साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कथा:  नयाँ जीवन

रुनु, कराउनु, चिच्याउनु र विलाप गर्नुबाहेक केही उपाय थिएन ऊसँग । मान्छेको मृत्यु अवश्यम्भावी छ, ढिलो-चाँडो मात्र हो तर रमेश अल्पायुमै परमधाम भयो । दैवको खेलसँग कसैको केही लागेन, कामना पनि हारी ।

हावाजस्तै चञ्चल भए पनि उसको मन पहाडजस्तै दृढ छ । गाउँको परिवेशमा जन्मी-हुर्केकी ऊ सबै कुरामा प्राकृत छे । कृत्रिमता भन्ने चिज केही छैन उसको जीवनमा । कामना, गाउँकी सोझी केटी । पाँच वर्षको कलिलो उमेरमै आफ्नी आमा गुमाउन पुगेकी कामनाले आमाको ममता र न्यानो काख कहिल्यै महसुस गर्न पाइन तर बुबा थिए उसका देवतासमान । आमाको काखबाट वञ्चित भए पनि मायाँको आभाव हुन दिएनन् छोरीलाई । प्रशस्त व्यावहारिक र स्कुले शिक्षा दिलाएर आफ्नी छोरीलाई योग्य बनाउन भरमग्दुर प्रयास गरे उनले ।

दिनहरू बित्दै गए । कामनाले १६ औँ वसन्तमा पाइला टेकी । घरमा भएका बुढा बाबालाई चिन्ताले पिरोल्न थाल्यो । “छोरी तरुनी भई, अब एउटा असल केटो खोजेर यसको बिहेदान गरिदिन पाए यसकी आमाको आत्माले पनि शान्ति पाउने थियो र आफ्नो मन पनि ढुक्क हुने थियो ।”, बुबाको मनमा यस्तै तर्कनाहरू आउन थाले ।

एकदिन कामनालाई बोलाएर बुबाले आफ्नो मनको इच्छा प्रकट गरे, “छोरी, अब तिमी ठुली भइसक्यौ । म जीवित हुँदै तिम्रो कन्यादान गर्ने ठुलो धोको छ मेरो । एउटा योग्य वर खोजेर तिम्रो बिहे गरिदिन पाए मलाई साह्रै ढुक्क हुने थियो । बुढेसकालले ढपक्कै छोपिसक्यो मलाई पनि, अब त कति पो बाँचिएला र ? तसर्थ, मैले तिम्रो विवाहको विषयमा सोचेको छु । तिम्रो के छ विचार नानी ?”

बुबाले यति भन्दा नभन्दै कामना लाजले रातोपिरो हुन्छे र बाहिर निस्कन्छे । बुबालाई के थाहा कि उनकी छोरी त्यही गाउँको रमेशलाई मन पराउँछे । मन पराउने मात्र होइन दोहोरो प्रेम नै छ नि उनीहरूबिच । स्कुले जीवनदेखि नै आपसमा मायाँ गर्थे उनीहरू । गाउँको पवित्रता थियो उनीहरूको प्रेममा । प्रकृतिका मनोरम छटाले भरिपूर्ण उनीहरूको प्रेममा कुनै स्वार्थ, लोभ, लालच र असमानता थिएन । कामनाले यो यथार्थ आफ्ना बुबालाई भन्नै पर्दथ्यो । नभनी सुखै थिएन, नभने त उसको प्रेम मर्ने खतरा थियो । नत्र त उसका बाले अन्तै विवाह गरिदिने सोच बनाइसकेका थिए । मुटु मिचेर आफ्नो र रमेशको प्रेम प्रसङ्गका बारेमा बुबालाई जानकारी गराई कामनाले । रमेश असल नै लाग्दथ्यो । गाउँको हुनेखानेको छोरो, पढेलेखेकै छ । मन्जुरी दिए बुबाले रमेशसँग बिहे गर्न कामनालाई । उनीहरूको प्रेमले साकार रूप लियो । मन्दिरमा बडो हर्षोल्लासका साथ बिहे सम्पन्न भयो । अब कामना र रमेश मिलेर जीवनको रथ हाँसीखुसी हाँक्न थाले ।

सबै कुराहरू सामान्य नै चल्दै थिए । एउटा कुराले उनीहरूको जीवनमा नमिठो गरी घोच्न थाल्यो । बिहे भएको बर्सौँ भइसक्दा पनि उनीहरूका सन्तान भएनन् । भगवान्‌ले सबै सुख दिए तर सन्तान सुख दिन सकेनन् । यही एउटा पीडा थियो उनीहरूको जीवनमा । मायाँप्रेमले अब तिक्तता पोख्न सुरु गऱ्यो । रमेशमा एकखालको अनौठो निराशाजनक प्रवृत्ति देखा पर्न थाल्यो । आफ्नी श्रीमतीलाई मायाँभन्दा बढी घृणा गर्न थाल्यो अब उसले । हरेक रात अवेला घर आउनु, रक्सीले मात्नु, श्रीमतीलाई दुर्वचन गर्नु, पिट्नु … उसका दैनिकी बन्न थाले ।

niti book inside post

कामनाको मनमा पनि एक खालको पहिरो जान थाल्यो । सासूससुरा र नन्ददेवर पनि छिःछिः दुरदुर गर्न थाले । सासूका वचनवाण सहन निक्कै हम्मे पर्न थाल्यो । बाँझी, अलच्छिनी, मेरो छोराको जीवन बरवाद पारी….. के-के हो के-के !

रमेश यी सबको मौन रमिते मात्र बन्दथ्यो, केही प्रतिवाद गर्दैनथ्यो । यस्तो लाग्छ, ऊ अमुक अवचेतन प्राणी मात्र हो । निस्प्राण मूर्ति समान हो । निरीह कामना निरुपाय थिई । केही भन्न, गर्न सक्ने कुरै भएन । यी अनेक आरोप र लाञ्छना चुपचाप सुनिरहनु र सहनु उसको नियति बन्दै गयो ।

मदिराको लत लागिसकेको थियो रमेशलाई । ज्वरो आएका वेला पनि रक्सी खान छोडेन उसले । फलस्वरूप उसलाई निमोनिया भएछ । कामनाले आफ्नो पत्नीधर्म तन्मयका साथ निर्वाह गरी । बिमारले सिकिस्त आफ्नो लोग्नेको सेवा-शुश्रूषुमा अहोरात खटेर लागी ऊ । डाक्टरले पनि उपचार गरिरहेकै थिए तर अब निक्कै ढिलो भइसकेको थियो । कलेजो र फोक्सोमा देखिएको गम्भीर इन्फेक्सनका कारण रमेशलाई धेरै गाह्रो भैसकेको थियो । अन्ततः १० दिनको लगालग ज्वरोले रमेशलाई लिएरै छाड्यो । जवानीमै कामना विधवा भई ।

रुनु, कराउनु, चिच्याउनु र विलाप गर्नुबाहेक केही उपाय थिएन ऊसँग । मान्छेको मृत्यु अवश्यम्भावी छ, ढिलो-चाँडो मात्र हो तर रमेश अल्पायुमै परमधाम भयो । दैवको खेलसँग कसैको केही लागेन, कामना पनि हारी ।

कामनाको जीवनमा आइपरेको यस्तो अप्रत्याशित घटनाले निकै ठुलो आँधीबेहरी ल्याइदियो । जीवन सम्पूर्ण रूपमा फरक ढङ्गले बहकिन थाल्यो । पतिवियोगमा विक्षिप्त कामना मर्नु न बाँच्नुको दोसाँधमा पुगी । मन बलियो पारेर त्यही घरमा रमेशको अभाव सहँदै जसोतसो जिउने चेष्टा गर्छे । श्रीमान्‌ नभए पनि आमासमान सासू ,बुबाझैँ ससुरा र परिवारका अन्य सदस्य छन् भन्ने लागेर उनीहरूकै सहारा, भरोसा र आडमा रमाउने कोसिस गर्छे तर परिस्थिति उल्टो बन्दै जान्छ । सासूको दुर्व्यवहार र दुर्वचनको सिकार दिनानुदिन बन्दै जाँदा उसको दिनचर्या झन् कष्टकर हुँदै जान्छ । रमेशको मृत्युको सम्पूर्ण दोष कामनाकै थाप्लामा थुपारिन थालियो । अलच्छिनी, बोक्सी र लोग्ने टोकुवीको धारिलो आरोपले हर क्षण घोच्न थाल्यो उसलाई ।

जीवनदेखि असाध्यै बिरक्तिएर एक दिन घर छोडेर निस्की ऊ । मनभरि उर्लेर आएका अनेक थरी तर्कना, पिर-वेदना र छटपटीको रन्काले उसलाई एकोहोरो हिँडाइरह्यो । सयौँ डाँडा, खोलानाला, झोर-जङ्गल छिचोल्दै जाँदा पटक-पटक उसलाई आत्महत्या गरेर आफ्नो दुःख लुकाइदिऊँ सदाका लागि झैँ लाग्यो । पटकौँ प्रयत्न पनि गरी, आत्माहत्याको तर खोइ के-केले रोक्यो, मर्न सकिन ऊ ।

सम्बन्धित पोस्टहरु

बाटामा भेटिएका पाटी, धर्मशाला र गोठहरूले उसको रात गुजारे । दिनहरू त पीडाको भारी बोकेर भौँतारिरहेका नै हुन्थे । हिँड्दै जाँदा अर्कै जिल्लाको एउटा गाउँमा पुगिसकिछ ऊ । हप्तौँको भोक, तिर्खा र निद्राले आलसतालस उसको शरीर पनि निकै सिथिल भइसकेको थियो । जीवनदेखि साँच्चिकै हार मानेकी कामना अब बाँच्नुभन्दा बढी मर्नुलाई रोज्ने मनःस्थितिमा पुगिसकेकी थिई । एउटा घना जङ्गल छिचोलेर धमिलो बाढी उर्लिरहेको खोला किनारमा पुगी । जहाँबाट देखिन्थ्यो झुरुप्प घरहरू भएको सुन्दर गाउँपारिपट्टि । खोलामा बगेको त्यो धमिलो पानीले मुख धोई । बिचरी उसको जिन्दगी त्यो खोलाको धमिलो पानीभन्दा धेरै गुणा धमिलो छ । भेल बाढीले बगाई ल्याएका काठका मुढा र स्याउलाको सहारामा खोला तरेर पारि गाउँ जाने सोच्दै थिई । एक मनले तुरुन्तै भन्यो – कि यही धमिलो खोलाको बाढीमा हेलिएर आफ्नो धमिलो जिन्दगीको खेला खत्तम गरिदिऊँ । मनले अब त्यही निर्णयमा सहीछाप गर्न प्रेरित गऱ्यो । आँखा चिम्म गरी । एकपटक आफ्ना बालाई सम्झी, अर्कोपटक रमेशलाई र अर्को पटक सासूससुरा, नन्ददेवर अनि त्यो पूरै जन्मकर्म घरगाउँ । भक्कानाले गला अबरुद्ध भयो उसको । तैपनि आफ्नो निर्णयमा कठोर भएर लाग्नु नै उचित ठानी । सारीको फेरको पटुका बनाई र कम्मरमा बेस्सरी कसी । खोलाको किनारमा अवस्थित ठुलो ढुङ्गामा चढी र एकपटक पुनः आफ्ना सबै अतीत सम्झी । अब शरीरलाई फूलजस्तै हल्का बनाएर पानीको भँगालामा आफूलाई छोड्नै लाग्दा पछाडिबाट कसैले च्याप्प समात्यो र बोकेर खोला किनारमा ल्यायो ।

आत्माहत्याको त्यो अन्तिम प्रयासबाट उसलाई बचाउने व्यक्ति थियो- त्यही गाउँको एक शिक्षक, मधु । कामनाले आफूलाई मर्नबाट बचाएकामा आक्रोश पोखी । आत्माहत्या गर्नु सबभन्दा ठुलो पाप हो भनेर मधुले सम्झायो उसलाई । आफ्नो विगत, जीवन भोगाइ र आत्माहत्या गर्नुको कारण वृत्तान्त बताई । मधुले अनेक तरहले सम्झाएर कामनालाई आफ्नो घरमा लग्यो । त्यो गाउँको मुखियाको घरमा बसेर जीवनको अर्को अध्याय सुरु गरी कामनाले । मधु त्यही मुखियाको छोरा थियो । शिक्षित र सभ्य परिवार । अझ भनौँ मधु झन् उदार । मधुले कामनाका बारेमा सबै कुरा सविस्तार व्याख्या गऱ्यो र आफ्नै घरमा बस्ने प्रबन्ध मिलायो । मधुका बाआमा पनि काम गर्ने मान्छे भेटिएकोमा खुसी नै भए ।

दिन, हप्ता, महिना हुँदै समय बित्दै जाँदा कामना त्यो घरमा बसेको पनि ठ्याक्कै वर्ष दिन बितेछ । कामनाले त्यो घरको सारा काम असाध्यै भरपर्दो र दिगो तरिकाले गरेको देखेर घरका सपरिवार धेरै खुसी थिए । उसको विगत र अवस्था दिनदिनै फिका हुन थाले सबैका लागि । स्वयं कामनाले पनि आफू निरीह, असाहय र दुःखी भएको महसुस गर्नै छोडी । भाग्यले उसलाई न्याय गरेझैँ लाग्दै थियो । मधुले उसको हरेक कुरामा ख्याल गरेको देख्दा लाग्थ्यो- मधु उसको अघोषित पतिदेव हो ।

अचम्म, यथार्थ त्यस्तै भैदियो । घरमा मधुको विवाह गर्ने कुरा चल्न थालेपछि मधुले एक दिन कामनालाई फूलबारीमा काम गरिरहेकै ठाउँमा गएर फ्याट्टै भनिदियो – ‘कामना, बाआमाले मेरो बिहेको कुरा गर्दै हुनुहुन्छ । त्यसो त अब उमेर पनि भयो । तिम्रो के छ विचार । एकपटक तिम्रो मनसाय नबुझी अन्त के जानु भनेर तिम्रो राय बुझ्न खोजेको ।’

कामना एक प्रकारले छाँगाबाट खसेझैँ भई । उसका दुवै कान बन्द भए । आँखा तिरमिराए । त्यो बिहानको घाममा एकाएक अँध्याराले ढाकेझैँ भयो । पृथ्वी सतह भासिएजस्तो लाग्यो । एउटा असोचनीय कुराको पर्दाफासले उसको मनमा आँधीबेहरी ल्याइदियो । फेरि एकपटक सरर आफ्नो अतीत सम्झी, रमेशलगायत अन्य सबै परिवार, त्यो गाउँ, त्यो समाज । हतास हुँदै काँपेको स्वरमा बोली- ‘मधु बाबु, म…..म…. विधवा !’

मधु बिचैमा बोल्यो- ‘मैले तिम्रो कुरा बुझेँ । कामना, के विधवाले पुनर्विवाह गर्नु हुँदैन भनेर कुन कानुन र शास्त्रमा लेखिएको छ ? त्यसमा पनि तिमी-हामीजस्तो केही पढेलेखेका व्यक्तिले त समाजमा व्याप्त अन्धविश्वास र रूढिवादी परम्परालाई च्यातेर सामाजिक रूपान्तरण पो गर्ने हो त । कुनै पनि खराब कुरामा परिवर्तन ल्याउने हो भने राम्रो कामको थालनी आफैँबाट हुनुपर्दछ । यदि तिमी, म र यो घरपरिवारप्रति खुसी छ्यौ भने म तिमीसँग विवाह गरेर तिमीलाई नयाँ जीवन दिन चाहन्छु । खासमा विधवा विवाह आजको माग र आवश्यकता पनि हो । एउटा पुरुषले जत्ति विवाह गरे पनि हुने र एउटी नारीले आफू जस्तोसुकै प्रताडना सहेर पनि त्यही दिवङ्गत लोग्नेको नाममा आफ्नो बाँकी जीवन खेर फाल्नुपर्ने ? के उसका रहर हुँदैनन् ? के उसलाई पनि हाँसेर बाँच्ने इच्छा हुँदैन ? चाहनाको बिरुवा मारेर आफूलाई कुण्ठित गर्नु पाप हो । आऊ कामना, मेरो प्रस्ताव स्वीकारेर मेरो अँगालामा आऊ ।’

मधुले उसलाई च्याप्पै आफ्नो अँगालामा बेर्छ । यतिवेलासम्म कामना बोल्नै नसक्ने अवस्थामा पुगिसकेकी हुन्छे । उसको आँखाबाट आँसुको भेल नै बग्छ । दुःखीको सहारा दैव भनेझैँ मधु उसका लागि दैव नै सावित हुँदै छ । कामनाको मनमा एउटा झन् भयावह कुराको सन्देह थियो – मधुको यो निर्णयप्रति उसका बाआमाको के धारणा होला ? उनीहरूका लागि आफ्नो छोराको यस्तो अप्ठेरो निर्णय स्वीकार्य होला त…?

त्यसै बखत हठात् अँगालाबाट हात निकालेर मधुले कामनालाई भन्यो – ‘प्रिय, बाआमा पनि यही चाहनुहुन्छ । तिमीले कत्ति चाँडो यो घरको मन जितिछ्यौ । तिमीलाई बुहारी बनाउने बाआमा दुवैको इच्छा छ । उहाँहरूको सल्लाहमुताबिक नै मैले तिमीलाई यो प्रस्ताव राखेको हुँ ।’

पछाडिबाट मधुका बाआमा एकै स्वरमा भनिरहेका थिए- ‘स्वीकार छोरी, मधुको कुरा । हाम्रो तिमीहरूलाई आशीर्वाद छ । अब यो घरको लक्ष्मी हौ तिमी । तिमीलाई नयाँ जीवनको शुभकामना ! भोलि नै पण्डितसँग साइत हेराएर यही हप्ताभित्र तिमीहरू दुवैको लगन गाँठो बाँधी पतिपत्नी घोषणा गर्न लगाइदिउँला । मन्दिरमा टिकोटालो गरी बुहारीको रूपमा तिमीलाई सदाका लागि यो घरमा भित्र्याउँला ।’

यही वेला गाई फुकेर कोठेबारीमा पसेछ । कामना लाजले भुतुक्क हुँदै खुरुरुरुरुरु कुधेर गई अनि गाईलाई समातेर गोठभित्र बाँध्न लगी । बिहे भएको वर्ष दिनमै कामनाको कोखबाट छोरा जन्मियो ।

सबैजना एकटकले कामनातिर हेरेर मुस्कुराइरहेका थिए ।

प्रतिक्रिया
Loading...