
ब्यारेकको ढोकामा केही सिपाहीहरू पहरा दिन बसेका हुन्थे । कहिले सोमनाथको पालो पर्थ्यो । कहिले चेतबहादुरको । अनि कहिले विपिनध्वजको त कहिले कोही अरूको । मान्छेहरू ब्यारेकको ढोकाअगाडिबाट आइजाइ गर्ने गर्थे । मानवीय स्वभाव नै होला । तन्नेरी—युवती देखेपछि पुरुषका आँखा जुध्छन् । युवतीले चालै नपाउने गरी शरीरभरि रगरगाउँछन् । मनपरीसँग खेल्न थाल्छन् ।
एकदिन…।
सिपाही चेतबहादुर ड्युटीमा थियो । एक हुल युवतीहरू ब्यारेकको ढोकातिर आइरहेका थिए । एउटी चमेली । अर्की लाली । अनि अर्कीचाहिँको नाम सुप्रिया । झन् अर्कीको नाम सुभद्रा । चमेली अति चञ्चला थिइन् । बाटामा हिँड्दा गोडाभन्दा आँखा बढी नचाउँथिन् । लाउन, खान भनेपछि मरिहत्ते गर्ने । पढाइमा सधैँभरि पछि । साथीहरूबाट उनी आरोपिन्थिन्— ‘राम्री भएकीले नम्बर थपेर पास गराइदिएका सरहरूले । नत्र त सबैमा आलु !’
चमेलीको पहिरन अत्याधुनिक हुन्थ्यो । कहिले पिँडुला च्यापिने टाइट जिन्स लगाउँथिन् । कहिले फिलामै चिप्किने लेगिन्ज । फेसन पनि कस्ता-कस्ता आउँछन् नेपालमा ! चमेलीको उमेर र शारीरिक भूगोलबिच समानता थिएन ।
थाहा नहुनेले भन्थे— ‘कम्तीमा पनि एउटा सन्तानकी माऊ होली । छोरीभन्दा आमा तरुनी…’ गीतजस्तै । लाली थिइन् उनीहरूको समूहकी सबैभन्दा जेठी युवती । नामजस्तै लालीमय थियो उनको मुहार । लालुपाते फूलझैँ निक्खर रातो त हैन । भर्खर फुल्दै गरेको आरूबखडाको फूलझैँ गुलाबी गाला ।

सागर ‘मणि’ थापा
लाली हाँसिन् भने गालै रातो बन्थ्यो । रुँदा पनि उस्तै । सुप्रियाचाहिँ काली तर हिस्सी परेकी । कसिलो शारीरिक बनावट । केश निकै लामा, नितम्बलाई छोप्न पुग्थे । ती केश हरदम निर्बन्ध रहन्थे, महाकविको स्वच्छन्द कविताजस्तै ।
सुप्रिया अङ्ग्रेजी विषयमा एकदम कमजोर थिइन् । चार कक्षादेखि आलु खाँदै माथि उक्लिएकी । सातौँ कक्षामा पुगेपछि हेडसर रिसाएका थिए । वाक्कदिक्क बनायो उनलाई सुप्रियाको पढाइले । तब फेल गरिदिए । त्यही रिसले सुप्रियाले कापीकिताबसँग नाता तोडिदिइन् ।
पढ्न छाडेपछि सुप्रियाको स्वेटर बुनाइतिर रस बस्यो । उनलाई लाग्यो, कलम घोट्नभन्दा त कुरुस चलाउन नै सजिलो । तालिममा जान पनि रमाइलो भयो ।
केही महिनामै सुप्रिया काममा पोख्त भइन् । त्यसपछि त घरैमा बसीबसी पैसा आउन थाल्यो । मिहिनेतको फल प्राप्त भइरह्यो ।
त, सिपाही चेतबहादुरले जिस्क्याउने नियतले बुट बजार्यो । चञ्चलाश्री चमेलीले टिप्पणी गरिहालिन्— ‘छ्या यो सिपाही दाजु त के विधि पात्तेको रैछ ! युवतीहरू त देख्नै नहुने ! भुईँमा बुट बजार्नुको मतलब हामीले बुझेका छैनौँ र ? मलाई डाकेको होला नि हैन ?’
— ‘छिः यो चमेली त के साह्रो चोथाले भएकी होली ।’ सुप्रियाले चमेलीको कुममा प्याट्ट पिटेर प्रतिक्रिया व्यक्त गरिन् । उनी अगाडि भन्न लागिन्— ‘चिन्नु न जान्नुको मान्छेलाई जथाभावी भन्छेस् ?’
त्यस रात सिपाही चेतबहादुर निदाउन सकेन । उसका साथीहरू पनि हैरान भए । नाउँ, ठाउँ पत्तो नभएका युवतीहरूको सम्झनामा समय किन बरबाद पार्दै छ ऊ ? पलप्रतिपल एउटै वाक्यलाई किन सम्झिरहेछ ? चमेलीले वचन लगाएकी थिइन्— ‘तपाईँले मेरो….होला त…?’
साथी विपिनध्वज र सोमनाथले कत्ति सम्झाए तर चेतेले मानेन । ऊ बेवकुफ ठहरियो । कमसेकम नाम र ठेगाना त सोध्नुपर्थ्यो । ड्युटीमा बसेको सिपाहीसँग लस्सी माग्ने केटीको स्वभाव कस्तो होला ? पक्कै पनि चलाख होली । वाचाल होली । एक-दुई वाक्य बोलेको भरमा साथीलाई पागल बनाउन सक्ने केटी लरतरकी पक्कै होइन । सायद यसैलाई एकतर्फी प्रेम भन्छन् । साथी बौलाउने भयो ।
चेतबहादुर दृढ निश्चयका साथ भन्छ— ‘तिमीहरू जेसुकै भन । म त्यो केटीलाई भोलि नै भेट्छु । यतै बजारतिर बस्छे त्यो केटी । मलाईजस्तै उसलाई पनि छटपटी भइरहेको हुनुपर्छ ।’
सिपाही चेतबहादुर चमेलीलाई खोज्दा खोज्दा थाकिसकेको थियो तर हरेस खाइसकेको थिएन । ऊ एउटा भातहोटलमा थकाइ मार्न पसेको थियो । सन्जोगवश त्यो होटल चमेलीको मामामाइजूको परेछ । चमेलीको मामाले कराएर भन्यो— ‘चमेली भान्जी । त्यो दाइलाई के चाहिन्छ, सोधेर देऊ त ।’
चमेली सिपाहीसामु पुगिन् । आँखा चार भए । मामाको अदवमा बसेकी थिइन् । अतः ब्यारेकको बाटामा झैँ चञ्चलता प्रदर्शन गर्न जाँगर चलाइनन् तर उनको लवाइ त्यो दिनको भन्दा पनि चित्ताकर्षक थियो । चेतबहादुरले चमेलीको मौनता भत्काउन खोज्यो— ‘भनेपछि तिम्रो नाम चमेली रहेछ हैन त ? मेरो नाम चेतबहादुर हो । साथीहरूले चेते भन्छन् । तिमीले चेतु दाइ भन्यौ भने मलाई खुसी लाग्छ ।’
चमेली मुसुक्क हाँसिन् तर उनको त्यो मुस्कान पलभरमै लुटियो । किनभने उताबाट खरो स्वरमा माइजू कराउन थालिन्— ‘ए चमेली । तिमी कोसँग जिस्केर बसेकी हँ ? उतातिर खानासाना थप्नु पर्दैन ?’
चमेलीले वास्ता गरिनन् । उनले ‘चेतु दाइ’ लाई खाना दिइन् । त्यही मौकामा माइजूको दुष्ट स्वभावका बारेमा कुरा लगाउन पनि भ्याइन् ।
फेरि एकदिन…।
चेते, सोमे र विपिनध्वज नेपाली चलचित्र हेर्न गएका थिए । विपिनले लालीलाई अँगाल्यो । सोमनाथले सुप्रियालाई । चेतेकी चमेली भइहालिन् । हलको पर्दाभन्दा आआफ्ना ठिटीतिर ध्यान केन्द्रित गरेका थिए उनीहरूले । निकै रोमान्स चल्यो । हाफ टाइमपछि उनीहरूले चलचित्र हेर्न छाडिदिए ।
सिपाहीहरूको जोडी सार्वजनिक पार्कतिर गयो । बदाम र सुन्तला खाँदै मिठा-मिठा गफमा रमाउन थाल्यो । विपिन भन्छ— ‘लाली, म एउटा कुरा भन्छु मान है ? मलाई छोटकरीमा बी.डी. भने पनि हुन्छ ।’
त्यति के सुनेकी थिइन्, लाली खितखित हाँस्न थालिहालिन् ।
बी.डी.ले सोध्यो— ‘किन हाँसेकी ? मेरो कुरा मन परेन मैयाँ ?’
लालीमैयाँले भनिन्— ‘त्यसरी बोलाउँदा खाने बिँडी भन्ठानेर अरूले गिल्ला गर्दैनन् र ? नाइँ, म त त्यसो भन्दिनँ ।’
विपिनले अँगालोमा अँचेड्दै जिज्ञासा राख्यो— ‘के भनेर बोलाउने त ?’
लालीले प्रस्ताव राखिन्— ‘म तपाईँलाई सि.दा. भनेर बोलाउँछु नि हुन्न ?’
— ‘त्यो भन्या के नि ?’ विपिनले जिज्ञासा व्यक्त गर्यो ।
— ‘कस्तो बुद्धू तपार्इँ त ! सि. भनेको सिपाही । दा. भनेको दाइ । मतलब, सिपाही दाइ ।’
— ‘अहँ, त्यो पनि भएन ।’
— ‘के हुन्छ त ?’
— ‘नबुझ्नेले श्राद्धको टपरी भन्ठान्छ । सिदा भनेर गिज्याउँछन् मान्छेहरूले । म टपरीको सिदा तान्ने बाहुन हुँ र ? फेरि अर्को कुरा पनि छ । प्रेमीलाई कसरी दाइ भन्छ्यौ ?’
— ‘हि..ही..ही..। छ्या यो सिदा त कस्तो हँसाउन सक्ने मान्छे रहेछ गाँठे ।’ लाली कस्तोसँग खित्किइन् । प्रेमीको नाक चिमोटिदिइन्, मायाले ।
च्वच्वच्व…! चमेलीको सपनामा तुसारापात लाग्यो । एउटा केटाले बदमासी गर्यो । ऊ चमेलीकी माइजूको कान फुक्न पुग्यो । माइजूले निर्णय सुनाइदिइन्— ‘आजदेखि तिमी होटेलबाट बाहिर जान पाउँदिनौ ।’
— ‘किन नपाउने माइजू ? म बँधुवा मजदुर हुँ र ?’ विवाद उछाल्न खोजिन् चमेलीले । मामाले पनि सिपाहीसँग सल्केकी कुरा अघि सार्यो । भान्जीको बिहे भयो भने होटेलको व्यापारमा कमी आउँथ्यो । युवती नभए ग्राहक त्यत्ति आउँदैनन् । पौरुषीय मनोविज्ञानबारे चमेलीकी माइजू अनभिज्ञ थिइनन् ।
चमेलीले एकान्तमा भेटेर भनिन्— ‘चेतु, मलाई त्यो जेलबाट छुटाएर लैजाऊ ।’ उनले चेतावनी दिन पनि बाँकी राखिनन् । चेतुलाई नपाए आत्महत्या गरेर मर्नेछिन् । चेतेले मायालु अँगालोमा बेर्दै सम्झायो । केही दिन प्रतीक्षा गर्न आग्रह गर्यो ।
अफसोस ! ब्यारेकको मेजरको हैसियतले मैले चेतेलाई अनुशासनको कारवाही गरेँ । त्यसो त देशमा राजतन्त्रको पतन भइसकेको थियो । सेनामा पनि मानवाधिकारको स्वर गुञ्जन थालेको थियो । तब न सिपाही चेतबहादुरले मेजरसँग गुनासो राख्नुपायो— ‘मेजर साहेब । म यो ब्यारेकमा सरेको भर्खर त आठ महिना हुँदै छ । फेरि सरुवा गरिदिनुभएको ? आखिर यो सजाय कुन गल्तीका लागि मेजर साहेब ?’
मैले हातमा चिठी दिँदै जवाफ दिएँ— ‘तिम्रो गल्ती यही हो कि तिमीले फौजको नीति, नियम तोडेका छौ । तिमी यस ठाउँका युवतीहरूलाई फासाउन आएका कि जनताको रक्षा गर्न ?’
सिपाही चेतबहादुरले प्रतिवाद गर्न सकेन । उसको प्रेमप्रलाप निस्सार भयो । रातारात मैले उसलाई सरुवा गरिदिएँ । मेरो उक्त कारबाहीले अरू दुई जनाका लागि ‘नाङ्लो ठटाएर हात्ती तर्साएको’ सङ्केत थियो । चेतेको सरुवाबारे चमेली अनभिज्ञ थिइन् । पुनर्मिलन हुने सम्भावना न्यून थियो ।
चमेलीले ठुलो धोखा खाइन् । उनले र चेतेले गोप्य रूपमा यौनजाँच दिएका रहेछन् तर रिजल्ट आउने बेलामा गोप्यता भङ्ग हुन गयो । भन्न त उनले प्रेमको निशानी नै भनेर स्पष्टीकरण दिइन् समाजलाई । मामाहरूलाई ।
तर माइजूले बेसरी जगल्ट्याइन् । पाप बोकेकी आरोप लगाइन् । उनको प्रेमी पत्तै नदिई सरुवा भयो । त्यो धोखेबाज हुँदैनथ्यो भने किन खबर गरेन ? साथीमार्फत् चमेलीलाई किन चिठी पठाएन ?
समाज र घरको घृणाको पात्र बनेर कति दिन बस्न सक्थिन् उनी ? पेटको बच्चालाई नौ महिनापछि सुरक्षितसाथ अवतरण गराउने उपाय सोच्दै थिइन् तर सबैबाट तिरस्कार मात्र पाइन् । उसकने मन र मुटु छिया-छिया भयो ।
चमेलीले बाँच्ने आधार पाइनन् । आखिर त्यही बाटो रोजिन्, जुन बाटो अन्य धोका पाएका प्रेमिकाहरूले रोज्दै आएका थिए । चमेलीको आत्महत्याले ब्यारेकमा सनसनी मच्चाइदियो । मेजरको हैसियतले मैले ब्यारेकमा कडा उर्दी जारी गरेँ— ‘आइन्दा एक जना पनि ब्यारेकको हाताबाट बाहिर निस्कन पाउने छैनौ । गएमा कारबाहीमा पर्नेछौ । कसैसँग प्रेम गर्नु त परको कुरा । ब्यारेकको गेटमा पहरा दिँदा पनि कुनै केटीसँग आँखा जुधाउन पाउने छैनौ ।’
सोमनाथ र विपिनध्वजको भित्री आकाङ्क्षा अर्कै थियो । ब्यारेकपछाडिको पर्खाल नाघेर भए पनि प्रेम गर्न गइन्छ । उसै पनि किताबमा लेखेकै छ— ‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ ।’ आदि ।
बी.डी.र सोमेले आआफ्नो प्रेमलाई पुष्पित र पल्लवित बनाउँदै लगेका थिए । मेजरको उर्दीले केही गरेन । साथीहरूको मदतबाट पर्खाल नाघी-नाघी सुप्रिया र लालीसँगको भेटलाई बाक्लै बनाए । मायाँ गरे । नचाहेको ‘काम’ पनि गर्न सफल भए ।
बी.डी.लाई लालीको घरसम्म पनि डोर्याएर लग्यो प्रेमले । लाली लुकेर प्रेमी र दाजुको वार्तालाप सुनिरहेकी थिइन् । लालीको दाजुले ठाडै अस्वीकार गर्दै झपार्यो— ‘त्यत्रो घटना घटेको देख्दादेख्दै म मेरी बहिनीको हात तिम्रो हातमा दिन्छु ? अहँ, यो सम्भव छैन ।’
— ‘सबै सिपाही धोकेबाज कहाँ हुन्छन् र दाजु ।’ सिपाही बी.डी.ले तर्क गर्न थाल्यो— ‘म लालीलाई मनप्राणले प्रेम गर्छु । उनी पनि मलाई औधी मन पराउँछिन् । त्यसर्थ म उनीसँग बिहे गर्न चाहन्छु दाजु । मलाई विश्वास गर्नुस् ।’
एकदिन लाली र विपिनध्वजको सपना साकार भयो । बिहेका लागि गाउँबाट बी.डी.का परिवार आए । छोराको प्रेमलाई मूर्त रूप दिन उनीहरूले मन्दिरविवाह गराइदिए । त्यो पल मेजरको हैसियतले मेरा जुँगा ठाडा भएका थिए ।
मैले गाउँलेहरूलाई सुनाएँ— ‘आज प्रमाणित भयो होइन सिपाहीभित्र पनि दिल हुन्छ भन्ने कुरा ? इ.. आज लाली र बी.डी.ले प्रेमलाई बिहेमा अनुवाद गरेर देखाइदिए । अझ अर्को कुरा त झनै महत्वपूर्ण छ । ‘बिहेमा दाइजो नभई हुन्न’ भन्ने मान्यतालाई मेरो सिपाहीले भत्काइदिएको छ ।’
मेरो कुरा सुनेर गाउँलेहरू खुसी भए तर उनीहरूको त्यो खुसी धेरै दिन टिक्न पाएन । मेरो अर्को सिपाही सोमनाथले लुटिदियो । सालेको त घरमा जेठी पत्नी रहिछन् । हेर-हेर मेरो बेइज्जत गरेको ! मेजरको नाकै काटिदियो नि भातेले ।
बी.डी.को सच्चरित्रले फुलेको मेरो छातीमा सोमेले लात्ती बजार्यो । हावा भरेको बेलुन भइदियो मेरो छाती । सियोको एक घोचाइले प्वाट्ट फुट्यो । चेतेले लगाएर गएको घाउमा सोमेले नुनचुक छरेर भाग्यो । सुप्रियाले बढेको पेट लुकाउन सकिनन् । केही दिन त ओढ्नेले छोपिन् । पटुकी कसिन् ।
तर हावा भरेको भकुन्डोलाई पोखरीको पानीमा दबाउन खोजेझैँ भयो । जति दबाइन्, झन्-झन् माथि तैरियो । अन्ततः उनले आफ्नो समस्या आमालाई सुनाइन् । आमाले बेसरी कुटिन् । कुटेर बच्चा पेटमै बिलाउने भए किन आत्महत्याजस्तो जघन्य अपराध गर्थिन् चमेलीले ? किन मर्थे लैला र मजनु ? किन बिख पिउँथे लाखौँ पूर्वज युवतीहरूले ?
सुप्रियाको कारण हाम्रो ब्यारेकमा पहिलेकै घटना दोहोरियो । मैले सहन सकिनँ । सबैका अगाडि गर्जिएँ— ‘आफ्नै छोरी नखरमाउली, तन्नेरीलाई दोष ? लाज लाग्दैन तिमीहरूलाई ? यो केटीले सोमेसँग प्रेम गर्दा हामीलाई जानकारी दिएकी थिई ? बा, आमालाई भनेकी थिई ? भनिन हैन ? जब समस्या पर्यो, तब ब्यारेक घेर्न आउने तिमीहरू ?’
गाउँलेहरू सुप्रियालाई थुक्दै बाटो लागे । उनका बा, आमासँग पनि रिसाए । प्रेमको कमजोर धरातलमा फक्रिएको सम्बन्ध र त्यसैको परिणामका रूपमा खेप्नुपरेको सामाजिक दुत्कार चमेली र सुप्रियाहरूको साझा नियति बन्न पुग्यो ।
अन्ततः सुप्रिया पनि एउटा सामाजिक संस्थाको शरणमा पुगिन् । धन्न परमेश्वर ! समाजले अर्को आत्महत्या देख्न परेन । यद्यपि, कुमारी आमाहरूको जमातमा अर्को एक सङ्ख्या थपियो । ती सबै घटनाहरूको जड ब्यारेकको ढोका थियो कि के थियो ? म यसै हो भन्ने स्थितिमा छैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३१ जेष्ठ २०८३, आईतवार 










