Chovar Blues Mobile Size

त्यो दिन सरस्वती भयङ्कर दुःस्वप्नभित्र रुमल्लिएकी थिई । विपनामा उसलाई सारो-सारो गरी पेट दुखिरहेको थियो । त्यही दुखाइका बिच ऊ हरियो स्कुटर हाँकेर रानीबनतिर गइरहेकी थिई ।

त्यसताका उसको शरीरमा रजोगुणको बाहुल्यता भएको थियो जसको असरमा ऊ दुःखबाट छुटकारा पाउने लालसाले तप्त थिई । किनकि संसारले आविष्कार गरेको ओखतीसँग एकाएक अविश्वस्त भई र ऊ प्रकृतिको शरणमा जाने निर्णयमा परी । ऊ प्राकृत रूपमा हरियो बुटीको सेवन गर्न थाली । विगत बाइस दिनदेखि खाइरहेको त्यही बुटीको असर आफ्ना शरीरमा निरीक्षण गरिरहेकी थिई । सुरुमा सुखजस्तो अनुभव पाएर उसले खुसी भोगी । त्यसपछि जलन हुनथाल्यो । अब त्यो जलन तनमा मात्र नभएर मनमा पनि भोगिरहेकी थिई । त्यसैले ऊ छुटकाराको आशमा रुमल्लिएकी थिई ।

आशाहरू अन्ततः दुःस्वप्न जसरी सक्किइन्छन् । उसले भोगेको त्यो दिनको घटना उसको दिमागभरि चलिरहेको थियो । ऊ सानोभर्‍याङबाट दाहिनेतिरको सानो भत्किएको बाटामा निरन्तर त्यही हरियो स्कुटी लिएर उत्तरतिर दौडिरहेकी थिई । ग्राबेल गरेको बाटो भत्किसकेको र धेरै ठाउँमा खाल्डैखाल्डा परेको थियो । त्यसमाथिको जाम र माइक्रो बसले पेलेर झन्डै उसको अगाडिको चक्कालाई छोएको थियो । उसलाई चक्कर लाग्न थाल्यो । उसका आँखा कतै एकक्षण बिसाउने ठाउँको खोजीमा लागे । अलिकति उत्तरतिर उसले बाटाको देब्रेतिर राधाकृष्ण मन्दिर भेट्टाई र त्यहाँ पुगेपछि ऊ स्कुटीलाई मन्दिरकै आडमा राखेर गेटभित्र छिरी । मन्दिरभित्र कुनै सभा गर्ने ठाउँजस्तो खुला स्थान थियो र वरिपरि मानिसहरू बस्ने बेन्चहरू बनाइएका थिए । त्यहाँ साठी-सत्तरी वर्षभन्दा माथिका जस्ता लाग्ने ढाकाका टोपी लगाएका आठ-दस जना प्रौढ मानिसहरू गोलाकार भएर बसेका थिए । ऊ त्यहाँभन्दा अलि दक्षिणतर्फको खाली सिटमा गएर आराम गर्न बसी ।

ज्योति जङ्गल

प्रौढ मानिसहरू घरायसी झिनामसिना कुरा गरिरहेका थिए । उनीहरू आफ्ना जवानीका सपना निरर्थक भएको र “किन त्यसरी दौडिएका होलाऊँ नि हामी” भनेर आश्चर्यमा परिरहेका थिए । कोही पोहोर मरेको साथीले यसो भन्थ्यो भन्दै अँध्यारा अनुहारका भएर बसिरहेका थिए । केहीले गाउँ छोडेको कुरामा पश्चात्तापजन्य अनुहार बनाएर लामो सास लिइरहेका थिए । कोही-कोही चाहिँ आफूले गरेको पराक्रम असामान्य हो र त अहिले सुखै छ भनेर मन सम्हालिरहेका देखिन्थे । सबैले घरायसी कामहरू, खानपान, लुगा, छोराछोरीका जागिर, बुहारीको चालमाल र गाउँसहरको भिन्नता जस्ता कुरामा मन भुलाएको वाणी सुनेर सरस्वतीले सोची, ओहो ! तमाम कार्यव्यस्तताबाट विमुक्त भएपछि पनि मानिसको मन त कृष्णको दर्शनमा लाग्दो रहेनछ । यिनीहरूले पक्कै बिहान गीताको किताब ढोगेर आएका होलान् तर त्यसभित्र के छ त्यो त मतलब गर्दा रहेनछन् । अतीतले कसलाई पो छोड्छ र ? न वर्तमानले उनीहरूभित्रको कृष्णसँग भेट गराउँछ । उसले खिन्न भएर यस्तै सोची । त्यसै बेला छातीभित्रको नली तरेर हुलुक्क अमिलो पानी उसको मुखसम्म आयो । मुटुभन्दा माथि पोलेर मुटु नै भत्केलाजस्तो भयो । उसले आफ्नो गन्तव्य नजिकै भएको सम्झिई र उठेर स्कुटीतिर हिँडी । हिँड्दाहिँड्दै ऊ लरखराउँन थालेको देखेर वृद्धको जमात जुरमुरायो । त्यहाँबाट आवाज आयो ओहो यी नानुलाई के भयो र यसरी हिँडिरहेकी छन् ? ऊ साँच्चै असन्तुलित भई र थ्याच्च बस्न पुगी । एक निमेषपछि ऊ फेरि होसमा आउँदा उसको पाखुरामा एक जोडी हातहरूले दबाबसहित मुसारेको अनुभूत गरी । अर्का जोडी हातहरू उसका पछाडि डँडाल्नामा वरपर गरिरहेका थिए । ऊ झसङ्ग भई कि उसको अगाडि कुनै हात थिएनन् । ऊ अचानक उठी र सबैलाई पन्छाएर अगि बढी ।

गन्तव्य नजिकै आइसकेको थियो । त्यहाँबाट ऊ गन्तव्यतर्फ लागी । अझै उत्तरतिर गएर उसले गुरुको घर सोधी । बुटीवालाले उसलाई महागुरु भनेको थियो तर त्यहाँ सबैले उसलाई मोहनीप्रसाद भन्दा रहेछन् । महागुरुको घरको उत्तरतिर हरियो जङ्गलको मनमोहक दृश्य देखिएको थियो । त्यो स्थान साँच्चिकै बनैमुन्तिरको सुन्दर र शान्त स्थान थियो । मोहनीप्रसाद गोरो र चलाख आँखा भएको करिब पचास वर्षको मानिस रहेछ । भुईँतलामा उसले मोहनीप्रसादलाई मात्र देखी । सरासर भित्र लगेर मोहनीप्रसादले एउटा सानो अफिसजस्तो उत्तरपूर्वको कोठामा बसायो । मोहनीप्रसादले उसको नारी छाम्यो । बुटीको प्रभाव र त्यसको महत्त्वका बारेमा सरस्वतीले आफ्ना जिज्ञासाहरू सोधी । सरस्वतीका निम्ति उत्तर अनपेक्षित थियो । पहिलेको बुटीवालाले भनेका सारा कुराहरू मोहिनीप्रसादले अनुमोदन गरेन र विपरीत बनाइदियो । अन्यमनस्क बसिरहेको बेला मोहिनीप्रसादले उसलाई तपाईँको जाँच गर्छु भनेर पर्दा लगाएर बारेको पल्लो कोठाभित्र लग्यो । सरस्वती आज्ञाकारी बालिकाजस्तो पछिपछि गई ।

त्यो कोठाको झ्यालमा राता-राता लामालामा पर्दाहरू झुन्डिएका थिए । कोठाको बिच-बिचमा पर्दाकै भरमा अन्य ससाना कोठाहरू बनाइएका थिए । भुईँमा बाक्ला-बाक्ला सेता खोल भएका मानिस सुत्न मिल्ने गद्दा ओछ्याएको थियो । एक किसिम कुनै डाक्टरले अस्पतालमा जाँचपडताल गर्ने कोठाजस्तो देखिन्थ्यो त्यो । मोहिनीप्रसादले सरस्वतीलाई जाँच गर्ने कुरा बतायो र भुईँमा ओछ्याएको डस्नामा सुत्न लगायो । मोहिनीप्रसादले आफ्ना खुट्टाले सरस्वतीको पैताला कुल्चिँदै भन्यो चेलीबेटीलाई खुट्टा लगाएको जस्तो लाग्ला तर यो उपचारको विधि हो । म तपाईँको ब्रेनलाई टोन गर्दै छु । ऊर्जा थपिदिँदै छु । सरस्वतीले अचानक एकछिन अघिका पाखुरामा चलमलाएका हातहरू सम्झी । उसलाई बेहोसीले झ्याप्प छोपेजस्तो भयो र ऊ बिस्तारै केही थाहा नपाउने गरिकी भई । मोहिनीप्रसादका खुट्टाहरूले सरस्वतीको पैताला, पिँडुला, नितम्ब, ढाड, पाता र घाँटीसम्म हिर्काएको उसले हो होइनजस्तो अर्धहोसमा अनुभव गरी । फेरि उत्ताने पर्न लगाएर मोहिनीप्रसादले उसका खुट्टा, तिघ्रा, कम्मर, पेट, छाती र अगाडि किलकिलेसम्म लात्तले हिर्काइरह्यो । उचाल्यो पछाऱ्यो । ऊ भन्दै गयो म तपाईँको ऊर्जाको उपचार गर्दै छु । सरस्वतीले न प्रतिकार गर्न सकी न त्यसमा सचेत भएर लीन नै हुन सकी ।

निरन्तर चलायमान भएर मोहिनीप्रसाद स्याँस्याँ गर्न थालेको थियो । यसै क्रममा मोहिनीप्रसादले सरस्वतीलाई टुलमा बस्न लगायो र अगाडिपछाडि दुवैतिरबाट उचाल्यो । उभिन लगायो र पछाडि ढाडबाट समेत उचालेर उसलाई झड्काऱ्यो । अन्त्यमा भन्यो “तपाईँ स्वस्थ्य हुनुहुँदो रहेछ । तपाईँको औरा पनि उज्यालो छ । जिउ पनि लचिलो रहेछ ।” सरस्वती त्यति सुन्दामात्र झसङ्ग भई । होसमा आएजस्तो गरी ऊ समालिएर बसी ।

मोहिनीप्रसादले उसलाई फेरि पहिलेको कोठामा लग्यो । आफ्ना उपचार शैलीको प्रशंसा गर्दे अरू दस दिनको उपचार गर्न सुझायो । उसले ए डाक्टर ! भन्दै बोलाएपछि माथिल्लो तलाबाट एउटी आइमाई झरी । उसले पनि सरस्वतीको नारी छामी र दिनको एक घण्टा उपचार गर्ने भए दस हजार रुपियाँ लाग्छ भन्दै आफ्ना लागि समय मिलाउँन सुझाव दिई । त्यो आइमाई डाक्टर नभएर मोहिनीप्रसादकै स्वास्नीजस्ती थिई । सरस्वतीले त्यस बेला आफू ठगिएको थाहा पाइसकेकी थिई । ऊ हिँड्ने तरखर गर्न थालेको देखेर मोहिनीप्रसादले भन्यो “मैले जाँचेको शुल्क रु. पाँचसय हो दिनुहोस् ।” सरस्वती अवाक् भई । उसलाई शुल्कबारे पहिले जानकारी नदिईकन मागेको मन परेको थिएन । सरस्वतीले हठात् त्यस कोठाको भित्तातिर नियाली । त्यहाँ कुनै आधिकारिक प्रमाणपत्र वा कुनै कम्पनी दर्ताको फ्रेमहरू थिएनन् । भित्ताहरू सपाट थिए । ऊ अगाडिको टेवलमा पनि कुनै कागजात वा फ्रेमहरू राखिएका थिएनन् । सरस्वतीले सोची सारा कुरा अज्ञानताका पर्दाभित्र छन् । ऊ जतिसक्दो त्यहाँबाट छिटो उम्कन चाहान्थी र ब्यागबाट पाँच सयको नोट मोहिनीप्रसादको हातमा राखिदिएर उसले आँखा तरेर हेरी । उसलाई झनक्क भएर आयो र उसले प्याच्च भन्दिई “न कुनै प्रमाणपत्र न कुनै सल्लाह न शुल्कको जानकारी । तपाईँ त एक्कासि ब्रेनटोन भन्दै लात्तले हान्न थाल्नुहुँदो रहेछ । कस्तो तरिका हो यो ?” ऊ फतफताउँदै त्यो घरबाट बाहिर निस्केर स्कुटी स्टार्ट गरी । मोहिनीप्रसादले अनुहार कालो बनायो ।

भोलिपल्ट सरस्वती दैनिक काममा जान सकिन । उसले दिउँसोको फुर्सद उपयोग गर्दै धेरैपछि टिभी हेर्न बसी । पर्दामा एउटा प्रख्यात पत्रकार ‘बन्दी’ को अन्तर्वार्ता आइरहेको थियो । त्यहाँ बोलिरहेको मानिस सरस्वतीलाई कोही चिनेकै मानिसजस्तो गरी हठात् झझल्कोमा आयो । पत्रकार कडा-कडा रूपमा सरकारलाई र देशको व्यवस्थालाई गाली गरिरहेको थियो । “यहाँ जसले जे पनि गर्न पाएको छ । जनतालाई लुटिरहेको छ सरकारले ।” ऊ जनताको पैसा करका रूपमा जथाभावी प्रयोग गरेको आँकडा प्रस्तुत गरिरहेको थियो । त्यो मानिस हिजोकै मोहिनीप्रसाद भएको यकिन भएपछि सरस्वतीलाई फेरि भाउन्न भएर आयो । ऊ गलैँचामा थचक्क बसी ।