थी । अगरबत्ती सल्काउँथी । जानेजति भगवान्को नाम लिन्थी र तिनै भगवान्सँग मनकाजीको जीवन रक्षाका लागि पुकारा गर्थी अनि एकाबिहानै उठेर अस्पताल जान्थी । हरेक बिहान दश बजेतिर तामाङ्नी दिदीले आमा चाहिँलाई खाना र छोरीलाई लिटो बनाएर लगिदिन्थिन् ।
भेन्टिलेटरमा राखेको सातौँ दिन भयो । हरेक दिन बिरामीको अवस्थाबारे सोध्दा केही सुधार हुँदै छ भनेर उत्तर दिन्थे डक्टर र नर्सहरू । उनीहरूको कुरा सुनेर आशावादी देखिन्थी ऊ ।
आठौँ दिन ।
बिहान त्यस्तै नौ बजेतिर एक जना नर्स उसको छेउमा आई । नबोली एक छिन उभिई । मानौँ, भन्न खोजेको कुरा मुखबाट आएको छैन ।
अन्ततः उसले मुख खोली ।
“तपाईँको मान्छे बचाउन सकिएन ।”
नर्सको यो बोली सुन्नासाथ मङ्गली भुईँमा ढली । छोरी आँत्तिएर रुन थाली । आफन्त कोही छैनन् । छोरी कसले समातिदिने ? उसलाई कसले बौराइदिने ? कोरोनाको डरले कोही मान्छे उसको छेउमा आएनन् । सानी छोरी कहालिएर रोइराखेकी छे । एक वर्षकी त्यो बालिकालाई के थाहा उसको प्यारो बाबा मर्यो भनेर । उसकी ममतामयी आमा चिसो सिमेन्टको भुईँमा किन ढली त्यो पनि के थाहा ?
एक छिनमा तामाङ्नी दिदी खाना लिएर आइन् । हेर्छिन् स्थिति अर्कै । मङ्गली भुईँमा मूर्च्छा परेर ढलेकी छे । त्यो सानी अबोध बालिका अत्तालिएर रुँदै छे । नर्सले परैबाट मिनरल वाटरको बोतलको पानी हत्केलामा हालेर छर्किँदै छे ।
तामाङ्नी दिदीले सोधिन्- “के भयो यो बहिनीलाई ? कि कतै ………..?” उनले छोरीलाई एक हातले समातेर अर्को हातले मङ्गलीलाई झकझक्याउँदै बोलाउन थालिन् ।
“उहाँको श्रीमान्लाई बचाउन सकिएन । मैले यो कुरा सुनाउनेबित्तिकै उहाँ बेहोस हुनुभो ।” नर्सले भनी ।
यो दुःखद कुरा सुनेर तामाङ्नी दिदी पनि रुन थालिन् तर अहिले उनको जिम्मेवारी निकै थियो । त्यसैले आफ्नो मनलाई काबुमा राखेर उनले आफ्नो श्रीमान्लाई काम गर्दै गरेको ठाउँबाट केही साथीहरू लिएर तुरुन्त अस्पताल आउनका लागि फोन गरिन् ।
मङ्गलीको बिस्तारै होस आयो । तामाङ्नी दिदीलाई अगाडि देखेर ऊ फेरि अँगालो हालेर रुन थाली । उनले मङ्गलीलाई सम्झाउँदै पानी खान दिइन् । उसले एक बोतल पानी पूरै रित्याई । दिदीले रुँदै गरेकी छोरीलाई बोतलको दुध चुसाइन् । आफूले बनाएर ल्याएको लिटो खुवाइन् ।
एक छिनपछि तामाङ दाइले चार-पाँच जना साथीहरू लिएर आए ।
मङ्गली क्षेत्रीकी छोरी । माइतीहरू निकै गरिब । एकै गाउँको राई केटो मनकाजीसँग उसको हिमचिम भयो । मनकाजी एस.एल.सी. फेल गरेको । मङ्गली नौ कक्षामा पढ्दै गरेकी । जात नमिल्ने भएपछि घरकाले सहयोग गर्ने कुरो भएन । त्यसैले दुई वर्षअगाडि उनीहरू गाउँबाट भागेर काठमाडौँ आए ।
मङ्गलीको साथमा फुटेको कौडी थिएन । कानमा एक तोलाका एक जोर अन्ती थिए । तैपनि पेवा कुखुरा र बाख्रा बेचेर पोहोर साल बनाएका । मनकाजीले भने पल्लो गाउँ बिहे गरेर गएकी दिदीसँग केही खर्चपर्च मागेर बोकेको थियो । आफूले पनि केही पैसा जोहो गरेको थियो ।
काठमाडौँ उनीहरूले कहिल्यै नदेखेका । एक हप्ता जति नयाँ बसपार्कको होटलमा बसे । त्यसपछि मनकाजीले चिनेको गाउँको एक जना आफन्त पर्ने दाइको सहयोगमा त्यतै बसपार्कको छेउमा एउटा सस्तो कोठा खोजेर बसेका थिए ।
मनकाजीको बाबु गाउँघर हुँदी घर बनाउने काममा निकै पोख्त । नाम चलेको डकर्मी । स्कुल पढ्दा बिदाको समय र एस.एल.सी. फेल गरेपछि लगभग हिउँदको पूरै समय बाबुको काममा सघाउँदासघाउँदै ऊ पनि गाह्रो लाउने काममा निकै सिपालु हुन थालेको थियो ।
काठमाडौँमा पनि त्यही गाउँले दाइले घरको गारो लाउने काम खोजिदियो ।
ठ्याक्कै एक वर्ष पुगेपछि उनीहरूकी छोरी जन्मी । डेराको खर्च धानेर बिरामी हुँदा उपचार र छोरीको पढाइका लागि भनेर केही पैसा बचाउन थालेका थिए उनीहरूले । दुःखसुख गरेर त्यस्तै एक लाख जति जम्मा भएको थियो ।
विदेशतिरबाट खतरनाक पाहुना बनेर मान्छेलाई आतङ्कित पार्दै कोरोना रोग नेपालमा पनि भित्रियो । सुरु-सुरुमा डरले सबै त्राहिमाम् भए । हुनेखानेहरूका लागि त घरबाट बाहिर ननिस्के पनि सबै कुरा घरमा छ । भनेजति पैसा छ । चाहिएको कुरा घरमै आउँछ तर दिनभरि काम गरेर हातमुख जोर्नुपर्ने श्रमजीवी वर्ग त भोकै मर्ने भए । रोगले धनी र गरिब नछुट्याए पनि गरिबहरूका लागि भने यो रोग झन् ठुलो महादशा बनेर आयो ।
महिनौँ दिनसम्म काम नपाउँदा सहरमा बसेर सङ्घर्ष गरिरहेका हुँदा खाने र गरिखाने वर्गहरू भोकभोकै भए । मानवतावादी, धार्मिक र कल्याणकारी सोच भएका कति उदारमना व्यक्तिहरूले गरिबहरूका लागि उदारता देखाए । कोठा-कोठामा दाल, चामल, चिनी, तेल पुर्याए । बाटा-बाटामा भात पकाएर भोकाहरूलाई खुवाए ।
लकडाउनले महिनौँ काम नपाउँदा दुखजिलो गरेर अलि-अलि जम्मा गरेको रकम घट्दै गएपछि मनकाजी र मङ्गली चिन्तित हुँदै गए ।
“ममताका बा ! घर जाने अवस्था पनि छैन । यो पापी रोगले ता सहरमै सडाउने भो त हामीलाई । अझै कति समय काम नपाइने हो ? क्यै गरी हामीलाई पनि बिमार लाग्यो भने के गरी बाँच्नु ? यो बालखा छोरीलाई कसरी जोगाउनु ?” मङ्गलीले चिन्ता प्रकट गरी ।
“किन चिन्ता गर्छ्यौ ? मर्नुपरे सँगै मरौँला न ! भोकले गए नि, रोगले गए नि आखिर एक दिन यो सबै छोडेर जानैपर्छ । यो सहरमा दुःखी हामी मात्रै छैनौँ क्यारे ! हामीजस्ता र हामीभन्दा पनि नाजुक अवस्थामा रहेका अभागीहरू अझै कति छन् कति । आशा गरौँ, भगवान्ले कृपा गरे स्थिति सुध्रिँदै जाला । हातमा सिप छ । ढिलो-चाँडो कसो काम नपाइएला र !” मनकाजीले मङ्गलीलाई केही सान्त्वना दियो ।
बिस्तारै सहरमा काम-धन्दाहरू सुरु हुँदै गए । अब, घर बनाउने काममा मनकाजी पनि खट्न थाल्यो तर कोरोना भने अलिकति पनि घटेन । झन्-झन् बढ्न थाल्यो । समाचारमा आतेस लाग्ने गरी रोगीहरू थपिँदै गए । मर्नेहरू पनि त्यत्तिकै बढ्दै गए ।
नभन्दै, काम गरिरहेको वेला मनकाजीलाई रुघा र खोकी लाग्न थाल्यो । अरूले थाहा पाउँछन् भनेर ऊ काममा गएन । ठिक होला कि भनेर दुई-चार दिनसम्म कोठामै बेसार-पानी, गुर्जो पानी खाएर बस्यो । मङ्गलीले खुब टहल गरी तर निको हुनुको सट्टा व्यथाले झन्-झन् च्याप्यो । हनहनी ज्वरो बढ्न थालेपछि मङ्गली आँत्तिई । पल्लो कोठाकी तामाङ्नी दिदीसँग सुटुक्क सल्लाह गरेर उसले मनकाजीलाई एउटा प्राइभेट हस्पिटलमा लिएर गई ।
घरी रुँदै र घरी टोलाउँदै अर्ध बेहोस अवस्थामा उसका अगाडि अनेक चित्रहरू खेलिरहेका वेला अचानक एउटा सेतो कोटधारी आयो । त्यो सेतो कोटधारी डरलाग्दो यमराजझैँ लाग्यो मङ्गलीलाई । ऊ झन् आँत्तिई ।
“तपाईँहरू सबै किन चुपचाप हँ ? उपचारको पैसा तिरेर लास ठेगान लाउन परेन ? तपाईँ उहाँको आफ्नो मान्छे हो ?” तामाङ्नी दिदीतिर हेरेर उसले सोध्यो ।
“हामी एउटै घरमा डेरा गरेर बस्ने हो । उहाँहरूको मान्छे अरू कोही छैन ।”
“उसो भए तपाईँहरू दुई जना काउन्टरमा आउनुस् । तिर्नुपर्ने रकम कति हो बुझ्नुस् र पैसा तुरुन्त जुटाउनुस् । पैसा चुक्ता भएपछि हामी आर्मीलाई खबर गर्छौँ । उनीहरू आएर लास निकाल्छन् । लासलाई कसैले छुन पाउँदैन । आफ्नो मान्छेलाई परैबाट एकचोटि अनुहार देखाएपछि उनीहरूले नै गाडीमा हालेर पशुपतिमा लान्छन् ।” सेतो कोटधारीले भन्यो ।
तामाङ्नी दिदीले रुँदै गरेकी मङ्गलीलाई बिस्तारै समातेर काउन्टरमा पुर्याइन् । तामाङ दाइ पनि पछि-पछि लागे ।
“मर्नेको आफन्त को हो ?” काउन्टरबाट सोधियो ।
“उहाँ श्रीमती हो ।” तामाङ्नी दिदीले मङ्गलीलाई देखाइन् ।
“हामीले तिर्नुपर्ने पैसा कति हो ?” दिदीले सोधिन् ।
“पाँच लाख पच्चिस हजारको बिल उठेको छ ।” काउन्टरभित्रबाट जबाफ आयो ।
“त्यत्रो पैसा………” तामाङ्नी दिदीकै ओठमुख सुके ।
“लाग्दैन त यत्रो दिन भेन्टिलेटरमा राखेपछि ?” भित्रबाट टर्रो जवाफ आयो ।
“भे….न्टि…..ले…..ट…..र…..! म……..म……ता…….का……. बा… !”
बलपूर्वक यति उच्चारण गरेपछि बेहोस भएर मङ्गली डङ्ग्रङ्ग भुईँमा ढली । आमा त्यसरी ढलेपछि त्यो कलिली अबोध छोरी फेरि कहालिएर रुन थाली ।
छोरी समातेर थचक्क भुईँमा बस्दै तामाङ्नी दिदी पनि रुन थालिन् ।
तामाङ दाइ आत्तिएर हतार-हतार बोतलको पानीले मङ्गलीलाई छेप्न थाले ।
“लोग्ने भेन्टिलेटरमा राखेको पैसाको उच्चारण सुन्नासाथ हर्ट अट्याक भएर स्वास्नीलाई नै पो उल्टै भेन्टिलेटरमा राख्नुपर्ने भयो ।”
सिसाको बारभित्रबाट व्यङ्ग्य स्वरूप आएको करुणा, दया, मायाँ र मानवताविनाको त्यो रुखो आवाज काउन्टरबाहिर उभिएका धेरै मान्छेको कानमा ठोक्किएर पर-परसम्म ध्वनित हुँदै वायुमण्डलमा मिसियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

