आज मनोजको पहिलो दिन, पहिलो जागिरको । काम हार्डवेयर पसलमा पाएको छ, तीनकुने । काम दाइले खोज्देका, दूरका दाइले ।
यदि ती दूरका दाइले चाहेका भए मनोजलाई आफ्नै अफिसमा पनि काम दिन सक्थे । वा, भनौँ राम्रै ठाउँमा काम लगाइदिन पनि सक्थे तर उनले खै किन त्यसो गरेनन् ! दूरका दाइसँग आफ्नै कारणहरू होलान् । सिद्धान्तहरू होलान् ।
हुनकै लागि त मनोजसँग न राम्रो पढाइ छ, न त कामको अनुभव नै । ऊ त यो सहर नै पहिलोपटक आएको हो । काम गर्दै पढ्नका लागि ।
मनोजले गाउँकै मा.वि. बाट १२ सकेको हो । उसलाई थाहा थियो, अब उसले घर त छोड्नैपर्छ र घरसँगै उसले पढाइलाई पनि तिलाञ्जलि दिनुपर्ने पक्का छ । उही त हो नि अब घरको एक मात्र भर । बिचराको पढाइको बोझ अरू कसले पो उठाओस् ?
मनोजलाई यो बेखबर सहरमा भर थियो उसकै फुपूको छोरा अर्थात् दाइको तर उसको फुपूको छोरा आफ्नो दुई छाक र महिनाको कोठाभाडाप्रति बेखबर थियो । काठमाडौँ छिरेको गोडादसेक दिन त मनोज उसैको कोठामा बस्यो र ती दिनहरूमा उसलाई लाग्यो- आफ्नो ज्यानको भारी गह्रुँगो भएकाहरूलाई थप भारी थपिदिनु महापाप हो ।
मनोज दाइको कोठाबाट आफ्नो कोठामा सर्ने भयो मनोज । हुन त आफ्नो पनि के भन्नु ! काठमाडौँ आएपछि उसले पहिलो साथी बनाएको थियो नीराजन । पहिलो दिन कलेज जाँदा बनाएको साथी ।
पहिलो पनि के नै पो भन्नु र ! काठमाडौँ आएपछि उसको एक मात्र साथी नै नीराजन थियो र उही नीराजनले बस्दै आएको कोठामा सरेको थियो ऊ पनि ।
कोठा नरेफाँट । कलेज पुतलीसडक र काम तीनकुने ।
सुरुवाती दिनहरूमा बिहान चाँडै उठ्थ्यो मनोज र उठाउँथ्यो नीराजनलाई पनि । पालो गरेर चिया बनाउँथे, कालो । लगभग कोठामा टुट्दैन थियो, दुनोट वा पाउरोटी । एकाबिहानै कालो चियामा केही गाँस उही दुनोट वा पाउरोटी कोच्थे, र दुवै निक्लिन्थे कलेज ।
कलेज १० बज्दा नबज्दा सकिन्थ्यो तर मनोजलाई १० बज्नुअघि नै हाडवेयरमा हाजिरी जनाइसक्नुपर्थ्यो । त्यसैले पनि उसलाई कलेजको अन्तिम कक्षा लिनु भनेको जागिरबाट बिदा लिनु थियो र त्यस कुराको कल्पना गर्नसम्म पनि ऊ असमर्थ थियो ।
नीराजन पुतलीसडकतिरै काम गर्थ्यो, कन्सल्टेन्सीमा । कलेजको छायाले आफूले काम गर्ने कन्सल्टेन्सीलाई साँझको वेलामा चुम्ने भएकाले उसलाई सहज थियो । मनोजले झैँ अन्तिम कक्षाको बदिलानी दिनुपर्ने अवस्था उसलाई थिएन ।
अन्तिम कक्षालाई मानसपटलको एक कुनामा स्मृतिस्वरूप कैद गरेर हतार-हतार नेपाल यातायात समाउन पुग्थ्यो मनोज । जसले उसलाई तीनकुने, काम गर्ने हार्डवेयरअघि लगेर छोडिदिन्थ्यो । हाडवेयरको दिनभरको कामले उसका सम्पूर्ण हार्डवेअरहरूलाई अस्त बनाइसकेका हुन्थे, घाम अस्ताउनु अगावै र ऊ लखतरान परेर जडीबुटीको गाडी समाई आफ्नो रुमको समीपमा पुग्दा चारैतिर अँध्यारोले आफ्नो सामराज्य फैलाइसकेको हुन्थ्यो ।
कमाइ ठिकै थियो, महिनाको दस हजार नगद हातमा पर्दा उसका महिनाभरका थकान र लिन नपाएको कलेजको अन्तिम कक्षाको स्मृति खै कता हो विलोप भइजान्थे । घाम अस्त हुँदाको बखत कोठा पुग्दा पनि उसको अनुहारको उज्यालो कोठाभरि व्याप्त पाउँथ्यो र आफैँ महसुस गर्थ्यो, अँध्यारोका सामराज्यलाई चिर्दै मुस्काइरहेको आफ्नै अनुहार ।
महिनाको एक बार हात पर्ने नगदमा उसको आउँदो महिना फक्रिएको पाउँथ्यो ऊ । बिहानीको चिया र दुनोट, गाडीको भाडा, कलेजको फी, किताबकापी, रुम भाडा र रुम खर्च आदि-आदि ।
दिउँसो एक टाइमको खाना उसले रोजगारदाताबाटै पाएको थियो, जसले उसको हरमहिनालाई केही सहज बनाएर जान्थ्यो ।
तबल आउने दिन थियो, सायदै फाल्गुनको दोस्रो दिन र ठिक त्यही दिन उसको गोजी पूराका पूरा खाली भएको थियो तर उसलाई फिक्री कति पनि थिएन, साँझ रुम फर्किँदा उसको गोजीमात्र होइन, गोडाहरूले पनि मुस्कुराउँदै जडीबुटीको गाडी पकड्नेवाला थिए ।
तर, त्यसो भएन । उसले आफ्नो गोजीलाई सान्त्वनासम्म दिन सकेन । तलब फाल्गुनको तेस्रो दिन मात्र हात पर्ने भयो ।
जडीबुटीको गाडी पक्डिन तम्तयार उसका गोडा एकाएक तीनकुने स्टेसनतर्फ नमोडिएर गल्लीको बाटो भई कोटेश्वरतर्फ लम्कन थाले र गोडाकै गतिमा आफूलाई हुत्याएर उसले सम्झ्यो- बिहानै नीराजनसँग केही पैसा मागिराखेको भए खुट्टाको गतिमा हिँड्नुपर्ने थिएन ।
गोडाहरू केही पाइला करबलले घ्रिसिएपछि उसले आफूलाई एकाएक रोमाञ्चित भएको पायो ।
साँझको समयमा झिलिमिली सडकलाई आफ्नो पछाडि धकेल्दै यसरी ऊ पहिलोपटक हिँड्दै थियो । यो कुराको महसुस जब उसलाई भयो, तब ऊ रोमाञ्चित हुन पुगेको थियो ।
ऊसलाई देब्रे पारेर सडकमा हतारिँदै दैडिरहेका जुनकिरीझैँ देखिने उज्यालाहरूले अँध्यारोमाथि विजय प्राप्त गरेजस्तो । उसलाई दाहिने पारेर छुट्दै गएका उज्याला भवनहरूले अस्ताउँदो घामको अस्तित्वमाथि धावा बोलेजस्तो र यस्तै यस्तै ।
उसले अर्को कुरा पनि महसुस गऱ्यो कि, मान्छेलाई रोमाञ्चित हुन खासै नौलो कुरो चाहिँदैन रहेछ ।
कोटेश्वर चोकको रौनकता उसको आँखैअघि ठिङ्ग थियो । पैतलाहरू उही रौनकतालाई चुम्न आफ्नो गति बढाइरहेका थिए । ठिक त्यही वेला उसका आँखा कतै अडिए । यसरी अडिए कि, मानौँ ती एक जोर आँखाहरूले केही समय पहिले गाउँमै छोडिआएकी प्रेयसीलाई आफैँ अघि पाएका छन् ।
आँखामात्र रोकिएका थिएनन् त्यहाँ, आँखासँगै मनोजका पैतला पनि रोकिएका थिए । एकपल त उसलाई लाग्यो- समय रोकिएको छ त्यहीँ र उसको श्वाश्प्रश्वास पनि रोकिनेवाला छ चाँडै ।
करिब ६ फिट अग्लो कद । उसलाई लाग्यो- त्यो कोटेश्वर चोकको रौनकता उही उसको आँखैअघि रहेकी स्त्रीआकृतिको मुहारबाट सिर्जित भएको हो ।
स्त्रीआकृतिको पहिरन के हो ? उसले ठ्याक्कै खोट्याउन त सकेन । बिहेबारीमा तरुनी केटीहरूबिच नजिक थियो त्यो पहिरन ।
अँ.. उसले सम्झ्यो- लहेङ्गा भन्छन् क्यारे त्यसलाई ।
– बिच बाटामा उभिएर के टोलाइरहेको होला ? पागलजस्तो !
अप्रिय स्त्रीआवजले उसको कानसम्मको यात्रा नगर्दै उसको ध्यान स्खलित हुन पुग्यो । उसलाई लाग्यो- कुनै मिठो सपनाबाट भर्खरै मात्र बिउँझिएको छ ऊ ।
फेरि पनि उसका गोडाहरू अगाडि बढ्न मानेनन् । बरु फुटपातको किनारमा गोडालाई उभ्याएर आँखा पुनः उही स्त्रीआकृतितिर अघि बढे । एकाएक उसलाई कुनै नमिठो सपनाबाट ब्युँझिएको जस्तो भयो । उसले केही समयअघि देखेको सुन्दर स्त्रीआकृति त्यहाँ थिएन । थियो त एक स्त्रीआकृतिको डमी, उही पहिरनमा ।
उसले आफैँलाई चिमोट्यो, एकपटक ।
सोच्यो- हैन, म साँच्चै बहुलाएँ कि क्या ओ ?
र अनुहारमा पागलको भावलाई बोकेर ऊ अघि बढ्यो । उसको कानमा केही बेर अघि गुन्जिएको अप्रिय स्त्रीआवाज सुरिलो बनेर गुन्जिरहेको थियो- पागलजस्तो ।
……………
मोवाइलको घडीले रातको ११ बजाइसकेको छ तर मनोजको आँखामा कति पनि निद्रा छैन । छेउमै पल्टिएको नीराजनलाई हेर्छ, ऊ निद्रालोकको सयरमा मस्त छ ।
उसको मनसपटलमा उही साँझको घटना सलबलाइरहेको छ । स्त्रीस्वरूप डमी ।
अखिर त्यहाँ भएको के थियो ?- यो प्रश्नले उसको मन घोचिरहेको छ ।
आफैँलाई प्रश्न गर्छ- के मेरो आँखा अडिएका त्यो स्त्रीआकृति र स्त्रीस्वरूप डमी एकै थिए ?
आफैँ यकिन गर्छ- हो ती दुवै एकै थिए । दुवैले लेहेङ्गा नै लाएको थिए । उस्तै स्वरूप, उत्रै कद । आखिर एक डमी पनि कसरी हुन सक्छे त्यतिका सुन्दर ? त्यत्रो विधि कामुक ?
फेरि आफैँलाई प्रश्न गर्छ- होइन, म किन यस्ता विनसित्तिका कुरामा अल्झिरहेको छु ?
कोल्टे फेर्छ । नीराजनको मुख उसको सम्मुखमा पर्न जान्छ । नीराजनको नाक टालिएर मुखबाट निक्लिरहेको श्वास उसको नाकमै ठोकिन्छ । पुनः अर्कोपट्टि फर्कँदै सोच्छ- हैन, ब्रस नगरेको कति दिन भो यसले ।
र, भन्दै गर्दा सम्झन्छ सकिएको कोलगेटको खोल ।
उसलाई आफू एकाएक बहुत कमजोर भएको भान पर्छ । उसलाई लाग्छ, उसको कहिल्यै घाम नपर्ने कोठा र स्वयंमा बहुत मिल्ती छ । हालत उस्तै छ । अस्तव्यस्तता र अभाव उस्तै छ र उस्तै छ ठिक त्यही समयको अवस्था पनि ।
मोबाइल हेर्छ, रातको बाह्र बज्न केही मिनेटमात्र टाढा छ तर आँखामा निद्रा पटक्कै छैन । मगजमा अनेकन् कुराको बाबजुद साँझकी स्त्रीस्वरूप डमी झन्-झन् बृहत् हुँदै गइरहेकी छे, जोबाट ऊ छुट्कारा पाएर एक झपक निदाउन चाहन्छ ।
तर, अहँ …. आँखामा निदको नामोनिसाना छैन ।
मगजलाई अँध्यारो कोठामा केन्द्रित गर्छ । कोठा अँध्यारो भए पनि उसको अगाडि छर्लङ्ग भएर आउँछ ।
बिहान मात्र खाली भएको चिनीको बट्टा, तेल पिँधमा पुगेको तेलको बट्टा, डसनामुनि घुसारेको गएको महिनाको कोठाको बिल, बाटामा नमाझी छोडेका साँझको जुठा भाँडाकुडा, बिचमा काटेर केही दिनबाट काम चलाएको कोलगेटको खोल, खाट किन्ने कुरामा मक्ख भुईँमा लम्पसार ओछ्यान, कुनामा बोरा ओछ्याएर थुपारिएका लुगाफाटा र किताबको चाङ आदि-आदि ।
…………………
बिहान अरू वेलाको जस्तो उत्साह बोकेर उदाउँदैन । मनोजको शरीरमा जुरुक्क उठेर नीराजनलाई उठाउने त के, आफ्नै शरीरलाई उठाउन सक्ने जाँगर पनि छैन ।
मोबाइलको आलाम बजेपछि मनोजलाई बोलाएर नीराजन बाथरुम छिर्छ । निद्रा त आलामको झर्कोलाग्दो चिच्याहाटसँगै मनोजको पनि हराइसकेको छ तर खै किन ? आज उसमा उठेर पुतलीसडकको गाडी समाउन सक्ने हिम्मत छैन । ऊ कोल्टे फेर्छ । खुइया… काट्छ र जबरजस्ती आँखा चिम्लिएर निदाउने प्रयत्न गर्छ ।
नीराजन बाथरुमबाट निस्किएर पुनः मनोजलाई कोट्याउँछ । सन्चो नभएको उत्तर पाएपछि आफ्नो सुर कस्छ ।
एक झमकमा ब्युँझिएर घडी हेर्छ । आठ बज्न भ्याइसकेको छ । जुरुक्क ओछ्यानबाट कम्मरमाथिको भागलाई मात्र उठाएर बस्छ र सोच्छ- हैन, यो बिहानको समय ! पत्तै नपाई आठ बज्न भ्याइसकेछ ।
ओछ्यानलाई उसकै हालतमा छोडिदिएर मनोज बाथरुम छिऱ्यो । बिचमा काटिएको कोलगेटको खोलभित्र ब्रस घुसारेर दाँत माझ्दै ट्वाइलेट प्यानमा थुचुक्क बस्यो ।
चियादुनोट खाएर कामका लागि तयार हुँदा मोबाइलको घडीले नौ मात्र बजाउँदै थियो । अर्थात् ऊसँग हार्डवेयरको समीपमा पुग्नका लागि अझ १ घण्टा बाँकी थियो ।
जडीबुटीको आकोसे पुलमा चढेर एक सर्को सडकलाई नियाल्यो । कतै सडक देखिएन, देखिए त मात्र सावारीका टाउका र पिछ्वडामात्र । खै के झोक चल्यो कुन्नि ! जताबाट पुल चढेको थियो, त्यतैबाट ओर्लिएर गोडाहरूलाई दौडाउन थाल्यो ।
ठिक कोटेश्वर चोक कटेपछि, उही स्त्रीस्वरूपी डमीको छेउमा गएर उभियो । उसलाई नियाल्यो आँखाभरि ।
उज्यालो अनुहार, नाक थेप्चो भएर पनि कुनै युरोपियनको जस्तो अनुहार, लेहेङ्गाको छातीलाई उछिनेर बाहिर उम्कन तत्पर स्तन, टिमिक्क बाँधिएको कम्मर, लेहेङ्गाको पीठबाहिरबाटै प्रस्ट महसुस गर्न सकिने पिठ । डोला आँखामा केवल कमी चस्माको मात्र भएको भान भयो उसलाई ।
अझ ओठमा लालीगुराँसझैँ लाली भइदिएको भए ! छोटो कैलो केसमा बुक्की फूल कस्तो देखिन्थ्यो होला ?
– भाइ, लाने हो ?
मीठो सपनाको अन्त्य भयो । त्यस समय उसले आफ्नो हात स्त्रीस्वरूप डमीको गलामा पायो । करेन्टको झङ्कारले हुत्याएको गतिमा आफ्नो हातलाई आफूतिर तान्यो ।
आफू उभिएको ठाउँबाट कसरी स्त्रीस्वरूप डमीको छेउमा पुगेँ ?- सम्झिने प्रयत्न गऱ्यो, जुन व्यर्थ बनेर गयो । ठिक त्यो समय ऊसँग लाज र ग्लानिले रातो न पिरो बनेको अनुहारबाहेक केही पनि थिएन ।
दाम कति ?- शिर झुकाएर उसले सोध्यो ।
१० हजारमात्र हो ।
पसलेले १० हजार भनिरहँदा उसले आफ्नो महिनाको तलब सम्झियो । पसलेको उत्तरको कुनै प्रत्युत्तर नदिई बाटो लाग्यो ।
…………….
काम सकेर फर्किने समय हुँदा साँझ हिजोको जस्तै छ । उज्यालाको साम्राज्यलाई अँध्यारोले निल्न केही निमेषमात्र बाँकी छ । आज उसलाई हिँड्नुपर्ने बाध्यता छैन । गोजीमा दस हात्तीहरू हाँसिरहेका छन् तर खै किन हो, आज त्यो नगद दस हजारले उसको अनुहारमा मुस्कान ल्याउन सकेको छैन । खुट्टाहरूलाई जडीबुटीको गाडी समाउन कुनै हतारो छैन ।
उसलाई लाग्छ- उही गल्लीको बाटो भएर आइज भनेर स्त्रीस्वरूप डमीले बोलाइरहेकी छे ।
खुट्टाहरू गल्लीको बाटामा केही पाइला अघि के सरेका मात्र थिए, फोन बज्छ । हेर्छ । नीराजनको सेभ नम्बरबाट मेसेज आएको हुन्छ ।
“आमा बिरामी भएर हस्पिटल लगेका छन् रे । म गाउँको गाडी चढेँ । रुमको भाडा सिरानीमा छ । अनि रुमको चाबीचाहिँ जुत्तामा छ है !”
उसको अनुहारमा मेसेजको कुनै पनि प्रभाव देखिँदैन । उसका गोडाहरू आफ्नो लक्ष्यमा लयबद्ध भएर लागिपरेका छन् । उसलाई थाहा छ, यी गोडाहरूको कथित गन्तव्य कोठासम्म भए पनि वास्तविक गन्तव्य उही स्त्रीस्वरूप डमी अघिसम्मको मात्र हो ।
तर, मस्तिष्क के भनिरहेको छ ? उसलाई थाहा छैन । थाहा पाउन कुनै मतलब पनि छैन ।
उसलाई लाग्छ- डमी उसै गरी, आफ्नै प्रतीक्षामा बसिरहेकी छे । कुनै परदेशी प्रेयसीलाई आँगनको डिलमा पर्खिएर बसेकी प्रेमिकाको जस्तै ।
हेर्छ, उसको शरीरको लेहेङ्गा फेरिएको छ र शरीर ढाकिएको छ, कुर्ता र सुरुवालले तर स्त्रीस्वरूप डमीको आवरणमात्र फेरिएको हो, उसको स्वरूप उस्तै छ । कमसेकम मनोजलाई उस्तै लाग्छ ।
लाग्छ कुर्तासुरुवालमा स्त्रीस्वरूप डमी कामुक कम र सुन्दर ज्यादा देखिएकी छे । आवरणमा पनि यति विधि शक्ति हुन्छ र ? ऊ आफैँलाई प्रश्न गर्छ ।
फुटपाथमा हिँडिरहेको एक भद्रसँग ठोकिन पुगेपछि पुनः मिठो सपनाको अन्त्य हुन्छ । आफूलाई समालेर गोडाले आफैँलाई बोकी कोठासम्म पुर्याउँछन् ।
उसलाई अब खाना बनाउनु छ । सकिएका सरसामान जोड्नु छ । कोठाको भाडा घरबेटीको गोजीसम्म पुर्याउनु छ तर उसलाई त्यसको फिक्री छैन । एक त भोलि शनिबार छ, अर्को गोजी भरिएको छ । उसलाई फिक्री छ त केवल उही स्त्रीस्वरूप डमीको मात्र ।
हेर्छ, तरकारीको नाममा चार दाना आलु छन् । दालको बट्टा पनि खाली छ । चियारङ र चिनी भने अन्तिम कपको बाटो हेरिरहेछन् । पोलेथिनमा पोको पारेर झुन्ड्याइएका दुई दुनोट भने उसैलाई हेरेर हाँसिरहेका छन् ।
सोच्छ- आ.. आज यही दुनोटले काम चलाउनुपर्ला । बिहान खाउँला जे-जे बनाएर खाए पनि ।
……………..
बिहान झिसमिसेमै निद्राले छोड्छ तर उसलाई ओछ्यान छोड्ने मन भने कति पनि छैन । ओछ्यानमै आफूलाई छोडेर रातको सपनाको यात्रामा निस्किन्छ- सम्झँदा पनि जिउँ सिरिङ्ग भएर आउँछ ।
मान्छेलाई लजाउन त भिड चाहिन्छ । भिड नभए पनि आफ्नो अगाडि कोही न कोही त अवश्य चाहिन्छ तर त्यो कोठामा आफू एक्लो भएर पनि उसको अनुहारभरि लाज रातो भएर पोखिन्छ ।
सपनामा आएकी उही स्त्रीस्वरूप डमीको सामीप्य महसुस भएपछि उसले हतारमा आफ्नो जाँघ छाम्छ । ओहो ! कच्छालाई छिचोलेर टाउजरसम्म आइपुगेको छ, केही चिप्लो पदार्थ । कसैले थाहा पाउला कि झैँ गरी आफ्नो हातलाई जाँघबाट टाढा लान्छ ।
जुरुक्क उठ्छ । ओछ्यानकै सिरानीतिर पल्टिरहेको टावेललाई उठाएर ऊ बाथरुम छिर्छ ।
बाथरुमको भित्तामा एउटा मिनीसाइजको ऐना हाँसिरहेको छ, तर उक्त अनुहारमा हेरेर ऊ कसै गरे पनि मुस्कुराउनु सक्दैन । सिर्फ अनुहारभरि छाइरहन्छन् केवल रातकी स्त्रीस्वरूप डमीको साथमा एउटा मिठो लाज्जाको अनुभूति ।
दिउँसो करिब तीन बजे, बिदाको दिन अर्थात् फुर्सदको दिन तर यो फुर्सदमा पनि मनोजको मनमस्तिष्कमा अनेकन् कुराहरू दौडिरहेका छन् । के दौडिरहेका छन् ? ऊ आफैँलाई थाहा छैन तर यति चाहिँ पक्का हो, हरेक भावनात्मक तथा संवेदनात्मक संवेगहरू उही स्त्रीस्वरूप डामीको छेउछाउ भएर दौडिएको छन् । तिनै संवेगहरूलाई अँगालो हालेर टहलिन ऊ कोटेश्वर चोक पुग्छ ।
आज उसलाई नजिक जानु छैन स्त्रीस्वरूप डमीको । टाढैबाट नियाल्ने उसले अठोट गरिसकेको छ ।
देख्छ टाढैबाट, पहिलो नजरमा त झन्डै चिन्दैन पनि । आज स्त्रीस्वरूप डमी रातो सारी र कालो ब्लाउजमा उभिएकी छे ।
के उसको यो पहिरन आफ्नै स्वागतका लागि हो ? सारीमा किन एकैपटक उसको कामुकता र सुन्दरता प्रतिबिम्बित हुन पुगेका छन् ?- आफैँलाई प्रश्न गर्छ । ओठमा स्वतः मन्द मुस्कान प्रसारित हुन पुग्छन् ।
डमी उसलाई उसकै पर्खाइमा बसेकी दुलहीजस्तै लाग्छे ।
किन सारीले दुलहीको प्रतिनिधित्व गर्छ ? के एउटा दुलहीले स्कर्ट र भेस्ट लाएर आफ्नो प्रेयसीलाई पर्खिरहेको चित्रलाई हाम्रो मगजले चित्रित गर्न सक्दैन ?- आफैँलाई प्रश्न गर्छ ।
……………………..
केही दिनयता मनोजको दैनिकीबाट कलेज बाहिरिएको छ र बाहिरीएको छ जडीबुटी र पुतलीसडकको गाडी समाउनुपर्ने हतारो पनि । यी दिनहरूमा उसलाई बिहान कामका लागि निक्लिनुको मात्र हतार हुन्छ र त्यो हतार लगेर उसले स्त्रीस्वरूप डमीमा खर्च गर्छ ।
फर्किँदा उसलाई केहीको पनि फिक्री रहँदैन । अँध्यारोको साम्राज्यको ऊ एक प्रजा बनिसकेको छ । खास भन्ने हो भने बिहान पनि आँखाभरि उही स्त्रीस्वरूप डमीलाई सजाउँदै जानु, दिनभर उसकै अनुभूतिमा आफूलाई तैराउनु, साँझ फर्कँदा पनि आफूलाई उसकै सामु केही समय उभ्याउनु र उसको कल्पनाको सुखानुभूतिमा आफूलाई रातमा निथ्रुक्क भिजाउनु नै उसको दैनिकी बनेको छ ।
एक बिहान, डमीप्रतिको उसको झुकावले दिनप्रतिदिन महत्त्व बढाइरहेको छ । मनोजलाई हतार कामको भन्दा पनि स्त्रीस्वरूप डमीअघि पुग्नुमा छ । उसका गोडाहरूले आफ्नो रफ्तार आँखाका सकुनका लागि तीव्र पारेका छन् । गोडाको रफ्तारभन्दा हजार गुणा तेज मनोजको मन दगुरी रहेको छ ।
मनोज ठिक त्यही ठाउँमा पुगेर रोकिन्छ, जहाँबाट स्त्रीस्वरूप डमीलाई ऊ साक्षात् रूपमा देख्न र अनुभूति गर्न सक्छ तर आजको जुन स्त्रीस्वरूप डमीको रूप उसका अघि देखापर्छ, ऊ हच्किन पुग्छ ।
डमीलाई जुन स्वरूपमा देख्छ, त्यो त उसले डमीको कल्पनामा सुखानुभूति गरेको रातमा पनि देखेको थिएन । हो, उसले स्त्रीस्वरूप डमीलाई निर्वस्त्र देख्छ । पूराका पूरा नाङ्गो ।
मनले भन्छ- ए गोडा, तँ हिँडिहाल् । एकछिन पनि नबस् यहाँ । यो अलिकति पनि लज्जा नभएकी स्त्रीअघि ।
तर उसका गोडाहरूले धोका दिन्छन् । एक डेग पनि चलमलाउँदैनन् ।
आफ्नै निधार छाम्छ, चिसो बिहानीमा पनि उसको निधारमा चिटचिट पसिना पाउँछ । फेरि स्त्रीस्वरूप डमीको निर्वस्त्र रूपलाई हेरिरहन सक्दैन । आँखा चिम्म गर्छ, र मनले मनलाई नै भन्छ- सुन्, सबै प्राकृतिक कुराहरू नाङ्गा राम्रा हुँदैनन् । अझ अप्राकृतिक कुराहरू नाङ्गा देखिए भने त्योभन्दा कुरूप अरू केही हुँदैन ।
………………
अर्को दिनको बिहानबाट ऊ खाली भएको छ । अब उसलाई न काममा जानु छ, न स्त्रीस्वरूप डमीको दर्शनका लागि नै । झन् कलेज त उसको विगत बनिसकेको छ तर पनि ऊ एकदम गह्रुँगो बनेको छ ।
सबै खाली वस्तुहरू हलुङ्गो नहुँदा रहेछन् । अझ मानिस खाली हुनु भनेको त जीवन सबैभन्दा गह्रुङ्गो हुनु पो रहेछ ।
रात्रिबसको टिकट काटेर मनोज गाउँतिर लाग्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।