म, म नै उस्तो हो कि । सजिलो बिस्तरामा सुतेर पनि रातभर निद्रा परेन भनेर छिमेकीको कुकुरलाई दोष लगाउने । हप्ताको दुई दिन छिमेकीसँग नजिक नपरे पनि हुन्छ । बेलुका हो खास गरी । बार पनि याद छ शनिबार र बुधबार । अरू बार सामान्य लाग्छ । आज सोमबार त्यो पनि बिहान ।

बिहान उठेर छिमेकी सुरेशलाई भनेँ, “सुरेशजी तपाईँको कुकुर भुकेर रातभरि सुत्नै सकिनँ ।”

“ओछ्यान अप्ठ्यारो पऱ्यो कि !” उनले कुकुरको बचाउ गरे ।

“हैन हैन ओछ्यान केही हैन लाइकाकै भुकाइले गर्दा हो । बिरामी पो परिन्छ निद्रा नपुगे त ।”

“म त मस्तै निदाउँछु । झन् मेरै घरमा बसेर भुक्दा त म पनि ननिदाउनुपर्ने ।”

मोती भुजेल

मोती भुजेल

अहिले पनि सँगै छ लाइका सुरेशसँग । छोराछोरीलाई जत्तिकै मायाँ गर्छन् । आखिर उनीसँग बस्ने पनि त्यही लाइका नै हो । छोराछोरी सबै विदेश छन् । परारै श्रीमती बितेदेखि सुरेशको घरमा अन्य आफन्तीको कमै आउजाउ देखिन्छ । सुरेश अचेल पहिलाभन्दा फरक भएका छन् । पहिला-पहिला त सिधा मुखमा हेरेर कुरा गर्न पनि डर लाग्थ्यो । झन् मातेका वेलामा त म पहिला नै ढोका थुनेर बस्थेँ । तर अचेल धेरै सुधारिएका हुन् चोट पनि पऱ्यो । श्रीमतीको मृत्युपछि केही महिना सम्हालिन सकेनन्, पछि ओम शान्तिमा लागेपछि पूरै परिवर्तन भएका छन् ।

“तपाईँको भएर होला नि आफ्नाको मायाँले लाइकाको स्वर पनि आफ्नै लागेर निद्रा परेको । मेरै घरतिर हेरेर भुक्छ । म त निदाउनै सकिनँ केही उपाय भए लगाउनुपऱ्यो ।”

“कुकुर भुकेन भने त अर्को अश्चर्य होला नि । धन्न अहिलेसम्म कसैलाई दाँत गाडेको छैन । टोक्ने भएको  भएपनि के लागथ्यो र । अब हजुरलाई मेरै लाइकाले सुत्न नदिएको हो भने म यसलाई भित्र राख्छु ढोका थुनेर । हजुरले बसपार्क, रेलवे स्टेसनतिर मान्छेहरू मस्त निदाएको देख्नु भएको छैन, त्यत्रो होहल्लामा पनि कति मान्छेहरू मस्त निद्रामा हुन्छन् ।”

“अब म के तिनीहरूलाई हेरेर, सम्झेर सुत्ने भन्न खोज्नुभएको ?”

“हैन हामीहरू आफू खुसी हुन जान्नुपर्ने रहेछ के । जब दुःख अप्ठ्यारो पर्छ नि त्यति वेला आफूभन्दा बढी दुःख र अप्ठ्यारोमा परेकालाई हेरेर खुसी हुन सकिन्छ । त्यो आफूले नै सिक्नुपर्दो रहेछ । मलाई हेर्नू न साठी वर्षमा पनि । पल्टनबाट उमेर छँदै पेन्सन निस्कनुपऱ्यो । कति ठुलो पोस्टमा पुगुँला भन्ने थियो । एकदिनको एकछिनको रमाइलोले गर्दा उमेर छँदै सिपाहीमै थन्किनुपऱ्यो र पनि आजको दिनमा म खुसी छु । आफ्नो मनले चाहेको गर्छु । अरूको दुःखमा साथ दिन्छु र खुसी हुन्छु । सुत्ने वेलामा अफिसको कुरा खेलाएर सुत्नुहुन्छ होला अनि कहाँ निद्रा पर्छ त !”

“अनि अफिसको कुरा नखेलाएर के खेलाउने त ! कत्रो-कत्रो फाइलहरू हेर्नुपर्छ, अरबौअरबका फाइलहरू हुन्छन् सानो मिस्टेक भयो भने बैदेसिक ऋणदाताले रोकिदेला भन्ने पिर परिरहन्छ ।”

“त्यो त तपाईँको अफिस समयभित्र सोच्ने हो नि । अफिस समय नै पर्याप्त हुन्छ कामका लागि । जब तपाईँ यो मेरो काम हो, म यही कामका लागि यस कुर्सीमा नेपाल सरकारले मलाई योग्य ठानेर राखेको छ, भन्ने सम्झनुहुन्छ भने तर तपाईँलाई जति समय भए पनि नपुग्ने त अफिस गयो कि अर्को फाँटवालाले मेरो दोस्रो घर कस्तो छ भनेर फेसबुकमा राखेको थ्री.डी. डिजाइन हेरेर त्यहाँ आएका कमेन्ट हेर्न लाग्नुभयो र आफ्नो यही तीनतले घरलाई भत्काएर त्यस्तै बनाउन पाए वा अर्को यस्तै घर बनाउन पाए भनेर सोच्नुभयो भने । तपाईँ निदाउन मात्रै हैन केही समयपछि राम्रोसँग हिँड्न पनि सक्नु हुन्न ।”

“के नहुने कुरा गर्नुहुन्छ सुरेशजी पनि । म कसरी हिँड्न सक्दिनँ । निद्रा पो नलागेको हो खुट्टै नलागेको त कहाँ छ र । म पनि जति गर्छु देशका लागि गर्छु । तपाईँहरूले जस्तो कसम त खाइएन तर पनि देशको सेवक हामी सरकारी कर्मचारी पनि हौँ । सके राम्रो गरिन्छ नसके नराम्रो गरिन्न ।”

“हेर्नुस् तपाईँ र म छिमेकी भएको पनि यत्तिका वर्ष भयो मैले लाइका पालेको पनि बर्सौँ भयो । पोहोरको दसैँमा तपाईँहरू सपरिवार दसैँ मान्न गाउँ जाँदा तपाईँको घरको रेखदेख गर्ने यही लाइका हो । तपाईँले मलाई फोन गरेर भन्नुभएको थियो राति लाइकालाई खोरमा नथुन्नू है खुल्लै छाडिदिनू । ता कि तपाईँको घरको पनि हेरचाह गरोस् भनेर । लाइका भुकेर निद्रा नपरेको हैन चिन्ता परेर हो ।

अरूले के गरेको छ । कसरी धन कमाएको छ । के-के सम्पत्ति जोडेको छ । त्यो तपाईँको विषय हैन । आफ्नो दैनिकी राम्रो बनाउनुस् अरूको कुरै नगर्नुस् आफू खुसी हुनुपर्छ । म तपाईँलाई मिठो निद्रा पर्ने उपाए बताइदिऊँ ।”

“ल न सुरेशजी, तपाईँ छिमेकी भएर अहिलेसम्म पनि गुन लगाउनुभएकै छ । त्यो सबै गुनभन्दा पनि यो महान् गुन हुनेछ ।”

“मैले भनेको मान्नुपर्छ ।”

“हुन्छ मान्छु ।”

“दिनको दुईपटक कम्तीमा दुई मिनेटसम्म आँखा चिम्लेर, हात जोडेर नमस्कार गर्नुपर्छ । जति सुन्दर अहिले देख्नुभएको छ त्योभन्दा सुन्दर देख्नु छ भने दुवै आँखा चिम्लेर हेर्नुहोस् आँखा चिम्लिँदा जे देखिन्छ त्यो नै सत्य र सुन्दर वस्तु हो ।”

“आँखा चिम्लेर के देखिन्छ भन्नुभएको बुझिनँ । बरु नमस्कार तपाईँलाई म त्योभन्दा बढी पटक गर्छु ।”

“मलाई हैन नमस्कार गर्ने ।”

“कसलाई त ?”

“बिहान सबेरै उठेर उदाउँदो सूर्यलाई हेरेर नमस्कार गर्नुहोस् र सङ्कल्प गर्नुहोस् आज कसैलाई भेदभाव गर्ने छैन । आज गर्ने सबै काम मैले मेरै लागि गर्दछु भनेर सम्झनुस् र बेलुका अस्ताउँदो सूर्यलाई हेरेर सङ्कल्प गर्नुहोस् फेरि भोलि पनि कसैलाई भेदभाव गर्नु नपरोस् । बेलुका अस्ताउनुपर्ने भए पनि बिहान उदाएकै हुन्छ सूर्य । सूर्यलाई हेरेर आफ्नो अहं त्याग्नुहोस् । म हाकिम हुँ भन्ने बिर्सनुस् ।”

“हुन्छ भोलिबाट म त्यसै गर्छु । मेरो अफिस टाइम भयो ल ।”

“हुन्छ । मेरो पनि खाना खाने टाइम भयो ।”

पन्ध्र दिनपछि ,

सधै बरन्डामा देखिने सुरेश केही दिन देखिन छाडेका छन् । लाइका पनि भुक्न कम गरेको हो कि । दिउँसो म अफिस जाँदा भुक्दो हो । कतै आफ्न्तकोमा पो गएछन् कि । लाइकालाई पनि सँगै लगेर पो भुकेन नत्र त के लाइका नभुकेर को भुक्छ त । उसलाई पनि खाना खानुपर्छ । यहाँ त कसले दिन्छ त मैले दिने भनेको कहिलेकाहीँ हड्डी मात्रै हो । कुकुर पाल्दा सबैभन्दा अप्ठ्यारो पाहुना जाँदा र बाहिर जाँदा हो । आफ्नो कुकुर आज तिम्रोमा छोड्छु है भन्न पनि नमिल्ने ।

छिमेकी असल नै परेकोमा खुसी छु । शत्रुलाई हजार-हजार मौका दिएर मित्र बनाउने रे तर मित्रलाई एकचोटि पनि शत्रु बन्ने मौका नदिनू रे । साना-साना टिप्स दिएर अरूलाई खुसी बनाउने छिमेकी सबैको परून् । आफूसँग भएको क्षमता प्रदर्शन गर्न हतार गर्न पनि भएन जस्तो कि चन्द्रमा दिनभरि त्यही आकाशमा हुन्छ जब रात पर्छ उसको चम्कने पालो आफैँ आउँछ । आफूले पनि छिमेकीलाई सकेको र परेको वेलामा सहयोग गर्न पालो कुर्दै छु । अर्को दिन पनि देखिनँ । म अफिस गएपछि पो आउँछन् र दिनभर बसेर साँझ जान्छन् कि । अचानक कहाँ गए त सुरेश, फेरि भेटमा सोधुँला ।

केही दिनपछि ।

मुटुमा केही समस्याले गर्दा हो कि प्रेसर सुगर बढ्यो कि, धेरै हिँडडुल गर्न पनि सक्दिनँ छिटो थकाइ लाग्छ । चेकअप गर्न पोखराको पुरानो मनिपाल टिचिङ हस्पिटल अहिलेको ॐ आनन्द हस्पिटल गए । कस्तो सुविधासम्पन्न हामीले चाहेको यस्तै हो । बिरामीसँग कुनै कुरुवा बस्नु पर्दैन सबै तालिम प्राप्त नर्सहरूबाट होम हस्पिटालिटीको व्यवस्था रहेछ । अचेल केटा नर्स पनि रहिछन् । पहिला केटी मान्छे मात्रै नर्स देखेको पहिलोपटक केटा नर्स देख्दा के भनेर बोलाउने अप्ठ्यारो लाग्दो रहेछ । तपाईँलाई शरीरमा, श्वासप्रश्वासमा या अन्य स्वास्थसम्बन्धी कुनै अप्ठ्यारो परेमा, यदि तपाईँ पचास वर्षमाथिको हुनुहुन्छ भने तपाईँले आफ्नो मोबाइलबाट ५१५१ डाइल गर्नुस् वा घरमा जोडिएको हेल्थ स्विच थिच्नुहोस् तपाईँलाई लिन डाक्टर, नर्स र औषधि बोकेर एम्बुलेन्स घरमै आइपुग्छ । तपाईँले तिरेको करबाट तपाईँको उपचार खर्च हुन्छ र पुगेन भने तपाईँले उपचारपश्चात् तिर्नुपर्छ । तपाईँको कुनै आम्दानी थिएन र तपाईँले राज्यलार्इ कुनै कर तिर्नुभएको छैन भने पनि राज्यले तपाईँको उपचार खर्च बेहोर्छ ।

कुनै फाइभ स्टार होटेलको लबीभन्दा कम छैन ॐ आनन्द हस्पिटलको लबी । म लबीमा बसिरहेको थिएँ । एक जना केटा नर्ससँगै सुरेशजि फार्मेसीबाट आउँदै गरेको देखेँ । मैले सुरेशजीलाई बोलाएँ, हामी एक घण्टा लबीमा गफ गऱ्यौँ । “अचेल तपाईँलाई देख्दिनँ घरतिर ।”

नाइँ म त घरमै हुन्छु । जस्तै यति वेला म ॐ आनन्द हस्पिटलमा छु मलाई कसैले घरमा खोजेर त भेट्न सकिँदैन ।

सुरेशजी पनि मजाक गर्नुहुन्छ । तपाईँलाई नमस्कार गरेदेखि मस्त निद्रा पर्छ अहिले त । मेरो मतलब तपाईँले सिकाएको नमस्कार मन्त्रले काम गऱ्यो धन्यवाद । अहिले त लाइका जति भुके पनि निद्रा पर्छ अझ भनौँ लाइका नभुकेमा निद्रा नै पर्दैन ।

अनि सुरेशजी तपाईँ कति वेला फर्कनुहुन्छ कि सँगै फर्कौँ ।”

“सँगै त फर्कौँला तर तपाईँ र मेरो बाटो फरक पऱ्यो ।”

“फेरि मजाक गर्नुहुन्छ ।”

“मजाक हैन । म अचेल त्यो घरमा बस्दिनँ नि ।”

“कहाँ बस्नुहुन्छ त ?”

“अहिले हाम्रो घरमा बस्छु । त्यो घर छोडेको महिना दिन भयो । हाम्रो घरमा सबै बन्दोबस्त राम्रो छ । सरकारले ल्याएको यो अर्को पनि तारिफयोग्य काम हो । सबै सेवासुविधाहरू हाम्रो घरमा छ । यो देशमा जन्मेर मेरो कोही छैन भन्नु पर्दैन । जसको कोही छैन उसका लागि सरकार छ । अब केही बेरमा घरको गाडी आउँछ लिन । तपाईँ कोसँग आउनुभयो ? के जचाउनुभयो ?”

“मुटु जाँच गरेँ रिपोर्ट आउँछ अनि जान्छु । ॐ आनन्द हस्पिटल राम्रो बनाएछन् है । कति धेरै सुविधा थोरै पैसामा पनि । हाम्रो घरका सबै सदस्यहरूलाई महिनाको एकपटक घरमै गएर स्वास्थ्यको जाँच गराउँछ । अस्ति मर्निङवाकमा एक्सिडेन्टमा परेको थिएँ, आज फेरि चेकअपका लागि हाम्रो घरको गाडीले छोडेर गयो अब लिन आउँछ ।”

“आफ्नो घर……… हाम्रो घर” लेखेको गाडी आयो सुरेशजी त्यही गाडीमा चढे ।

“हाम्रो घर भन्ने तपाईँको घरमा आउँला कुनै दिन । अनि लाइका कसलाई दिनुभयो ?”

“भगवान्‌लाई ।”

“को भगवान्‌लाई ?”

“अस्तिको मर्निङवाकको एक्सिडेन्टमा परेर लाइका मऱ्यो । म अभागी बाँचेँ । सँगै मर्न पाइनँ ।”

“ओहो मिस यु लाइका !”